(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
६० वर्षीय शेरबहादुर पुन तुलसीपुरका ग्रामीण भेगमा चटपटे बेच्छन्। तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुर घर भए पनि दशकयता उनी छोरी पढाउन भन्दै रजौरामा डेरा गरी बस्दै आएका छन्। शिक्षा आयोग लडिरहेकी छोरीले छिट्टै जागिर पाए हुन्थ्यो भन्ने उनको एउटै सपना छ। उनैसँग गरिएको कुराकानी:
कस्तो छ तपाईंलाई? दिनचर्या कसरी बितिरहेको छ?
मलाई एकदमै राम्रो छ। दिनभर यो ठेला गुडाउँदै चटपटे बेच्छु। दैनिक अढाइ सयदेखि तीन सयसम्मको कारोबार हुन्छ। खर्च कटाएर दैनिक ५० देखि १०० रूपैयाँ बचत हुन्छ। त्यति भए मलाई दालभात खान आनन्दले पुग्छ।
यो बाहेक अरू पनि केही काम गर्नु हुन्छ कि?
अरू काम गर्दिनँ। बस मेरो यो दुःख छोरीका लागि मात्रै हो। उनैलाई सहयोग पुग्ने काम गर्छु।
छोरी कहाँ र कतिमा पढ्छिन्?
२१ वर्षीया मेरी छोरी सरस्वती राप्ती बबई क्याम्पसमा बिए चौथो सेमेष्टरमा अध्ययनरत छिन्। छोरी मेहनतका साथ पढिरहेकी छिन्। शिक्षिका बन्ने उनको सपना छ। शिक्षिकाको लाइसेन्स उत्तीर्ण गरिसकेकी छन्। शिक्षा आयोग लडिरहेकी छन्। छोरीले शिक्षा आयोगमा नाम निकालेको दिन मेरो पनि सपना पूरा हुनेछ।
तपाईंले दैनिक रूपमा कमाउने ५०/१०० रूपैयाँले छोरी पढाउन पुग्छ त?
हैन, मैले उनकी आमा पबीको मृत्यु हुँदा नै छोरीको शिक्षादिक्षाका लागि भनेर एक लाख रूपैयाँ बैंकमा फिक्स्ड डिपोजिट गरिदिएको थिएँ। त्यसबाट पनि अलिअलि पैसा आउँछ। हामी बुद्धि नभएका नेपाली हौं। हामीलाई आफ्नै ठाउँमा सजिलो काम गर्न उतिखेर लाज मान्ने गलत प्रवृत्ति थियो। ढिला गरी भए पनि अहिले काम ठूलो सानो हुँदैन भन्ने सदबुद्धि पलाएको मान्नु पर्छ।
चट्पटे आफै बनाउनु हुन्छ? कतिखेर बनाउनु हुन्छ?
हो, मैले आफै बनाउनु छु। केराउ, चाउचाउ, मटर, हरियो खुर्सानी र आवश्यक मसला म आफै घरमै तयार पार्छु। रातिमा आवश्यक केराउ, मटरको तयारी गर्छु। बिहान सबेरै उठेर मरमसला घरमै पिँधेर तयार पार्छु। छोरी कलेज जान्छिन्। उनलाई डिस्टर्ब गर्दिनँ। कहिलेकाहीँ छोरी आफै सघाउन आउँछिन्। तर मेरो बाँच्ने आधार अरू छैन। अर्को कुरा मैले कुनै पनि स्वास्थ्यका लागि हानिकारक कुराहरू किनेर मिसाउदिनँ। बरू म सम्भव भएजति सबै वस्तुहरू घरमै बनाउने गर्छु।
तपाईंको पुर्ख्यौली घर कहाँ हो?
मेरो जन्म घर सल्यानको लुहाम हो। छोरी सरस्वती जन्मेको ३ वर्षमा हामी दाङ झरेका थियौं।
बैंश छँदा तपाईं के गर्नु भो?
मेरो कथा कुनै चलचित्रको कथा भन्दा कम छैन। उतिखेर अहिलेको जस्तो मोटरबाटो थिएन। म १३ वर्षको छँदा मामासँग पैदल हिँडेर शारदा खोलैखोला बुरान पुगेको थिएँ। बर्दिया कैलानी जानुलाई उतिखेर बुरान भन्थेँ। हामी दुई रात बाटोमा बसेर पुगेका थियौं। तर मलाई कैलाली मन परेन। त्यहाँबाट म एक्लै नेपालगञ्जतर्फ लागेँ। मलाई एक्लै देखेपछि अञ्चलाधीशको कार्यालयमा काम गर्ने एक जना दैलेखका कर्मचारी धनसिंह रानाले आफ्नो कोठामा लगे। भात पकाउने काम लगाए। रानाले पियनको जागिर लगाइदिम्ला भनेका थिए। ६ महिनासम्म पनि केही काम नलगाइदिएपछि एकदिन मैले उनीसँग गुनासो गरेँ।
अर्को दिन उनले सहायक अञ्चलाधीश रामचन्द्र बराललाई भनेर पियनको जागिर लगाइदिए। २ वर्ष पियनको जागिर गरेपछि म १५ वर्षको भएँ। अनि त्यो जागिर पनि छोडेँ। अञ्चलाधीशले धेरै सम्झाउँदा पनि मैले मानिनँ। उनले त सरूवा चाहिएको भए जहाँ भन्यो त्यही पिलेनमार्फत् पठाइदिन्छु भनेका थिए। उनका छोरीहरू मात्रै थिए। धर्म छोरा बनाउने प्रस्ताव समेत गरेका थिए मलाई भने काम गर्न मनै लागेन। जति सम्झाउँदा पनि मैले नमानेपछि नेपाल अधिराज्यभर जहाँ गए पनि पियनको जागिर खान मिल्ने सिफारिसपत्र दिनु भएको थियो।
किन छोड्नु भो त्यो जागिर?
