(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
तुलसीपुर उपमहानगरपालिका–१३, मजघटुवाका बासिन्दा हुन् ६२ वर्षीय हस्तबहादुर वली। हालसालै एक दिन तुलसीपुरको एउटा पार्कमा उनीसँग भेट भयो। लामो र सेतो 'फ्रेन्च कट' दारी, टाउकामा वरिपरि ठूलो घेरा भएको छत्रे टोपी, गोरोवर्ण र अग्लो कदका वलीलाई नचिन्नेले विदेशी ठान्छन् रे।
उनी टिकटक बनाउन यताउता डुलिरहन्छन्। 'भाइरल बाजे' उपनामले चिनिन्छन्। उनै हस्तबहादुरसँग गरेको कुराकानी:
नमस्कार! म सेतोपाटीको पत्रकार, केही कुरा गरौं न!
कुरा गर्न त हुन्छ तर के विषयमा गर्ने! ल जे सोध्न मन छ, सोध्नुहोस्। बोल्न जान्दिनँ, मैले धेरै पढेको छैन।
कति पढ्नुभएको छ?
गाउँकै रनियापुर स्कुलमा पढ्थेँ। तीन कक्षामा पढ्दापढ्दै छोडेँ। त्यसपछि पढिनँ।
किन छोड्नुभएको थियो त?
मैले बुबा (गजबहादुर) लाई देख्नै पाइनँ। आमा (कलावती) पनि म २० वर्षको छँदा बित्नुभयो। उतिखेर टिबी (क्षयरोग) को अहिलेजस्तो भरपर्दो उपचार थिएन। मलाई थाहा भएअनुसार आमा टिबीले नै बित्नुभयो।
रनियापुर स्कुलमा पाँच कक्षासम्म मात्रै पढाइ हुन्थ्यो। त्यसभन्दा माथि पढ्न टाढा जानुपर्थ्यो। मैले तीन कक्षामै छाडिहालेँ। हाम्रो घरको आर्थिक अवस्था पनि राम्रो थिएन।
आजकाल घरमा को को हुनुहुन्छ?
श्रीमती (टेका वली) छिन्। म भन्दा १० वर्ष कान्छी छन्, कान्छी श्रीमती हुन्। उनीबाट तीन छोरी (मीना, नमा र कौशिला) छन्। उनीहरूको बिहे भएर आआफ्ना घरमा छन्।
पहिलो बिहे १६ वर्षकै उमेरमा भएको थियो। पहिली श्रीमतीबाट दुईभाइ छोरा छन्। जेठो छोरो (रेशम) ४५ वर्षको भयो। कान्छो छोरो (चिरञ्जीवी) ४२ वर्षको भयो। कान्छो डेढ वर्षको छँदा आमा (गीता) बितेकी हो।
छोराहरू के काम गर्छन्?
दुबैजना विदेशमा छन्। एउटा माल्टामा छ, अर्को दुबईमा छ।
छोराछोरीले कति कति पढेका छन्?
धेरै पढेनन्। सबैले आठ–नौ कक्षा पढ्दापढ्दै छाडे।
किन नि?
त्यतिखेर म नराम्ररी रक्सीको कुलतमा डुबेको थिएँ। बाबु नै सधैं रक्सीको नशामा मात्तिने भएपछि घरको वातावरण राम्रो भएन, छोराछोरी कसरी पढून्! मेरो अम्मलकै कारणले पढ्न सकेनन्।
उतिखेर मलाई पनि छोराछोरीले पढ्नुपर्छ जस्तो लाग्दैन थियो। स्कुल जानुभन्दा बरू काम गरेर खान पाऊलान् जस्तो लाग्थ्यो। छोराछोरीलाई पढाउनुपर्ने रहेछ भन्ने त अहिले पो थाहा भयो। समय बितिगयो।
त्यतिखेर तपाईंको जग्गाजमिन कति थियो?
उतिखेर जम्मा १३ कट्ठा जति थियो। रक्सी खाए पनि खेती चाहिँ बिगारिनँ। आफै लागेर मिहिनेत गर्थेँ। पछिसम्ममा खेतीबाटै अरू चार बिघा जोडेँ। त्यो जमिन अहिले बिघाको एक करोड हाराहारी पर्छ।
मैले गाईभैंसी पनि पालेँ। त्यसबाट केही कमाइ हुन्थ्यो। जग्गाले पनि आम्दानी दिँदै गयो। विदेश जानेहरूलाई ब्याजमा पैसा दिन थालेँ। मेरो आर्थिक अवस्था विस्तारै सुध्रिँदै गयो।
अहिले तपाईंको सम्पत्ति कति छ?
