लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
२९ वर्षीया सरू सुनारलाई तुलसीपुरमा दलित संघको एउटा कार्यक्रममा भेटेको थिएँ। उनी उपमहानगरपालिका–१० की वडा सदस्य पनि हुन्। स्थानीय तह निर्वाचनमा उनी नेकपा (एमाले) का तर्फबाट दलित आरक्षणमा निर्वाचित भएकी थिइन्। उनी तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा शिक्षा संकायको बिए तेस्रो वर्षमा पढ्दैछिन्। हामीले उनको सुखदुःखबारे कुरा गरेका छौं।
सञ्चै हुनुहुन्छ?
सञ्चै छु। यहाँ ‘दलित संघ’ को कार्यक्रममा आएकी हुँ।
तपाईं के काम गर्नुहुन्छ?
हाल म तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० मा निर्वाचित वडा सदस्य हुँ। नेकपा (एमाले) बाट चुनाव लडेकी थिएँ। म विद्यार्थी पनि हुँ। राप्ती बबई क्याम्पसमा बिए तेस्रो वर्षमा अध्ययनरत छु।
तपाईं कहिले राजनीतिमा लाग्नुभएको हो?
मेरो गाउँ राइखलियान हो। बुबा (भरत सुनार) फर्निचरको काम गर्नुहुन्छ। उहाँ टोलको अध्यक्ष पनि हो। बुबा पहिल्यैदेखि एमालेमा झुकाव राख्नुहुन्थ्यो। म राजनीतिमा थिइनँ। हाम्रो टोलमा अधिकांश बासिन्दा दलित छौं। संविधानले दलित उम्मेदवार पनि अनिवार्य गरेको हुँदा एमालेका नेताहरूले हाम्रो घरमै बुबालाई भेटेर मलाई वडा सदस्यमा उम्मेदवार बनाउने कुरा गरे।
मलाई उम्मेदवार बनाउने कुराले आमा (चारूदेवी) र म दंग पर्यौं। मेरी आमा गृहिणी हुनुहुन्छ। दुई चारवटा खसीबाख्रा पाल्नुभएको छ।
तपाईंले यसरी जनप्रतिनिधि हुने कुरा कहिल्यै सोच्नुभएको थियो?
मैले त कल्पना पनि गरेकी थिइनँ। भाग्य भनौं कि संयोग, एमालेका नेताहरू खोज्दै आएर आग्रह गरेपछि बुबाको सल्लाहमा उम्मेदवार बनें। सहजै जितें पनि।
जनप्रतिनिधि हुँदा र नहुँदा के अन्तर हुँदो रहेछ?
मैले त धेरै अन्तर महसुस गर्न पाएकी छु। जहाँ गए पनि चिनेका जति सबैले सम्मान गर्छन्। आज मलाई वडामा अधिकांशले चिन्छन्। मेरो नाम धेरैले जानेका छन्। धेरैले माया गर्छन्, इज्जत गर्छन्। आफ्ना अग्रजहरू सल्लाहसुझाव दिन्छन्, सहनशील हुनुपर्छ भन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, मैले व्यवहार सिकेँ। आफ्नो जिम्मेवारीले पनि व्यवहार सिकाउँदो रहेछ।
वडा सदस्य भएपछि केके राम्रो काम गरेँ भन्ने लाग्छ?
मेरो टोलबस्तीमा पूरै दलित समुदाय छ। अशिक्षा र गरिबी व्याप्त छ। यतिसम्म कि मेरो टोलका कतिपयलाई १० नम्बर वडाका बासिन्दा हौं भन्ने पनि थाहा थिएन। जनप्रतिनिधि भनेको को हो, के काम गर्छ भन्ने पत्तै थिएन।
आफू वडा सदस्य भएपछि मैले यी कुरा सिकाउन सकें। यसलाई मैले ठूलो उपलब्धि मानेकी छु। विदेशमा अलपत्र परेकी एक महिलाको उद्धारका लागि मेरो पहलमा वडाबाट पत्राचार गरेपछि उनी घर फर्किएकी छन्।
जनप्रतिनिधिको हैसियतमा केके काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ?
गरिब र दलित बस्तीहरूमा शिक्षा र स्वास्थ्यको महत्त्व बुझाउन विशेष कार्यक्रम गर्न पाए हुन्थ्यो। उनीहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमहरू चलाउन पाए हुन्थ्यो भन्ने लाग्छ।
तपाईंले जनप्रतिनिधिका रूपमा कुनै नमिठो अनुभव पनि गर्नुभएको छ कि?
