(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
डिल्लीराज घिमिरे अर्घाखाँचीको ढिकुराबाट रूपन्देही आएको ५ वर्ष भयो। अर्घाखाँचीको घरमा ताला झुण्ड्याएर आएका उनको परिवार अहिले बुटवल-१६ सेमलारमा बसोबास गर्दै आएको छ। माघको चिसोमा घर बाहिर घाम तापेर बसिरहेका ७२ वर्षीय घिमिरेसँग सेतोपाटीको लागि गरिएको भलाकुसारी।
नमस्ते, आराम हुनुहुन्छ?
अहिलेसम्म आरामै भन्नुपर्यो। भोलि त कसले पो देखेको छ र!
तपाईं के काम गर्नुहुन्छ?
बुढो उमेरमा के काम गर्नु। घाम लाग्दा घाम तापेर बस्ने, चिसो हुँदा कोठाभित्र पस्ने यही हो अहिलेको काम त। उमेर हुँदा पहाडमा काम गरियो।
पहाडको जग्गा जमिन बिक्री गरेर आउनुभएको हो?
कहाँ बिक्री गर्नु त्यत्तिकै छोडेर आएको हो। छोराहरूले अब धेरै दु:ख नगर्नुस् भनेर बोलाए हामी पनि सुख पाउन आयौं।
यहाँ आएर सुख भएको छ?
पहाडमा काम गर्दा पनि सुख माने सुख थियो। दु:ख माने यसरी बस्दा पनि दुखी भइन्छ। सुख त मान्नुपर्ने रहेछ। मैले सुख मानेको छु।
घरमा को को हुनुहुन्छ?
हामी बुढाबुढी छौं। तीनवटा छोरा र दुई छोरी हुन्। छोरीहरू विवाह भएर घरघर गए। छोराहरू पनि जेठो अमेरिका छन्। माइलो छोरा दुबई छन्। कान्छो छोरा बुटवलमा पढ्दै पढाउँदै गरेका छन्। घरमा दुई वटा नाति छन्।
तपाईंलाई के खान मनपर्छ?
मैले माछामासु खान्नँ। शाकाहारी खानेकुरा सबै मनपर्छ। तीन चार वर्ष भयो हरेक दिन बिहान तातो पानीसँग जौ, गहुँ र मकै भुटेर बनाएको सातु खान्छु। भात र रोटीभन्दा मलाई सातु नै मनपर्छ।
तपाईंको स्वास्थ्य कस्तो छ?
अरू धेरै कुरा त जँचाएको छैन। दुई वर्षअघि पिसाब रोकियो। जचाउँदा पिसाब नलीमा मासु पलाएको रहेछ अहिले त्यसैको औषधि खाइरहेको छु। अरू सुगर, प्रेसर के के छ, केही जँचाएको छैन।
तपाईंलाई निद्रा कत्तिको लाग्छ?
निद्रा त राम्रो लाग्छ। राति दश बजे सुतिसक्छु। बिहान भने ४ बजे आँखा खुल्छन्।
तपाईंलाई ठिक्क पैसा भयो भने के गर्ने मन छ?
पैसा भयो भने आफ्नो लागि केही चिज किन्नेभन्दा पनि आफूभन्दा गरिब दु:खीलाई केही दिन पाए हुन्थ्यो भन्ने लाग्छ। म तीर्थ जान पाएको छैन, तीर्थ जान पनि मन छ।
कहाँको तीर्थ जाने मन छ?
म त कहीँ पनि गएको छैन। १४ वर्षमा गुल्मीको रिडी गएर ब्रतबन्ध गरेको हो। बाटोमा पर्ने भएकोले अर्घाखाँचीको सुपादेउराली मन्दिरको दर्शन गरेको छु। ती बाहेक कतै गएको छैन। स्वर्गद्वारी, मनकामना, पशुपतिनाथ, देवघाट, त्रिवेणी जहाँ भए पनि जान मन छ।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभयो?
