लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सीमानामा पर्ने मगरघाट पुल तर्नेबित्तिकै पुगिन्छ बुटवल उपमहानगर वडा नम्बर १७, रानीगञ्ज। सुकुम्बासी बस्तीले भरिएको रानीगञ्ज मोतिपुर औद्योगिक क्षेत्रसँगै जोडिएको छ।
औद्योगिक क्षेत्रका लागि जग्गा नापजाँच गर्दा बाक्लो बस्तीलाई समेत औद्योगिक क्षेत्रभित्र पारिएको भन्दै यहाँका बासिन्दा विरोधमा उत्रिएका थिए। यहीँ बस्छिन्- ६३ वर्षीया सुमित्रा मिदुन। उनी यहाँ बसेको २० वर्षभन्दा धेरै भयो।
केही दिनअघि साँझपख सुमित्रासँग उनकै घरमा भेट भएको थियो।
उनैसँग गरिएको कुराकानी :
सन्चै हुनुहुन्छ?
अहिलेसम्म त सन्चै छ, राम्रै छ। भोलि के हुन्छ, कसले पो देखेको छ र!
के काममा दिन बिताउनुहुन्छ?
मेरो काम त दिनभरि घरमा बस्ने र नातिनातिनी हेर्ने हो। यिनीहरूको स्याहारसुसारमै दिन बित्छ। छोराबुहारी दिनभरि ज्यालामजदुरीमा जान्छन्। नातिनातिनी नहुँदा म पनि मजदुरीमा जान्थें। अहिले त एकजनाले यिनै केटाकेटी र घर कुर्नुपर्छ। मेरो भागमा यही काम परेको छ।
घरमा को-को हुनुहुन्छ?
घरमा कान्छा छोरा र बुहारी छन्। उनीहरूका दुईजना छोराछोरी (नातिनातिनी) छन्। जेठा छोरा दुबईमा छन्। छोरीको बिहे भइसक्यो। मेरो माइतीमा पनि दुःख छ। भाइलाई पनि सँगै राखेकी छु। आमा पनि मसँगै हुनुहुन्थ्यो, बित्नुभयो। अहिले भाइमात्रै छन्।
छोराछोरीले कत्तिको सुख दिएका छन्?
सुख दिएका छन्। बाहिरफेर काम गर्न जान दिन्नन्। घरमै बस्नु भन्छन्। यही त हो उनीहरूले गर्ने!
बसोबास गरेको जग्गाको लालपुर्जा पाउनुभयो कि छैन?
कहाँबाट पाउनु! चुनावका बेला नेताहरू आएर आजै ल्याइदिने रहेछन् कि जस्तै गर्छन्। चुनाव सकिएपछि कुरै हराउँछ। अहिले लालपुर्जा दिएपछि अर्को चुनावमा के भनेर जाने भनेर नदिएका होलान्।
घरव्यवहार कसरी चलेको छ?
मेरो श्रीमान् (तुलसीराम मिदुन) भारतीय प्रहरीमा हुनुहुन्थ्यो। उहाँ २०५० सालमा बित्नुभयो। थोरै भए पनि उहाँको पेन्सन पाउँछु। मोतिपुरमै १८ कट्ठा जग्गा अधियाँमा खेती गरेका छौ। त्यसको उब्जनीले भात खान पुगेको छ। अरू खर्चको श्रीमानको पेन्सन र छोराबुहारीले ज्याला मजदुरी गरेर कमाएकाले पुगेको छ।
तपाईंलाई घरको कामबाहेक के गर्न मन लाग्छ?
के गर्न मन लाग्ने हो र! अब त केही काम गर्न पनि मन लाग्दैन। उमेरमा रसरंग गर्न नपाएरै दिन बिते। अब त रमाइलो गर्न, घुमफिर गर्न पनि मन लाग्दैन। म त दिनभरि घरमै भित्रबाहिर गर्छु। बाटोमा मान्छे ओहोरदोहोर गरेको हेर्छु।
तपाईं खानामा के चिज बढी मन पराउनुहुन्छ?
मलाई खानेकुरा मिठो नमिठो भन्ने नै छैन। पहिले धेरै दुःख पाएँ। श्रीमान् भारतीय प्रहरीमा जागिरे भए पनि कमाइ जति सबै रक्सी खाएर सक्नुहुन्थ्यो। मैले दाउराका भारी बेचेर छोराछोरी हुर्काएँ।
सधैं दुःखमा बाँचेर होला, खानेकुरामा मिठो र नमिठो भन्ने केही छैन। नुनपानीको झोल मात्र भए पनि मिठो लाग्छ।
तपाईंको स्वास्थ्य कस्तो छ?
स्वास्थ्य त्यति राम्रो छैन। शरीरमा धेरै बिमार छ। सुगर (मधुमेह), प्रेसर (उच्च रक्तचाप), थाइराइड, अल्सर सबै भएको छ। अहिले अल्सर केही कम भएर होला, पेट दुखेको छैन, औषधि पनि खाएकी छैन। सुगर, प्रेसर र थाइराइडको औषधि खाने गरेकी छु।
निद्रा कत्तिको लाग्छ?
