(सम्पादकीय नोट: हामीले २०८० असार २० गतेबाट सुरू गरेको 'नेपाल कति बन्यो, कति बिग्रियो' भन्ने शृंखलाको यो अन्तिम लेख हो।)
आरम्भ
बिहानको कक्षा थियो। मंसिर याममा शितले बाटो लछप्पै भिजेको हुन्थ्यो। हामी शितले डामिएर कठ्यांग्रिएका पाइताला घिसार्दै खाली खुट्टा विद्यालय पुग्थ्यौं।
हाम्रो घरमाथि चौतारा थियो। रैथाने दलित कामी काकाको बारीमा बनेकाले त्यसलाई ‘कामी चौतारा’ भनिन्थ्यो। त्यही चौताराको आँगनमा खरको फरिका हालेर बनाइएको दुईपाखे छाप्रो नै हाम्रो विद्यालय थियो। त्यो छाप्रोले पानीसम्म ओत्थ्यो, बाँकी सब खुल्ला थियो।
त्यो समय अक्षर चिन्नुलाई ‘आँखा खोल्ने’ भनिन्थ्यो। तर सामाजिक अभ्यासमा हालीमुहाली रहेको पुरूषसत्ताको संरचनात्मक दलनमा परेर आमा–दिदीहरूले साँवा अक्षर फुटाउने अवसर पाएका थिएनन्। त्यसैले आमा–दिदीहरूको आँखा खुलाउन दाइहरू आफैं अग्रसर भएका थिए। बिहान हामी पढ्ने छाप्रे स्कुलमा राति आमाहरूको निम्ति प्रौढ कक्षा चल्थ्यो। घरका अनेकन बुहार्तन खेपेर शिथिल भएका आमा–दिदीहरू सन्नाटाले भरिएको रातमा किरमिरे अक्षरको कल्याङमल्याङ सुनाउन जम्मा हुन्थे।
भित्तो नभएको त्यो छाप्रोमा पुस–माघको स्याँठले दुवैतिरबाट ठटाउँथ्यो। आङ न्यानो बनाउन आज पाइनेजस्तो स्वेटर उपलब्ध थिएन। मेरो मात्र होइन, गाउँका सबैजसो केटाकेटीको हाल उही थियो। सम्भवतः बाहरूको अलि थोत्रिएको लामो सर्ट उनेर, त्यसैभित्र घुँडासमेत हुलेर, कुत्रुक्क परेर बिहानको स्याँठको कहर खेप्थ्यौं हामी। बिहानको स्याँठ र शितको मार खेप्दा नाकबाट बगेको पानी पुछ्दा पुछ्दै लगाइरहेको सर्टको बाहुला सिंगानले कटकटिएर नाक ददार्ने भइसक्थ्यो।
हाम्रो छाप्रे स्कुलमा स्थानीय स्रोतबाट एक जना शिक्षक राखिएको थियो। एकदेखि तीन कक्षासम्म तिनैले पढाउँथे। अलिक जान्नेलाई कक्षामा मनिटर बनाइन्थ्यो र उसलाई निश्चित पाठ पढ्न लगाएर ‘मास्टरसाब’ को दौडादौड चलिरहन्थ्यो — एउटा कक्षाबाट अर्को कक्षासम्म।
‘हाफ ट्याम’ भनिने ‘खाजा खाने छुट्टी’ हुन्थ्यो, तर खानलाई हामी कसैसँग खाजा हुन्थेन। चुंगी, डन्डीबियो, खुट्टी, गट्टा आदि खेलेर हाम्रो हाफ ट्याम बित्थ्यो। खेतीपातीको मौसम नभए स्कुल छुटेर घर पुग्दा भुटेको मकै या कोदोको रोटी समयकाल अनुसार खाजाका रूपमा भेटिन्थ्यो। नत्र बिहान र बेलुकीको खाना नै हाम्रो ब्रेकफास्ट, लन्च, स्न्याक र डिनर हुन्थ्यो। स्कुलको हाफ ट्याममा र स्कुलबाट घर फर्कंदा टिप्दाटिप्दै मौसमी फलफूल पाक्नै नपाई हामी निखारी सक्थ्यौं।
यता सहरमा अम्बा भनिने फललाई गोरखाको मध्यपहाडी भेगमा हामी बेलाउती भनेर पुकार्थ्यौं। हामी बाटोघाटोका या नियमित निगरानी नहुने अर्काको बारीका बेलाउतीसमेत कटमेरोमै रित्याउँथ्यौं। आरू, आलुचा या आलुबखेडा, नासपाती गतिलोसँग कहिल्यै पाक्न पाउँथेनन्। यसबापत गाली, चड्कन नखाएको कुनै याम वा कुनै वर्ष हुन्थेन। आलु बारीभित्र लगाइएका मूला पनि अभिभावकका आँखा छलेर हामी कति बेला सड्काइसक्थ्यौं भन्ने कसैले थाहा पाउँथेन।
अलिक हुर्किन थालेपछि हामी घाँसको भारी बोकेर धाप्पिँदै आउँथ्यौं, पेटमा तातो च्याँख्ला र मोही भर्थ्यौं र झन्डै एक घन्टा हिँडेर विद्यालय जान्थ्यौं। दिउँसो विद्यालय छुटेर घर आएपछि मोही–मकै नपाए फन्किँदै गोडमेल गर्न बारीतिर लाग्थ्यौं।
हामीले भोगेको बालापन यस्तै थियो — न खुट्टामा चप्पल, जुत्ता; न गतिलो लुगाफाटो न राम्रो नुवाइधुवाइ।
यो पञ्चायतको आखिरी वर्षतिरको कुरा हो।
मलाई लाग्छ, विक्रम सम्बत् २०५० को मध्य दशकअघिसम्म पहाडी वा देहातका भूगोलबाट विद्यालय शिक्षा निखारेका हामी धेरै जना ठ्याक्कै यस्तै नभए पनि यस्तै–यस्तै अनुभूतिसहित हुर्कियौं। र, आज संसारभर फिँजारिएका छौं र आ–आफ्नो गच्छेअनुसार तैबिसेक सजिलो जिन्दगी बाँचिबसेका छौं।
म आफैं पनि जागिरे र व्यावसायिक जीवनका अनेकन मोडमा हेलिँदै अनेकन देश घुमेँ। पहिलो विश्वका भनिने सबैजसो प्रमुख देशहरूमा पुगेँ। तर आज कसैले मलाई आफ्नो जीवनको सबभन्दा यादगार र मनोहर समयकालबारे सोध्यो भने म निसन्देह भन्नेछु — कहर खेपेर निखारेका गाउँले दिनहरू।
प्रिय पाठकहरू; चरम अभाव, कष्ट, जटिलता र अनेकन उच्छवासमय निलडामले भरिएको विद्यालय कालसम्मको जीवन सम्भवतः तपाईंका पनि सबभन्दा प्रियतम दिन थिए होलान्!
मानिसलाई आफूले भोगिरहेको सुविधामय वर्तमान र त्यसको उज्यालोमा प्रदर्शित भविष्यभन्दा अभावमय, कष्टप्रद र जटिलताले भरिएको आफ्नै अतीत किन प्रिय लाग्छ?
के मानिस स्वभावैले अतीतमुखी हुन्छ? ऊ वर्तमानभन्दा विगतप्रति किन गौरवान्वित हुन्छ? मानिस किन स्मृति–दंशले डसिइन्छ?
लामो समय म यस्ता प्रश्नको गुजुल्टोमा बेरिइरहेँ — किन मलाई विगतप्रति मोह छ? किन मलाई वर्तमानप्रति यथेष्ट सन्तुष्टि छैन? किन भविष्यप्रति भन्दा विगतप्रति मेरो लगाव छ? कतै म विचलित मनोदशाको सिकार त भइरहेको छैन?
मैले आफूलाई छाडेर समाजतिर फर्किएर हेरेँ — समाज पनि उही मनोदशामा छ। आजको तैबिसेक वर्तमानभन्दा ऊ कठोरतम विगतको महिमामण्डनमा छ। मानिसलाई कोलमा राखेर पिस्ने निरंकुश र आततायी समयको सम्मोहनमा फसिबसेको छ।
हाम्रै कुरा गरौं। अनेकन सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक तथ्यहरूले सम्पन्न र उज्यालो देखिएको वर्तमानभन्दा पञ्चायती हुकुमी शासनको बिरूदावली फलाक्दै बस्नेको ठूलै उपस्थिति भेटिन्छ हाम्रो समाजमा। आजभन्दा हिजै राम्रो थियो भन्नेको सानोतिनो बिगबिगी नै छ। पञ्चायतभन्दा त्यसअघिको काल स्वर्णिम! अझ त्योभन्दा मल्लकाल स्वर्णिम र त्योभन्दा पनि स्वर्णिम त लिच्छवि युग! अझ स्वर्णिम किराँतकाल या गोपालकाल या महिष्पालकाल! त्योभन्दा पनि स्वर्णिम भारतीय उपमहाद्वीपको आरम्भकालीन दिनहरू!
जति दूर अतीततिर फर्कियो, उति नै स्वर्णिम! स्वर्णिम मात्र होइन दैवी नै!
