(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
दाङको बबई गाउँपालिका–७ मा ‘मलई’ नामको एउटा गाउँ छ। यो गाउँ सहरी क्षेत्रबाट निकै टाढा छ, बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पनि पर्छ।
यही गाउँकी बासिन्दा हुन् ३९ की दिला घर्ती। उनले स्वास्थ्य स्वयंसेविका भएर काम गरेको १२ वर्ष भयो।
यहाँका बालबालिकालाई खोप लगाउने, पोलियो थोपा खुवाउने, नवविवाहित दम्पतीलाई यौन स्वास्थ्य र प्रजनन् स्वास्थ्य सम्बन्धी परामर्श दिनु उनको मुख्य काम हो। हामीले उनै दिलासँग संवाद गरेका छौं।
तपाईं के काम गर्नुहुन्छ?
म स्वास्थ्य स्वयंसेविका हुँ। गाउँमा स्वास्थ्य स्वयंसेविकाले गर्ने सबै काम गर्छु।
यो गाउँमा स्वास्थ्य सुविधा कस्तो छ?
यहाँ निकै गाह्रो छ। भनेको जति औषधि कहिल्यै पाइँदैन। गाउँपालिकाको स्वास्थ्य चौकीमा अरू औषधि त परको कुरा, कहिलेकाहीँ सिटामोल र जीवनजल पनि पाइँदैन।
यहाँका मानिसहरू यौन स्वास्थ्य र प्रजनन् स्वास्थ्यबारे कत्तिको सजग छन्?
धेरै युवा सहर बजारमा छन्। गाउँमा बस्ने युवा डाँडाकाँडा उक्लेर भए पनि सामाजिक सञ्जाल चलाउँछन्। त्यसको प्रभावले पनि होला, आजको पुस्ता प्रजनन् स्वास्थ्यमा सजग देखिन्छ।
हामी मुख्य गरी नवविवाहित दम्पतीलाई यौन स्वास्थ्य र प्रजनन् स्वास्थ्यबारे सल्लाह दिन्छौं। बच्चा जन्माइसकेका महिलालाई पनि सम्झाउँछौं। परिवार नियोजनको महत्त्व र परिवार नियोजनका अस्थायी साधनबारे बुझाउँछौं। उनीहरू त्यस्ता साधन प्रयोग गर्ने गर्छन्।
मलई गाउँ र आसपासमा जन्मदर कस्तो छ?
पहिलाको जस्तो छैन। जन्मदर कम हुँदै गएको छ। दुईभन्दा बढी सन्तान जन्माउने दम्पती थोरै छन्।
तपाईं सुत्केरी हुँदा कस्तो समस्या भोग्नुपरेको थियो?
मैले तीन सन्तान घरमै जन्माएकी हुँ। एउटा आइरन चक्की पनि खाइनँ, टिटी खोप (टिटानसविरूद्ध) पनि लगाइनँ। उतिबेला ती कहाँ पाउनु!
मेरो कान्छो छोरो (सुवास) १३ वर्षको छ। उसको पालामा आठ महिनाकी गर्भवती हुँदा गाउँकै नातेदार महिला र म गर्भ जँचाउन भनेर बिहान ६ बजे घरबाट हिँड्यौं। अहिले जस्तो बाटो थिएन। जंगलैजंगल पहाड हिँडेर पञ्चकुले पुग्दा बेलुका चार बजेको थियो।
उतिखेर स्वास्थ्य चौकी पञ्चकुलेमा मात्रै थियो। ढिलो आएको भनेर स्वास्थ्य चौकीका प्रमुखले हामीलाई हकारे, जाँच गरेनन्।
ससुरा बुबालाई टिबी (क्षयरोग) थियो। उहाँका लागि औषधि माग्दा पनि दिएनन्। भोक र तिर्खाले हाम्रो अवस्था नाजुक भइसकेको थियो, बच्चा बाटामै खस्ला जस्तो भयो।
त्यहाँबाट केहीबेर हिँडेर मेरा दिदीभिनाजु नाताका आफन्तको घरमा गएर बस्यौं। मैले भिनाजुलाई स्वास्थ्य चौकी गएर बुबाको औषधि ल्याइदिन आग्रह गरें। भिनाजु साइकल चढेर जानुभयो र औषधि ल्याइदिनुभयो।
हामी स्वास्थ्य चौकी नगई भोलिपल्ट बिहानै हिँड्यौं र साँझमा घर पुग्यौं।
त्यो दिन सम्झिँदा आज पनि अचम्म लाग्छ। हामी दिनभरि हिँडेर पुगेका थियौं। स्वास्थ्य चौकीमै रहेका प्रमुखले हामीलाई नजाँची हप्काएर पठाए।
तपाईंको परिवारमा कोको हुनुहुन्छ?
