लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
पूर्व-पश्चिम राजमार्गको इटहरीस्थित कान्छी चोकबाट सात किलोमिटर उत्तर लागेपछि आइपुग्छ, कालाबन्जर चोक। सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ मा पर्ने यो सानो बजारबाट सात किलोमिटर उत्तरमा पूर्वको चर्चित धार्मिकस्थल चतराधाम छ। चतराधाम जाने बाटैमा पर्ने कालाबन्जर चोकको एउटा चिया पसलमा भेटिएका थिए रत्नबहादुर बस्नेत।
८० वर्षका बस्नेत लौरो टेक्दै घरबाट चिया पिउनकै लागि चोक आइपुगेका रहेछन्। उनै बस्नेतसँग हामीले उनका सुख-दुःखबारे कुराकानी गरेका छौं।
तपाईंको घर कता पर्छ?
यही ५ नम्बर (बराहक्षेत्र) मा हो। यही चोकबाट अलिकति मास्तिर।
चोकमा आइरहनुहुन्छ?
चिया खान आइरहन्छु।
घरमा खाँदा र चोकमा चिया खाँदा के फरक हुनेरहेछ?
यहाँ अनेक मान्छे हुन्छन्। गफ सुन्दै चिया खान मज्जा आउँछ। घरमा एक्लै भइन्छ।
परिवारमा को–को हुनुहुन्छ?
हामी बुढाबुढी, छोरी, ज्वाइँ र नातिनातिना छन्।
अहिले त ८० वर्षको हुनुभएछ। उमेरमा के काम गर्नुहुन्थ्यो?
म त त्यस्तै बनीबुतो गर्थें। अहिले त बुढो भइयो। अहिले केही गर्न सकिन्न। मलाई छोरीले पालेकी छ। ज्वाइँ बाहिर (विदेश) हुनुहन्छ। मेरी श्रीमती ५६ वर्षकी भइन्।
तपाईंको र श्रीमतीबीचको उमेर अन्तर त धेरै रहेछ हैन?
हो, अहिलेकी श्रीमती मेरो दोस्रो श्रीमती हो। पहिलाकी श्रीमती खसिसकिन्।
ए उहाँ बित्नुभएपछि दोस्रो बिहे गर्नुभएको हो?
होइन। मैले दोस्रो बिहे गरेको धेरैपछि उनी खसेकी हुन्। पहिलेतिर सन्तान नभएपछि उनकोसमेत सल्लाहमै मैले दोस्रो बिहे गरेको हुँ।
भनेपछि सुख दुःख कस्तो छ त?
सुख दुःख ठिकै छ। साह्रै दुःख नि छैन, साह्रै सुख नि छैन। चल्दैछ। यस्तै हो।
रमाइलो गर्नुपर्यो भने के गर्नुहुन्छ?
रमाइलो के गर्नु र बुढो भइयो। जति रमाइलो गरियो, उतिखेरै उमेर हुँदै गरियो। अहिले अब हामीलाई टाइममा खान, सुत्न पाए त्यही रमाइलो हो।
सबैभन्दा धेरै मनपर्ने खानेकुरा के हो?
म जे पनि खान्छु। गुलियो, दालभात, रोटी भए भइहाल्यो। माछामासु खान्छु। दही पनि किनेर खान्छु।
ठिकठिकै दाम पर्ने के कुरा किनौं–किनौं जस्तो लागेको छ?
मलाई केही किनौं जस्तो लाग्दैन। काम केही गर्न सकिन्न, सामान किनेर मात्रै के गर्नु!
गीत सुन्ने, सिनेमा हेर्ने गर्नुहुन्छ?
म हेर्दिनँ। दुई वर्ष भयो टिभी बिग्रेको छ।
अनि समाचार हेर्न, पढ्न, सुन्न मन लाग्दैन?
लाग्दैन। त्यही केटाकेटीले मोबाइल चलाउँछन्। जहानैपिच्छे मोबाइल छन्। त्यसैमा कहिलेकाहीँ केटाकेटीले के-के देखाउँछन्। अहिले त मोबाइल भएपछि रेडिओ टिभीको मतलब नै नहुने रहेछ।
जीवनमा सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो, सम्झना छ?
खै हौ, म खुसी कहिले भएँ भन्ने पनि बिर्सेँ। छोरी जन्मेको बेला खुसी भएको थिएँ होला।
अनि सबैभन्दा दुःखी भएको क्षण?
पहिला धेरै दुःख थियो। दिनभरी अर्काकोमा काम गर्दा साँझमा मुश्किलले दुई रूपैयाँ दिन्थे। अहिले जस्तो पैसो थिएन। त्यहीबेला धेरै दुःख लागेको थियो।
तपाईंलाई केही रोग छ?
अहिलेसम्म केही रोग छैन।
भनेपछि नियमित कुनै औषधि खानुपर्ने बाध्यता छैन?
छैन, छैन। त्यही हो ज्वरो आयो भने दबाइ खान्छु। अरू केही खानुपरेको छैन।
राति निन्द्रा कस्तो लाग्छ?
निन्द्रा मज्जाले लाग्छ।
यो उमेरमा यति फुर्तिलो र स्वस्थ रहन कसरी सम्भव भयो भन्दिनुहुन्छ?
म घरमा पाक्ने कुराहरू मात्रै खान्छु। हिँडडुल गरिरहन्छु। चिया बाहेक हम्मेसी बाहिरका खानेकुरा खान्न। यही त होला। पहिला धेरै काम गरेकाले पनि शरीरलाई राम्रो भएछ जस्तो लाग्छ।
तपाईंलाई आफ्नो छरछिमेक र समाज कस्तो लाग्छ?
समाज ठीक छ।
समाजको के कुरा मनपर्छ?
सबै जना सहयोगी छन्। परेका बेला सहयोग गर्छन्। यही कुरा मनपर्छ।
राजनीतिमा रूचि छ कि छैन?
राजनीतिमा पटक्कै रूचि छैन।
किन रूचि नभएको?
खै, मनैपर्दैन। गफै ठूला मात्रै हुन्छ। के मन पर्नु र!
देशका कोही नेता चिन्नुहुन्छ?
म नेता कोही चिन्दिनँ।
कोही मन पर्ने नेता?
कोही मन पर्दैन।
भोट हाल्नुभएको छ कि छैन?
भोट त हालेँ।
कसलाई हाल्नुभएको थियो भन्न मिल्छ?
मैले भोट हालेकोले हारिहाल्यो के भन्नु र!
फेरि भोट हुँदा पहिले हालेकैलाई दिने कि मन फेर्ने?
फेरि भोट भयो भने के हुन्छ, त्यो समय माहोलमा के हुन्छ हेरौं।
सरकारले के गरिदेओस् जस्तो लाग्छ?
सरकारले केही गर्नु पर्दैन। आफ्नो सम्पत्ति छैन। सम्पत्ति नहुनेलाई सरकारले गरेर के, नगरेर के।
तैपनि यहाँ तपाईंको घर होला, जग्गा होला। परिवार छ। केही आशा अपेक्षा छैन त?
म त ऐलानी जमिनमा बसेको छु। केही गरोस्, नगरोस् मतलब नै छैन। त्यही जमिनको धनीपूर्जा दिए हुन्थ्यो भन्ने त लाग्छ। तर, दिन्छु भन्न छाड्दैनन्, दिँदा पनि दिँदैनन्। अनि के गरोस् भन्ने आशा गर्नु।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्