(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
मंसिर १० गते बिहान गौलौरा र पढ्ढा गाउँ जोड्ने डबरा खेतमा ६३ वर्षीय खिदलाल चौधरी एक्लै घाँस काटिरहेका थिए। तुलसीपुर उपमहानगरपालिका–१० गोलौरा गाउँमा जन्मे-हुेर्केका चौधरीले गाउँ ठाउँमै देखेको पछिल्लो परिवर्तनबारे हामीसँग कुरा गरेका छन्।
घाँस काट्न आउनुभएको कतिबेर भयो?
एक घन्टा जस्तो भयो होला। अब घाँस लगेर भात खान जाने हो। बिहान बासी (जाँड) मात्रै खाएर आएको थिएँ।
घरमा वस्तु चौपाया कति छन्?
एउटा दुहुनो भैंसी छ, दुई पाडापाडी र एक हल खेत जोत्ने राँगा छन्। गाउँ घरमा हरेकको घरमा कुखुरा, चल्ला त हुन्छन् नै।
भैंसीको दुध घरमै खानुहुन्छ कि बिक्री पनि गर्नुहुन्छ?
बेच्छौं। म आफै बेच्न जान्छु। आजकल दिनहुँ बिहान ७/८ माना बिक्रीका लागि लैजान्छु। गाउँ घरमै खपत हुन्छ। डेरीमा दिँदैनौं। डेरीवाला सस्तोमा खोज्छन्।
परिवारमा को–को हुनुहुन्छ?
म, श्रीमती इन्द्रकुमारी, जेठो छोरा गजेन्द्र, बुहारी, उनीहरूका दुई छोरा एउटै घरमा छौं। कान्छो छोरा नारायण छुट्टीभिन्दै बस्छन्। उनको पनि एक छोरा छन्। क्याम्पस पढ्छन्। जेठाको छोराहरू तुलसीपुर बजारको बोर्डिङ स्कुलमा पढ्छन्। जेठो छोरा नेपाल आर्मी थियो। पेन्सन भइसकेको छ। अहिले तुलसीपुरमै बैंकमा गार्डको काम गरिरहेको छ।
तपाईंको परिवारमा मेलमिलाप कस्तो छ?
हाम्रो परिवार अत्यन्तै मिलेर बसेको छ। सबै खुसी छौं। सबैले सकेको काम गरी एकअर्कालाई सघाउँछौं। श्रीमती, बुहारी, छोरा र नाति सबैले उस्तै माया, सम्मान गर्छन्। त्यतिभए अरू के चाहिन्छ र?
तपाईंको बुहारी, श्रीमती, छोरा, नातिहरू घाँस काट्न आउँदैनन्?
आउँछन्। उनीहरू अहिले भात भान्सा गरिरहेका छन्। सक्ने काम जो फुर्सदमा हुन्छ उसैले गर्ने हो। परिवार भनेकै त्यही हो। घरमा पालेपछि वस्तुभाउलाई पनि माया गर्नुपर्यो। उनीहरूले आफूलाई हेर्दा पनि घाँस मागे जस्तो लाग्छ। त्यो देखेपछि घाँस काट्न जानुपर्छ भन्ने लाग्छ। परिवार भनेकै मिलेर काम गर्ने हो। आफूले सक्ने काम गर्न कसैलाई पर्खिनु हुँदैन।
तपाईंको बिहे कहिले, कसरी भयो?
बिहे गर्दा म ३० वर्ष जतिको थिए हुँला। श्रीमती र मेरो उमेर लगभग उस्तै थियो। तर, नागरिकता बनाउँदा श्रीमतीको उमेर भने म भन्दा निकै घटाएर बनेको रहेछ। मेरो मागी बिहे हो। उतिखेर चौधरी समुदायमा छोरी चेली लिने दिने (साटो) को चलन भए पनि मेरो त्यस्तो भएन। साटो भनेको मैले श्रीमती ल्याउँदा सोही घरमा मेरो दिदी वा बहिनी दिने प्रचलन उखितेर थारू समुदायमा थियो। आज त्यो चलन लगभग हराइसकेको छ। त्यस्तोमा कुनै कारणवश बहिनी वा दिदीको घर बिग्रँदा दाजु भाउजूको बीचको सम्बन्ध पनि भत्कने डर हुन्थ्यो।
तपाईंलाई कुनै स्वास्थ्य समस्या छ कि?
