(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ६, बुद्धनगरमा ‘बुद्धपार्क’ नामको पर्यटकीय स्थल छ। पार्कमा घुम्न आउनेहरू धेरै हुन्छन्। त्यही पार्कमा भेटिइन् वडा नम्बर २, ढेकावारकी रतिमाया पुन। उनी यो पार्क घुम्न पहिलोपटक आएकी रहिछन्। उनै रतिमायासँग हामीले केहीबेर भलाकुसारी गरेका छौं।
पार्क घुम्न आउनुभएको रहेछ, कस्तो लाग्यो?
धेरै राम्रो रहेछ। काठका धेरै मूर्ति रहेछन्। मान्छे पनि धेरै आउने रहेछन्।
कोको आउनुभएको छ पार्क घुम्न?
एक जना साथी लिएर आएकी छु। यहाँ नजिकै छोरीको घर छ। छोरीलाई भेट्न आएको मौकामा पार्क कस्तो रहेछ भनेर घुम्न आएकी हुँ।
तपाईंको उमेर कति भयो?
खोइ कति भयो, कति वर्षकी भएँ, थाहा नै छैन। नागरिकतामा कति उमेर लेखेको छ, हेर्न पनि जान्दिनँ। पुगें होला ५०–६० वर्ष त!
भत्ता बुझ्न थाल्नुभयो?
भत्ता त एकल महिलाको बुझ्छु नि। श्रीमान बितेको २५ वर्षभन्दा धेरै भयो। एकल महिलाको भत्ता खान थालेको १०–१२ वर्ष भयो।
त्यति चाँडै श्रीमानको मृत्यु कसरी भयो? उहाँ के काम गर्नुहुन्थ्यो?
खास काम केही थिएन। गाउँका अरू मान्छे लाहुरे हुन जाँदा पनि उहाँ जानुभएन। गाउँमा घर बनाउने मिस्त्री काम गर्नुहुन्थ्यो तर काम गरेर कमाएको सबै पैसाले रक्सी खानुहुन्थ्यो।
दुई दिन काम गरेर चार दिन रक्सी खाने गरेपछि पनि के राम्रो हुन्थ्यो र! आखिर बित्नुभयो, मैले दुःख गरेर छोराछोरी हुर्काएर बिहेदान गरिदिएँ।
छोराछोरी कति छन्?
अहिले त साथमा कान्छो छोरो मात्रै छ। उसकी श्रीमती र दुई छोरा छन्। जेठो छोरो पनि बित्यो। ऊ गुट्का, सुर्ती खान्थ्यो। मुटुको रोगले बितेको १०–१२ वर्ष भयो।
जेठा छोराका पनि श्रीमती र दुई छोरा छन्। मेरी एउटी छोरी हो, यही बुद्धनगरमा बिहे भएको छ। त्यही छोरीलाई भेट्न आएकी हुँ।
परिवारमा कत्तिको मेलमिलाप छ?
मेलमिलाप छ नि, नभएर पनि भएन। पहिले दुई छोरा छुट्टिएर बसेका थिए। जेठो छोरो बितेपछि उसका परिवार पनि हामीसँगै बस्छन्, दुबै छोराका परिवार सँगै छन्। छोरो त बितिगयो, नातिहरूलाई एक्लै छोड्न मिलेन।
तपाईं घरमा के काम गर्नुहुन्छ?
के काम गर्ने हो र! जरकमरकको काम गर्न सक्तिनँ। सात-आठ वटा बाख्रा छन्, तिनै बाख्रा चराउँछु। खेततिर जान्छु। यस्तै हो।
खेत कति छ?
खेत आठ कट्ठा मात्रै छ। सबै मिलेर खेती गर्छौं। धान काटेर अहिले तोरी छरेका छौं।
तपाईंलाई घरधन्दाबाहेक के गर्न मन लाग्छ?
मलाई त केही गर्न मन पनि लाग्दैन। काम नलाग्ने मान्छे हो म त! (यसो भनेर उनी मजाले हाँसिन्।) अरूलाई नाच्न गाउन पनि आउँछ, मलाई त केही पनि आउँदैन। केही पनि जान्दिनँ।
तपाईंलाई सबैभन्दा बढी के खान मन लाग्छ?
मलाई त सबैभन्दा बढी कोदोको र गहुँको ढिँडो अनि मासु मन पर्छ।
यस्तो मनपर्ने खाना कत्तिको खाइरहनुहुन्छ?
