(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
केही दिनअघि बिहान ६ बजे कैलालीको लम्किचुहा नगरपालिका-२, चिसापानीस्थित ‘न्यू श्रेष्ठ होटल’ मा तरकारी काट्दै गरेका भेटिए गोपाल श्रेष्ठ। बर्दियाका स्थायी बासिन्दा गोपालले यहाँ होटल चलाएको १४ वर्ष भयो। उनै गोपालसँग हामीले गरेको संवाद यहाँ प्रस्तुत गरेका छौं।
तपाईंको होटल कस्तो चलेको छ?
पहिलेजस्तो राम्रो छैन। राजमार्गको होटल हो, खाना र खाजा खाने मान्छे गाडीमा हिँड्ने यात्रुहरू हुन्छन्। गाडीले जहाँ रोक्यो, यात्रुले त्यहीँ खान्छन्। गाडीवालाले जहाँ भत्ता पाइन्छ, त्यही होटलअगाडि लगेर रोकिदिन्छ। एक दिन रोक्यो भने गाडीका स्टाफलाई निःशुल्क खुवाउनुपर्छ। खुवाएर मात्रै हुँदैन, उल्टै हजार-पन्ध्र सय (रूपैयाँ) भत्ता दिनुपर्छ।
म त्यसरी भत्ता दिन्नँ। भत्ता लिनेहरू मेरो होटलमा आउँदैनन्।
एक दिनमा कति खाना र खाजा बनाउनुहुन्छ?
पहिले त झन्डै एक क्विन्टल चामलको भात पाक्थ्यो। अहिले दुई कुकर भात सकिने ग्राहक पनि आउँदैनन्। अहिले दिनमा सात किलोजति आलुको समोसा बिक्छ। अलिअलि डोनट, चना, अन्डा, चिया बिक्छ। व्यापार धेरै घटेको छ।
होटल भएको घर आफ्नै हो कि भाडामा?
आफ्नै हो, घर आफ्नै भएर अहिलेसम्म टिक्न सकिएको छ। भाडा तिर्नुपरेको भए त छाडेर हिँड्नुपर्ने हुन्थ्यो।
होटल सुरू गर्दा कति लगानी गर्नुभएको थियो?
म त खाली हात यहाँ आएको थिएँ। त्यति बेला यो ठाउँमा अहिलेजस्तो चहलपहल थिएन। सबै चिज सस्तो थियो। नजिकै फुपू हुनुहुन्छ। उहाँले सबै व्यवस्था मिलाइदिनुभयो र मलाई सजिलो भयो। लगानी त ४०-५० हजार (रूपैयाँ) जति भएको थियो होला।
तपाईंलाई यो होटलको कामबाहेक अरू केमा रूचि छ?
होटलबाट कुनै दिन पनि फुर्सद हुँदैन। आज पनि बिहान साढे तीन बजे उठेको हुँ। अहिले (बिहान) ६ बजेसम्ममा चना, अन्डा, डोनट, समोसा सबै बनाइसकेर तरकारी काट्दै छु।
अब खाजा खाने मान्छे आउँछन्। उनीहरूलाई खाजा दिने र भाँडा माझ्ने गर्दागर्दै खाना पकाउने बेला हुन्छ। फेरि खाना खुवाउने र भाँडा माझ्ने काम नभ्याउँदै दिउँसोको खाजा दिने बेला हुन्छ। त्यसपछि साँझको खाना पकाउने बेला हुन्छ। यस्तै गरेर दिन बित्छ।
कहिलेकाहीं कतै घुमफिर गर्न मन लाग्दैन?
मलाई त घुमफिर गर्न पटक्कै मन लाग्दैन। कहिलेकाहीँ बन्द हड्ताल हुँदा र चाडपर्व आउँदा पनि कतै नगई बच्चाहरूसँग घरमै बसेर रमाइलो गर्छु। घरमा टिभीमा नाटक र फिल्म हेर्छु।
तपाईंलाई खानामा सबैभन्दा बढी मनपर्ने के हो?
