जंगलभित्रको कथा
घना जंगलसँग जोडिएको मेघौली अनकन्टार थियो।
थारू समुदायको सीमित बसोबास रहेको बस्ती नजिकै एकाएक मान्छेको चहलपहल बढ्न थाल्यो। स्थानीयहरू के हुन लाग्यो भनेर अचम्म परे।
हेर्दा हेर्दै बस्ती नजिक फराकिलो मैदान तयार भयो। मैदान नजिक दर्जनौं अस्थायी घर बनाइए। बिजुली बत्तीले राति पनि मैदान झल्झलाकार बन्यो। मैदानको उज्यालोले पूरै गाउँ झिलिमिली देखियो।
चापाकलबाट पानी निकाल्नुपर्ने ठाउँमा धाराबाट पानी झर्न थाल्यो। शौचालयहरू बने। बस्ती सरसफाइ भयो। गाउँमा सुरक्षाकर्मीहरू बढ्दै गए।
बिस्तारै सबै घरमा सैनिकको पहरा सुरू भयो। र, एउटा गाइँगुइँ गाउँभरि फैलियो — खबरदार, जंगलमा महारानी आउँदै छिन्!
यो २०१७ फागुनको घटना हो। त्यो मैदानमा पहिलोपटक जहाज अवतरण हुँदा वरिपरि खेतबारीमा काम गर्दै गरेका स्थानीय 'चिलगाडी आयो' भन्दै हेर्न दगुरेका थिए। तिनैमध्ये एक थिए, १० वर्षका मायाराम महतो जो अहिले ७४ वर्षका भए।
उनका अनुसार केही दिन जहाज आउनेजाने क्रम चलिरह्यो। उनीहरू मैदानबाट पर उभिएर जहाज उडेको, झरेको र गुडेको दंग पर्दै हेरिरहन्थे।
फागुन १६ गते बिहानैदेखि जहाज आउजाउ बाक्लो भयो। सुरक्षा प्रबन्ध अघिल्ला दिनभन्दा कडा पारियो। मैदान मात्र होइन, सिंगो गाउँ नै झलमल्ल सिँगारियो। मैदानको आडमा केही हात्ती लामबद्ध उभ्याइए।
दिउँसो ११ बजेतिर एउटा जहाज अवतरण गर्यो, जसबाट हात हल्लाउँदै एक महिला ओर्लिइन्। साथमा अरू धेरै विदेशी पाहुना पनि थिए।
त्यस दिन हात हल्लाउँदै जहाजबाट ओर्लिने ती महिला थिइन्, ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीय। र, उनको साथमा आएका विदेशी पाहुनामध्ये एक थिए, राजकुमार फिलिप (महारानीका श्रीमान)।
ब्रिटिस महारानी एलिजाबेथ चितवन जंगल भ्रमणमा।
चितवन जंगलमा सिकार खेल्न आएका महारानी र राजकुमारसहितको ब्रिटिस टोलीलाई स्वागत गर्न राजा महेन्द्र स्वयं मेघौलीमा उपस्थित थिए।
राजकुमार फिलिपले आफ्नो दाहिने हातको चोरीऔंलामा बाँधिएको पट्टी देखाउँदै राजा महेन्द्रलाई भनेका थिए, 'मेरो औंलामा चोट लागेको छ, म सिकार खेल्न असमर्थ छु।'
ब्रिटिस टोलीको त्यतिखेरको चितवन भ्रमणका फोटामा फिलिपको औंलामा पट्टी बाँधिएको देख्न सकिन्छ। त्यो पट्टी वास्तवमै घाउ भएर बाँधिएको थियो वा सिकारको प्रस्ताव छल्ने जुक्ति थियो भन्नेमा संरक्षणविद हेमन्त मिश्रले शंका व्यक्त गरेका छन्।
बाघ सिकार गर्ने राजाको प्रस्ताव अस्वीकार गर्दा कूटनीतिक रूपमा अशोभनीय देखिने भएकाले राजकुमार फिलिपले चलाखीपूर्वक सिकार छलेको हुनुपर्छ भन्ने मिश्रको भनाइ बिबिसीले उल्लेख गरेको छ।
वन्यजन्तु मारेको आलोचनाबाट बच्न फिलिपको औंलामा चोट लागेको बहाना बनाउँदै राजपरिवारले आफूहरू सिकारमा सहभागी नहुने सन्देश दिएको संरक्षणकर्मीहरू बताउँछन्।
उक्त सिकारमा बाघ मार्ने राजा महेन्द्र मात्रै थिए भने महारानी एलिजाबेथले फोटो खिचाएकी थिइन्। राजकुमार फिलिपले सिकार स्थलसम्म हात्ती सफारी गरेका थिए। पछि ब्रिटिस अखबारहरूले 'महारानीले आफ्नो बन्दुकबाट होइन, ठूलो मूभी क्यामराबाट सुट गरिन्' (क्वीन सट नट विथ हर गन, बट बिग मूभी क्यामरा) भनेर समाचारहरू लेखेका थिए।
सन् १९६१ (विसं २०१८) मा राजकुमार फिलिप विश्व वन्यजन्तु कोष युकेका अध्यक्ष भए। त्यसै वर्षको पूर्वार्द्धमा उनी र नेदरल्यान्ड्सका राजकुमार बर्नार्डले सिकार नगर्ने र विश्वको खस्किँदो वन्यजन्तु संरक्षणमा सहयोग गर्ने बाचा गरेका थिए।
