(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
केही दिनअघि बिहान ६ बजे दाङको घोराहीस्थित विद्युत् प्राधिकरण कार्यालयको पर्खालमा आड लागेर प्याजका बेर्ना बेच्न बसेका भेटिए एक अधबैंसे। उनी रहेछन् दाङको लमही नगरपालिका–४, बर्काघुम्ना गाउँका ५३ वर्षीय ज्ञानबहादुर चौधरी।
उनी प्याजका बेर्ना बेच्न लमहीबाट झन्डै २४ किलोमिटर यात्रा गरेर घोराही बजार आउँदा रहेछन्। हरेक वर्ष प्याजको बेर्ना बनाएर बेच्नु उनको पेसा नै रहेछ। हामीले उनै ज्ञानबहादुरसँग कुरा गरेका छौं।
प्याजको बेर्ना कतिमा बेच्नुहुन्छ?
(बेर्नाका मुठा देखाउँदै) यो ठूलो डेढ सय रूपैयाँ पर्छ, सानोको एक सय।
तपाईंको घर कहाँ हो?
घर देउखुरीको बर्काघुम्ना हो।
तपाईं लमहीबाट केमा आउनुभएको हो?
बस चढेर आउँछु। आउँदा एक सय र जाँदा एक सय रूपैयाँ सय भाडा लाग्छ। गाउँको अर्को साथी घोराहीको ट्राफिक चोकनेर यस्तै बेर्ना बेच्न बसेको छ।
प्याजको बेर्ना बेच्न लमहीबाट किन घोराही आउनुभएको?
लमहीमा धेरै बिक्दैन। त्यता सबैले आफै बेर्ना राखेका हुन्छन्। घोराहीतिर त्यस्तो गर्दैनन्, यता राम्रो बिक्री हुन्छ।
कति दिन भयो घोराही आउन थालेको?
म आउन थालेको तीन दिन भयो। अझै केही दिन आउँछु।
एक दिनमा कति बिक्री हुन्छ?
दुई सय रूपैयाँ भाडा खर्च लागे पनि दिनको तीन हजारसम्म बचत हुन्छ।
तपाईंले यस्तो काम गरेको कति वर्ष भयो?
हाम्रा बाबुबाजे सबै कृषक हुन्। मैले पनि त्यही गरेँ। प्याजको बेर्ना बेच्न थालेको पनि धेरै वर्ष भयो। पोहोर साल (गत वर्ष) जम्मा साढे दुई केजी बिउको बेर्ना राखेको थिएँ। त्यसबाट २५ हजार रूपैयाँको बेचेँ।
यसपालि दुई कट्ठा जग्गामा साढे सात केजी बिउ राखेको राखेको छु। भरखर बेच्न सुरू भएको छ। बिउ केजीको १२ सय रूपैयाँ पर्छ। यसपालि कम्तीमा ५० हजारको बेर्ना बेच्छु।
तपाईंको परिवारमा कति जना हुनुहुन्छ?
हामी ६ जना छौं। मेरी श्रीमती, छोराबुहारी र दुई जना नाति छन्। एउटा नाति आठ वर्षको छ, अर्को दुई वर्षको छ। छोरीको बिहे भइसक्यो।
तपाईंका छोरा के काम गर्छन्?
छोरो घरमा बस्दैन। नेपाल हाइड्रोपावरमा काम गर्छ, बुटवलमा बस्छ। ऊ धेरैतिर घुम्नुपर्छ। छोराले १२ कक्षा पास गरेपछि जागिर सुरू गरेको हो। बिदामा घर आउँछ। बुहारीले पनि १२ कक्षा पास गरेकी छन्।
तपाईंले कति पढ्नुभयो?
उतिखेर बुद्धि पुगेन, मैले त पढिनँ। थारू गाउँको वातावरण पनि त्यस्तै थियो, साथीभाइको लहलहैमा लागेर पाँच कक्षा पढ्दापढ्दै छोडेँ। स्कुल जान हिँडेर १५ मिनेटजति लाग्थ्यो। उतिखेर नपढेर गल्ती गरेछु। अहिले पछुतो लाग्छ।
पढाइ छोडेर के गर्नुभयो?
गाउँघरमा आफ्ना उमेरका साथीभाइसँग घुमफिर गरेर समय बित्यो। म १५ वर्षजतिको भएपछि बुबाले गाडीको मेकानिक बनाउने भनेर बुटवल पठाउनुभयो।
बुटवलमा एक वर्षजति मिस्त्री भएर काम गरेँ। धेरै काम जानिसकेको थिएँ। त्यहाँ पनि साथीभाइको संगतले एक वर्षमा काम छाडेँ।
त्यति बेला बुटवल बस्दाका सम्झनाहरू केके छन्?
