(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
दाङको जिल्लाका १० वटा स्थानीय तहमध्ये सबैभन्दा पश्चिममा पर्छ बबई गाउँपालिका। वडा नम्बर ५, पूर्वहापुरेका बासिन्दा हुन् ४५ वर्षीय गेदलाल खत्री। जिल्लाकै चर्चित पर्यटकीय स्थल ‘पुरन्धारा झरना’ यही वडामा छ। गेदलाल त्यही झरनाका चौकीदार हुन्। हामीले उनै गेदलालसँग कुरा गरेका छौं।
तपाईंले यो झरनामा काम गरेको कति समय भयो?
मैले यहाँ चौकीदारी गर्न थालेको आउने चैतमा दुई वर्ष पुग्छ।
तपाईंले यहाँ के के काम गर्नुपर्छ?
यो प्राकृतिक झरना अवलोकन गर्न धेरै मान्छे आउँछन्। यहाँ आउने मान्छेका मोटरगाडी व्यवस्थित गर्ने र रसिद काटेर पार्किङ शुल्क उठाउने मेरो काम हो।
पार्किङ शुल्क कति तिर्नुपर्छ?
कारको दुई सय, बसको तीन सय, अटो रिक्साको ५० र मोटरसाइकलको ३० रुपैयाँ लाग्छ।
यो जंगलको बीचमा पार्किङ शुल्क धेरै भएन र?
यो शुल्क मैले लिएको होइन। गाउँपालिकाले तोकेको हो। मैले त रसिद काटेर पैसा उठाउने मात्रै हो। सबै पैसा गाउँपालिकामा बुझाउनुपर्छ।
झरना हेर्न दिनमा सालाखाला कति मान्छे आउँछन्?
शनिबार र अरू बिदाका दिनमा त पाँच सय जति हुन्छन्। कम हुँदा पनि दिनमा सय जना आउँछन्।
तपाईंको दैनिक ड्युटी कति घण्टाको हुन्छ?
ड्युटी त १२ घण्टाको हो। आजभोलि जाडोमा बिहानै मान्छे आउँदैनन्। यो एकलास जंगलमा बेलुका अबेरसम्म पनि मान्छे बस्दैनन्।
आजकाल बिहान खाना खाएर ९ बजे आउँछु, बेलुकी ५ बजेपछि घर फर्किन्छु। जाडोमा यो जंगल र झरना बिहानबेलुका सुनसान हुन्छ।
तपाईं कति तलब पाउनुहुन्छ, भन्न मिल्छ?
मिल्छ, किन नमिल्नु! ठगेर पाउने होइन। म महिनाको २० हजार रुपैयाँ पाउँछु।
यो जागिर कसले लगाइदिएको हो?
माओवादी (नेकपा माओवादी केन्द्र) का नेता धनबहादुर मास्की र मेरो गाउँ एउटै हो। उहाँले नै मलाई चौकीदारीको जागिर लगाइदिनुभएको हो। उहाँ लुम्बिनी प्रदेशसभामा सदस्य हुनुहुन्छ।
तपाईंको परिवारमा को को हुनुहुन्छ?
चार जना छौं; म, श्रीमती र दुई छोरा; एउटा छोरो १३ वर्षको छ; अर्को नौ वर्षको। जेठी श्रीमतीबाट दुई छोरा र एक छोरी छन्। उनीहरू छुट्टिभिन्न भएर अलग्गै बसेका छन्। सबैको बिहेबारी पनि भइसकेको छ।
दोस्रो बिहे कहिले गर्नुभएको हो?
म विदेश छँदा जेठी श्रीमती बालबच्चा छोडेर अर्कैसँग गई, १५ वर्ष अघिको कुरा। म घर फर्केपछि बबईको घट्टेखोलाबाट अहिलेकी श्रीमती ल्याएको हुँ, १४ वर्ष भयो।
त्यो गाउँमा एक जना आफन्त भेट्न गएको थिएँ। यिनी (अहिलेकी श्रीमती) सँग भेट भयो र प्रेममा परियो।
तपाईंले कति पढ्नुभएको छ?
