(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
जन्ममितिअनुसार ६५ वर्षका र नागरिकता प्रमाणत्रमा लेखिएअनुसार ६४ वर्षका भए दाङको तुलसीपुर उपमहानगरपालिका–७, बुढागाउँका सुन्दरकुमार चौधरी।
एकदिन तुलसीपुरको ‘द पार्क क्याफे’ मा उनीसँग भेट भयो। भित्री मधेस दाङमा जन्मेहुर्केका सुन्दर दुई वर्षयता हिमाल आरोहणमा सक्रिय छन्। जीवनको उतरार्द्धमा उनी किन हिमाल आरोहणमा लागे? मैले उनै सुन्दरसँग संवाद गरेको छु।
तपाईंको जन्मथलो कहाँ हो?
म साविक हलवार गाविस–१, अहिलेको तुलसीपुर उपमहानगरपालिका–७, बुढागाउँमा जन्मेको हुँ। हामी ६ जना दाजुभाइ हौं, दिदीबहिनी दुई जना। म परिवारमा सबभन्दा कान्छो थिएँ।
आमाले १० जना छोरोछोरी जन्माउनुभएको हो रे! एक दाजु र एक दिदी सानैमा बित्नुभयो रे!
आठ जनामध्ये कति जना जीवित हुनुहुन्छ?
ममाथिको राइँलो दाजु र म मात्रै छौं। अरू सबै बितिसके।
परिवारमा कोको हुनुहुन्छ?
बुढागाउँमा ६० वर्ष उमेरकी मेरी श्रीमती छिन्। बुहारी, एक नाति र नातिनी छन्। छोरा दुबई गएको साढे दुई वर्ष जति भयो। छोरो ३६ वर्षको भयो।
तपाईंको बिहे कहिले भयो?
मैले थाहा पाउने भएदेखि नै आमा बिरामी हुनुहुन्थ्यो। मैले २०३६ सालमा एसएलसी परीक्षा दिएको हुँ। मेरो परीक्षा हुनुभन्दा एक महिनाअघि आमा बित्नुभयो।
आमा बितेपछि मेरो बिहे गर्ने कुरा भयो। म लहलौरा गाउँमा केटी हेर्न गएँ। पहिले देखेको थिइनँ। हेरेर मन परेपछि बिहे भयो।
तपाईंले कति पढ्नुभएको छ?
मैले पुल्चोक क्याम्पसबाट सिभिल ओभरसियर पास गरेको हुँ। तुलसीपुरको कपडादेवीमा रहेको महेन्द्र माविबाट एसएलसी दिने म दोस्रो ब्याचको विद्यार्थी थिएँ। मैले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेको हुँ।
म सानैदेखि पढाइमा जेहेनदार थिएँ। कक्षा ८ सम्म बिजौरीमा पढें। त्यसमाथि पढ्न महेन्द्र मावि गएँ। घरबाट हिँडेर जानुपर्थ्यो, डेढ घण्टा लाग्थ्यो।
त्यतिखेर हाम्रो घरको अवस्था कमजोर थियो। अरू दाजुभाइले पढेनन्। मैले मात्रै पढ्ने मौका पाएँ।
मेरा साहिँला दाजु नन्दुलाल गाउँको अगुवा गुरूबा हुनुहुन्थ्यो। मेरो पढाइमा उहाँको विशेष योगदान छ।
गाउँघरमा उहाँको ठूलो मान थियो। उहाँकै हौसलाले मैले राम्रो पढें। उहाँकै कारण त्यति बेलाको जिल्ला विकास समिति र नेपाल जेसिसले मेरो पढाइमा सहयोग गरेका थिए।
तपाईं त त्यो जमानामै सिभिल ओभरसियर हुनुभएको रहेछ त?
