(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
थवाङ गाउँपालिका रोल्पाको विकट ठाउँ मानिन्छ। यसमा पनि वडा नम्बर एक झनै विकट छ। हालै यही वडाको ठूलो गाउँका ३० वर्षीय सन्तोष बुढामगरसँग थवाङकै बाटोमा हिँड्दै गर्दा भेट भयो।
सन्तोष ‘जलजला हिमाल यातायात प्रालि’ का प्रतिनिधि रहेछन्। यही यातायातको काउन्टरमा बसेर टिकट काट्नु उनको काम रहेछ। यसपालि हामीले उनै युवा सन्तोषसँग कुरा गरेका छौं।
तपाईं के काम गर्नुहुन्छ?
म यहीँको बस काउन्टरमा काम गर्छु। जलजला हिमाल यातायात प्रालिको कर्मचारी हुँ। यहाँ यात्रुका लागि टिकट काट्ने र उनीहरूलाई पठाउने मेरो काम हुन्छ। तीन वर्ष भयो यो काम गरेको।
यो काममा कमाइ कति हुन्छ?
धेरै हुँदैन, सधैं एकनासको पनि हुँदैन। कहिले राम्रै हुन्छ, कहिले हुँदैन। महिनाको ८–१० हजारदेखि ३० हजार (रुपैयाँ) सम्म हुन्छ भनूँ।
तपाईंले कति पढ्नुभएको छ?
एसएलसी पास गरेको छु। त्यसपछि पढिनँ।
त्यसपछि किन पढ्नुभएन त?
भलिबल खेलतिर लागेँ, पढाइ छुट्यो। भलिबल खेल्न खुब मन पर्थ्यो। खेल्न ठाउँठाउँमा पुग्दा र साथीहरूसँग रमाइलो हुन्थ्यो। त्यतिकैमा पढाइ छुट्यो।
अहिले पनि खेल्नुहुन्छ?
आजकाल त आफ्नो मनोरञ्जनका लागि मात्रै खेल्छु। बरू म रेफ्री गर्छु। म लुम्बिनी प्रदेशस्तरीय भलिबलको रेफ्री हो। यो जिल्ला र आसपासमा भलिबल खेल हुँदा रेफ्री हुन्छु।
परिवारमा कोको हुनुहुन्छ?
बुवा हुनुहुन्छ ६१ वर्षका, ६५ वर्षकी आमा हुनुहुन्छ। दुई जना दिदी र एक जना भान्जी छन्। मेरो भाइ छ २६ वर्षको अनि ७ वर्षकी मेरी छोरी पनि छिन्।
बुबाआमा अलिक माथि बाइसधारामा बस्नुहुन्छ। त्यहाँ पहिला हाम्रो गोठ थियो। शान्ति प्रक्रियापछि मर्मत गरेर उहाँहरू त्यहीँ बस्नुभएको हो।
श्रीमती साथमा हुनुहुन्न र?
श्रीमतीसँग सम्बन्ध राम्रो भएन, सम्बन्ध विच्छेद भइसक्यो। दिदीको पनि सम्बन्ध विच्छेद भएर हामीसँगै बस्नुहुन्छ। उहाँ यहीँको एउटा माइक्रो फाइनान्समा काम गर्नुहुन्छ।
तपाईंले कहाँ बिहे गर्नुभएको थियो?
प्रेम विवाह भएको थियो गाउँमै। आफ्नै जातथरकी थिई। दिदीको पनि आफ्नै जातथरमा बिहे भएको थियो।
हाम्रो (श्रीमान–श्रीमती) बीचमा ठूलो झगडा त भएन तर व्यवहार मिलेन। घरसल्लाह गरेरै छुट्टिएका हौं। पैसा कमाउन नसक्दा महिलाले हेप्दा रहेछन् भन्ने अनुभव भएको छ।
पूर्वश्रीमतीसँग भेट हुन्छ कि हुँदैन?
भेट त हुन्छ नि तर बोलचाल हुँदैन। छोरी अहिले दाङको घोराहीमा पढ्दै छे। मेरी सालीसँग बस्छे। ऊ (पूर्वश्रीमती) पनि छोरी भेट्न घोराही आउजाउ गर्छे भन्ने सुन्छु, त्यसमा मलाई आपत्ति पनि छैन।
आमाले आफ्नी छोरी भेट्नुलाई किन गलत ठान्नु र! फेरि ऊसँग मेरो सम्बन्ध हुन्छ भन्ने विश्वास चाहिँ लाग्दैन।
जीवन के रहेछ?
भाग्यमा छैन भने प्राप्त गरे पनि गुम्दो रहेछ भन्ने लाग्छ। जस्तो भाग्य छ त्यसैमा जिउनु पर्दो रहेछ। कर्मअनुसारको फल प्राप्त हुन्छ भन्ने कुरा सत्य होला। मलाई त भाग्य पनि बलियो हुनुपर्छ भन्ने लाग्छ।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
अहिलेसम्म सब ठिक छ, राम्रो छ।
यति बेला तपार्ईंलाई के गर्न सके हुन्थ्यो भन्ने लागेको छ?
