(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
बुटवल उपमहानगरपालिका–९, मिलनचोकमा 'लुम्बिनी मोटरपार्ट्स' नामको पसल छ। अक्सर पसलमा हुन्छिन् रूपा घिमिरे अधिकारी। उनले पसलको जिम्मेवारी सम्हालेको १० वर्ष भयो। उनका श्रीमान जीवन अधिकारीले दुई दशकअघि पसल सुरू गरेका थिए।
रूपाले पसल सम्हाल्न थालेपछि जीवन बजार विस्तारमा लागे। अनेक सहरमा पुग्छन्। हालैको एक दिन लुम्बिनी मोटर पार्ट्समा पुग्दा रूपमा कारोबारको हिसाबकिताब मिलाउँदै थिइन्। हामीले तिनै रूपासँग संवाद गरेका छौं।
अहिले मोटर पार्ट्सको कारोबार कस्तो छ?
दुई-तीन वर्षअघिसम्म जति राम्रो कारोबार हुन्थ्यो, त्यति राम्रो अहिले छैन। बिक्री घटेको छ। मानिसहरूले जति धेरै सवारीसाधन प्रयोग गर्छन्, त्यति नै मर्मतसम्भारको काम हुन्छ। मोटर पार्ट्सको बिक्री पनि त्यसैअनुसार हुन्छ।
अहिले सडकमा गुड्ने सवारी साधनको संख्या पनि घटेको हो कि जस्तो पो लाग्छ! खुला सिमानाका कारण रूपन्देहीमा भारतीय बजार सुनौली गएर पार्टपुर्जा फेरेर आउने चलन छ। उता (सुनौली) जाने चलन भएकाले यता (बुटवल) मोटर पार्ट्सको व्यापार गर्नेलाई अलिक गाह्रो छ।
तपाईंको पसलमा कुन कुन सवारी साधनको पाटपुर्जा पाइन्छ?
हामी दुईपांग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको मात्र पाटपुर्जा बेच्छौं।
नियमित ग्राहक कति छन्?
यति नै भन्ने छैन। बुटवलमा दुईपांग्रे सवारी साधनका धेरैजसो ग्यारेजमा हामी नै पार्ट्स उपलब्ध गराउँछौं। बुटवलबाट पश्चिम महेन्द्रनगर, पाल्पा र पोखरासम्म पठाउँछौं।
तपाईंको पसलमा कति जना कर्मचारी छन्?
तीन वर्षअघिसम्म आफ्नै ग्यारेज थियो। त्यति बेला बीस जनाभन्दा बढी कर्मचारी थिए। अहिले ग्यारेज छैन, पसल मात्र छ। कर्मचारी १६ जना छन्।
पसलमा सामान बिक्री गर्ने, नजिकका ग्यारेजहरूमा पुर्याइदिने; पैसा उठाउन महेन्द्रनगर, पोखरासम्म जाने काम कर्मचारीहरू नै गर्छन्।
तपाईंलाई यो व्यापारबाहेक अरू के काममा रूचि छ?
साताको ६ दिन पसल खुल्छ। हरेक दिन पसलमा बस्नुपर्छ। अरू काममा फुर्सद हुँदैन। शनिबार र चाडपर्वका समयमा घरमै बच्चाहरूसँग बस्ने, मिठोमिठो खानेकुरा बनाएर खाने, यस्तै काम गर्न मन लाग्छ। घुमफिरमा पनि जान्छौं।
तपाईंलाई खानेकुरामा सबभन्दा बढी मनपर्ने के हो?
खानेकुरा त सबै मनपर्छ। यो मनपर्ने र त्यो नपर्ने भन्ने केही पनि छैन। भोक लागेको हुनुपर्छ, सबै चिज मनपर्छ। खानेकुरामा मेरो खास रोजाइ छैन। होटल र रेस्टुरेन्टको भन्दा घरमै पकाएको खानेकुरा राम्रो लाग्छ।
घरमा को को हुनुहुन्छ?
हाम्रो परिवार ठूलो छ। देवर-जेठाजुहरू सातभाइ हुनुहुन्छ। मेरा श्रीमान दाजुभाइमध्ये सबैभन्दा कान्छा हुनुहुन्छ। चार जना जेठाजुहरू अलग भइसक्नुभयो। तीनजना सगोलमा हुनुहुन्छ। बस्नेखाने अलगअलग भए पनि छुट्टीभिन्न भएको छैन। हामी श्रीमानश्रीमती र दुई छोराछोरी बस्छौं।
परिवारमा मेलमिलाप कस्तो छ?
मेलमिलाप धेरै राम्रो छ। सधैं एउटै छानोमुनि बस्ने र एउटै भान्सामा खाने भए बेमेल पनि हुन्थ्यो होला। तर पुर्ख्यौली सम्पत्ति सगोलमै भए पनि व्यवसाय आआफ्नो छ।
चाडपर्व, विवाह, ब्रतबन्ध, पूजाआजामा परिवारका सबै सदस्य एकै ठाउँमा भेला हुँदा रमाइलो हुन्छ।
छोराछोरी के के गर्दैछन्?
छोराछोरी दुवै जना पढ्दै छन्। छोरी बंगलादेशमा एमबिबिएस (चिकित्सा शिक्षामा स्नातक) पढ्दै छिन्। छोरा बुटवलमै स्कुल पढ्दै छन्। अहिले उनीहरूको पढ्ने समय हो। उनीहरूबाट अपेक्षा गर्ने बेला भएको छैन।
तपाईंको स्वास्थ्य कस्तो छ?