हाम्रै गाउँका गोत्यार दाइ बुटवलमा थिए। बुबाले उनकै भरमा मलाई पठाउनुभएको थियो। नयाँ मान्छे भनेर तीन महिना तलब दिएनन्। त्यसपछि महिनाको डेढ सय रूपैयाँ पाउन थालेको थिएँ। त्यो पैसाले त फिल्म हेर्न मात्र पुग्थ्यो। चिया दुई रूपैयाँ कप पाइन्थ्यो।
गाउँमा हुर्केको चौधरीको बच्चा, सुरूमा त बुटवल जाँदा डर लाग्यो। बजार नदेखेको मान्छे, मोटरगाडीको चहलपहल त मेरा लागि सपनाजस्तै थियो। एक हप्ता त बाहिर कतै निस्किनँ।
अलिक पछि राजमार्ग चौराहा पुग्न थालेँ। बाटो भुल्ने डरले अन्त कतै जान्नथेँ। एक दिन गोत्यार दाजुले स्कुटरमा राखेर घुमाए। त्यसपछि यतायउता हिँड्न अलिक आँट आयो।
तपाईंले हेरेको पहिलो फिल्म के थियो?
पहिलोपटक फिल्म हेर्न हलमा लैजाने पनि गोत्यार दाजु नै हुन्। त्यस दिन त अर्कै संसारमा पुगेजस्तै लागेको थियो। त्यो फिल्म 'प्यार झुक्ता नहीँ' हो कि जस्तो लाग्छ।
तपाईं नेपाली र भारतीय सिनेमाका कलाकार को को चिन्नुहुन्छ?
हाम्रा पालामा नेपालका हिरोहरू शिव श्रेष्ठ, भुवन केसी र राजेश हमाल थिए। इन्डियन हिरोमा अमिताभ बच्चन, सञ्जय दत्त, सलमान खान, शाहरूख खान सम्झिन्छु।
हलमा गएर फिल्म नहेरेको कति भयो?
धेरै भयो, २० वर्षभन्दा बढी भयो होला। अब त हलमा जान मन पनि लाग्दैन। बुढो भएपछि फरक हुँदो रहेछ। फुर्सद पनि हुँदैन। आफू रमाउने भन्दा पनि छोरा र नातिको खुसी हेर्नुपर्ने रहेछ।
तपाईंको घरमा टिभी छ कि छैन?
टिभी त छ तर बन्द जस्तै छ, कसैले हेर्दैन। छोराले घरमा इन्टरनेट जोडिदिएपछि टिभी बेकार जस्तै भएको छ। नातिहरू मोबाइलमै ठिक्क हुन्छन्। हामी (श्रीमानश्रीमती) लाई कामले फुर्सद हुँदैन।
फुर्सद हुँदा पनि हामी टिभी हेर्दैनौं। हामी पनि मोबाइलमा भजनकिर्तन हेर्छौं, प्रवचन सुन्छौं, धार्मिक गीत सुन्छौं।
टिभी ल्याएका बेलामा त नातिसँग रिमोट खोसाखोस हुन्थ्यो। नातिले कार्टुन हेर्नुपर्ने, हामी धार्मिक कार्यक्रम हेर्न खोज्ने।
तपाईंको बिहे कसरी भयो?
मागीबिहे हो, नजिकै छिमेकी गाउँमा। मैले केटी चिनेको थिइनँ घरपरिवारका चिनेका रहेछन्। बिहेपछि हामी श्रीमान श्रीमती लाजले हप्ता दिनसम्म बोलेनौं, हामी दुवै जना लजाउने। एउटै कोठामा सुतेर पनि एकअर्कालाई बोलाएनौं।
एकदमै उकुसमुकुस हुन्थ्यो, अप्ठ्यारो लाग्थ्यो। त्यो कुरा कसरी भनूँ, भन्नै जान्दिनँ। होली आउँदै थियो, त्यसकै निहुँ गरेर एक दिन बुढीलाई बोलाएँ। त्यसपछि बोलचाल खुल्यो, अलिक नजिक भयौं।
श्रीमान श्रीमतीमा कहिलेकाहीं ठाकठुक हुन्छ कि हुँदैन?
श्रीमान र श्रीमतीका बीचमा नभएको ठाकठुक अरू कोसँग हुनु! घरमै कामको कुरामा कहिलेकाहीँ ठाकठुक हुन्छ तर झगडा हुने होइन। एकैछिनमा कुरा मिलिहाल्छ।
मैले काम छाडेर रक्सी खान थाल्दा गाली गर्थी। होटेलमा गएर रक्सी खान्थे। घरमा साढु, जेठान, साला आउँदा पनि मिलेर रक्सी खान्थ्यौं। रक्सी खानु थारू जातिको संस्कार नै हो जस्तो लाग्थ्यो।
एक वर्ष भयो, रक्सी खान छोडिदिएँ। मैले गुट्का खाएको उलाई झन मन नपर्ने, देख्नेबित्तिकै गाली गरी हाल्थी। आजकाल गुट्का पनि खान्नँ। कहिलेकाहीँ थोरै सुर्ती खान्छु।
तपाईंको जग्गाजमिन कति छ?