तुलसीपुर बजारमा दुई वटा घर छन्, छोराहरूले जोडेका हुन्। चिरञ्जीवीको घरजग्गा निकै महँगो ठाउँमा छ। रेशमको पनि राम्रो छ। उनीहरू छुट्टीभिन्न भइसके तर मलाई माया गर्छन्। उनीहरू पनि मिल्छन्।
अब तपाईंका के के इच्छा बाँकी छन्?
अलिक पहिला त के के कुरामा चिन्ता लाग्थ्यो। आफ्नो आर्थिक अवस्था कसरी सुधार्ने होला भन्ने थियो। तुलसीपुर बजारमा घडेरी किन्न सकुँला कि नसकुँला जस्तो लाग्थ्यो। अब त्यस्तो केही छैन। यस्ता कुराको महत्त्व पनि लाग्न छाड्यो। खुसीसाथ बाँच्न पाऊँ भन्नेबाहेक अरू केही इच्छा छैन।
किन नि?
मान्छेलाई जति सम्पत्ति भए पनि पुग्दो रहेनछ। मरिजाने चोलामा पनि किन दुःखी भइरहनु र!
आफू खुसी हुन र रमाउन के गर्नुहुन्छ?
म टिकटक बनाउँछु। सबैले मलाई भाइरल बाजे भन्छन्। त्यसैका लागि म ठाउँठाउँको भ्रमण गर्छु। रमाइलो गर्दै हिँड्छु।
टिकटकमा त सरकारले प्रतिबन्ध लगाएको छ, होइन र?
सरकारले प्रतिबन्ध लगाए पनि म बनाइरहन्छु। 'भिपिएन' बाट मज्जाले चल्दो रहेछ!
सुरुमा कसले बनाइदियो तपाईंको टिकटक आइडी?
गाउँकै एक जना नातिले बनाइदिएका हुन्। आज म जहाँ पुगे पनि नातिनातिनीको उमेरका केटाकेटीले 'भाइरल बाजे' भन्दै टिकटक बनाउन आग्रह गर्छन्। यसमै रमाइलो लाग्छ।
नाच्न पनि जान्नुहुन्छ?
नाँच्न त खासै आउँदैन तर साना केटाकेटी र बुढाबुढीले थोरै कम्मर मर्काए पनि सबैले मन पराउँदा रहेछन्। म बाँसुरी बजाउन जान्दिनँ तर पनि 'एक्टिङ' का लागि झोलामा बाँसुरी बोकेर हिँड्छु। नक्कली कपाल पनि बोकेको हुन्छु।
अहिले त ठाउँठाउँमा विभिन्न पोसाक लगाएर पनि एक्टिङ गर्न पाइन्छ। म पैसा तिरेरै नाच्ने /एक्टिङ गर्ने गर्छु। सबैलाई मिहिनेतको मूल्य दिनुपर्छ भन्ने लाग्छ।
तपाईंसँग टिकटक बनाउनेहरू कुन उमेरका हुन्छन्?
प्रायः अविवाहित र एघार–बाह्र कक्षामा पढ्नेहरू हुन्छन्। कोहीकोही विवाहित महिला पनि हुन्छन्।
यसरी टिकटक बनाउँदै हिँड्दा श्रीमतीले केही भन्नुहुन्न?
भन्छे नि, 'बौलाहा बड्डो' भन्छे। जिन्दगीमा रमाउनुपर्छ भनेर टारिदिन्छु। घरमा काम पनि गर्छु। आज बिहान श्रीमती मकै गोड्न गइन्, मैले भातभान्सा बनाएँ।
टिकटक बनाउन कहिले थाल्नु भएको हो?
कोरोना महामारीको बेला टिकटक हेर्दाहेर्दै मलाई पनि बनाउन रहर लाग्यो। गाउँकै एकजना नातिलाई आइडी बनाउन लगाएँ। यही टिकटकको रमाइलोले बचाएको छ जिन्दगी।
टिकटकले कसरी बचायो?
उल्टोपाल्टो सोच्दासोच्दै म डिप्रेसनमा पुगिसकेको रहेछु। उल्टो सोचले झन्डै मरिनँ! म गलत सपनाको संसारमा दौडिन थालेको रहेछु। एकपटक त मैले घरपरिवार सबैसँग यो संसार छोड्दै छु भनेर बिदा पनि मागेको थिएँ। खै दैबले मलाई कसरी बचाए!
