(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
गत साता एउटा यात्राका क्रममा अछामको मेल्लेख गाउँपालिका–२, डाँडाश्रीका ४८ वर्षीय लालबहादुर धामीसँग भेट भयो। मेल्लेखस्थित प्रसिद्ध धार्मिकस्थल ‘नदाइनन्दा माता मन्दिर’ को दर्शन गर्न जाने क्रममा उनी जंगलको बाटोमा भेटिए।
उनी जंगलमा काठ चिर्ने काममा थिए। मैले सेतोपाटीका लागि उनै लालबहादुरसँग उनको जिन्दगीको दुःखसुखबारे केही कुरा गरेकी छु।
काठ चिर्ने काम गरेको कति वर्ष भयो?
धेरै भएको छैन, चार वर्ष भयो।
काठ कसरी निकाल्नुहुन्छ?
राम्रो काठ आउने खालको रूख छानेर ढाल्नुपर्छ। त्यसपछि चिरेर काठ निकाल्नुपर्छ। काठ चिर्न लगाउने व्यक्तिले वन (कार्यालय) लाई एउटा रूखको १० हजार रुपैयाँ तिर्नुपर्छ। काठ निकाल्ने हामीले पनि आरा चलाएबापत कर तिर्नुपर्छ। त्यो रकम गाउँलेले खडा गरेको कोषमा जम्मा हुन्छ। हामी मेसिनले पनि काठ चिर्छौं।
एउटा रूखबाट कति काठ निस्किन्छ?
त्यो त रूख हेरेर हुन्छ। ठूलो र राम्रो छ भने एउटै रूखबाट पनि एउटा घरलाई चाहिने सबै काठ निस्किन्छ।
काठ निकाल्ने रूख कत्तिको पाइन्छ?
वनमा रूख जति पनि पाइन्छ। खासै अभाव छैन।
काठ चिर्नेबाहेक अरू के काम गर्नुहुन्छ?
जेठ–वैशाखमा गोठालो काम गर्छु। चार वटा भैंसी पालेका छौं। मैले जिन्दगीमा खेतीपाती र गोठालोको काम धेरै गरेँ। भारी बोक्ने काम पनि गरेँ। अलमोडा र नैनतालमा बोझा (भारी) बोक्ने काम पनि गरेँ। अचेल पनि यता (गाउँमा) काम नभएका बेला उतै (भारत) जान्छु।
चार वटा भैंसी पाल्न त निकै मेहनत गर्नुपर्छ होला नि?
मेहनत चाहिन्छ नि! बर्खाको समयमा वनतिर लैजान्छौं। भगवानको नाम लिएर वनमा छाडिदिन्छौं, वनमै चर्छन्। धेरै घाँस चाहिँदैन। दिनभरि चरेर बेलुका आफै गोठमा आउँछन्। हिउँदमा खर खुवाउँछौं। कुँडो बनाएर पनि खुवाउँछौं।
यसरी भैंसी पालेर के फाइदा हुन्छ?
खेतपाती लगाउन मल चाहिन्छ। भैंसीले मल दिन्छ। हाम्रोमा आलु निकै राम्रो फल्छ। आलुबारीमा भैंसीको मल हाल्छौं। पैसा तिरेर मल किन्नु पर्दैन। घरमा प्रशस्त दही, दुध र घिउ हुन्छ। मस्त खान पाइन्छ। अहिलेसम्म दुध बेचेको छैन।
छोराछोरी कति छन्?
पाँच जना छन्। जेठी छोरीको बिहे भइसक्यो। अरू सबै पढ्ने काममा छन्।
छोराछोरीले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
घरमा भएका छोराछोरी सानै छन्। तिनले राम्रो पढेर जागिर गरून् भन्ने कामना छ। उनीहरूको जिन्दगी हाम्रो जस्तो दुःखको नहोओस् भन्ने लाग्छ तर बाबुआमाले सोचेको जस्तो हाम्रा छोराछोरी सोच्दैनन्। पढाइमा मेहनत गर भन्दा वास्तै गर्दैनन्।
एउटा छोरालाई राम्रो पढाउन भनेर धनगढी पठाएँ, धेरै गर्मी भयो भन्दै फर्केर आयो। डाक्टरका छोराछोरी डाक्टरै हुन्छन्। हिरो, हिरोनीका छोराछोरी पनि त्यस्तै हुन्छन्।
राजनीति गर्नेका छोराछोरी राजनीतिमै लाग्छन्। सुवास नेम्वाङ बिते। उनका छोरा राजनीतिमा आए।
हाम्रा छोराछोरीले राम्रो पढेनन् भने त हामीले जस्तै दुःख गर्ने त होलान् नि!
तपाईंको परिवारमा मेलमिलाप कस्तो छ?
त्यो त राम्रो छ।
तपाईंलाई के कुराले अलिक बढी चित्त दुख्छ?
मलाई खासै कुनै कुराले पनि चित्त दुख्दैन। मान्छेले हेला गरेर हो कि माया मानेर ‘हुँ बाघ’ भन्छन्। त्यसो भने पनि मलाई नराम्रो लाग्दैन।
(यतातिर सानो बाघलाई हुँ बाघ भन्छन्। यो बाघ चर्को स्वरमा कराउँछ।)
बाल्यकालको केके कुरा सम्झना छ?
बाल्यकालमा मलाई सुख नै थियो। म आफै बिग्रेर दुःख पाएको हुँ। बुवाले भेँडा पालेका थिए, व्यापार गर्थे। मलाई स्कुल जा, पढ् भनेका थिए तर मैले पढाइमा ध्यान दिइनँ। आफूलाई जे मन लाग्यो त्यही गरेँ।
बिहे कति वर्षको उमेरमा गर्नुभयो?