र, जति निकट वर्तमानमा फर्कियो, उति कष्टकर, उति बेठीक!
मानव समाजको ऐतिहासिक रूपरेखा, आदिम मानव समाजदेखिको उत्थान र पतन, परिवर्तन र उत्परिवर्तनको अध्ययनमा लहसिएपछि भने मानिसको यो प्रवृत्तिलाई मैले स्वाभाविक र उचितै ठान्न थालेको छु।
मानिसलाई जति सुदूर अतीततिर फर्कियो, त्यो काल उति स्वर्णिम लाग्छ। किनभने, अलिकति यथार्थ र अलिकति काल्पनिकता मिसमास भएर समयकालमा हस्तान्तरित हुँदै आउने स्मृतिकथाहरूले विगतकालको नायकीय ‘दिव्यरूप’ निर्माण गरेको हुन्छ।
हुँदाहुँदा आफ्नो समाजमा स्मृति गरिने अज्ञात विगतकालका पुर्खाहरूलाई ‘देवता’ र उनीहरू बाँचेको भूगोललाई ‘देवलोक’ का रूपमा, तिनका क्रियालाई तिलस्मी कथाहरूले लिपपोत गरेर ‘दैवी क्रिया’ का रूपमा मान–सम्मान दिने अभ्यास मानव समाजमा चलिआएको छ। तिनको अभ्यास, नीति र कर्म कालान्तरमा धर्म र संहिताका रूपमा समाज बाँध्ने धागोमा रूपान्तरित हुने रहेछ। त्यसैले त, तपाईं जुनसुकै धार्मिक, सामाजिक, जातीय अभ्यास, कथ्य र नीतिहरूमा पसे पनि जतासुकै आफ्नो अति विगतका नायकीय पात्रहरूमा काल्पनिकता लिपपोत गरेर दैवी चरित्र भिराइएको पाउनु हुनेछ।
यसरी वर्तमानसँग त्रसित हुने र विगतलाई दैवीकरण गर्ने स्वभाव र चरित्र सिंगो मानव समाजको लामो कालदेखिको विशेषता रहेछ। हरेक आदिवासी, जात–जातिको आदिम कथा खोतलियो भने आफ्ना विकट अतीतका पुर्खाको उत्पत्तिको चामत्कारिक कथा, तिनको अविश्वसनीय नायकीकरण र दैवी स्वरूपको संकथन भेटिने छन्।
त्यसैले उज्यालो वर्तमान छाडेर विगतको भ्रमपूर्ण सुख र समृद्धिको किर्तन गर्नु मानव समाजमा लामो कालदेखि चलिआएको विगतको महिमा फलाक्ने अभ्यासको निरन्तरता हो।
अर्कातिर, वर्तमान उज्यालो नभएको र भविष्यप्रति भरोसा नभएको समाज विगतको स्मृति–दंश (नोस्टाल्जिया) मा रमाउँछ। कष्टकर विगत बरू ठिक थियो भन्ने भुलभुलैयाको सिकार बन्छ। सामाजिक अगुवा र नेतृत्वको योग्यता भनेकै उसले समाजलाई भविष्यप्रति आशावादी हुनसक्ने बनाएको छ कि दुर्दान्त विगत बरू ठिक थियो भन्ने बनाएको छ भन्नेमा निर्भर हुन्छ।
यात्रारम्भ
इतिहासको पटरीले घिसार्दै ल्याएर थिग्रिएको वर्तमानको योग्यतामा समग्र समाजको सामर्थ्य आधारित हुन्छ। यो अलिकति विगतसँग जोडिन्छ, धेरैजसो वर्तमानमा निर्भर रहन्छ। तर यो इतिहासले खनेको बाटो हुँदै यहाँसम्म आइपुगेको हुन्छ। त्यसैले समाजको सामर्थ्य निर्माणको यात्रालाई एकअर्काबाट अलग गरेर, कालहरूमा विभाजन गरेर, व्यवस्थाहरूमा बाँडेर अलगथलग तवरले हेर्न सकिँदैन।
आठ अर्ब जनसंख्या नाघिसकेको आजका हामी ‘होमो–सेपियन्स’ ले पृथ्वीमा बास गरेको सबभन्दा पुरानो प्रमाण तीन लाख २० हजार वर्षजति पहिलेको छ। उक्त मिति जनाउने जीवाष्म मोरक्कोको जेबेल इरहाउड (इरहौड) मा फेला परेको थियो।
मोरक्कोमा अस्थिपञ्जरमार्फत् आफ्नो जातिको पहिलो ब्लुप्रिन्ट छाडेर गएको उक्त पौरस्त्य होमो–सेपियन्सको स्वरूप र बनावट ठ्याक्कै कस्तो थियो यकिनसाथ भन्न सकिन्न। यति चाहिँ निर्धक्क भन्न सकिन्छ — लाखौं लाख वर्षदेखि जारी उद्विकासको बाटो पार गर्दै चेतना, बनावट, प्रवृत्ति, खोपडी, उचाइ लगायतमा कायाकल्प भएरै उक्त व्यक्तिले होमो– सेपियन्सको पहिलो पात्र बन्ने संयोगको धर्सो आफ्नो ‘ब्लुप्रिन्ट’ मा अंकित गरेको थियो।
हाम्रो त्यो सर्वपुरातन पुर्खाको स्वरूप जे जस्तो थियो, बितेका तीन लाख वर्षभन्दा बढी अवधीमा त्यसमा थप भव्यतम् कायाकल्प भइसकेको छ। त्यही कायाकल्पको योगमा आजका हामी आफूले आफैंलाई बुद्धीमान र आधुनिक मानिसको अलंकार भिराइबसेका छौं।
आज हामी जे जस्तो अवस्थामा छौं, यहाँसम्म आइपुग्न हाम्रा पुर्खा प्रजातिहरूले कायाकल्पका अनेकन गल्छेँडा पार गरेका छन्। उद्विकासको यात्रा पार गर्दै यहाँसम्म आइपुग्न अनेकन असजिला र चर्का पहरा भत्काएर सम्याएका छन्।
मानवशास्त्री बारबारा हेल्म वेल्करको सन् २०१७ मा प्रकाशित किताब ‘द हिस्ट्री अफ आवर ट्राइब: होमिनिनी’ मा उल्लेख भएअनुसार यो कायाकल्प एकाएक या कुनै एउटा घटनाको विशेष झट्काबाट एक निमेषमा भएको होइन। निरन्तर भएका परिवर्तन थप्दै, जोड्दै आजको अवस्थासम्म आइपुगेको हो।
यसमा हामी मानव समाजको इतिहासको अर्को उदाहरण पनि जोडेर हेरौं।
हाल इजरायलमा पर्ने माउन्ट कर्मेल गुफामा होमो–सेपियन्सले मात्र होइन, अन्य मानव प्रजातिले समेत हजारौं हजार वर्ष निखारे। त्यहाँ एकतमासको भूमध्यसागरीय आनन्ददायक जलवायु र मध्यमखाले तापमानले जीवनलाई सहजता प्रदान गरेको थियो। हिमालबाट हिउँ पग्लेर पानीको स्थायी स्रोत बनेको थियो। त्यहाँको पहाडी या हिमाली क्षेत्रका जंगलले मृग, बाह्रसिंगे, गैंडा, बँदेल लगायतका जनावरको सिकारलाई सहजता प्रदान गरेको थियो। जंगल बाहिरको खुला स्थानमा फलफूलका वृक्ष र अनाजजस्ता प्रागऐतिहासिक बोटबिरूवाहरू उपलब्ध थिए।
न्यानो जलवायु, वातावरणीय विविधता र कच्चा पदार्थको यथेष्ट उपलब्धताका कारण माउन्ट कर्मेल गुफालाई भिन्न सिकारी समूह र प्रजातिहरूले अनेकन सहस्राब्दीसम्म आदर्श घरका रूपमा छनौट गरे। हजारौं हजार वर्षसम्म मानव वंशका अनेकन प्रजातिहरूको प्रागऐतिहासिक बसोबास स्थल भएका कारण उक्त गुफा भएको क्षेत्र राष्ट्रसंघीय मानव विकाससम्बन्धी विश्व सम्पदा स्थलका रूपमा सुविख्यात छ। वैज्ञानिकहरूले यही क्षेत्रलाई होमो–सेपियन्स र नियन्डरथलबीच जम्काभेट भएको सम्भावित स्थलका रूपमा लिएका छन्।
उक्त गुफाबाट प्राप्त पुरातात्विक अवशेष तथा अन्य प्रमाणहरूले प्रारम्भकालीन होमो–सेपियन्सले बिस्तारै तर स्थिर रूपमा नयाँ कौशल, आगोको प्रयोगमा निपुणता, परिष्कृत ब्लेड, चम्किलो चुनढुंगाका औजार र सहकार्यको बलियो सञ्जाल निर्माण गर्दै अघि बढेको देखाएका छन्।
यो सांस्कृतिक र प्राविधिक प्रगतिमा मानिसको मस्तिष्क विकासले प्रमुख भूमिका निर्वाह गर्यो र त्यसले नै हामीलाई अन्य प्रजातिभन्दा पृथक बनायो।
