(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
सल्यानको कुपिन्डे नगरपालिका–८ को चर्चित ‘कुपिन्डे ताल’ परिसरमा भेटिए त्यही वडाका बासिन्दा ३७ वर्षीय तुलबहादुर गोसाईं।
उनी तालमा डुंगा चलाउँदा रहेछन्। मुलुकमा शान्तिप्रक्रिया सुरू भएपछि ‘कुपिन्डे ताल’ हेर्न पर्यटकहरू आउन थाले। यसलाई मौका ठानेर तुलबहादुरले डुंगा चलाउन सुरू गरे, आजसम्म चलाउँदै छन्।
हामीले डुंगा चालक उनै तुलबहादुरसँग कुरा गरेका छौं।
तपाईं तालमा डुंगा चलाउनुहुँदो रहेछ, कति वर्ष भयो?
अब त १८ वर्ष भइसक्यो, २०६३ सालमा सुरू गरेको हुँ। यो तालमा आउने पर्यटकलाई डुंगामा घुमाउँछु।
डुंगा चलाउन थाल्नुअघि के गर्नुहुन्थ्यो?
घरको काम गर्थें। सानो छँदा गाईबाख्रा चराउन ग्वाला जान्थेँ। अलिक ठूलो भएपछि घाँसदाउरा काट्न जंगल जान्थेँ। खेल्यो, रमायो, ग्वाला गयो, घाँस काट्यो। वनजंगल डुल्यो। त्यतिकै समय बित्थ्यो।
कति पढ्नुभएको छ?
म त स्कुल नै गइनँ। नजिकमा स्कुल थिएन, हिँडेर जान डेढ घन्टा जति लाग्थ्यो। उति बेला पढाइमा चासो नै भएन। पढ्नुपर्छ भनेर बुझाइदिने पनि कोही भएन।
पछि त आफै पनि केही पढ्नुभयो होला नि!
अहिले पढाइको महत्त्व बुझें। आफ्नै बालबच्चाले पढेको देखेपछि अलिअलि लेख्न र पढ्न सिकें। कखरा जानेको छु। एबिसिडी जान्दिनँ। सही गर्न पनि जानेको छु।
पढ्नुपर्ने रहेछ भन्ने कहिले लाग्यो?
घर छाडेर हिँडेपछि! म १५ वर्षको छँदा गाउँका साथीभाइको पछि लागेर कालापहाड (इन्डिया) गएको थिएँ। यहाँ पो आफ्नो गाउँ थियो, वनजंगल थियो। सबै चिनेजानेको थियो।
घर छाडेर हिँडेपछि ठाउँ चिन्न पनि पढ्न जानेको हुनुपर्दोरहेछ भन्ने थाहा भयो। त्यति पनि नजान्दा त लाज लाग्दो रहेछ। मेरा लागि त कालो अक्षर भैंसी बराबर थियो।
एक वर्ष जति इन्डिया बसें। सिम्ला र गढवालमा भारी बोक्ने पल्लेदारी गरें। खच्चडको जस्तै दुःख पाएँ। त्यसरी पनि एक लाख (रुपैयाँ) जति कमाइ गरेको थिएँ।
तपाईंले थाहा पाउँदा कुपिन्डे ताल कस्तो थियो?
यस्तै थियो, सुन्दर! नीलो पानीले भरिएको र विशाल दह थियो। उतिखेर बाहिरका मान्छे आउँदैन थिए। यहाँ वरिपरिका मान्छे आएर ‘बराह’ देवताको पूजा गर्थे। हामी पनि आउँथ्यौं।
चौपायामा हानिनोक्सानी नहोओस् भनेर बराह देवताको पूजा गर्ने चलन छ।
कुपिन्डे तालमा मान्छेहरू घुम्न कहिले सुरू भएको हो?
