(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
दंगीशरण गाउँपालिका–२, सरूवा डाँडागाउँमा मकै भाँचेपछिको बारीमा भैंसी चराउँदै गरेका भेटिए स्थानीयवासी ६० वर्षीय लालबहादुर चौधरी। यो बारी उनको होइन। दाङतिर गाउँघरमा मकै, धान वा अन्य कुनै हिउँदे बाली भित्र्याएपछि खेतबारीमा गाईवस्तु चराउने गरिन्छ। यसरी चराउनुलाई ‘कटनी खुवाउने’ भन्छन्। लालबहादुरले कटनी खुवाउन दुईवटा भैंसी र एउटा पाडो ल्याएका थिए।
उनैसँग गरेको कुराकानी :
यी भैंसी तपाईंकै हुन्?
मेरै हुन्। आज कटनी खुवाउन ल्याएको।
यो बारी पनि तपाईंकै हो?
होइन, अर्कैको हो। मकै भाँचेपछि खाली भएको जग्गामा जसले पनि चराउन पाउँछ।
भैंसी त निकै मोटाघाटा रहेछन् त?
राम्रै छन्। स्याहार पनि पाएकै छन्। यी भैंसीलाई घाँस, दाना, पानी सबै समयमै दिनुपर्छ। जनावर पालेपछि माया पनि गर्नुपर्छ। राम्रो स्याहार गर्नुपर्छ। भैंसीले राम्रो आहार र स्याहार पायो भने दूध पनि धेरै दिन्छ।
यी भैंसीको दूध कति छ?
यसको नाम (एउटा भैंसी देखाउँदै) बेला हो। यसले १० माना दूध दिन्छ। यो (अर्को भैंसी देखाउँदै) कालु हो, यसले १२ माना (दूध) दिन्छ। यी भैंसी किनेको दुई वर्ष भयो। बेला एक लाख (रूपैयाँ) कालु एक लाख २५ हजारमा किनेको हो। पहिला गोरू र राँगा पनि पालेका थियौं, अहिले छैन।
दैनिक कति दूध बेच्नुहुन्छ?
हामी बिहानको दूध मात्रै बेच्छौं। आजकल मानाको ४० रूपैंयाका दरले दैनिक २२ माना बेच्दै छौं। त्यसको दैनिक ८८० रूपैंया आउँछ। तुलसीपुर बजारबाट डेरीवाला गाउँमै आएर लैजान्छ। आफू दूध बोकेर बजार जानु पर्दैन।
परिवारका को को हुनुहुन्छ?
अहिले श्रीमती (५९ वर्षीया बादली) जेठो छोरो (३३ वर्षीय रेशम) बुहारी (प्रतिमा) र एउटा नाति (रिहान) घरमा छौं। माइलो छोरो (३० वर्षीय किसिमलाल) दुबईमा छ। कान्छो छोरो (२४ वर्षीय भरत) अमेरिकामा छ।
माइलो गएको पाँच वर्ष भयो, कान्छो अमेरिका पुगेको एक वर्ष भयो। जेठाले एसएलसी पास गरेको छ। माइला र कान्छाले १२ कक्षासम्म पढे। यी सबैभन्दा एउटा छोरी (नथुनी) छिन्। उनी आफ्नै घरमा छिन्।
तपाईंको जग्गाजमिन कति छ?
ढाइ (साढे दुई) बिघा जति छ, यसमा डेढ बिघा खेत र अरू बारी छ। धान, मकै, गहुँ मसुरो फलाउँछौं।
आफ्नै जग्गाको उत्पादनले खान पुग्छ?
मज्जाले पुग्छ। अलिअलि बेच्छौं पनि। हामी आफै खेतीपाती गर्छौं। पहिला खेत जोत्ने राँगागोरू हुन्थे, आजकाल टेक्टरले जोताउँछौं। दुई जना छोरा विदेश गएपछि राँगागोरू पाल्न सकिएन। जेठा छोराबुहारी र हामी बुढाबुढी (श्रीमान्–श्रीमती) मिलेर खेती गर्छौं।
छोरो अमेरिका जाँदा ऋण पनि लाग्यो कि?
