कुरा २०६० सालतिरको हो।
वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा. प्रकाशराज रेग्मी वीर अस्पतालमा काम गर्थे। साताको दुई दिन गंगालालमा बिरामी हेर्न पनि जान्थे।
उच्च रक्तचापका बिरामीलाई परामर्श र उपचारमा सधैं भ्याइनभ्याइ भइरहेको त्यो बेला एकाएक बिरामी संख्या घट्न थाल्यो। फलोअपमा आउन भनिएका बिरामीले कुनै खबर गरेनन्।
अस्पतालमा बिरामी संख्या कम हुनु सकारात्मक कुरा हो, तर डा. रेग्मीलाई चिन्ता पर्यो।
उनको चिन्ता उच्च रक्तचापका बिरामी नआएकोमा थिएन। तर आफूले निश्चित अवधिको औषधि दिएर फलोअपमा आउनू भनेका बिरामी एकाएक गायब हुँदा तिनको स्वास्थ्य के भयो होला भनेर उनलाई पीर परेको थियो।
भएछ के भने, भारतीय योगगुरू रामदेवको योगशिक्षा नेपालमा पनि लोकप्रिय हुँदै थियो। रामदेव भारतीय टेलिभिजन च्यानलहरूमा विभिन्न रोगबाट मुक्ति पाउने अचुक उपाय भन्दै योग सिकाउँथे। त्यही क्रममा योगबाट उच्च रक्तचापको समस्या जरैदेखि निर्मूल हुने र औषधि खानै नपर्ने प्रवचन दिइरहेका थिए।
बिरामीहरू रामदेवका तिनै योगशिक्षा र प्रवचन विश्वास गरेर फलोअप निम्ति अस्पताल आउन छाडेको डा. रेग्मीले थाहा पाए।
'बिरामीहरू यस्तरी पछि लागे, त्यसले त मान्छेको स्वास्थ्यमा उल्टै नकारात्मक असर पर्न सक्छ भनेर नेपाल र भारतमा मेडिकल क्षेत्रबाटै चर्को विरोध भयो,' डा. रेग्मीले भने, 'त्यही विरोधका कारण रामदेवले योग साधना गर्दा डाक्टरले दिएको औषधि पनि सँगसँगै खानुपर्छ है भन्न थालेका थिए।'
रामदेवले नै यस्तो सुझाव दिएपछि बल्ल बिरामीहरू फलोअपमा आएर डाक्टरले भनेअनुसार औषधि खान थालेको रेग्मी बताउँछन्।
यो घटनापछि रेग्मीले रामदेवलाई खुलापत्र भनेर किताब प्रकाशन गरे। त्यसमा उनले योग र उच्च रक्तचापसम्बन्धी विभिन्न सातवटा पत्र लेखेका छन्। रामदेव नेपाल आउँदा उक्त किताब हस्तान्तरण गरेको उनी सम्झन्छन्।
ललितपुरको झम्सिखेलमा मुटुरोग क्लिनिक चलाउने डा. रेग्मीसँग हामीले उच्च रक्तचापका बिरामीले के गल्ती गर्छन् भनेर कुराकानी गरेका छौं।
बिरामीका गल्तीमा प्रवेश गर्नुअघि उच्च रक्तचाप के हो, त्यो बुझौं —
मुटुले रक्तनलीमार्फत् शरीरभरि रगत पठाउँछ भन्ने त हामी सबैलाई थाहा छ। रगत पम्प गर्दा मुटु खुम्चिने र फुक्ने गर्छ। खुम्चिँदा मुटुबाट रक्तनलीहरूमा रगत जान्छ भने फुक्दा रक्तनलीहरूबाट मुटुमा रगत आउँछ। यसरी मुटुले आफ्नो काम गर्दा रक्तनलीहरूको भित्तामा पर्ने चाप नै रक्तचाप हो।
डा. रेग्मीका अनुसार रक्तचाप कहिल्यै स्थिर रहँदैन। शारीरिक र मानसिक कारणले रक्तचाप घटबढ भइरहन्छ। तर त्यो घटबढ निश्चित दायराभित्र हुनुपर्छ।
त्यो दायरा के हो त?