संरक्षणविद हेमन्त मिश्रको किताब 'बोन्स अफ दि टाइगर' मा उल्लेख भएअनुसार नेपाल आउनुअघि भारत भ्रमणमा रहेका राजकुमार फिलिपले सिकार गरेको बाघसामु बसेर तस्बिर खिचाएका थिए।
त्यो तस्बिर सार्वजनिक भएपछि उनको चर्को आलोचना भएको थियो। लगत्तै राजा महेन्द्रले महारानी एलिजाबेथ र उनलाई नेपालको राजकीय भ्रमणको निम्तो दिए। फिलिपलाई त बाघ सिकार गर्न प्रस्ताव नै राखे।
तर राजकुमार फिलिप सिकारका सोखिन भए पनि अब आफूलाई वन्यजन्तु संरक्षकका रूपमा देखाउन चाहन्थे।
राजा महेन्द्रले ब्रिटिस पाहुनाहरूका लागि चितवनमा गर्न लागेको 'बिग हन्टिङ पार्टी' लाई लिएर अन्तर्राष्ट्रिय जगतले आलोचना गरेको थियो। कूटनीतिका नाममा भइरहेको वन्यजन्तु विनासमाथि उनीहरूले प्रश्न उठाएका थिए।
बेलायती सञ्चार माध्यमहरूले यस्ता सिकार कार्यक्रममा सहभागी भएर राजपरिवारले वन्यजन्तुमाथि नृशंस व्यवहार गरेको र गरिब तथा सानो देशको राजस्वबाट गरिएको फजुल खर्चमा सरिक भएको भन्दै आलोचना गरेका थिए।
ब्रिटिस राजपरिवारको उक्त भ्रमणपछि नै नेपालको सिकार पर्यटन वन्यजन्तु संरक्षण पर्यटनतर्फ अग्रसर हुन थालेको संरक्षणविदहरूको भनाइ छ।
महारानी एलिजाबेथको भ्रमणको तीन वर्षपछि चितवन राष्ट्रिय निकुञ्जभित्र 'टाइगर टप्स जंगल लज' स्थापना भयो। ब्रिटिस महारानी र राजकुमारको सवारीका लागि खोलिएको मेघौली विमानस्थल काठमाडौं आएका विदेशी पाहुनालाई हवाईजहाजमा राखेर टाइगर टप्स जंगल लज पुर्याउन काम लाग्यो। टाइगर टप्सको गरिमा बिस्तारै विश्वभर फैलिन थाल्यो।
राजपरिवारका सदस्यसमेतको सिफारिसमा विदेशी भिआइपी पाहुनाहरू यहाँ आएर बस्न थाले। सौराहा, पटिहानी र मेघौलीमा पर्यटकका लागि धमाधम होटलहरू खोल्ने क्रम सुरू भयो।
यसरी चितवन जंगल र वन्यजन्तु संरक्षणमा नयाँ अध्याय लेखियो।
तर यसको इतिहास कहालीलाग्दो छ।
ब्रिटिस महारानी एलिजाबेथ चितवन जंगल भ्रमणमा।
जंगल र वन्यजन्तु विनासमा सबभन्दा ठूलो हात कसैको छ भने त्यो दरबारकै छ; शासकहरूकै छ।
यसको इतिहास बुझ्न हामीले राणा शासनमा फर्किनुपर्ने हुन्छ।
नेपालमा सिकार सवारीको चलन जंगबहादुर राणाका पालाबाट सुरू भएको मानिन्छ। हिउँदको दुई–तीन महिना तराई गएर बस्ने चलन उनैले बसाएका थिए। त्यसको उद्देश्य काठमाडौंको जाडो छल्ने, जिल्लाको हालखबर बुझ्ने, भारतका लाठ र जंगीलाठहरूलाई भेट्ने, सिकार खेल्ने र ब्रिटिस इन्डियाका वरिष्ठ पाहुनाहरूलाई सिकार खेलाउने हुन्थ्यो।
सरदार भीमबहादुर पाँडेले 'त्यस बखतको नेपाल' किताबमा सिकार सवारी अघि र पछि गरिने तयारी र कामको विस्तृत वर्णन गरेका छन्।
उनका अनुसार सिकार सवारी समन्वय गर्न सिकार अड्डा नै स्थापना गरिन्थ्यो। सवारी सुरू हुनु एकाध महिनाअघि टुँडिखेलमा पाल सुकाइन्थ्यो। सवारी हुने जिल्लाका बडाहाकिमलाई पूर्वसूचना दिइन्थ्यो।
सिकार यात्रामा श्री ३ महाराजसँगै उनका भाइ, भतिजा, छोरा, नाति, श्रीमती, सेविका, नानी, बैठके, नर्तकी, उच्चपदस्थ सैनिक तथा निजामती कर्मचारी र विदेशी पाहुनाहरूको ठूलो संख्यामा उपस्थिति रहन्थ्यो।
राणाको चाकडी गर्ने कर्मचारीहरू पनि पछि लागेर आउँथे। काठमाडौंका महत्त्वपूर्ण कार्यालयका कर्मचारी सिकार यात्रामै सामेल हुने भएकाले राजकीय तथा प्रशासनिक काम–कारबाही सिकार क्याम्पबाटै गरिन्थ्यो।
अर्को शब्दमा भन्दा, देशको राजधानी नै तराई सरेजस्तो हुन्थ्यो!