हो नि! मैले २०४० सालमै जागिर सुरू गरेको हुँ। जेसिसकै सम्पर्कले म ललितपुरको चौघेरामा स्वास्थ्य चौकी भवन बनाउन खटिएको थिएँ।
त्यतिखेर सरकारी तलब जम्मा सात सय (रूपैयाँ) थियो। मैले महिनाको ११ सय बुझेको थिएँ। कोठाभाडा चार सय थियो। बाँकी पैसा खान र अरू खर्चमा ठिक्क हुन्थ्यो।
त्यसपछि ललितपुरकै भट्टेडाँडामा स्वास्थ्य चौकी नै बनाउने काममा गएँ। त्यसरी तीन वर्षजति काम गरें।
त्यो समयको अनुभव कस्तो रह्यो?
यो त तपाईंलाई भनूँ कि नभनूँ जस्तो भयो! खास म त्यो समयमा स्टाफ नर्स मुना थापासँग प्रेममा परें। हाम्रो कार्यक्षेत्र एउटै थियो। सँगैको उठबस र संगतले आत्मीयता हुँदै प्रेम बसेको पत्तै भएन।
मैले २०४१ सालमा मुनासँग बिहे गरें। त्यो मेरो दोस्रो बिहे थियो। उनीबाट अर्चना र आशिका दुई छोरी छन्। आशिका बेलायतमा डाक्टर छिन्।
तपाईंले दोस्रो बिहे गरेको कुरा जेठी श्रीमतीलाई कहिले थाहा भयो?
गल्ती गरेपछि डर लाग्दो रहेछ। मैले ६ महिनाजति त कसैलाई थाहा दिइनँ। पछि चिनजानका मान्छेले घरमा कुरा पुर्याइदिएछन्।
दोस्रो बिहे गरेपछि पनि दाङ गइरहन्थें। बिहे गरेको थाहा पाएपछि घरमा केही तनाव भयो। मैले सम्झाइबुझाइ गरें, गल्ती भयो भनेर माफी मागें। कहिल्यै नराम्रो गर्दिनँ भनेर वाचा गरेपछि कुरा मिल्यो।
मुनालाई म विवाहित हुँ भन्ने थाहा थियो। मैले उनलाई झुक्याएको होइन। प्रेम भएको हो।
बिहेपछि जागिरको काम कस्तो चल्यो?
आफ्नो फिल्डको टापटिपे काम चलिरह्यो। त्यसपछि म ‘सिबिसी कन्सल्टेन्सी’ को सम्पर्कमा पुगें। दीपक शेरचन र ज्योति शेरचन दम्पती दुबै आर्किटेक्ट थिए। उनीहरूले मलाई अमेरिकन एम्बेसीको जिर्णोद्धारमा खटाए।
त्यहाँ बुलेट प्रुफ गेट थियो। हाइड्रोलिक सिस्टमबाट फलामे पिलर निस्कन्थ्यो।
त्यहाँ कति तलब थियो?
त्यहाँ तीन महिना काम गरें। मासिक तलब चार हजार (रूपैयाँ) पाएको थिएँ। त्यही कन्सल्टेन्सीबाट २०४४ सालमा तनहुँको बन्दीपुरमा स्कुल भवन निर्माणको काममा पनि खटिएँ। फेरि २०४७ मा होला, दमक (झापा) मा स्कुलकै भवन बनाउन खटिएँ।
नेपालमा २०४५ सालमा ठूलो भूकम्प आयो। मलाई सरकारी जागिरे हुन प्रस्ताव आयो।
त्यतिखेर सामान्य अन्तर्वार्ता लिए अनि सोलुखुम्बु जाऊ भने। मैले रामेछाप जिल्लामा देऊ भनें तर दिएनन्।
मलाई टाढाको सोलुखुम्बु जान मन लागेन। गएको भए सरकारी जागिर हुने थिएँ।
त्यसपछि के गर्नुभयो?
२०४६ पछि नेपालमा भुटानी शरणार्थी आउने क्रम सुरू भयो। म युएनएचसिआर (शरणार्थीसम्बन्धी राष्ट्रसंघीय एजेन्सी) को व्यवस्थापनमा भुटानी शरणार्थीका लागि बाटो, खानेपानी र टहरा निर्माणको काममा झापा र मोरङमा खटिएँ।
मैले त्यहाँ साढे सात वर्ष काम गरें। दमक जेसिसको सदस्य भएँ। त्यसको नेतृत्वमा पनि पुगें।
जेसिसको नेतृत्वमा पुगेपछि के भयो?
