(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
जानकी केसीले देवदह-९ घोडाहामा किराना र नास्ता पसल सञ्चालन गर्छिन्। आफ्नै नामको जानकी किराना एण्ड नास्ता पसलमा बिहान १० बजेतिर भेटिँदा उनले चिया पकाइरहेकी थिइन्। ४० वर्षीया तिनै जानकीसँग सेतोपाटीको लागि गरिएको भलाकुसारी।
अहिले व्यापार कस्तो चलेको छ?
पहिले राम्रै थियो। एकडेढ वर्षयता त्यति राम्रो छैन। मेरो मात्र होइन अरूको पनि त्यस्तै छ। किराना सामान र चियाखाजा गरेर दिनमा चार पाँच हजारको बिक्री हुन्छ। त्यसैबाट निस्किएको नाफाले घरखर्च चलेको छ।
पसल सञ्चालन गर्न थालेको कति वर्ष भयो?
पसल सुरू गरेको त अहिले १० वर्ष भयो। सुरूमा चियाखाजाबाट पसल सुरू गरेकी थिएँ। गर्दै जाँदा किराना पनि थपियो अहिले किराना र चिया खाजा दुइटै गरेकी छु।
घरमा कोको हुनुहुन्छ?
घरमा त छोरी र म मात्रै छौं। छोरीले ११ कक्षा पढ्छिन्। श्रीमान सञ्जय अधिकारी चार वर्ष पहिले ३७ वर्षको उमेरमा बित्नुभएको हो। मिर्गौला फेल भएर चार पाँच वर्ष डायलाइसिस गरियो तर सन्चो भएन।
मिर्गौलामा समस्या छ भनेर कहिले, कसरी थाहा पाउनुभयो?
श्रीमान पहिले काम गर्न कतार र दुबईमा जानुभएको थियो। यहाँ आएको बेलामा स्वास्थ्य जाँच गर्दा ब्लड प्रेसर बढेको देखिएपछि औषधि खान थाल्नुभएको थियो। केही समय औषधि खाएपछि सन्चो भयो होला भनेर औषधि छोड्नुभयो तर प्रेसर घटेको रहेनछ। एक्कासि प्रेसर बढेर मिर्गौलामा हानेछ। अस्पताल गएर जचाउँदा डाक्टरले दुइटै मिर्गौला फेल भएका छन् भनेपछि बल्ल थाहा भयो।
तपाईंको स्वास्थ्य कस्तो छ?
मेरो स्वास्थ्य त अहिलेसम्म ठिकै छ। दिनभरी पसलमा उभिएर काम गर्दा हातगोडा दुख्ने त सामान्य भयो अहिलेसम्म अरू ठूलो विमार देखिएको छैन।
स्वास्थ्य परीक्षण नियमित गर्नुहुन्छ?
नियमित परीक्षण गर्छु। नियमित चेकजाँच नगर्दा श्रीमान बित्नुभयो। त्यसपछि मैले त वर्षको एकपटक सबै चेकजाँच गर्छु। आफूलाई परेपछि बल्ल थाहा हुने रहेछ। स्वास्थ्य बीमा पनि गरेकी छु। चेकजाँच गरियो भने सुरूमै रोग लाग्न थालेको छ भन्ने थाहा हुन्छ।
निद्रा कत्तिको लाग्छ?
श्रीमान बिरामी भइरहँदा र बितेको केही समयसम्म निद्रा नै लागेन। घरपरिवार कसरी चलाउने होला भन्ने तनाव भइरहन्थ्यो। अहिले त राम्रै निद्रा लाग्छ। हुने भइहाल्छ भन्ने भएपछि मनमा चिन्ता पनि हराउने रहेछ।
ठिक्क पैसा भए यस्तो चिज किन्न हुन्थ्यो भन्ने केही छ?
आफूसँग पैसा नभएको भएर हो कि मनमा त्यस्तो केही चाहना छैन। अलि पैसा भयो भने घर बनाउने मन छ, अहिले सानो सानो कच्ची घर छ।
तपाईंलाई पसलको नियमित काम बाहेक अरू के गर्न मन लाग्छ?
