लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
दाङ तुलसीपुरको हाल भत्काइएको तल्लो सिनेमा हल नजिकै ‘फिट एन्ड फाइन टेलर्स’मा मेसिनअगाडि बसेकी थिइन् ३७ वर्षीया मीना वली (बिन्दु)। तिहार बिदापछि पहिलो दिन उनले पसल खोलेकी थिइन्। बिहान हामी पुग्दा पसलमा उनी एक्लै थिइन्। सुरूमा अप्ठ्यारो मानेकी उनी केहीबेरमा हामीसँग कुरा गर्न राजी भइन्।
उनैसँग गरिएको कुराकानी :
यो पसल तपाईंकै हो?
मेरै हो। दुई वर्ष भयो यहाँ पसल खोलेको। मैले सिलाइकटाइको काम सिकेर यो सिलाउने काम गर्न थालेको त २० वर्ष भइसक्यो। आज तिहारपछि पहिलो दिन खोलेकी हुँ। एक्लै काम गर्न मन नै लागेको छैन।
तपाईं के–के सिलाउनु हुन्छ?
पछिल्लो समय हामी लेडिज कपडामै बढी केन्द्रित छौं। तर, मैले सिलाउन नजान्ने केही पनि छैन जस्तो लाग्छ। म सर्ट पाइन्ट पनि सिलाउँछु। डिजाइन लिएर आए जस्तो पनि कपडा सिलाउन सक्छु।
तपाईंले कहाँ र कसरी कटाइ, सिलाइ सिक्नु भएको थियो?
भनौं भने मेरो कथा व्यथा कुनै चलचित्रको भन्दा कम छैन। भारत चण्डीगढको ४५ सेक्टरमा मैले कटाइ, सिलाइ तीन महिना सिकेकी हुँ। जतिखेर जेठो छोरा दीपक डाँगी दुई महिनाको मात्रै थियो। मैले पिठ्युँमा छोरा बोकेर सीप सिकेको देख्दा त्यहाँका जम्मै दंग पर्थे।
मान्छेले भोगेपछि धेरै कुरा समझमा आउँदो रहेछ। बुढोसँग पैसा माग्दा दिँदै नदिने। तरकारी किन्ने पैसा माग्दा पनि मुस्किलले अड्कलेर मात्रै दिने। म त पूरै उनकै निर्भर थिएँ। अब मैले केही गर्नै पर्छ भन्ने अठोट गरें। स्वतन्त्र र स्वावलम्बी भई बाँच्न केही गर्नै पर्छ भन्ने सोच बन्यो। मेरो लागि कटाइ, सिलाइ उपयुक्त हुन्छ भन्ने लाग्यो र यही सिकें। सिक्न मासिक भारु दुई सय शुल्क लाग्थ्यो। मैले तरकारी किन्दा श्रीमानलाई ढाँटेर दिनहुँ १/२ रुपैयाँको सिक्का जम्मा गर्थें। त्यसैले सिकेँ।
तपाईं कसरी भारत पुग्नु भयो?
म रोल्पाकी हुँ। बुढागाउँ, रातामाटामा कक्षा ६ मा पढ्दापढ्दै १४ वर्षकै छँदा मैले प्रेम विवाह गरेँ। बुढा ८ कक्षा पढ्थे। उनी १८ वर्षका हुँदा हुन्। बिहेपछि दुवैको पढाइ छुट्यो। २०६२ सालमा बुढा कमाउन (कालापहाड) इन्डिया गए। उनी चौकीदारी गर्थे। १ वर्षपछि म पनि इन्डिया पुगेँ। अल्लारे उमेरमै प्रेम पर्नु र बिहे गर्नु गलत थियो। मैले धेरै दुःख र अभाव झेल्नु पर्यो। त्यसैले आफैले केही नगरी हुँदैन भन्ने सोचेर कटाइ, सिलाइ सिकेकी हुँ।
व्यावसायिक रूपमा कहिलेदेखि काम सुरू गर्नुभयो नि?