सिकार अड्डाले अघिल्लो वर्षभरिमा तराईको जुन क्षेत्रलाई वन्यजन्तुले धेरै असर गरेको छ, त्यही क्षेत्र सिकारको निम्ति छनोट गर्थ्यो। मध्यमाञ्चलको सवारी हेटौंडा र सिमराबाट सुरू हुन्थ्यो भने सुदूरपूर्व र पश्चिम तराईको सवारी रक्सौलबाट रेल चढेर सुरू हुन्थ्यो। सिकार हुने ठाउँमा देशभरका हात्ती झिकाएर परिचालन गर्ने चलन थियो।
सिकारी क्याम्प निकै ठूलो हुन्थ्यो। प्रधानमन्त्री, उनका महारानी, नानी र छोराछोरी बस्ने पाल छुट्टै टाँगेर त्यसलाई सायर वा ढड्डीको बारले घेरिन्थ्यो। त्यही कम्पाउन्डभित्र श्री ३ महाराजको भान्छा, उनले पाहुनाहरूलाई भेट्ने पाल र धुनी हुन्थे।
प्रधानमन्त्रीको भित्री क्याम्प नजिकै तर अलि अलग ठाउँमा हजुरिया जर्नेल, कर्नेल र अरू अफिसरका पाल, सिपाहीका पाल र गारत बस्ने पाल हुन्थे। सवारीमा जाने दिग्गज सत्र भाइ जर्नेलहरू ठूलो क्याम्पभित्रै हालिएको छुट्टै पालमा बस्थे।
उनीहरूको वरिपरि सवारी सँगसँगै जाने अरू हाकिम र कारिन्दाको पाल टाँगिन्थ्यो। विदेशी पाहुनाहरू बोलाइएका छन् भने उनीहरूलाई छुट्टै क्याम्पमा राख्ने प्रबन्ध मिलाइन्थ्यो।
सिकार क्याम्पको सबभन्दा ठूलो आकर्षण धुनी हुन्थ्यो। सबै पालअगाडि धुनीमा अजंगका मुढा रातदिन जोतिन्थे।
श्री ३ महाराजको दया जाग्यो भने यदाकदा श्री ५ महाराजलाई पनि सिकार सवारीमा सरिक गराइन्थ्यो। त्यो प्रायः पत्थरघट्टा र ठोरीसम्म चल्थ्यो।
सरदार पाँडेका अनुसार बाघको सिकारलाई मात्र 'सिकार' भन्ने चलन थियो। अरू जनावरको सिकारलाई फाटफुटे सिकारमा गनिन्थ्यो। जंगबहादुर राणाको पालादेखि गैंडाको सिकार खेल्न सरकारी इजाजत लिनुपर्ने व्यवस्था गरियो। गैंडाको एउटा बच्चाको मूल्य १५ सय रूपैयाँ तोकिएको थियो।
सन् १८५१ डिसेम्बर (विसं १९०८) मा जंगबहादुर ठूलो दलबलसहित सिकार खेल्न राप्ती उपत्यकाको जंगल (हालको चितवन र मकवानपुर क्षेत्र) गएका थिए। त्यति बेला राजा सुरेन्द्रसहित काठमाडौंस्थित ब्रिटिस रेजिडेन्सीका डाक्टर हेनरी ओल्डफिल्ड पनि सिकारमा सहभागी थिए।
जंगबहादुरले हेटौंडाबाटै हात्ती खेद्न सुरू गरेको भनाइ छ। उनले त्यो हात्तीलाई रक्ताम्मे अवस्थामा समातेर आफ्नो थापाथली दरबार पुर्याएका थिए। त्यो सिकार क्रममा जंगबहादुरले ३९ वटा एकसिंगे गैंडा र ३२ वटा बाघ मारेको इतिहास छ।
योभन्दा भव्य सिकार यात्रा जंगबहादुरले विसं १९०५ सालमै गरेका थिए। त्यो यात्रा चितवन पूर्वको पत्थरघट्टातिर भएको थियो। त्यति बेला ३२ सय सैनिक, ३०० घोडचढी सेना, ३५० वटा युद्ध सामग्री बोक्ने घोडा र दुई हजार जति सरसामान बोक्ने पिपा परिचालन गरिएको थियो।
उक्त सिकार यात्रामा जंगबहादुरले धेरै बाघ र मृग मारेका थिए। बीचमा औलो प्रकोप बढेर सिकार दलका ३७० जनाको ज्यान गएको थियो। त्यसपछि जंगबहादुर सिकार यात्रा टुंग्याएर काठमाडौं फर्किएका थिए।
जंगबहादुरले आफू मात्र सिकार खेलेनन्, विदेशी पाहुनाहरूलाई पनि प्रशस्त सिकार खेलाए। ब्रिटिस इन्डियाका शासक रिझाउन सिकार कूटनीतिको सुरूआत उनैले गरेका हुन्, जसलाई उनका पुस्ता चन्द्रशमशेरदेखि शाह राजाहरूले समेत पछ्याए।