समाजमा गुणात्मक रूपमा धेरै परिवर्तन भएको छ तर दूरदराजका गाउँघरमा अझै पनि जातीय विभेद र छुवाछुतको अंश बाँकी छ। गरिबमाथि नै अलिक फरक (अपमानजनक) व्यवहार हुन्छ। दलितलाई त झन् अप्ठ्यारो छ।
कार्यक्रमहरूमा जाँदा मैले पनि अप्रत्यक्ष रूपमा विभेद भोगेकी छु। नयाँ ठाउँमा जाँदा कतिपले ‘कति राम्री तर जात अर्कै (दलित) परेछ’ भनेको सुन्छु।
एकपटक मान्छे बितेको घरमा मानो मिसाउन जाँदा ट्रेमा ल्याएको चिया मैले लिएर खाएपछि अर्को व्यक्तिले नखाएको पनि देखेकी छु।
वडाध्यक्षले तपाईंहरू (वडा सदस्य) को कुरा कत्तिको मान्छन्?
हाम्रा वडाध्यक्ष पनि एमालेबाटै निर्वाचित हुनुभएको हो। उहाँ सरल व्यक्ति हुनुहुन्छ। पहिलो वर्ष त मलाई केही पनि थाहा भएन। लक्षित समुदायको बजेटबारे बुझ्दाबुझ्दै वर्ष बित्यो। आफ्नो जिम्मेवारी पनि थाहा थिएन। हाम्रा वडाध्यक्ष जजसको जेजे पद भए पनि मिलेर काम गर्नुपर्छ भन्नुहुन्छ।
अधिकारको कुरा आउँदा र बजेट बाँडफाँट गर्दा वडाध्यक्ष नै हाबी हुँदा रहेछन्। वडाध्यक्षले चाहेको काम जसरी पनि हुन्छ। लक्षित समुदायका लागि थोरै मात्र बजेट छुट्याइँदो रहेछ। महिलाको सशक्तीकरण भन्ने सोलोडोलो कुरा गरेर दलितलाई झुक्याइँदो रहेछ।
बजेट छुट्याए पनि नियमअनुसार चल्दा काम हुन धेरै समय लाग्दो रहेछ। मानिसहरू तत्कालै काम चाहन्छन्। आजको आजै हुनुपर्छ भन्छन्। यसमा अलिक समस्या पर्दोरहेछ।
तपाईं अर्कोपटक पनि जनप्रतिनिधि बन्न चाहनुहुन्छ कि रहर पुग्यो?
म अझै काम गर्न चाहन्छु। कार्यकारी पदमा नपुग्दासम्म आफूले चाहेको काम गर्न नसकिने रहेछ। वडा सदस्यको जिम्मेवारीले मलाई धेरै काम सिकाएको छ। म त अब अर्को चुनावमा वडाध्यक्ष पदमा उम्मेदवार हुने मनस्थितिमा पुगेकी छु। हेरौं, पार्टीले पत्याउँछ कि नाइँ!
तपाईंको पढाइ चाहिँ कस्तो चल्दै छ?
म परीक्षा दिन मात्रै क्याम्पस जान्छु। गरिबीका कारण सधैं क्याम्पस गएर पढ्न गाह्रो छ। कलेज आउजाउ गर्ने साधन पनि छैन, सधैं हिँडेर सम्भव हुँदैन।
मलाई गरिबी के हो भन्ने गहिरो अनुभूति छ। भाइबहिनीका लागि भोकै पनि सुतेकी छु। भोकै रात काट्नु पर्दा मात्रै भोक के हो भन्ने थाहा हुँदो रहेछ।
तपाईंको परिवारमा को-को हुनुहुन्छ?
बहिनी (सबिता) को बिहे भइसकेको छ। उसको एउटा छोरो पनि छ। जेठोभाइ (सरोज) हालै विदेशबाट आएको छ। कान्छोभाइ (मनोज) बिहे गरेर छुट्टै बसेको छ। हामी सबै भाइबहिनीले एलएलसी (कक्षा १०) उत्तीर्ण गरेका छौं।
एक्लै हुँदा के गरेर समय बिताउन मन लाग्छ?