शरीरका रक्तनलीहरूमा रगत पम्प गर्दा जसै मुटु खुम्चिन्छ, त्यो बेलाको चाप अर्थात् प्रेसर सामान्यतया १२० हुनुपर्छ। यसलाई डाक्टरी भाषामा 'सिस्टोलिक प्रेसर' भनिन्छ भने सामान्य बोलीचालीको भाषामा 'माथिल्लो प्रेसर' भनिन्छ।
त्यही खुम्चिएको मुटु जब सामान्य अवस्थामा फर्कन्छ, त्यो बेलाको चाप ८० हुनुपर्छ। यसलाई डाक्टरी भाषामा 'डायस्टोलिक प्रेसर' भनिन्छ भने सामान्य बोलीचालीमा 'तल्लो प्रेसर' भनिन्छ।
रक्तचाप नाप्दा यी दुवै गणना गरिन्छ। त्यसैले १२०/८० हाम्रो सामान्य रक्तचाप हो।
रक्तचाप कम हुँदा ९०/६० र बढी हुँदा १३०/८० सम्मलाई पनि सामान्य नै मानिन्छ। योभन्दा बढी चाहिँ उच्च रक्तचाप (हाई ब्लड प्रेसर) हो। जस्तो — १४०/९० वा १५०/१०० लाई उच्च रक्तचापका रूपमा लिइन्छ।
अब कुरा गरौं, रक्तचाप किन बढ्छ?
रेग्मीका अनुसार उच्च रक्तचापको ९० प्रतिशत कारण जीवनशैलीसँग सम्बन्धित छ। यो हाम्रो अस्वस्थ खानपिन, धूमपान, मद्यपान, शारीरिक व्यायामको अभाव र मानसिक तनावले हुन्छ।
केही रक्तचाप रोगसँग सम्बन्धित छ। मिर्गौला रोग, हर्मोनसँग सम्बन्धित रोग, रक्तनली साँघुरिने समस्या, ट्युमर लगायत कारणले रक्तचाप बढ्छ। खासगरी युवा उमेरमै रक्तचाप भयो भने त्यसको कारण रोग हुन सक्ने डा. रेग्मी बताउँछन्।
'बीस वर्षभन्दा कम उमेरकालाई प्रेसर बढ्यो भने मिर्गौला खराब भएको हो कि, रक्तनली साँघुरो भयो कि वा ट्युमरहरू पो आए कि भनेर शंका गर्नुपर्ने हुन्छ,' रेग्मीले भने, 'तर जुनसुकै कारणले बढेको होस्, यो आफैंमा ठूलो रोग हो। हृदयाघातको ३०-४० प्रतिशत कारण उच्च रक्तचाप नै हो। यसले मृत्यु र महारोग पनि निम्त्याउन सक्छ।'
जीवनशैलीको कुरा गर्दा धेरैले बेवास्ता गर्ने तर सबैले ध्यान दिनुपर्ने नुन, चिल्लो, गुलियो खानेकुरा र जंक फुडमा हो। यस्ता चिज धेरै खाँदा उच्च रक्तचापको जोखिम बढ्छ। जंक फुडमै हामीले अत्यधिक खाने मैदाजन्य पदार्थले पनि धेरै रोग निम्त्याउने रेग्मी बताउँछन्।
यहाँ हामीले तीनवटा कुरा बुझ्नु जरूरी छ —
पहिलो, मैदा भनेको एकदमै प्रशोधित कार्बोहाइड्रेट हो। यसले शरीरलाई धेरै ऊर्जा दिन्छ। चाहिनेजति ऊर्जा शरीरले प्रयोग गर्छ, नचाहिने ऊर्जा बोसोका रूपमा जम्मा हुन्छ। त्यसैले चाउचाउ, बिस्कुट, चाउमिन, मःम लगायत मैदाबाट बनेका खानेकुरा धेरै खाइरहँदा कलेजोमा बोसो जम्मा हुन थाल्छ। कलेजोले थेग्न नसकेपछि बोसो मांसपेसीमा जम्मा हुन्छ।