मैले इन्डियामा तीन महिना मात्रै तालिम लिएकी थिएँ। थप लिने इच्छा भए पनि पैसा नै थिएन। अरू पनि सिक्छु भन्दा बुढाले तँ जस्तीले केही गर्न सक्दिनस् मात्रै भन्थे। इन्डियामै बस्ने एक जना अंकलले मेरो मेहनत देखेर लौ सिक भनेर सित्तैमा आफ्नो हाते मेसिन (कल) दिनुभयो। म रातभर पत्रिका काट्दै र पुराना कपडा सिलाउन बस्थेँ। सुरूमा त्यहीँ बस्ने आफन्तका बालबालिकाका कपडा सिलाउँदै गएँ। त्यसपछि घर, आफन्तका ब्लाउज, पेटीकोट लगायतका कपडा सिलाउँदै दिन्थेँ। कान्छो छोरा तिलक पेटमा थियो। त्यसैले दुई वर्षपछि बुढासँगको सल्लाहले म दाङको मानपुरस्थित घर आएँ। घर त फर्किएँ तर पैसा नै थिएन। दुई नाबालक छोरा थिए। त्यतिखेरैबाट मैले बिजौरीको ‘काठमाडौं टेलर्स’ बाट व्यावसायिक रूपमा काम सुरू गरेकी हुँ। अहिले २० वर्ष जति भो।
पहिलो पटक आफैले तलब थापेको याद छ?
मैले आफैले सिलाए वापत पहिलो पटक महिनामा १५ हजार बढी पाएकी थिएँ। त्यो दिन म निकै खुसी भएकी थिएँ। त्यो दिन मेरो आत्मविश्वास बढेको थियो। त्यो मेरो हौसलाको जित थियो। मैले त्यस दिन बिजौरी बजारमा १० रुपैयाँको दालमोट किनेर एक्लै खाएकी थिएँ। मैले काम गर्ने टेलर्स अति नै चल्थ्यो। बिस्तारै मैले पाउने तलब बढ्दै गएको थियो। केही वर्ष मैले त्यसैमा काम गरेँ। त्यो पसलपछि आफैले किनेकी हुँ।
तपाईंको परिवारमा को–को हुनुहुन्छ?
अहिले म कान्छो छोरा तिलकसँगै तुलसीपुर बजारमा कोठा भाडामा बस्छु। ऊ गोरखा माविमा कक्षा ११ मा पढ्छ। जेठो छोरा दीपक गत साउनमा अमेरिका गयो। स्टुडेन्ट भिसामा। छोरो पठाउँदा २४ लाख जति ऋण लागेको छ। माइतीले सहयोग गरेका हुन्।
बिजौरी छोडेर कहाँ जानु भाथ्यो?
२०७४ साउन ३१ गते हाम्रो सम्बन्ध विच्छेद भयो। बिजौरीमा मेरो पसल अति नै राम्रो चलेको थियो। तर, त्यो पसल घर नजिकै थियो। सम्बन्ध विच्छेदपछि उसले पनि पारपाचुके गरेकी एक महिलालाई भित्र्यायो। उनीहरू त्यही बाटो हिँडिरहन्थे। अनि मलाई त्यहाँ थप बसिरहन मन लागेन। पसल बेचिदिएँ। श्रीमानसँग छुट्टिएपछि पाएको जमिनको केही भाग बेचेर मैले केही माथि बिजौरीमा किनेकी थिए। उनीहरूसँग सधैँ देखिने गरी नजिक बस्न मन नै लागेन।
पसल बेचेको पैसाले के गर्नुभो?
त्यतिखेर खुबै विदेशको लहर थियो। अमेरिकाको सपना थियो। जेठो छोरा ५ कक्षामा र कान्छो ३ मा पढ्थे। उनीहरू बोर्डिङ स्कुलमा थिए। दुवैलाई होस्टल राखेर म त्यो बीचमा काठमाडौं आउजाउ गरिरहेँ। काठमाडौंको जडीबुटीमा टेलर पनि किनेकी थिएँ। तर, दलालले तिम्रो भिसा आइहाल्यो भनेपछि १५ दिनमै त्यो बेचेकी थिएँ। अमेरिकाको सपनाले खानु हण्डर खाइयो। ४ वर्ष खेर गयो। ३० लाख स्वाहा। त्यो ऋण चुक्ता गर्न १५ लाखको एउटा घडेरी बेच्नुपर्यो। त्यो बीचमा छोराहरूका लागि म दाङ आउजाउ भने गरिरहन्थेँ।
अनि कहाँ काम गर्नुभो?