मैले सात कक्षा पास गरेँ। पढ्न मन लाग्दैन थियो, ८ कक्षामा फेल भएँ। त्यसपछि भनसुन गरेर अर्को स्कुलमा ९ कक्षामा भर्ना भएँ तर पढाइ गर्न सकिनँ।
उतिखेर मेरो गाउँ धेरै मान्छे नेपाली कांग्रेसमा थिए। अवस्था निकै अप्ठ्यारो थियो। मेरो उठबसका कारण मलाई कम्युनिस्ट हो भन्न थाले। मलाई माओवादी हो भनेर आरोप लगाए। म ज्यान जोगाउन भागेर इन्डिया (भारत) गएँ।
मैले पहिलो बिहे २०५४ सालमा इन्डियामै गरेको थिएँ। बिहे गरेको केही दिनपछि घर आएका थियौं।
तपाईंको जग्गाजमिन कति छ?
घरबासको दुई कठ्ठा जति मात्रै छ। मैले बुबाबाट पाएको अंशबाट दुई कट्ठा जेठीपट्टिका छोरा दिएँ। अहिले मेरो मिहिनेतले घरगृहस्थी चलेको छ। दुईभाइ छोरा पदमपुरको सरकारी स्कुलमा पढ्छन्। श्रीमती, घरमा बस्छे, घरको काम गर्छे।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभयो?
मन परेकी मान्छे बिहे गर्दा र बच्चा जन्मिँदा खुसी भएको थिएँ।
दुःखको क्षण पनि होला नि?
बाबुआमाको समेत ठेगान नभएकी मान्छे बिहे गरेको थिएँ। उसलाई धेरै माया गरेको थिएँ। उसैका लागि भनेर विदेश गएको थिएँ। त्यही श्रीमतीले छोडेर गएको खबर सुन्दा धेरै दुःख लाग्यो।
बुबाको मृत्यु हुँदा पनि दुःख लाग्यो। बुबाको पनि रक्सी खाने बानी थियो, सधैं खाने। आखिर उहाँलाई रक्सीले नै खायो। पानी पिए जसरी रक्सी पिउनेको आयु एकदम थोरै हुँदो रहेछ। मुटु, कलेजो सबै खत्तम पार्दो रहेछ।
आमा कता हुनुहुन्छ?
हामी दुई दाजुभाइ हौं। आमा कान्छाभाइसँग बस्नुहुन्छ।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
अहिलेसम्म त केही पनि भएको छैन। श्रीमती र बालबच्चा पनि राम्रै छन्। बढी रक्सी खाने खराब बानी छोड्दै गएको छु, आजकाल धेरै खान्नँ।
राति मजाको निद्रा लाग्छ?
मजाको निद्रा लाग्छ तर रक्सी खाएको दिन निदाएर बिउँझिएपछि फेरि निद्रा लाग्दैन। मनमा केके कुरा खेल्छ। मध्य रातमा बिउँझिएपछि फेरि निदाउन निकै गाह्रो हुन्छ।
यो रक्सी भनेको खराब चिज हो भन्ने पनि थाहा छ तै पनि चटक्क छाड्न सकेको छैन। पहिला धेरै खान्थें। आजकाल साथीभाइको संगतले कहिलेकाहीँ खान्छु।
आजकाल त रक्सी खाएपछि बिरामी परेजस्तै हुन्छु। निद्रा नलागेको पनि त्यसैले होला।
तपाईंसँग यति बेला ठिक्कको पैसा भए के गर्थें भन्ने लाग्छ?
गाउँमा पुरानो घर छ। सानोतिनो एउटा घर बनाउने थिएँ। बाँकी पैसा छोराको भविष्यका लागि राखेर चाहिएका बेला खर्च गर्ने थिएँ। उनीहरूले पढ्न चाहेसम्म पढाउने इच्छा छ।
तपाईंको मनमा गढेर बसेको कुनै पिर वा पछुतो केही छ कि?
धन कमाउने नाममा श्रीमती छोडेर विदेश नगएको भए हुन्थ्यो जस्तो लाग्छ। सम्झिँदा आज पनि पछुतो लाग्छ।
उसलाई बाआमाले सानैमा जंगलमा छाडेका रहेछन्। इन्डियाका एक जना जमिनदारले फेला पारेर पालेका रहेछन्। मैले त्यस्ती केटी बिहे गरेको थिएँ।
उसकै लागि र छोराछोरी लागि विदेश गएको थिएँ। पहिले साउदी अरब गएँ, त्यसपछि मलेसिया गएँ। मैले त बाबुआमाको समेत पत्तो नभएकीलाई बिहेर गरेर ल्याएको थिएँ।
ऊ स्वार्थी भई। म विदेशमा भएका बेला छोराछोरीसमेत माया मारेर अर्कैसँग गइछे।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
समाजका सबैले आआफ्नो गरिखाएका छन्। समाज सहयोगी पनि छ। हाम्रो गाउँठाउँ अलिकति पिछडिएको छ। बालबच्चाको राम्रो हेरचाह गर्न, राम्रो शिक्षा दीक्षा दिन र राम्रो संस्कार सिकाउन ध्यान पुगेको छैन।
जीवन के रहेछ?