कुनै इमर्जेन्सी काम परे बाहेक अरू दिन सधैं पसल खोल्छु। बिहानदेखि साँझसम्म नै यही पसलमा हुने मान्छेलाई अरू के गर्न मन लाग्ने हो र! घरमा बस्न सक्दिनँ, पसलमा बस्दा नै रमाइलो लाग्छ।
तपाईंलाई सबभन्दा बढी के खान मन लाग्छ?
अरूभन्दा सुख्खा रोटी, अचार मनपर्छ। अरू पनि त्यस्तो मन नपर्ने भन्ने केही छैन।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
त्यति धेरै खुसी भएको क्षण त सम्झनै पर्छ। धेरैजसो दु:खै भयो। अरू बेलाभन्दा छोरी एसइई पास हुँदा खुसी भएँ।
सबभन्दा धेरै दु:खी कहिले हुनुभयो?
श्रीमानको मृत्यु हुँदाजस्तो धेरै दु:खी त कहिल्यै भइएन होला। बिरामी भएर चार पाँच वर्ष उपचार गर्दा पनि दु:ख त थियो तर, बिरामी भए पनि जीवित हुँदा फरक हुने रहेछ।
तपाईंको मनमा गढिरहेको कुनै पिर वा यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने केही छ?
श्रीमानले प्रेसरको औषधि खान नछोड्नुभएको भए एक्कासि प्रेसर बढेर मिर्गौला फेल हुने थिएन कि भन्ने लाग्छ। हुने कुरा त भइहाल्यो तर, समयमा सचेत भएको भए अहिले जीवितै हुनुहुन्थ्यो कि भनेर पछुतो लागिरहन्छ।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
टोल समाज राम्रो छ। हुन त म पनि बिहानैदेखि साँझसम्म यही पसलमा हुन्छु। तर परेको बेलामा एकअर्कालाई सघाउने, अप्ठ्यारो साँघुरो परेको बेला सहयोग गर्ने हुन्छ।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ, ठिकसँग चलेको छ भन्ने लाग्छ?
खोइ राजनीति त त्यति ठिकसँग चलेको जस्तो लाग्दैन। ठिकसँग चलेको भए जताततै यस्तो भद्रगोल हुने थियो र! न जनतालाई रोजगारीको व्यवस्था छ, न त व्यापार व्यवसाय नै चल्छन्। विकास निर्माणका कुरा गर्ने हो भने एउटा बाटो १० वर्षसम्म बनाएर सकिँदैन।
तपाईंलाई नेपालका नेताहरूमध्ये को मनपर्छ?
पहिलो त मैले नेता पनि चिन्दिनँ। अर्को कुरा मनपर्ने जस्तो कोही नेता नै छैन। राम्रो काम गरेको भए नेता चिनिन्थ्यो र मन पर्ने नपर्ने भन्ने हुन्थ्यो।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
एउटा भोट एमालेलाई र एउटा भोट रवि लामिछानेको पार्टीलाई दिएको हो।
अहिलेको अवस्थामा चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
अब त सोंचविचार गरेर मात्रै भोट दिने हो। कसले जनताको लागि काम गर्छन्। काम गर्न नसके पनि कसले गर्न खोजेका छन् उनैलाई भोट दिने हो।
तपाईंको विचारमा सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले सबभन्दा पहिले महँगी, कालोबजारी रोक्नुपर्छ। बजारमा सामानको भाउ यति धेरै बढेको छ कि गरिबले किनेर खानै सक्दैन। सरकारले त कसले महँगी बढाएको छ भनेर अनुगमन गर्नु पर्ने हो नि तर, तिनै कालोबजारी गर्नेहरूलाई नै सरकारले संरक्षण गर्छ। अर्को कुन व्यक्तिको के क्षमता छ, त्यही अनुसार रोजगारी दिने हो भने अरूको देशमा रोजगारीको लागि जानुपर्ने थिएन।