यो प्रगति एकैपटकमा आएको थिएन। मानव वंशले क्रमबद्ध रूपमा हिँडेको कष्टसाध्य र लम्बे यात्राका क्रममा यो उपलब्धि हासिल भएको हो — एकको उत्तराधिकारका रूपमा अर्को; एउटा विकासको जगमा टेकेर भएको अर्को विकास।
विकास: निरन्तरताको परिणाम
हरेक चिजको विकास क्रमबद्ध हुन्छ भन्ने माथिको विवरणले प्रस्ट पार्छ। व्यक्ति, समूह या समाज, राष्ट्र, भूगोलको विकासका पछाडि आ–आफ्नै क्रमबद्धता र निरन्तरताको इतिहास हुन्छ।
माथि नै उल्लेख गरिसकियो, आजका हामी ‘आधुनिक’ भनिने मानिस अर्थात् होमो–सेपियन्स जुन स्वरूपमा छौं, झन्डै तीन लाख २० हजार वर्षअघि मोरक्कोको जेबेल इरहाउडमा पहिलोपटक देखापर्दा यस्तै स्वरूपमा थिएनौं। समयक्रममा अनेकन परिवर्तन थपिएर ७० हजार वर्षजतिअघि अफ्रिकाबाट निर्णायक आप्रवासनमा निस्कँदा हाम्रा पुर्खाले शारीरिक, मानसिक, सांस्कृतिक, चारित्रिक र आनुवांशिक रूपले आफूमा अनेकन कायाकल्प गरिसकेका थिए।
त्यसैले आजका दक्षिण एसियाली या नेपाली जनसंख्याको जुन स्वरूप निर्माण भएको छ; यो अनेकन पटक, अनेकन भूगोलका अनेकन मानव समूहसँगको शारीरिक, सामाजिक र सांस्कृतिक मिलावटको परिणाम हो।
सिंगो मानव समाज एकैपटक सल्लाह गरेर कृषि या पशुपालनको अभ्यासतिर फड्को मारेको होइन। बरू निरन्तर संकलन र संकथन गरेको ज्ञान, चेतना र अनुभवले निर्दिष्ट गरेको बाटोतिर फड्किएको हो। पुरानो निरन्तरताको बाटोबाट क्रमभंग भएको हो। एकपछि अर्को सिक्दै, आफूसँग भएको ज्ञानमा अरूको ज्ञान थप्दै र नयाँ ज्ञान/चेतना सिर्जना गर्दै परिपक्व अवस्थाको उत्कर्षमा पुगेपछि मात्र मानिस फिरन्ते सिकारी युगबाट कृषि र पशुपालनको युगतिर अग्रसर भएको हो।
यस क्रममा एउटा भूगोलको एउटा मानव समूह कृषिमा अभिसारित हुँदै त्यसैमा अभ्यस्त भइरहँदा त्यही भूगोलको अर्को मानव समूह फिरन्ते सिकारीका रूपमा जगंलमा विचरण गरिरहेकै थियो। त्यही समय अर्को भूगोलको अर्को मानव समूहले कृषि र पशुपालनतिरको यात्रालाई चियाएर हेर्ने अवसरसमेत प्राप्त गरेको थिएन।
एउटा समाज भव्यतम् सहरी सभ्यताको विकासमा रमाइरहँदा अर्को समाज जंगली सिकारी अवस्थामै रमाइरहेको थियो। त्यसका केही अवशेष अझै बाँकी छन्। एउटा समाज मंगल ग्रहमा बस्ती बसाउने अभ्यासमा अघि बढ्दा अर्को समाज फिरन्ते जंगली जीवनमै रमाइरहेको छ। कुनै समाजले मानव विकासका तमाम सूचकांकहरूमा श्रेष्ठता हासिल गर्दा अर्को समाज चरम अशिक्षा, कुरीति, छुवाछुत र गरिबीमा फसिरहेको छ।
यसबाट पनि के बुझ्न सकिन्छ भने; समृद्धि, विकास र उन्नति सबैतिर एकसाथ, एउटै गतिमा अघि बढ्दैन। यसको प्रतिफल सबैलाई उत्तिकै मात्रामा एकसाथ प्राप्त हुँदैन। सबभन्दा समृद्ध भनिएका राज्य वा समाजमै अति दारूण हालतको दरिद्रता भोगेर बाँचिरहेका मानिस भेटिन्छन्।
यसरी हेर्दा अरू किन हामीभन्दा बढी सामर्थ्यवान बने, विकसित भए र हामी किन सामर्थ्यहीन अवस्थामा छौं भन्ने आधारहरू फेला पार्न सकिन्छ। जसले विकासको यात्रा पहिले आरम्भ गरे, ती अघि बढे। जसले यात्रा पछि सुरू गरे, ती अरूभन्दा पछि छन्। विकासको गति बराबर हुँदा पनि यसको आरम्भ कहिले भयो भन्नेले विकासको समग्र पैमानामा भिन्नता देखिएको तथ्य हामीले आत्मसात् गर्न सकिरहेका छैनौं।
जस्तो — ‘ए’ भन्ने धावक र ‘बी’ भन्ने धावक बराबर गतिका साथ दौडिरहेका छन्। तर ‘ए’ सात मिनेटअघि दौडन थाल्यो र ‘बी’ सात मिनेटपछि। यस्तो अवस्थामा समान गतिका साथ दौडिरहे पनि ‘ए’ भन्ने धावकले पार गरेको दुरी र ‘बी’ भन्ने धावकले पार गरेको दुरीबीच भिन्नता त हुन्छ नै। भिन्नता छ, पछि परेँ भनेर दौडन छाड्ने चाहिँ होइन। निरन्तर दौडिरहने र सकेजति दौडको गति बढाउन प्रयास जारी राख्ने हो।
हामीमा भने पछिबाट दौडन थालेको भुलेर म त पछि परेँ भन्दै दौड नै त्याग्ने र अर्काले दौडेको हेरेर रमाउने प्रवृत्ति हाबी छ। चुक यहीँनेर भएको छ।
हामीलाई अरूको विकासको गति हेरेर आफ्नो देशलाई ‘छ्या यो कस्तो देश’ भन्दै हियाउने उपभोक्तावादी प्रवृत्तिले गाँजेको छ। साँच्चै नै देशको अविकासले चिन्तित बनाएको हो भने यही देशको दौडने गति बढाउने हो। आफ्नो दौड छाडेर अरू दौडेको रमिते बनेर हेर्ने र आफ्नै दौडको बदख्वाइँ गरेर मात्र हामी निर्धारित दुरी पार गर्दै तोकिएको रिङभित्र प्रवेश गर्न सक्दैनौं।
यसका लागि हामीले समग्र राष्ट्रको ज्ञान, चेतना, प्राविधिक तागत, शिक्षा र मानव संशाधनको तागत र नीतिगत बाटोहरूको जुगलबन्दी मिलाउनु पर्नेछ। जब देशको मानव संशाधनको स्रोत नै देशभित्र अडिन सक्दैन भने विकास अघि बढ्दैन। देशमा उक्त शक्ति अडिन र अघि बढाउन राज्यको उपयुक्त नीतिगत आडभरोसा चाहिन्छ। त्यो आजको नेपाली राज्यसँग बिल्कुलै छैन। त्यसले अकल्पनीय परिमाणमा नागरिकको पलायनको आँधी सिर्जना गरिरहेको छ।
खाडी राष्ट्र, जापान, कोरिया वा अन्यले नेपाली जनशक्ति लग्नुको कारण नेपालीहरूले बेरोजगार भएर दुःख पाए भन्दै दयामाया गरेको होइन। ती देशले तय गरेको समृद्धिको नीतिगत लक्ष्य हासिल गर्न आवश्यक जनशक्ति हामीकहाँ भएकैले उनीहरूले लगेका हुन्। किनभने, हामीलाई थाहा नभए पनि, उनीहरूलाई राम्ररी थाहा छ — श्रमशक्तिरूपी मानव पुँजी आजको दिनमा विकासको सबभन्दा महत्वपूर्ण आधारभूत पुँजी हो।
यसरी हेर्दा कुन समाजले कति विकास र समृद्धि हासिल गर्यो भन्ने कुरा त्यो समाजले कति सामर्थ्य निर्माण गर्यो भन्नेमा मात्र पनि निर्भर रहँदैन। कुन समाजले आफ्नो सामर्थ्य बढाउन कति लामो समयदेखि निरन्तर प्रयास जारी राख्यो र त्यो प्रयासको गति कति तीव्र बनायो भन्नेमा पनि निर्भर रहन्छ।
जस्तो — युरोप सम्पन्नताको एउटा चरणमा पुगेर दुनियाँभर उपनिवेश लाद्न पुग्दा आजका अमेरिका, क्यानडा त्यही युरोपेली उपनिवेशवादको सिकार भएका थिए। स्वतन्त्रतापछि पनि उपनिवेशवादले आरोपित गरेर छाडेको रंगभेदको भयानक तातो तावामा अमेरिकी समाज लामो समय डामिइरह्यो। त्यसले अमेरिकी समाजमा गृहयुद्धको अवस्थासमेत निम्त्यायो।