जीवनमा कति खेर के आइपर्छ भन्ने थाहा नै नहुने रहेछ! मेरी श्रीमती घरबास र सम्पत्ति सबै लथालिंग, भताभुंग पारेर गई। मैले विदेशमा कमाएको पैसा पनि स्वाहा भयो। त्यस्तो होला भन्ने त मनमा छँदै थिएन।
जीवन साथी रोज्दा निकै ध्यान दिनुपर्ने रहेछ। नत्र जीवन बर्बाद हुँदो रहेछ।
पूर्वश्रीमतीसँग भेट हुन्छ कि हुँदैन?
ऊ छोराको घरमा आइरहन्छे तर मैले प्रत्यक्ष भेटेको छैन। अब भेटेर पनि के गर्नु र! बुटवलतिर बस्छे भनेको सुन्छु। आफूले जन्माएको छोरो भेट्न आउँदा उसलाई मेरो पनि त ख्याल आउँदो हो नि तर भेटघाट छैन।
एक्लै हुँदा तपाईं के गर्न रुचाउनुहुन्छ?
मलाई गीत सुन्न र गाउन मन पर्छ। म बढीजसो लोकदोहरी सुन्छु। मलाई मन पर्ने एक जना गायक रामजी खाँण पनि हुन्।
तपाईंलाई खाने कुरा के मन पर्छ?
मलाई दाल, रोटी, दूध, दही मन पर्छ। माछामासु धेरै खान मन लाग्दैन। रोटीसँग भाजी वा रायोको कलिलो सागपात मिठो लाग्छ।
तपाईंले गएको चुनावमा कसलाई भोट दिनुभयो?
गाउँकै माओवादी नेता धनबहादुर मास्कीलाई दिएँ। कांग्रेस र माओवादीको चुनावी गठबन्धन थियो। कांग्रेसका दीपक गिरीलाई पनि दिएको थिएँ।
आउने चुनावमा भोट कसलाई दिनुहुन्छ?
काम गर्न सक्ने मान्छे हेरेर दिन्छु। युवा भनेर मात्रै पनि नहुँदो छ। अब इमानदार मान्छेलाई दिने हो।
तपाईंको बबई गाउँपालिकामा अहिलेका अध्यक्षको भूमिका कस्तो लाग्छ?
उहाँले न केही गर्न सक्नुभएको छ न केही बिगार्नु भएको छ। पहिलेका अध्यक्षले धेरै काम गरे। गाउँपालिकाको भवन हेर्नुहोस् त, कस्तो बनाएका छन्! सिंहदरबार भन्दा कम्ता छ त!
तपाईंलाई मन पर्ने नेता को हो?
कस्तो गाह्रो कुरा सोध्नुभयो! पुराना नेताहरूले अहिलेको परिवर्तन ल्याउन योगदान गरेकै हुन् तर राम्रो काम गर्न सकेनन्। नढाँटी भन्नु पर्दा मलाई त आजकाल काठमाडौंका मेयर बालेन शाह मन पर्छन्।
यति बेला राज्यले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
हाम्रो ठाउँ पिछडिएको छ। बाटो र पुल मात्रै राम्रो हुन्थ्यो भने पनि मान्छे बिरामी पर्दा अस्पताल पुर्याउन सजिलो हुने थियो। आज पनि यो बबई नदीपारिका मान्छे बिरामी पर्दा खटियामा बोकेर अस्पताल पुर्याउनुपर्छ।
नजिकमा राम्रो अस्पताल पनि छैन। सानोतिनो बिरामी हुँदा पनि तुलसीपुर पुग्नुपर्ने बाध्यता छ। राज्यले जनताको यस्तो दुःख हेरेर काम गर्नुपर्ने हो भन्ने लाग्छ।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्