(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
सुर्खेतको बराहताल गाउँपालिका–१ तेलपानीका लक्ष्मण कुमार बडुवाल ५८ वर्षका भए। उनको मुख्य पेसा कृषि हो। हिउँदको समयमा आलु फलाएर आम्दानी गर्ने उनले बर्खाको समयमा भने धान र मकै फलाउँछन्। गाउँको अगुवाको रूपमा भूमिका खेलिरहेको बडुवालसँग हामीले सेतोपाटीको श्रृंखला ‘हामी आममान्छे’ का लागि कुरा गरेका छौं।
तपाईंको परिवारको मुख्य पेसा के हो?
कृषि गरेको छु। १३ कट्ठा जग्गामा आलु, धान, मकै फलाउने गरेको छु। सुरूदेखि नै यही पेसाबाट मैले आफ्नो परिवार चलाएको छु।
कृषिमा सबभन्दा राम्रो कमाइ कुन बालीबाट हुन्छ?
कमाइ हुने भनेकै नगदे बालीबाट हो। गत सिजनमा मैले ६० किलो आलुको बिउ लगाएको थिएँ। त्यसबाट १६ क्विन्टल उत्पादन भयो। यो सिजनमा १२० किलो बिउ लगाएको छु। ३२ क्विन्टल उत्पादन गरेर बजार पठाउने लक्ष्य छ।
परिवारमा को–को बस्नुहुन्छ? मेलमिलाप कस्तो छ?
अहिले त हामी घरमा श्रीमान र श्रीमती मात्र बस्छौं। अरू छोराछोरी सहरतिर बस्छन्। मेलमिलाप राम्रो छ। हामी श्रीमान–श्रीमतीबीच पनि अहिलेसम्म झगडा परेको छैन। छोराछोरीले पनि सुखै दिएका छन्।
तपाईंलाई के गर्दा मज्जा लाग्छ, काममा होस् या मनोरञ्जनमा?
मलाई सबभन्दा रमाइलो त बारीतिरै काम गर्न लाग्छ। बारीमा भएको बालीको स्याहार गर्दा, सिँचाइ गर्दा आनन्द लाग्छ। मैले फिल्म हेर्ने, फेसबुक चलाउने गरेको छैन। समय पनि मिल्दैन। मैले त भिडिओ हेर्ने मोबाइल पनि किनेको छैन। कहिलेकाहीँ टिभीमा गीत, फिल्म हेर्छु।
खानेकुरामा के मनपर्छ?
मलाई मनपर्ने खाना भनेको रोटी र तरकारी हो। साथमा दही भए झन् राम्रो। अधिकांश खानामा रोटी नै खान्छु।
तपाईंको स्वास्थ्य कस्तो छ? मजाले निद्रा पर्छ?
अहिलेसम्म दीर्घरोग छैन। अहिले पनि मज्जाले घाँसका भारी बोकेर ओहोरदोहोर गर्न सकेको छु। ६ घण्टाभन्दा बढी निद्रा पर्छ। यो मेरो विचारमा ठिकै हो भन्ने लागेको छ।
आफ्नो लागि होस् वा अरूलाई उपहार दिन होस्, यही कुरा किन्न पाएको भए हुन्थ्यो भन्ने लागेको केही छ?
मलाई त्यस्तो केही लाग्दैन। छोरीहरूको विवाहमा अलिअलि सहयोग गर्न मन थियो। सोचेअनुसार नै विवाह गराइदिएको छु। घरमा अलि ठूलो क्षमताको सोलार र टिभी किन्ने योजना थियो। त्यो पनि पूरा गरिसकेँ।
जीवनमा तपाईं एकदम खुसी भएको कहिले हो? के कुराले खुसी हुनुभएको थियो?
जीवनमा धेरैपटक खुसी भइयो होला। तर बिर्सनै नसक्ने खालको भने केही छ जस्तो लाग्दैन। बरू अहिले छोराछोरी बाहिर बस्छन्। उनीहरू पर्वका बेला घरमा जम्मा हुँदा खुसी लाग्छ।
जीवनमा एकदमै चित्त दुखेको के कुराले हो?
चित्त दुखेको समय त छ। अहिले मसँग भएको सम्पत्ति मेरै मेहनतबाट जोडेको हुँ। यसअघि केही थिएन। कसैसँग पैसा सापटी माग्न जाँदा पनि पत्याउँथेनन्। त्यो बेला मलाई दु:ख लाग्थ्यो। बरू अहिले म अरूलाई सहयोग गर्ने भइसकेको छु।
यही कुरा गर्न पाएको भए हुन्थ्यो भन्ने लागेको वा नसकेर मन पिरोलेको केही कुरा छ?
मन राजनीतितिर जान्छ। जनप्रतिनिधि नभए पनि पार्टीको कुनै पदमा बस्न पाएको भए हुन्थ्यो भन्ने लाग्छ। तर भएको छैन।
देशको राजनीति कस्तो लाग्छ तपाईंलाई?
राजनीति सैद्धान्तिक हिसाबले एकदमै राम्रो हो। देशलाई कतातिर लैजाने भन्नेमा राजनीतिको मुख्य भूमिका हुन्छ। तर राजनीति गर्ने व्यक्ति कस्तो छ भन्नेमा भर पर्ने रहेछ। नेपालमा राजनीति राम्रोसँग चलेको छ भन्नचाहिँ सकिँदैन।
तपाईंलाई हाम्रो समाज वा टोल कस्तो लाग्छ? समाज–टोलको के कुरा मनपर्छ?
समाज राम्रो छ। गाउँको विकास हुने सानातिना योजना माग्नुपर्यो भने मैले नै अगुवाइ गर्छु। मेरो अगुवाइलाई समाजले कदर गरेको छ। कुनैबेला हाम्रो समाजमा दलित समुदायको लास कथित गैरदलितहरूले बोक्थेनन्। मैले नै बोक्न सुरू गरेको हो। अहिले सबैले बोक्छन्। कुरा मानेका छन्।
देशको नेतामा को मनपर्छ?
स्थानीय नेतामा कांग्रेसका हृदयराम थानी मनपर्छ। केन्द्रमा गगन थापा मनपर्छ।
सरकारले के काम गरिदियोस् भन्ने लाग्छ?
सरकारले गर्ने काम त गरेकै छ। अपेक्षाअनुसार भएको छैन। सरकारले अब द्रुत गतिमा काम गर्नुपर्छ। यसका लागि प्रणाली व्यवस्थित गर्नुपर्छ जस्तो लाग्छ।
गएको निर्वाचनमा कसलाई भोट दिनुभएको थियो?
गएको चुनावमा नेपाली कांग्रेसका उम्मेदवारलाई भोट हालेको हो।
अब निर्वाचन भयो भने कसलाई भोट दिनुहुन्छ?
अब हुने निर्वाचनमा यहीलाई भोट दिन्छु भन्न सकिँदैन। त्यसबेला को व्यक्ति आउँछन् र कस्तो अजेण्डा ल्याउँछन् भन्ने हेर्नुपर्छ।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्