धेरै काम गरेपछि अलिअलि ढाड दुख्छ। बुढ्यौलीले छोयो कि जस्तो लाग्छ। त्योबाहेक कुनै समस्या छैन। सामान्य ज्वरो र रूघाखोकीको कहिलेकाहीँ औषधि खाए हुँला नत्र म ठूलो बिरामी पनि परेको छैन। लामो समय कहिल्यै औषधि खाएको छैन।
रातिमा मज्जाको निद्रा पर्छ?
पर्छ। तर, कहिलेकाहीँ ऋण सम्झेको रात भने निद्रा लाग्दैन। साना किसान समूहमा ऋण छ। झन्डै ७ लाख जति होला। गत जेठ असारतिर घरबाससँग मिलेको १ कठ्ठा जग्गा किन्दा १० लाख जति लागेको थियो। छोराले त्यो ऋण कसरी चुकाउला भन्ने पीर लाग्छ।
तपाईंको जग्गा जमिन कति छ?
घरबाससहित खेतबारी गरी १ बिगाहा जति होला। सबै दर्तावाल हो। कान्छो छोरा छुट्टिएर बसे पनि अंशबण्डा गर्न बाँकी छ। आफै मेहनत गरे खान, लाउन पुग्छ। बुवाबाट पाएको पैतृक सम्पत्ति मैले मासिनँ। बरू ४ कठ्ठा जति थपेको छु। खेती किसानी गरी नखाई नलाई साँचेर जग्गा थपेको हुँ। आफूले दुःख गरेर भए पनि छोरा नातिले सुख पाऊन् भन्ने लाग्दो रहेछ। सबै जग्गा जोड्यो भने १ करोड बढीको जग्गा मात्रै छ।
तपाईं थाहा पाउने हुँदा यो गोलौरा गाउँ र आसपास कस्तो थियो?
म यहीँ जन्मेहुर्केको हुँ। पहिला थारु गाउँ मात्रै थियो। आसपासमा अहिले जस्तो बस्ती थिएन। जम्मै सुनसान थियो। अरू जम्मै खेतबारी मात्रै थियो। जताकतै खेतीपाती मात्रै हुन्थ्यो। यहाँ आसपासका अधिकांश जमिनदारले जग्गा जमिन बेचेर सहर बजार रोजे। अझै पनि थारुहरूले भने आफ्नो जग्गा जमिन बेचेका छैनन्। उनीहरूसँग जति जग्गा जमिन थियो त्यो जोगाएर राखेका छन्। खेती किसानीमा रमाएकै छन्। वास्तविक किसान बाहेक अरूलाई जमिनको माया हुँदो रहेनछ। जमिनदार वा धनीहरूको विश्वास नै हुँदो रहेनछ। उनीहरू आफू जन्मे हुर्केको गाउँ ठाउँ र आफूले बनाएको घर पनि थोरै नाफा पाए बेचेर अन्त जान सक्दा रहेछन्।
गोरौला गाउँ र आसपासमा पहिलेभन्दा आज के परिवर्तन भयो?
आकाश जमिनको परिवर्तन छ। हाम्रो पालामा पानीको पनि ठूलो दुःख थियो। उतिखेर खाने पानी लिन ग्वारखोलामा जान्थ्यौं। गाईवस्तुलाई पानी खुवाउन पढ्ढाको तालमा लैजान्थ्यौं। तर, आज घर घरमा धाराबाट पानी आउँछ। धेरै सजिलो भएको छ।
खेतीपातीमा पनि परिवर्तन भयो कि?
