(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
बुटवल उपमहानगरपालिका वडा नं. १९ मोतिपुरका नरबहादुर खत्री सुरक्षा गार्डको काम गर्छन्।
केही वर्ष विभिन्न सेक्युरिटी कम्पनीमार्फत काम गरेका ६२ वर्षीय खत्री तीन-चार वर्ष यता भने आफ्नै सम्पर्कबाट एसियन पार्टी प्यालेसमा सुरक्षा गार्डको काम गर्छन्। बुटवल इट्टाभट्टास्थित पार्टी प्यालेसको गेटमा ड्युटी गरिरहेका खत्रीसँग सेतोपाटीका लागि गरिएको भलाकुसारी।
तपाईंले सुरक्षा गार्डको काम गर्न थाल्नुभएको कति वर्ष भयो?
दश वर्ष जति भयो। केही वर्ष बुटवलकै स्वर्गद्वारी र ग्लोबल सेक्युरिटी कम्पनीबाट काम गरेँ। तीन-चार वर्षदेखि यही पार्टी प्यालेसमा काम गर्छु। यहाँ आफै सम्पर्क गरेर आएको हुँ।
कति घण्टा ड्युटी गर्नुहुन्छ?
यहाँ सुरक्षा गार्ड दुई जना मात्र छौं। एक जनाले १२ घण्टा ड्युटी गर्नुपर्छ। बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म र साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म। अर्को साथीलाई केही काम परे मैले २४ घण्टा हेर्छु, मलाई केही काम परे साथीले हेर्नुहुन्छ, मिलेर गरेका छौं।
कत्तिको सजिलो छ सुरक्षा गार्डको काम?
त्यस्तो गाह्रो काम केही छैन। आराम गर्दै ड्युटी गर्ने हो। खाना खाजा यहीँ होटलमा पाइन्छ। कुर्चीमा बसेर गर्ने कामलाई किन गाह्रो मान्नुपर्यो र। ठिकै छ। साहुजीले पनि माया गर्नुहुन्छ। अब बुढो पनि भइयो, जरक-मरक काम गर्न सकिँदैन।
पहिले के काम गर्नुहुन्थ्यो?
पहिले पनि त्यस्तो केही काम गरिनँ। बाहिर गएर कमाउन सक्ने उमेर हुँदा गाउँमा खेती किसानी गरेर बसेँ। ३९ वर्षको उमेरमा कतार गएर लेबरको काम गरेँ। त्यहाँ ६ वर्ष बसेँ। कतारमै कमाएको पैसाले मोतिपुरमा ५ कट्ठा जग्गा किनेको हुँ। त्यसपछि भने विदेश नजाने भनेर यतै काम गरेँ।
घरमा को-को हुनुहुन्छ?
दुईवटा छोरा र एउटी छोरी हुन्। छोरीको विवाह भइसकेको छ। ठूलो छोरा दुबईमा छन्, कान्छो मलेसिया छन्। अहिले त हामी बुढाबुढी, बुहारी र नाति छौं घरमा।
यहाँको ड्युटीबाहेक तपाईंलाई अरू के गर्न मन लाग्छ?
म त आफ्नै काममा रमाउने गर्छु। यही पार्टी प्यालेसमा आयो विवाह उत्सव, भोजभतेर हुन्छ। विभिन्न ठाउँका मान्छे आउनुहुन्छ यहीँ रमाइलो लाग्छ। अरू काम गर्ने घुमफेर गर्ने फुर्सद पनि हुँदैन।
तपाईंलाई सबैभन्दा बढी के खान मन लाग्छ?
खानेकुरा पनि सबै थोक मन पर्छ। धेरैजसो यही पार्टी प्यालेसमा जे पाक्छ त्यही खाने भएर होला यस्तै खानेकुरामा बानी पर्न थाल्यो। घरमा बसेको बेला पनि कुनै खाना रोज्ने गर्दिनँ।
तपाईंको स्वास्थ्य कस्तो छ?
स्वास्थ्य पनि अहिलेसम्म ठिकै छ। औषधी खानुपर्ने गरी बिरामी भएको छैन।
अस्पतालमा गएर जचाउनु भएको छ कि छैन?
बिरामी नभएसम्म किन जचाउने भन्ने हुने रहेछ। अलि पहिल्यै नराम्रोसँग ज्वरो आयो, अस्पताल गएर जचाउँदा टाइफाइड भएको रहेछ। औषधी खाएर सन्चो भएको हो। अहिले त धेरै वर्ष भयो अस्पतालमा गएर जचाएको छैन।
बिरामी नभए पनि वर्षको एकपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्छन् नि!
