(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
कपिलवस्तु जिल्लाको भलवाड गाउँका ५७ वर्षीय ज्ञानबहादुर वलीले ‘रुपन्देही उद्योग संघ’ मा कार्यालय सहायक भएर काम गरेको २० वर्ष भयो। उनी हाल बुटवल उपमहानगर–१३, बेलबासमा परिवारसहित बस्छन्।
उनी रुपन्देही उद्योग संघका निमन्त्रणा कार्ड र चिठिपत्र लिएर विभिन्न कार्यालय पुगिरहन्छन्। उनै ज्ञानबहादुरसँग हामीले संवाद गरेका छौं।
एउटा व्यावसायिक संस्थामा २० वर्षदेखि कार्यरत हुनुहुन्छ, यसमा तपाईंको अनुभव कस्तो छ?
सबैले सरकारी जागिर पाउँदैनन्। जीवन निर्वाहका लागि केही न केही काम त गर्नैपर्छ। मैले रुपन्देही उद्योग संघका काम पाएँ। यहाँ २० वर्ष एउटै पदमा रहेर काम गर्दा पनि मलाई कुनै अप्ठ्यारो भएको छैन। उद्योगी व्यवसायीहरूको संस्था हो। एउटा मजदुरको समस्या बुझ्नुहुन्छ। त्यही भएर यति धेरै वर्ष एउटै संस्थामा काम गरेर बस्न सकेको हुँ।
२० वर्षअघि काम सुरु गर्दा कति पारिश्रमिक पाउनुहुन्थ्यो?
त्यति बेला त महिनाको दुई हजार पाँचसय रुपैयाँ मात्र थियो। संस्थाले एउटा साइकल दिएको थियो। अहिले मोटरसाइकल दिएको छ। सरकारी कार्यालय, संघसंस्था र सदस्यहरूलाई निमन्त्रणापत्र पुर्याउनु मेरो मुख्य काम हो।
रुपन्देही जिल्लामा म नपुगेको संघसंस्था, सरकारी कार्यालय, उद्योग छैन होला।
कहिलेसम्म काम गर्न चाहनुहुन्छ?
उद्योग संघले सबै कर्मचारीका लागि सामाजिक सुरक्षा कार्यक्रम लागु गरेको छ। सामाजिक सुरक्षाका लागि पनि अझै तीनचार वर्ष त काम गर्नैपर्छ। त्यसपछि के हुन्छ, यसै भन्न सक्दिनँ।
परिवारले अब धेरै दौडधुप नगर्नू भन्छन्। दिनभरि काम गरेको बानी छ, घरमा बसेर दिन कटाउनै सकिन्न जस्तो लाग्छ। मलाई अझै केही वर्ष काम छोड्न मन छैन।
परिवारमा कोको हुनुहुन्छ?
म र श्रीमती छौं, तीनजना छोरा छन्। बुबाआमा बितिसक्नुभयो। मेरो एउटा भाइ हो। भाइ र म अलगअलग छौं।
छोराहरूले कत्तिको सुख दिएका छन्?
सुख दिएकै छन्। कान्छो छोरो १२ कक्षामा पढ्दै छ। ठूलो र माइलो छोरो कमाउने भए। उनीहरू तपाईं अब जागिर छोड्नुहोस् भन्छन्।जेठो छोरो स्कुलमा शिक्षक छ। माइलो छोरो पढाइका लागि स्पेनमा छ। ऊ वनविज्ञान (स्नातकोत्तर तहमा) पढ्दै छ। श्रीमती घरधन्दा गर्छिन्। घरपरिवारबाट धेरै खुसी छु।
तपाईंलाई कार्यालयको नियमित कामबाहेक अरू के गर्न मन लाग्छ?
मलाई त फिल्ड (कार्यालयबाहिर) को काम गर्दा धेरै रमाइलो लाग्छ। संघको अधिवेशन, साधारणसभा, औद्योगिक प्रदर्शनी र अन्य वार्षिक कार्यक्रमहरू आउँदा चिठीपत्र छोड्न फिल्डमा हिँड्न पाइने भयो भनेर धेरै खुसी लाग्छ।
त्यसरी हिँड्दा ठाउँ थाहा हुन्छ। धेरै मान्छेसँग चिनजान हुन्छ, भेटघाट हुन्छ, म यसमै रमाउँछु।
शनिबार र अरू बिदाका दिनमा के गर्नुहुन्छ?
बिदाको दिनमा त घरमै टेलिभिजन हेरेर बस्छु। फिल्म हेर्न हलमा जाँदिनँ तर घरमै टेलिभिजनमा दिनभरि फिल्म हेर्छु।
तपाईंलाई बढीजसो खान मन पर्ने के हो?
मलाई सबैभन्दा बढी मन पर्ने साग हो। सिजन अनुसारको जुन साग भए पनि मलाई मन पर्छ। घरमा पनि साग टुट्दैन। भोजभतेरहरूमा कतिपयले माछामासु धेरै खान्छन्, म साग धेरै खान्छु।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
स्वास्थ्य त अहिलेसम्म राम्रै छ। कहिलेकाहीं रुघाखोकी लाग्ने र ज्वरो आउने समस्या सामान्य भइहाल्यो। नियमित औषधि खानुपर्ने कुनै पनि रोग लागेको छैन। मेरो कामना त कहिल्यै रोगी हुन नपरोस् भन्ने छ।
निद्रा कस्तो छ?
निद्रा पनि राम्रो छ। साँझ ९ बजेपछि त झ्याप्पै भइहाल्छु। बिहान तीन बजे नै आँखा खुल्छ। कहिलेकाहीं त त्यसपछि पनि एकडेढ घण्टा निदाउँछु।
तपाईंसँग यति बेला ठिक्क पैसा भए के किन्नुहुन्थ्यो होला?