ती सबै चरण पार गरेर युरोपेली देशभन्दा निकै ढिलो सामेल भएको हो समृद्धिको दौडमा, अमेरिका। तर ऊ आफ्नो सामाजिक र राष्ट्रिय सामर्थ्य निर्माणमा यति तीव्र गतिका साथ दौडिइरह्यो, आज उसले सबैलाई पछि पारिदिएको छ।
चीन त झन् सन् १९८० को आरम्भतिरबाट मात्र विश्व व्यवस्थाको प्रतिस्पर्धी दौडमा सामेल भएको हो। तर उसको विकास र राष्ट्रिय सामर्थ्य निर्माणको यात्रा यति तेज छ, शताब्दीऔं पहिलेदेखि निरन्तर दौडमा सामेल भएका र दौडको अगुवाइ गरिरहेकाहरू समेत चीनको दौडको गतिले पैदा गरेको हुरीले हल्लिइरहेका छन्।
यसबाट के बुझ्न सकिन्छ भने, राष्ट्रको सामर्थ्य निर्माण र त्यसका आधारमा समाज र नागरिकले प्राप्त गर्ने विकासको लाभ उक्त राष्ट्र, समाज र नागरिकको निरन्तर प्रयास र मेहनतमा निर्भर रहन्छ। सबैतिर एकसाथ एउटै गतिमा प्राप्त हुने पनि होइन। यो सामर्थ्य निर्माणको यात्रा कहीँ छिटो र कहीँ ढिलो आरम्भ हुन्छ। र, कसले कति छिटो सुरू गर्यो र कुन गतिमा अघि बढ्यो भन्नेले निर्धारण गर्छ।
हामीले अरूले भन्दा निकै ढिलो यात्रारम्भ गरेका हौं। अरू तेज गतिमा दौडिइरहेका छन्। हामी भने गतिलोसँग हिँड्ने जाँगर पनि लगाइरहेका छैनौं। बिग्रिएको यहीँनेर हो। यसैले सबै कुरा गडबड गरिदिएको हो।
लोकतन्त्र: प्रतिस्पर्धा उन्नत लोकतन्त्रसँग
समाजको विकास र सामर्थ्य निर्माणको गति समाज कति लोकतान्त्रिक छ भन्नेले पनि फरक पार्छ। किनभने, लोकतन्त्र निरन्तर परिवर्तन, परिमार्जन, सुदृढ र विकास भइरहन्छ। यो मनोमानीपूर्ण हुकुमी शासनको प्रतिस्पर्धी होइन। लोकतन्त्रको प्रतिस्पर्धा निरंकुशतन्त्रसँग होइन, आफैंमा गरिने थप कायाकल्प र परिमार्जनसँग हुन्छ। सन्की हुकुमीतन्त्रले मानिसको जीवन, विकास र परिवर्तनलाई बन्धक बनाएपछि मानव समाजले वैकल्पिक सहजताको खोजीमा लोकतन्त्रको बाटो समातेको हो।
पछिल्लो समय नेपाली समाजमा लोकतन्त्रकालभन्दा बरू पञ्चायतकाल नै उत्कृष्ट थियो भन्ने भाष्यको व्यापार धुमधामले चलाउन खोजिएको छ। अर्कातिर तीसवर्षे पञ्चायतकालसँग दाँजेर प्रजातन्त्र र लोकतन्त्रको तीसवर्षे कालमा कति धेरै परिवर्तन भयो भन्ने तथ्यांकसहित अघिल्लो प्रचारबाजीको प्रतिवाद गर्ने गरिएको छ। मलाई लाग्छ — लोकतन्त्रले आफ्नो योग्यताको प्रमाण तानाशाही हुकुमीतन्त्रको समग्र सामाजिक र राष्ट्रिय गतिसँग दाँजेर दिने होइन। बाँकी विश्वको गतिसँग दाँजेर आफू कहाँ उभिएको छु भनेर दिने हो।
जब नेपाली लोकतन्त्रले आफ्नो योग्यता पञ्चायती एकतन्त्रीय शासनसँग दाँजेर प्रमाणित गर्नुपर्ने अवस्था आउँछ, तब बुझ्न सकिन्छ, लोकतन्त्र आफ्नो परिचयकै परीक्षा दिनुपर्ने टिठलाग्दो गतिहीनतामा फसेको छ।
ट्रकले ठेलागाडाभन्दा कति बढी वजन बोक्यो भनेर तुलना गरिन्न। उसको तुलना अर्को ट्रकको भारवहन क्षमतासँग हुन्छ। हवाईजहाजको तुलना गाडीभन्दा कति बढी गतिमा उड्यो भनेर हुँदैन। अर्को विमान उत्पादक कम्पनीको जहाजसँग मात्र हुन्छ। जब जहाजलाई गाडीसँग तुलना गर्नुपर्ने अवस्था आउँछ, त्यसले गाडीको योग्यता र आफ्नो अयोग्यताको प्रमाण दिन्छ।
हलो, पांग्रा, कम्पास, प्रिन्टिङ प्रेस, वाष्प इन्जिन, टेलिफोन, हवाईजहाज, इन्टरनेट आदिको विकासले मानव जीवनमा प्रदान गरेको सहजता र ल्याएको परिवर्तनलाई त्यसकाल अघि र पछि भनेर तुलना गरेर हेरिन्न। किनभने, ती एकअर्काका प्रतिस्पर्धी नै होइनन्। मानव जीवनमा सहजता र सरलता प्रदान गर्ने साधनहरूको खोजीका क्रममा ती अवयवको आविष्कार र विकास भएको हो।
लोकतन्त्रकाल र पञ्चायतकालको तुलना पनि यस्तै हो। यो तुलनाले लोकतन्त्रको अयोग्यता र पञ्चायतको योग्यताको प्रमाण दिन्छ। आजका दिनमा नेपाली समाजमा व्याप्त निरासा, असन्तुष्टि र पलायनको कारण लोकतन्त्रले पञ्चायतकालमा जति पनि उन्नतिको बाटो नपक्डनु हो जस्तो मलाई लाग्दैन। मेरो विचारमा यसको कारण तीव्रतर गतिमा अघि बढेको विश्वसँग अकल्पनीय तवरले पछि परिरहेको नेपाल राष्ट्रको समग्र सामर्थ्य र योग्यताको निराशाजनक सीमा हो।
यसलाई विषयान्तर गर्न समग्र लोकतन्त्रकालको कार्य–योग्यतालाई र नेपाली समाजको सामर्थ्यलाई निरंकुश पञ्चायती हुकुमीतन्त्रकालको कार्य–योग्यतासँग दाँज्ने अवस्था आएको हो र त्यसरी दाँजेर लोकतन्त्रकाललाई उज्यालो देखाउनुपर्ने अवस्था आएको हो भने लोकतन्त्रकालले नेपाली समाजको समग्र सामर्थ्यमा यथेष्ट उभार ल्याउन नसकेको तथ्य प्रमाणित गर्छ।
हामी देशको सामर्थ्यलाई आफूलाई स्वाद पर्ने व्यवस्था, शासक र पार्टीहरूको कार्यकालमा विभाजन गरेर आफ्नो कुण्ठा समन गर्ने बानीमा रमाउन अभ्यस्त भएका छौं। त्यसलाई तत्–तत् अवधिको सत्ताको योग्यताका रूपमा हेर्दैनौं। नेपाली समाजको जम्माजम्मी योग्यताको प्रकटीकरण हो भनेर पनि हेर्दैनौं।
पञ्चायतकालमा नेपालको समग्र राष्ट्रिय सामर्थ्य जति बनेको थियो, त्यो नै त्यति बेलाको समग्र नेपाली समाजको जम्माजम्मी सामर्थ्यको प्रकटीकरण थियो। आज जति बनेको छ, यो पनि कुनै व्यवस्थाकै कारण मात्र भएको होइन। नेपाली समाजले आफ्नो समग्र सामाजिक योग्यता कति विस्तारित गर्न सक्यो वा बढाउन सक्यो भन्ने नै यसले देखाउँछ। त्यसैले यसलाई शासन व्यवस्थासँग मात्र जोडेर हेर्न मिल्दैन।
निश्चय नै, सामाजिक योग्यतालाई गति दिने भनेको राज्य व्यवस्थाको स्वरूप, त्यसले खडा गरेका संस्थाहरू र मुख्यतः नीतिले नै हो। नेतृत्वले पनि हो।
नीति र संस्थाहरू तथा संस्कृति, भौगोलिक अवस्थिति, जनसांख्यिक विविधता भनेका विकास या अविकासका लागि प्रमुख कारकका रूपमा देखिन्छन्। राज्य नीति र त्यसलाई अघि बढाउने संस्थाहरूका कारण विकास र अवनति भएका उदाहरण दक्षिण कोरिया र उत्तर कोरिया हुन्। उस्तै भूगोल, उस्तै जनसंख्या र उस्तै भाषा। तर राज्यले लिएका भिन्न राजनीतिक तथा आर्थिक नीतिगत बाटो र संरचनाले यी दुई देशको विकासको पैमानामा आकाश–जमिनको भिन्नता सिर्जना गरेको छ।
