लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
केही दिनअघि धनगढीको सडक छेउको बेन्चमा बसिरहेका ५५ वर्षीय खेम चन्दसँग भेट भयो। अपराह्नको समय थियो। उनी बेन्चमा शान्त र गम्भीर भएर बसेका थिए। उनीसँग हामीले कुराकानी सुरू गर्यौं।
तपाईंको जन्म कहाँ भयो?
बैतडीको सेरामा जन्म भयो। म सानैमा तराई आएँ। कञ्चनपुरको बेलौरी नगरपालिकामा आएको हो। ७ वर्षको थिएँ त्यो बेला।
बाल्यकालको के कुरा सम्झना छ?
बुवा किसान हुनुहुन्छ। उहाँ बिमारी हुनुहुन्थ्यो। मैले कक्षा १० सम्म पढ्न पाएँ। त्यतिबेला टेस्ट परीक्षा हुन्थ्यो। त्यतिमै मैले पढाइ छोड्नुपर्यो। बुवा बिमारी हुँदा त्योभन्दा माथि पढ्न पाइनँ। मेरो ६ जना भाइबहिनी थिए। तीन दिदी र तीन भाइ। अरूले पनि पढ्न पाएनन्।
बैतडीबाट बेलौरीमा कसरी सर्नुभयो?
बैतडीमा खाना नपुग्ने। अलिकति अप्ठ्यारो भयो। २०३९ सालमा मेरो परिवार बसाइ सरेर बेलौरी आएर जग्गा किनेर बस्न थालेको हो। घरवासको लागि ऐलानी जग्गा किनेका थियौं। ७ वर्षजति अधियाँ खेती पनि गर्यौं।
जिन्दगी चलाउने आधार बेलौरीमा के थियो?
कृषि थियो। अधियाँ खेतीपाती गथ्र्यौं।
तपाईंले के–के काम गर्नुभयो, अहिले के गरिरहनुभएको छ?
खेती किसानी गरेँ। पछि भारतको गुजरातमा गएँ। सेक्युरिटी गार्डको काम गरेँ। झण्डै २५ वर्ष त्यहाँ बसेँ।
यत्रो वर्ष भारत बसेपछि जीवनमा के उपलब्धी भयो?
बच्चाहरू पढाएँ। घरखर्च चलाएँ। तीन बच्चाहरू स्नातक तहसम्म पढेका छन्। अहिले पनि पढिहरेकै छन्।
भारतबाट कहिले फर्किनु भयो?
२०८० सालको वैशाखामा। त्यहाँबाट एक महिनाको बिदा लिएर आएँ। स्वास्थ्यमा समस्या देखिइरहन्थ्यो। नेपाल आएपछि चेक गर्छु भन्ने सोचेको थिएँ। घर आएपछि वैशाख ९ गते धनगढी आएँ। सुरूमा सिपीमा अस्पतालमा चेक गराएँ। त्यहाँ मिर्गौलामा समस्या देखायो। विश्वास नलागेर अर्को ठाउँमा फेरि परीक्षण गरेँ। त्यता पनि उस्तै रिपोर्ट आयो। पछिल्लो पटक कात्तिक १० गते काठमाडौं पनि गएँ उपचारका लागि। टिचिङ अस्पताल गएको थिएँ।
सुरूमा उपचार गर्दा कति खर्च भयो?
सवा दुई २ लाखसम्म खर्च भयो।
अहिले कसरी उपचार गराइरहनुभएको छ?
हप्तामा दुई पटक अनिवार्य डायलासिस गर्नुपर्छ। मासिक ६ हजारको औषधि सेवन गर्नुपर्छ। महिनामा पूरै रिपोर्ट चेक गराउनुपर्छ। त्यसको लागि पाँच हजार खर्च लाग्छ।
मिर्गौला बिमारीका लागि सरकारबाट के सहयोग पाउनुभएको छ?
अहिले आफ्नो नगरपालिकाबाट मिर्गौला बिरामीको कागज बनाएँ। महिनामा पाँच हजार नगरपालिकाले दिन्छ। डायलासिस निःशुल्क हुन्छ। अरू सबै आफूले गर्नुपर्छ। डाइटिङमा धेरै ध्यान दिनुपर्छ। दुध, स्याउ, फलफूलमा खर्च हुन्छ। सबै जोड्दा मासिक बीसदेखि ३० हजार रुपैयाँ खर्च हुन्छ। ८ महिनादेखि उपचारमा छु। डायलासिस निःशुल्क भए पनि अरू सबै खर्च आफैले ब्यहोर्नुपथ्र्यो। अहिले त नगरपालिकाले पाँच हजार दिएको छ।
खर्च कसरी चलेको छ?
जेनतेन सरसापटी मागेर अहिलेसम्म खर्च चलेकै छ। छोराले पनि पठाउँछ कहिलेकाहीँ।
उपचार कुन–कुन ठाउँबाट गरिरहनुभएको छ?
सुदूरपश्चिम डायलासिस सेन्टरमा डायलासिस गरिरहेको छु धनगढीमा। हप्तामा बिहीबार र सोमबार गर्छु। धनगढीमा बिमार भएदेखि यतै छु। कोठाको भाडा चार हजार तिर्नुपर्छ। नत्र आउन जान झन् महँगो पर्ने भएकाले यतै बस्न थालेको हो। छोराछोरी पनि यतै पढ्छन्।
सबै छोराछोरी यतै पढ्छन्?