अब मैले सबै माया मारेर छोराहरू पढाउनु पर्छ र उनीहरूको भविष्य बनाउनु पर्छ भन्ने सम्झिएँ। तुलसीपुरमा कोठाभाडा लिएँ। फेरि तुलसीपुरमा अरूको पसलमा काम गर्न थालेँ। रातदिन मेहनत गरेँ। गार्मेन्टमा पनि काम गरेँ। सर्ट, पाइन्ट, ट्राउजरदेखि सबै सिलाएँ। केही पैसा जम्मा भएपछि फेरि दुई वर्ष अघिदेखि यो आफ्नै पसल खोलेकी हुँ।
तपाईंलाई समाज कस्तो लाग्छ?
यो सहर बजारको समाज जोसँग पैसा छ, उसलाई मात्रै कदर गर्छ। साथ पनि उसैलाई दिन्छ। महिलालाई झनै मुस्किल छ। कोही पुरुष मान्छे, आफन्तसँग हिँड्दा, चिया पिउँदा पनि आशंका गर्छ। तर, आफू मनैदेखि बलियो र कर्म पनि राम्रो गर्नुपर्दो रहेछ। कसैसँग मतलब नराखेर अगाडि बढ्नुपर्दो रहेछ।
जीवन के रहेछ भन्ने लाग्छ?
संघर्ष नै जीवन रहेछ। रोई बस्ने होइन संकल्पसहित जो अगाडि बढ्छ, उसले सफलता प्राप्त गर्छ। मैले यहाँसम्म आइपुग्दा ठूलो संघर्ष गरेकी छु। म एक पटक निकै हतास मनस्थितिमा पुगेकी थिएँ। दुई पटक आत्महत्याको प्रयास समेत गरेकी थिएँ। छोराको मायाले लगाएको पासो पनि निकालेकी थिएँ। खासमा अमेरिकी सपना तुहिएपछि। बच्चाको स्कुल फि तिर्नेसम्म पैसा थिएन। दुई नाबालकसँग म एक्ली आमा थिएँ। आफ्नै घर थिएन। कसैको भर थिएन। आफैले राेजेको मान्छेसँग आफैले निवेदन दिई सम्बन्ध विच्छेद गरिसकेकी थिएँ। त्यो पनि आफन्त र माइती पक्ष कसैलाई नसोधी गरेको निर्णय थियो। आफन्त सबैले गाली गरिरहेका हुन्थे।
जोडिएका सम्बन्धहरू किन भत्किँदा रहेछन्?
असमझदारी र आशंका नै प्रमुख कारण हुन् भन्ने मलाई लाग्छ। हेलाहाँसो गर्नु, वचन लाउनु, अरूसँग तुलना गर्नु नै कारण हुन् जस्ताे लाग्छ। तँ भन्दा राम्री त्यो छ भन्दा मन फाट्छ। मान्छे कस्तो भन्ने कुरा भोगेपछि, झेलेपछि बल्ल थाहा हुँदो रहेछ। त्यस्तोमा झगडा गरी बस्नुभन्दा त बरू छुट्टिनु नै उचित हो।
अहिले तपाईंको पसल कस्तो चलेको छ?
निकै राम्रो चलेको छ। म अहिले पनि रातदिन मेहनत गर्छु। मेरो मेहनत देखेर सबै दंग पर्छन्। मसहित ६ जना बहिनी कालीगढ छन्। उनीहरू पनि मासिक राम्रै कमाउँछन्। मेरो त हाराहारी महिनाको लाखसम्म कमाइ हुन्छ। सीप ठूलो कुरा रहेछ। पेन्सन हुँदैन र मात्रै हाे, नत्र भने कुनै सरकारी कर्मचारीको हाकिमको भन्दा बढी म कमाउँछु। कति दिदीबहिनी साना साना कुरामा रून खोज्छन्, आत्तिन्छन्। म उनीहरुलाई हौसला दिइरहन्छु।
तपाईंको मनमा गढेर बसेको कुरा के छ?
मैले ६ कक्षा पढ्दापढ्दै १४ वर्षको अल्लारे उमेरमै बिहे गर्नु भुल थियो। बिहेपछि घरगृहस्थीमा फसियो। पढ्न पाइनँ। थप पढ्न पाएको भए हुन्थ्यो भन्ने मनमा छ।
ठिक्कको पैसा हुन्थ्यो भने के गर्नु हुन्थ्यो?
