(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
कालीबहादुर घर्ती ५३ वर्ष उमेका भए। हालैको एकदिन एक्लै आफ्नो घुम्ती पसलमा थिए। उनको मोबाइल फोनमा गीत बज्दै थियो– अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा...।
उनी दाङको तुलसीपुर उपमहानगरपालिका–६, गोलौरामा घर किनेर बस्न थालेको केही महिना भयो। घुम्ती पसल सुरू गरेको महिना दिन जति भयो।
उनी किशोर उमेरमै भारत पुगे। फर्केर आएपछि बिहे भयो। फेरि विदेश पुगे। अहिले खाली बस्नुभन्दा केही काम गर्नु राम्रो भनेर सानो पसल सुरू गरेका छन्। हामीले उनै कालीबहादुरसँग कुरा गरेका छौं।
कस्तो छ तपाईंलाई?
ठिक छ, जीवन चलेकै छ। दिनभर यहीँ घुम्ती (पसल) मा बस्छु। खासै ग्राहक आउँदैनन्, फाइदा पनि उति हुँदैन। घरमा काम केही छैन। त्यसै बसिरहन दिक्क लाग्छ। पसलमा बस्दा कोही मान्छे आए गफ गरेर भुल्ने र दिन काट्ने मेसो मिल्छ।
मोबाइलमा कति मिठो गीत बजेको! दिनभरि गीत सुन्नुहुन्छ?
जीवन भोगाइको यथार्थमा डुब्न पाउँदा गीतको पात्र पनि मै हुँ कि जस्तो लाग्छ। रमाइलो लग्छ।
मस्त रमाइलो छ है जीवन?
हो, जीवन जस्तो सोच्यो उस्तै हुन्छ। भोगाइमा भर पर्छ। भर्याङ माथिबाट हेर्दा र तलबाट हेर्दा फरक–फरक देखिन्छ नि! जीवन पनि त्यस्तै हो। मानिस जहाँ जस्तो अवस्थामा भए पनि रमाउन सक्नुपर्छ। यो संसारमा भरिपूर्ण को छ र! कसलाई सबै चिज पुगेको छ र! सम्भव नहुने कुरा किन सोचिबस्नु! यो घुम्तीमा कोही ग्राहक नआउँदा पनि किन एक्लै गम्नु! किन चिन्ता लिनू!बरू गीत सुन्यो, त्यसैमा भुल्यो! एक्लो भएको जस्तो हुँदैन। न्यास्रो पनि हुँदैन। सबैतिर आनन्दै आनन्द देखिन्छ।
यो घुम्ती पसल सुरू गरेको कति भयो?
महिना दिन पुग्दै छ। छोरीको करले सुरू गरेको हुँ। यो घुम्ती पनि उसैले खोजिदिएकी हो।
यहाँ घुम्ती राखेको भाडा तिर्नुपर्छ कि पर्दैन?
अहिलेसम्म त तिर्नुपरेको छैन। यो जग्गा कसको हो भन्ने पनि थाहा छैन। म फोहोरमैला गर्दिनँ। अहिलेसम्म कसैले केही भनेको पनि छैन।
तपाईंकी छोरी के काम गर्छिन्?
छोरी सृष्टि राप्ती बबई क्याम्पसमा बिबिएस पढ्दैछे। एउटा ‘नेट अफिस’ मा काम पनि गर्छे। छोरीले सानोतिनो भए पनि आफ्नो काम गर्नुपर्छ बुबा भनेपछि यो घुम्ती पसल सुरू गरेको हुँ।
तपाईं अरू पनि केही के काम गर्नुहुन्छ कि?
म घरमा पेन्टिङको काम गर्छु तर यस्तो काम सधैं पाइँदैन। सधैं पाइए त राम्रै हुन्थ्यो। काम पाउन ठेकेदारको चाकरी गर्नुपर्छ। मलाई कसैको पनि चाकरी गर्न मन लाग्दैन।
अझै पहिला के काम गर्नुहुन्थ्यो?
