(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
‘आप नेपाली हे क्या?’
नेपालबाट गोवा घुम्न गएकाहरू समुद्र किनारमै रहेको एउटा होटलमा चिया पिउँदै थिए। चियाको अर्डर लिने र टेबलमा सर्भ गर्दै आउने वेटरलाई देखेपछि नेपाली समूहका एक जनालाई शंका लागेछ। उनले सोधिहाले।
‘जी हाँ, मै नेपाली हुँ!’ मुसुक्क मुस्कुराउँदै वेटरले पनि हिन्दीमै जबाफ फर्काए।
‘कति भयो गोवा बस्न थाल्नुभएको?’
‘धेरै त भएको छैन, एक वर्ष जति भयो,’ नेपालीमा आएको प्रश्नको उत्तरमा वेटरले भने।
अरू टेबलमा रहेका ग्राहकका अर्डर टिप्ने, अरू सहकर्मीहरूलाई काम अह्राउँदै गरिरहेका उनी बीच-बीचमा उनलाई प्रश्न गर्ने नेपालीका छोटोछोटो उत्तर दिन्थे।
चितवन घर बताउने उनी एक वर्षदेखि गोवाको डोना पाउला जेट्टीमा रहेको त्यो होटलमा काम गरिरहेका रहेछन्। काम खोज्दै गोवा पुगेका उनी होटलमा रमाइरहेको बताउँथे।
‘नेपालमा काम भने जस्तो पाइन्न। घरपरिवार चलाउनलाई यहाँ काम गर्दा सहजै छ, धेरै नभए पनि ठीकठीकै कमाइ चलिरहेको छ’, उनले प्रश्नकर्ता नेपालीलाई सुनाए।
नजिकैको अर्को टेबलमा बसेर ती दुई जनाको संवाद सुनिरहेका एक हुल नेपाली पत्रकारहरूले वेटरलाई आफूतिर आउन इशारा गरे। उनी आए।
‘हामी नेपालबाट यहाँ घुम्न आएका पत्रकारहरू हौं, तपाईंसँग कुराकानी गर्न मिल्छ?’ पत्रकारहरूलाई स्वीकृतिसूचक उत्तर दिएका उनी भन्दैथिए ‘तपाईंहरूलाई के के चाहिने हो भन्नुहोला। जानेको कुरा भनिदिन्छु। तर, मेरो नाम फोटो केही आउनुभएन।’
गोवा पुगेर होटलमा काम गरिरहेको सन्देश नेपालमा किन दिनु भन्दै उनी खुल्नै चाहेनन्।
त्यसपछि उनले अर्को कारण पनि खोतले, जुन नेपालको मिडिया जगतसँग सम्बद्ध थियो।
‘नेपालको मिडियासँग त म केही कुराकानी गर्दिनँ, कालोलाई सेतो, सेतोलाई कालो बनाइदिन्छन्,’ उनी यत्तिमै रोकिएनन्। उनले नेपालका पछिल्ला राजनीतिक घटनाक्रममा मिडियाले नकारात्मक भूमिका निर्वाह गरेको आरोप पनि लगाए।
‘कुन–कुन विषयमा नेपालका मिडियाले नकारात्मक भूमिका गरे भन्ने लाग्छ?’, सेतोपाटीको प्रश्नमा उनले एक लाइनको आफ्नो ठहर सुनाए ‘रवि लामिछानेलाई फसाउने मिडिया होइनन्? नेपालकै मिडियाले त हो नि रविलाई फसाएको।’
‘हो तपाईं यी कुरा निर्धक्क भन्दिनुस्, आफ्ना कुरा पनि भन्दिनुस्। हामी तपाईंका कुरा छाप्छौं,’ हाम्रो यस्तो प्रस्ताव सुनेपछि उनले थपे ‘म त यहाँ आएको धेरै भएकै छैन। धेरै थाहा पनि छैन। बरू हाम्रै साहुजीलाई सोध्नु न!’