देशमा युद्ध (सशस्त्र द्वन्द्व) सकिएर शान्ति सुरू भएपछि यो तालमा मान्छे आउन थालेका हुन्। त्यसपछि तालको महत्त्व बढ्यो। अरू जिल्लाबाट पनि मान्छे आउन थाले। अहिले त व्यापक भएको छ।पहिला त अहिलेजस्तो मोडरगाडी आउने बाटो थिएन। यहाँ धेरै मान्छे आउन थालेपछि बाटो बनेको हो। बाटो बनेपछि यहाँ आउने मान्छे धेरै भए।
एफएम रेडियोहरू खुलेपछि प्रचार पनि भयो। इन्टरनेट भएपछि त झन् धेरै प्रचार भएको छ।
तपाईंका डुंगा कति वटा छन्?
काठको एउटा छ। काठको डुंगा मैले आफै बनाएको हो। म मिस्त्री पनि हुँ। मैले १० वटा डुंगा बनाइसकेको छु। दुई वर्षअघि दुई वटा ‘राफ्टिङ बोट’ किनेर ल्याएँ, साढे दस लाख रुपैयाँ पर्यो।
डुंगा बनाउन कसरी सिक्नुभयो?
कुपिन्डे तालमा पर्यटक धेरै आउन थालेपछि एकपटक म पोखरा घुम्न गएको थिएँ। वनजंगलका बीचमा हुर्केको मान्छे, मिस्त्रीको काम जानेकै थिएँ। बाउबाजेबाटै सिकेर मिस्त्री काम जानेको हुँ।
तीन दिन पोखरा बस्दा डुँगा बनाउने ठाउँमा गएर हेरें। दुई तीन घण्टाजति हेरेपछि मेरो दिमागमा नक्सा आइहाल्यो। घर आएर एउटा डुंगा बनाएँ। त्यसपछि अरूले पनि बनाइदेऊ भन्न थाले।
काठ दिएपछि दैनिक एक हजार रुपैयाँ ज्याला लिएर डुंगा बनाइदिएँ। एउटा डुंगा बनाउन कम्तीमा चार दिन लाग्छ।
राफ्टिङ बोट किन ल्याउनुपरेको हो?
कुपिन्डे नगरपालिकाले तालमा दुई वटा राफ्टिङ बोट हाल्यो। त्यसपछि म पनि किन्न बाध्य भएँ। पर्यटकहरू राफ्टिङ बोट चढ्न चाहने भएपछि नकिनी भएन।
यहाँ चलाउन डुंगा नगरपालिकाको के नियम छ?
सबैभन्दा पहिला दर्ता हुनुपर्छ। कर पनि तिर्नुपर्छ। काठको डुंगा चलाउन महिनाको ७५० रुपैयाँ र राफ्टिङ बोटको १० हजार रुपैयाँ नगरपालिकालाई कर बुझाउनुपर्छ।
दैनिक कमाइ कति हुन्छ?
खासै धेरै हुँदैन। बिदाको दिनमा अलिक राम्रो हुन्छ। एउटा डुंगाबाट दैनिक सालाखाला पाँच सयदेखि हजार रुपैयाँ कमाइ हुन्छ। बिदाका दिन दाङ, सुर्खेत, बाँके, बर्दियातिरका मान्छे आउँछन्।
एउटा काठको डुंगा र दुई वटा राफ्टिङ एक्लै भ्याउने होइन होला, कसरी चलाउनुहुन्छ?
एक्लै त कसरी भ्याउनु र! महिनाको १५ हजार रुपैयाँका दरले तलब दिएर चार जना राखेको छु, गाउँकै भाइहरू हुन्।
मेरो गाउँ उः माथि पहाडमा छ। आउजाउ गर्न पैदल हिँडनुपर्छ। घरबाट आउन आधा घन्टा लाग्छ।
यो तालको उत्पत्तिबारे तपाईंले के सुन्नुभएको छ?
