(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
धनगढी उपमहानगरपालिका–८ का अमरसिंह जनालासँग उनकै घर नजिकको एउटा किराना पसल अगाडि भेट भयो। उमेरले एक सय वर्ष पुग्नै लागेकी फुपू पनि उनको छेवैमा बसेकी थिइन्। उनी फुपूसँग कुरा गर्दै रहेछन्। मैले अमरसिंहसँग केही कुरा गरौं भनेपछि उनी तयार भए। ७१ वर्षीय अमरसिंहसँगको कुराकानीः
के काम गर्नुहुन्छ तपाईं?
अहिले त केही काम गर्दिनँ, घरमै बस्छु।
तपाईंको विगतको कुरा गरौं न कहाँ जन्मिनुभयो?
म त अछामको मंगलसैनमा जन्मेको। वडा नम्बर ७ पर्छ।
बाल्यकालको के कुरा सम्झिनुहुन्छ?
म तीनको वर्ष हुँदा बुवा बित्नुभयो। बुवाको अनुहार नै सम्झना आउँदैन। मेरा तीन भाइ थिए। एक दिदी थिइन्। मेरी आमा २९ वर्षमै एकल बन्नुभयो। बुवा बितेपछि। खेतीपाती थियो। खानलाउन खासै समस्या भएन। बाल्यकाल, खुट्टामा जुत्ता, लुगाकपडा राम्रै लगाएँ।
कतिसम्म पढ्नुभयो?
स्कुल त धेरै पढिनँ। उ बेलाको चिठ्ठी लेख्नेसम्म भएको थिएँ। कक्षा ४ सम्म इन्डियामा पढेको हुँ। मेरो दाजुले मलाई १४ वर्षको हुँदा त्यहाँ लग्नुभयो। त्यसैले त्यति पढेँ। सानोमा म दुई वर्ष दाजुसँगै बसेँ। १७ वर्षको उमेरमा भाइको बिहे भयो। दाजुको त अगाडि नै भइसकेको थियो। २३ वर्षको उमेरमा मैले पनि बिहे गरेँ। मैले अरूले भन्दा ढिला नै बिहे गरेँ। गाउँमा हाम्रो ठूलै घर थियो, आठ कोठे। गाउँका मान्छे पनि हाम्रो घरमा बस्थे। चार छोरी र दुई छोरा जन्मिए मेरा।
परिवार बालबच्चा कसरी पाल्नुभयो?
धेरै ठूलो काम गरिएन। इन्डियाको एक कम्पनीमा काम गरेँ। त्यो बेला इन्डियामा गोर्खा भनेपछि राम्रो इज्जत गर्थे, काम पनि पाइन्थ्यो। म अलि अलि लेखपढ गर्न जान्ने पनि थिएँ। घरमा खेतीपातीको काम गर्थें। पीडा धेरै हुनेरहेछ घरका मान्छेले छोडेर जाँदा। २०४० सालमा आमा बित्नुभयो। २०४७ सालमा जेठो दाजु बित्नुभयो। २०५५ सालमा कान्छो भाइ बित्यो। जेठो दाजुको छोरा पनि बित्यो। गत वर्ष इन्डियाको कोलामेरू अस्पतालमा मेरी श्रीमतीको मृत्यु भयो। श्रीमतीको उपचारमा दस लाख रूपैयाँ खर्च भयो। न उसको ज्यान जोगियो न पैसा। आठ महिनासम्म उपचार भयो। गत वर्ष फागुनको कुरा हो।
तपाईंको श्रीमतीलाई के भएको थियो?
उनी दमको बिरामी थिइन्। उपचारका लागि इन्डिया लग्यौं। टिबी पनि देखायो। यहीँ सेती अस्पतालमा पनि देखाएको हो। ठिक जस्तो भएको थियो। टिबीको उपचार ५ महिना गरेपछि बितिन्।
मंगलसेनबाट धनगढी कहिले आउनुभयो?
चार वर्ष मात्रै भयो।
धनगढीमा घरजग्गा कसरी बनाउनुभयो?
इन्डियामा काम गरेर जोडेको पैसा थियो। मंगलसैनको पनि केही जग्गा बिक्री भयो। छोराहरू पनि कमाउने भए त्यसैले धनगढी घर बनायौं।
तपाईंको छोराछोरी के काम गर्छन्?
कान्छी छोरी कक्षा १२ मा पढ्छिन्। उनको बिहे हुन बाँकी छ। अरू दुई छोरा र दुई छोरीको बिहे भइसक्यो। छोराहरू भारतमा काम गर्छन्। छोरीहरू बिहे गरेर आफ्नै घरमा छन्।
छोराछोरीले के गरेको भए हुन्थ्यो भन्ने लाग्छ?
सबै आ–आफ्नो काममा छन्। त्यसैमा खुसी छु।
तपाईं जिन्दगीमा सबैभन्दा बढी के कुराले खुसी हुनुभएको छ?