दोस्रो, शरीरमा बोसो जम्मा हुँदै जाने क्रममा हाम्रो रगतमा पनि 'कोलेस्ट्रोल' भनिने चिल्लो पदार्थको मात्रा बढ्छ। कोलेस्ट्रोलको मात्रा धेरै बढेपछि रक्तनलीको भित्तामा जम्मा भएर बस्छ। यसले रक्तनली साँघुरिन्छ र रगत प्रवाहमा बाधा उत्पन्न हुन्छ। मुटुको मांसपेसीमा भएको रक्तनली पनि यसरी नै साँघुरियो र त्यहाँ रगत जान पाएन भने मुटुले काम गर्न सक्दैन। यसले हृदयाघात हुन्छ।
तेस्रो, कार्बोहाइड्रेटले हाम्रो शरीरमा ग्लुकोजको मात्रा बढाउँछ। ग्लुकोजलाई प्यान्क्रियाजले उत्पादन गर्ने इन्सुलिनले पचाउने काम गर्छ। हामी जति धेरै कार्बोहाइड्रेट खान्छौं, शरीरले उति धेरै इन्सुलिन उत्पादन गर्नुपर्छ। लगातार इन्सुलिन उत्पादन भइरहँदा त्यो थाकेर कामै नगर्ने अवस्था आउँछ। यस्तो अवस्थामा इन्सुलिन त बन्छ, तर त्यसले काम गर्दैन। काम नगरेपछि शरीरले उत्पादन गर्ने ग्लुकोज पच्दैन। ग्लुकोज नपच्दा सुगर (मधुमेह) रोग लाग्छ।
'प्रेसर, सुगर र कोलेस्ट्रोल- यी तीनैवटा रोगले हानि गर्ने भनेको हाम्रो रक्तनलीलाई हो। त्यसैले यी तीनटा रोगलाई दाजुभाइ भनिन्छ,' उनले भने, 'सुगर भएकालाई प्रेसर पनि छ भने त डबल खतरा हुन्छ।'
अब हामी उच्च रक्तचापले ल्याउने थप जोखिमबारे कुरा गरौं।
डा. रेग्मीका अनुसार रक्तचाप धेरै भयो भने मुटुलाई रगत पम्प गर्न गाह्रो हुन्छ। मुटुले काम गर्न नसकेको अवस्थामा फोक्सोमा पानी जम्न थाल्छ। त्यसपछि सास फेर्न गाह्रो हुन्छ। यसलाई 'हार्ट फेलिअर' भनिन्छ। उच्च रक्तचापकै कारण मस्तिष्कघात (स्ट्रोक) र मस्तिस्कको पक्षघात (ब्रेन ह्यामरेज) पनि हुन्छ।
'रक्तनली बन्द भएर हृदयाघात भएजस्तै मस्तिष्कको रक्तनली बन्द भएर स्ट्रोक हुने प्रक्रिया उस्तै हो,' उनले भने, 'रक्तचाप धेरै बढ्दा मस्तिष्कको रक्तनली नै फुट्न सक्छ। यो अवस्थालाई ब्रेन ह्यामरेज भनिन्छ।'
उच्च रक्तचापको अर्को खतरनाक परिणाम दृष्टि गुम्नु हो। कतिपयमा नाथ्री फुट्ने समस्या पनि आउँछ। रक्तचापले नाथ्री मात्र फुट्नुलाई डा. रेग्मी 'भाग्यमानी' भन्छन्। त्यस्ता बिरामीले सहजै उपचार पाउन सक्छन्। तर हृदयाघात र मस्तिष्कघात भयो भने उपचार गर्नै नभ्याइन सक्छ।
यहाँ हामीले बुझ्नुपर्ने कुरा के भने — रक्तचाप यति विन्दुमा पुग्दा नाथ्री मात्रै फुट्ने र त्योभन्दा बढी भए हृदयाघात वा मस्तिष्कघात हुने होइन। शरीरको जुन नसा कमजोर भयो, त्यही फुट्ने हो। मस्तिष्कको नसा कमजोर छ भने मस्तिष्कघात हुन्छ, आँखाको नसा कमजोर छ भने दृष्टि गुम्छ। र, जसको नाकको नसा कमजोर छ, उसको नाथ्री मात्र फुट्छ।
अब लागौं, मूल विषयतर्फ — उच्च रक्तचापका बिरामीले गर्ने मुख्य गल्तीहरू के के हुन्?
