(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
भैरहवाको बुद्धचोकमा ‘अर्घाखाँची पौडेल स्टाफ होटल’ नामको एउटा सानो होटल छ। जहाँ चियाखाजा र खाना पाइन्छ। होटल हो अर्घाखाँचीको केरुङ्गाका सीता पौडेल र विष्णु पौडेल दम्पतीको।
हालैको एक साँझ होटलमा पुग्दा सीता भाँडा मस्काउँदै थिइन्। तिनै सीतासँग हामीले उनको दुःखसुखबारे संवाद गरेका छौं।
तपाईंहरूले होटल चलाएको कति वर्ष भयो?
पन्ध्र वर्ष भयो। पहिले गल्लामण्डीमा थियो। त्यहाँ त्यति राम्रो नचलेपछि यहाँ आएका हौं। यहाँ आएको पनि तीन वर्ष भयो।
अहिले कस्तो चलेको छ?
यहाँ पनि धेरै राम्रो छैन। दिनमा तीन-चार हजार (रुपैयाँ) को बिक्री हुन्छ। काम गर्ने मान्छे राखेका छैनौं। सबै काम हामी बुढाबुढी (श्रीमान–श्रीमती) नै गर्ने भएकाले दिनमा हजार/पन्ध्र सय (रुपैयाँ) बचत हुन्छ। श्रीमान् खाना पकाउनुहुन्छ। म खाना बाँड्छु, भाँडा माझ्छु।
यो घर भाडामा हो कि आफ्नै?
बजारमा यस्तो घर भए त भइहाल्थ्यो नि! भाडामा बसेका छौं।
भाडा कति तिर्नुहुन्छ?
यो एउटा सटर भइहाल्यो, पछाडि बस्ने एउटा कोठा छ। महिनाको २६ हजार भाडा तिर्नुपर्छ। बिजुली र पानी गर्दा महिनाको ३०/३२ हजार पुग्छ।
घरमा को-को हुनुहुन्छ?
हामी बुढाबुढी भइहाल्यौं, दुई छोरा छन्। एक जना देवर पनि हुनुहुन्छ। देवर (बौद्धिक) अपांग हुनुहुन्छ। उहाँको रेखदेख र संरक्षण हामीले नै गरेका छौं।
छोराहरू के गर्छन्?
दुबै जना पढ्दै छन्। ठूलो छोरो १९ वर्षको भयो, कान्छो १६ वर्षको छ। हामीलाई काम पनि सघाउँछन्। दुबै जनाको पढाइ राम्रो छ। छोराको पढाइ नै हाम्रो खुसी हो।
व्यापारबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्ट नभएर पनि भएन। दिनभरि अरूले खाएका भाँडा माझेर भए पनि छोरा पढाउन र साँझबिहान दुई छाक खान पुगेको छ। एक टुक्रा जमिन पनि किनेका छौं।
तपाईंलाई होटलको कामबाहेक अरू के गर्न मन लाग्छ?
बिहानैदेखि रातिसम्म होटलमै व्यस्त हुनुपर्छ। अर्को काम गर्ने फुर्सद नै हुँदैन। कहिलेकाहीं कतै जाऊँ भन्दा पनि पनि देवरलाई छोड्न मिल्दैन। सँगै लिएर जान पनि सकिँदैन। चाडपर्वमा पनि कतै जाँदैनौं।
घरमा टिभी हुर्नुहुन्छ कि हेर्नुहुन्न?
कहिलेकाहीं फुर्सद हुँदा टिभी हेर्छौं। यहाँ (बुटवल) आएको १५ वर्ष भयो। अहिले पहिलोपटक ‘पूर्णबहादुरको सारङ्गी’ फिल्म हेर्यौं। फिल्मको कथा त हामीलाई आफ्नै दुःख जस्तो लाग्यो।
तपाईंलाई सबैभन्दा बढी खान मन लाग्ने के हो?
