(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
कपिलवस्तुुको बुद्धभूमि नगरपालिका १ वीरपुरका धन बहादुर परियार हातमा एक पत्ता औषधि छोपेर सडक किनारमा उभिएका थिए। बुटवल भुड्कीचोकमा भेटिएका ४९ वर्षीय धन बहादुरसँग सेतोपाटीको लागि गरिएको भलाकुसारी।
हातमा केको औषधि छोप्नुभएको हो नि?
म मिर्गौलाको बिरामी छु। नियमित डायलासिस गराउनुपर्छ त्यसैको औषधि किनेर घर फर्किंदै छु।
कति वर्ष भयो मिर्गौलाको बिरामी हुनुभएको?
आउने वैशाखमा तीन वर्ष पुग्छ। डायलासिस गराउन थालेको पनि वैशाखमा तीन वर्ष पुग्छ।
एक सातामा कति पटक डायलासिस गर्नुहुन्छ?
सातामा दुईचोटि सोमबार र बिहीबार डायलासिस गराउँदै आएको छु। बिहान १० बजेदेखि २ बजेसम्म डायलासिस गराउन समय लाग्छ।
डायलासिस कहाँ गराइरहनु भएको छ?
लुम्बिनी प्रादेशिक अस्पतालमा गराइरहेको छु।
बुटवलमै बस्नुभएको छ कि कपिलवस्तुबाटै आउनुहुन्छ?
घरबाटै आउने जाने गरेको छु। डायलासिस गर्ने दिन बिहान सात बजे नै घरबाट हिँड्छु दिनभरि डायलासिस गरेर साँझ घर फर्किन्छु।
डायलासिस नि:शुल्क हुन्छ कि पैसा लाग्छ?
डायलासिस नि:शुल्क हुन्छ। बेलाबेलामा रगत जाँच गर्ने र औषधि स्वास्थ्य बीमाबाट गर्दै आएको छु। अलिअलि पैसा आफ्नो पनि लाग्छ।
तपाईंलाई मिर्गौलाको समस्या छ भन्ने कसरी थाहा पाउनुभयो?
सात आठ वर्ष पहिले प्रेसर बढेर औषधि खान सुरू गरेको थिएँ। औषधि खाइरहेको थिएँ अचानक हर्ट एट्याक (हृदयघात) भयो। त्यही बेला मिर्गौलामा पनि हानेको रहेछ। मुटुका थुनिएका तीन वटा भल्भ अपरेसन गरेर खोले पनि फेल भएका मिर्गौलाको भने डायलासिस गराइरहनु परेको छ।
घरमा अरू कसैलाई मुटु, मिर्गौलाको समस्या थियो?
मेरो बुवा पनि मिर्गौलाको बिरामी हुनुहुन्थ्यो। उहाँलाई औषधि खाएर सन्चो भयो। डायलासिस गराउन परेको थिएन। मलाई पनि औषधि खाएर नहुने भएपछि डायलासिस गराउनुपर्ने बाध्यता भयो।
अहिले त मिर्गौलाको प्रत्यारोपण पनि गर्न सकिन्छ नि?
प्रत्यारोपण हुन्छ भन्ने थाहा छ। छोराहरूले पनि मिर्गौला दिन्छौं भनेका छन् तर, मलाई प्रत्यारोपण गर्ने चाहना छैन। बुवालाई औषधि खाएर सन्चो भएको थियो मैले पनि जति हुन्छ डायलासिस गराउँछु। प्रत्यारोपण गरे पनि नियमित औषधि खानुपर्छ खर्चिलो हुन्छ। धेरै धन सम्पत्ति भएको भए त्यो पनि सोच्नुहुन्थ्यो। छोराहरूलाई ऋणको भारी बोकाएर प्रत्यारोपण नगर्ने।
बिरामी हुनुभन्दा पहिले के काम गर्नुहुन्थ्यो?
गाउँमा मेरो आफ्नै सिलाइ पसल थियो। गाउँभरिका मान्छेहरू कपडा सिलाउन आउँथे। मलाई दिनभरि काम गर्न भ्याइनभ्याई हुन्थ्यो। आफै बिरामी भएपछि कपडा सिलाउने मेसिन पनि थन्किएर बसेका छन्। त्यो भन्दा पहिले केही समय काम गर्न भारतमा पनि गएको थिएँ। भारत गएपछि गाउँघरमा गएर आफ्नै पेसा गर्छु भनेर फर्किएर आएको हो।
घरमा कोको हुनुहुन्छ?
घरमा श्रीमती लक्ष्मी र तीन वटा छोरा छन्। छोराहरू गाउँतिरै सानोतिनो काम गरेर बसेका छन्।
कपडा सिलाउने काम छोराहरूलाई सिकाउनुभएन?
सिलाउन अलिअलि त सिकेका छन् तर, सिलाउने काम गर्न मानेनन्। हामी अर्कै काम गर्छौं भन्छन् मैले पनि कपडा सिलाएर बस् भन्न सकिनँ।
तपाईंलाई के गर्न मन लाग्छ?
बिरामी शरीरले अरू के गर्न मन लाग्ने हो र! केही मन लाग्दैन।
तपाईंलाई के खान मन लाग्छ?