म गीत गाएर समय बिताउँछु। गाउँघरमा हुने सांस्कृतिक कार्यक्रमहरूमा दोहोरी गीत पनि गाउँछु। मलाई लोकदोहोरी खुब मन पर्छ।
तपाईंको स्वास्थ्य कस्तो छ?
म मुटुको बिरामी पनि छु। झन्डै १० वर्ष पहिले मुटुको अपरेसन भएको थियो। मुटु जाँचका लागि म वर्षको दुई पटक काठमाडौं जान्छु।
तपाईंलाई मन पर्ने गायक को हो?
खेमराज सेञ्चुरी।
यति बेला तपाईंसँग ठिक्कको पैसा हुँदो हो त के गर्नुहुन्थ्यो?
घरको ऋण तिर्थें। बुबाआमालाई ऋणमुक्त पार्थें। ऋण जम्माजम्मी ७ लाख (रूपैयाँ) जति होला। त्यो ऋण सम्झेर बुबाआमा आत्तिएको देख्छु, मेरो मन रून्छ। उहाँहरूलाई त्यो ऋणबाट मुक्त पार्न सके हुन्थ्यो भन्ने लाग्छ।
ऋण तिरेर बचेको पैसा गरिबदुःखी र अशक्तहरूको सेवामा खर्चिन्थें।
तपाईंहरूको जग्गाजमिन कति छ?
हाम्रो आर्थिक अवस्था निकै कमजोर छ। आफ्नै जग्गाजमिन एक टुक्रो पनि छैन। एक कट्ठा जति ऐलानी छ। त्यसमै घरबास छ। अन्न उत्पादन हुने जग्गाजमिन छैन। हामी किनेरै खान्छौं।
रातमा तपाईंको निद्रा कस्तो छ?
कहिलेकाहीँ घरको आर्थिक अवस्था र ऋण सम्झेर निद्रा पर्दैन। दिमागमा त्यस्तो सम्झना आएन भने मजाले निदाउँछु।
तपाईंको मनमा यस्तो भइदिए हुने भन्ने केही कुरा छ कि?
गरिबदुःखीको हितमा काम गर्ने चाहना छ। वडा सदस्य भएर आफूले सोचेजस्तो काम गर्न सकिनँ भन्ने लागेको छ। गरिबदुःखी, दलित र अशक्तहरूको सेवामा काम गर्ने चाहना छ। उनीहरू आत्मनिर्भर हुने सीप सिकाउन र आयमुखी काममा लगाउन पाए हुन्थ्यो भन्ने लागेको छ।
हरेक महिला आफै सक्षम हुनुपर्छ र आफ्नै हिम्मतले अघि बढ्नुपर्छ भन्ने मेरो धारणा छ।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
मेरो टोलसमाज सहयोगी छ। दुःखसुखमा आपसमा साथ सहयोग हुन्छ। हाम्रो टोलमा समूह चलाउन थालेको पनि धेरै वर्ष भयो। दलित महिलाहरूको समूह छ। हामी टोलका बासिन्दाको दुःखसुखमा एकजुट हुन्छौं। हाम्रो टोलमा एकअर्कामा विभेद छैन।
तपाईंलाई समाजको कुन पक्ष मन पर्दैन?
चाडपर्वमा मदिरा सेवन गरेर होहल्ला गरेको मन पर्दैन, दिक्क लाग्छ।
तपाईंलाई को नेता मन पर्छ?
मलाई धेरै मन पर्नेमा एमालेका स्वर्गीय नेता, पूर्वसभामुख सुवासचन्द्र नेङवाङ; अहिले काठमाडौंका मेयर बालेन शाह।
यति बेला राज्यले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
मेरो टोलमा युवा भेटाउनै गाह्रो छ। बुढापाका मात्रै भेटिन्छन्। अधिकांश युवा विदेशमा छन्। उनीहरू यहाँ अवसर नपाएर कामको खोजीमा विदेश जान बाध्य छन्।
अहिले हाम्रो ठाउँमा बाटो ठिकै छ। जेजस्तो भए पनि एउटा अस्पताल पनि नजिकै छ। विद्यालयहरू पनि छन्। यतिखेर राज्यले रोजगारीका अवसरहरू सिर्जना गर्न ठाउँअनुसार उद्योग र कलकारखाना सञ्चालनमा जोड दिन जरूरी छ।
हाम्रो ठाउँ समतल उपत्यका भएकाले आधुनिक कृषिको सम्भावना धेरै छ। यी काम गर्न सके राम्रो हुन्थ्यो।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्