ढिँडो त खाइरहन्छु। रोटी पकाउने पिठो तातो पानीमा होंडलेपछि ढिँडो भइहाल्छ।
छोराछोरीले कत्तिको सुख दिएका छन्?
सुख र दुःखको त कुरै नगरौं, भनिसाध्य छैन! आफ्नो हातखुट्टा चल्ने बेलासम्म त होला छोराछोरीले पनि हेला नगर्ने! हातखुट्टा चल्न छोडेपछि त सबैको हेला भइन्छ।
मलाई त हेला भएर बाँच्न नपरोस् भन्ने लाग्छ। पेन्सन भएका बुढाबुढीले त कति दुख पाएका छन्! मेरो त केही पनि छैन।
तपाईंको स्वास्थ्य कस्तो छ?
खोइ कस्तो छ, केही पनि थाहा छैन। अस्पताल गएर जँचाएको भए कस्तो छ भन्ने थाहा हुन्थ्यो, जँचाएको छैन। थोरै हिँड्दा पनि स्याँस्याँ हुन्छ। राम्रो भएको भए त्यस्तो नहुनुपर्ने!
कुनै औषधि खानुहुन्छ?
औषधि पनि खान्नँ। के औषधि खाने! सबै ढाँटेपाटे हो।
जँचाउन अस्पताल नगएको कति भयो?
म त अहिलेसम्म गएकै छैन। अस्पताल गएर के गर्नु! केके बिमार देखाउँछ, जान मन लाग्दैन।
निद्रा कत्तिको लाग्छ?
निद्रा त राम्रो लाग्छ। राति आठ-नौ बजे नै सुत्छु। बिहान पनि ६ बजेपछि बल्ल उठ्छु।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
खोइ खुसी त कहिले पो भइयो र! कि केटाकेटी बेलामा भइयो होला, कि नातिहरू जन्मिँदा भइयो होला। अरू बेला त सधैं दुःखैदुःखको जिन्दगी भयो।
सबैभन्दा धेरै दुःखी कहिले हुनुभयो?
श्रीमान बित्दा धेरै दुःखी भएँ। छोराछोरी ससाना थिए। कसरी हुर्काउने भन्ने चिन्ता लाग्यो। के गर्नु र! चिन्ताले पनि नहुने रहेछ!
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
टोलसमाज राम्रै छ। राम्रो–नराम्रो त आफूअनुसार पनि हुन्छ। आफूले अरूलाई प्याच्चप्याच्च भन्ने हो भने अरूले पनि त्यस्तै गर्छन्। आफूले राम्रो व्यवहार गरे अरूले पनि राम्रै गर्छन्।
तपाईंलाई देशको राजनीति कस्तो लाग्छ?
यो राजनीति भनेको त मलाई केही पनि थाहा छैन। चुनावका बेलामा भोट माग्न आउँछन्, त्यही त होला नि राजनीति भनेको!
चुनावमा तपाईंसँग पनि भोट माग्न आउँछन्?
आउँछन् नि यो पार्टी र त्यो पार्टी भन्दै। जितेर हो कि हारेर हो, चुनाव सकिएपछि कोही पनि आउँदैनन्।
तपाईंलाई आफ्नो देशका नेतामा को मन पर्छ?
मैले त नेता पनि चिनेको छैन। नचिनेपछि को मनपर्छ भन्नु र!
गएको चुनावमा कसलाई भोट दिनुभयो?
खोइ कसलाई दिएँ, बिर्सेँ। आँखाले राम्रोसँग ठम्याउन पनि सक्दिनँ। बुहारीले नातिहरूलाई पनि भोट हाल्न हिँड भनेकी थिई, उनीहरू गएनन्। भोट हालेर के पाइन्छ र भने, जान मानेनन्। मैले आफै भोट हालेँ, कता हालेँ, बिर्सिहालेँ।
घरबाट जाँदा कसलाई दिने विचार गर्नुभएको थियो?
त्यही रूख र सूर्यलाई दिनुपर्ला भनेकी थिएँ तर छाप लगाउने कागज किचिरमिचिर देखियो, केही पनि ठम्याउन सकिनँ। हात थरर्र काम्यो।
अब हुने चुनावमा कसलाई भोट दिनुहुन्छ?
अब त भोट दिन नजाने। आँखाले केही देख्दिनँ, झिलमिल गर्छ।
तपाईंलाई सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले के गर्छ र! गर्ने हो भने त गरिब जनतालाई सुबिस्ता गरिदिए हुन्थ्यो। छोराछोरीलाई पढाइदिने, जागिर लगाइदिने गरे हुन्थ्यो।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्