(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
३६ वर्षकी बिमला बरालको घर कञ्चनपुरको कृष्णपुर नगरपालिका गजराउला हो। श्रीमानको यातना सहन नसकेपछि उनी एक छोरा र छोरी लिएर माइती घरमा बस्दै आएकी छन्। उनको माइती कैलालीको गोदावरी नगरपालिका–८ लालपुर हो। १५ वर्षको उमेरमा बिमलाको बिहे भयो। बिहेपछिको उनको जिन्दगी भने दुःखमा बित्यो। श्रीमानको सधैं मदिरा सेवन गर्ने बानीले उनले सही नसक्नु पीडा खेप्दै माइतीमा आएर आमाको सहारामा जीवन निर्वाह गरिरहेकी उनीसँग आममान्छेको यो अंकमा हामीले उनका जिन्दगीका दु:खसुखबारे कुराकानी गरेका छौं।
तपाईं विद्यालय जानुभयो कि नाइँ?
कहाँ जान पाउनू! गाईबाख्रा चराउँदै बाल्यकाल बित्यो। त्यतिबेला खासै सबै कोही स्कुल जाँदैन थिए। हाम्रो अवस्था पनि त्यस्तै थियो। आमाले पढाउन सकिनन्।
तपाईं जन्मेको यतै हो?
म जन्मेको डोटीको जोरायलमा हुँ। मलाई आमाबाले चार वर्षको हुँदा तराई लिएर आउनुभएको थियो। घरकाले राम्रै छ भनेर १५ वर्षको उमेरमा बिहे गरिदिए।
बिहेपछिको जिन्दगी कसरी चल्यो?
बिहे भएको केही महिनापछिबाटै श्रीमानले पिट्न थाले। बेस्सरी दारू खाने। जेठो छोरो जन्मियो। छोरा जन्मेको चार/पाँच महिनामै पिट्न थाले। श्रीमानको यातना सहन नसकेको दिन माइती आउँथेँ। माइत आएपछि आमाले जाऊ बा घर गरेर खानु नै पर्छ भनेर सम्झाउँथिन्। अहिले तीन वर्षयता त बस्न नै नसक्ने भएपछि माइतीको सहारामा छु। आमाले सानो झुप्रो बनाइदिएकी छन्, यसैमा बसेका छौं। 'केही सीप लागेन भयो बा अब नजा म बाँचुञ्जेल यतै बस' आमाले भनिन्।
अहिले श्रीमानसँग कुरा हुन्छ कि हुँदैन?
श्रीमान रक्सी खान्छन्। कुरा हुँदैन। जेठो छोरा पनि बिग्रियो, घरको वातावरणले उसको पढाइ बिग्रियो।
तपाईंको कति जना छोरा छोरी छन्?
दुई छोरा, एक छोरी। छोरी कक्षा १० पढ्दैछिन्। उसलाई रेस्ट भन्ने संस्थाले पढाउन सहयोग गरेको छ। सानो छोरा ८ वर्षको हो। २ कक्षामा पढ्दै छ। २० वर्षका एक छोरो छ। उसले ५ कक्षा पढ्यो। अहिले भारतमा काम गर्छ। ऊ लागुऔषधमा लागेको सुनेकी छु। उसले १७ वर्षको उमेरमा बिहे गर्यो। उसकी चार महिनाकी छोरी पनि छन्। छोराबुहारीको मेलमिलाप राम्रो छैन। आफै प्रेम गरेर बिहे गरेका उनीहरू अहिले अलग छन्। बुहारी १८ वर्षकी भइन्, उनी पनि माइतीको सहारामा बसेकी छन्।
श्रीमानको घरमा जग्गाजमिन थियो कि नाइँ?
जमिन डेढ कट्ठा थियो। अब भने घर भएको जमिनमात्रै बाँकी छ। अरू जमिन श्रीमानले बिक्री गरिसके। तीन कोठाको लेन्टरको छाना भएको पक्की घर छ।
श्रीमानले यातना दिँदा प्रहरीको सहयोग माग्नुभएन?
पहिला प्रहरी केस गरियो, मेलमिलाप गर्ने पठाउने, प्रहरीमा मिल्छु भन्थ्यो, केही सहयोग पाइएन। १० वर्ष श्रीमानको यातना झेलेको। छोराछोरीसँग पनि बोल्दैन। रक्सी खाँदै हिँड्छ।
अहिले परिवार कसरी पाल्नुभएको छ?
कहिलेकाहीँ मजदुरी, लेभरीको काम गर्छु, अहिले एक स्कुलमा बच्चाले खाएका थाल, पिलेटहरू सफा गर्ने काम गर्छु। त्यो काम गरे वापत् महिनामा ३ हजार पाँच सय रुपैयाँ पाइन्छ। कहिलेकाहीँ मजदुरी गरेको ठाउँबाट पनि पैसा आउँछ, त्यसैले जिन्दगीको चलेको छ, चलाउन गाह्रो छ तर पनि चलाउने प्रयास गरिरहेकी छु।
श्रीमानको माया जिन्दगीमा कहिल्यै पाउनुभयो कि नाइँ?
