(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
लुम्बिनी प्रदेश सरकारको पर्यटन मन्त्रालयले आयोजना गरेको ‘घुम्न जाऊँ बर्दिया’ सुरू भएको दिन कार्यक्रममा भेटिए बर्दियाकै मधुवन नगरपालिका–१ का बासिन्दा २६ वर्षीय मनोज थारू। उनी स्थानीय शिव सहकारीले चलाएको डेरी उद्योगमा काम गर्दा रहेछन्। उनी बडो फुर्तिला र हँसमुख देखिन्थे। हामीले उनै मनोजसँग संवाद गरेका छौं।
तपाईं के काम गर्नुहुन्छ?
शिव सहकारी संस्थाले चलाएको दुधडेरी उद्योगमा काम गर्छु। यसमा काम गर्न थालेको ६ महिना भयो। मेरो काम दुध संकलन गरेर पठाउने हो। यो डेरीका शाखा ठाकुरद्वारा र भुरीगाउँ बजारमा पनि छन्।
डेरीमा काम गर्नुअघि के गर्नुहुन्थ्यो?
ट्याक्टर चलाउँथेँ, दुई वर्ष चलाएँ। त्यो ट्याक्टर पनि शिव सहकारीकै थियो। महिनाको १३ हजार रुपैयाँ तलब थियो। डेरीमा काम गर्न थालेपछि बढेर साढे १४ हजार पुगेको छ।
तपाईंले कति पढ्नुभएको छ?
घरको आर्थिक स्थिति कमजोर थियो। पढ्न मन लागेन, १० कक्षामा पढ्दापढ्दै छोडेर कमाउनतिर लागें। घरबाट स्कुल पुग्न २५ मिनेट जति हिँड्नुपर्थ्यो।
परिवारमा कोको हुनुहुन्छ?
बुबा (कुलबहादुर), आमा (कृष्णी), दाजुभाउजु, चार वर्षको भतिज, म र मेरी श्रीमती (बिर्सना) छौं। दाजु (भगीरथ) कमाउन मलेसिया गएको वर्षदिन भयो।
तपाईंको बिहे कहिले भएको हो?
बिहे भएको ६ महिना भयो। मैले गाउँमै बिहे गरेको हुँ, प्रेमविवाह हो। गाउँघरलाई भोज खुवाउन बाँकी नै छ। अब माघ-फागुनतिर भोज खुवाउनु पर्ला। घर सल्लाह हुँदैछ।
हाम्रो जातिमा बिहे गरेपछि फुर्सद मिलाएर भोज खुवाउँदा हुन्छ। भोजमा तीन वटाजति खसी चाहिन्छ होला। चामल घरमै हुन्छ। तरकारी गाउँघरबाटै आउँछ।
तपाईंहरूको जग्गाजमिन कति छ?
हाम्रो आफ्नो त पाँच कट्ठा मात्रै छ। धान र तोरी फल्छ। गहुँ छर्दैनौं, चित्तलले खाइदिन्छ। एक बिघा जग्गा बटैया (अधियाँ) मा खेती गर्ने गरेका छौं, खाने अन्न पुग्छ। बुबाआमा र भाउजु खेतीको काम गर्नुहुन्छ।
तपाईंकी श्रीमती के गर्नुहुन्छ?
उसको ब्युटी पार्लर छ। भाडामा कोठा लिएर पसल राखेकी छे। मासिक दुई हजार रुपैयाँ भाडा तिर्नुपर्छ। ब्युटी पार्लर राम्रो चलेको छ। ऊ मभन्दा बढी कमाउँछे। दिनकै एक हजारदेखि तीन हजारसम्म कमाइ गर्छे।
परिवारिक मेलमिलाप कस्तो छ?