अहिलेसम्म राम्रो छ। हरेक वर्ष स्वास्थ्य परीक्षण गराउँछु। कुनै समस्या देखिएको छैन। सधैं निरोगी रहूँ भन्ने कामना छ। निरोगी रहनु सबैभन्दा ठूलो कुरा रहेछ।
निद्रा कस्तो छ?
निद्रा पनि राम्रै लाग्छ। दिनभरि पसलमा हुन्छु। साँझबिहान घरधन्दा पनि गर्नुपर्छ। शरीरमा थकान पनि हुन्छ, राति मस्त निदाउँछु।
तपाईंलाई यति बेला ठिक्क पैसामा के किन्न पाए हुन्थ्यो भन्ने लागेको छ?
अहिले किन्नैपर्ने केही पनि छैन। आवश्यक परेको बेलामा किनिहाल्छु, मनपरेको चिज पनि किन्छु। सानोतिनो सामान किन्न पैसाले रोकिनुपर्ने अवस्था नभएर होला, केहीको पनि अभाव छैन।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
मेरी छोरीको धेरैपटक अपरेसन (शल्यक्रिया) गर्नुपर्यो। छोरीको अपरेसन सफल हुँदा धेरै खुसी हुन्थेँ।
केमा सबभन्दा धेरै दुःखी हुनुभयो?
खुसीजस्तै दुःखी पनि छोरीकै कारणले हुन्छु। अहिलेसम्म सानाठूला गरेर छोरीका सातवटा अपरेसन भएका छन्। एक महिनाअघि बंगलादेशमै कानको अपरेसन गर्नुपर्यो। यहाँबाट आत्तिदै गएँ। छोरी बिरामी हुँदा मलाई ठूलो पीडा हुन्छ।
भगवान आएर एउटा कुरा माग, पुर्याइदिन्छु भन्ने भए छोरीको स्वास्थ्य राम्रो होओस्, छोरीलाई कहिल्यै पनि पीडा नहोस् भनेर माग्ने थिएँ।
यस्तो नभइदिएको भए हुन्थ्यो भनेर तपाईंको मनमा गढेको कुनै पिर छ कि?
सबै मान्छेको मनमा कुनै न कुनै पिर हुन्छ होला। मेरो मनमा पनि केही होला तर व्यक्त गर्न सक्दिनँ। मनमा बसेका कतिपय कुरा व्यक्त गर्न नै सकिँदैन।
त्यस्तो कुरा व्यक्त गर्दा मन हलुका हुन्छ भन्छन् नि?
कतिपय कुरा त अरूलाई सुनाउँदा झनै पीडा हुनसक्छ। अरूले कुरा काट्ने मौका पाउँछन्। त्यस्तो कुरा अरूलाई भन्नुभन्दा आफैसँग राख्नु राम्रो।
तपाईंलाई आफ्नो टोल-समाज कस्तो लाग्छ?
टोल-समाज राम्रो लाग्छ। राम्रो र नराम्रो भन्ने आफूअनुसार पनि हुन्छ होला। व्यक्ति व्यक्ति मिलेर समाज बनेको हुन्छ। व्यक्तिहरू राम्रो भए टोल-समाज पनि राम्रो हुन्छ।
हामी देवीनगरमा १० वर्ष बस्यौं। मिलनचोकमा आएको पनि १४ वर्ष भयो। पहिलेको ठाउँ पनि राम्रो थियो, अहिलेको पनि राम्रो छ।
टोल-समाजको सबभन्दा राम्रो लाग्ने पक्ष के हो?
एकअर्कालाई सहयोग गर्ने र टोलमा सरसफाइ गर्ने चलन राम्रो लाग्छ।
टोल-समाजको सुधार गर्नुपर्ने कुरा केही छ कि?
हाम्रोमा अहिले त्यस्तो केही पनि छैन।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
म राजनीतिमा चासो राख्दिनँ तर समाचार पढ्दा, सुन्दा र देशको माहोल हेर्दा राजनीति ठीकसँग चलेको छ जस्तो लाग्दैन।
देशमा केही पनि अवसर छैन भन्दै युवाहरू विदेश पलायन भइरहेका छन्। राजनीति खराब भएर यस्तो भएको त हो नि!
तपाईंलाई नेपालका नेताहरूमा सबभन्दा मनपर्ने को हो?
मन परेर आहा नै भन्नुपर्ने नेता कोही पनि छैन। सबै उस्तै छन्। मनपर्ने काम पनि कसैले गरेका छैनन्।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
भोट त पहिलेदेखि नै एमालेलाई दिँदै आएको, एमालेलाई नै दिएँ।
अब हुने चुनावमा कसलाई भोट दिनुहुन्छ?
अहिलेसम्म अर्को पार्टीलाई दिएको छैन। अब अर्कोलाई दिने गरी के परिवर्तन होला र! फेरि पनि एमालेलाई नै दिने त होला नि!
यति बेला सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले देशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्छ। बन्द भएका उद्योग र कलकारखाना फेरि चलाउनुपर्छ। नयाँ उद्योगहरू खोल्नुपर्छ। उद्योगी-व्यवसायीले उद्योग र व्यापार गर्ने राम्रो वातावरण भए युवाहरूले नेपालमै रोजगारी पाउने थिए।
आफ्नै देशमा रोजगारी पाए परिवार छोडेर विदेश जाने रहर कसैलाई पनि हुँदैन थियो होला।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्