छोरो (सुवास) तुलसीपुरको तुलसीपुर बोर्डिङ स्कुलमा सात कक्षामा पढ्छ। छोरी (रेखा) राप्ती बबई क्याम्पसमा बिए (स्नातक तह) पढ्दै छिन्। दिदीभाइ डेरामा सँगै बस्छन्। जुम्ल्याहा दुई छोरी थिए। अहिले एउटी मात्रै छिन्।
अर्की छोरी (करिस्मा) पनि रेखासँगै पढ्दै थिई। गएको चैत १४ गतेको कुरा, बिदामा घर आएका बेला घाँस काट्न गएकी थिई। भिरबाट लडेर बिती।
हामी (श्रीमान्–श्रीमती) मेरो माइतीघरमा बस्छौं। मेरा बुबाआमा अशक्त हुनुहुन्छ। उहाँहरूलाई कोही नभएपछि घर सल्लाहमै मेरो माइतीमा बसेका हौं। सासूससुरा दाजुभाइ (श्रीमानका) सँग बस्नुहुन्छ।
तपाईंले कति पढ्नुभएको छ?
मैले आठ कक्षा पास गरेकी छु। अझै पढ्ने चाहना थियो तर परिस्थितिले साथ दिएन। त्यो बेला यो मलई गाउँमा एउटा स्कुल थियो, पाँच कक्षासम्म मात्र पढाइ हुन्थ्यो। अर्को स्कुल जान तीन घण्टा हिँड्नुपर्थ्यो। आफन्तको घरमा बसेर आठ कक्षासम्म पढें तर त्यो घरको काम गरेर पढ्न कठिन भयो। त्यसपछि पढाइ छाडेर हिँडें।
तपाईंको बिहे कसरी भयो?
म पढाइ छाडेर घर गएपछि बिहे भयो। म जम्मा १७ वर्षकी थिएँ। मेरा श्रीमानको नाम रोबरबहादुर घर्ती हो। उहाँको उमेर पनि मेरो जस्तै थियो। हाम्रो प्रेम विवाह हो। बिहे भएपछि दुबै जनाको पढाइ बन्द भयो।
श्रीमान दाङतिरै सानोतिनो ठेक्कापट्टाको काम गर्नुहुन्छ।
तपाईंलाई के काममा सबैभन्दा रमाइलो लाग्छ?
हाम्रो परिवारमा अत्यन्तै राम्रो मेलमिलाप छ। सबैजना जम्मा हुँदा निकै रमाइलो गर्छौं। मनका कुरा खुलस्त भन्छौं। आआफ्ना काम र योजनाको कुरा सुनाउँछौं। त्यस बेला रमाइलो लाग्छ। एकअर्कालाई सल्लाह दिन्छौं। मलाई त यसरी जम्मा भएर सबैले मनका कुरा भन्दा रमाइलो लाग्छ।
तपाईंले देख्दै र भोग्दै जाँदा मलईमा केके परिवर्तन भयो?
म यही गाउँमा जन्में, यहीं हुर्कें। मोटरबाटो आयो तर बर्खा लागेपछि गाडी चल्दैन। बर्खाका लागि नुनतेल र खानेकुरा पहिल्यै जोहो गर्नुपर्छ। बिजुली बत्ती बल्न थालेको वर्ष दिनजति भयो। खानेपानीको धारो घरआँगनमै आएको छ।
पहिलेको भन्दा अहिले सुविधा बढ्दै गएको छ तर बाँके राष्ट्रिय निकुञ्जको कारणले गर्दा जनावरको डर बढेको छ। जनावरको डरले मानिसहरू बसाइ सर्न थालेका छन्।
अझै पनि गाउँमा मोबाइल फोनको नेटवर्क टिप्दैन। फोन गर्न र सामाजिक सञ्जाल चलाउन डाँडाकाँडा उक्लनुपर्छ। अहिलेसम्म गाउँमा दुई वटा घरमा मात्रै टिभी छ।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
मेरो महिनावारी अलि गडबड भएको छ, समयमा हुँदैन। मैले दस वर्ष डिपो (गर्भनिरोधक अस्थायी सुई डिपो प्रोभेरा) लगाएकी थिएँ। त्यसको असर हो जस्तो लाग्न थालेको छ। अरू स्वास्थ्य समस्या खासै केही छैन।
तपाईंसँग यतिबेला ठिक्कको पैसा भए के गर्नुहुन्थ्यो?
यो ठाउँ (मलई गाउँ) जति विकट भए पनि आफू जन्मेहुर्केको भएर होला साह्रै प्यारो लाग्थ्यो। वनजंगलको हरियाली पनि छ तर छोरी बितेपछि मन रोएको छ, यो ठाउँमा बस्न मन छैन। अहिले पनि छोराछोरीको कोठामा गइरहन्छु। उनीहरूसँग बस्दा पीडा अलिक कम हुन्छ। मसँग पैसा भए अर्कै ठाउँमा सानै भए पनि एउटा घर किन्ने थिएँ।
तपाईं साह्रै खुसी कहिले हुनुभयो?
मन परेको मान्छेसँग बिहे भएपछि खुसी भएँ। सन्तान जन्मिँदा पनि खुसी लाग्यो। अहिले माइतीमा बसेर आफ्ना आमाबुवाको हेरचाह गर्न पाउँदा पनि खुसी छु।
धेरै दुःखी भएको समय?