धेरै राम्रो सम्बन्ध छ। बुबाआमा खेतीपातीमा व्यस्त रहनुहुन्छ। भाउजु भातभान्सा र घरको काममा लाग्नुहुन्छ, खेतीमा पनि सघाउनुहुन्छ। दाजु विदेशमा छ।
म र मेरी श्रीमती दिनभर आआफ्नो काममा व्यस्त हुन्छौं। हाम्रो परिवार मिलेर बसेको छ।
श्रीमतीको खुब माया लाग्छ। उसले रक्सी नखाऊ भनेपछि छोडिदिएँ। मैले १६–१७ वर्षको उमेरदेखि घरमै बनाएको रक्सी खाने गरेको थिएँ। कहिलेकाहीं साथीहरूसँग लागेर पनि खान्थें।
श्रीमतीले रक्सीले राम्रो गर्दैन, खान छोडिदेऊ भनेपछि छाडें। मुखमा रक्सी नहालेको डेढ महिना भयो। अब कहिल्यै खान्नँ। अझै पनि गुट्का खाने नराम्रो बानी छ। श्रीमती त्यो पनि छोड भनेर सम्झाउँछे। गुट्का पनि बिस्तारै कम गर्दै छु। यो नराम्रो आदत छिटो त्याग्ने प्रयास छ।
तपाईंको निद्रा कस्तो छ?
मज्जाको निद्रा लाग्छ। हाम्रो घरपरिवारमा सबैको स्वास्थ्य ठीक छ। तनाव केही छैन।
तपाईंको मनमा के कुरा आइरहन्छ?
बिहे गरेपछि धेरै कुरा सोच्नुपर्ने रहेछ। श्रीमतीले पनि सम्झाउँछे। भविष्यमा बच्चाबच्ची होलान्। उनीहरूको भविष्य बनाउन उचित शिक्षादीक्षाको कुरा पनि मनमा आउँछ।
कहिलेकाहीं श्रीमतीलाई गरगहना किनिदिन पाए हुन्थ्यो भन्ने कुरा पनि मनमा आउँछ। श्रीमती खुसी भएको हेर्ने चाहना हुँदो रहेछ।
यति बेला तपाईंसँग धेरै होइन, ठिक्क पैसा भए के गर्नुहुन्थ्यो?
थोरै भए पनि गाउँमै जग्गा किन्ने थिएँ। त्यसमा चिटिक्क परेको सानो घर बनाउने थिएँ। त्यही घरमा खुसीसाथ बस्ने थिएँ।
तपाईंलाई आफ्नो गाउँसमाज कस्तो लाग्छ?
समाज सहयोगी छ। अप्ठ्यारो पर्दा गाउँघरका मानिसले सघाउँछन्। सामाजिक काममा सबै भेला हुन्छन्। आपसमा हातेमालो गर्छन्। गाउँमा सबै मिलेर बसेका छौं।
तपाईंलाई मन नपर्ने कुरा के हो?
बाबुबाजेको सम्पत्तिमा घमण्ड गरेको, आफ्नै मोटरगाडी चढेको छु भन्दैमा आफूलाई ठालु ठानेको र काम नगरी डुलेको मन पर्दैनन्।
रक्सी खाएको बहानामा निहुँ खोज्ने, ठूलो स्वरले कराउने र छाडा बोल्ने मान्छे देख्दा दिक्क लाग्छ।
तपाईं कहिले साह्रै खुसी हुनुभयो?
मन परेकी मायालुलाई श्रीमती बनाएर भित्र्याउँदा साह्रै खुसी भएँ। काम गरेर पहिलोपटक तलब थाप्दा पनि मन साह्रै खुसी भएको थियो।
दुःखको क्षण पनि छ कि?
अहिलेसम्म त कुनै दुःख आइपरेको छैन। कहिलेकाहीं विश्वास मानेर कसैलाई दिएको सापटी पैसा समयमा फिर्ता नपाउँदा र काम गरेको पैसा समयमा नपाउँदा अलिक उदेक लाग्छ।
बुबाआमा र परिवारका सदस्यलाई लत्ताकपडा किनेर दिन्छु भन्ने सोचेका बेलामा दिन नसक्दा पनि नरमाइलो लाग्छ।
तपाईंलाई मन पर्ने खाना के हो?