डा. रेग्मी रक्तचापलाई सबभन्दा बढी हेलचेक्र्याइँ गरिने रोग मान्छन्।
'हामीकहाँ धेरै मान्छे सुगर र कोलेस्ट्रोल भयो भने डराउँछन्, तर ब्लड प्रेसर अलि अलि बढेको छ भने खासै ध्यान दिँदैनन्। यसलाई रूघाखोकीजस्तै मामुली ठान्छन्,' उनले भने, 'यसको खासै लक्षण नहुने भएकाले पनि रक्तचाप बढेको थाहा हुँदैन। यही अज्ञानता र लापरबाही नै कहिलेकाहीँ मृत्युको कारण बन्छ।'
यहाँ धेरै मान्छेले पाल्दै आएको भ्रमको कुरा पनि गरौं।
धेरैले रिस उठ्यो भने रक्तचाप बढ्यो कि भनेर शंका गर्छन्। तर उच्च रक्तचापले रिस बढाउने होइन। रिस बढेपछि त्यसको असरले रक्तचाप बढ्ने हो। रिस भनेको एउटा नकारात्मक भावना हो। यस्तो भावनाले हाम्रो शरीरमा एक किसिमको हर्मोन उत्पन्न गर्छ। र, त्यही हर्मोनले रक्तचाप बढाउँछ।
हुन त रक्तचाप बढेर कतिपयलाई टाउको दुख्ने, चक्कर लाग्ने पनि हुन्छ। तर यी लक्षण सबैमा देखिँदैनन्। धेरैजस्तो अवस्थामा त केही लक्षणै देखिँदैनन्। यसले उच्च रक्तचापका बिरामी लापरबाह हुने र गल्ती गर्ने समस्या झनै बढ्छ।
डा. रेग्मीले आफ्नो ३५ वर्षको अनुभवका आधारमा उच्च रक्तचापका बिरामीले मुख्य गरी सातवटा गल्ती गर्ने बताए।
-1712313649.jpg)
पहिलो गल्ती
रक्तचापका बिरामीले गर्ने सबभन्दा पहिलो गल्ती नै नियमित रूपमा रक्तचाप नजाँच्नु हो।
हामीकहाँ बिरामी भएपछि मात्र वा कुनै लक्षण देखियो भने मात्र रक्तचाप जाँच्ने गरिन्छ। बेलाबेला जचाउने हो भने मात्र रक्तचाप बढेछ भन्ने थाहा हुन्छ।
'२५ वर्ष उमेर कटेपछि कम्तिमा वर्षको एकपटक रक्तचाप नाप्नुपर्छ। तर धेरैले त्यसो गर्दैनन्,' डा. रेग्मीले भने, 'यसले रक्तचाप छ भन्ने नै समयमा पत्ता लाग्दैन र उपचारमा ढिलाइ हुन्छ।'
रक्तचापको कुनै लक्षण नहुनाले पनि बिरामीबाट यस्तो गल्ती हुने उनी बताउँछन्।
'लक्षण नभए पनि लामो समयसम्म उच्च रक्तचाप पालेर बस्दा शरीरमा धेरै जटिलता उत्पन्न हुन्छ भन्ने सबैले बुझ्नुपर्छ,' उनले भने।
दोस्रो गल्ती
रक्तचापका सम्बन्धमा धेरैलाई एउटा भ्रम छ — एकचोटि यसको औषधि खान थाल्यो भने बीचमा छाड्नु हुन्न! बीचमै छाड्दा कलेजो र मिर्गौला बिग्रन्छ र दसथरी रोग लाग्नसक्छ!