म त सधैं खुसी छु। दुखी हुनुपर्ने कुनै कारण नै छैन बिनाकारण किन दुखी हुने हो र! छोराछोरी नाति बुहारी सबैको राम्रो छ, अहिले त झनै खुसी छ।
तपाईं सबभन्दा धेरै दुखी कहिले हुनुभयो?
दुखी त छोराहरूलाई विदेश पठाउँदा भइयो। बुवाआमा बित्दा पनि दुखी भइयो। बुवा २०४० सालमा र आमा २०४४ सालमा बित्नुभएको हो। त्यतिबेला धेरै दु:ख लागेको थियो।
तपाईंको मनमा बसिरहेको पिर, पछुतो केही छ, जुन यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने केही?
त्यस्तो पिर त केही छैन तर तराई झर्न ढिलो गरियो कि भनेर पछुतो भने लाग्न थालेको छ।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ, कत्तिको मेलमिलाप छ?
टोल समाज त राम्रो छ। जहाँ बस्दै आइयो, सबै ठाउँको समाज राम्रो छ। हुन त समाज राम्रो हुनलाई पहिले आफू पनि ठिक हुनुपर्छ। आफू जस्तो छ त्यहाँको टोल समाज त्यस्तै हुँदै जाने हो। आफूले समाजलाई केही दिन नसक्ने समाजबाट भने आशा मात्र गर्ने पनि हुनुभएन।
तपाईंलाई देशको राजनीति कस्तो लाग्छ, ठिकसँग चलेको छ?
पहिले राजनीति ठिकै छ भन्ने लाग्थ्यो तर, अहिले राम्रो लाग्न छोडेको छ। म जान्ने भएदेखि नै एमाले हुँदै आएँ। कहिल्यै त्यो पार्टी छोडिएन। अहिले भने बिस्तारै मन मर्न थालेको छ। एमालेलाई आफ्नै अध्यक्ष ओलीले सिध्याउने भए। एमाले मात्र होइन कुनै पनि पार्टीको राजनीति ठिक छैन सबै जनतालाई ठग्ने मात्र भएको छ। जनताका लागि गर्छु भनेर सत्तामा जाने तर, त्यहाँ बसेर दाइँ लगाएको देख्दा सबै पार्टी सकिए हुन्थ्यो भन्ने लाग्न थालेको छ।
राजनीतिक दलहरूप्रति किन त्यस्तो वितृष्णा जागेको तपाईंलाई?
तृष्णा जगाउनको लागि त काम पनि गर्नुपर्यो नि! जहाँ गए पनि बेथिति मात्रै छ। देशमा काम गरेर बस्नुपर्ने युवाहरू दिनदिनै विदेश हिँडिरहेका छन् अनि वितृष्ण नजागेर के गर्नू!
तपाईंलाई देशका नेताहरूमध्ये सबभन्दा बढी को मनपर्छ?
पहिले एमालेकै नेता मनपर्ने भएर त्यतै लागियो। पहिले मनपर्ने केपी ओली थिए, अहिले त काठमाडौंका बालेन शाह मनपर्छ।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
गएको चुनावमा मात्र होइन भोट दिन थालेपछि नै एमालेलाई दिँदै आइयो।
अहिलेको अवस्थामा चुनाव भए कसलाई भोट दिनुहुन्छ?
अब हुने चुनावमा त विचार गर्नुपर्छ। देशको लागि गर्छु भन्ने कोही उठ्यो भने उसैलाई भोट दिने हो।
तपाईंलाई सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले त गरिब अशक्तहरूलाई हेरिदिए हुन्थ्यो। बन्द भएको उद्योग कलकारखाना फेरि सञ्चालन गरेर युवाहरूको योग्यता क्षमता अनुसारको रोजगारी दिए उनीहरू विदेश जाने थिएनन्।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्