खान मन त लाग्छ। जे पनि खान हुन्थ्यो तर अब शरीरले नखा भन्न थाल्यो।
जिब्रोलाई मिठो लाग्ने चिल्लो, पिरो, गुलियो हो। चिल्लो, पिरो खाँदा सञ्चो हुँदैन। होटलमा जे पाक्छ त्यही खान्छु। कोदो, मकै, भटमासको खानेकुरा (परिकार) मन पर्छ। फुर्सद हुँदा पकाएर खान्छौं।
तपाईंको स्वास्थ्य कस्तो छ?
त्यति ठूलो समस्या त केही पनि छैन। दुई महिना भयो, ‘ग्यास्टिक’ बढ्दै गएपछि औषधि खान थालेकी छु।
रातमा निद्रा कस्तो छ?
निद्रा ठिकै हुन्छ। कहिलेकाहीं मनमा कुरा खेलेर होला, पटक्कै निद्रा लाग्दैन। आँखा झिमिक्क नगरी उज्यालो हुन्छ।
मनमा के कुरा खेल्छ?
मनमा कुरा त खेलिहाल्छ नि! छोरा ठूला हुँदै छन्। बस्ने घर छैन। पहाडमा भएको घर त्यत्तिकै छोडेर आयौं। यहाँ कमाएको पैसाले खानलाउन र छोरा पढाउन ठिक्क छ। दुःखबिमार भए पनि औषधि उपचार गर्न सकिंदैन कि भन्ने लाग्छ।
देवरलाई खाना खुवाउनुपर्छ। दिसापिसाब गराउनुपर्छ। सरसफाइ गरिदिनुपर्छ।
यति बेला तपाईंसँग ठिक्क पैसा भए के किन्नुहुन्थ्यो होला?
एउटा भए पो यस्तो किन्न पाए हुन्थ्यो भन्नु! जाडो आएको छ, स्वेटर र ज्याकेट किन्ने मन छ।
आफूलाई मात्रै किनेर पनि भएन। अहिले सबैलाई किन्ने हो भने २५/३० हजार (रुपैयाँ) नभई हुँदैन। त्यति कमाउन एक महिना भाँडा माझ्नुपर्छ।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
त्यस्तो धेरै खुसी हुने दिन त कहिल्यै पनि आएन। बिहे नहुँदै केटाकेटी उमेरमा खुसी भएँ होला, बिहेपछि सधैं दुःखको दुःख नै छ। कहिल्यै खुसी हुन लेखेको रहेनछ जस्तो लाग्छ।
सबैभन्दा धेरै दुःखी कहिले हुनुभयो?
दुःख त सधैं छ। चार वर्षयता धेरै दुःख भएको छ। चार वर्षअघि श्रीमान् दुर्घटनामा पर्नुभयो। यही लुम्बिनी रोडमा साइकलमा हिँड्दै गर्दा ट्रकले हानेर गम्भीर घाइते हुनुभयो। दुई वर्ष त बैसाखी टेकेर हिँड्नुपर्यो।
उहाँलाई अलि निको भएपछि एक वर्षमै माइतमा आमा, दाइ र दिदी बित्नुभयो। गएको वर्ष असोजमा दाइ र माघमा आमा बित्नुभयो। अस्ति मंसिरमा दिदी बित्नुभयो। एकै वर्षमा तीनजना गुमायौं।
एकै वर्षमा कसरी त्यस्तो भयो?
दैव लागेपछि त्यस्तै हुने रहेछ। आमा र दिदीलाई पाठेघरको क्यान्सर भएको थियो। उपचार हुँदाहुँदै बित्नुभयो। दाइलाई त केही पनि भएको थिएन। हिँड्दाहिँड्दै बाटोमा ढल्नुभएको थियो, कहिल्यै उठ्नुभएन।
माइतमा बुबा हुनुहुन्छ तर मानसिक रूपमा ठिक हुनुहुन्न।
यस्तो नभइदिएको भए हुन्थ्यो भनेर तपाईंको मनमा गढेर बसेको कुनै पिर पनि छ कि?