त्यसपछि मलाई नाँच्न पाए, रमाइलो गर्न पाए अलिक धेरै बाँचिन्छ भन्ने लागेको छ। यही सोचले म युवायुवतीको जमघट हुने पार्क र भाइरल बनेका ठाउँहरूमा पुगिरहन्छु। स्वास्थ्यले साथ दिँदासम्म यसैगरी रमाउने विचारमा छु।
झट्ट देख्नेहरू मलाई गोरे विदेशी रहेछ भन्ने ठान्छन्, चिन्नेहरू भाइरल बाजे भन्छन्।
परिवारमा मेलमिलाप कस्तो छ?
राम्रै छ। श्रीमतीसँग बोलीमा भने कहिल्यै 'टर्म' खाएन क्यारे। म सुल्टो जोत्छु, ऊ उल्टो जोत्छे!
तपाईंको मनमा अब यस्तो भइदिए हुन्थ्यो भन्ने केही कुरा छ?
एउटा कुरा छ। धेरै पढेको भए हुने रहेछ भन्ने लाग्छ। मानिसको जीवनमा ज्ञान हासिल गर्नु ठूलो कुरा रहेछ।
पहिला बैंसमा बजार जान पाए हुन्थ्यो भन्ने लाग्थ्यो। त्यतिखेर यो तुलसीपुर बजार कहाँ थियो र! बजार त मानपुरमा थियो। हामी पैदल हिँडेरै किनमेलका लागि मानपुर जान्थ्यौं।
अहिले बजारमा बस्न मन लाग्दैन। मन परेको काम गर्दै आनन्दले गाउँमै बस्दा खुसी लाग्छ। कसरी खुसी हुने र रमाउने भन्ने मात्रै छ मेरो मनमा।
तपाईंलाई मनपर्ने खाने कुरा के हो?
दूधभात मन पर्छ। घरमा सधैं भैंसी हुन्थ्यो। दूधभात र दहीमोही खाइन्थ्यो।
सबैभन्दा दुःखको क्षण के छ?
आमा र पहिली श्रीमती बित्दा साह्रै दुःख लागेको थियो। भनी साध्य छैन।
खुसीको क्षण नि?
पहिली श्रीमती बिहे गर्दा र बच्चाहरू जन्मिँदा खुसी लागेको थियो। आजकाल ठाउँठाउँको भ्रमण गर्दै टिकटक बनाउन पाउँदा खुसी लाग्छ।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
राम्रो लाग्छ। सबै सहयोगी छन्। बाजे, काका, दाइ, भाइ यस्तै के के भन्छन्। सबैले सम्मान गर्छन्।
तपाईंलाई नयाँ पुस्ताबाट चित्त नबुझ्ने कुरा के छ?
उहिले हामी सानै उमेरमा पनि घरगृहस्थी कसरी चलाउने होला भन्ने चिन्ता गर्थ्यौं। गाईभैंसी चराउन जान्थ्यौं। डोरी, दाम्ला आफैँ बाट्थ्यौं। गाईभैंसी बाँध्ने किला जंगलबाट ल्याएर तिखार्थ्यौं। हलोजुवा बनाउन जानेका थियौं।
अहिलेका युवामा त्यस्तो सिप केही पनि छैन। घरव्यवहारको कुरा जानेका छैनन्। कतिपय त कलिलै उमेरमा चुरोट, गाँजा, रक्सीको कुलतमा पो फसेको देख्छु। यस्तो देख्दा साह्रै नमज्जा लाग्छ। पढेलेखेका युवाको हातमा पनि सिप छैन।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
यो राजनीति भन्ने कुरा त आजकलको कालो बादलजस्तै लाग्छ। कति खेर कता मडारिने हो भरै नहुने।
गएको चुनावमा कुन पार्टीलाई भोट दिनुभयो?
एमालेलाई दिएको।
यतिखेर चुनाव भए कसलाई दिन्छु भन्ने लाग्छ?
यतिखेर चाहिँ एमालेलाई दिन्नँ होला।
कसलाई दिनुहुन्छ होला त?
घन्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) लाई दिन्छु कि!
यति बेला तपाईंलाई मनपर्ने नेता को हो?
बालेन (काठमाडौं महानगरका प्रमुख बालेन शाह)।
यति बेला राज्यले मुख्य के काम गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
जताततै उद्योग, कलकारखाना खोलिदिए हुन्थ्यो। नेपालका छोराछोरी काम खोज्दै विदेश जानु नपरे हुन्थ्यो। दोस्रो कुरा, सरकारी कार्यालयमा जनताको काम छिटो हुनुपर्यो। झन्झट दिनुभएन।
यो कुराकानीका लागि धन्यवाद!
युट्युबरहरू मसँग कुरा गरिरहन्छन्। तपाईंसँग कुरा गर्दा फरक लाग्यो, रमाइलो भयो। म जस्तो सामान्य मान्छेका धेरै कुरा सोध्नुभयो, तपाईंलाई पनि धन्यवाद।