उसलाई दलालहरूले तल्लोबाटो अमेरिका पठाएका हुन्। जम्मा ५५ लाख रूपैयाँ खर्च लगेको हो। बैंकबाट २५ लाख लिएका थियौं। त्यो जसोतसो तिरेर सक्यौं।
अब गाउँमा ३२ लाख रूपैयाँ बाँकी छ। सयकडा तीनका दरले (३६ प्रतिशत ब्याजमा) लिएको ऋण हो। एक वर्षमा २२ लाख त ब्याज मात्रै तिर्नुपर्यो। कान्छा छोराले पठाउन त पठाउँछ तर उसको पसिना जम्मै ब्याज तिर्नका लागि मात्रै भएको छ।
तपाईंको स्वास्थ्य कस्तो छ?
म अली रोगी भइगएँ। गाँठागुँठी दुख्छन्। युरिक एसिड छ। कहिलेकाहीं नेपालगञ्ज गएर जचाउँछु, तुलसीपुर त गइरहन्छु। औषधि खाँदासम्म केही बिसेक हुन्छ फेरि दुख्न थालिहाल्छ। आयुर्वेदको औषधि पनि खाएँ।
रातमा निद्रा कस्तो छ?
कहिलेकाहीं निदाउनै सक्दिनँ। मनमा कान्छा छोराको ख्याल आउँछ, ऋण सम्झेर छटपटी हुन्छ। अमेरिका जाँदा लागेको त्यत्तिको ऋण कसरी तिर्ला भन्ने चिन्ता लाग्छ। ऋण र कान्छो छोरा सम्झेको रात निदाउन मुस्किल हुन्छ।
तपाईंलाई खानामा सबैभन्दा बढी के मन पर्छ?
मलाई त दाल र सागसब्जीसँग भात खान मन पर्छ। डाक्टरले गेडागुडी, टमाटर, भन्टा, फर्सी रातो मासु नखानू भन्छन्। युरिक एसिडको बिरामीले खानु हुँदैन भनेका छन्। रातो मासु खान छाडें। कहिलेकाहीं खसीको खुट्टाको झोल खान्छु। घरमै बनाएको जाँड पनि खान्छु कहिलेकाहीं।
यति बेला आफूसँग ठिक्कको पैसा भए के गर्थें भन्ने लाग्छ?
मेरो चाहना घरपरिवारको खुसीभन्दा अरू केही पनि छैन। छोराहरूको भविष्य राम्रो बनाउने मेरो चाहना हो। पैसा भए जग्गा थप्थें। बजार आउजाउ गर्न गाह्रो हुन थालेको छ। पैसा भए त तुलसीपुरतिर एउटा घडेरी किन्थें, घर बनाउँथे। कहिलेकाहीं अप्ठेरो पर्दा उतै (तुलसीपुरमा) बस्थें।
के गर्दा तपाईंको मन रमाउँछ?
घर परिवारसँगै खेतबारीमा काम गर्दा र राम्ररी अन्न भित्र्याउन पाउँदा मन रमाउँछ। फुर्सदमा गाउँका साथीहरूसँग सुखदुःखका कुरा गर्न पाउँदा पनि रमाइलो हुन्छ, मनको दुःख पनि कम हुन्छ।
तपाईं युवा पुस्ताको के सुझाब दिनुहुन्छ?
हामी थारू जातिका आफ्नै मौलिक वेशभुषा, कलासंस्कृति र रितिरिवाजहरू छन्। ती अति नै राम्रा लाग्छन्। म जवानीमा गाउँघरमा हुने थारू नाच हेर्न जान्थें। मादल पनि बजाउँथें। आजकाल हाम्रै कारणले थारू जातिको मौलिक कलासंस्कृति हराउन थालेको छ।
युवाहरू देखासिखीमा लागेका छन्। आफ्नो संस्कार र संस्कृति बिर्सिंदै छन्। पहाडियाको सिको गरेर दसैंतिहार धुमधामले मनाउन थालेका छन्, दसैंमा रातो टीका लगाउँछन्। बिहेबारी पनि पहाडिया तरिकाले गर्न थालेका छन्। लुगाफाटो र गहना पनि त्यस्तै हुन्छ।
पढेलेखेका युवाले परिवर्तन भन्दै आफ्नो परम्परा र संस्कृति बिर्सिंदै गए। युवाहरूले आफ्नो परम्परा र संस्कृति जोगाउनुपर्छ। म त सबै युवा मिलेर आफ्नो परम्परा जोगाउने र सबै संस्कार थारूकै तरिकाले गर्ने काममा लाग्नुपर्छ भन्छु।
तपाईंलाई आफ्नो गाउँसमाज कस्तो लाग्छ?