छोराछोरी जन्मिँदा पनि धेरै खुसी भएको थिएँ। श्रीमती आफ्नो साथमा हुँदा धेरै खुसी थिएँ म। श्रीमतीबाट सधैं साथ पाएँ। सानो चिज पनि मलाई नै दिन्थिन्। उसको सम्झना धेरै आउँछ। उसले गरेको माया धेरै सम्झन्छु।
तपाईंलाई जिन्दगीमा सबैभन्दा बढी के कुराले चित्त दुखेको छ?
मेरो चित्त त कहिल्यै दुखेन। कसैलाई नराम्रो पनि गरिएन। श्रीमतीले छोडेर जाँदा मनमा दुःख भने धेरै लागेको थियो।
सबैभन्दा बढी मिठो खाना के लाग्छ?
दही, दुध धेरै मन पर्छ।
मन परेको खान कत्तिको पाइन्छ?
इच्छा भएको बेला खान पाइहाल्छु गाह्रो छैन।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
मेरो ब्लड प्रेसर उच्च छ। औषधि सेवन गर्छु।
औषधि उपचार कसरी गर्नुहुन्छ बिमार भएका बेलामा?
सेती अस्पतालमा जान्छु। औषधि उपचार गर्न गाह्रै छ नि। श्रीमतीको उपचारमा धेरै खटिएँ। अचेल छोराले औषधि किनिदिन्छ।
निद्रा कत्तिको लाग्छ?
दिउँसो न सुतेको बेला राति ११ बजेदेखि बिहान पाँच बजेसम्म सुत्छु। उमेर बढेपछि निन्द्रा कम पर्छ। निन्द्रा पहिला उमेरको जस्तो आउँदैन।
मस्त निद्रा लागेको कुनै दिनको सम्झना छ?
त्यसो त याद छैन।
मनमा के कुराले चिन्ता लागिरहन्छ?
पीडा र चिन्ता अहिले त केही लाग्दैन। अब चिन्ता मानेर के गर्नु। मेरो धेरै चिन्ता मान्ने बानी छैन। जे छ त्यसैमा खुसी हुन्छु।
ठिकठिकै पैसाको तपाईंलाई के किन्न पाएको हुन्थ्यो भन्ने लागिरहेको छ?
उमेर ढल्केपछि केही किन्न मन हुँदैन रहेछ। केही किन्न रहर छैन मलाई त।
परिवारमा मेलमिलाप कत्तिको छ?
परिवारमा कसैले पनि एक अर्कालाई पीडा दिएको छैन। सबै मिलेरै बसेका छौं।
तपाईंलाई के कुरा गर्दा आन्नद लाग्छ?
आन्नद त केही कुराले लाग्दैन। ७१ वर्षको भएँ। उमेर गयो, केही मन लाग्दैन।
शरीर बुढो भएपनि मन बुढो हुँदैन भन्छन् होइन र?
त्यो त हो । शरीर बुढो भएपनि मन त बच्चाकै जस्तो हुन्छ। मेरो फुपु एक सय वर्ष पुग्नै लाग्नुभयो। बच्चाका कुरा अहिले पनि मसँग गर्नुहुन्छ। मनका कुरा त यस्तै छन्।
अब हामी गाउँ, समाजको कुरा गरौ। आफ्नो समाज कस्तो लाग्छ तपाईंलाई?
ठिकै लाग्छ। गाउँ, समाजमा मेरो रिस, डाह गर्ने मान्छे मैले अहिलेसम्म भेटाएको छैन। मैले पनि कसैको रिस गरिनँ यो जिन्दगीमा। पक्ष, विपक्ष भन्ने बिरोध गर्नेको केही लाग्दैन।
नेपालको राजनीति कस्तो लाग्छ?
नेता भ्रष्ट भएपछि राजनीति पनि भ्रष्ट नै हुन्छ नि। यो भ्रष्ट राजनीतिले हाम्रो देश बन्दैन। ठाउँ ठाउँमा विकासका काम अलपत्र छन्। भ्रष्ट छन् सबै नेता।
देशका कोही नेता त मन पर्छ होला नि?
पहिला एमालेलाई भोट दियौं। एमालेका नेता सबै राम्रा लाग्थे। उनीहरूले चुनाव जिते खुसी लाग्थ्यो। अहिले त मन मर्यो नि। सबै नेता उस्तै रहेछन्। मन जितेनन् कसैले पनि। सबै भ्रष्टाचारी भए। आफ्नो पार्टी भनेर पनि केही छैन। पञ्चायती व्यवस्थादेखि गएको चुनावसम्म भोट हालेँ। गएको चुनावमा पनि त्यही एमालेलाई भोट दिइयो। पहिलादेखि दिएको हुनाले। अब त नदिने केही काम गरेनन्। सबै भ्रष्ट नेता छन् कामै नगर्ने।
सरकारले के काम गरेको भए खुसी लाग्थ्यो?
देशमा गरिब जनता, दुखी मान्छेलाई राहत मिल्नुपर्छ। देशका सुकुम्बासी, गरिब पीडितहरूलाई हेर्नुपर्छ। देशको भूमि मिचिएको छ त्यो फिर्ता ल्याउनुपर्यो सरकारले।