जेसिसबाट केही अवसर प्राप्त भयो। म सन् २००० मा जेसिसको एसिया प्यासिफिक सम्मेलनमा भाग लिन ताइवान पुगें।
त्यही वर्ष जेसिसको विश्व सम्मेलनमा भाग लिन जापान जाने अवसर मिल्यो। तीन महिनाको भिजिट भिसा भए पनि म ६ वर्ष जापान बसें।
त्यसरी जापान बस्न कसरी सम्भव भयो?
भिसा बाँकी हुँदासम्म ट्राभल चेक साट्दै खाएँ। एक जना नेपालीको मद्दतले एलियन कार्डका लागि अप्लाइ (आवेदन) गरें। उनकै सम्पर्कबाट एउटा बंगुर फर्ममा काम गरेर बसें। मासिक तलब ६० हजार (नेपाली रूपैयाँ) जति हुन्थ्यो। त्यो बेला मैले दाङमा बस्ने छोराछोरी र काठमाडौंका दुई छोरी गरी चार जनालाई काठमाडौंमा एकै ठाउँमा राखेर पढाएँ।
जापानबाट फर्केर के गर्नुभयो?
दाङमा बंगुर फर्म खोलेँ। दुई वटा जेसिबी (स्काभेटर) किनें। छोराले ग्रील उद्योग खोल्छु भन्यो, त्यसमा पनि सघाएँ। छोराले ग्रील उद्योग खोल्दा देश चरम लोडसेडिङमा थियो, उद्योग राम्ररी चलेन। बंगुर फर्म र जेसिबीले पनि डुबाए। गाउँघरमा उधारोमा हुने कारोबारले म डुबेँ; उधारो उठाउन जान मन नलाग्ने, आफै जानेर कसैले नदिने। कामको प्रकृति र वातावरण नमिलेपछि व्यवसाय डुब्न बेर लाग्दो रहेनछ।
जापानबाट फर्केपछि धुम्बराही (काठमाडौं) मा ३६ लाख (रूपैयाँ) मा एउटा अपार्टमेन्ट किनेको थिएँ। त्यहाँ कान्छी श्रीमती बस्थिन्। २०७२ वैशाख १२ को भूकम्पले त्यसमा पनि केही क्षति भयो। ऋणमा डुबेको थिएँ। त्यो अपार्टमेन्ट किनेको मूल्यभन्दा झन्डै दोब्बरमा बेचिदिएँ।
अहिले कान्छी श्रीमती चप्पल कारखाना (काठमाडौं) मा भाडामा बस्छिन्। उनी बस्ने अपार्टमेन्ट बेचे पनि मैले उनको नाममा केही नगद जम्मा गरिदिएको छु।
श्रीमतीसँग सम्बन्ध कस्तो छ?
दुबै जनासँग राम्रो छ। जेठी श्रीमतीलाई दुई वर्षअघि प्रेसर (उच्चरक्तचाप) ले हानेर प्यारालाइसिस (पक्षाघात) भयो। उनी वाकरको सहायताले अलिअलि हिँड्न सक्छिन्। श्रीमती बिरामी भएपछि मेरो दायित्व बढ्यो। आजकाल म बढीजसो दाङमै बस्छु। काठमाडौं पनि आउजाउ गरिरहन्छु।
तपाईंकी कान्छी श्रीमती दाङ आउनुभएको छ कि छैन?
मैले ल्याएकै छैन। उनलाई यहाँ ल्याएर किन आगोमा घिउ थप्नु जस्तो लाग्छ। छोरीहरू आएका छन्। कान्छीपट्टिका दुबै छोरीको नागरिकता दाङबाटै बनाइदिएको छु।
दाङमा तपाईंको जग्गाजमिन कति छ?