गोवामा भेटिएका नेपालीसँग उनकै जीवनकथाबारे केही सोध्ने र त्यसलाई प्रकाशन गर्ने ध्येय पूरा नहुने छाँट देखिएपछि हामीले भन्यौं ‘नेपालीसँगै कुरा गर्न पाए हुन्थ्यो भनेर मात्रै हो, साहुजीसँग कुरा नगरौं।’
‘हाम्रो साहुजी पनि नेपालकै त हो नि,’ भन्ने उनको जबाफ आएपछि भने उनका ‘साहुजी’ लाई खोज्दै हामी होटलको काउन्टरतिर लाग्यौं।
काउन्टरमा ग्राहकसँग पैसा लिने, फर्काउने गरिरहेका उनलाई कुराकानीको प्रस्ताव गर्यौं। व्यस्त देखिएका उनले केहीबेर कुर्न भने।
‘हेलो नेपाली सर, लु आइहाल्नुस् त, बात गरिहालौं,’ साहुजीले कुराकानी गर्न बोलाए। काउन्टरबाटै उनले हाम्रा प्रश्नहरूको जबाफ दिए।
तपाईंको नाम?
मेरो नाम करण रोका मगर हो।
नेपाल कहाँबाट हो तपाईं?
राप्ती अञ्चल रूकुम जिल्लाको भलाक्सा हो।
कहिलेदेखि गोवामा हुनुहुन्छ?
म अहिले ५४ वर्षको भएँ। म १६–१७ वर्षको हुँदादेखि नै यहाँ छु। म सन् १९८७ देखि गोवामै छु।
गोवा किन आउनुभएको थियो?
सुरूमा काम गर्न, पैसा कमाउनै भनेर आएको थिएँ। त्यसैले म घरमा सल्लाह गरेरै यता आएको थिएँ। घरमा आर्थिक अवस्था धेरै राम्रो थिएन। काम गरेर पैसा कमाउनै पर्छ भन्ने लाग्न थालिसकेको थियो। गाउँमा गोवा जानुपर्छ भन्ने भयो र आइयो।
यहाँ आइपुगेपछि के काम गर्नुभयो?
सुरूमा आएर होटलमा काम गरेँ। भाँडा माझेँ। होटलमै करिब २० वर्ष काम गरेँ। त्यसबीचमा म कुक बनेँ। पछिल्लो १० वर्षदेखि चाहिँ आफ्नै होटल (करण मल्टि क्रुजिन रेष्टुरेन्ट एण्ड बार) चलाइरहेको छु। यो चाहिँ घर भाडामा लिएको हुँ।
अहिले परिवारमा कोको हुनुहुन्छ? सबै यतै हुनुहुन्छ कि नेपालमा पनि हुनुहुन्छ कोही?
हामी बुढाबुढी र छोरा छौं। यही गोवाकै बाम्बुलिङमा मेरो अर्को पनि होटल छ। त्यो चाहिँ मेरो श्रीमतीले चलाउँछिन्। छोरा पनि गोवामै नोकरी गर्दैछ। रूकुममा दाइ हुनुहुन्छ। बुवाआमा उतै हुनुहुन्थ्यो, बितिसक्नुभयो।
यहाँ व्यापार कारोबार कस्तो छ?
पहिले त धेरै राम्रो थियो। लकडाउनयता अलि कम छ।
यो होटलमा कति लगानी गर्नुभएको छ सुनाउन मिल्छ?
अहिलेसम्म २०–२२ लाख भइसक्यो होला। फेरि थप्दैछु।
लगानी चाहिँ के के मा थप्दै हुनुहुन्छ?
अचेल यहाँ धेरैले नेपाली खानाका आइटमहरू खोज्न थालिएको छ। अब होटलमा टिपिकल नेपाली खानाहरूको मेनु थप्ने योजनामा लागेको छु।
अहिले चाहिँ नेपाली मेनु उपलब्ध छैन?
अलिअलि छ। सेकुवा, मःमहरू राखेको छु। अझै नेपाली थालीहरू थप्ने योजनामा छु।
नेपाल आउने जाने कत्तिको गर्नुहुन्छ?
हाम्रो आउने जाने चलिरहन्छ। एक–दुई वर्षमा एकपटक जान्छु।
नेपालतिर कुराकानी कत्तिको हुन्छ?
नेपालतिरको खोजखबर गर्छु। फोनमा बात भइराख्छ।
होटलमा काम गर्ने कर्मचारीहरूमा नेपालीहरू पनि हुनुहुँदोरहेछ?
हो, मेरो यो होटलमा १३ जना जति नेपाली छन्। कोही रूकुम, दाङ, चितवनतिरका छन्।
तपाईंको होटलमा आउने ग्राहकहरू कोको हुन्?