भाइले स्कुलको शिक्षा पूरा गरेपछि लाहुरे बन्ने भनेर मेहनत गर्यो तर सफल भएन। नेपाली आर्मी बनेर देशको सेवा गर्छु भन्दाभन्दै उसको पनि त्यो उमेर ढल्क्यो। भाइ र म सँगै बस्छौं। मलाई चाहिँ सकभर यहीँ व्यापार गर्छु, नभए विदेश जान्छु भन्ने लागेको छ। यहाँ राम्रो जागिर खान धेरै पढाइ छैन।
तपाईंको मनमा गढेर बसेको कुरा के हो?
साथीभाइसँगको रमाइलोमा र खेलमा लागेर पढाइ छोड्नु गलत थियो भन्ने लागेको छ। मैले उच्च शिक्षा हासिल गरेको भए मेरो सोच धेरै फराकिलो हुने थियो। म केही फरक तरिकाले सोचिरहेको हुन्थेँ होला।
तपाईंको जग्गाजमिन कति छ?
जग्गाजमिन कति छ भन्ने ठ्याक्कै थाहा छैन तर आम्दानीले खानलाउन पुग्छ। बुवाआमा मकै, भटमास, भाँगो, सिमी बेच्नुहुन्छ। वार्षिक ५० हजार (रुपैयाँ) जतिको बेच्नु हुन्छ होला।
तपाईंसँग यति बेला धेरै होइन कि ठिक्कको पैसा भए के गर्नुहुन्थ्यो होला?
मेरा लागि थवाङ निकै प्यारो छ। मोटरगाडी किनौंला, सहर छिरौंला भन्ने कुरा मनमा छैन। पैसा भए कमजोर आयस्रोत भएका, असहाय र गरिबदुःखीलाई सहयोग गर्ने थिएँ।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
समाज सहयोगी छ। कसैलाई अप्ठ्यारो पर्दा, दुःख पर्दा, पीडाको समयमा निःस्वार्थ सहयोग गर्ने समाज छ।
थवाङ माओवादीको उद्गमथलो हो भनिन्छ, तपाईंको राजनीतिक आस्था के हो?
मेरा ठूलाबुवा फर्कबहादुर बुढा सुरूदेखि नै माओवादीमा लाग्नुभएको थियो। माओवादीमा छँदा उहाँले डाक्टरी काम गर्नुभयो। उहाँ वडा नम्बर १ को वडाध्यक्ष पनि हुनुभएको थियो। उहाँ बित्नुभयो।त्यतिखेर त यहाँ ढुंगामाटो सबै माओवादीमय थियो। मेरा बुवा पनि माओवादीमा हिँड्नुभएको हो। मेरी कान्छी फुपू जनमुक्ति सेनामा हुनुहुन्थ्यो। उहाँले बिहे पनि गर्नुभएन।
म पनि पहिला पार्टीमा थिएँ। केही वर्ष पहिले पार्टीबाट टाढिएँ। अहिले स्वतन्त्र छु। आज मलाई घरपरिवारको हेरचाह गर्नु ठूलो कुरा रहेछ भन्ने लाग्छ। पार्टीका नेता राम्रा नहुँदा, स्वार्थी र लोभी हुँदा मन मर्दो रहेछ।
आज थवाङमा कुन पार्टीको वर्चश्व छ?
दुई पार्टीको मात्रै छ, एउटा प्रचण्डको पार्टी र अर्को विप्लवको। प्रचण्डका मान्छेहरूले गाउँपालिकामा जितेका छन्।
गाउँपालिका अध्यक्षले मनपरी गरेका छन्। कसैलाई थाहै नदिएर विभिन्न समितिहरू राखेका छन्। हामी जस्ता व्यक्तिले भनेको केही पनि नलाग्दो रहेछ। प्रचण्ड पक्षले सहअस्तित्व स्वीकार गरेको छैन।
भन्न मिल्छ, तपाईं कुन पक्षको हो?
तपाईं त विस्तारै मनभित्रै छिर्न थाल्नुभयो! यो सबै कुरा नभनूँ।
तपाईंले गएको चुनावमा भोट दिनुभयो?
नाइँ, दिइनँ। अहिलेसम्म भोट हालेको छैन। बेकार, भोट दिएर पनि के गर्नु छ र! राम्रो मान्छे आउँदैन।
तपाईं को उम्मेदवार भए भोट दिनुहुन्छ त?
‘विप्लव’ एक्लै भिडे भने मात्रै भोट दिन जान्छु, नत्र कसैलाई पनि दिन्नँ। मेरो भोट मैसँग सुरक्षित राख्छु। प्रचण्डको पार्टीसँग पार्टी एकता गरेर चुनावमा भिड्न आए भने पनि म विप्लवलाई भोट दिन्नँ।
तपाईंलाई ‘विप्लव’ मन पर्नुको कारण के हो?