हाम्रै पुर्खाबाट सुनेको हुँ। यो ताल भएको ठाउँमा गाउँ थियो रे। धेरै वर्षअघि एक दिन एक जना जोगी बास माग्न आउनुभएछ। उहाँलाई कसैले पनि बास दिएनछन्। उहाँ घुम्दाघुम्दै निकै पर एक जना बुढी आमा र एक जना छोरा मात्रै भएको घरमा पुग्नुभएछ। बुढी आमाले बास दिनुभएछ। जोगी खुसी हुनुभएछ। आमालाई माथि डाँडामा गएर एक तुम्बा (जोगीले बोक्ने भाँडो) पानी ल्याइदिनुहोस्, म यो गाउँ डुबाएर सबै पापीहरूलाई नष्ट गरिदिन्छु भन्नुभएछ।
आमाले पानी ल्याइदिनुभयो। त्यही पानी प्रयोग गरेर जोगीले ठूलो दह बनाइदिनुभयो।
त्यो गाउँमा कुपिन्डा धेरै फलेका रहेछन्। गाउँ पूरै डुब्यो। कुपिन्डा जति दहमा तैरिए अनि दहको नाम पनि कुपिन्डे भयो।
यो तालमा पानी कहाँबाट आउँछ?
त्यो त थाहा छैन। तालभित्रै ठूलो मूल हुनुपर्छ। वर्षामा ज्यामिरे खोला र मज खोलाको पानी आउँछ र ताल पूरै भरिन्छ। माथि मन्दिरसम्म डुबेको हुन्छ।
यो ताल निकै गहिरो छ, ६५ मिटरसम्म गहिरो। पोहोर साल किनारमा उभिएर फोटो खिच्न खोज्दा एक जना युवा चिप्लिएर तालमा परे। उनको मृत्यु भयो। आफूलाई ‘माता’ भन्ने एक महिला पनि नुहाउँछु भन्दै पसेकी थिइन्, डुबेर मरिन्।
तालको पानीको निकास कस्तो छ?
देखिने निकास छैन। जमिनमुनिबाट गएर साढे दुई सय मिटर तल बग्छ। त्यसलाई कुपिन्डे खोलो भन्छन्। वर्षामा तर्न सकिँदैन। त्यहाँ घट्ट पनि चल्छन्।
यो तालमा कस्ता जीवजन्तु पाइन्छन्?
जलेवा र अरू चरा पाइन्छन्। माछा र गंगटा पनि छन्।
यो तालको अरू विशेषता के छ?
ताल निकै सुन्दर छ, गाढा नीलो र एकदमै सफा देखिन्छ। बिहानदेखि बेलुकासम्म यसले रङ बदलिरहन्छ। रूखबाट खसेर तालमा परेको पात एकडेढ घन्टामा हराउँछ। पात कहाँ जान्छ थाहा हुँदैन, अचम्म लाग्छ।
यो तालले मान्छेलाई मोहनी लगाउँछ। हामीलाई यही ताल रमाइलो छ, प्यारो छ। एकपटक यो तालमा आएको मान्छेले यसलाई भुल्न सक्दैन। यही तालले गर्दा म विदेश नगएको हुँ।
यो तालमा आउनेले प्रवेश शुल्क तिर्नुपर्दो रहेछ नि!
हो, १० रुपैयाँ तिर्नुपर्छ। यो नगरपालिकाको नियम हो। नगरपालिकाले टेन्डर गरेर शुल्क उठाउन दिन्छ।
पार्किङ शुल्क पनि लाग्छ। मोटरसाइकल र स्कुटीको २०; अटो रिक्साको ३०; जिप, कार, र भ्यानको ५०; हायस, मिनी बस र ट्याक्टरको ८०; बस, ट्रक र हेभी गाडीको सय रुपैयाँ लाग्छ।
यहाँ पिकनिक खान आउने पनि धेरै हुन्छन्। उनीहरूले पनि पैसा तर्नुपर्छ।
तपाईंको परिवारमा को को हुनुहुन्छ?
