(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
वीरेन्द्रनगर–९ लाटीकोइलीका गगन राना होटल क्षेत्रमा रोजगारी गर्न थालेको ८ वर्ष बढी भयो। किशोरावस्थादेखि होटल क्षेत्रमा काम गर्न थालेका गगन अहिले सुर्खेतको भ्याली भ्यू होटलको सिनियर क्याप्टेन छन्। उनको धेरैजसो समय होटलको रेष्टुरेन्ट, बार, क्याबिनमा बित्छ।
होटलमा ग्राहकका रूपमा आउने पाहुनालाई सन्तुष्ट बनाउनु होटलको जति दायित्व हुन्छ, त्यति समयमै सेवा प्रवाह गर्ने जिम्मेवारी गगनको काँधमा छ। राति १२ बजेसम्म उनको ड्युटी हुन्छ। गगनले जुन होटलबाट रोजगारी सुरू गरे, त्यही होटलमा अहिलेसम्मको समय बिताइरहेका छन्।
उनीसँग मेरो भेट वीरेन्द्रनगर–१४ स्थित लादेमा रहेको भ्याली भ्यू होटलको शाखा ‘स्टे भ्याली भ्यू’ मा भएको थियो।
मैले गगनलाई सुरूमा सोधेँ।
काम कस्तो चलिरहेको छ? सजिलै छ कि गारो हुन्छ?
त्यस्तो त छैन। यति लामो समयसम्म यही होटलमा वेटरको रूपमा काम गरेँ। अहिले सिनियर क्याप्टेन भएको छु। आफ्नै घरपरिवार जस्तो लाग्छ।
परिवार कस्तो चलिरहेको छ?
स्वाभाविकै चलिरहेको छ। समस्या केही आएको छैन। सबै कुरा पुग्नुपर्छ, सबैभन्दा धेरै हामीसँग हुनुपर्छ भन्ने सोचाइ मेरो छैन। सौहार्दपूर्ण वातावरणमा परिवार सन्तुष्ट नै छौं।
परिवारमा को को हुनुहुन्छ?
बुवा, आमा, श्रीमती, छोराछोरी, भाइबुहारी सबै बस्छौं। दुई जना भाइ विदेशमा छन्।
मनोरञ्जनको क्षेत्रमा के कुरा मन पर्छ?
मलाई फिल्म हेर्न मन पर्छ। हलमा गएर हेरेको त धेरै वर्ष भइसक्यो। गोर्खा पल्टन फिल्मपछि हलमा गएर हेरेको छैन। मोबाइलमै फुर्सद भएको बेला फिल्म हेर्छु। फिल्मबाहेक म्युजिक भिडिओहरू पनि हेर्छु।
खानामा मनपर्ने कुन हो?
मलाई स्पेशल नेपाली खाना मन पर्छ। नियमितजसो खाने पनि त्यही हो। कहिलेकाहीँ रोटी खाइन्छ। त्यसबाहेक अरू मनपर्ने खाना भन्ने छैन।
स्वास्थ्यमा कुनै समस्या छ?
अहिलेसम्म स्वास्थ्यमा त्यस्तो समस्या देखिएको छैन। मौसमअनुसारको सामान्य रुघाखोकी बाहेकको समस्या आइलागेको छैन।
निद्रा राम्रोसँग पर्छ?
निद्रा त मजाले पर्छ। अब हाम्रो ड्युटी नै छिटोमा ११ बजे सकिने हो। कहिलेकाहीँ १२ पनि बज्छ। त्यसपछि निदाएँ भने बिहान ६ बजेपछि नै उठ्ने हो।
धेरै पैसाको होइन, ठिक्कको आफ्नो लागि वा अरूको लागि यही कुरा किन्न पाएको भएहुन्थ्यो भन्ने मनमा लागेको छ?
त्यस्तो केही छैन। तीन–चार महिनाको एकपटक आफ्नो वा परिवारको लागि कपडा किन्छु। त्यस्तो विशेष मन परेको यही किन्न पाएको भए हुन्थ्यो भन्ने मनमा लागेको छैन।
असाध्यै खुसी भएको समय याद छ?
खुसी त बेलाबेलामा भइयो होला। तर असाध्यै खुसी भएर बिर्सनै नसक्नेवाला कुनै त्यस्तो विशेष छैन। तर म २०६३ सालमा एसएलसी पास हुँदा भने जीवनमा अलि बेसी खुसी भएको थिएँ। त्यतिबेला मेरो कक्षाका हामी १३ जना मात्र पास भएको थियौं। म त्यसमध्येमा सेकेण्ड डिभिजनमा पास भएको हुँ।
साह्रै चित्त दुखेको कुनै समय वा घटना याद छ?
खास त्यस्तो त केही छैन। अहिलेसम्म दु:खी हुनुपर्ने समय आएको छैन।
यस्तो भइदिएको भए हुन्थ्यो भन्ने मनमा लागेको, तर पूरा नभएर मनमा पिरोलेको कुनै कुरा छ?
त्यस्तो केही छैन। आफ्नो क्षमताअनुसारको मात्र आश गरेको हुन्छु। त्यो पूरा भएकै छ अहिलेसम्म।
आफ्नो समाज र देशका बारेमा कस्तो सोच्नुहुन्छ?
देशमा त कोभिडका कारण आर्थिक मन्दी लागेको छ। त्यसलाई सुधार्न सकिएको छैन जस्तो लाग्छ। यसले गर्दा देशको वातावरण फरक बनेको छ जस्तो महसुस भएको छ। समाजमा त कुनै एक–दुई जना व्यक्तिको कुरालाई मैले मतलब गर्दिनँ। समग्रमा समाज सकारात्मक लाग्छ। म पनि समाजप्रति सकारात्मक छु।
देशको मन पर्ने नेता कोही छन्?
केपी ओली मन पर्छ।
गएको निर्वाचनमा कसलाई मत दिनुभयो?
त्यतिबेला एमालेका उम्मेदवारलाई भोट दिएको थिएँ।
अब चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
दलभन्दा पनि उम्मेदवार बनेका व्यक्ति कस्ता छन् र तिनका अजेण्डा कस्ता छन् भन्ने कुरामा भर पर्छ। मतदान भन्ने कुरा त गोप्य हुन्छ। आफूलाई यही कारणले यो उम्मेदवार राम्रो छ भन्ने लाग्यो भने उसैलाई मत दिने हो।