मैले हिरो बन्ने सपना देखेको थिएँ। मलाई कसैले भारतको बम्बै गए हिरो हुन पाइन्छ भन्ने कुरा भनिदिएको थियो। त्यही बहकाउमा लागेर म १५ वर्षको उमेरमा मुम्बई लागेको हुँ। मलाई बराल सरले मुम्बै नजाऊ दुःख पाउँछौं भनेर कति सम्झाउँदा पनि मानिनँ। त्यो बेला त हिरो हुने भूत ममा सवार थियो।
मुम्बई गएपछि के गर्नु भो?
मैले बम्बै गएपछि सयौं घोडा पाल्ने एउटा बिपी भन्ने मानिसको बारेमा सुनेँ। त्यहाँ गएँ। उनका छोराहरू सिनेमामा फाइट मास्टरको काम गर्थे। हिरो बन्ने रहरले मैले घोडा सरसफाइको काम गर्न थालेँ। घोडा सरसफाइ गरे बापत साहुले खानासहित दैनिक पाँच रूपैयाँ तलब दिन्थे। सुटिङमा जाँदा ५० रूपैयाँ। त्यही क्रममा मिथुन चक्रबर्ती, सनी देवल, अमिताभ बच्चन, डेनी लगायतलाई भेटेँ। एक दिन डेनीको घोडाको काँठी मिलाउँदा मैले हिन्दीमै कुरा गरेँ। नेपाली भन्ने थाहा पाएर डेनीले नेपालीमै ‘ठीक छ, छाडिदेऊ, मिलाउनु पर्दैन’ भनेका थिए।
किन छोड्नु भो घोडा सरसफाइको काम?
एकदिन काठमाडौंबाट एकजना नेपाली सिनेमाका सहायक डाइरेक्टर मुम्बै सुटिङका क्रममा भेटिए। नेपाली युवक देखेपछि उनैले मेरोबारे सोधिखोजी गरेछन्। आफू हिरो हुन भनेर आएको कुरा उनलाई पनि नढाँटी भनेँ। उनले कति पढेका छौ भनेर सोधे। 'पढेको छैन' भनेपछि उनले मलाई सम्झाए। 'यहाँ तिमी हिरो बन्न सम्भव छैन त्यसैले यसरी घोडाको मल सोरेर नबस, नेपालीको बेइज्जत नगर' भने। बरू अरू नै केही काम गरी नेपालीको इज्जत जोगाऊ भनेर सम्झाए।
अनि, के भो? तपाईंले घोडा सरसफाइको काम छोड्नु भयो?
मलाई त्यो कुरा एकदमै ठिक लाग्यो। रातभर सोचेँ र अर्को दिनदेखि करिब ६ वर्षदेखि गर्दै आएको घोडा सरसफाइको काम छोडिदिएँ।
त्यसपछि के काम गर्नु भयो?
म त पुनमगरको बच्चा। जुँगादारी केही आएका थिएनन्। चौकीदारी काम गर्न खोजे पनि कलिलै केटो छ भनेर कसैले काम दिन मानेनन्। अनि मलाई नेपाली दाजु भाइले जुँगादारी केही नभए पनि ब्लेडले सधैं खुर्क भनेर सम्झाए। मैले त्यसै गरेँ। केही समयपछि अलिअलि दारी जुँगा आउन थाले। लगत्तै मैले चौकीदारीको काम पाएँ। त्यसपछि त थप १८ वर्षसम्म म मुम्बै नै बसेँ। १४ वर्षमा गएको म ३३ वर्षपछि बल्ल सल्यानको लुहामस्थित घरमा पुगेँ।
त्यसपछि के भो?