कुनै पनि देश वा समाजको राजनीतिक तथा आर्थिक नीति र अभ्यासमा कति एकाधिकार, नियन्त्रण, नातावाद, ठगी, बिचौलियापन र निरूत्साहन छ भन्नेले पनि त्यस राष्ट्र वा समाजको समग्र विकासको गतिलाई प्रभाव पार्छ। नेपाल यसैको सिकार बनिरहेको देख्न सकिन्छ।
ऐतिहासिक शासकीय संस्थाहरूले राष्ट्रको समृद्धि र सामर्थ्य निर्माणमा ऐतिहासिक भूमिका निर्वाह गरेका हुन्छन्। यस्ता संस्थाले नै समाज विकासमा निर्णायक भूमिका निर्वाह गर्छन् भन्नेमा असहमत विचारहरू पनि उत्तिकै बलशाली रहेको पाइन्छ। राष्ट्रको भौगोलिक अवस्थिति, उसको समुद्रसँगको पहुँच, जनसंख्याको अवस्थाले राज्यको समृद्धि र विकासमा अन्य कुनै राजनीतिक, सांस्कृतिक, आर्थिक संस्थाहरूले भन्दा बढी प्रभाव पार्छ भन्ने यो तर्क आधारहीन छैन।
ठूलो भूगोल र जनसंख्याको लाभ लिएर चीनजस्ता देशले गरेको उन्नति र अत्यन्तै कम जनसंख्या र भूगोल भएका कारण सिंगापुर, भुटानजस्ता देशले हासिल गरेको समृद्धिको पैमाना उल्लेखनीय सन्दर्भका रूपमा हाम्रासामु उपस्थित छन्।
कहिलेकाहीँ समाजले प्राप्त गरिरहेको सुविधाले पनि उक्त समाजलाई पछौटे बनाइरहेको हुन्छ। जीवन गुजाराका लागि आवश्यक आधारभूत आवश्यकतामा खासै चुनौती सामना गर्न नपरेका कारण नेपाली समाज थप उन्नतिको बाध्यात्मक बाटोमा हिँड्न विवश नभएको त होइन भन्ने कोणबाट पनि बेलाबखत तर्कनाहरू चलिरहन्छन्।
अर्कातिर, अकल्पनीय संकटबाट गुज्रिएपछि समाजले प्रविधि, विज्ञान, विचार र विकासमा फड्को मारेको इतिहास हाम्रोसामु छ। संक्रामक महामारीले श्रमशक्ति विक्रय गर्न योग्य विशालतम जनसंख्या नामेट नपारिदिएको भए युरोपमा प्रविधिमा आधारित औद्योगिक क्रान्ति त्यति छिटो हुन्थ्यो कि हुन्नथ्यो भन्न सकिन्न।
त्यसैगरी, दोस्रो विश्वयुद्धमा आततायी बम विष्फोटको सिकार भएर घाइते नभएको भए आफूले उपनिवेश लादेका देशमा महिलाहरूलाई अमानवीय तवरमा यौनदासी बनाएर उन्मक्त जापानको आजको स्वरूप यति चाँडै विकास नहुन सक्थ्यो। आन्तरिक हिंसाको चपेटामा परेर थातथलो छाड्न विवश मानिसले गुजाराको विकल्पका रूपमा वैदेशिक रोजगारी अपनाउने बाध्यता नभएको भए त्यसको परिणामस्वरूप नेपाली समाजले हासिल गरेको शिक्षा, स्वास्थ्य र आर्थिक आडभरोसा आजको पैमानामा प्राप्त हुन्थ्यो नै भन्ने कमसेकम मलाई चाहिँ लाग्दैन।
तर के नेपाली समाजले कम्तिमा पाँच सय वर्षयताको इतिहासकालभरि अस्तित्वमाथिको चुनौती वा असामान्य संकट सामना गर्नु नपरेकाले नै त्यसबाट निस्किएर वैकल्पिक प्रगतिको बाटोमा अग्रसर हुन बाध्य नभएको हो त? आज यो प्रश्न जबर्जस्त रूपमा उठाउनैपर्ने अवस्था छ। यसतर्फ हामीले ध्यान दिनैपर्ने देखिन्छ।
बहुदल आएपछि गरिएको निजीकरणले नेपालको आत्मनिर्भर अर्थतन्त्र सिध्याएर नेपाली समाजलाई आशामुखी पराधीनताको गर्तमा चोबलिदियो भन्ने तर्क पनि जोडतोडले उठ्ने गरेकै छ। तथ्यहरूका आधारमा हेर्दा भने २०४६ सालपछि अपनाएको भनिएको निजीकरण र उदारीकरणको बाटोमा देश पञ्चायतको आखिरी अर्धदशकमै हिँड्न थालिसकेको थियो। सार्वजनिक संस्थाहरू घाटामा जान थालेपछि त्यसबाट बच्न निजीकरण गर्ने सैद्धान्तिक प्रक्रिया आरम्भ भइसकेको थियो।
निजीकरणको सवाल र त्यसले दिएको परिणामलाई लोकतन्त्रको अयोग्यताका रूपमा चित्रित गर्दै त्यसको जगमा निरंकुशतन्त्रको पैरवी गर्ने प्रयास आत्मघाती छ। लोकतन्त्र नागरिक स्वतन्त्रताको जमिनमा उभिएको हुन्छ। मानिस स्वाभाविक तवरले स्वतन्त्रताको प्यासी हुन्छ। अरूको नियमन, नियन्त्रण र शासनबाट मुक्तिको प्यासले सधैंभरि धाप्पिइरहेको हुन्छ। कतिसम्म भने, फिरन्ते जंगली अवस्थामै रहेका समूहका सदस्यहरू समेत अरूको नियमन, नियन्त्रण र प्राधिकारबाट मुक्त हुन चाहन्थे। त्यसैले प्राग मानव समाजमा, खासगरी होमो-सेपियन्सको जंगली चरणमा समेत मानिसहरू अर्काको प्राधिकारबाट र अधीनस्थताबाट मुक्त हुन चाहन्थे।
केही समयअघि कान्तिपुर दैनिकमा एउटा समाचार प्रकाशित भएको थियो, जसमा पश्चिम नेपालका राउटे समूहका नयाँ सदस्यहरूले आफू औपचारिक शिक्षा पढेर अघि बढ्न चाहेको तर मुखियाहरूले बन्देज लगाएको गुनासो गरेका थिए। यसले फिरन्ते समूहभित्रका सदस्यको स्वतन्त्रताको भोकलाई संकेत गर्छ।
यसले अर्को के पनि संकेत गर्छ भने, मानव जातिले सिंगो इतिहासभरि स्वतन्त्रताका लागि यत्न बढाइराखेको छ। त्यो प्राप्त गर्न अकल्पनीय बलिदान गरेको छ। संघर्ष गरेको छ। यातना खेपेको छ। त्यसैले नागरिक स्वतन्त्रता सुरक्षित गर्ने लोकतन्त्र आफैंमा नेपाली समाजको थप उपलब्धि हो। तर हामीले छाडापन, अनियन्त्रित र उत्तरदायित्वच्यूत स्वतन्त्रता, भ्रष्टाचारको सामाजिकीकरण लगायतलाई नै लोकतन्त्रको मानकका रूपमा स्थापित गर्दै लगेका छौं।
यस्तो दिगमिगलाग्दो प्रवृत्तिबाट समाजलाई जोगाउनु आजको प्रमुख कार्यभार हो।
अन्यथा, लोकतन्त्रले सर्वसाधारणलाई सरोकार समूह बनाउने, आफू अनुकूलको नीति र व्यवस्थाका लागि सत्तामाथि दबाब दिने, समान अधिकार र योग्यताका आधारमा अवसरहरूमाथि हकदाबी गर्ने र समाजमा रहेका विशेष स्वार्थ समूहलाई पराजित गर्ने आत्मशक्ति प्रदान गर्छ। आर्थिक सम्पन्नताले आत्मसुरक्षाको अकल्पनीय भयबाट निकालेर नागरिकमा थप बल प्रदान गर्छ। नागरिक सम्पन्न बन्दै गएपछि जतिसुकै अनुदार राज्य व्यवस्थालाई पनि घिसार्दै स्वतन्त्रता र लोकतन्त्रको बाटोमा अघि बढाउँछ।
राष्ट्रको आर्थिक सामर्थ्यमा वृद्धि र नागरिकको आर्थिक विकासतिरको गतिले समाजमा मध्यम वर्गको उदय तीव्र रूपमा गराउँछ। मध्यम वर्गको संख्यामा बढोत्तरीसँगै यसले सत्ता संस्थापन र राजनीतिमा कब्जा जमाएर बसेको पुरातन कुलीन वर्गमाथि चुनौती खडा गर्छ र राज्यको लोकतान्त्रिक पुनर्संरचना गर्न बाध्य बनाउँछ।
पहिले सर्वहारा श्रमजीवी वर्ग सत्ता संस्थापनका लागि चुनौतीका रूपमा रहने गरेकामा पछिल्लो समय विश्वभर मध्यम वर्ग सत्ता संस्थापनका लागि खतराका रूपमा देखिएको छ। सामाजिक संघर्षको सुचालकका रूपमा मध्यम वर्ग अघि आएको छ। पछिल्ला दशकहरूमा विश्वभर भएका क्रान्ति, आन्दोलन र प्रदर्शनहरूमा मध्यम वर्गको सघन सक्रियता देखिएको छ। यसर्थ नागरिकको आर्थिक सामर्थ्य वृद्धिले तमाम सामाजिक लोकतन्त्रका अवयवलाई पनि उदार बनाउने सक्रियताको बाटो समाजले समाउँछ भन्ने देखिएको छ।