इतिहासकारहरूका अनुसार जंगबहादुरलाई ब्रिटिस राजपरिवारका सदस्यसँग उठबस गर्ने खुब इच्छा थियो। उनको जीवनयापन, खानपिन र बसोबासमा पनि ब्रिटिस प्रभाव झल्किन्छ।
खासगरी ब्रिटिस दरबार वा सरकारका उच्च पदाधिकारीसँग निकट सम्बन्ध राख्दै आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने उनको ध्याउन्न थियो। उनले यो अवसर सिकार सवारीबाट पूरा हुने देखे।
त्यसै क्रममा सन् १८६६ मा बेलायतकी महारानी भिक्टोरियाका दोस्रो पुत्र ड्युक अफ एडिनवर्गले चितवनको जंगलमा सिकार खेलेका थिए। उनले यहाँ ३.२३ मिटर लामा दुइटा बाघ मारेका थिए।
त्यसको दस वर्षपछि सन् १८७६ मा बेलायतका राजकुमार एडवार्ड (जो पछि राजा भए) ले चितवनको २० दिनको बसाइमा २३ वटा बाघ, एउटा चितुवा र एउटा भालु मारेको इतिहास छ।
सन् १९११ मा ठोरी जंगलमा बाघको शिकार गरेपछि ब्रिटिस राजा जर्ज पाँचौं र चन्द्रशमशेर राणा। तस्बिर स्रोत: मदन पुरस्कार पुस्तकालय
जंगबहादुर राणाको मृत्यु पनि सिकार यात्राकै क्रममा भएको थियो। अन्तिम सिकार यात्रामा उनले दुई महिना २० दिन बिताएका थिए।
१९३३ मंसिर २५ गते काठमाडौंबाट निस्किएको उनको सिकार टोलीको पहिलो क्याम्प थानकोटमा बसेको थियो। त्यसपछि मार्खु, सुपारीटार र हेटौंडातिर बढ्यो। जमुनिया, पत्थरघट्टा, अधमरा हुँदै सिकार यात्रा अघि बढाएका उनी त्यसै क्रममा मगरटार, जनकपुर, धनुषा, कमलानदीको किनार, मुकी नदीको किनार, बहुरिया, नयाँ गाउँ हुँदै बालम गाउँ पुगेका थिए। त्यसपछि माहौलिया गए।
बहिरी भन्ने गाउँमा फागुन १५ गते राखिएको सिकार क्याम्प नै उनको अन्तिम क्याम्प बन्न पुग्यो।
पुरूषोत्तमशमशेर जबराको किताब 'श्री ३ हरूको तथ्य वृत्तान्त' मा जंगबहादुरले मयूर मार्न बन्दुकको निशाना लगाउन खोज्दा नसकेको उल्लेख छ। उनले आँखा कमजोर भएको महसुस गरेका थिए।
त्यसपछि जंगबहादुरलाई पालकीमा राखेर पत्थरघट्टा, बागमतीतिर लगियो। त्यहीँ मध्यरात उनले प्राण त्यागे।
जंगबहादुरले सुरू गरेको सिकार कूटनीतिलाई उनीपछिका राणा प्रधानमन्त्रीहरूले पनि निरन्तरता दिए।
सन् १८९३ मार्चमा प्रधानमन्त्री वीरशमशेरको पालामा अस्ट्रियाका राजकुमार आर्कड्युक फ्रेनी फर्डिनन्ड आफ्नो दलबलसहित चितवनको जंगलमा सिकार खेल्न आएका थिए। उनले १८ वटा चितुवा र धेरै साना जनावरको सिकार गरे।
त्यस्तै, प्रिन्स अल्वर्ट भिक्टरले दुईपटक गरी ६ वटा बाघ मारेका थिए। सन् १८९४ मा ड्युक अफ कोनौघटले चितवनको जंगलमा तीनवटा बाघ सिकार गरेको प्रमाण भेटिन्छ।
राणा प्रधानमन्त्री चन्द्रशमशेरले पनि आफ्नो जीवनकालमा धेरै सिकार यात्रा गरे।
सन् १९११ मा ब्रिटिस सम्राट जर्ज पञ्चम र सम्राज्ञी ठूलो दलबलसहित दिल्ली दरबारको उत्सवमा सहभागी हुन आएका थिए। उक्त समारोहमा उपस्थित श्री ३ चन्द्रशमशेरले जर्ज पञ्चमलाई चितवनको जंगलमा सिकार खेल्न निमन्त्रणा दिए।
सन् १९११ डिसेम्बर १८ मा ठोरी हुँदै चितवन प्रवेश गरेका जर्ज पञ्चमको सिकार यात्राको विवरण पी ल्यान्डनले आफ्नो किताब 'नेपाल' मा उल्लेख गरेका छन्।
उक्त किताबअनुसार चन्द्रशमशेरले जर्ज पञ्चमको भव्य स्वागत गरेका थिए। जर्जको सिकारका लागि कसरामा क्याम्प खडा गरिएको थियो। कसरा अहिले चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय रहेको स्थान हो। उनको सिकार सवारीलाई लक्ष्य गरेर कसरा क्याम्पसम्म सडक निर्माण गरिएको थियो। टेलिफोन र विद्युत जडान गरिएको थियो।