मैले अनेकथरी काम गरेँ। सानै थिएँ, १३ वर्षको छँदा गाउँका मनिसहरूको लहलहैमा भागेर इन्डिया (भारत) पुगेँ, १२ वर्ष जति उतै बित्यो। मलाई बुवा दिलबहादुर घर्तीले इन्डियामा खोजेर घर ल्याउनु भएको हो।
मैले आफ्नै गाउँ सुकौराबाट केटी भगाएर बिहे गरेँ। त्यसपछि तुलसीपुरको नयाँ बसपार्कमा सानोतिनो खाजानास्ताको होटेल चलाएँ। त्यहाँ छाडेर अर्को ठाउँमा पनि चलाएँ। अलिक पछि साउदी अरब गएर आठ वर्ष काम गरेँ।
विदेश बस्दा कमाइ कस्तो भयो?
ठिकै भयो। विदेशको केही कमाइ र गाउँको जग्गा बेचेर आएको पैसाले गोलौरामा ४५ लाख जतिमा घर किनेका हौं।
अझै पनि गाउँमा जग्गा छ?
अब धेरै छैन। दुईतीन कट्ठा होला। त्यो पनि ऐलानी हो। जेठो छोरो विष्णु खेतीकिसानी गर्छ। जग्गा उसैले कमाउँछ।
आजकाल घरमा को को हुनुहुन्छ?
श्रीमती सावित्रा, छोरी सृष्टि, छोरो समीर र म सँगै बस्छौं। हालसालै छोराले बुहारी भित्र्याएको छ। जेठा छोराबुहारी छुट्टिभिन्न भएर बसेका छन्। उनीहरू तुलसीपुरको बेलगनार गाउँमा बस्छन्।
घरपरिवार, छोराछोरीबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्ट छु भन्नुपर्छ। श्रीमतीको अलिकति तनाव छ, बिरामी भइरहन्छे। अहिले पनि उपचारका लागि इन्डिया पठाएको छु। छोरो साइप्रस गएको थियो। त्यहाँ गएको वर्ष दिन नपुग्दै दुर्घटनामा पर्यो अनि फर्कियो। विदेश जाने लहडमा लाग्दा उसको पढाइ पनि बिग्रियो। छोरी मेहनत गरिरहेकी छ, मलाई हौसला दिन्छे।
तपाईंको स्वास्थ्य कस्तो छ? राति मजाले निदाउनुहुन्छ?
एकपटक किशोर अवस्थामै पराल झार्न गोठमा चढेका बखत लडेको थिएँ। अलिक कडा काम गर्दा कहिलेकाहीँ ढाड दुख्छ। त्यसबाहेक मेरो स्वास्थ्य ठिक छ। राति निद्रा पनि गज्जबले लाग्छ। बेलुका आफैले बनाएको जाँडको झोल एक गिलास खाइदिन्छु।
ए, जाँड पनि बनाउनुहुन्छ?
श्रीमती योगीकी छोरी हो। उसलाई मैले नै जाँड बनाउन सिकाएको हुँ। ऊ छँदा उसैले बनाइदिन्छे, ऊ नहुँदा म आफै बनाउँछु। घरमै जडीबुटीको औषधि तयार हुन्छ। त्यसले स्वास्थ्यमा राम्रो गर्छ।
खाने कुरामा सबैभन्दा धेरै के मन पर्छ?
दालभात र हातले पिसेको चटनी मन पर्छ।
तपाईंलाई सबैभन्दा बढी के काम गर्न मन लाग्छ?
फुर्सदको समयमा मलाई नदी र खोलामा गएर माछा मार्न मन पर्छ। म जाल हान्छु, बल्छी पनि खेल्छु। यो घुम्ती पसल हुनुभन्दा पहिला म माछा मार्थें। काम नभएको दिन दिनभर माछा मार्यो अनि बेलुकी घर परिवारलाई खुवायो!
मलाई फुटबल र भलिबल खेल हेर्न पनि खुब मन पर्छ।
तपाईंको सबैभन्दा बढी खुसीको पल कुन हो?