मेरो बिहे १३ वर्षको उमेरमा भएको हो। घरबाटै गरिदिएका हुन्। मेरा चार जना भाइबहिनी थिए। आमा सानैमा बितिन्। त्यही भएर मैले सानै उमेरमा बिहे गर्नुपरेको हो।
बिहेपछिको जिन्दगी खुसी नै छ। श्रीमतीले राम्रो साथ दिएकी छन्।
आफ्नो खेतबारीमा उत्पादन भएको अन्नले खान पुग्छ?
सिजनअनुसार मकै, धान, गहुँ र केही तरकारी उत्पादन हुन्छ। केही महिना खान पुग्छ।
तपाईं के काममा बढी खुसी हुनुहुन्छ?
जस्तो परिस्थिति आयो त्यसैअनुसार हुन्छ। साथीभाइसँग कुराकानी गर्ने, भैंसीको स्याहार गर्ने र नुहाइदिने, आफ्नो खेतीको काम गर्ने; यस्तैमा रमाइलो लाग्छ।
भलिबल खेल हेर्न पाउँदा एकदमै खुसी हुन्छु। गाउँमा भलिबल खेल भएका बेला आफू जहाँ भए पनि हेर्न पुग्छु।
जिन्दगीमा धेरै खुसी भएको दिन सम्झना छ?
त्यस्तो दिनको खासै सम्झना छैन। धेरैजसो त आफ्नो काममा खुसी नै हुन्छु।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
आजसम्म त केही पनि भएको छैन। तीन माना चामल काँचै खाए पनि मलाई केही हुँदैन। जति पनि काम गर्न सक्छु।
निद्रा कस्तो छ?
दिनभरि काम गरेको हुन्छु, थकाइ लाग्छ, मज्जाले निदाउँछु। थकान भएका बेला ढुंगामा सुते पनि निद्रा लाग्छ। बिहान चार बजे उठ्छु। दिउँसो सुत्ने बानी छैन।
तपाईंलाई मनपर्ने खाना के हो?
चिल्लो दही र भात खुब मन पर्छ।
यति बेला तपाईंसँग ठिकठिकै पैसा भए के किन्नुहुन्थ्यो?
अहिले नै किन्न मन लागेको केही पनि छैन। मैले त लुगा पनि खासै किनेको छैन। गाउँलेले दिन्छन्, छोराको पनि लगाउँछु। काठ चिर्दा लगाएको लुगा धेरै फोहर हुन्छ। घरकाले धुन सक्दैनन्। त्यही भएर मेरो लुगा खासै सफा हुँदैन।
मोबाइल फोन कस्तो चलाउनुहुन्छ?
सानो बटनवाला छ, टच मोबाइल छैन।
समाचार र भिडिओ हेर्नुहुन्न?
हेर्छु नि, छोरीको मोबाइलमा हेर्छु।
तपाईंलाई आफ्नो गाउँसमाज कस्तो लाग्छ?
हाम्रो गाउँसमाज ठिक छ, राम्रो लाग्छ। सबै मिलेर बसेका छौं। गाउँमा कसैलाई साह्रोगाह्रो गर्दा सबै मिलेर सघाउने चलन छ।
आजकाल विचार गर्दा जिन्दगी के हो रहेछ जस्तो लाग्छ?
जिन्दगी त माछा, माछा भ्यागुतो रहेछ नि! आफूले सोचेको जस्तो केही पनि गर्न नसकिने रहेछ। आजभोलि भन्दाभन्दै, यसो गर्न पाए हुन्थ्यो, त्यसो गर्न पाए हुन्थ्यो भन्दाभन्दै जिन्दगी जाँदो रहेछ।
अब त जिन्दगीमा केही गर्ने रहर पनि छैन, सबै सकियो। काम गर्ने, जे छ त्यसैमा रमाउने हो।
तपाईंलाई देशको राजनीति कस्तो लाग्छ?
कस्तो भन्ने! जसले जनताको भोट लिन सके उनैले देश चलाउने हुन्। ठिकै लागेको छ।
तपाईंलाई मनपर्ने नेता को हो?
मलाई मनपर्ने नेता त भीम रावल हुन्।
किन?
म उनलाई बाल्यकालदेखि नै चिन्छु। मेरो बाल्यकाल उनीसँगै बित्यो। बड्डा (भीम रावल) सँग मेरो धेरै कुरा पनि हुन्थ्यो। मलाई त बड्डा जति मन पर्ने नेता कोही पनि छैन।
भीम रावलको के कुराले तपाईंको मन जितेको हो?
बड्डा ठिक कुरा गर्छन्। जे बोले पनि देशको हितको कुरा बोल्छन्। हुन त धेरै नेताहरू कुरा राम्रै गर्छन् तर मनमा बसेका नेता भीम रावल नै हुन्।
यति बेला सरकारले के काम गरोस् भन्ने लाग्छ?
सरकारले सबै जनताको गाँस, बास र कपासको व्यवस्था गर्नुपर्छ। मान्छेले काम गर्न पाउनुपर्छ। काम गरेपछि खान, लुगा लगाउन, उपचार गर्न, छोराछोरी पढाउन पुग्नुपर्छ।
नेताहरू कुर्सीका लागि हानाहान गर्छन्। यस्तो हानाहान छाडेर जनताका लागि काम गर्नुपर्छ अनि मात्र देश राम्रो हुन्छ।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्