म छोरा अमेरिका पठाउँदा लागेको ऋण तिर्थें। यही पसलमै लगानी गर्थें। मेसिन थप्थें। म बुटिकको काम पनि गर्थें। मलाई बुटिकको सबै आउँछ। डिजाइन लिएर कोही आओस् जस्तो भन्यो त्यस्तै कपडा सिलाउन सक्छु।
छोराले जानुभन्दा पहिलै एउटा स्कुटर किन्देको छ। त्यसैमा हिँड्छु। गाडी–बंगला किन्ने चाहना तत्काल छैन।
कहिलेसम्म सिलाइ रहन्छु भन्ने लाग्छ?
हातखुट्टा चल्दासम्म सिलाइरहन्छ। कतिपयले भन्छन्–छोरा अमेरिका गइसक्यो, अब त काम छोड्नु हुन्छ होला है।
जेठो छोराले पनि 'अब दुःख नगर्नु मम्मी म छु' भन्छ। तर, म मेरो लागि भए पनि शरीरले सक्दासम्म गर्छु भनेर जबाफ दिन्छु। काम नगरी त्यसै खान लाज मान्नुपर्छ। मेरो दुःख सुख बिसाउने माध्यम नै यही काम हो।
रातिमा गजबको निद्रा लाग्छ ?
मज्जाको निद्रा लाग्छ। कुनै तनाव लिँदिनँ। कहिलेकाहीँ छोराहरूको भविष्य सम्झिँदा चिन्ता लाग्छ। उनीहरूको बा–आमा जे भने पनि म मात्रै त हुँ। कान्छो छोरालाई पनि राम्रो बाटोमा लगाउन पाए हुन्थ्यो भन्ने लाग्छ। उस्ले पढ्दै छ।
छोराहरूबाट खुसी हुनुहन्छ?
मेरा छोराहरू निकै ज्ञानी छन्। म बिहानै पसल खोल्न आइहाल्छु। राति पनि अबेर हुन्छ। खाना पकाउने, लुगा धुने सबै छोराहरूले गर्थे। कान्छोले पनि सबै गर्छ। ममीलाई गाह्रो होला भनेर कहिलेकाहीँ त मेरो कपडा पनि धोइदिएको हुन्छ।
तपाईंलाई मन पर्ने खाना के हो ?
म त चियाको पारखी छु। बिहान उठेदेखि म चिया खान्छु। मीठो चिया खान पाए पुग्यो। अरू हैन दुधको मात्रै खान्छु। त्यो पनि कडा। कालो चिया त कहिल्यै खाएकी छैन। म पहाडकी छोरी। पहाडी खानेकुरा मन पर्छ। तर, खाने कुरा जे जस्तो भए पनि म खान्छु। यो खाँदिनँ भन्ने छैन। भोजन भन्दा भोक मीठो लाग्छ।
एक्लै हुँदा के गर्न मन पर्छ ?
मसँग अन्य खासै कला वा क्षमता छैन। फुर्सद पनि हुँदैन। अरू खासै रुचि पनि छैनन्। मोबाइलमा मन परेको गीत–संगीत लगाउने अनि खुरूखुरू काम गर्दै बस्ने मेरो बानी छ।
राज्यले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
राज्यले त कर असुल्न मात्रै ध्यान दिए जस्तो लाग्छ। यो नाम मात्रैको उपमहानगरपालिका जस्तो लाग्छ। आममान्छेका लागि सहज उपचार, समान सुविधा, चिटिक्क परेका र सहज बाटाहरू खै? हामी जस्ताका लागि सहज रूपमा ऋण उपलब्ध गराउने व्यवस्था हुनुपर्थ्यो। तीन महिना भयो मलाई बैंकले झुलाइरहेको छ। कहिले के पुगेन भन्छन्, कहिले आयस्रोत पुगेन भन्छन्। पसलमा अझै लगानी गर्ने र धेरै महिला दिदी बहिनीलाई रोजगारी दिने चाहना छ।
आफन्तहरू आज तपाईंलाई के भन्छन्?