उहाँसँगको खुसीको क्षण केही पनि छैन। धेरै खुसी भन्दा दु:ख धेरै भयो।
श्रीमानले किन धेरै मदिरा सेवन गर्न थाले?
पहिला बानी त्यस्तै थियो। त्यसो मानसिक समस्या पनि होइन। पहिला त्यस्तै लाग्थ्यो।
जिन्दगीमा खुसी भएको केही क्षण छ?
केही छैन। छोराछोरी हुँदा भने खुसी भएकी थिएँ।
तपाईंलाई काम वा मनोरञ्जनमध्ये के गर्न राम्रो लाग्छ?
पीडा भएको बेला सिरियल हेर्छु। दु:खका सिरियल हेर्दा आफ्नो पीडा बिर्सिन्छु। सानो छोरा ८ वर्षको छोरा छ। उसैसँग कुरा गर्छु, खेल्छु। त्यो गर्दा पनि रमाइलो लाग्छ।
तपाईंलाई के खाना मनपर्छ?
जे पनि खान्छु। फलफूल राम्रो खान धेरै राम्रो लाग्छ।
मन परेको खाना कत्तिको खान पाइन्छ?
पाइँदैन, कहाँ पाउनू खान!
स्वास्थ्य अवस्था कस्तो छ?
ठिकै छ। कहिलेकाहीँ प्रेसर लो छ।
स्वास्थ्य उपचार गर्नुपरे कहाँ, कसरी जानुहुन्छ?
गाह्रो त गाह्रै छ। स्वास्थ्य समस्या परे सरकारीमै जान्छु। सानो बाबुको हात भाँच्चिदा सरकारी अस्पतालमै गएकी थिएँ।
राति निद्रा कत्तिको लाग्छ?
निद्रा लाग्दैन राति। बिहानै निद्रा खुल्छ। राति ११ बजेसम्म निद्रा लाग्दैन।
कुनै पल मस्त निदाएको सम्झाना छ?
त्यस्तो मस्त निद्रा लागेको कहिल्यै पनि सम्झना छैन।
के कारणले मन पिरोलिरहन्छ?
जेठो छोरो बिग्रियो, जेठो छोरो नसा खान थाल्यो यो कुराले मनमा पिर परिरहन्छ। बाउ त बिग्रियो बिग्रियो, छोरो पनि त्यस्तै भयो भनेर मन पोलिरहन्छ।
छोराछोरीले के गरून् भन्ने चाहना छ?
छोराछोरीले पढेर राम्रो ज्ञान पाऊन् त्यति सोच्छु, आफ्नो खुट्टामा उभिऊन् राम्रो भविष्य बनाऊन्, लोक सेवा पास गरेर सरकारी जागिर गरून् भन्ने कामना छ।
तपाईंलाई अहिले कसले सबभन्दा बढी सहयोग गरेको छ?
आमाले सबभन्दा बढी सहयोग गर्छिन्। आपत पर्दा आमाले आफ्नो भत्ताको पैसा पनि दिन्छिन्।
ठिकठिकै पैसाको के किन्न मन छ?
राम्रो कुर्ता सुरूवाल किन्न मन छ। पाइन्ट त लगाउँदिनँ।
जिन्दगी के हो जस्तो लाग्छ?
खाली हो जिन्दगी। अब त छोराछोरीको लागि जिउनु हो जस्तो लाग्छ।
तपाईंलाई गाउँ समाज कस्तो लाग्छ?
ठिकै लाग्छ। मुखनेर कठै भने पनि पिँठ्यू पछाडि कुरा काट्छन्। तर पनि राम्रै लाग्छ समाज गाउँ, साथीभाइ।
नेपालको राजनीति कस्तो लाग्छ?
राम्रो लाग्दैन। कोही पीडाको पीडामै छन्। कोही खुसीको खुसीमै छन्।
गएको चुनावमा कसलाई भोट हाल्नुहुन्छ?
गएको चुनावमा एमालेलाई हालेको हो।
अब आउने चुनावमा कसलाई भोट दिनुहुन्छ?
चुनावमा सबै राम्रै कुरा गर्छन्। सबैले राम्रै गर्छु भन्छन्। अब कसलाई दिनु भन्नू!
एमालेलाई चाहिँ किन भोट दिनुभयो?
एकल भत्ता, भत्ताको पैसा दियो भन्छन्। त्यसैले अरूले पनि दिए त्यही भएर हामीलाई पनि दियौं।
सरकारले के काम गरोस् भन्ने चाहनुहुन्छ?
सरकारले राम्रो काम गरोस्, हामी जस्ता दु:खीलाई हेरोस्।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्