लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
सुगम मानिने जिल्ला दाङको पश्चिमपहाडी क्षेत्रमा मलई नामको एउटा गाउँ छ। बबई गाउँपालिका–७ को यो गाउँ बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ र ‘दाङको ‘कर्णाली’ उपमाले चिनिन्छ। यही गाउँकी बासिन्दा हुन् ५२ वर्षीया लोगी बुढाथोकी। उनी बाटोमा भेटिइन्। मैले उनीसँग सेतोपाटीका लागि संवाद गरेँ। उनले आफ्ना दुःखसुखको कुरा बताइन्।
कता जाँदै हुनुहुन्छ?
स्वास्थ्य शिविर हुन्छ भनेका छन्, त्यतै जान थालेकी।
तपाईंको स्वास्थ्यमा के समस्या छ?
हातखुट्टा दुख्छन्, आँखा पनि कम देख्छु।
शिविर कसले आयोजना गरेको हो?
मलाई थाहा छैन बाबु! गाउँका मान्छेले शिविर चल्दै छ भनेको सुनेर हिँडेकी हुँ।
तपाईंको बिहे कहिले भएको हो?
मेरो जन्मघर लक्ष्मीपुर पहाड हो। म १७ वर्षकी छँदा बिहे भएको थियो। बुवाआमाले दिएका थिए। पहिला श्रीमानबाट एउटी छोरी छन्। मैले अमरबहादुर बुढाथोकीसँग दोस्रो बिहे गरेकी हुँ। उहाँ बितेको पनि ११ वर्ष जति भयो। पेट दुख्ने बेथाले बित्नुभयो।
तपाईंको परिवारमा कति जना हुनुहुन्छ?
मेरा दोस्रो श्रीमानबाट तीन छोरा, तीन छोरी छन्। अहिले मसँग १९ वर्षको कान्छो छोरो (कर्ण) मात्रै छ। ऊ पनि कमाउन इन्डिया आउजाउ गरिरहन्छ। घरमा म एक्लै हुन्छु।
जग्गाजमिन कति छ?
पुर्जावाला जग्गा छैन। हामीले कमाउने गरेको ऐलानी १५ कठ्ठा जति छ। तोरी, गहुँ र मकै फल्ने जग्गा हो। जोगाउन सकिन्छ कि भनेर खेती लगाउँछु तर निकुञ्ज (बाँके राष्ट्रिय निकुञ्ज) का बँदेल र बाँदरले स्वाहा पारिदिन्छन्। यहाँ त मान्छे बाँच्न पनि गाह्रो भइसक्यो।
आफ्नो जग्गाको उत्पादनले कति समय खान पुग्छ?
पहिला त केही महिना पुग्थ्यो। आजकाल जंगली जनावरलाई मात्रै हुन्छ। म एक्लैले पनि किनेर खानुपर्छ। तुलसीपुर बजारबाट चामल किनेर ल्याउँछु।
तपाईं एक्लै छु भन्नुहुन्छ, खेती गर्न कसले सघाउँछ?
अहिलेसम्म छोरीहरूले सघाएका थिए। यस वर्ष छोरीहरू पनि बसाइँ सरे। एउटी छोरीको परिवार कोहलपुरतिर छ। अर्की छोरी पनि उतै गई। खेती लगाएर पनि जोगाउन सकिने होइन, अब बाँझै रहने होला!
छोराहरू कहाँ छन्?
जेठो (नारायण) र माइलो (डिल्ली) दुबै बाहिर (गाउँबाहिर) छन्। एउटा सुनडबरी (दाङ) तिर बस्छ। अर्को विदेशमा छ। उसका परिवार भाडामा तुलसीपुर बजारमा बस्छन्। उसले तुलसीपुरमा घडेरी किनेको छ।
एक्लै भएर नियास्रो लाग्छ होला, कसरी मन बुझाउनुहुन्छ?
मेरा साथी भनेकै बाख्रापाठा हुन्। उनीहरूसँग गफिन मन लाग्छ। रेडियो सुन्छु। त्यही सुनेर खुसी हुने हो। बिजुली बत्ती छैन, टिभी पनि छैन। घरमा सोलार (सौर्य ऊर्जा) छ तर बत्ती कहिले बल्छ, कहिले बल्दैन।
यहाँ मोबाइल फोन पनि लाग्दैन, टावर नै आउँदैन। छोराछोरीसँग कुरा गर्नुपरे डाँडाकाँडा उक्लनुपर्छ। आफू फोन चलाउन पनि जान्दिनँ, अर्कैले मिलाइदिनुपर्छ। डाँडाकाँडा उक्लिँदा बाघले खान्छ कि भनेर डर हुन्छ।
तपाईंलाई छोरा र छोरीमा कसको बढी माया लाग्छ?