जचाउनु पर्ने त हो। उमेर बढेपछि विभिन्न रोग पनि देखिन्छन् भन्छन्। अब जचाउनुपर्ला।
तपाईंलाई निद्रा कत्तिको लाग्छ?
निद्रा पनि राम्रो लाग्छ। रातिमा ड्युटीमा हुँदा पनि एक दुई घण्टा आराम गर्न पाइन्छ। ड्युटी नहुँदा राति र दिउँसो पनि ६/७ घण्टा निदाउँछु। राति ड्युटी पर्यो भने घर गएर दिउँसो सुत्छु।
तपाईंलाई ठिक्क पैसा भए यस्तो चिज किन्ने थिएँ भन्ने केही छ?
यस्तो किन्ने, लाउने, खाने भन्ने ठूलो रहर केही छैन। एकसरो लगाउन र दुई छाक खान पाए पुग्छ।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभयो?
धेरै खुसी त अहिले छु। छोराछोरीले आफ्नो व्यवस्था गरेका छन्। पहिले मैले दु:ख गरेर उनीहरूलाई पाल्नुपर्थ्यो, अहिले उनीहरू कमाउने भएका छन्। दिनभरी घरमा के गरेर बस्ने हातखुट्टा दह्रो हुँदासम्म केही गर्नुपर्छ भनेर हो मैले यहाँ काम गरेको पनि। नातिनातीनी जन्मिएका छन् उनीहरूलाई हेर्दा घर नै स्वर्ग जस्तो लाग्छ। यही त हो खुसी।
तपाईं सबैभन्दा धेरै दुखी कहिले हुनुभयो?
धेरै दुखी त बुवाआमा बितेको बेला भइयो। दाइ र दिदी पनि बित्नुभयो, उहाँहरू बित्दा पनि दुखी भइयो।
तपाईंको मनमा गढेर बसेको कुनै पीर वा यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने केही छ?
मनमा त्यस्तो कुनै पीर छैन। म त हिजो बितेका र भोलि आउने समयलाई सम्झिएर दुखी हुनुहुन्न भन्ने मान्छे हो। आज जे छ त्यसैमा सन्तुष्टि मान्ने हो भने सधै खुसी भइन्छ।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
अहिलेसम्म टोल समाज पनि ठीक छ। मेरो पहाड घर बाग्लुङ गल्कोट हो। त्यहाँको समाज पनि राम्रो थियो। मोतीपुरमा बस्न थालेको १० वर्ष भयो यहाँको समाज पनि राम्रो छ।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ, ठीकसँग चलेको छ भन्ने लाग्छ?
ओहो! राजनीतिको बारेमा त कुरै नगरौं। मलाई राजनीतिप्रति चासो पनि लाग्दैन। अर्कोकुरा चासो लाग्नुपर्ने काम नै कसले के गरेको छ र। देशको अवस्था हेर्ने हो भने वाक्क लाग्ने भइसकेको छ। राजनीति मन नपर्ने बनाइदिए नेताहरूले।
नेपालका नेताहरू मध्ये सबैभन्दा मन पर्ने को हो?
अहिलेसम्म मन पर्ने नेताहरू नै देशले पाएन। पछिल्लो समय काठमाडौंका मेयर बालेन शाहले केही गर्छन् कि भन्ने लागेको छ। त्यही पनि अझै दुई वर्ष हेर्न बाँकी छ। अरू त कोही नेता मनपर्दैन।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
भोट पनि को-कोलाई दिइयो, कति सम्झिने हो र। बाग्लुङ छँदासम्म कांग्रेसलाई भोट दिइयो। यहाँ आएपछि एमालेलाई भोट दिँदै आएको छु।
अहिलेको अवस्थामा चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
अबको चुनावमा त सोच्नुपर्ने अवस्था छ। चुनावको बेला यो गर्छु र त्यो गर्छु भन्दै आउँछन्, चुनाव पछि केही गर्दैनन्। त्यस्तालाई अब भोट नदिने हो कि भन्ने लागेको छ। केही गर्छु भन्ने जस्तालाई एक पटक हेर्नुपर्छ।
तपाईंको विचारमा सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले सबैभन्दा पहिलो काम बन्द भएको उद्योग कलकारखाना खोलेर जनतालाई रोजगारी दिनुपर्छ। नेपालका कति उद्योग बन्द भएका छन्, बुटवलको धागो कारखाना पनि बन्द भएको कति वर्ष भयो। यही कारखाना खोले पनि दुई-तीन हजारले रोजगारी पाउँथे। नेपालको उत्पादन प्रयोग हुन्थ्यो। उत्पादन हुने काम सरकारले गर्ने हो भने कोही युवा पनि विदेश जाने थिएन।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्