(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
बुटवल उपमहानगरपालिका वडा नं. ७ चाँदबारीस्थित गुरूङ डाँडा व्यवस्थापन समितिले कांग्युर त्रिपिटक वाचन तथा अनुष्ठान यज्ञ गर्दैछ।
बुटवल-९ ईट्टाभट्टीकी ६८ वर्षीय जमुना गुरूङ त्यही अनुष्ठान यज्ञको तयारीमा थिइन्। गुरूङ डाँडा विकास समितिमा भेटिएकी जमूनासँग सेतोपाटीको लागि गरिएको भलाकुसारी।
नमस्ते, सन्चै आराम हुनुहुन्छ?
यत्तिको काममा हिँडडुल गर्न सकेपछि आरामै छु भन्नुपर्यो।
तपाईंले अरू के काम गर्नुहुन्छ?
काम केही पनि छैन, फुर्सद पनि छैन भनेजस्तै छ मेरो त। दिनभरि धर्मकर्मको काममा हिँड्छु। गुरूङ समाजले विभिन्न काम गरिरहन्छ। माथि डाँडामा पितृहरूको काम हुन्छ। यिनै काममा हिँड्छु। श्रीमान सर्वराज गुरूङ हङकङको सेनामा काम गर्नुहुन्थ्यो, अहिले त पेन्सन पाउँछौं। बेलाबेला बेलायत जाने, आउने गर्छौं। दुई महिनापछि फेरि जाँदैछौं। यहाँ भएको बेलामा यस्तै समाज सेवाको काममा हिँड्छु।
घरमा को-को हुनुहुन्छ?
अहिले त घरमा हामी बुढाबुढी मात्र छौं। दुई छोरा र एउटी छोरी हुन्। छोराहरू दुई जनै बेलायती सेनामा छन्। बुहारी, नाति नातिनीहरू पनि उतै छन्। छोरीको पनि विवाह भइसकेको छ, आफ्नै घरमा छिन्।
तपाईं बेलायत जाने आउने गर्नुहुन्छ, बस्न बेलायत राम्रो कि नेपालमा?
आफ्नो देश जस्तो राम्रो अर्काको देश कहाँ राम्रो हुन्छ! विदेश त हेर्न घुम्न मात्र राम्रो हो। बस्नका लागि त नेपाल नै स्वर्ग। विदेशमा चिल्ला बाटा, अग्ला घर भए पनि हाम्रो जस्तो ठूलो मन हुँदैन।
तपाईंलाई के गर्न मन लाग्छ?
यस्तै समाज सेवाको काममा हिँड्न मन लाग्छ। गुरूङहरूका यस्तै गुम्बाहरूमा पितृहरूको पूजापाठ भइरहन्छ। त्यहीँ जाने, दान दिने, धर्म कमाउने गर्छु। यहाँ पनि पितृहरूको नाममा अनुष्ठान यज्ञ हुँदैछ। यज्ञको लागि हामी बुढाबुढी मिलेर एक लाख रुपैयाँ दान दिने घोषणा गरिसकेका छौं। हङकङको पेन्सन बुझ्ने आफ्नो खर्च कटाएर बचेको पैसा यस्तै काममा दान गर्छौं। त्यसमै आनन्द लाग्छ।
तपाईंलाई सबभन्दा के खान मन लाग्छ?
खानेकुरा त सबै मनपर्छ। रोजेर खाने भन्ने केही छैन। अहिले त के-के विमार पनि सुरू भएको छ। विमार भएपछि चिल्लो चाप्लो खान पनि हुँदैन।
तपाईंलाई के विमार छ?
मुटुसम्बन्धी धेरै रोग देखिएका छन्। सुगर, प्रेसर (उच्च रक्तचाप), कोलेस्ट्रोल के-के हो के-के विमार छ। दिनमा १०/११ वटा औषधिको गोली खान्छु।
कति वर्ष भयो औषधि खान थाल्नुभएको?
औषधि सुरू गरेको ७ वर्ष जति भयो। पहिले त्यस्तो केही समस्या थिएन। माथि डाँडामा समाजले ठाँटी बनाएको छ, त्यो बनाउँदा गाग्रोमा सात खेप पानी बोकेर लैजान्थेँ। अहिले के-के विमार भएर रित्तै हिँड्न पनि सक्दिनँ।
पितृलाई धुप बत्ती बाल्न जान्छु, भन्छु उकालो चढ्न सक्दिनँ।
निद्रा कत्तिको लाग्छ?
औषधि खाने मान्छे निद्रा पनि नियमित लाग्दैन। दिनभरि समाज सेवाको काममा हिँड्दा सबै बिर्सिन्छु। रात परेपछि कहिले शरीर कता दुख्छ, कहिले के हुन्छ।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभयो?
विमार भए पनि धेरै खुसी त अहिले छु होला। छोराछोरी जन्माउने, हुर्काउने बेलामा धेरै दु:ख भयो। पहिले श्रीमान हङकङमा भए पनि मैले घरमा दु:ख गरेर छोराछोरी हुर्काएँ। अहिले छोराछोरीको पनि राम्रो छ। नाति नातिनी जन्मिएका छन्। परिवार भरिपूर्ण छ। जहाँ घुम्न, बस्न मन लाग्यो त्यहीँ जान पाएका छौं। यही त हो खुसी।
तपाईं सबभन्दा धेरै दुखी कहिले हुनुभयो?
सबभन्दा धेरै दुखी त घरका अभिभावक गुमाउँदा भइयो नि। मेरा बुवाआमा, सासूससुरा सबै बितिसक्नुभयो। उहाँहरूलाई गुमाउँदा धेरै दु:ख लाग्यो।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
टोल समाज धेरै राम्रो छ। हामी मिलेर बनाएको त हो टोल समाज पनि। समाजसेवा गर्नुपर्छ, दु:ख परेकोलाई सहयोग गर्नुपर्छ भन्ने भावना भएकाहरूको समाज त हाम्रो त।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ, ठिकसँग चलेको छ भन्ने लाग्छ?
मैले राजनीति त धेरै बुझ्दिनँ तर राम्रै चलेको छ जस्तो लाग्छ। बाटोघाटो बनेका छन्। विकास भइरहेको छ यो पनि त राजनीतिले गरेको होला नि।
तपाईंलाई नेपालका नेताहरूमध्ये सबभन्दा को मनपर्छ?
को लाई मन पर्छ भन्ने हो, सबै नेता मन पर्छन्। एक दुई जनालाई मात्र मन पर्छ भन्दा अरू रिसाउँछन्। भोट दिने पो एउटालाई हो मन त सबै पर्छन्।
गएको चुनावमा भोट कसलाई दिनुभएको थियो?
भोट त विष्णु पौडेललाई दिएको हो। विष्णु पौडेललाई बुटवललाई राम्रो गर्नुभएको छ। त्यत्तिको नेता छोडेर अरूलाई भोट दिने कुरा भएन। पहिलेदेखि नै उहाँलाई भोट दिँदै आएको छु।
अहिलेको अवस्थामा चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
विष्णु पौडेल उठे उहाँलाई नै दिनुपर्ला। अरू उठे विचार गर्नुपर्ला।
तपाईंको विचारमा सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले सबै ठाउँमा विकास गरिदिनुपर्यो। बाटोघाटो बनाउने, पुल बनाउने, सबै वडावडामा स्कुल, अस्पताल बनाउने हो भने गरिबका छोराछोरीले नजिकै पढ्न र उपचार गर्न पाउँथे। टाढा जाँदा समय धेरै लाग्छ खर्च धेरै लाग्छ।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्