यहाँको समुद्र किनार घुम्न आएकाहरू नै हो आउने। धेरै हाइप्रोफाइलदेखि सर्वसाधारणहरूसम्म पनि आउँछन्।
यति लामो समयदेखि गोवामा हुनुहुन्छ। नेपाल ‘मिस’ हुन्छ कि हुन्न?
धेरै मिस हुन्छ। गाउँघर चाडपर्व सबै मिस हुन्छ। तर, चाडपर्व त यहाँ पनि मनाउँछु। दसैंतिहार, माघे संक्रान्ति मनाउँछु। गोवामा पनि धेरै नेपाली छन्। उनीहरूसँग भेटघाट हुन्छ।
यहाँ नेपालीहरू केके गरेर बसेका छन्?
यहाँ धेरै नेपाली राम्रो व्यापार गरेर बसेका छन्। धेरैजसो होटल लाइनमै छ।
यतिका समयदेखि भारतमा रहँदा बस्दा यहाँ अर्को मुलुकमा छु भन्ने महसुस कत्तिको हुन्छ?
यहाँ हामीमाथि फरक व्यवहार हुँदैन। नेपालीमाथि हुने व्यवहार एकदमै राम्रो छ। यहाँको मान्छेले राम्रो समन्वय गर्छन्। बरू नेपालमा अहिले मेरो धेरै जान पहिचान छैन। यता त रमाइलो छ।
भनेपछि अब पूरै जिन्दगी यतै बित्छ कि नेपाल फर्कने सोच पनि छ?
कहिले फर्कन्छु टुंगो त छैन। तर, नेपाल त फर्कने नै हो। जतिसुकै जे भए पनि आफ्नो माटो त माटो नै हो नि!
नेपालको राजनीतिबारे कत्तिको चासो राख्नुहुन्छ?
अलिअलि राख्छु। धेरै होइन।
कस्तो लाग्छ नेपालको राजनीति?
अब कस्तो लाग्छ भन्नु, ठीकै लाग्छ। राम्रै लाग्छ भन्नुपर्यो।
नेपालको मनपर्ने नेता कोही छ?
सबै नै मनपर्छ भन्नुपर्ला।
तपाईंको होटलमा नेपालीहरू कत्तिको आउँछन्?
नेपालीहरू पनि टन्नै आउँछन्। एक वर्ष जति अघि बाबुराम भट्टराई (पूर्व प्रधानमन्त्री) पनि आउनुभएको थियो।
भट्टराईसँग तपाईंको कुराकानी पनि भयो?
भयो नि! मैले मेरो र कर्मचारीहरूबारे बताएँ। उहाँले खुसी लाग्यो, यहाँ आएर व्यवसाय गर्नुभएको रहेछ, शुभकामना भन्नुभयो। तीन चार महिना अघि राजेश हमाल पनि आउनुभएको थियो। उहाँलाई चाहिँ टाढैबाट मात्रै हाइहेल्लो गर्न पाइयो।
गोवामा रहँदाबस्दा यहाँको सरकारी तहबाट तपाईंहरूले केके सेवा सुविधा पाउनुहुन्छ?
पहिलो कुरा त स्वास्थ्य उपचार फ्रि मै हुन्छ। रासन पाइन्छ। सेवा सुविधाका लागि केही समस्या छैन।
व्यवसायमा चाहिँ केही बाधा अड्चनहरू छ कि छैन? सुरक्षा प्रबन्ध कस्तो छ?
समस्या भनेको विजनेसमा कहिलेकाहीँ तलमाथि हुने समस्या मात्रै हो। सुरक्षा थ्रेट केही छैन। चन्दा आतंक पटक्कै हुँदैन।
यतिका समयदेखि होटल व्यवसायमा हुनुहुन्छ। तपाईं आफै पनि कुक। नेपाली र अरू देशका मानिसको स्वादमा अथवा फुड हेविटमा के फरक पाउनुभयो?
मलाई लाग्छ, मान्छे जे जस्तो खाना खाँदै हुर्कियो, उसलाई त्यही स्वाद प्यारो हुनेरहेछ। हाम्रा लागि नेपाली खाना नै राम्रो। त्यसको टेस्ट अलग हुन्छ। मसला बेगरको, जिरा धनियाँ हालेको। सादा दालभात, भाजी सब्जी नेपालीले मनपराउँछन्। भारतीयहरू धेरै मसालेदार मन पराउँछन्।