मनोरञ्जनका साधनको व्यवस्था मिलाइएको थियो। चिसो र तातो पानी प्रबन्ध गरिएको थियो। सयौं मान्छेलाई खान र बस्न मिल्ने व्यवस्थासमेत मिलाइएको थियो।
त्यतिखेर सिकारका लागि ६०० भन्दा बढी हात्ती जम्मा गरिएको पी ल्यान्डनले लेखेका छन्। सम्राट जर्ज पञ्चमले सूर्योदयदेखि सूर्यास्तसम्मै सिकार खेलेका थिए। उनको टोलीले चितवनमा ३७ वटा बाघ, १८ गैंडा, ४ भालु र अन्य धेरै वन्यजन्तुको सिकार गरेको थियो।
तीमध्ये २१ वटा बाघ, १० वटा गैंडा र २ वटा भालुको सिकार जर्ज पञ्चम स्वयंले गरेका थिए। यो सिकार यात्रामा उपस्थित सबैलाई चन्द्रशमशेरले आफ्नो र जर्ज पञ्चमको फोटोसहित 'नेपाल सिकार १९११' लेखिएको लकेट वितरण गरेका थिए।
उनले ब्रिटिस सम्राटलाई नेपालमा पाइने जनावर, चराचुरूंगी, पुराना मूर्ति, काष्ठकला, क्युरियोका सामान उपहार दिए। जर्जले नेपालबाट बाघ, गैंडा, हात्ती, हिमाली भालुका बच्चा बेलायत लगेका थिए। त्यसको बदलामा जर्ज पञ्चमले चन्द्रशमशेरलाई केही तक्माका साथै दुई हजार नाल राइफल र प्रशस्त गोली उपहार दिए।
राजा एडवर्ड अष्टमले पनि राजकुमार छँदै डिसेम्बर १९२१ मा चन्द्रशमशेरकै निमन्त्रणामा चितवन जंगलमा सिकार खेलेको इतिहास छ। उनका साथमा लर्ड लुई माउन्टबेटन पनि लेफ्टिनेन्ट बनेर आएका थिए। उनीहरूको सिकारको चाँजो चन्द्रशमशेरका छोराहरू जनरल बबरशमशेर र केशरशमशेरले मिलाए।
उक्त सिकार निम्ति ४२८ वटा हात्ती जम्मा गरिएको पी ल्यान्डनको किताबमा उल्लेख छ। सिकारका लागि बेलायतका राजकुमारसँग ४९ जना युरोपेली र २४३ जना भारतीय प्रतिनिधि नेपाल आएका थिए।
डिसेम्बर १४ देखि २१ सम्म चलेको सिकारमा राजकुमारसहितको टोलीले १८ वटा बाघ, १० वटा गैंडा, २ भालु, २ चितुवा र अन्य जनावर सिकार गरेका थिए। सिकारलाई व्यवस्थित बनाउन कसरा क्याम्पदेखि पूर्व र पश्चिमतर्फ ३६ माइल मोटर बाटो र ३२ माइलजति टेलिफोन लाइन बनाइएको थियो।
चन्द्रशमशेरले बेलायतका राजकुमारलाई नेपालमा पाइने महत्त्वपूर्ण वन्यजन्तु उपहार दिए। उनले नेपालबाट बाघ, गैंडा, हात्ती, चौंरी, चितुवा, मृग, थार, भालु, निलगाईका बच्चा लिएर गएका थिए। त्यसको बदलामा राजकुमारले नेपाललाई १० हजार नाल 'सट ली–इन फिल्ड राइफल', केही मेसिनगन र लुइसगन दिएका थिए।
सन् १९२३ मा भएको नेपाल–ब्रिटिस मैत्री सन्धिलाई यही सिकार कूटनीतिको परिणाम मानिन्छ। उक्त सन्धिले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा स्वतन्त्र र सार्वभौम राष्ट्रको औपचारिक मान्यता दिलाएको थियो। (हेर्नुहोस्: सन् १९२३ को सन्धि शृंखला)
सन् १९२१ मा ठोरी जंगलमा शिकार खेल्न आएका ब्रिटिस राजकुमार एडवार्डको सम्मानमा सलामी दिइँदै। साथमा प्रधानमन्त्री चन्द्रशमशेर राणा (सबभन्दा बायाँ)। तस्बिर स्रोत: मदन पुरस्कार पुस्तकालय
नेपालका राजा, महाराजा र प्रधानमन्त्रीमध्ये सबभन्दा बढी वन्यजन्तु सिकार गर्ने जुद्धशमशेर थिए। उनी वर्षको कम्तिमा तीन महिना सिकारका लागि तराई झर्थे। सिकारमा जाँदा श्रीमती, नर्तकी, सेविका, दाजुभाइ, छोरा, भतिज र छोरीहरूलाई पनि लैजान्थे। चितवनका जंगलमा बाघ मार्थे, बाघसँग आफ्नो र श्रीमतीको फोटो खिचाउँथे।
