(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
विराटनगर महानगरपालिका वडा नम्बर ८ की ४५ वर्षीया रेणुका विश्वकर्मा सोमबार दलित महिलाहरूको एउटा कार्यक्रममा व्यस्त थिइन्। कार्यक्रममा सहभागी हुन आउनेहरूलाई बस्ने ठाउँमा पुर्याउने र उनीहरूलाई स्वागत गर्नमा व्यस्त देखिएकी उनलाई हामीले कुराकानीका लागि अनुरोध गर्यौं। त्यही व्यस्तताबीच उनले हामीलाई समय दिइन्।
आजको कार्यक्रम के हो?
दलित महिलाको सशक्तीकरणबारे अन्तर्क्रिया कार्यक्रम हो।
दलित महिला संघ (फेडो) ले आयोजना गरेको कार्यक्रम रहेछ, तपाईं यसको के जिम्मेवारीमा हुनुहुन्छ?
म यो संस्थाको जिल्लाको बोर्डमा छु।
तपाईं पूर्णकालीन रूपमा यही संस्थामा काम गर्नुहुन्छ कि के गर्नुहुन्छ?
होइन, आफ्नो कामबाट फुर्सद निकालेर यस्तो सामाजिक काममा समय दिन्छु।
यो संस्थामा तपाईंको मुख्य काम के हो?
संस्थाको बैठक र कार्यक्रमहरूमा सहभागी हुन्छु। दलित महिलाहरूका लागि आयोजना हुने अरू कार्यक्रमहरूमा पनि समय निकालेर जान्छु।
तपाईंको पेसा व्यवसाय चाहिँ?
म घरैमा व्यावसायिक रूपले सिलाइकटाइको काम गर्छु।
कस्तो छ सिलाइकटाइबाट हुने आयस्ता?
मेरो पकेट खर्च चलाउन पुग्छ भन्नुपर्ला। मेरो श्रीमानको सुनचाँदी कारखाना छ। परिवारको मुख्य आम्दानीको स्रोत त्यही हो।
परिवारमा को–को हुनुुहुन्छ?
हामी श्रीमान श्रीमती अनि दुई छोरी, दुई छोरा। छोरीहरूको बिहे भइसकेको छ। छोराहरू पढ्दैछन्।
जिन्दगीमा सुखदुःख कस्तो छ त?
अहिलेसम्म घरपरिवारमा राम्रै छ। सुखशान्ति, हाँसीखुसी नै छौं।
छोराछोरीबाट सन्तुष्ट हुनुहुन्छ?
उनीहरूले पनि राम्रो गरेका छन्। सन्तुष्ट छु।
दलित महिला संघ (फेडो) कस्तो संस्था हो, यसले के काम गर्छ?
यो दलित महिलाहरूको हक अधिकारका लागि काम गर्ने संस्था हो। बेलाबेला माथि (काठमाडौंबाट) म्यामहरू आउनुहुन्छ। हामीलाई तालिमहरू दिनुहुन्छ। हाम्रो अधिकारबारे सचेत गराउनुहुन्छ। हामी अहिले मोरङमा१० वटा समूह बनाएर काम गरिरहेका छौं। संस्था राम्रै चलाइरहेका पनि छौं।
तपाईंलाई जीवनमा सबैभन्दा धेरै खुसी लागेको क्षण सम्झना छ?
सबैभन्दा धेरै खुसी महसुस गरे जस्तो लाग्दैन। हामी छोरी मान्छेलाई स-सानो कुराले पनि खुसी बनाउँछ। श्रीमानको व्यवहार र मायाले खुसी छु। छोराछोरीको कुराले पनि खुसी नै लाग्छ। मलाई सानै कुराले पनि धेरै खुसी बनाउँछ।
अनि, सबैभन्दा दुःख लागेको क्षण चाहिँ?
हामी दलितहरूमाथि हुने छुवाछुतले साह्रै दुःखी बनाउँछ।
त्यस्तो प्रकारको हिंसाको प्रतिवाद कसरी गर्नुहुन्छ?
देखेर, खुलेर हिंसा गर्दैनन्। तर, व्यवहारमा पाइलैपिच्छे त्यस्तो गरेको अनुभव हुन्छ। छरछिमेकदेखि सार्वजनिक कार्यक्रमहरूसम्मै पनि त्यस्तो महसुस हुन्छ।
छरछिमेक र समाजमा यस्तो समस्या कतिको व्यहोर्नुपरेको छ?