अहिले घरबाससहित साढे दुई कट्ठाजति मात्रै छ। थप साढे तीन कट्ठा जोडेको थिएँ, डोजेरले खायो। अन्नपात सबै किनेरै खानुपर्छ। तरकारी किन्नु पर्दैन।
आजकाल तपाईं हिमाल आरोहणले चर्चामा हुनुहुन्छ? यो उमेरमा (६० वर्षमाथि) जोखिमपूर्ण यात्रा किन रोज्नुभयो?
मैले जीवनभर संघर्ष गरें। दोस्रो बिहे गर्नु गल्ती थियो होला तर मैले सबै छोराछोरीलाई उनीहरूले चाहेसम्म पढाएँ। एउटा गरिब बाबुले चार सन्तानलाई काठमाडौंमा राखेर पढायो नि!
माइली छोरी अर्चनाले भारतको पुनामा पनि पढिन्। कान्छी आशिका डाक्टर भइन्, अहिले बेलायतमा छिन्। म रित्तिँदै गएँ तर मैले सपोर्ट (सहयोग) पाइनँ। जीवन व्यर्थको लाग्न थाल्यो।
मैले युट्युबमा हेर्दा भारतका पूर्वराष्ट्रपति अब्दुल कलामले भनेको सुनें– सानो सपना देख्नु वा सानो उद्देश्य लिनु पनि अपराध हो।
दुर्घटनामा परेर ह्विलचियरमा हिँड्ने पाकिस्तिानकी युवती मुनिवा मजारीको पनि त्यस्तै विचार सुनें– डोन्ट डाइ बिफोर योर डेथ (काल आउनुअघि नमर)।
हाम्रै महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेको ‘उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक’ पनि मगजमा आउन थाल्यो।
त्यसपछि मलाई म जिउँदै छु, अझै केही न केही गर्न सक्छु भन्ने जोश आयो। मैले हिमाल आरोहण रोजें।
पहिलो आरोहण कहिले गर्नुभयो?
म पहिलोपटक २०८० फागुनमा अन्नपूर्ण बेस क्याम्पको पदयात्रामा निस्केको थिएँ।
त्यो यात्राको सुरूआत पनि गज्जबको थियो। तुलसीपुरकै मोहन लम्सालको ‘मकालु एडभेन्चर’ ट्राभल एजेन्सी छ। त्यहाँ मेरो गाउँका भाइ शिव भण्डारी प्रमुख टुरिस्ट गाइड हुनुहुन्छ।
एक दिन मैले शिव भाइलाई मेरो इच्छा सुनाएँ। उहाँले ‘ल जाने भए आउनुहोस्, पदयात्रामा जाऔं’ भन्नुभयो अनि गएँ।
त्यो पहिलो यात्रामा ३९ सय मिटरजति उचाइमा पुगेपछि एकाएक मौसम खराब भयो। हावाहुरीसहित हिउँ पर्यो। हामी सबै बेस क्याम्प नपुगी फर्कियौं।
त्यति उचाइमा पनि मलाई स्वास्थ्य समस्या र अरू कुनै कठिनाइ भएन।
शिव भाइले तपाईं सक्नुहुन्छ, अघि बढ्नुहोस् भनेपछि म हिमाल यात्रामा लागेको हुँ।
मैले गएको तिहारको समयमा कात्तिक १५ गते सोलुखम्बुको ६०९० मिटर अग्लो लोबुचे हिमालको सफल आरोहण गरें।
म देवकोटाकै वाणी ‘उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक’ सम्झँदै आरोहणमा गएको थिएँ।
त्यो आरोहरणको अनुभव कस्तो रह्यो?
हामीले किताबमा पढेको जस्तो सजिलो छैन। पढ्दा र चढ्दा आकाश जमिनको फरक हुन्छ।
साहस र आत्मविश्वास नभए हिमाल चढ्न सकिँदैन। प्रत्येक कदममा संघर्ष हुँदो रहेछ। त्यो यात्रापछि मेरो विश्वास चुलिएको छ।
पर्वतको कुस्मामा २२८ मिटरको बन्जी जम्प गरें। पोखराको सराङकोट गएर पाराग्लाइडिङमा उडें।
मलाई एकपछि अर्को नयाँ काम गर्ने साहस आएको छ। अर्कोतर्फ मिडियाहरूले पनि मलाई पछ्याउन थालेका छन्।
पत्रकारहरूले मेरो इन्टरभ्यु गरिदिएपछि धेरैले चिन्न थालेका छन्। म निकै खुसी छु।
हिमाल आरोहणमा र अरू साहसिक खेलमा निकै पैसा तिर्नुपर्छ, यसको जोहो कसरी गर्नुहुन्छ?