यही भ्रम पालेर धेरैले उच्च रक्तचापको औषधि सुरू गरिहाल्न हिचकिचाउँछन्। कतिपयले त डाक्टरले औषधि खानू भनेर सल्लाह दिँदादिँदै पनि खाँदैनन्।
'रक्तचाप बढ्नेबित्तिकै औषधि खाइहाल्नुस् भनेर डाक्टरहरूले पनि भन्दैनन्। हामी सुरूमा मुख बार्न लगाउँछौं। कसरत गर्न सल्लाह दिन्छौं। त्यसबीच बेलाबेला रक्तचाप पनि जाँच गर्नू भन्छौं र एक-दुई महिनामा फलोअप निम्ति बोलाउँछौं,' डा. रेग्मीले भने, 'यसरी मुख बार्ने र कसरत गर्नाले रक्तचाप घट्दै गएको रहेछ भने त्यही जीवनशैली कायम राख्न सल्लाह दिन्छौं। औषधि दिँदैनौं।'
'तर धेरैले आफ्नो जीवनशैली परिवर्तन गर्न सक्दैनन्,' उनले अगाडि भने, 'मुख बार्न, नियमित कसरत गर्न, मोटो मानिसलाई आफ्नो ज्यान घटाउन निकै गाह्रो हुन्छ। सुर्ती, चुरोट खानेलाई त्यो लत छोड्न पनि गाह्रो हुन्छ। रक्सी पिउनेले पनि सजिलै रक्सी छाड्न सक्दैनन्। उनीहरू जीवनशैली सुधार्छु त भन्छन्, तर सक्दैनन्। त्यस्तो अवस्थामा भने औषधि नखाई हुँदैन।'
रेग्मीका अनुसार रक्तचाप सामान्य बढेको छ भने दुई-तीन महिना जीवनशैली परिवर्तन गरेर हेर्न सकिन्छ। तर जसको रक्तचाप १५० भन्दा माथि जान्छ, उसलाई जीवनशैली मात्र परिवर्तन गरेर काम चल्दैन। औषधि पनि सँगसँगै खानुपर्छ। १६० नै पुगेको छ भने त तुरून्तै औषधि सुरू गरिहाल्नुपर्ने उनी बताउँछन्।
डा. रेग्मीले आफ्नो एउटा अनुभव सुनाए —
केही समयअघि झम्सिखेलस्थित उनको क्लिनिकमा एक जना पुरूष जचाउन आएका थिए। डा. रेग्मीले उनको रक्तचाप नापे। बढेर १६०/१०० पुगेको रहेछ। रेग्मीले तुरून्तै औषधि खान सल्लाह दिए।
जबाफमा उनले भने, 'डाक्टरसाब अहिले मलाई केही लक्षण देखिएको छैन। छाती पनि दुखेको छैन। चक्कर पनि लागेको छैन। मलाई केही पनि भएको छैन। बरू म मुख बार्छु, कसरत गर्छु, यसो गर्दा औषधि नखाए हुन्न?'