चीनलाई नै हेरौं। चिनियाँ समाज जति जति सम्पन्न हुँदै गइरहेको छ, उति उति उदार हुँदै गइरहेको छ। कडा धार्मिक, सामाजिक, शासकीय प्रावधान भएका अरब राष्ट्रहरू जति विकसित बन्दैछन्, तुलनात्मक रूपले एकपछि अर्को चरणमा थप उदार बन्दै गइरहेका छन्। त्यसैले त भन्ने गरिन्छ; लोकतन्त्र जति राजनीतिक रूपले समावेशी हुन्छ, आर्थिक रूपले पनि उत्तिकै समावेशी हुन्छ। त्यसैले जुन गतिका साथ समाज विकास गर्नुछ, त्यही गतिका साथ लोकतान्त्रिकरणको बाटो अवलम्बन गर्नुपर्छ। या, समाजको जुन गतिका साथ लोकतान्त्रिकरण गर्नुछ, त्यही गतिका साथ आर्थिक विकासको गतिमा अघि बढ्नुपर्छ।
यसविपरीत हामी भने लोकतन्त्र वा गणतन्त्रको पाइजामा पहिरिएर मुठ्ठीभर स्वार्थ समूहको स्वार्थमा राज्य व्यवस्था समर्पित गरिरहेका छौं। राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक हरेक तहमा सिन्डिकेटमार्फत् दोहन गरिरहेका छौं। नाम लोकतन्त्र राखेर मनोमानीतन्त्र चलाइरहेका छौं।
यहाँ राजनीति, सत्ता व्यवस्था सबै मुठ्ठीभर स्वार्थ समूहको हित रक्षाको इकाईका रूपमा क्रियाशील छ, जसले नागरिकलाई साँचो अर्थमा स्वतन्त्रता, समान हकको उपभोग, सहभागिता, प्रतिस्पर्धा र वैकल्पिक चेतनाको यात्रामा अग्रसर हुन अवरोधकको काम गरिरहेको छ। मन्दिर, धारा, वन, बाटो, शिक्षा, व्यापार, राजनीति सबैतिर स्वार्थ समूहको एकलौटी कब्जा छ। यसले नेपाली समाजको सिर्जनात्मक वैकल्पिक विचार निर्माण र प्रविधिको रचनात्मक आविष्कारको सामर्थ्यलाई नियोजन गरिदिएको छ। हामी प्रमुखताका साथ यहीँनेर पछि परिरहेका छौं।
कानुनी राज्य, कानुनका अघि सबै समान हुने व्यवस्था, एकाधिकारबाट मुक्त खुला र स्वतन्त्र प्रतिस्पर्धा, नवप्रवर्तन र नवउद्यमशीलताका लागि प्रोत्साहन, औद्योगिक उन्नयनमा राज्य यन्त्रको सहयोगी भूमिका, अनुगमन, नियमन र समन्वयका लागि उच्च व्यावसायिक संस्थाहरूको तर्जुमा, स्वार्थ समूहको मनोमानीमाथि नियन्त्रण गर्ने संस्थाहरूको निर्माण र व्यवस्थापनले समाजलाई आर्थिक उन्नतिको बाटोमा अग्रसर हुन प्रोत्साहन र वातावरण प्रदान गर्छ। यस्ता संस्थाले समाजको दीर्घकालीन विकासमा गम्भीर प्रभाव पारेको हुन्छ। नेपाली समाजमा एकातिर यस्ता संस्थाको सर्वथा अभाव छ भने अर्कातिर भएका संस्थाहरूले समेत स्वार्थ समूहको बिगबिगीले स्वतन्त्र र व्यावसायिक तवरले काम गर्न पाएका/सकेका छैनन्।
सामन्तकालीन दासता आजको नेपाली आर्थिक उत्पादन प्रणालीको मूल स्वरूप नरहे पनि त्यसको निलडाम सामाजिक अभ्यासमा अझै बाँकी छ। नाम मात्रको बाली प्रथामा समाजको एउटा निश्चित समुदायको श्रम दोहन गर्नेदेखि हलिया प्रथाजस्ता अर्धसामन्ती अभ्यास समाजबाट नामेट भएर जान सकेको छैन। अर्कातिर, आयातित पुँजीवादी शोषणले मानिसलाई नयाँ दासताको दाम्लोमा बाँधिदिएको छ।
आज विश्वभर विस्तारित नेपाली श्रमिकहरू संगठित हुने, ज्याला र अधिकारका लागि सामूहिक सौदा गर्ने र त्यसबाट अधिकार प्राप्त नभए हड्ताल गर्नेजस्ता आधारभूत लोकतान्त्रिक मजदुर अधिकारबाट बेदखल गरिएका छन्। मालिकको सर्तमा मन लागे पनि र नलागे पनि काम गर्नुपर्ने नयाँ स्वरूपको दासता शिरोपर गर्नुपरेको छ। यसलाई जुक्तिपूर्वक सामना गर्ने सामर्थ्य नेपाली समाजले कसरी बढाउँदै लैजान्छ भन्ने कुराले विश्व बजारमा नेपाली श्रमिकको श्रममूल्यको भविष्य निर्धारित गर्नेछ। यसमा पनि हामीले काम गर्नुपर्नेछ। किनभने, आधारभूत आवश्यकतापछि मानिसले सम्मानपूर्ण र उचित ज्यालासहितको रोजगारीको स्वतन्त्रता खोज्नेछ। त्यसले श्रम गन्तव्यका देशहरूमा नेपाली श्रमिकहरूलाई द्वन्द्वमा होम्नेछ।
फ्रान्सेली क्रान्तिकाल अघिसम्म संसारभरका सबैजसो राज्य बलपूर्वक लादिएका श्रमिक अर्थात् दासहरूले भरिएका थिए। सन् १८०० सम्म विश्वको तीनचौथाइ जनसंख्या धनी मालिकहरूको दासताको अधीनस्थ भएर बाँचिरहेका थिए। नब्बे प्रतिशतभन्दा बढीले जमिनमा अर्थात् कृषिको काम गर्दा पनि ८० प्रतिशतभन्दा बढी मानिस चरम गरिबीमा थिए।
प्रख्यात विचारक जीन ज्याक्स रूस्सोले उसबखत सामाजिक बन्धनहरूले बाँधिएको मानिसलाई संकेत गर्दै लेखेका थिए — मानिस जन्मँदा स्वतन्त्र जन्मिए पनि ऊ जताततै जंजिरहरूले बाँधिएको हुन्छ। मानव समाजको सिंगो इतिहासभरि मानव जातिले गरेको प्रमुख काममध्येको एउटा आफूलाई बाँध्ने जंजिरविरूद्धको संघर्ष पनि हो।
नेपाली समाजले यो संघर्षलाई आन्तरिक र वाह्य रूपमा कुन सामर्थ्यका साथ अघि बढाउन सक्छ भन्नेले पनि नेपाली समाजको बृहत्तर आय र मानव विकास सूचकांकमा प्रभाव पार्नेछ। समाज र सामाजिक सुचालक संस्थाहरूको कति लोकतान्त्रिकरण हुन्छ भन्नेले नागरिकले साँचो अर्थमा स्वतन्त्रता अनुभूत गर्न पाउनेछन्।
र, यसले नै आर्थिक, सामाजिक सामर्थ्य निर्माणको दिशा र दशा तय गर्नेछ।
ज्ञानशालाको नयाँ फलक
नेपाली समाज हिजोभन्दा आज दिनानुदिन बदलिइरहेको छ। सामाजिक चेतना, अभ्यास र रीतिहरूमा पनि बदलाव र परिमार्जन भइरहेका छन्। नयाँ सामाजिक चेतना हाबी हुँदै जाँदा पुरातन चेतना निषेध भएको छ र थप परिमार्जित सामाजिक चेतनाको उद्विकास भएको छ।
यसका बाबजुद आजको नेपाली समाजको मुख्य चालक शक्ति पञ्चायती ज्ञानशालाको उत्पादन हो। तमाम सामाजिक, प्रशासनिक, आर्थिक, राजनीतिक सत्ता पञ्चायती पाठशालाको उत्पादनले सञ्चालन गरिरहेको छ।
राणाकालमा आरम्भ भएको औपचारिक शिक्षा, स्वास्थ्य र यातायातको गति निश्चय नै पञ्चायतकालमै द्रुत भएको हो। यी सुविधाहरू त्यस कालमा सिंगो नेपालभरि भने विस्तारित भएको थिएन नै। किनभने, सिंगो समाजभर यी तमाम आधारभूत आवश्यकता र सुविधा विस्तार गर्नसक्ने स्तरमा नेपाली समाज र राष्ट्रको सामर्थ्य विकास भइसकेको थिएन। आज पनि भइसकेको छैन। आरम्भकालमा वस्तुको जुन गति हुन्छ, त्यसपछि त्यसको गति स्वाभाविक तवरले बढी हुन्छ। किनभने, त्यो गतिलाई काँध थाप्ने र तीव्र बनाउने गरी आफ्नै उत्पादन मनग्य भइसकेको हुन्छ।