खेतीपातीमा पनि ठूलो परिवर्तन भएको छ। पहिला जसको घरमा हल गोरु हुन्थे, राँगा वा गाई वस्तु हुन्थे त्यो सबैभन्दा धनीमानी कहलिन्थ्यो। जम्मै खेतबारी गोरु र राँगोले जोत्ने हुन्थ्यो। आज त ती जम्मै काम ट्र्याक्टरबाट हुन थालेको छ। अब त गोरु, राँगा पाल्नेहरूलाई दुखारी भन्न थालिएको छ। उतिखेर हामी खेतमा गाईवस्तुको मल मात्रै प्रयोग गर्थ्यौं। हरियो स्याउला आदिको छापो हाल्थेम। आज गोठे मल पाउनै मुस्किल छ। महँगो विकासे मल (रासायनिक मल) मात्रै प्रयोग गर्न थालेका छन्। सजिलोको नाममा कतिपय ठाउँमा मानिस अल्छी मात्रै भएको छैन गल्ती पनि गर्दै गएको जस्तो लाग्छ।
उपकरणको प्रयोगले काम गर्न छिटो र सजिलो पनि भएको होला नि, हैन र?
अवश्य हो। पहिला गाउँका सबैले एकै ठाउँ (खलियानमा) धान राख्थ्यौं। यो मौजाको धान राख्ने खलियान ऊ त्यहाँ माथि थियो। गाउँभरको धान एकै थलोमा थुप्रिएको हुन्थ्यो। अहिले जस्तो चोरीको डर थिएन। हामी बिहान मध्य रातिदेखि धान झाँट्न जुट्थेम। गोरुले धान दाइँ मार्न सुरू गर्थेम। पुस, माघ महिनासम्म दाइँ गरिन्थ्यो। अहिले सबैको खेतखेतमै थ्रेसर (ट्याक्टर) ले एकैछिनमा धान र पराल निकाल्छ। यो सजिलो अवश्य भएको छ। तर, धेरै कुराहरू नास पनि भए जस्तो लाग्छ।
आज पहिले जस्तो सार्वजनिक थलो खलियान कतै बचेन। हामी उतिखेर धानको भुसको आगो (कौडा) हाल्थेम। त्यसको वरिपरि बसेर मकैको लावा भुटेर खान्थेउँ। त्यो पल अब कहाँ पाइ? थारुको आफ्नै कला सीप थिए। दाइँ मार्दा धान चलाउने (फर्काउने) काठको अखिन हुन्थे। धान वा पराल काँधमा बोक्ने विशेष प्रकारको सुइँला हुन्थे। त्यो बाँध्न प्रयोग गरिने आफैले बाटेर रंग लगाएका रंगीविरंगी डोरी हुन्थे। घाँस काटेर राख्ने बाँसको चोयाको गैंजा हुन्थ्यो, पानी पर्दा ओतिने छत्री, माछा मार्ने ख्वाङ्गे, ढरिया, हेल्का, मुसा मार्ने ओद्रा, गुन्द्री, ढकिया बुन्ने जस्ता सीप सबैले जानेका हुन्थे। आजको पुस्तामा त्यस्तो सीप सीमितसँग छ।
तपाईंले थाहा पाउँदासम्म हरेक थारुका घरमा माटाका भाँडा वर्तन मात्रै हुन्थे होला हैन र?
