(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
तुलसीपुर उपमहानगरपालिका–६, सुकौरारोड निवासी कल्पना चौधरी गत साताको एक दिन आफैले चलाएको पसलमा थिइन्। उनी २०५२ सालतिर श्रीमानका साथ गाउँबाट तुलसीपुर बजार आएकी हुन्। उनले आफ्नो व्यवसाय गरिन्। हाल तुलसीपुरमा दुई वटा घर छन्। अर्को एउटा घडेरी छ। हामीले उनै ५० वर्षीया कल्पनासँग कुराकानी गरेका छौं:
व्यापार कस्तो चलेको छ? 
ठिकठिकै छ। दैनिक १२–१५ हजार (रुपैयाँ) को कारोबार हुन्छ। त्यसबाट ५–७ सय (रुपैयाँ) बचत हुन्छ। 
यो ठाउँमा पसल गरेको कति भयो? 
त्यस्तै ५–६ वर्ष भयो होला। 
यो पसल गर्नुभन्दा पहिला के गर्नुहुन्थ्यो? 
बिहे भएपछि एक दुई वर्ष गाउँमै बस्यौं। बुढाको जागिर भएपछि २०५२ सालमा तुलसीपुर बजारमा बस्न थाल्यौं। अहिले हामी वडा नम्बर ११ को बेलगनारका स्थायी बासिन्दा हौं। 
तपाईंको श्रीमान कहाँ, के जागिर गर्नुहुन्छ? 
मेरा श्रीमान रामचरण चौधरी नगरपालिकामा सडक बढार्ने (स्वीपर) काम गर्नुहुन्छ। नगरपालिकामा जागिर भएपछि गाउँबाट बिहानै बजार आउनुपर्ने भयो। उतिखेर हामीसँग साइकल पनि थिएन। उहाँको दुःख देखेर म पनि उहाँको सजिलोको लागि उहाँकै पछि लागेर बजार आएकी हुँ। 
तपाईंको बिहे कसरी भएको हो? 
मेरा बुढाको र मेरो गाउँ एउटै, उहाँ मेरो अन्टीको देवर हो। हामी एउटै साले (एकै वर्ष जन्मेका), उहाँ भदौको म माघको, अन्टीको घर आउजाउ गर्दागर्दै कतिखेर माया बस्यो, पत्तै भएन। त्यसपछि म १८ वर्षकी छँदा उहाँसँग भागेर गएँ। 
तपाईंका छोराछोरी कति छन्? 
तीन जना छन्, एक छोरा र दुई छोरी। 
छोराछोरी कति उमेरका छन्? के काम गर्छन्? 
छोरो सन्तोष २६ वर्षको भयो। ऊ कोरियामा छ, चार वर्ष भयो। जेठी छोरी ३० वर्षकी भई, कान्छी छोरी २८ वर्षकी भई। दुइटै छोरीको बिहे भइसक्यो, नातिनातिना छन्। छोराको बिहे भएको छैन। 
कान्छी छोरी र ज्वाँइ हामीसँगै बस्छन्। जेठी छोरीका परिवार पनि हाम्रो अर्को घरमा बस्छन्। छोरी कटाइ–सिलाइको काम गर्छे। जेठी छोरीले दश कक्षा पास गरेकी छे। कान्छीले १२ कक्षा पास गरी। 
तपाईंले  कति पढ्नुभएको छ ? 
(हाँस्दै) मैले त स्कुलको अनुहार नै देखिनँ। बाबुआमाले दाजुभाइलाई स्कुल पठाए, हामी छोरीलाई पठाएनन्। मैले छोराछोरी सबैलाई सानैदेखि बोर्डिङ (निजी स्कुल) मा पढ्न पढाएँ। 
तपाईं कखरा पनि चिन्नुहुन्न? 
कख चिन्छु, आफ्नो नाम पनि लेख्न सक्छु। 
कसरी चिन्नुभयो त कखरा? 