सन् १९३२ सेप्टेम्बरमा प्रधानमन्त्री भएको केही महिनापछि नै जुद्धशमशेरले चितवन जंगलमा तीनवटा ठूला बाघको सिकार गरेका थिए। तीमध्ये एउटा बाघ १० फिट ९ इन्च लामो थियो। अरू दुइटा पनि १० फिटभन्दा लामा थिए।
सन् १९३६ मा जुद्धशमशेरले ब्रिटिस इन्डिया सरकारका भायसराय र गभर्नर जनरल लार्ड लिन्लिथगोका साथ उनकी श्रीमती, तीन छोरी र अरू सहयोगीहरूलाई सिकारमा बोलाए।
भायसरायको दलबलले चितवनको जंगलमा १४ वटा बाघ, ३ गैंडा र अन्य धेरै जनावरको सिकार गर्यो। त्यतिखेर भायसरायलाई स्वागत गर्न जुद्धशमशेर आफै चितवन आएका थिए। भायसराय भारत फर्किएपछि पनि उनी लामो समय चितवनमै बसेर सिकार खेले।
करिब तीन महिना चितवन बसेका उनले १२० वटा बाघ, ३८ गैंडा, २७ चितुवा, १५ भालु, १० गोही र ७० भन्दा बढी मृग मारेका थिए। उनले एकैपटकको सिकार यात्रामा तीन सयभन्दा बढी वन्यजन्तुको सिकार गरेका थिए।
जुद्धशमशेरले सन् १९३३ देखि १९४० सम्म चितवनको जंगलमा तीनपटक सिकार खेलेको ईश्वरी प्रसादको पुस्तक 'द लाइफ एन्ड टाइम अफ महाराज जुद्धशमशेर' मा उल्लेख छ। उक्त किताबअनुसार जुद्धशमशेरले चितवन बाहेकका जंगलमा पनि सिकार खेलेका थिए।
आठ वर्ष अवधिमा देशका विभिन्न जंगलमा सिकार खेलेर उनले ४३३ बाघ, ५३ गैंडा, ९३ चितुवा, २२ भालु, २० गोही, १ अर्ना, धेरै स्याल र मृगहरू मारेको विवरण उक्त किताबमा छ। त्यही अवधिमा उनले तीनवटा जंगली हात्ती समातेका थिए।
सरदार पाँडेको किताबअनुसार भारतका अंग्रेजी जंगीलाठ, लाठसाहेब, कमान्डर–इन–चिफहरू नेपालमा सिकार नखेली बेलायत फर्कँदैनथे। राणा सरकारको पालामा अन्तिम ठूलो काँटको सिकार २००१ साल माघमा भारतका जंगीलाठ लर्ड ओएभलले गरेका थिए।
उनले हवाईजहाजमा दिल्लीबाट सोझै चितवनको कसरामा बनाइएको कच्ची हवाई मैदानमा ओर्लिएर सिकार खेलेका थिए। सरदार पाँडेको किताबमा चितवनमा सर्वप्रथम हवाईजहाज चढेर आउने व्यक्ति बडालाठ ओएभल भएको दाबी गरिएको छ।
इतिहासकार जनकलाल शर्माले आफ्नो किताब 'राप्ती उपत्यका' मा २००७ सालभन्दा अगाडि नेपालमा विदेशीले गैंडा सिकार गर्दा प्रतिगैंडा १० हजार रूपैयाँ सरकारलाई बुझाउनुपर्ने उल्लेख गरेका छन्। २००७ सालको राजनीतिक परिवर्तनपछि त्यसमा रोक लगाउन थालियो।
त्यसपछि चितवन पर्यटन र सिकारको सोखिन स्थलका रूपमा परिणत भयो। यस क्षेत्रमा बस्ती विकास पनि बढ्न थाल्यो।
राणाहरूले सिकार कूटनीतिका माध्यमबाट ब्रिटिसलाई मात्र नभएर अमेरिकीलाई पनि खुसी पार्ने नीति लिएका थिए।
इतिहासकारहरूका अनुसार जुद्धशमशेर र अमेरिकी पर्यटन व्यवसायी तथा गैंडा सिकारी चार्ल्स कोटारबीच राम्रो सम्बन्ध थियो। यही सम्बन्धका कारण उनलाई बाघ सिकारको अनुमति दिइएको थियो।
राणाकालमा सबभन्दा ठूलो बाघ केशरशमशेरले मारेको इतिहास पनि छ। उनले मारेको बाघको लम्बाई ११ फिट १ इन्च थियो। यति मात्र होइन, सन् १९२२ मा केशरशमशेरले दुइटा गैंडा अमेरिकाको चिडियाखानालाई १२ हजार डलरमा बिक्री गरेका थिए।