म बिहे गर्दा खुब खुसी भएको थिएँ। तीन वर्षअघि नाति जन्मिँदा पनि धेरै खुसी लाग्यो।
तपाईंको दुःख क्षण पनि छ कि?
छ नि! जीवनमा सुख मात्रै त कसको भागमा हुन्छ र! आमा हरिकलालाई बचाउन इन्डियामा महिना दिन जति उपचार गराएँ। शरीर सुन्निने समस्या थियो। उपचार गरेर निको भएपछि घर फर्किंदा तुलसीपुर नजिकै अमेलिया लेकमा आमा बित्नुभयो। त्यस दिन साह्रै दुःख लाग्यो। त्यसको केही वर्षपछि बुबा पनि बित्नुभयो। आमाबुबा बितेको समय साह्रै दुःखको हुँदो रहेछ।
बढी होइन, साथमा ठिक्कको पैसा भए के गर्थें भन्ने लाग्छ?
अलिक ठूलो पसल गर्थें। राम्रो ठाउँमा श्रीमतीको उपचार गराउँथेँ। छोरीलाई धेरै पढाउँथेँ। बेलुकीपख मेरो आँखा मधुरो हुन्छ, आँखाको उपचार पनि गराउँथेँ।
तपाईंको मनमा गढेर बसेको केही कुरा छ कि?
छ नि! म जन्मेको ठाउँ यही तुलसीपुरको पैँयाखोरे हो। उतिखेर पातुखोलामा हाम्रो डेढ बिघा जग्गा रहेछ। बुबा खाना खाइवरी खेतमा गएर दाइँ मारीकन घर जानुहुन्थ्यो रे। २०२८ सालतिर बुबाले बबई नदीनजिक बेलगनार र सुकौराको सीमानामा परिवार सार्नुभएछ।
तुलसीपुर बजारनजिक उत्तरतर्फको पातुखोलाको त्यो जग्गा नफालेको भए आज जीवन अलग हुन्थ्यो भन्ने लाग्छ। उतिखेर बुबाले राम्रै सोचेर परिवार बेलगनार सार्नुभएको थियो होला। भाग्यको खेला हो कि जस्तो पनि लाग्छ।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
मलाई आफू राम्रो भए सबै राम्रा हुन्छन् जस्तो लाग्छ। दुःखको बेला कसैले साथ दियो भने मनमा ढुक्क हुन्छ, एक्लो भएजस्तो हुँदैन। समाज सहयोगी नै छ।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
त्यसको निश्चित हुँदैन। उम्मेदवार अनुसार हुन्छ। कहिले कांग्रेसलाई, कहिले एमालेलाई।
यतिखेर चुनाव भए कसलाई भोट दिनुहुन्थ्यो होला?
त्यो पनि उम्मेदवारमा भर पर्छ।
राज्यले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
सुन्नुहोस्! मैले अरूले उत्पादन गरेको वस्तु बेच्नु परेको छ। हामीले हाम्रो उत्पादन निर्धक्क बेच्न पाउनुपर्ने हो। सरकारले हामीले घरमा बनाउने रक्सीमा प्रतिबन्ध लगाएको छ अनि विदेशी रक्सी खुलमखुला बेच्न दिएको छ। यो न्यायोचित होइन।
हामी जनजातिले आफ्नै खपतका लागि उत्पादन गर्ने घरेलु जाँड र रक्सी बजारको रक्सीभन्दा उच्च कोटीको हुन्छ। हाम्रो पुर्ख्यौली खानपान र सिपमा राज्यले लगानी सहयोग गरेर ब्रान्डिङ गर्नुपर्छ भन्ने लाग्छ।
यसो गर्ने हो भने हामीले घरमा बनाएको रक्सी बिक्री हुने थियो। विदेशको महँगो रक्सीमा देशको पैसा खर्च हुने थिएन। हाम्रो पुर्ख्यौली सिपबाट कमाइ हुने थियो।