गाउँघरमा साथीहरूले लेखेको हेर्थें। एक्लै हुँदा भुइँमा धुलोमा लेखेर सिकेकी हुँ। 
२०५२ सालमा बजारमा बस्न आएपछि तपाईंले के काम गर्नुभयो? 
त्यतिखेर बुढाको तलब महिनामा ७ सय (रुपैयाँ) मात्रै आउँथ्यो। उहाँको पसिनामा मात्रै रमाउनुहुन्न, उहाँले दुःख गर्दा मैले पनि केही काम गर्नुपर्छ भन्ने सोचेँ। उहाँ अफिस जाँदा म दिनभर एक्लै हुन्थेँ। 
म गाउँघरमा हुर्केकी मान्छे, अनपढ थिएँ। काम केही थिएन। एकदिन श्रीमानलाई मनको कुरा भनेँ। उहाँले जे इच्छा लाग्छ त्यही गर भन्नुभयो। 
सुरूमा हामीले अहिलेको जेसिज चोक र पहिलेको वाणिज्य बैंकको चोक नजिकै आफ्नै खर्चमा एउटा कटेरो बनाएका थियौं। हामीले जग्गाको भाडा तिरे पुग्थ्यो। मासिक ६ सय (रुपैयाँ) भाडा थियो। मैले त्यसैमा खाजानास्ताको होटल चलाउन सुरू गरेँ। 
होटल एक्लै चलाउनुभयो? 
हो, म दिनभर एक्लै होटल चलाउँथेँ। मासु र अरू चिजवस्तु बुढा (श्रीमान) ले ल्याइदिनुहुन्थ्यो। म गाउँघरबाट आएकी सोझीसाझी, इमानदार थिएँ। आफू इमानदार भए कसैले केही गर्न सक्दैन भन्ने लाग्थ्यो। नगरपालिका (कार्यालय) होटलको नजिकै थियो। अप्ठ्यारो परिगए दौडिँदै गएर बुढालाई बोलाउन सक्छु भन्ने हिम्मत थियो। 
त्यतिखेर रक्सी र मासु कति पैसामा बेच्नुहुन्थ्यो, तपाईंलाई सम्झना छ? 
सम्झना छ नि। बंगुरको मासु एक प्लेटको १६ रुपैयाँ थियो। अहिले एक प्लेटको १६० रुपैयाँ पर्छ। उतिखेर मैले बेच्ने लोकल रक्सी तुलसीपुरकै दमारगाउँका मानिसले ल्याइदिन्थे, २५० रुपैयाँमा १० लिटर दिन्थे। अहिले त पाँच लिटरको चार सय रुपैयाँ पर्छ। 
होटलमा फाइदा कत्तिको हुन्थ्यो? 
ठिकै हुन्थ्यो, बजारमा टिक्न सकिन्थ्यो। बुढाको तलब ७ सय आउँथ्यो, भाडा ६ सय तिर्नुपर्थ्यो कमाइ नभई कसरी टिक्नु र! 
होटल कति वर्ष चलाउनुभयो? 
त्यो ठाउँमा चार वर्ष चलायौं। त्यसपछि बाहिनी चोकमा सर्यौं। त्यहाँ पनि त्यस्तै टहरो बनाएर होटल गरेका थियौं। भाडा महिनाको ८ सय (रुपैयाँ) थियो। फेरि ६० सालतिर पहिलेको तल्लो सिनेमा हलनेर सारेका थियौं। 
त्यही बेला कान्छी बहिनीलाई जापानिज इन्सेफ्लाइटिस भयो। उपचारमा धेरै खर्च भएपछि हामीले होटल बेचिदियौं। 
होटल गरेर तपाईंले सिकेको कुरा के हो? 
मलाई होटलले बोल्न सिकायो। मान्छे चिन्न सिकायो। जग्गा किन्न पनि सिकायो। 
तपाईंलाई होटलमा आउनेमध्ये कस्ता ग्राहकसँग दिक्क लाग्थ्यो?