दुई वर्षअघि आमाको काल (मृत्यु) भयो। बुबाको काल भएको पाँच वर्ष भयो। अहिले घरमा म, मेरी श्रीमती, तीन छोरा र एक बुहारी छौं। जेठो छोरो २० वर्षको छ। बुहारी उसैकी श्रीमती हो।
माइलो १८ वर्षको छ, कान्छो नौ वर्षको छ। जेठा र माइलाले नौ कक्षामा पढाइ छाडे। कान्छो पाँच कक्षामा पढ्दै छ।
मैले छोरालाई पढाउन खोजे पनि उनीहरूले मन गरेनन्। कान्छालाई पढाइ छाड्नु हुँदैन भनेर सम्झाउने गरेको छु।
तपाईं साह्रै खुसी भएको दिन कहिले हो?
मन परेकी मायालुलाई बिहे गर्न पाउँदा! मैले गाउँमै बिहे गरेको हुँ। हाम्रो खुबै मायाप्रेम थियो। म अल्लारे छँदै भगाएर बिहे गरेको हुँ। आज पनि एकअर्कालाई औधी माया गर्छौं। सन्तान जन्मिँदा पनि खुसी लाग्दो रहेछ।
कुनै दुःखको क्षण पनि छ कि?
किन नहुनु! सुखदुःख त दिन रातजस्तै हुन्। आमाबाबुको काल पर्दा धेरै दुःख लाग्दो रहेछ। कालगतिले नै मृत्यु भएको हो तर पनि सम्झिँदा नरमाइलो लाग्छ।
नजिकमा राम्रो अस्पताल भइदिएको भएर समयमै उपचार गर्न पाएको भए अलि धेरै वर्ष बाँच्नुहुन्थ्यो कि जस्तो लाग्छ।
तपाईंसँग यति बेला ठिक्कको पैसा भए के किन्नुहुन्थ्यो होला?
मेरो कुनै ठूलो सपना छैन। यतिकैमा खुसी छु। खसीबाख्रा बेचेर आएको पैसा र तालको कमाइ गरेर १५ लाख जतिको जग्गा जोडेको छु। पैसा भए अझै अलिअलि जग्गा थप्छु। आफूले सक्दासम्म मिहिनेत गर्ने र गाउँघरमै रमाउने चाहना छ।
तपाईंलाई आफ्नो गाउँसमाज कस्तो लाग्छ?
समाज सहयोगी छ। गाउँघर रमाइलो छ। सबै मिलेर बसेका छौं। चाडपर्वमा नाचगान गरेर रमाइलो गर्छौं। आपतविपत र दुःखमा सबै मिलेर सहयोग गर्ने चलन छ। सहर बजारमा जस्तो गाउँघरमा जे काममा पनि पैसा चाहिँदैन।
रातमा निद्रा कस्तो छ?
मलाई मज्जाको निद्रा पर्छ। अहिलेसम्म मलाई र मेरी बुढी (श्रीमती) लाई कुनै किसिमको स्वास्थ्य समस्या छैन।
तपाईंलाई मन पर्ने नेता को हो?
मलाई कोही पनि नेता मन पर्दैन। नेताले देश बनाउन ध्यान दिएनन्। चुनावका बेलामा वाचा गरेअनुसार काम गरेनन्। बाटोघाटो र अस्पताल बनाउन ध्यान दिएनन्।
सल्यानमा सबैभन्दा बढी पर्यटक आउने यो कुपिन्डे तालसम्म आउने बाटो पनि राम्रो छैन। नगरपालिका पनि नाम मात्रको छ।
तपाईंले गएको चुनावमा कसलाई भोट दिनुभयो?
एमालेलाई दिएको थिएँ।
आउने चुनावमा कसलाई दिनुहुन्छ?
अब त राम्रो मान्छे हेरेर दिने हो। काम गर्न सक्नेलाई दिने हो।
यो कुराकानीका लागि तपाईंलाई धन्यवाद!
तपाईंलाई पनि धन्यवाद!
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्