देवरको पिर छ। उहाँ ३८ वर्षको हुनुभयो, उहाँको सबै स्याहारसुसार हामीले नै गरिदिनुपर्छ। एक छिन पनि छोड्न मिल्दैन। छोड्यो कि केही न केही बिठ्याइँ गरिहाल्नुहुन्छ।
उहाँ त्यस्तो बिरामी नभएको भए हामीलाई हल्का हुन्थ्यो भन्ने लाग्छ।
तपाईंलाई यहाँको टोल समाज कस्तो लाग्छ?
टोल समाजको त कुनै मतलब हुँदैन। आफ्नै घर भएको भए अलि चासो हुन्थ्यो होला। भाडामा बस्छौं, बिहानदेखि रातिसम्म यही होटल हुन्छौं। बाहिरको कुरा केही पनि थाहा हुँदैन।
हामी बाहिरफेर अरूको घरमा जाँदैनौं। चियाखाजा खानेबाहेक अरू कोही पनि यहाँ आउँदैनन्।
बिरामी हुँदा, कुनै अप्ठ्यारो कसको सहयोग पाउनुहुन्छ?
अप्ठ्यारै परेका बेला त केही न केही उपाय खोज्नै पर्यो। नजिकै भाइ र दिदीहरू हुनुहुन्छ। अरू आफन्ती पनि नजिकै हुनुहुन्छ।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
राजनीतिको बारेमा त मलाई कुनै मेसो छैन। त्यसमा मतलब पनि गर्दिनँ। आफूलाई दुःख पर्दा कुनै नेताले हेर्ने होइनन्। सबै दुःख आफैले भोग्ने हो। घोटिएर काम नगरे खान पाइने होन।
हामीजस्ता मान्छे राजनीतिमा लागेर पनि केही फाइदा छैन, आफ्नो काम गर्यो बस्यो। मलाई त राजनीति ठिकसँग चलेको जस्तो पनि लाग्दैन। देशको राजनीति राम्रो भए व्यापार पनि बढ्थ्यो होला। मान्छे सबै नेपालमै बस्थे होला।
तपाईंलाई मन पर्ने नेता को हो?
यो पनि मलाई थाहा छैन। म कोही पनि नेता चिन्दिनँ। अहिले कोको नेता छन् भन्ने पनि थाहा छैन।
चुनावमा भोट दिनुभएको छ कि छैन?
भोट त दिएकी छु। भोट दिनु आफ्नो अधिकार हो भन्छन्।
गएको चुनावमा कसलाई भोट दिनुभयो त?
उम्मेदवार त को उठेको थियो थाहा छैन। भोट रूखमा दिएको हो। अहिलेसम्म तीनपटक भयो चुनावमा भोट दिएको। तीन पटक नै रूखमा दिएको हो।
अब हुने चुनावमा कसलाई भोट दिनुहुन्छ?
भोट दिने बेला श्रीमानले कसलाई दिने भन्नुहुन्छ उसैलाई दिने त होला!
भोट त आफूलाई मन परेका पार्टी र उम्मेदवारलाई दिने होइन र?
कुन पार्टी कस्तो, कुन मान्छे कस्तो; मलाई कहाँ थाहा हुन्छ र!
यति बेला सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले हाम्रो कुरा सुन्ने भए पो यसो गरिदिए हुन्थ्यो भन्नु!
सरकारले अहिलेसम्म दुःखी गरिबका लागि केही पनि गर्न सकेको छैन। मेरा देवरजस्ता (अपांगता भएका) मान्छेको जिम्मेवारी सरकारले लिनुपर्ने हो तर लिँदैन। देवरलाई सरकारले हेरिदिने भए त हामीलाई ठूलो राहत हुने थियो।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्