जस्तो — नेपालमा अदालत स्थापना गर्दाका दिनमा न्यायाधीशसमेत भारतबाट ल्याउनुपरेको थियो। त्यो आरम्भकालीन दिन थियो। आज न्यायाधीश, वकिलहरूको देशभित्रै पर्याप्त उपस्थिति छ।
यसरी हेर्दा पञ्चायती शिक्षा प्रणाली, ज्ञान प्रणाली र भाष्य प्रणालीको संयुक्त उत्पादनले आजको नेपाली समाज सञ्चालन गरिरहेको छ। तपाईं चाहे कर्मचारीतन्त्रको कमसेकम नब्बे प्रतिशत हिस्सामा ध्यान दिनुहोस्, चाहे फौजी संगठनमा। आज सञ्चारमाध्यम हाँकिरहेको जनशक्तिको कुरा गर्नुहोस् या शिक्षालय। चाहे चिकित्सकको कुरा गर्नुहोस् या विश्वभर फिँजारिएर नाम र दाम कमाएका नेपालीहरूको। ती सबैमा तपाईं पञ्चायती ज्ञान प्रणाली, शिक्षा प्रणाली र भाष्य प्रणालीको उत्पादनको उपस्थिति देख्न सक्नुहुन्छ। कमसेकम महेन्द्रमाला पढेकाहरूको बाहुल्य तमाम सामाजिक सत्ता, शासकीय सत्ता, ज्ञान सत्ता, सांस्कृतिक सत्ताको सुचालक शक्तिका रूपमा क्रियाशील रहेको पाउनुहुनेछ।
लोकतान्त्रिक चेतना, शिक्षा प्रणाली, ज्ञान प्रणाली र भाष्य प्रणाली समाजको सुचालक शक्तिका रूपमा सत्तासीन भइसकेको छैन। यी दुई उत्पादन शक्तिबीच आजका दिनमा समाजमा अन्तरसंघर्ष तीव्र छ। यी दुई उत्पादन शक्ति एकअर्काको प्रभावमा तानिएका छन्। पञ्चायती उत्पादनको सामाजिक, सांस्कृतिक प्रभाव बलियो भएको ठाउँमा यसले लोकतान्त्रिक उत्पादनलाई आफ्नो प्रभावतिर घिसारेको छ भने लोकतान्त्रिक चेतना प्रणालीको उत्पादन बलियो भएको ठाउँमा यसले पञ्चायती चेतना प्रणालीको उत्पादनलाई आफूतिर घिसारेको छ। नयाँ पुस्ता र पुरानो पुस्ताबीचको तानातानका रूपमा पनि तपाईं यसलाई व्याख्या गर्न सक्नुहुन्छ।
यही दुई चेतना प्रणालीका उत्पादनहरूका बीचमा संघर्ष सघन बन्दै जाँदा सामाजिक सत्ताको सुचालक शक्तिका रूपमा विराजमान पञ्चायती चेतना प्रणालीको उत्पादनको आवाज चर्को सुनिने गरेको हो। कतिपयले अग्रसरतापूर्वक पञ्चायती पाठशालाको पक्षपोषण नगरे पनि मौनतापूर्वक त्यसको सांस्कृतिक छापलाई धाप मार्नुको कारण यही हो। यसैको परिणाम पछिल्ला समयमा गरिने पञ्चायतको गुणगान र महिमामण्डन पनि हो।
नयाँ सामाजिक चेतनाको उत्पादन बलशाली बनेपछि त्यसले पञ्चायती चेतनाको उत्पादनलाई निषेध गर्दै अघि आउनेछ। तर अझै पनि पूर्ण रूपमा निषेध गरेर समाजलाई अगाडि बढाउन थप एक–डेढ दशक लाग्नेछ। यसबीच पुरातन पाठशालाको गौरव जोगाउने शीर्षकमा मझधारे या दोधारे चेतना प्रणालीको अवसरवादी उत्पादन समाजलाई लोकप्रियतावादको भुंग्रोमा होमेर आफ्नो स्वार्थसिद्ध गर्न सामाजिक सत्ता कज्याउने र कब्जा गर्ने होडमा अघि आउनेछ। बिस्तारै लोकतान्त्रिक चेतना प्रणालीको उत्पादनको मात्रा वृद्धि भएर त्यसले समाजमा आफ्नो उपस्थिति बलियो बनाउँदै जाँदा पुरातन र अवसरवादी उत्पादन किनारा लाग्नेछ र समाज नयाँ गतिका साथ अघि बढ्नेछ।
यसबीच यसले संसारभर फिँजिएर अनेकन ज्ञान प्रणालीहरूमा निहित चेतना शिल्पहरूको संकलन गर्नेछ। त्यसउपर मन्थन गर्नेछ। नेपाली समाजलाई गतिहीनताको कैद भएर बाँकी विश्वसँग छुटेका कडीहरूमा जोड्दै अगाडि बढाउनेछ। त्यसका लागि आवश्यक जमिन निर्माणको काम आजको दशक या आउँदो डेढ दशकले गर्नेछ।
यो सामाजिक गतिलाई तीव्र बनाउन आवश्यक पूर्वाधार अर्थात् नीति, संस्था र प्रावधानहरू तयार गर्ने दशक या संयुक्त दशकका रूपमा क्रियाशील हुनेछ। उप्रान्तको नयाँ दशक त्यसरी तयार भएको लिकमाथि रेल बत्ताउने युगारम्भको दशक हुनेछ।
उदार भर्सेस अनुदारवादी संस्था
मानव समाजको इतिहासकालभर राजनीतिक तथा आर्थिक अधिकार केही मुठ्ठीभर संर्कीण सम्भ्रान्तहरूको कब्जामा रहँदा त्यसले स्वतन्त्र उद्यम, शिक्षा क्षेत्रमा उल्लेखनीय लगानी, आर्थिक उन्नति र विकासमा अवरोधकको काम गर्यो। अध्येताहरूले संस्थाहरूको निर्माणले सम्भ्रान्तहरूको एकाधिकारबाट विकास र समानतालाई बृहत्तर दायरामा पुर्याउँछ भन्नेमा जोड दिएका छन्।
समग्रमा संस्थाहरूको निर्माणले राजनीतिक अधिकारहरूको विकेन्द्रीकरण, सामाजिक परिचालन, सम्पत्तिमाथिको अधिकार र निजी उद्यमलाई इन्धनका रूपमा टेवा दिने भएकाले यसलाई समावेशी संस्थाका रूपमा लिने गरिन्छ। उदार संस्थाहरू मौजुद रहेको स्थानमा त्यसले मानव संशाधन अर्थात् मानव पुँजी सञ्चय, उद्यमशीलता र प्राविधिक उन्नतिमार्फत् दीर्घकालीन आर्थिक विकासलाई गति प्रदान गर्छ। ठिक यहीँनेर अनुदारवादी र नियन्त्रित आर्थिक संस्थाहरूले यो प्रगतिमा अवरोधकको काम गर्छन्। राजनीतिक संस्थाहरूको नीतिगत भिन्नताले दुई भिन्न देशहरूको आर्थिक उन्नतिको दायरामा कसरी भिन्नता ल्याउँछ भन्ने कुरा माथि नै उत्तर कोरिया र दक्षिण कोरियाको उदाहरणबाट प्रस्ट्याइसकिएको छ।
राजनीतिक स्वरूप र संस्थाहरू मात्र कुनै देश वा समाजको विकासको निर्णायक तत्व भने हुँदैन। परम्परागत सामन्ती स्वरूपका संस्थाहरूको नेतृत्व भएर पनि बेलायत र जापानको समृद्धिको रफ्तारमा कुनै अवरोध पैदा भएको देखिँदैन। यसैलाई उदाहरण दिएर नेपालमा पनि राजतन्त्र फर्काउनुपर्ने विकृत बालहठ प्रदर्शन हुने गरेको छ समय समयमा।
अर्कातिर, राजनीतिक रूपमा नियन्त्रित र अनुदार भए पनि आजको चीन, चिली, ताइवान, सिंगापुर आदिले गरिरहेको उन्नतिलाई कसैले नजरअन्दाज गर्न सक्दैन। खासमा राजनीतिक नीतिका बाबजुद त्यहाँका आर्थिक नीति र संस्थाहरू कति उदार र व्यावसायिक जमिनमाथि टेकेर उभिएका छन् भन्ने पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