राणाहरूले गैंडाको खाग चिनियाँ व्यापारीलाई औषधिजन्य प्रयोगका लागि बिक्री गर्ने घातक नीतिसमेत लिएका थिए। 'टाइम' पत्रिकाका अनुसार सन् १९४७ मा राणा शासकहरूले उच्चवर्गीय पर्यटन व्यापारका रूपमा बाघ सिकार गर्न अमेरिकी कूटनीतिज्ञहरूसँग प्रस्ताव नै राखेका थिए। त्यतिखेर एकै दिन ७ वटासम्म बाघ मारिन्थे।
राणाहरू मात्र होइन, शाह राजाहरू पनि सिकारका सोखिन थिए। राजा महेन्द्र स्वयं हरेक हिउँदमा चितवन झरेर सिकार खेल्थे। यो क्रम उनको निधन अघिसम्मै चल्यो। राजा वीरेन्द्रले पनि पटक पटक चितवन आएर सिकार खेलेको इतिहास छ।
राजपरिवारमा बाघ सिकारलाई पछिसम्मै अवैध मानिन्थेन। उनीहरू आफ्नो पुरूषार्थ देखाउन बाघ सिकार गर्थे भने पितृलाई तर्पण दिन गैंडा मार्थे। गैंडाको तातो रगतले तर्पण दियो भने पितृ तर्छन् भन्ने दरबारको मान्यता थियो।
उनीहरूले गैंडा मारेर त्यसको रगतबाट पितृलाई तर्पण दिएका धेरै उदाहरण छन्। त्यसैलाई पछ्याउँदै कतिपय सर्वसाधारणसमेत 'गैंडाले टेकेको माटो ल्याएर तर्पण दियो भने पितृ तार्न सकिन्छ' भन्छन्।

चितवन राष्ट्रिय निकुञ्जका पूर्ववार्डेन रामप्रित यादव राजा महेन्द्र अन्तिमचोटि चितवन राष्ट्रिय निकुञ्ज आउँदाको घटना यसरी सम्झिन्छन् —
'राजा महेन्द्र बहादुरकली नामको हात्ती चढेर सिकार खेल्न जंगल पसेका थिए। त्यो देखेर मलाई लागेको थियो, अब यहीँ काम गर्ने भएपछि राजालाई बेला बेला भेट्न पाइने भयो। दुई दिनपछि राति म सौराहाबाट केही पर दुधौरामा रहेको क्याम्पमा सुतिरहेको थिएँ। आधा रातमै आकासमा जहाज उड्यो। यसअघि रातको समय त्यति नजिकबाट कहिल्यै जहाज चलेको थिएन। मलाई के भयो भन्ने लागिरहेको थियो। बिहान उठ्दा त राजा महेन्द्रको निधनको खबर पो सुनेँ।'
खबर पाउनासाथ उनी हतार हतार सौराहा गए। त्यहाँ भग्गु थारू रोइरहेका थिए। उनी राजाको सवारीमा हात्ती चलाउने सुब्बा स्तरका कर्मचारी थिए। राजालाई आफ्नो बाबुजस्तै मान्थे। यसबीच रेडियोमा शोकधुन बज्न थालिसकेको थियो।
'मैले पछि मात्रै सुनेँ, राजा महेन्द्रले निकुञ्ज पसेको दिन फायर त गरेछन्, तर ताकेको जनावरलाई गोली लागेनछ। त्यसपछि राइफल मिलाउनुपर्यो भनेर भेल्लरको रूखनजिक उनी हात्तीबाट ओर्लिएछन् र राइफल टेस्ट गर्न फायर गरेछन्। त्यतिखेर उनले मलाई गाह्रो भयो भनेका थिए रे। यो कुरा हात्ती चलाउने भग्गु थारूले पनि सुनेका रहेछन्। त्यसलगत्तै महेन्द्रलाई दियालो बंगलातिर लगिएछ,' यादवले चितवन जंगलमा भएको उक्त घटनाको सम्झना सुनाए।
उनका अनुसार महेन्द्रको निधनपछि गैंडा मारेर बाबुलाई तर्पण दिन राजा वीरेन्द्र सपरिवार चितवन आएका थिए। तर्पणको निम्ति बाघमारा क्षेत्रको गैंडा मारिएको थियो।
'त्यति बेला काठमाडौंबाट धेरै पण्डितहरू ल्याइएका थिए। कसरा दरबारभन्दा तल राप्ती नजिकै पूजाको निम्ति ठूलो मण्डप लिपपोत गरेर चिटिक्क पारिएको थियो। पूजास्थलमै एउटा मरेको गैंडा उत्तानो पारेर राखिएको थियो। त्यसको भुँडीभित्रका सबै अंग निकालिएका थिए,' यादवले भने, 'केही बेरमा सेतो लुगा लगाएर राजा वीरेन्द्रको सवारी भयो। राजाले आफ्नो ज्यान गैंडाको भुँडीभित्र घुसाए र त्यसको रगतले पितृलाई तर्पण दिए।'