छरछिमेक र समाजमै पनि भोगिएको छ। कतिपयले छुवाछुत गर्नुहुन्न। कतिपयले गर्नुहुन्छ। हामी दलित भएर होला कतिपय व्यक्तिहरू हामीसित धेरै मिल्नुहुन्न। पूजाआजामा छुटाउनुहुन्छ। हामीले घरमा पूजाआजामा बोलाएर प्रसाद दिँदा कतिले लिनुहुन्छ, कतिले लिनुहुन्न। त्यस्तो व्यवहारले दिक्क बनाउँछ।
यस्तो छुवाछुतलाई कानुनले दण्डनीय अपराध भन्छ। फेरि यस्ता खाले हिंसाविरूद्ध यतिधेरै अभियान चलिरहँदा पनि छुवाछुत समस्या जस्ताको तस्तै नै छ है?
हो। म आफै पनि आफ्नो संस्थामार्फत यस्तो गतिविधिमा सक्रिय नै छु। हामी यतिधेरै भागदौड गरिरहेका छौं, यति गर्दा पनि छुवाछुत अन्त्य नभएको देख्दा थकथकी लाग्छ। बाहिरी रूपमा त सबैले हामी सबैजना एउटै हौं भन्नुहुन्छ। तर, बाहिरी रूपमा मात्रै एउटै हुन्छ, भित्री रूपमा अर्कै हुन्छ।
बाहिर एउटा र भित्र अर्कै किन भयो होला भन्ने लाग्छ?
खै कसरी भन्ने! अहिले पनि छुवाछुत जस्ताको तस्तै छँदैछ। भाषणमा पनि छुवाछुतविरूद्ध बोल्नेहरू धेरै भेटेका छौं। तर, उनीहरूको व्यवहार त्यस्तो देखिन्न। चेतना नै होला मुख्य कारण त।
अहिले देशमा संघीयता छ, गणतन्त्र छ। वडावडामा दलित समुदायका जनप्रतिनिधिहरू हुनुहुन्छ। पहिलेभन्दा अहिले सुधार भए जस्तो लाग्छ कि लाग्दैन?
सुधार भयो भन्नु र साँच्चैको सुधार हुनुमा फरक छ नि! त्यहाँ नामको मात्रै एक जना दलित प्रतिनिधि हुनुहुन्छ। उहाँहरूको कामको विषयमा मलाई धेरै थाहा छैन। दलित जनप्रतिनिधिहरू भए पनि उहाँहरू मुख्य ठाउँमा नभएपछि केही हुन्न। हामीले कार्यक्रममा वडाध्यक्षहरू बोलाउँछौं। हामीले बोलाउँदा वडाध्यक्षहरू नै आउनुहुन्न।
सरकारले दलित समुदायका लागि के गरिदेओस् भन्ने लाग्छ?
मैले हाम्रै विराटनगरमा धेरै जना दलित र सुकुम्बासी दिदीबहिनीहरू भेटेको छु, उहाँहरू भोकै र नांगै हुनुहुन्छ। रोजगारी केही छैन। छोराछोरी पढाउन, आफ्नो उपचार गर्न सक्ने अवस्थामा हुनुहुन्न। उहाँहरूको लागि कम्तीमा उपचारको व्यवस्था वडाहरूले, सरकारले गरिदिए राम्रो हुन्थ्यो भन्ने लाग्छ।
तपाईंलाई राजनीति कस्तो लाग्छ?
मलाई राजनीतिबारे त्यति धेरै थाहा छैन।
नेपालको कुन पार्टी मनपर्छ?
माइत(झापा) मा हुँदा बुवाहरू एमालेमा हुनुहुन्थ्यो, त्यही मनपर्छ।
मनपर्ने नेता चाहिँ को हो? किन?
केपी (ओली) बा नै मनपर्छ। उहाँको भाषण गर्ने शैली मनपर्छ। उहाँले गरेका कामहरू पनि मनपर्छ।
भोट नियमित दिँदै आउनुभएको छ?
उहिले माइतमा हुँदा भोट दिएको हो। अहिले त धेरै भयो दिएको छैन।
रमाइलो गर्नुपर्यो भने के गर्नुहुन्छ?
घुमघाम गर्छु।
पछिल्लोपटक कहाँ घुम्न जानुभयो?
पछिल्लोपटक आमा दिदीहरूसित इलाम घुम्न गएको थिएँ।
सबैभन्दा मनपर्ने खानेकुरा के हो?
मलाई दालभात नै मनपर्छ।
रोग केही छ? नियमित औषधि खानुपर्छ?
मलाई केही रोग छैन। नियमित औषधि खानुपर्दैन।
रातमा निन्द्रा कस्तो छ?
निन्द्रा मज्जाले लाग्छ।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्