(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
केही दिनअघि अपराह्नतिर बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालसामु डोकोमा थोरै किवी बोकेर उभिएकी भेटिइन् ४५ वर्षीया दुर्गा आचार्य। उनी किवी किन्ने ग्राहकको प्रतीक्षामा थिइन्।
अर्घाखाँचीको बल्कोटकबाट आएर बुटवलमा बसोबास गरेको १० वर्ष भएको रहेछ। सिजन अनुसारको फलफूल डोकोमा बोकेर बेच्दै गुजारा चलाउने गरेकी रहिछन्।
हामीले उनै दुर्गासँग भलाकुसारी गरेका छौं।
कस्तो छ तपाईंको व्यापार?
व्यापार त्यति राम्रो छैन। दिनमा यस्तै २०-२२ किलोसम्म बिक्री हुन्छ। फलफूल बिक्री गर्ने मजस्ता मान्छे धेरै छन्।
आज कति किलो बिक्री गर्नुभयो?
बिहान २० किलो किवी बोकेर आएकी थिएँ। अब दुई किलो जति बाँकी छ।
तपाईंलाई कति नाफा हुन्छ?
नाफा धेरै छैन। एक किलोमा २० रुपैयाँजति आउँछ। कहिलेकाहीं किलोमा २५–३० रुपैयाँसम्म आउँछ।
फलफूल कहाँबाट ल्याउनुहुन्छ?
यो किवी गुल्मीबाट आएको हो। किवी खेती गर्ने किसानले गाडीमा हालेर पठाइदिएका थिए। अरू बेला मण्डीबाट ल्याउँछु।
यसरी डोकोमा फलफूल बोकेर बेचेको कति वर्ष भयो?
बुटवल आएको १० वर्ष भयो। यहाँ आएदेखि यसरी नै डोको बोकेर फलफूल बेचिरहेकी छु। पहाडमा घरजग्गा थियो। खेतीपाती गरेर खाइन्थ्यो। छोराछोरी पढाउन भनेर बुटवल झरेका हौं, यस्तो दुःख पाइयो।
केके फलफूल बेच्नुहुन्छ?
जुन सिजनमा जे पाइन्छ त्यही बेच्ने हो। अहिले सुन्तला, स्याउ र किवीको सिजन छ। आँपको सिजनमा आँप नै बेच्छु।
घरमा कोको हुनुहुन्छ?
दुई छोरी र एक छोरा छन्। चार वर्ष भयो, श्रीमान् अर्की श्रीमती ल्याएर अन्तै बस्नुभएको छ। त्यसपछि छोराछोरीको जिम्मेवारी मेरै काँधमा छ।
छोराछोरी कति उमेरका छन्?
जेठी छोरी २२ वर्षकी भइन्, कान्छी छोरी २० वर्षकी। छोरो १८ वर्षको छ। तीनैजना १२ कक्षा पास गरेर ब्याचलर (स्नातक तह) पढ्दै छन्। उनीहरूलाई पढाउन दुःख गर्दै छु। पढेर जागिर खाएपछि सुख देलान् भन्ने आशा छ।
तपाईंलाई व्यापारबाहेक अरू के गर्न मन लाग्छ?
यही डोकोमा व्यापार गरेर दुईचार पैसा कमाउन पाए हुन्थ्यो भन्ने बेलामा अरू के गर्न मन लाग्ने हो र! पहिले त गीत गाउन र नाच्न मन लाग्थ्यो। अहिले त्यो सबै हरायो। चारपाँच वर्ष भयो नाँचगान गर्न छाडेको।
तपाईंलाई के चिज अलिक मजाले खान मनपर्छ?
खानेकुरा त सबै मनपर्छ; दालभात, तरकारी सबै। यो मन पर्ने र त्यो मन नपर्ने भन्ने केही छैन।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
अहिलेसम्म औषधि नै खानुपर्ने गरी कुनै रोग लागेको छैन। कहिलेकाहीं रुघाखोकी लाग्ने र सामान्य ज्वरो आउने त भइहाल्छ। त्योभन्दा ठूलो समस्या केही पनि छैन।
तपाईंलाई निद्रा कत्तिको लाग्छ?
निद्रा त पटक्कै लाग्दैन। दिनभरि यही फलफूल व्यापारमा व्यस्त हुन्छु मनको दुःख पनि बिर्सिन्छु। राति भएपछि मनमा केके कुरा खेल्छ, निद्रा नै लाग्दैन।
मनमा कस्तो कुरा खेल्छ?
जवान भएका छोराछोरी छाडेर श्रीमान् अर्की लिएर गइहाल्नुभयो। यी छोराछोरीलाई पढाउने कसरी, बिहे दान गरिदिने कसरी भन्ने कुराले मन पिरोलिन्छ। आमाबाबु दुबैको जिम्मेवारी म एक्लैले पूरा गर्नुपरेको छ।
श्रीमानले यसरी मलाई र छोराछोरीलाई धोका नदिएको भए हुन्थ्यो भन्ने लाग्छ। छोराछोरी हुर्किएका थिए, पढ्दै थिए। दुबैजना मिलेर व्यापार गर्दै थियौं, तर एकाएक सबै भताभुंग भयो।
तपाईंसँग ठिक्क पैसा भए यस्तो चिज किन्न पाए हुन्थ्यो भन्ने के छ?