पहिला प्रचण्ड ठिक लाग्थे तर उनले सपना मात्रै बाँडे। आफू सत्तामा उक्लने काम मात्र गरे। आफन्त र नातागोता मात्रै हेर्ने भए।
विप्लव गरिब र निमुखा जनताको पक्षमा कुरा उठाउँछन्। स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्छ भन्छन्। मुख्य कुरा, भ्रष्टाचारमुक्त राज्यको परिकल्पना गरेका छन्। उनको त्यही कुरा मलाई राम्रो लाग्छ।
यति बेला राज्यले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
व्यावहारिक रूपमा शिक्षा र स्वास्थ्य सेवा निःशुल्क बनाउन ध्यान दिए हुन्थ्यो।
थवाङमा एक जना जापनिज डाक्टरले गर्दा धेरै सजिलो भएको छ। राज्यले यहाँका गरिबदुःखीका लागि निःशुल्क उपचारको व्यवस्था गरिदिए हुन्थ्यो। गरिब मान्छे उपचार गर्न नसकेर मर्नुपर्ने अवस्था छ।
यहीँ नजिकमा भरपर्दो अस्पताल भइदिए हुन्थ्यो। यहाँको अस्पतालमा सुविधा छैन, सोझै दाङ रिफर गरिदिन्छन्। दाङमा पनि उपचार नभए त्यहाँबाट कहाँ पठाउँछन् थाहा हुँदैन।
तपाईंलाई मन पर्ने खाना के हो?
सिस्नो र ढिँडो सबैभन्दा बढी मन पर्छ। यहाँको खोलामा रैथाने माछा पाइँदैन। लोकल कुखुराको झोलसँग ढिँडो खान पनि मन पर्छ। ब्रोइलरको मासु मन पर्दैन।
फुर्सदको समयमा के गर्न मन पर्छ?
साथीभाइसँग भलिबल खेल्न मन पर्छ तर पहिले जस्तो थवाङका युवाहरू सबै यहाँ छैनन्। कोही पढ्न बाहिर गएका छन्, कोही धन कमाउन विदेशमा छन्। थवाङ पहिलेजस्तो रमाइलो छैन।
शान्ति प्रक्रियापछिको थवाङ कस्तो छ?
शान्ति छ। कसैको डरत्रास छैन। आज थवाङ धेरै परिवर्तन भएको छ। पक्की भवन धमाधम बन्दै छन् तर थवाङको मौलिकता नासिँदै गएको छ।
पहिलेको र अहिलेको थवाङ कुन राम्रो?
पहिले थवाङको आफ्नै परम्परा थियो। आफ्नो अलग्गै परिचय थियो। सबै घर एकै थिए। ढुंगामाटाको गारो, काठका फलेक र ढुंगाका छाना हुन्थे। ती घर प्रकृतिअनुकूल थिए। जाडो याममा न्यानो र गर्मीमा शीतल हुन्थ्यो।
पहिलेको थवाङ गाउँ एउटै बृहत् घरजस्तो थियो तर आज अमिल्दो देखिन्छ। सिमेन्टका पक्की संरचनाको होडबाजीले थवाङको पहिचान नष्ट हुँदै गएको छ। पैसा हुने मान्छेहरू थवाङको पहिचान नास गर्न बढी सक्रिय छन्। उनीहरू ठूला भवन र ठूला होटल बनाउन लागिपरेका छन्।
थवाङको मुख्य आयस्रोत के हो?
किसानले उत्पादन गर्ने मकै, भटमास, कोदो, सिमी, भाँगो नै यहाँको प्रमुख आयस्रोत हो। पहिला यहाँ राडीपाखी बुन्ने तान चल्थे, अहिले हराउँदै छ।
केही मानिस बाहिरका तयारी खानेकुरा र पोसाक ल्याएर यहाँ दुई चार रुपैयाँ कमाउनुलाई पनि आयआर्जन मान्छन्। वास्तवमा त्यसले थवाङको पैसा बाहिर गइरहेको छ।
थवाङमा पर्यटक कत्तिको आउँछन्? यहाँ पर्यटक तान्ने खास चिज के छ?
थवाङको हावापानी एकदमै फरक छ। जलजलाको हिमालको प्रभावले यहाँको मौसम सधैं चिसो हुन्छ। अर्को कुरा, थवाङको आफ्नै विद्रोही पहिचान छ। पञ्चायतविरूद्ध ‘नो भोट’ गरेको थियो थवाङले। प्रचण्ड र वैद्य छुट्टिँदा पनि ‘नो भोट’ गरेको हो।
प्राकृतिक रूपमा निर्मित एकै प्रकारका घर, आफ्नै रहनसहन, वेशभूषा र परम्परा यहाँका विषेशता हुन्।
माओवादीको उद्गमस्थल थवाङले विगतमा राज्यबाट पनि ज्यादति खेपेको थियो। राज्यसत्ताले यहाँका दर्जनौं सर्वसाधारणका घरमा आगो लगाइदिएको थियो। बर्मण बुढाजस्ता विद्रोही चेत भएका व्यक्तिहरूको जन्मथलो भएकाले पनि थवाङको अलग्गै पहिचान छ भन्ने मलाई लाग्छ।
यो समय र संवादका लागि तपाईंलाई धेरै धन्यवाद!
मलाई सेतोपाटीसँग कुरा गर्ने अवसर दिनुभएकोमा तपाईंलाई पनि धन्यवाद!