'हुन्न,' रेग्मीले भने, 'तपाईंको प्रेसर १६०/१०० पुगेको छ। त्यसैले मुख बारेर, कसरत गरेर मात्र पुग्दैन। बरू औषधि खानुस्, मुख पनि बार्नुस् र कसरत पनि गर्नुस्।'
ती बिरामीले मुख बिगार्दै 'हुन्छ' भने। औषधि भने लगेनन्।
तीन महिनापछि उनलाई स्ट्रोक भयो।
'उच्च रक्तचाप छ भन्ने थाहा हुँदाहुँदै र डाक्टरले भन्दाभन्दै औषधि खान नमान्नु बिरामीको दोस्रो ठूलो गल्ती हो,' डा. रेग्मीले भने।
उनका अनुसार मुख बार्ने, व्यायाम गर्ने, समयमा सुत्ने, समयमै उठ्ने, योग गर्ने, शुद्ध पानी पिउने, फलफूल, सागसब्जी खाने लगायत जीवनशैली सुधारले पनि रक्तचाप नियन्त्रणमा रहन सक्छ, तर निको पार्न औषधि नै खानुपर्छ।
एकै परिवारमा चार पुस्तासम्मका बिरामी हेरेको अनुभव बाँड्दै उनले अगाडि भने, 'सल्लाह नमान्दा कसैलाई प्यारालाइसिस भएको छ, कसैको आँखा गुमेको छ, कसैको किड्नी फेल भएको छ। यस्ता कयौं घटना मैले देखेको छु।'
-1712313650.jpg)
तेस्रो गल्ती
रक्तचापको औषधि खाएपछि डाक्टरले भनेको समयमा फलोअपमा नआउनु बिरामीले गर्ने तेस्रो गल्ती हो।
रेग्मीका अनुसार रक्तचाप नियन्त्रणमा नभएकाहरूलाई महिना-महिना बोलाएर औषधिको मात्रा मिलाउनुपर्छ। जसको नियन्त्रणमा आइसकेको छ, उसलाई पनि तीनदेखि छ महिनामा फलोअपमा बोलाइन्छ। तर धेरै बिरामी डाक्टरले बोलाएको बेला जाँदैनन्। यसले औषधिको मात्रा कि त चाहिनेभन्दा बेसी वा चाहिनेभन्दा कम हुन सक्छ।
रक्तचाप नियन्त्रणमा आइसकेका बिरामी पनि फलोअपमा नजाँदा कुनै बेला बढेको हुनसक्छ, जुन उपचारबिना थाहा पाइँदैन।
'आज कन्ट्रोल छ, भोलि बढ्न सक्छ। आज सुगर छैन, भोलि देखिन सक्छ,' उनले भने, 'त्यसैले नियमित फलोअपमा बस्नुपर्छ।'
बीस वर्षअघि भारतीय योगगुरू रामदेवले भनेकै भरमा उच्च रक्तचापका बिरामी फलोअपमा नआउँदा र भटाभट औषधि खान छाड्दा तिनैमध्ये कतिपयलाई स्ट्रोक र हृदयाघात भएको उनले बताए।
'त्यस्तो प्रवृत्ति अझै पनि छ,' उनले भने।
चौथो गल्ती
शरीरको विस्तृत स्वास्थ्य परीक्षण नगराउनु चौथो गल्ती हो।
डा. रेग्मीको अनुभवमा उच्च रक्तचापका धेरै बिरामी त्यस्ता छन्, जो रक्तचापको मात्र परीक्षण गराउँछन्; विस्तृत स्वास्थ्य परीक्षण गराउँदैनन्।
'विस्तृत परीक्षणबाट मात्र उच्च रक्तचापसँगै अरू रोगहरू छन् कि छैनन् भन्ने थाहा हुन्छ,' उनले भने, 'तर पैसा धेरै खर्च हुन्छ भनेर मानिसहरू विस्तृत परीक्षण गराउन खोज्दैनन्। यसले अरू समस्या निम्तिन्छ।'
उनका अनुसार प्रेसर, सुगर र कोलेस्ट्रोल सँगसँगै हुने सम्भावना उच्च हुन्छ। त्यही भएर प्रेसरको औषधि सुरू गर्नुअघि विस्तृत स्वास्थ्य परीक्षण गराउनुपर्छ। सुगर र कोलेस्ट्रोल पनि रहेछ भने त्यसको औषधि खानुपर्छ। मुटुको धड्कन छिटो छ भने त्यसलाई सामान्य गराउनुपर्छ र त्यसका लागि पनि औषधि मिलाउनुपर्छ।