आँटेपछि भगवानले पुर्याउँदा रहेछन्! अहिलेसम्म हिमाल आरोहण र अरूमा गरी साढे तीन लाख रूपैयाँ खर्च भयो। साथीभाइको सहयोगबाटै जुटेको छ।
हिमाल चढ्ने रहर पुग्यो कि बाँकी छ?
धेरै बाँकी छ। आउने वर्ष असोजमा ८१६३ मिटर अग्लो मनास्लु हिमाल चढ्ने सपना छ। त्यसमा १६ लाख रूपैयाँ खर्च हुने अनुमान छ। म सहयोग जुटाउँदै छु।
मनास्लु चढ्न तालिम लिनुपर्ने रहेछ। आउने फागनुमा तालिमका लागि मनाङ जाने तयारीमा छु। त्यो तालिममा तीन सय डलर खर्च लाग्छ भन्ने जानकारी पाएको छु। त्यो पैसा पनि सहयोगबाटै जुटाउँदै छु।
मनास्लुपछि सन् २०२६ मा सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्य छ।
यो उमेर (बुढेसकाल) मा जोखिमपूर्ण यात्रामा उतै बितिएला भन्ने डर लाग्दैन?
यहाँ कोही पनि अजम्बरी छैन। म शिवभक्त हुँ। हिमालले नै बोलाएछ, हिमालमै फसेछु, उतै विलीन भएछु भने पनि मलाई केही आपत्ति हुने छैन।
मैले दुबै श्रीमती र विदेशमा रहेको छोरालाई सबै कुरा सम्झाएको छु। म कतै विलीन भए पनि नआत्तिनू भनेको छु।
हिमाल आरोहीको बीमा राम्रै हुन्छ। म मरेछु भने पनि तिमीहरूको कल्याण हुन्छ भनेको छु।
तपाईंलाई कुनै स्वास्थ्य समस्या छ कि छैन?
ठूलो समस्या केही पनि छैन। कहिलेकाहीं दाँत दुख्छ, एन्टिबायोटिक औषधि खान्छु। बाँकी सबै ठिक छ। मेरो स्वास्थ्य नै मेरो सम्पत्ति हो भन्ने लाग्छ।
रातमा निद्रा कस्तो छ?
निद्रा मिठो लाग्छ। मन न हो, कहिलेकाहीँ परिवारको कुराले बिथोलिन्छु। कहिलेकाहीँ अलिअलि (रक्सी) पिउँछु।
तपाईंलाई मनपर्ने खाना के हो?
सिम्पल (साधारण) दालभात, तरकारी! म कहिलेकाहीँ शाकाहारी बनिदिन्छु। माछामासु नखाएको ६ वर्ष भएको थियो। रगतमा प्लेटलेट्स घट्यो भने हिमाल चढ्न सकिँदैन भन्ने कुरा भएपछि फेरि खान थालें।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
आफू भलो त जगत् भलो! समाजमा (रक्सी) पिउने संस्कार एक हदसम्म ठिकै होला तर पिएर हल्लाखल्ला र झैझगडा गरेको मन पर्दैन।
एकअर्कालाई निःस्वार्थ रूपमा सहयोग गर्नु हाम्रो समाजको विशेषता हो। गाउँमा कोही बास र गाँस माग्न आए आज पनि निःशुल्क उपलब्ध हुन्छ।
तपाईंसँग यतिबेला ठिक्कको पैसा भए के गर्नुहुन्थ्यो होला?