कोहीकोही ग्राहक रक्सी खाएपछि चर्को बोल्थे। खाएको बहानामा छाडा र फोहरी कुरा पनि बोल्थे। कोही पैसा नदिने पनि हुन्थे। झगडामा उत्रने ग्राहक पनि हुन्थे। त्यस्तासँग दिक्क लाग्थ्यो। 
होटल बेचेपछि के गर्नुभयो? 
होटल गर्दा नै नयाँ बसपार्कमा ३८ हजार (रुपैयाँ) मा ऐलानी जग्गा किनेका थियौं। पाको इँटाको घर बनाउँदा ८० हजार लाग्यो। त्यो घरमा ७–८ वर्ष अन्टी बस्नुभयो, कटाइसिलाइ गर्नुभयो। 
तपाईंहरूले चाहिँ के गर्नुभयो? 
होटल बेचेपछि हामी गाउँ गयौं। फेरि १० वर्ष गाउँमै बस्यौं। 
छोराछोरी पढाउन नयाँ बसपार्कको जग्गा बेचिदियौं। सुरूमा गाउँमा हाम्रो पाँच कट्ठा खेत थियो, त्यसमा २० हजारमा थप ५ कट्ठा पाखो बारी किन्यौं। पछिसम्ममा २६ कट्ठा पुर्याएका थियौं। केही वर्षपछि फेरि बेच्यौं। अब त बुढाको नाममा पाँच कट्ठा जति पाखो बारी होला। 
गाउँबाट फेरि कहिले बजार आउनुभयो त? 
हामी २०७० सालमा फेरि बजार आयौं। गाउँमा खेतीपाती गर्दा खानलाउन सस्तैमा पुग्थ्यो। हामी धान पनि बेच्थ्यौं तर गाउँको मेलमिलाप बिथोलिएपछि बजार फर्कियौं। फेरि पुरानै पेसा सुरू भयो। 
२०७३ सालमा चार लाखमा सुकौरा रोडको सिरानमा ऐलानी जग्गा किन्यौं। त्यसमा अहिले अढाइ तलाको घर छ। जेठी छोरी बसेर कटाइ–सिलाइ गर्छे। यो हामी बसेको जग्गा पनि ऐलानी हो। पाँच वर्ष भयो किनेको। 
यो ऐलानी जग्गा कोसँग किन्नुभएको? 
यहीँ नजिकै डुम्रीगाउँका खुसीराम चौधरीसँग। 
अरू पनि घरघडेरी छन् कि? 
छ, एकडेढ वर्षअघि यहीँ नजिकै साढे ७ धुर लम्मरी (धनीपूर्जा भएको) जग्गा ४५ लाखमा किनेका छौं। ऐलानीलाई बैंकले लोन (ऋण) दिने रहेनछन्। यस्ता जग्गाको केही भर हुँदैन भन्छन्। यी हाम्रा घर बाटो र चोकमा छन्, पछि बाटोले काट्यो भने आपत् नपरोस् भनेर लम्मरी जग्गा किनेका हौं। 
यो जग्गा त छोरा र जोडा (श्रीमान) को कमाइले किनेका हौं। मेरो पसलबाट खानलाउन सस्तोमा पुगिहाल्छ। 
अहिले तपाईंको श्रीमानको तलब कति छ? 
सञ्चयकोष काटेर ३५ हजार आउँछ। अझै उहाँको जागिर खाने समय ८ वर्ष बाँकी छ। 
तलब बुझेका दिन श्रीमानले तपाईंलाई पैसा दिनुहुन्छ? 
दिनुहुन्छ। नदिए गृहस्थी कसरी चल्दो हो! 
श्रीमानसँग कत्तिको ठाकठुक पर्छ? 
खासै पर्दैन। उहाँले बोलीले बोले पनि मलाई कहिल्यै हात उठाउनुभएको छैन। म मेरो जोडा र छोराछोरीबाट निकै खुसी छु। 
अब तपाईंको खास चाहना के छ? 
सबै पुगेकै छ। म खुसी छु। दुई वटा घर छन्। जोडाको जागिर छ। अब मलाई थप के चाहियो र! 