बम्बै पो म युवक नै थिएँ। पहाड जाँदा म मलाई सबैले बुढो भने। बिहे गर्ने केटी पाउनै मुस्किल पर्यो। तर गाउँमै एक जना महिलासँग मेरो भेट भो। गाउँलेका कुरा सुनेर वाक्क दिक्क म हतारिए भित्र्याएँ। पछि पो थाहा भो उनी त अर्कैको श्रीमती रहिछन्। आर्मीसँगको सम्बन्ध बिग्रेपछि छोरी लिएर माइतीमा बस्दै आएकी रहिछन्। उनलाई छोरीसहित मैले घरमा भित्र्याउनु परेको थियो। हामीले बिहे गरेपछि छोरी सरस्वती जन्मिइन्। अहिले ती छोरी बिहे गरेर गइसकेकी छन्। पबी मदिराको अम्मली थिइन्। धेरै रक्सी खान्थ्यो। विमार लाग्यो गम्भीर अवस्थामा पुगिन्। त्यतिखेरै हो मैले अम्बापुरको जग्गा बेचेको। ६ कठ्ठा जग्गा बेचेर श्रीमतीलाई उपचारका लागि क्यान्सर अस्पताल भरतपुर चितवन लगेको थिएँ। खर्च बेसी भयो। तर उनी बाँचिनन्। त्यही जग्गा बेचेको पैसामध्ये एक लाख मैले छोरी सरस्वतीको पढाइको लागि भनेर बैंकमा जम्मा गरेको थिएँ। त्यसैबाट सरस्वतीको शिक्षा सहज भएको हो।
अब तपाईंको नाममा कति जग्गा छ?
जम्मा दुई कठ्ठा घरबास सहितको जग्गा मात्रै छ। कच्ची घर छ। छोरीको पढाइको लागि त्यसमा ताल्चा लगाई डेरामा बस्दै आएका छौं। आफ्नो लागि भन्दा पनि त्यो जग्गा छोरीका लागि हो। उसलाई भविश्यमा दुःख नपरोस् भनेर हो।
छोरीले सुख दिएकी छन् तपाईंलाई?
सुख छ। उसले बाबा अहिलेसम्म मेरो लागि दुःख गर्नु भएको छ शिक्षा आयोगमा नाम निस्के म दुःख गर्छु भन्छिन्। त्यसपछि तपाईं केही गर्न पर्दैन भनेकी छ।
तपाईंलाई सबभन्दा बढी के गर्न मन लाग्छ नि?
मलाई स्वतन्त्रपूर्वक आफ्नै सुरमा काम गर्न मजा लाग्छ। आजकल घाम ढल्किन लागेपछि रिक्सा चलाउँदै साना नानीहरूलाई चटपटे बेच्न पाउँदा खुसी लाग्छ। अरूले थोरै पैसाको दिँदैनन्, तर म त साना बालबालिका कसैसँग पैसा धेरै छैन भने ५ र १० रूपैयाँको चटपटे पनि दिन्छु। कति बालबालिका मलाई पनि दिनु न भन्दै हात थाप्छन्। पैसा छैन भने पनि त्यत्तिकै दिन्छु। उनीहरू आशिक दिन्छन्। खुसी लाग्छ। त्यस्तै मलाई मन्त्र जप गरी बस्न पनि बडा खुसी लाग्छ। म सन्तराम पालजी महाराजको भक्त हुँ।
खाने कुरा के मन पर्छ?
करेलाको तरकारीसँग रोटी। आजकल त धेरै महंगो छ करेला। एक पाउ भए पनि किनेर एक दुई दिन बिराउँदै खाइरहन्छु।
तपाईंको स्वास्थ्य कस्तो छ? मज्जाले निन्द्र पर्छ नि?
स्वास्थ्य ठीक छ। पहिले अलिकति पहेंलो रोग देखिएको थियो अब छैन। मज्जाले निदाउँछु। कुनै तनाव छैन। म त आजकल चर्को गर्मी हुनाले खानापछि दिउँसो पनि सुत्छु।
तपाईं धेरै खुसी भएको कहिले हो?
छोरी जन्मिँदा। पछिल्लो पटक भने छोरीले प्लस टु पास गर्दा।
दुःख लागेको पल?
श्रीमती बित्दा।
तपाईंको साह्रै चित्त दुखेको कहिले हो? के कुराले हो?
पहिलो श्रीमती अत्यधिक मदिरा खाने। त्यसैले उनको मृत्यु भयो। धन पैसा पनि गयो। कति ठाउँमा लाज पनि सहेँ। उनको मृत्युपछि छोरीकै आग्रहमा आफन्तले खोजिदिएकी अर्की महिला ल्याएँ। उनी पनि त्यस्तै जँडिया रहिछन्। तीन वटी बच्चाको आमा हुँ भन्थिन्। उनीसँग भने मलाई जिन्दगी बिताउन मन भएन। यही कुरा उसलाई मैले सम्झाएँ अनि आफै एक दिन सुटुक्क भागिछन्।
अझै बिहे गर्ने चाहना छ कि?
छैन, पटक्कै छैन। मैले चेतेँ।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
समाज सहयोगी लाग्छ।
तपाईंलाई ठिक्क पैसा पर्ने के किन्न मन छ?
म छोरीको भविष्यको लागि राख्थेँ र बच्यो भने आश्रमका लागि दान दिन्थेँ।
अघिल्लो निर्वाचनमा कसलाई भोट हाल्नु भाथ्यो र किन?
एमालेलाई। गरिबको पार्टी हो र उसले वृद्धभत्ता दिन्छ।
यतिखेर चुनाव भोट हाल्नु हुन्छ?
त्यो अबका उम्मेदवारमा भर पर्छ।