खाना खानेबित्तिकै सुतेँ भने निद्रा लागिहाल्छ। केही बेर बस्नुपर्यो भने रातभरि निद्रा लाग्दैन। रातभरि गहिरो निद्रा नलागेको धेरै वर्ष भयो। एकडेढ घण्टा निदाएपछि आँखा खुलिहाल्छ। त्यसपछि गहिरो निद्रा लाग्दैन।
निद्रा नलाग्दा मनमा के हुन्छ?
छोराहरूको स्थायी काम छैन। सम्पत्तिको नाममा यही सुकुम्बासीको पाँच धुर जग्गा हो। यसको पनि लालपुर्जा छैन, छोराछोरी कसरी हुर्काऊलान् भन्ने चिन्ताले मन पिरोलिन्छ। मनमा कुरा खेल्छ।
तपाईंसँग यति बेला ठिक्क पैसा भए के किन्नुहुन्थ्यो होला?
मेरा लागि किन्ने चिज केही पनि छैन। पैसा हुँदा नातिनातिनीलाई लुगा किनिदिन मन लाग्छ। दसैंमा एकएक जोर लुगा किनिदिएँ। अब पैसा भयो भने जाडोका लुगा किनिदिनुपर्ला भन्ने छ।
तपाईं कहिले सबैभन्दा धेरै खुसी हुनुभएको थियो?
म खुसी भएको त अहिले नै हो। राम्रो घर नभए पनि दुई छाक खान र एकसरो लगाउन दुःख छैन। छोराहरू पनि सानोतिनो काममा लागेका छन्। म खुसी छु।
भन्दा राम्रो सुनिँदैन तर मैले सुख पाएको श्रीमान् बितेपछि मात्र हो। श्रीमान् बितेपछि पेन्सन पाउन धेरै संघर्ष गर्नुपर्यो। पेन्सन पाउने कागजमा मेरो नाम नै लेख्नुभएको रहेनछ। धेरै संघर्ष गरेर पेन्सन सोझियो। अहिले तीन महिनामा ५५ हजार रुपैयाँ पेन्सन बुझ्छु।
अहिले त धेरै राम्रो छ। श्रीमानले बाँचुन्जेल पैसा नबचाए पनि बितेपछि उहाँकै कमाइले पालिएकी छु। यो पेन्सन नभएको भए छोराछोरी कसरी हुर्काउने थिएँ होला भन्ने लाग्छ।
तपाईं सबैभन्दा धेरै दुःखी कहिले हुनुभयो?
सबैभन्दा धेरै दुःखी भएको पनि श्रीमान् बित्दा नै हो। उहाँ बित्दा म ३२ वर्षकी थिएँ। ससाना तीनजना छोराछोरी थिए, छोरी त एक वर्षकी थिइन्। उनीहरूलाई कसरी हुर्काउने, के खुवाउने, कहाँ राख्ने भन्ने पिरले सधैं मन खान्थ्यो। अहिले त्यस्तो दुःख छैन।
यस्तो नभएको भए हुन्थ्यो भनेर तपाईंको मनमा गढेको कुनै पिर पनि छ कि?
जस्तो भए पनि श्रीमान् त्यति चाँडै नबितेको भए हुन्थ्यो भन्ने लाग्छ। श्रीमान् बितेपछि ‘पोइटोकाई’ भनेर धेरैले कुरा काटे। विधुवालाई देखेर साइत परेन भन्थे। त्यस्तो सुन्दा जस्तो भए पनि श्रीमान् भइदिएको भए हुन्थ्यो भन्ने लाग्छ।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
यहाँको टोलसमाज राम्रै छ। सबैले एकअर्कालाई सघाउँछन्। बिहे, पूजाआजा हुँदा ऋणधन, भाँडाकुँडा सबै लेनदेन गर्छन्।
टोलसमाजको सुधार गर्नुपर्ने पक्ष के छ?
कोहीकोही मदिरा खाएर होहल्ला गर्छन्। त्यस्तो नभइदिए हुन्थ्यो भन्ने लाग्छ।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
राजनीतिको बारेमा त मलाई केही पनि थाहा छैन। कहिल्यै समाचार हेर्ने सुन्ने भए पो यस्तो भयो, उस्तो भयो भन्ने थाहा हुन्थ्यो! केही नहेर्ने, नसुन्नेलाई राजनीति भनेको के हो, कसरी थाहा हुनु र!
नेपालका नेतामध्ये तपाईंलाई को मन पर्छ?
नेताहरू कोही पनि चिन्दिनँ। हामी गरिबलाई कसैले केही गर्ने भए पो चिनेर पनि काम लाग्छ।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
भोट त पहिलेदेखि नै एमालेलाई दिँदै आएको, उसैलाई दिएँ।
अब चुनाव हुँदा कसलाई भोट दिनुहुन्छ?
अब त जसले जग्गाको लालपुर्जा दिन्छ उसैलाई भोट दिने हो। अहिलेसम्म लालपुर्जा पाउने उधारो आशामा भोट दियौं। अब लालपुर्जा नपाएसम्म भोट दिनै नजाने।
सरकारले के गरिदिएहुन्थ्यो भन्ने लाग्छ?
सरकारले हाम्रा लागि त लालपुर्जा दिए हुन्थ्यो। यत्रो वर्ष लालपुर्जा पाउने आशामा बित्यो, अब धेरै नकुराए हुन्थ्यो।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्