मेरा लागि छोराछोरी दुबै आफ्नो मुटुका टुक्रा जस्तै हुन्। सबैको याद आउँछ, सबैको माया लाग्छ तर आमाले गरेको जस्तो माया छोराछोरीले गर्दा रहेनछन्। भेट हुँदा छोरीले बढी माया गर्छन्।
तपाईंलाई सबैभन्दा बढी के खान मनपर्छ?
दुध, दही, घिउ, मोही खान मन लाग्छ नि! एक्लै छु, गाईभैंसी पाल्न सक्दिनँ। अब त निकुञ्ज (राष्ट्रिय निकुञ्ज) लागेपछि यताउता जंगलतिर चराउन लैजान पनि पाइँदैन। मासु पनि खान मन लाग्छ तर जोडा (श्रीमान–श्रीमती) भए जस्तो कहाँ हुँदो रहेछ र! हामी जस्ताले यसो चाडपर्वमा खाने त मासु। बाँच्ने उपाय गर्न बाख्रा पालेकी छु।
राज्यले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
जंगली जनावरले गर्दा यहाँ बस्नै नसकिने भएको छ। निकुञ्ज बनाएपछि जनावरको दुःख बढेको छ। खेतबारीको अन्नपात बँदेल र बाँदरले खाइदिन्छन्। साँझबिहान बाघ बास्छ (कराउँछ)। बाघले कतिबेला खाने हो भन्ने डर छ।
सरकारले हामीलाई यहाँबाट सुरक्षित ठाउँमा सारिदिए हुन्थ्यो।
रातमा निद्रा कस्तो छ?
आँखा अलि कमजोर छन्। हिँड्दा हातखुट्टा दुख्छन्। स्वाँस्वाँ पनि बढ्छ। एक्लै हुँदा छोराछोरीको बढी याद आउँदो रहेछ। मेरो घरको नजिकमा अर्को घर पनि छैन। मलाई पनि छोराहरूले आँफूसँगै लगे हुन्थ्यो भन्ने लाग्छ। नातिनातिना खेलाइबस्थें भन्ने लाग्छ। यस्तै कुरा कल्पिँदा कल्पिँदै राति अबेरसम्म निद्रा लाग्दैन। ढिलो गरी केही बेर निदाउँछु।
यति बेला तपाईंसँग ठिक्कको पैसा हुँदो हो त के गर्नुहुन्थ्यो होला?
पैसा भए त घरबास हुने जग्गा किनेर छोरा भएकै ठाउँ दाङको सुनडबरी जाने थिएँ। न यो ठाउँ बिक्छ, न चटक्कै छोडेर जान सक्छु। पहिला यो ठाउँको माया लाग्थ्यो, आजकाल त माया लाग्न पनि छाड्यो। अब यो ठाउँ सरकारले जनावर पाल्नलाई मात्रै भयो। मान्छे बस्न त डरमर्दो छ। यो ठाउँ छाडेर हिँड्न पाए हुन्थ्यो।
अहिले हाम्रो देशको प्रधानमन्त्री को छ, तपाईंलाई थाहा छ?
थाहा छैन। हामी जस्तालाई प्रधानमन्त्री जो भए पनि के मतलब! हामीलाई साँझबिहानको छाक टार्नै मुस्किल छ। सरकारले हामीलाई यो देशको जनता माने पो हामीले पनि देश र प्रधानमन्त्री चिन्नु!
गएको चुनावमा भोट दिनुभयो?
दिएँ।
कसलाई दिनुभयो?
एमालेलाई।
अब आउने चुनावमा कसलाई भोट दिनुहुन्छ?
त्यो त अहिले थाहा हुँदैन। दिने बेलामा गाउँमा सल्लाह हुन्छ नि!
यो कुराकानीका लागि तपाईंलाई धेरै धन्यवाद!
ल तपाईंलाई पनि धन्यवाद! शिविरमा जान हिँडेकी हुँ, अब जान्छु है!
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्