सही भन्नुभो। हरेक थारुले आफै माटाका भाँडा वर्तन बनाउँथे। काठका डाडु पन्यू हुन्थे। हाँडी, भोक्टी, भर्की, आफै बनाउँथे। अन्न राख्ने माटाका डरी हुन्थे। कस्को परिवारमा कस्तो भाँडा चाहिन्थ्यो उनीहरू आफै तयार पार्थे। आगोमा पोल्थे र त्यसैमा खाना पकाउँथे। जाँड राख्थे। आज सजिलो त छ तर मौलिक सीप नास हुँदै गएको छ। त्यस्तै भाँडा बनाउने माटो लिन उरहरीको जस्पुर, हरिपौरा जान्थेम्। घर लिप्ने सेतो चुन जस्तो माटो लिन बबई पारी ढकना जान्थेम्। वन जंगलमा मालुका पात टिप्न जान्थेम्। आज त सबै बजारकै मात्रै चल्छन्। अब त सबैका घर पक्की हुन थाले। पहिला थारुका भित्ते घर हुन्थे। झिंगटीले बेरेका। खरको छानो। छानो छाउने रीति हरायो। गाउँका सबै जम्मा भई एकले अर्कोलाई सघाउँथे। खर गाउँघरमै सस्तै हुन्थ्यो। घर विशेष प्रकारका हुन्थे। पिन्यारा (कोलिया) वारपार हुन्थ्यो। घामको उज्यालो र हावा यताबाट उता सर्लक्कै छिर्ने।
तपाईंले देखेको अरू सामाजिक परिवर्तन के हो?
पहिला जमिनदारले सताउँथे। उनीहरूले बोलाए घरको जस्तो काम भए पनि छोडेर जानैपथ्र्यो। राम्रो भाले मात्रै हैन छोरी चेलीमाथि पनि बलजफती गर्थे। आज त्यो छैन। जति गरे पनि आज आफ्नै काम मात्रै छ। थारुका छोरी चेली कमैया कम्लहर बस्ने दासत्वको प्रथा अन्त्य भएको छ। यो ठूलो उपलब्धि र सामाजिक परिवर्तन हो। आज क्षमता र योग्यता अनुसार सबै समान भएका छन्। थिचोमिचो छैन। आजको व्यवस्था धेरै राम्रो छ।
सांस्कृतिक रूपमा थारुमा आएको विचलन के हो?
एकै प्रकारको भन्दा धेरै थरिका फूलहरू फुलेको आँगन सुहाउँछ। थारु जातिका पनि आफ्नै चालचलन, कला र संस्कृति छन्। हाम्रा पालामा गाउँ घरमा दसैं र माघी भित्रिएको आभास रातिमा थारु गाउँमा बज्ने मादलबाट हुन्थ्यो। अब दसैंको नाच लगभग कम भइसकेको छ। विकटका थारु गाउँमा भने होला। माघीमा महिना दिनसम्म त्यस्तो नाचगान चल्थ्यो। अब त पैसाका लागि ठूला घर (धनी) हेरि नाच्ने गलत अभ्यास हुन थालेको छ। त्यसमा पनि नाच्दानाच्दै नयाँ नाच नाच्छन्। पुरानो थारुको नाच नाच्दा नाच्दै, बीचमै डेक बजाउन थाल्छन्। डिस्को डान्सका नाममा मौलिक कला संस्कृतिमाथि अतिक्रमण बढेको छ। त्यो राम्रो लाग्दैन। दसैंको समयमा थारुले पनि अब सिको गर्दै पहाडीको जस्तो रातो टीका, साडी लगाउन थाले। बिहे पनि पहाडीको शैली अपनाउन थालेका छन्। आफ्नो परम्परा र रीतिरिवाज भुल्नु आफैलाई भुल्नु हो भन्ने कुरा नयाँ पुस्ताले बुझ्नुपर्छ। तर, एउटा कुरा भने राम्रो भएको छ। पहिले जस्तो थारुहरु जाँड रक्सी खाने क्रम निकै कम भएको छ। अबको पुस्ता पढे लेखेका छन्। राज्यका ठूला पदहरूमा पुग्न थालेका छन्।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
आफू राम्रो भए जगतै राम्रो हुन्छ। मेरो गाउँ समाज सहयोगी छ। सुख दुःखमा साथ दिन्छ। हामी त झनै गाउँ घरमा कसैलाई पर्दा आपसमा मिलेर एक अर्काका समस्या समाधान गर्ने जाति हौं। हामीमा बेगारी जाने आउने चलन अझैं छ। कसैले जाँड खाएर होहल्ला गरेको भने मन पर्दैन।
ठिक्कको पैसा भइदिए के गर्थें भन्ने लाग्छ?