गोलभेडाको चट्नीसँगै खसीको मासु र भात खान खुब मन पर्छ। सानो हुँदा खोलानालामा माछा मारिन्थ्यो। आजकाल निकुञ्जले गर्दा माछा मार्न पाइँदैन। मलाई सँगुरबंगुरको मासु खान मन लाग्दैन।
यति बेला सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
हाम्रो घरबाट जिल्ला अस्पताल, गुलरिया पुग्न डेढ घण्टा जति लाग्छ। कहिलेकाहीं भइपरी आउने घटनामा बिरामीलाई नजिकै उपचार गराउन पाए हुन्थ्यो। यसका लागि सरकारले काम गरिदिए हुन्थ्यो भन्ने लाग्छ।
बाटा साँघुरा छन्, कालोपत्रे पनि छैन। बाटो राम्रो बनाउन ध्यान दिनुपर्ने हो। हाम्रो बस्तीमा हरेक वर्ष हात्ती पस्छन्, घर भत्काइ दिन्छन्, बालीनाली स्वाहा पारिदिन्छन्। वन्यजन्तुको यस्तो समस्या सुल्झाउन पहल गरे हुन्थ्यो भन्ने लाग्छ।
वन्यजन्तुका कारणले अन्तै बसाइँ सर्न पाए हुन्थ्यो भन्ने लाग्छ?
मलाई यो ठाउँ छोडेर कतै जान मन छैन। आफू जन्मेहुर्केको, नाभी गाडेको ठाउँको माया बेग्लै हुन्छ। मलाई मेरो गाउँठाउँ र यो जिल्ला साह्रै राम्रो लाग्छ। नेपालमा बर्दियाको आफ्नै सान र महत्त्व छ।
बर्दिया राष्ट्रिय निकुञ्ज भएकाले यहाँ धेरै पर्यटक आउँछन्। पाटे बाघ हेर्न आउने मान्छे धेरै हुन्छन्। बर्दियामा देशविदेशबाट धेरै मान्छे आउने कारण यही निकुञ्ज हो।
वन्यजन्तुसँग कत्तिको जम्काभेट हुन्छ?
त्यस्तो त भइरहन्छ। पाटेबाघ बिरलै देखिन्छ। चितुवा, चित्तल, हात्ती र अरू जनावरसँग जम्काभेट भइरहन्छ। जनावर पनि बानी परिसके जस्तो लाग्छ। मान्छे देखेर डराउँदैनन्।
मानिस र वन्यजन्तुबीच द्वन्द्व किन बढ्दै छ?
यसमा स्थानीय मानिसको पनि कमजोरी छ। हात्ती आएर घर भत्काउने, चित्तल र बँदेल आएर बालीनाली खाने घटना भइरहन्छ। चितुवा र पाटेबाघले मान्छे मार्ने घटना जंगलभित्रै हुने हो।
जंगलमा नजानू भन्दा पनि मान्छेहरू अटेर गर्छन्। घाँसदाउरा खोज्न, बस्तुभाउ चराउन जंगल पसिरहन्छन्। यसकारणले पनि घटना हुन्छ। बाटोमा हिंड्दा कहिलेकाहींबाहेक ठूलो घटना विरलै हुन्छ।
तपाईंले गएको चुनावमा भोट दिनुभयो?
दिएँ, माओवादीलाई दिएको हुँ।
अब हुने चुनावमा कसलाई भोट दिनुहुन्छ?
अब त पार्टी मात्रै भनिँदैन। व्यक्ति पनि हेरिन्छ। हाम्रा आवश्यकता पूरा गर्नसक्ने मान्छे रोज्ने हो। पहिलेजस्तो गाउँसल्लाह गरेर भोट हालिँदैन।
तपाईंलाई मन पर्ने नेता को हो?
त्यस्तो नेता कोही पनि छैन। बरु हाम्रै गाउँका गोविन्द चौधरीको काम गर्ने तरिका मन पर्छ। उनी चोरी सिकारी नियन्त्रणका लागि युवा परिचालनका संयोजक हुन्।
गाउँघरमा केही समस्या परे समाधानका लागि खट्छन्। वडाध्यक्ष भन्दा त उनी धेरै क्रियाशील छन्। उनी मेरा साथी पनि हुन्।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्