आज सबैले प्रशंसा गर्छन्। हिम्मतवाली भन्छन्। मलाई लाग्छ जसले रुचिअनुसारको काममा मेहनत गर्छ, संघर्ष गर्छ, सहन्छ। सफलता उसैले प्राप्त गर्छ। कोहीकोही त आज मेरो सफलता देखेर डाहा गर्नेहरू पनि छन्। हिजो मलाई के गर्छे र यसले भन्नेहरूले आज सहयोगका लागि फोन गरिरहेका हुन्छन्। त्यसैमा खुसी लाग्छ।
यसको मतलब तपाईंको पूर्वश्रीमानसँग कुरा हुन्छ?
हुन्छ। कहिलेकाहीँ। म आफै फोन गरेर जिस्काइदिन्छु नि! कुरा मिलेन अलग भएको हो। किन रिसराग गर्नु! छोराहरूलाई पनि बुवालाई भेट्न जाऊ भनेर पठाइदिन्छु। कान्छीतिरको छोरा ६ वर्ष जतिको छ। मेरो कान्छो छोरा तिलक बुवालाई भेट्न गएको बेला ऊ पनि आएको थियो। हामीसँगै हप्ता दिन जति बसेर गएको हो।
उसले भित्र्याएकीले पनि भेट्दा दिदी नमस्ते भन्छे। उसको के दोष छ र! ऊ पनि महिला हो। उसले ल्याएपछि आई, के बिराई!
तपाईं पूर्वश्रीमानलाई के भनेर जिस्काउनु हुन्छ नि?
सटायर हान्दिन्छु। अहिले कान्छी विदेश छ। ऊ छोरा हेरेर बसेको छ। फोन गरेर भेटम् भन्छ। मैले मान्दिनँ। अब हामी एकै धुरिमुनि बस्न सम्भव छैन भनिदिन्छु। न त मेरो अर्को बिहे गर्ने नै चाहना नै छ। एक पटक पाउनु दुःख पाइसकेपछि फेरि किन अर्को खोज्ने! तर के सत्य हो भने मैले आफैले नभेटे पनि उसलाई दुःख अप्ठ्यारो पर्यो भने अवश्य आर्थिक सहायता गर्नेछु। मैले उसलाई त्यो कुरा भनेकी पनि छु। इन्डियामा सीप सिक्दा आफ्नो हातेमेसिन सिक्नका लागि सित्तैमा दिने अंकल र एक जना अंकलको छोरा लोकराज वली जसले मलाई सधैं हौसला दिए; म अप्ठ्यारोमा हुँदा विदेशबाट छोराको फी तिर्ने पैसा पठाइदिन्थे। उनले जहिल्यै म छु दिदी भनेर ढाडस दिइरहन्थे। उनलाई पनि कुनै दिन सहयोग गर्ने ठूलो चाहना छ।
तपाईंलाई मन पर्ने नेता को हो?
अहिले त काठमाडौंका मेयर बालेन शाह मन पर्छ। पहिला रवि लामिछाने पनि राम्रो लाग्थ्यो। खास गरी उनले टिभीमा काम गर्दा विदेशमा अलपत्र परेका चेलीको उद्धार गरेको हुँदा राम्रो लाग्थ्यो। तर, उनी एकपछि अर्को विवादै विवादमा फसेको देख्दा सोचेजस्ता रहेनछन् भन्ने लाग्यो।
गत निर्वाचनमा भोट हाल्नु भाथ्यो?
हालेकी थिएँ। नेकपा (एमाले) लाई। रोल्पाबाट बसाइँसराइ गरी तुलसीपुर–१८ मा ल्याइसकेकी छु। भोट पनि यहीँ हालेकी थिएँ। वडामा माधव वली उठेका थिए। माइती परेपछि दिनै पर्यो, हैन त?
यति खेर चुनाव भए कस्लाई भोट हाल्नु हुन्थ्यो?
उम्मेदवार हेर्छु। सकभर युवा होस्।
कुराकानीका लागि धन्यवाद!
धन्यवाद। एउटा कुरा भनौं है। मैले सम्बन्ध सकिएपछि पतिको नाम थर रहेको नागरिकता बदलेँ नि। माइतीकै थर लेखाएँ। बिन्दु वली। ऊसँग सम्बन्ध छैन भने उस्को थर किन झुन्ड्याइराख्ने हैन त? म आज एकदमै स्वतन्त्र र खुसी छु। म एकदमै मिहिनेत गर्छु। अरू कुरा सोच्ने मलाई फुर्सद नै छैन।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्