जग्गा किन्दा लागेको ऋण तिर्थें र त्यसबाट पनि बचेमा थोरै भए पनि जग्गा थप्थें। छोरा र नातिको भविष्य सजिलो पारिदिने चाहना छ।
राज्यले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
पहिला यस्ता अस्पताल थिएनन्। हामी भन्दा अग्रजले जे सिकाउँथे बिरामी पर्दा झारे, बुटे औषधि खान्थेम। अब त धेरै सजिलो छ। भाग्यमानी हुन् आजको पुस्ता। आज नजिकमा अस्पताल छन्। घर घरमा पानीका धारा, गाउँ घरमा बाटा घाटा पुगेका छन्। मोटरसाइकल, साइकल, अटो भएपनि घर घरमा पुग्छन्। पहिला घोडा हुने बाहेक अरुले आफैं भारी बोक्नै पथ्र्र्यौ। पैदल हिड्नै पथ्र्यौ। यो भन्दा राज्यले अरु कति गरोस्। आजको मान्छेको धैर्यता छैन। के एकै दिनमा चमत्कार संभव हुन्छ र?
तपाईंलाई मन पर्ने खाने कुरा के हो?
सानामा आमाले पकाएको सिमठारोको भातसँग खोलाको माछा खाएको खुब याद आउँछ। हामी माछा मार्न ग्वारखोला, कहिले बबई नदीमा जान्थेम्। रमाइलो हुन्थ्यो। धान काटेपछि बट्टै चरा, मुसा मुसार्थेम्। पहिला जस्तो सिमठारो चामलको भात अब छैन। दिनहुँ जस्तो ब्रोइलरको मासु खाए पनि पहिले जस्तो मिठो लाग्दैन।
तपाईं सबैभन्दा रमाएको दिन याद छ?
बिहे गर्दा, छोरा जन्मिँदा खुसी लाग्दो रहेछ। मेहनत गरी अलिअलि जोगाएको पैसाले थोरै भए पनि जग्गा थप्दा पनि त्यस्तै खुसी भएको थिएँ।
दुःखको क्षण नि?
बुवा चन्द्रलाल म सानो छँदै बित्नु भएको रहेछ। त्यो सम्झनामा छैन। झन्डै दुई दशकअघि आमा सोमतीको मृत्यु हुँदा साह्रै पीडा भएको थियो।
तपाईंलाई हाम्रो देशको को नेता मन पर्छ?
म ठूला नेता कसैलाई चिन्दिनँ। उनीहरूले चिने पो हामीले पनि चिन्ने हुन्छ होला हैन र?
गत निर्वाचनमा भोट हाल्नु भएको थियो?
हालेको हो। नेकपा एमालेलाई।
यतिखेर चुनाव भए कसलाई भोट हाल्थें भन्ने लाग्छ?
चुनाव आएपछि विचार गरौंला। हामी घर सल्लाह गरी भोट हाल्छौं।
तपाईंलाई आजको जमानाको के कुरा मन पर्दैन?
आजको सबै महँगो भो। शिक्षा पनि महँगो भो। दुई खाले शिक्षा। निजी स्कुलमा नातिहरू पढाउँदा हजारौं तिर्नुपर्छ। ड्रेस, किताब, कापी, कलम त्यस्तै महँगा छन्। बोर्डिङमा पढाउने देखासिकी जस्तै भएको छ। बोर्डिङलाई प्रतिष्ठाको विषय बनाउँदै लैजानु गलत भइरहेको छ। गरिबलाई शिक्षा र स्वास्थ्य उपचार निःशुल्क हुनुपर्छ भन्ने लाग्छ।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्