शरीरले जे नखा भन्छ मनले त्यही माग्दो रहेछ। मिर्गौलाका बिरामीले पानी, झोलिलो पदार्थ धेरै खान नमिल्ने तर, मलाई त्यस्तै चिज धेरै खान मन लाग्छ। मन लागे पनि बाँधेर बस्नुपर्छ। पानी प्यास लागिरहन्छ तर, डाक्टरले नापेर खान भन्छन्।
एकदिनमा कति झोलिलो पदार्थ खानुहुन्छ?
पानी दिनमा पाँचदेखि सातसय एमएल मात्रै पिउँछु। दाल, भात सबै नापेर खानुपर्छ। खानेकुरा झोलिलो पदार्थ धेरै खायो भने मिर्गौलालाई झनै लोड हुन्छ भन्छन्।
तपाईंलाई निद्रा कत्तिको लाग्छ?
निद्रा राम्रै लाग्छ। दिनभरि यताउता गर्दा थाकेको हुन्छु राति भुसुक्क निदाउँछु।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
म त सधैं खुसी छु। मान्छे जति खुसी हुन्छ, त्यति बढ्दै जान्छ रे। दु:खी भएर पनि हुने कुरा भइहाल्छ।
तपाईं सबभन्दा धेरै दु:खी कहिले हुनुभयो?
डाक्टरले मिर्गौलाले काम गरेका छैनन् डायलासिस गराउनुपर्छ भनेर सुनाउँदा धेरै दु:ख लागेको थियो। पछि सम्हालिदै गएँ अहिले आफूजस्ता धेरै बिरामी देखेर चित्त बुझाउन सकेको छु।
तपाईंको मनमा गढेर बसेको कुनै पीर छ, जुन यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने केही?
मुटुको बिरामी त सात आठ वर्षदेखि भएको थिएँ। मिर्गौला फेल नभएको भए हुन्थ्यो भन्ने लाग्छ। अरू बिमार हुँदा एकपटक उपचार गरेर केही हप्ता/महिना औषधि खाएर बस्न सकिन्छ तर, मिर्गौलाको फेल भएपछि हप्ताको तीन चार दिन डायलासिस गराइरहनु पर्ने। यो बिमार लागेपछि केही काम गर्छु भन्न नै नसकिने रहेछ। आधा समय अस्पतालमै बित्छ खर्च पनि धेरै लाग्छ।
तपाईंलाई आफ्नोा टोल समाज कस्तो लाग्छ?
हाम्रो टोलसमाज राम्रो छ। एकअर्कालाई गाह्रो साह्रो पर्दा सरसहयोग हुन्छ। म त झनै बिरामी भएको मान्छे सबैले सहयोग गर्नुहुन्छ।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ, ठिकसँग चलेको छ भन्ने लाग्छ?
राजनीतिको बारेमा त धेरै थाहा छैन। राजनीतिमा घुसेको पनि छैन। आफूले चासो नदिएपछि त्यति मतलब नहुने रहेछ। तर, नेताहरूले राम्रो गरेजस्तो भने लाग्दैन।
राम्रो गरेजस्तो किन नलागेको?
राम्रो गरेको भए गाउँगाउँमा अस्पताल हुन्थे। सजिलै उपचार पाइन्थ्यो। म डायलासिस गराउन ७०/८० किलोमिटर गाडी चढेर बुटवल आउनुपर्छ। राम्रो गर्नका लागि स्कुल, कलेज, अस्पताल सबै गाउँगाउँमा पुग्नुपर्थ्यो।
तपाईंलाई नेपालका नेतामध्ये को मनपर्छ?
मन पर्ने पनि कोही छैन। पहिले केही वर्ष दुई तीनवटा पार्टीमा लागेर हिँडेँ तर, कुनै पार्टीका नेता पनि मन परेनन्।
गएको चुनावमा कसलाई भोट हाल्नुभएको थियो?
गोप्य रूपमा भोट हालेको कुरा त भन्नुहुन्न। अहिले फलानो नेता र पार्टीलाई भोट हालेको भन्ने थाहा पाए अरू पार्टीका नेता रिसाउँछन्। भोट हाल्ने आफूलाई मनपर्ने, देश र जनताको लागि राम्रो काम गर्ने मान्छेलाई हो।
त्यही पनि चुनाव भएको तीन वर्ष बित्यो अब त भन्न भइहाल्छ नि?
पहिले अरू अरू पार्टीमा लागेर हिँडेँ पनि हुन त म नेपाली कांग्रेस समर्थक हो। कांग्रेसकै उम्मेदवारलाई भोट हालेको थिएँ।
अहिलेको अवस्थामा चुनाव भयो भने कसलाई भोट हाल्नुहुन्छ?
अब त सोचविचार गरेर भोट हाल्छु।
तपाईंको विचारमा सरकारले के दिए हुन्थ्यो भन्ने लाग्छ?
बिरामी मान्छेलाई अरू गरिदिए हुन्थ्यो भन्ने लाग्नु, स्वास्थ्य उपचार नि:शुल्क गरिदिए हुन्थ्यो।