यो मनपर्ने र त्यो मननपर्ने भन्ने केही पनि छैन। यही होटलमा जे पाक्छ, त्यही खान्छु। ग्राहकलाई अलग्गै र घरको मान्छेलाई अलग्गै पाक्दैन। होटलमा आफूले पकाएको सबै खानेकुरा मिठो लाग्छ।
घरमा को को हुनुहुन्छ?
खासमा मैले दुइटा बिहे गरेको हो। दुइटी श्रीमतीतर्फ गरेर सात जना छोराछोरी छन्, ६ जना छोरी र एक छोरा।
अहिले श्रीमती एउटी मात्रै छिन्। कान्छी बिहे गरेपछि जेठी श्रीमती अन्तै गइन्। जेठीतर्फ तीन वटी छोरी हुन्। माइली छोरी आमासँगै गइन्। दुई छोरी मसँगै थिए, उनीहरूको बिहे भइसकेको छ। कान्छीतर्फ तीन छोरी र एक छोरा हुन्।
घरमा श्रीमती र छोरीहरू हुँदाहुँदै कान्छी किन ल्याउनुभयो त?
आफूलाई लेखेको त होला नि! यहीँ चिसापानीमा भेट भयो। मन मिलेपछि बिहे भयो।
छोराछोरीले कत्तिको सुख दिएका छन्?
धेरै सुख दिएका छन्। यो होटल पनि उनीहरूकै सहयोगले चलाएको छु। उनीहरू पढ्दै मलाई काम सघाइरहेका छन्। सबै छोरीहरू क्याम्पसमा पढ्छन्। छोरो ९ कक्षामा पढ्दै छ। म धेरै खुसी छु।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
ठूलो समस्या केही पनि छैन। सात-आठ वर्षअघि प्रेसर (उच्च रक्तचाप) देखिए थियो। त्यसपछि औषधि खान थालेको थिएँ तर अहिले नियमित रूपमा खान्नँ। कोरोनाको समयमा लकडाउन भरि औषधि खाइनँ। अलिकपछि प्रेसर बढेजस्तो भयो। त्यसपछि फेरि खान थालेको छु।
प्रेसर बढेको कसरी थाहा पाउनुहुन्छ? स्वास्थ्य परीक्षण गराउनुहुन्छ?
परीक्षण पनि गराउँदिनँ। कहिलेकाहीँ टाउको दुख्यो भने प्रेसर बढ्यो भन्ने लाग्छ। नजिकै मेडिकल (औषधि पसल) छ। पहिले डाक्टरले दिएको औषधि त्यही पसलबाट ल्याएर खान्छु।
डाक्टरलाई नजँचाइ आफूखुसी औषधि खानु हुँदैन भन्ने तपाईंलाई थाहा छैन?
थाहा छ नि! भएर के गर्नु! जँचाउन गएपछि अनेकथरी रोग देखाइदिन्छन्। त्योभन्दा राम्रो त आफैले औषधि ल्यायो, खायो, आनन्दै!
निद्रा कत्तिको लाग्छ?
दिनभरि होटलमा काम गरेर होला, राति राम्रो निद्रा लाग्छ। म बिहान छिटो उठ्ने भएकाले साँझ ९ बजेतिर नै सुतिसक्छु।
तपाईंलाई यति बेला ठिक्क पैसामा किन्न पाए हुन्थ्यो भन्ने के चिज होला?
मलाई अब लाउने, खाने, घुम्ने केही पनि रहर छैन। अरूको ऋण खानु नपरे हुन्थ्यो, छोराछोरीलाई खुसी राख्न पाए हुन्थ्यो भन्ने छ। आफ्ना लागि केही पनि किन्नु छैन, कुनै रहर छैन।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
दुइटी श्रीमतीतर्फ पाँच जना छोरीपछि एउटा छोरो जन्मिँदा धेरै खुसी लाग्यो। कान्छी छोरी जन्मिँदा पनि खुसी लागेको थियो।
तपाईं धेरै दुःखी पनि हुनुभयो होला नि?