ज्ञानेन्द्रले तर्पण दिने भनिएको गैंडाले भने धेरै समय दुःख दिएको चितवन निकुञ्जका पुराना कर्मचारी कुबेरबहादुर गुरूङ बताउँछन्।
उनका अनुसार सौराहा क्षेत्रमा मार्न खोजिएको गैंडा भागेर बेपत्ता भएपछि त्यसलाई खोज्न झन्डै एक महिना लागेको थियो। ज्ञानेन्द्रले गरेको फायर ठाउँमा नलागेपछि फुत्किएको गैंडा पछि बीसहजारी ताल नजिकै फेला परेको थियो। त्यसलाई फेरि गोली हानेर मारिएको र काठमाडौंस्थित दरबार पठाइएको उनी सम्झन्छन्।
पितृलाई तर्पण दिएपछि गैंडाको छाला निकालेर बाँकी मासुको सुकुटी बनाइन्थ्यो। त्यसलाई सिकार क्याम्पमा पुगेका व्यक्तिहरूलाई प्रसाद भनेर बाँड्ने चलन थियो। गैंडाको खुरभित्रको थलथले मासु स्वादिष्ट परिकारका रूपमा गनिने भएकाले ठूलाबडाको भान्छामा मात्रै पुग्थ्यो।
राजपरिवारको सिकार सवारीमा सरिक कर्मचारीहरूलाई हामीले बाघ, गैंडा लगायत जनावर कसरी सिकार गरिन्छ भनेर पनि सोधेका थियौं।
उनीहरूका अनुसार अन्य जनावरको तुलनामा बाघ र गैंडा मार्न धेरै तयारी गर्नुपर्छ। बाघ मार्न सबभन्दा पहिला उसको पाइला अध्ययन गर्नुपर्छ। त्यसपछि नजिकै कुनै ठाउँमा केही पाडा बाँधेर राखिन्छ। अनकन्टार जंगलमा बाँधिएका पाडा अत्तालिएर कराउँछन्।
त्यो आवाज सुनेर बाघ पाडो खोज्दै आउँछ। बाघले पाडोको सिकार गरेपछि सिनो लुकाउँछ। सिनो नसकिएसम्म त्यसकै आसपास रहन्छ।
यसरी बाघले पाडो खाएको चाल पाएपछि सिकारीहरू पाइला पछ्याउँदै सिनो भएको ठाउँसम्म जान्छन्।
'सिनो देख्नासाथ पाडो खाने बाघ हो कि बघिनी हो पत्ता लाग्छ,' वन कर्मचारी गुरूङले भने, 'प्रायः बाघले टाउकोतिरबाट र बघिनीले पुच्छरतिरबाट आफ्नो सिकार खान्छ।'
सिनो भएको ठाउँ पत्ता लागेपछि हात्तीसहितको समूहले बाघलाई सेतो कपडाले घेर्छन्। बाघले सेतो कपडाको घेरो नाघ्न सक्दैन भन्ने मान्यता छ। त्यसपछि घेरा साँघुर्याउँदै लगेर बाघलाई गोली हानेर मारिन्छ। यो सबै प्रक्रिया पूरा गर्न दुई–तीन दिन लाग्छ। अचेल समस्याग्रस्त बाघलाई बेहोस बनाउन पनि यही विधि प्रयोग गरिन्छ।
गैंडा मार्न भने बाघ मारेजस्तो गाह्रो नहुने वन कर्मचारी बताउँछन्। तामिलप्राप्त हात्तीले चारैतिरबाट गैंडालाई घेरा हालेपछि सिकारीले कन्चटमा गोली हानेर मार्छन्।
राजा–महाराजाहरूको अत्यधिक सिकारका कारण चितवन जंगलमा वन्यजन्तु घट्दै गएपछि २०१६ सालमा बरण्डाभार वनको टिकौलीमा वाइल्डलाइफ डिभिजन कार्यालय स्थापना गरिएको थियो। केही वर्षपछि त्यो कार्यालय गैंडा आरक्षणमा परिणत भयो। उक्त कार्यालयले गैंडा गस्ती सञ्चालन गर्थ्यो।
२०२७ सालमा गैंडा आरक्षणको विकल्पमा वन्यजन्तु आरक्षण स्थापना भयो। पछि २०३० सालमा देशकै पहिलो राष्ट्रिय निकुञ्जका रूपमा चितवन राष्ट्रिय निकुञ्ज खडा भयो। २०४१ सालमा युनेस्कोको विश्व सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्यो।
२०७७ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा एकसिंगे गैंडा भेटिएका थिए। यहाँ २०७९ सालमा भएको गणनामा १२८ वटा बाघ थिए।
साढे नौ सय वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको चितवन निकुञ्जमा ७० प्रजाति स्तनधारी, ५४६ प्रजाति चरा, ४९ प्रजाति सरीसृप र उभयचर तथा १२० प्रजातिका माछा पाइन्छन्।
***