आफ्ना लागि त केही पनि छैन। पैसा भए छोराछोरीको फिस (पढाइ शुल्क) समयमा बुझाउन पाए हुन्थ्यो। उनीहरूलाई चाहिने लत्ताकपडा बेलैमा किनिदिन पाए हुन्थ्यो। मलाई त यस्तै कपडाले पनि भएकै छ।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
खुसी त आमाको काखमा हुँदा भइयो होला। त्यसपछि त खुसी हुने दिन कहिल्यै आएन। पहाडमा छँदा पनि मेलापात जाने र घाँसदाउरा गर्ने काम हुन्थ्यो, दुःख नै थियो। सुख पाउँन भनेर बुटवल आएपछि झन् दुःख भएको छ।
सबैभन्दा धेरै दुःखी कहिले हुनुभयो?
दुःखी त अहिले नै छु। श्रीमानले घरबाहिर अर्की राख्नुभएको छ भन्ने थाहा पाउँदा धेरै दुःख लाग्यो। श्रीमानले अर्की लिएर हिँडेपछि मेरा लागि त्योभन्दा ठूलो दुःख के हुनु र!
श्रीमानले अर्को बिहे गरेपछि तपाईंसँग भेट भएको छ कि छैन?
यतै बुटवलमै हुनुहुन्छ रे भन्ने सुनेकी छु। तर भेटघाट र कुराकानी केही पनि भएको छैन। मलाई भेट्न मन पनि छैन।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
टोल समाज त धेरै राम्रो लाग्छ। एक अर्कालाई सहयोग गर्ने, अप्ठ्यारो परेको बेला लाइमिली गर्ने हुन्छ।
तपाईंलाई आफ्नो देशको राजनीति कस्तो लाग्छ?
राजनीतिमा त्यति ध्यान छैन। दुःख नगरी साँझबिहान खान पुग्दैन। हामीजस्ता गरिबलाई राजनीतिले केही पनि गर्ने होइन। यो राजनीति भन्ने त मलाई केही मन पर्दैन।
तपाईंलाई देशको नेतामा को मनपर्छ?
देशको नेता त कोही पनि मन परेको छैन। हाम्रा लागि कुनै नेताले पनि केही गरिदिँदैनन्। यसरी डोकोमा बोकेर फलफूल बेच्न हिँड्दा पनि नगर प्रहरी आएर लखेट्छन्।
डोकोमा बोकेर बिक्री गर्दा हामीले के बिगारेका छौं र! नेतालाई जनता चाहिने चुनावमा मात्रै रहेछ! चुनावमा भोट हालेर कुर्सीमा पुर्याएपछि नेताले जनतालाई बिर्सिने रहेछन्।
मण्डीबाट डोकोमा फलफूल बोकेर ल्याउँदा पनि नगर प्रहरीले खोसिदिन्छ। मेरो १० वटाभन्दा धेरै डोका लगिदियो। डोकोमा भएको फलफूल, तराजु र पैसा भएको प्लास्टिक पनि खोसिदिन्छ।
गरिबको रोजीरोटी खोसिदिने मान्छे पनि नेता हुन्छ र! बरु राजाकै पालामा ठीक थियो।
तपाईंले गएको चुनावमा कसलाई भोट दिनुभयो?
भोट त नेपाली कांग्रेसलाई दिएको हो, तर अहिले पछुतो लागेको छ। पहाडमा छँदा पनि कांग्रेसलाई नै भोट दिएको हो, यहाँ आएपछि पनि उसैलाई दिएको हो।
अहिले बुटवलमा मेयर पनि कांग्रेसकै हुनुहुन्छ। तर हामीजस्ता गरिबको मन जित्न सक्नुभएन। गरिब मान्छेले गरिखान पनि गाह्रो भएको छ।
अब हुने चुनावमा कसलाई भोट दिनुहुन्छ?
अब त कसैलाई पनि नदिऊँ जस्तो लागेको छ। हामीले त भोट दिएर जिताउने मात्रै हो, हाम्रा लागि कसैले केही गरिदिने होइन। उनीहरू जित्नलाई हामीले किन भोट दिनुपर्यो र!
यति बेला सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले काम गर्ने उमेरका मान्छेलाई जागिर दिए हुन्थ्यो। जागिर भए नगर प्रहरीबाट लखेटिनुपर्ने थिएन। मलाई पनि डोको बोकेर यसरी लखेटिँदै व्यापार किन रहर हुन्थ्यो र!
सुबिस्ताले काम गरेर खान पाउने व्यवस्था गरिदिए हुन्थ्यो।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्