अहिले त किन्न पाए हुन्थ्यो भन्ने केही पनि छैन। मैले कहिल्यै पनि आफ्नो क्षमताभन्दा बढीको अपेक्षा गरिनँ। मान्छेले जति धेरै चाहना राख्यो त्यति नै असन्तुष्टि बढ्ने हो।
महिनाको जम्मा २५ सय रुपियाँको जागिरले तीन जना छोराको पालनपोषण गर्नुपर्दा पनि सन्तुष्ट नै थिएँ। अहिले त आफ्नै तलब पनि निकै माथि पुगेको छ। छोराहरू कमाउने भएका छन्, केहीको पनि अभाव छैन।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
म त सधैं खुसी छु। बाइस वर्षको उमेरमा बिहे भएको हो, त्यतिबेला पनि खुसी थिएँ। छोराहरू जन्मिँदा पनि खुसी भएँ होला। धेरै पटक खुसी भएँ, त्यसको गणना नै छैन।
सबैभन्दा धेरै दुःखी हुनुभएको घटना सम्झना छ कि?
खुसी जस्तै दुःखी पनि भएको छु, त्यो पनि अनगन्ती नै छ। सबैभन्दा धेरै दुःख लागेको बुबाआमा बित्दा हो। आमा बितेको १६ वर्ष भयो। बुबा पनि सात वर्षअघि बित्नुभयो।
बुबाआमा हुँदा आफूमाथि हात राख्ने कोही छ भन्ने लाग्दो रहेछ। बुबाआमा बितेपछि त आफूमाथि कोही पनि छैन। ममुनि एउटा भाइ हो। बहिनी पनि उमेरमै बितिन्। अहिले म नै परिवारको जेठो सदस्य हुँ।
कुन बेलामा बुबाआमाको अभाव बढी महसुस हुँदो रहेछ?
बुबाआमाको सम्झना नआउने दिन नै हुँदैन होला। हरेक चाडपर्वमा उहाँहरूको अभाव खड्किन्छ। केही महत्त्वपूर्ण निर्णय लिनु पर्दा पनि बुबाआमा सम्झिन्छु।
तपाईंको मनमा गढेर बसेको कुनै पिर पनि छ कि?
ठूलो पिर त केही पनि छैन। बुबाआमा अलि छिटो बित्नुभयो। अझै केही वर्ष बाँच्नुभएको भए हुन्थ्यो भन्ने लाग्छ।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
टोलसमाज राम्रै छ। मैले टोलसमाजलाई केही योगदान गर्न सकेको भए टोलसमाजले पनि मलाई केही दिने हो। आफूले गर्न नसकेको समाजबाट अपेक्षा मात्र गरेर भएन।
तपाईंको टोल समाजको सबैभन्दा राम्रो पक्ष के हो?
एकआपसमा मेलमिलाप गरेर बसेको सबैभन्दा राम्रो लाग्छ। हामी विभिन्न जिल्लाबाट आएर यहाँ बसेका छौं। सबैका आआफ्ना चालचलन, छन्। ती सबैलाई सबैले सम्मान गरेको मन पर्छ।
टोलसमाजको मन नपर्ने पक्ष पनि केही छ कि?
मन नपर्ने केही पनि छैन।
तपाईंलाई देशको राजनीति कस्तो लाग्छ? ठिकसँग चलेको छ?
नेपालको राजनीति त राम्रो चलेको जस्तो लाग्दैन। राजनीति राम्रो चलेको भए त देश राम्रो भइहाल्थ्यो नि! देशमै रोजगारी हुन्थ्यो, सबै नेपाली आफ्नै देशमा हुन्थे।
अहिले हेर्नुस् त, १८ वर्ष पुगेका छोराछोरी एयरपोर्टमा लाइन लागेका छन्। खराब राजनीतिले गर्दा यस्तो भएको हो।
देशमा गणतन्त्र आउँछ, सबै जनतालाई राम्रो हुन्छ भनेर जनआन्दोलनमा मैले २० दिनसम्म बुटवलको ट्राफिकचोकमा बसेर आन्दोलनकारीलाई पानी खुवाएको थिएँ। त्यसरी ल्याएको गणतन्त्रले नेपालीलाई देशमा राख्न सकेन। यस्तो देख्दा त्यतिबेला बेकार आन्दोलनमा हिँडिएछ जस्तो लाग्छ।
तपाईंलाई सबैभन्दा बढी मन पर्ने नेता को हो?
अरू नेताभन्दा केपी ओली मन पर्छ। अहिलेका अरू नेताभन्दा ओली दूरदर्शी छन् जस्तो लाग्छ। ओलीपछि गगन विष्ट, गगन थापा, जनार्दन शर्मा पनि मन पर्ने नेताहरू हुन्।
तपाईंले गएको चुनावमा कसलाई भोट दिनुभयो?
पहिलेदेखि नै सूर्यमा भोट दिँदै आएको हो। त्यसैमा दिएँ।
अब हुने चुनावमा कसलाई भोट दिनुहुन्छ?
चुनाव हुने बेलासम्म कसैले मेरो मन परिवर्तन गर्न सक्यो, मेरो चित्त बुझाउन सक्यो भने फरक कुरा हो नभए भोट त सूर्यमै दिन्छु। बुटवलका लागि एमालेका नेताले राम्रै गरेका छन्।
तपाईंलाई सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले नेपालमा रोजगारीका अवसर सिर्जना गरिदिएर युवाहरूलाई नेपालमै रोक्ने योजना ल्याउनुपर्छ। अरू क्षेत्रमा जति लगानी गरे पनि युवाशक्तिलाई विदेश पलायन गराएर देशको विकास हुँदैन।