साढे दुई बिघा जति छ। डेढ बिघा धान फल्ने खेत छ। अरू बारी छ। खेतमा धान राम्रो फल्छ, खान पुग्छ। आजकाल बारीमा मकै लगाउन छोड्यौं, मकै राम्रो फल्दैन। बरू तरकारी खेती गर्छौं।
तरकारीबाट राम्रो फाइदा हुन्छ। गएको वर्ष ६० हजार रूपैयाँको तरकारी बेच्यौं। धेरै तरकारी घरबाटै बिक्छ। बाँकी रहेको बजारमा लैजान्छौं।
राप्ती नदी किनारको बगरमा पनि खेती पनि हुन्छ नि, होइन?
बगरखेती निकै राम्रो हुन्छ। पोहर साल मैले दुई लाख रूपैयाँको खरभुजा बेचेको थिएँ।
खेतीको यति धेरै काम कसले गर्छ?
हामी बुढाबुढी मिलेर गर्छौं। छोरो जागिरमा छ, कहिलेकाहीँ मात्रै आउँछ। बुहारी पनि कहिलेकाहीँ छोरासँगै हुन्छिन्। घरमा हुँदा पनि उनलाई भातभान्सामै ठिक्क हुन्छ।
तपाईंलाई आफ्नो गाउँसमाज कस्तो लाग्छ?
हाम्रो गाउँसमाज राम्रो छ। गाउँमा सबै मान्छे आपसमा मिलेर बसेका छौं। गाउँको काम मिलेर गर्छौं। सुखदुःखमा साथ दिने चलन छ। गाउँमा बिहे, चाडपर्व र अरू काम हुँदा सबै मिलेर गर्छौं। मर्दापर्दा पनि सबै मिलेर उतार्छौं।
समाजमा राम्रो नलाग्ने पक्ष पनि केही छ कि?
कुनै काम नगर्ने, कुनै सीप पनि नभएको तर मै ठूलो हुँ भन्दै हिँड्ने मान्छे मन पर्दैन। रक्सी खाएर होहल्ला गर्ने र झगडामा उत्रिने मान्छे पनि मन पर्दैन।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
ठूलो समस्या केही छैन, घुँडा अलिअलि दुख्छ। बुटवल गएर जँचाउँदा डाक्टरले ६ महिना औषधि खानुपर्छ, सुई लगाउनुपर्छ, १२ हजार रूपैयाँ लाग्छ भने तर मैले केही पनि गरिनँ।
बरू श्रीमतीको पो दुईपटक अपरेसन (शल्यक्रिया) भइसक्यो। एकपटक पाल्पामा पत्थरीको र अर्कोपटक एपेन्डिस (एपेन्डिसाइटिस) को।
रातमा निद्रा कस्तो छ?
मजाले निदाउँछु। कहिलेकाहीँ खेतीपातीको काम ढिलो हुँदा मनमा कुरा खेल्छ र निद्रा कम हुन्छ। त्यसबाहेक अरू थोकको चिन्ता छैन। (धार्मिक) प्रवचन सुनेपछि सबै चिन्ता र दुःख हराउँदो रहेछ।
यति बेला राज्यले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
दाङमा भरपर्दो अस्पताल भएन, देउखुरीमा पनि छैन। उपचारका लागि नेपालगञ्ज वा बुटवल पुग्नुपर्छ। टाढा जानुपरेपछि पैसा पनि धेरै खर्च हुन्छ।
उपचार गर्न नेपालगञ्ज जाँदा लखनउ (भारत) तिर पठाउँछन्। बुटवल जाँदा कि चितवन, कि काठमाडौं पठाइदिन्छन्। यसले गर्दा खुनपसिना बगाएर मिहिनेतको रोटी खाने हामीलाई समस्या परेको छ।
सरकारले देउखुरी र दाङमध्ये एक ठाउँमा गतिलो एउटा अस्पताल बनाइदिए हुन्थ्यो।
तपाईंसँग यतिबेला ठिक्कको पैसा भए केमा खर्च गर्नुहुन्थ्यो होला?
पैसा भए त म सामाजिक काममा लगाउने थिएँ। समाजसुधारको काममा दान गर्ने थिएँ। धर्मकर्ममा लगाउने थिएँ।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
नेपाली कांग्रेसलाई दिएँ। खुमबहादुर खड्काका छोरा उठेपछि (उम्मेदवार भएपछि) उनलाई भोट दिनु हाम्रो फर्ज (कर्तव्य) थियो। खुमबहादुरले देउखुरीमा बाटाघाटा नबनाइदिएका र राप्ती (नदी) मा पुल नहालिदिएका भए अहिले देउखुरी कहाँ यति सुविधाको हुन्थ्यो र!
अब हुने चुनावमा कसलाई दिनुहुन्छ?
अब त राम्रो मान्छे (उम्मेदवार) हेरेर दिने हो, पार्टी मात्रै नहेर्ने।
अहिले तपाईंलाई हाम्रो देशमा मन पर्ने नेता को हो?
काठमाडौंका मेयर बालेन शाह मन परेको छ। उनलाई देखेको पनि छैन तर उनले राम्रो काम गरेका छन् भन्ने चर्चा छ।
हामीसँग कुराकानी गर्नुभयो, तपाईंलाई धन्यवाद!
तपाईंलाई पनि धेरै धन्यवाद!
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्