'प्रेसरको औषधि पनि फरक फरक हुन्छ। धेरैजसो बिरामीले एम्लोडिपिन मात्र खाइरहेका छन्,' रेग्मीले भने, 'उच्च रक्तचापसँगै मिर्गौलाबाट प्रोटिन निस्केको छ, मुटुको धड्कन बढेको छ भने अर्को औषधि पनि दिनुपर्छ।'
'ब्लड प्रेसर मात्र भएको मान्छेलाई हृदयाघात हुने सम्भावना जति हुन्छ, सुगर पनि छ भने हृदयाघात र स्ट्रोक हुने सम्भावना दोब्बर हुन्छ,' उनले अगाडि भने, 'अझ त्यो मान्छेलाई कोलेस्ट्रोल पनि रहेछ भने त हृदयाघात र स्ट्रोकको खतरा चार गुणा बढ्छ। त्यसमाथि उसले चुरोट खाइदियो भने आठ गुणा बढ्छ।'
'यी सब बुझेर समय-समयमा विस्तृत स्वास्थ्य परीक्षण गराउने हो भने शरीरमा घर बनाउँदै गरेको रोगलाई समयमै चिनेर उपचार गर्न सकिन्छ,' उनले भने।
पाँचौं गल्ती
डा. रेग्मीका अनुसार नछुटाइकन रक्तचापको औषधि खाइरहने बिरामीहरू पनि छन्। त्यस्ता बिरामी डाक्टरलाई देखाउन आउँदैनन्। औषधि बिक्रेताले जे दियो, त्यही लगातार खाइरहन्छन्। एउटै औषधिको भरमा जिन्दगी बिताइदिन्छन्।
यसरी डाक्टरलाई उपचार नगराई बिक्रेताकै भरमा औषधि खाने प्रवृत्तिलाई उनी पाँचौं गल्ती मान्छन्।
'डाक्टरहरू उपलब्ध नहुने गाउँठाउँमा मात्र होइन, नाकैमा विशेषज्ञ डाक्टर भए पनि औषधि पसलमा गएर एम्लोडिपिन किनेर खानेहरू आज पनि छन्,' उनले भने, 'यसो गर्दा सही औषधि वा चाहिने मात्राको औषधि नपरेको हुनसक्छ।'
'ब्लड प्रेसरका एकथरी औषधिले मिर्गौलासँगै आँखा र मुटु बचाउँछ। अर्कोथरी औषधिले प्रेसर मात्र घटाउँछ। त्यो त्यति प्रभावकारी हुँदैन,' उनले भने।
औषधिका साइड-इफेक्ट पनि हुन्छन्। खुट्टा सुन्निनु, मुटुको धड्कन बढ्नु, गिँजा सुन्निनु केही साइड-इफेक्ट हुन्। एकथरी औषधिले खोकी पनि लाग्छ। कुनै औषधि दम गराउने हुन्छ। केही औषधिले मान्छेको यौनशक्तिलाई असर गर्छ। शरीरमा नुनको मात्रा घटाउने र युरिक एसिडको मात्रा बढाउने पनि हुनसक्छ। यस्ता साइड-इफेक्ट देखियो भने समयमै रोक्नुपर्छ र अर्को औषधि खान थाल्नुपर्छ। यो कुरा पसलेलाई थाहा नहुन सक्छ।
डा. रेग्मीले सर्लाहीका अर्का पुरूष बिरामीको उदाहरण दिए —
उनको रक्तचाप १४०/१०० थियो। उनी पाँच वर्षदेखि रक्तचापका बिरामी रहेछन्।
सुरूमा उनले मेडिकलमा जचाएका थिए। औषधि बिक्रेताले ५ एमजीको एम्लोडिपिन खान दिए। त्यसले रक्तचाप नियन्त्रणमा नआएपछि तिनै बिक्रेताले १० एमजीको दिए।