धेरै दुःखी त कहिल्यै भइनँ। दुःखी भएर के गर्ने! आफूलाई हुन लेखेको नभइ छोड्दैन। दुःखी भएर झनै आफूलाई दुःख थपिने हो।
यस्तो नभएको भए हुन्थ्यो भनेर तपाईंको मनमा रहेको कुनै पिर छ कि?
त्यस्तो पिर पनि केही छैन। दुइटी श्रीमतीका छोराछोरीको मेलमिलाप नहुने हो कि भन्ने लाग्थ्यो तर एउटै आमाबाट जन्मिएकाको भन्दा उनीहरूको राम्रो मेलमिलाप छ।
चाडपर्वमा जेठीतिरका छोरीज्वाइँहरू पनि आउँछन्, रमाइलो गर्छन्। मलाई कपडा पनि ल्याइदिन्छन्।
जेठी श्रीमतीसँग भेटघाट र कुराकानी हुन्छ कि हुँदैन?
ऊसँग त भेटघाट, कुराकानी केही पनि छैन। ऊ छाडेर गएपछि उता (अर्का श्रीमान) बाट जन्मिएको छोरा पनि कहिलेकाहीँ यहाँ आएर बस्छ, १४ वर्ष जतिको छ। यसपालि पनि आएको थियो। तिहारमा दिदीबहिनीसँग टीका लगाएर गयो। मलाई पनि बुबा भन्छ।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
सबै आफ्नो आफ्नो व्यापारमा र काममा व्यस्त हुन्छन्। यहाँ बसेकाहरू धेरै कालिकोट र जुम्लातिरका छन्। रहनसहन धेरै मिल्दैन। यस्तोमा कहिलेकाहीँ अप्ठ्यारो पर्ने रहेछ।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
नेपालको राजनीतिमा राम्रो लाग्ने के छ र! चुनावको बेलामा मरीमरी जिताउने हो। जितेर गएपछि कसैले फर्केर हेर्दैन। मलाई त यस्तो राजनीति मनपर्दैन।
तपाईंलाई देशको नेतामा सबभन्दा बढी को मनपर्छ?
अहिले सबैको हाइहाइ भएको त बालेन शाह नै हो। धनगढीको गोपी हमाल पनि मनपर्छ। कुनै पनि पार्टीबाट नभइ स्वतन्त्र रूपमा चुनाव जितेकालाई काम गर्न सजिलो हुने भएकाले होला, यिनीहरूले राम्रै काम गरेजस्तो लाग्छ।
तपाईंले गएको चुनावमा कसलाई भोट दिनुभयो?
भोट त पहिलेदेखि नै कांग्रेसलाई दिएको हो। गएको चुनावमा पनि कांग्रेसलाई दिएर जिताएको हो तर जिताएजस्तो भएन।
जिताएजस्तो किन नभएको?
खोइ त हामीलाई के गरे! चिसापानीमा केही पनि विकास भएको छैन। यहाँ रातभरि अन्धकार हुन्छ। बजारमा लाइट (बत्ती) नराखेर वडा कार्यालय छ भन्दै बस्ती नभएको ठाउँमा अग्लो लाइट राखेका छन्।
अब हुने चुनावमा कसलाई भोट दिनुहुन्छ?
अब त मान्छे हेरेर दिने हो। बालेन शाहजस्तै स्वतन्त्र रूपमा कोही चुनाव लड्न आयो भने उसैलाई भोट दिने हो।
तपाईंलाई सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले गर्ने नै हो भने त धेरै काम छ नि! चिसापानी पर्यटकीय क्षेत्र हो तर बाटोमा हिँड्नै नहुने गरी धुलो उड्छ। भत्किएको बाटो तुरून्तै बनाउनुपर्ने हो। सडक बनाउनुपर्ने हो। गाउँगाउँमा स्कुल र क्याम्पस पुर्याउनुपर्ने हो। अस्पताल खोल्नुपर्ने हो तर सरकारले हेर्दैन।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्