घाँस काट्न गएकी छोरी भिरबाट लडेर (२०८० चैत १४ गते) बिती; जुम्ल्याहा मध्येकी एउटी छोरी, हलक्क बढेकी, बिए पढ्दै गरेकी। एउटी आमा योभन्दा दुःखी हुने समय अर्को के हुन्छ र! सम्झिँदा मात्रै पनि मुटु चिराचिरा हुन्छ।
(बोल्दाबोल्दै दिलाका आँखा रसाए, केहीबेर सुक्सुकाइन् र आँखा पुछिन्।)
तपाईंको मनमा गढेर बसेको कुनै कुरा पनि छ कि?
अहिले मलई गाउँमा दस कक्षासम्म पढाइ हुने स्कुल छ। त्यो बेला (आफू विद्यार्थी हुँदा) यस्तो स्कुल भएको भए म पनि दस कक्षासम्म पढ्ने थिएँ, एलएलसी (दस कक्षाको अन्तिम परीक्षा) पास हुने थिएँ। दाङ गएर क्याम्पस पढ्ने थिएँ। बिएसम्म त पक्का पढ्ने थिएँ।
गाउँमा स्कुल नभएर पढ्न पाइनँ भन्ने कुरा मनमा आइरहन्छ।
यति बेला राज्यले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
मलईको अवस्था देख्दा के भन्नु, के नभन्नु जस्तो हुन्छ। वर्षामा मलई खोलाले सालिन्दा जमिन कटान गर्छ। विद्यालयका नाममा देउती मावि (माध्यमिक विद्यालय) भन्दा अर्को छैन। नजिकमा अस्पताल पनि छैन। यो गाउँ त दैवको भरमा चलेको छ।
सानो चोट लाग्दा पनि उपचार गर्न तुलसीपुर बजार जानुपर्छ। बर्खाको समयमा बिरामी डोकोमा र स्ट्रेचरमा बोकेर लैजानुपर्छ। सरकारले जंगलमा बाघभालु पाल्ने नीति लिएपछि मलई गाउँमा मान्छे बस्न गाह्रो भएको छ।
बाघले हाम्रा पशुचौपाया खोरबाटै तानेर लैजान्छ। बँदेल, हरिण र बाँदरले बालीनाली सबै सखाप पारिदिन्छन्।
सरकारले यो गाउँ अर्को सुरक्षित ठाउँमा सारिदिए हुन्थ्यो। यो ठाउँ जनावरका लागि छाडिदिए हुन्छ।
यस्तो दुर्गम ठाउँमा काम गर्ने तपाईंजस्ता स्वास्थ्य स्वयंसेविकाका लागि सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
एउटा बच्चा हेर्न पनि हामी घण्टौं उकालो–ओह्रालो हिँड्छौं। यो ठाउँमा मोटर गाडीको सुविधा छैन। जंगलको बाटो एक्लै हिँड्दा बाघभालुको डर हुन्छ। हामीलाई राज्यको तलब छैन। खाजाभत्ता बढाइदिए हुन्थ्यो।
तपाईंलाई आफ्नो गाउँ-समाज कस्तो लाग्छ?
म जन्मेहुर्केको ठाउँ हो। सबै मानिस एकै खालका छन्। सबै किसान छन्, पशुचौपाया पालेका छन्। सबै एकैखाले भएपछि समाजमा मिलेर बस्दा रहेछन्। मलईमा राम्रो भनेकै यही हो।
मानिसहरू सहयोगी छन्। कसैलाई आपदविपद पर्दा एकजुट हुन्छन्। ज्यानको बाजी लगाएर रातविरात पनि जुट्छन्। काँधमै बोकेर भए पनि बिरामी अस्पताल पुर्याउँछन्।
तपाईंलाई देशको राजनीति कस्तो लाग्छ?
अहिले देशको राजनीति ठिक लागेको छैन। विकटमा बस्ने जनतालाई सरकारले हेरेन। सरकारी कार्यालयमा जाँदा सानो काम गराउन पनि घुस नदिई हुँदैन।
तपाईंलाई मन पर्ने नेता को हो?
समाचारमा आएको कुरा र कामको चर्चा सुन्दा त काठमाडौंका मेयर बालेन शाह मन पर्छ। मलाई नेपाली कांग्रेसका केही युवा नेतामा आशा छ। मौका पाए भने उनीहरूले राम्रो काम गर्छन् कि जस्तो लाग्छ।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
म त नेपाली कांग्रेसको मान्छे हुँ। रूखमा छाप लगाएँ।
अब हुने चुनावमा कसलाई भोट दिनुहुन्छ?
गाउँमा आधारभूत आवश्यकता पूरा गर्न काम गर्नेलाई भोट दिनुपर्छ भन्ने लागेको छ। स्वयंसेविकाका रूपमा गाउँघर घुम्दा पनि दिदीबहिनीलाई यसै भन्ने गरेकी छु।
यो संवादका लागि तपाईंलाई धेरै धन्यवाद!
मलईवासीले भोग्दै आएको समस्या जस्ताको तस्तै छापिदिनु होला। तपाईंलाई पनि धन्यवाद।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्