'मकहाँ उपचार गर्न आउँदा उनले १० एमजीको एम्लोडिपिन खान थालेकै एक वर्ष भइसकेको थियो। खुट्टा सुन्निन थालेको थियो,' रेग्मीले भने, 'त्यति बेला उनको मिर्गौलाबाट प्रोटिन धेरै गइरहेको रहेछ। ढिलो भएको भए मिर्गौला नै फेल हुन सक्थ्यो।'
'अगाडि नै डाक्टरलाई जचाएको भए छुट्टै औषधि दिएर मिर्गौलाबाट प्रोटिन जान रोकिन्थ्यो,' उनले भने।
-1712313649.jpg)
छैठौं गल्ती
उच्च रक्तचापका बिरामीले गर्ने छैठौं गल्ती हो — आयुर्वेदिक औषधिप्रतिको भ्रम।
'आयुर्वेदिक औषधि केही समय मात्र खायो भने पनि उच्च रक्तचाप जरैदेखि निको हुन्छ भन्ने हौवा समाजमा छ,' डा. रेग्मीले भने, 'आयुर्वेदका वैद्यहरूले पनि एलोपेथिक औषधि भनेको केमिकल हो, त्यसले रोग नियन्त्रण मात्र गर्छ, निको पार्दैन भनेर भनिदिन्छन्। त्यही सल्लाह मानेर बिरामीहरूले डाक्टरको औषधि छाडेर आयुर्वेदिक औषधि खान थाल्छन्। यो पनि बिरामीले गर्ने ठूलो गल्ती हो।'
उनका अनुसार उच्च रक्तचापका बिरामीलाई वैद्यहरूले 'मुक्ता वटी' भन्ने औषधि दिन्छन्। त्यो दुई-दुई चक्की दिनको तीनपटक खान भनिन्छ। तर छ महिना खाइसकेपछि पनि रक्तचाप ठिक हुँदैन। बरू निद्रा नपर्ने, चिन्ता र डिप्रेसनजस्ता समस्या सुरू हुन्छन्। यसले मस्तिष्कमा दबाब पर्छ र मानसिक समस्यासमेत निम्तिन सक्छ।
यसरी आयुर्वेदिक औषधि खाएर उल्टो समस्या थपिएका धेरै बिरामी आफूकहाँ उपचार गर्न आएको डा. रेग्मी बताउँछन्।
सातौं गल्ती
कुनै पनि रोग नभएका व्यक्तिले पनि वर्षको एकपटक सम्पूर्ण शरीरको स्वास्थ्य परीक्षण गराउनुपर्छ। तर सरकारको स्वास्थ्य बिमा कार्यक्रमले यस्तो परीक्षणलाई सम्बोधन गर्दैन। यसले धेरै अदृश्य रोग जन्माउने काम गरिरहेको र तिनैमध्ये उच्च रक्तचाप पनि एक भएको डा. रेग्मी बताउँछन्।
'स्वास्थ्य समस्या नभई परीक्षण गर्दा बिमा कार्यक्रमले सम्बोधन गर्दैन। त्यसैले धेरै मानिसलाई आफूमा भएको स्वास्थ्य समस्या बेलैमा थाहा हुँदैन,' उनले भने, 'यो गल्ती बिरामीको मात्र होइन, हाम्रो सरकारी स्वास्थ्य नीतिको पनि हो।'
देशका नागरिकलाई ठूलो रोगब्याधि लाग्यो भने त्यसको सामाजिक तथा आर्थिक भार राज्यमाथि नै पर्ने हुँदा सरकारले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने डा. रेग्मी बताउँछन्।
'सरकारले नै आफ्ना सबै नागरिकलाई नियमित स्वास्थ्य परीक्षण गराउन प्रोत्साहित गर्नुपर्छ,' उनले भने, 'रोग लागेर उपचार गर्दा जति खर्च हुन्छ, रोग नियन्त्रणमा राख्न सक्यो भने राज्यमाथि पर्ने भार निकै कम हुन्छ।'
'रोग जति छिटो पहिचान भयो, उति राम्रो। जति छिटो उपचार गरायो, उति राम्रो। र, उपचार गराएपछि डाक्टरको नियमित फलोअपमा बस्नु झनै राम्रो,' मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले भने।
***