(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
जनकपुरधाम उपमहानगरपालिका-४ स्थित मालपोत अगाडिको घरमा उनी नातिनातिनी खेलाउँदै थिइन्। दिनभर बच्चा खेलाउने र टेलिभिजनमा प्रवचन सुन्ने ६० वर्षीया शान्ति यादवको दिनचर्या हो।
हामी पुग्दा नातिनातिना उनका औंला तानिरहेका थिए। यहीबीच हामीले उनीसँग कुराकानी गर्यौं।
के छ हालखबर?
सबै ठिक छ। दिनभर बच्चाबच्चीको हेरचाह गर्छु। यिनीहरूसँगै रमाउँछु।
अरू के गर्नुहुन्छ तपाईं?
पहिले म महोत्तरीको राप्रपा जिल्ला अध्यक्ष थिएँ। केन्द्रीय सदस्य पनि भएँ। श्रीमान बितेपछि २०६८ सालतिर जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य भएकी थिएँ। मेरो श्रीमान रामविलास यादव २०५१ सालमा उपसभामुख बन्नुभएको थियो र २०५३ सालमा उद्योगमन्त्री।
मेरो एउटा छोरा छ। बिहेबारी गरिसकेपछि बुहारी आइन्। उनैलाई सहयोग गर्ने, घरपरिवार हेर्ने काम गर्छु। म बुढी भएँ अब, यही सब गर्छु नि! छोराछोरी, बुहारीलाई घरव्यवहार र राजनीतिको कुरा सिकाउँछु।
कति जना छोराछोरी छन्?
एक छोरा र दुई छोरी छन्। जेठी छोरी घरकै काम हेर्छिन्, ज्वाइँ डाक्टर छन्। कान्छी छोरी वकिल छिन्, ज्वाइँ इन्जिनियर छन्। छोरा राजनीति गर्छन्, बुहारी घरैकै काम हेर्छिन्।
सबैभन्दा धेरै के काममा मज्जा आउँछ?
मलाई सबैभन्दा धेरै यिनै बालबच्चा खेलाउन, घरको रेखदेखमा मज्जा आउँछ।
मनोरञ्जनका लागि के गर्नुहुन्छ?
प्रवचन सुन्छु। भगवानको पूजापाठ हेर्न, कथा सुन्न राम्रो लाग्छ। सधैं नुहाइधुवाइ पूजापाठ गरेर मात्रै खाना खान्छु।
खानामा सबैभन्दा धेरै के मनपर्छ?
माछा, मासु र भात सबैभन्दा धेरै मनपर्छ। एक हप्ताअघि खाएकी थिएँ। व्रत, पूजापाठ र विवाह पञ्चमीमा खान्नँ।
छोराछोरीबाट कति सुख पाउनुभएको छ?
धेरै सुख छ। खाना पस्केर दिन्छन्। खुट्टा थिचिदिन्छन्। धेरै माया गर्छन् छोराबुहारीले।
परिवारमा कतिको मेलमिलाप हुन्छ?
धेरै मेलमिलाप छ। कहिलेकाहीँ भनाभन, मनमुटाव त भइहाल्छ। तर रमाइलो पनि हुन्छ।
स्वास्थ्य कस्तो छ तपाईँको?
राम्रो छ। तन्दुरूस्त नै छु।
निद्रा कतिको आउँछ तपाईंलाई?
राम्रै निद्रा पर्छ। कहिलेकाहीँ बालबच्चाको चिन्ता लाग्छ। कहिलेकाहीँ श्रीमानको याद आउँछ, त्यस दिन अलि कम निद्रा आउँछ।
सबभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
श्रीमान हुँदासम्म सधैं खुसी नै थिएँ।
श्रीमानले पाँच पटक चुनाव हारेर, पछि नेपालमै दोस्रो सर्वाधिक मत ल्याएर जित्नुभयो। त्यसपछि उपसभामुख बन्नुभयो, मन्त्री बन्नुभयो। त्यति बेला धेरै खुसी भएँ।
नातिनातिनी जन्मिँदा पनि धेरै खुसी भएकी थिएँ।
सबभन्दा धेरै दुःख लागेको दिन कुन हो?
श्रीमानको निधन भएको दिन। २०६५ सालमा हृदयाघात भएर उहाँको निधन भयो। त्यो दुःख बिर्सिनै सक्दिनँ।
तपाईँको मनमा सबभन्दा धेरै के कुराले पिरोलिरहन्छ?
मेरो छोराले चुनाव लडेर जिते हुन्थ्यो भन्ने लाग्छ। मेरा श्रीमान मन्त्री थिए। मलाई मान्छेले 'मन्त्रानी' भन्थे। त्यसैगरी मेरो छोरा पनि मन्त्री बनोस् र बुहारीलाई मान्छेहरूले 'मन्त्रानी' भनून् भन्ने लागेको छ। यही कुरा दिमागमा धेरै खेलिरहेको हुन्छ।
यो समाज र टोल कस्तो लाग्छ?
धेरै राम्रो लाग्छ। जनतासँग भेटघाट हुन्छ। समाजले नै श्रीमानलाई जिताइदिएपछि काठमाडौंमा बस्न पायौं। मेरो छोरालाई पनि समाजले साथ, सहयोग गरोस्। चुनाव जिताइदियोस्।
समाजका गलत काम, झगडा, लडाइँ भने धेरै खराब लाग्छ।
जनकपुरमा बसाइ कहिलेदेखि हो?
यहाँ करिब ७ वर्षदेखि बस्छु। पहिले काठमाडौं बस्थेँ। मेरो पुरानो घर महोत्तरीको एकडारा गाउँपालिकामा हो। गाउँमा कहिलेकाहीँ जान्छु। जलेश्वरमा पनि घर छ। काठमाडौंमा चाहिँ घर छैन।
अहिले पनि तपाईं राप्रपामै हुनुहुन्छ?
हामी पहिलेदेखि राप्रपामा छौं र रहिरहन्छौं।
तपाईंलाई सबैभन्दा धेरै को नेता मनपर्छ?
मेरो श्रीमान। उहाँले धेरै विकास गर्नुभएको थियो। मेरो श्रीमान जस्तो नेता अहिले म देख्दै देख्दिनँ। यहाँदेखि अमेरिकासम्मका मान्छेले उहाँलाई सम्झिरहेका छन्। उहाँको सम्झनामा गाउँमा स्मारक पनि बनेको छ।
छोरीलाई पढाएर कतिको सन्तुष्ट हुनुहुन्छ?
धेरै खुसी छु। मेरी छोरी वकिलको पोसाक लगाएर आउँदा धेरै गर्व लाग्छ। कहिलेकाहीँ त मसँगै तर्कवितर्क गर्छिन्।
सरकारले के के गरिदिनुपर्छ?
सरकारले इनार, नहर खन्दिनुपर्छ। किसानलाई सहयोग गर्नुपर्छ। खानेपानी, सडक सुविधा दिनुपर्छ। गरिबलाई खर्च दिनुपर्छ, रोजगारी दिनुपर्छ, उद्योगधन्धा खोल्दिनुपर्छ।
गत निर्वाचनमा कसलाई भोट दिनुभयो?
म त्यो भन्दिनँ।
अब चुनाव भयो भने कसलाई भोट दिने सोच छ?
अहिले त थाहा छैन।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्