गाउँसमाज सहयोगी छ। सुखदुःखमा सबै एकजुट हुन्छन्। अझ हाम्रो थारू जातिमा त झनै विषेश परम्परा छ।
कसैको घर छाउनुपर्यो भने गाउँभरिका सबै जम्मा हुन्छन्। धान काट्नु पर्यो भने सबैले सघाउँछन्। खेत जोत्दा, धान रोप्दा र अरू काम गर्दा पनि गाउँलेहरू मिलेर पालैपालो सबैको काम गर्छन्; एक दिन एउटा घरको काम, अर्को दिन अर्को घरको काम।
यसरी काम गर्दा रमाइलो हुन्छ। काम पनि छिटो हुन्छ। थारू जाति यस्तो सहयोगी परम्परा हाम्रो गाउँमा कायमै छ। यो परम्परा साह्रै राम्रो हो जस्तो लाग्छ।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
नेताहरूले चुनावका बेला राम्रो भाषण गर्छन् तर काम गर्दैनन्। नेताहरूले परिवार र आफन्तलाई मात्र हेरे, देश हेरेनन्। अहिलेका नेताहरूमा देश बनाउने क्षमता देखिएन। राजनीति धेरै बिग्रियो।
गएको चुनावमा तपाईंले कसलाई भोट दिनुभयो?
म नेपाली कांग्रेसको मान्छे हुँ। भोट पनि रूख (नेपाली कांग्रेसको चुनाव चिह्न) मा नै दिएको हो।
तपाईंलाई मन पर्ने नेता को हो?
पहिला खुमबहादुर खड्का राम्रो लाग्थ्यो। उहाँले दाङका लागि धेरै काम गर्नुभयो। यति बेला कांग्रेसका गगन थापा र विश्वप्रकाश शर्मासँग केही आशा छ।
नढाँटी भन्दा मलाई काठमाडौंका मेयर बालेन शाहको काम गर्ने शैली राम्रो लागेको छ।
यति बेला चुनाव भए कसलाई भोट दिनुहुन्थ्यो?
म त कांग्रेस हो नि, पार्टीको भोट (समानुपातिक) रूखमै जान्छ। कांग्रेसको उम्मेदवार राम्रो भएन भने अर्को राम्रो उम्मेदवालाई जान्छ मेरो भोट, नत्र कांग्रेसलाई नै हो।
यति बेला सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
तपाईंलाई सत्य भनूँ, नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का यातायातमन्त्री हुँदा हाम्रो ठाउँमा बाटो खोलिएको हो। त्यति बेलै हो यो गाउँका मानिसले डोजर देख्न पाएको। उति बेला यहाँ घरघरबाटै युवाले प्रहरी र सेनामा जागिर पाएका थिए।
अहिले त्यस्तो छैन। हामीले धेरै वर्ष दुःख पाएपछि तुही खोलामा पुल बन्दै छ। त्यो पुल बन्न थालेको धेरै वर्ष भइसक्यो।
यो ठाउँ विकासमा धेरै पछि परेको छ। सरकारले यहीं ठूला स्कुल खोलिदिए बालबालिका पढ्न टाढा जानुपर्ने थिएन। राम्रा अस्पताल बनाइदिए उपचार गर्न नेपालगञ्ज र बुटवल जानुपर्ने थिएन।
यो संवादका लागि तपाईंलाई धेरै धन्यवाद।
तपाईंलाई पनि धन्यवाद।