मेरो दुई छोरा, एक छोरी छन्। एक छोरा भारतमा कमाउन गएको छ। एक छोरा र छोरी कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत छन्।
छोराछोरीले कत्तिको सुख दिएका छन्? उनीहरू के भएको देख्ने चाहना छ?
एकदम राम्रो गरेका छन् छोराछोरीहरूले। हदभन्दा ज्यादा खुसी दिएका छन्। अहिलेसम्म भनेको मान्छन्। अनुशासनमा छन्। छोराछोरीले आफ्नै देशमा जागिर गरून् भन्ने चाहना छ।
परिवारमा मेलमिलाप कत्तिको छ?
राम्रो छ। सबैसँग मेलमिलाप।
तपाईंलाई काम वा मनोरञ्जन के गर्न सबैभन्दा बढी राम्रो लाग्छ?
काम गर्न राम्रो लाग्छ। पहिला भलिबल खेल्न एकदम मनपथ्र्यो। विद्यालयमा पढ्दा २०४९ सालमा विद्यालयबाट वीरेन्द्र सिल्ड प्रतियोगितामा भलिबल पनि खेलेको सम्झना आउँछ। त्यतिबेला खुब राम्रो लाग्थ्यो भलिबल खेल्न।
तपाईं जिन्दगीमा के कारण धेरै खुसी हुनुभएको छ?
भारत काम गर्न गएको थिएँ। त्यहाँ नोकरीमा लाग्दा धेरै खुसी भएको थिएँ। २० वर्ष अघिको कुरा हो त्यो।
खानामा सबैभन्दा बढी के कुरा मनपर्छ?
साधारण दालभात, रोटी मनपर्छ।
ठिक–ठिकै पैसाको के किन्न मन छ?
मन त अब के–के हुन्छ। तर, पैसा छैन। अहिले त आफ्नै औषधि किन्न पनि पैसा छैन।
तपाईंलाई मनमा के कुराले पिरोलिरहेको छ?
अहिले बिरामी नभएको भए म पनि अझै कमाउँथेँ भन्ने लाग्छ। बिमारीले बेला–बेला झस्काउँछ। सकेको भए काम गरेर बच्चाहरूलाई सहयोग गर्थेँ जस्तो लाग्छ।
निद्रा कत्तिको लाग्छ?
राति चार–पाँच घण्टा लाग्छ।
जिन्दगीमा मस्त निदाएको सम्झना के छ?
दिनभरि गेम खेलेको बेला रातभरि निदाएर पनि निद्रा पुग्दैन। आजकाल त चार बजे उठ्छु। मर्निङवाकमा जान्छु। छिट्टै निद्रा खुल्छ। त्यो बेला खुब निद्रा लाग्थ्यो।
तपाईंलाई आफ्नो गाउँ, समाज कस्तो लाग्छ?
समाज ठिकै छ। मान्छेले आफ्नो समाज खोज्छ। समाज भनेको मर्दा, पर्दा चाहिन्छ। अहिले त समाजमा इन्टरनेटको प्रभाव देखिएको छ। नेट, इन्टेरनेटले समाजलाई अन्तैतिर लगेको छ।
तपाईंलाई देशको मनपर्ने नेता को हुन्?
कोही पनि मन पर्दैनन् मलाई। अचेल स्वतन्त्रबाट चुनाव जितेका बालेन शाह, हर्क, गोपी हमाल मन पर्न थालेका छन्।
अरू नेता मन नपर्ने, स्वतन्त्रवाला मन पर्नुको कारण के हो?
अरूले केही काम गरेनन्। खानलाई मात्र आएका हुन्। स्वतन्त्रवालाहरूको कामको शैली एकदम राम्रो छ। तर उनीहरूलाई पनि गर्न दिँदैनन्। रूखमा चढ्दा दश चोटि तान्यो भने थाक्छ नि रूखमा चढ्ने मान्छे। त्यसरी उनीहरूलाई तान्ने कोसिस भएको छ।
देशको राजनीति कस्तो लाग्छ?
खतम, डामाडोल छ। हाम्रो प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री अर्को देशमा घुम्न जान्छन्। त्यहाँ घुम्न खान मात्र होइन जाने, त्यहाँको विकास हेरेर आफ्नो ठाउँमा पनि विकास गर्नुपथ्र्यो। त्यो गरेनन्। उद्योग खोल्न सकेनन्। एक साइकल बनाउन कम्पनी समेत हाम्रो देशमा छैन। उत्पादनको क्षेत्रमा शून्य छौं।
जिन्दगीमा कति पटक भोट हाल्नुभयो?
दुई पटक हालेँ। एकचोटि गाउँ पञ्चायतको। अर्को २०७४ सालमा।
कसलाई भोट दिनुभयो?
त्यो त याद नै छैन।
आगामी चुनावमा कसलाई भोट दिनुहुन्छ?
पढेलेखेको, सक्षम छवि भएको मान्छेलाई भोट दिने। पार्टी हेरिँदैन।
सरकारले के काम गर्नुपर्छ, सुझाव के छ तपाईंको?
सरकारले विकासमा ध्यान दिनुपर्छ। भएका कलाकारखाना सञ्चालन गर्नुपर्छ। नयाँ कलकारखाना पनि खोल्नुपर्छ। सानै भए पनि उद्योगहरू खोलेर उत्पादन बढाउनुपर्छ।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्