भौतिक चिजवस्तु, सम्पत्ति जोडूँला भन्ने छैन। मैले घरपरिवारमा अब मसँग सम्पत्तिको आशा नगर्नू भनेको छु। छोराछोरीलाई अब जे गर्छौ, तिमीहरूको पालो हो भनेको छु।
म जेसिसको सदस्य छु। मानव सेवामा जुट्ने चाहना छ। भविष्यमा मानव सेवा आश्रममा जोडिन चाहन्छु।
पैसा भए म थारु जातिमा मात्रै हुने ‘सिकल सेल’ रोगको कारण पत्ता लगाउन प्रयास गर्ने थिएँ। राज्यले रोगको कारण पहिचान गरेको छैन, पेनकिलर (दुखाइ घटाउने औषधि) मात्रै बाँडेको छ।
यति बेला राज्यले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
राज्यले शिक्षामा जोड दिनुपर्छ, त्यो पनि सीपमूलक शिक्षामा।
तपाईं त विकसित मानिने जापानमा पनि काम गरेको मान्छे, नेपाल कस्तो देख्नुहुन्छ?
नेपालमा नीतिगत समस्या छ। राज्यले सामाजिक सुरक्षा भत्ताका नाममा सबैलाई ठूलो रकम बाँड्नु गलत हो। आवश्यकताका आधारमा मात्रै बाँड्नुपर्ने हो।
वृद्ध भए पनि धनी मान्छेलाई किन वृद्धभत्ता दिनू! उमेर र जातजातिका आधारमा पैसा बाँड्नुको साटो आवश्यक हुनेलाई मात्र दिनुपर्छ।
विकसित देशमा हरेक नागरिकले आफ्नो इनकम (आम्दानी) को निश्चित प्रतिशत कर तिरेका हुन्छन्। हामीले कति कमाएर राज्यलाई कति कर तिरेका छौं! बेकारमै सामाजिक सुरक्षा भत्ता खाइरहने!
जापानमा मैले सय वर्ष उमेरकी महिलाले बार चलाएर बसेको देखें। उनीसँगै गफिँदै मदिरा सेवन गर्ने मान्छे हुन्थे। यहाँ (नेपालमा) त मान्छेले मेहनत गरेको देखिँदैन।
तपाईंले गएको चुनावमा भोट दिनुभयो?
दिएको हुँ। मैले भोट दिएका उम्मेदवारले नै जिते तर उनले आश्वासनअनुसार काम गरेनन्। भोट दिएको पनि बेकार भयो जस्तो लागेको छ।
अब हुने चुनावमा कसलाई भोट दिनुहुन्छ?
अब त पार्टी मात्रै हेरिँदैन। राम्रो व्यक्ति छानेर दिने हो।
तपाईंलाई हाम्रो देशमा मनपर्ने नेता को हो?
ओहो! गाह्रो प्रश्न भयो। लेखिदिनुहोस् कांग्रेस नेता डाक्टर चन्द्र भण्डारी।
मलाई स्वतन्त्र रूपमा काम गर्न र छुट्टै पहिचान बनाउन सफल बालेन शाह, गोपी हमाल र हर्क साम्पाङ पनि मन परेका छन्।
तपाईंलाई जीवनमा ठूलो गल्ती के गरें जस्तो लाग्छ?
कान्छी श्रीमती मलाई धेरै माया गर्छिन्, साह्रै प्यारी छिन्। ब्रिटिस लाहुरेकी छोरी हुन्। उनको र मेरो ‘लाइफ स्ट्यान्डर्ड’ धेरै फरक भए पनि कहिल्यै नराम्रो गरिनन्।
जे भए पनि दोस्रो बिहे गर्नु मेरो गल्ती थियो भन्ने लाग्छ। दुई बिहेमा परिवार व्यवस्थापन गर्न गाह्रो हुँदो रहेछ।
हवस्, यो समय र संवादका लागि तपाईंलाई धन्यवाद!
जीवन एक यात्रा हो। यो जीवनको यात्रामा तपाईंसँग भेट हुनु पनि मेरो खुसी थपिनु हो। तपाईंलाई पनि धन्यवाद!
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्