खानेलाउने कुरामा पहिले बैँसछँदा रहर लाग्थ्यो। अरूले लगाएजस्तै लगाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो। अहिले त्यस्तो रहर छैन। शरीर ढाक्ने सफा कपडा भए पुग्छ। अब मेरो चाहना एउटै छ– छोरो फर्किई आओस् र उसले बिहे गरोस्। अब बुहारी हेर्ने चाहना छ।
अहिले तपाईंसँग ठिक्कको पैसा भए के गर्थें भन्ने लाग्छ? 
व्यापारमा लगाउँथेँ, घरको तला थप्थेँ। 
तपाईंलाई मन पर्ने खाना के हो? 
म बंगुरको मासु खाँदिनँ। कुखुरा र खसीको मासु खान्छु। दालभात, तरकारी र चट्नी भए मलाई पुग्छ। 
रातिमा मजाले निद्रा लाग्छ? 
म त दिउँसै पनि निदाउँछु। खाना खाइसकेपछि त ग्राहक नहुँदा यहीँ कुर्सीमै निदाउँछु। 
कुनै स्वास्थ्य समस्या छ कि छैन? 
अरू त केही छैन। प्रेसर (उच्च रक्तचाप) को औषधि खान थालेको डेढ वर्ष भयो। 
तपाईंलाई साह्रै चित्त दुखेको कुनै क्षण सम्झना छ?
२०७० सालतिर गाउँकै एउटा ज्यान मुद्दामा मेरो बुढा पक्राउ पर्दा साह्रै नरमाइलो थियो। डेढ वर्ष जेल बसेपछि अदालतबाट सफाइ पाउनुभयो। 
तपाईंको जीवनको खुसीको क्षण कुन हो? 
आफूले मन पराएको जोडा पाउँदा धेरै खुसी भएँ। छोराछोरी राम्ररी जन्माउन सक्दा पनि खुसी लाग्यो। जोडा जेलबाट छुटेर आउँदा सबैभन्दा धेरै खुसी लाग्यो। त्यसपछि पनि जागिर भयो, झन् सुखी भएँ। 
जोडालाई ज्यानमुद्दा लागेका बेला मानिसले धेरै कुरा काट्थे। मनमा डर भरिदिन्थे। अब तेरो श्रीमान जेलमै सड्छ भन्थे तर मैले हिम्मत हारिनँ छोराछोरी पढाउँदै र उनीहरूको सहयोग लिँदै एक्लै होटल गरेँ। बचत गरेँ। 
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ? 
म जन्मेर हुर्केको बेलगनार गाउँमा थारूहरूका बीचमा अत्यन्त राम्रो सम्बन्ध थियो। राजनीतिले गर्दा २०६४ सालको चुनावपछि थारूहरूकै बीचमा झगडा हुन थाल्यो। आज पनि आफ्नै गोत्यारसँग बोलचाल छैन। प्रहरी प्रशासनले हाम्रो गाउँलाई खराब सूचीमा राखेको थियो।
त्यसपछि मलाई मेरै गाउँ मन पर्न छोड्यो। दिदीबहिनी भेट हुँदा हामी निकै रमाउँछौं। यता बजारको टोल समाज राम्रो छ। 
तपाईंले गएको चुनावमा भोट दिनुभयो? 
दिएँ नि, मान्छे म चिन्दिनँ तर सूर्यमा भोट दिएकी हुँ। श्रीमानले दिनू भनेकै ठाउँमा दिएकी हुँ। मान्छे को उठ्छ मतलब छैन, बुढाले जे भन्छन् त्यसैमा हुन्छ। 
नेताको के कुरा मन पर्दैन? 
भोट माग्न आउँदा सानो बनेर आउँछन्, त्यसपछि हामीलाई चिन्दैनन्। हाम्रो कुरा पनि सुन्दैनन्। 
राज्यले के गरिदिएहुन्थ्यो जस्तो लाग्छ? 
बाटोहरू अलिक राम्रो बनाइदिए हुन्थ्यो। रिफर नहुने गरी तुलसीपुरमै सबै उपचार गर्न मिल्ने अस्पताल बनाइदिएहुन्थ्यो।