बेलायत र जापानमा राजसंस्थाले अठारौं शताब्दीतिरबाटै उदार आर्थिक नीतिको बाटो अवलम्बन गरिरहेको देख्न सकिन्छ। यसबारे तल लामै विवरण उल्लेख छ। नियन्त्रित राजनीतिक नीतिमा प्रतिबद्ध देशहरूमा पनि लगानीका लागि खुला वातावरण, लगानी सुरक्षाको प्रत्याभूति, पूर्वाधारहरूमा पर्याप्त लगानी, मानव पुँजीको पर्याप्तता, उन्नत प्रविधिको जुगाड र बजार अर्थतन्त्रको प्रवर्तनले चीन लगायतका देशलाई विकासको तीव्रतर गतितिर लगिरहेको तथ्य महत्वपूर्ण छ।
पहिले बेलायत पनि संकीर्ण सम्भ्रान्तहरूको नियन्त्रणमा थियो। समग्र बेलायती समाज कृषिमा आश्रित सामन्ती स्वरूपमा आधारित थियो। सत्रौं शताब्दीको आरम्भकालसम्म बेलायतका अधिकांश आर्थिक क्षेत्रहरू शाही हुकुमतको बलमा कुलीनहरूको कब्जामा थियो, जसरी पञ्चायतकालभरि राजा वा राजपरिवारका सदस्यहरूको अधीनमा नेपाली अर्थतन्त्र थियो। दरबारका सदस्यहरूलाई सेयर नदिई कुनै पनि नयाँ व्यापारको आरम्भ सम्भव थिएन। ज्ञानेन्द्रको शासनकालमा समेत स्पाइस नेपाल अर्थात् हालको एनसेलले सञ्चालन अनुमति प्राप्त गर्न ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहलाई सेयर दिनुपरेको थियो। आजका दिनमा पनि नेता, कर्मचारी र राजनीतिक बिचौलियालाई कमिसन वा घुस नदिई ठूला उद्योग सञ्चालनको अनुमति लिन सहज नरहेको यथार्थ छ। यसले समग्र लगानीको वातावरणलाई निरूत्साहित गरिदिएको छ।
नयाँ प्रविधिको उदयका लागि सत्रौं शताब्दीको आरम्भसम्म बेलायती राजतन्त्र अनुदार थियो। नयाँ प्रविधिको उदयलाई बेलायती राजतन्त्रले जोखिम मान्थ्यो, जसरी त्रिचन्द्र कलेजको स्थापनालाई आफ्नो खुट्टामा बञ्चरो हानेको ठानेका थिए राणाशाही चन्द्रशमशेरले। त्यसै कारण बेलायतमा गार्मेन्ट उद्योगका लागि आवश्यक मेसिन निर्माणमा विलम्ब हुन गएको थियो।
सन् १५८९ मा महारानी एलिजावेथ प्रथमले पादरी तथा आविष्कारक विलियम लीलाई ‘पेटेन्ट’ अधिकार दिन अस्वीकार गरेपछि विलियम फ्रान्स गएका थिए। फ्रान्सेली राजा हेनरी चतुर्थले विलियमलाई उक्त अधिकार दिएपछि फ्रान्समा गार्मेन्ट उद्योगका लागि आवश्यक मेसिनको निर्माण आरम्भ भएको थियो। त्यसको कैयन दशकपछि मात्र विलियमका भाइले बेलायतमा गार्मेन्ट उद्योगका मेसिनहरूको बजारीकरण गर्न पाएका थिए। त्यसपछि मात्र बेलायती समाजको धन आर्जनको सामर्थ्य वृद्धि भएको थियो। धन आर्जनको सामर्थ्य वृद्धिसँगै सामाजिक सामर्थ्यको वृद्धि सम्भव भएको थियो।
धन: कति भ्रम कति यथार्थ
गरिबी र दरिद्रताको शताब्दीऔं लामो अत्यासले हाम्रो समाजको धनप्रतिको अति आसक्ति अस्वाभाविक पनि होइन। ‘भोको पेटले पहिले भात खोज्छ अनि मात्रै भातको मोल चुकाउन पहिरिनुपर्ने जञ्जीरबारे सोच्छ’ भन्ने प्रसिद्ध लोकोक्ति नै छ। अविकास, पछौटेपन र दरिद्रताले डामिएको समाज हुनाले अग्ला घर, प्रशस्त कालोपत्रे सडक, चिल्ला गाडी, विदेशी कम्पनीका फ्रेन्चाइज आदि–इत्यादिलाई नै हामीकहाँ विकासको मानकका रूपमा व्याख्या गरिन्छ। ‘पहिलो विश्व’ का भनिने देशहरूमा कुनै दुःख, समस्या वा गरिबी नै छैन भनेजसरी प्रचार गरिन्छ। तिनै देश वा समाजलाई आदर्श बनाएर विकास र समृद्धिको परिभाषा घोक्ने गरिन्छ।
प्रकृति, वातावरण, मानव श्रम, भावना, सामाजिकताको चरम दोहन, शोषण र स्खलनका बलमा ती देशहरूको आजको सामर्थ्य बनेको हो। जतिसुकै विकसित भए पनि ती देशमा विद्यमान रंगभेद, चरम असमानता, श्रमको दोहन, विघटित पारिवारिक/सामाजिक सम्बन्ध, व्यक्तिवादी जीवनशैली, असन्तुष्टि, मानसिक समस्या आदिको उपस्थिति अत्यासलाग्दो मात्रामा छ भन्ने हामीले ख्याल गरिरहेका छैनौं। उसो त आजका विकसित देशहरूमा धनप्रति मोह छैन र इतिहासभर उनीहरू मोहको बाटोमा थिएनन् भन्ने पनि होइन।
निश्चय नै लामो समयसम्म क्रिश्चियन समाजमा धनप्रति विकर्षणको चेतना वितरण गरिएको थियो, जसरी हाम्रो पूर्वीय समाजमा विद्यमान दर्शन चेतनाले मानिसलाई धनको आसक्तिबाट दुरी कायम गर्ने ज्ञान प्रवाह गर्ने गरेको छ। ऐतिहासिक संस्थाहरूले निर्माण र वितरण गरेको ज्ञानले कसरी समाज सञ्चालित र प्रताडित हुन्छ भन्ने उदाहरण यो प्रकरणले पनि प्रस्ट्याउँछ।
खासगरी युरोपको त्यस बखतको समाजमा धर्मले सबभन्दा बलियो र एकल ऐतिहासिक, सामाजिक, शासकीय संस्थाको भूमिका निर्वाह गरेको थियो। आज पनि यो उस्तै बलियो संस्थाका रूपमा क्रियाशील छ, तर एकल रूपमा होइन। जिससलाई उद्धरण गर्दै पादरीहरू प्रवचन दिन्थे — धनी मानिसलाई ईश्वरको राज्यमा प्रवेश पाउनभन्दा बरू सियोको टुप्पोमार्फत् परिचालित भएर ऊँटलाई भीमकाय मरूभूमिको बालुवामाथि यात्रा गर्न सजिलो होला।
क्रिश्चियन धर्मवादी तथा पादरीहरू व्यक्तिगत सम्पत्तिले मानिसलाई आध्यात्मिक विकास र मुक्तिको मार्गबाट विचलित गराउँछ भनेर धन सञ्चयनको निन्दा गर्थे। पादरी पउलले भनेका थिए — पैसाप्रतिको मोह नै दुष्टताको जरा हो।
थोमस एक्विनाजले तेह्रौं शताब्दीमा भनेका थिए — धनप्रतिको मोह पाप हो। फैसलाको दिनमा यस्तो मोहमा लीन भएर पाप गरेकाहरूलाई फालिनेछ र धर्तीमा क्रिश्चियानिटीको व्यवस्थाद्वारा अमनचयन फिर्ता गरिनेछ।
यसरी धनको निर्माण, निजी सम्पत्ति र उद्यममा व्यक्तिको संलग्नतालाई अपराधका रूपमा क्रिश्चियन मतले गरेको व्याख्या र उक्त व्याख्याले मानिसको चेतनामार्फत् आकार लिएको भाष्यको प्रभाव त्यसपछिका दार्शनिक र वैचारिक पात्रहरूमा परेको देखिन्छ। यसले निजी सम्पत्ति निर्माण र त्यसको वृद्धीमा लाग्नुलाई आपराधिक क्रियाका रूपमा व्याख्या गरिएको पाइन्छ। निजी सम्पत्तिको उन्मूलनलाई आदर्श लक्ष्यका रूपमा सैद्धान्तिकरण गरिएको पाइन्छ।
सन् १५१० मा आएर पादरी जुलियस द्वितीयले क्याथोलिक मतका दुई परस्पर विपरीत शाखाहरू कट्टरवादी र उदारवादीहरूलाई गाभ्ने निर्णय गरे। त्यसपछि जर्मन युवा बौद्धिक मार्टिन लुथर रोमको भ्रमणमा गए, जो जुलियसको उक्त निर्णयप्रति असहमत थिए। त्यहाँ उनले पादरीहरूले विचार, दर्शन र व्यवहारमा चरम भ्रष्टाचार गरिरहेको देखे। धर्ममा भ्रष्टीकरण गरिरहेका पोपहरू क्याथोलिक चर्चको अधिकारी भएर ढलिमली गरिरहेको पनि देखे।
उनले १५१७ अक्टोबरमा ‘भोगको शक्तिमाथि विमर्श (विवाद)’ शीर्षकमा आफ्ना ९५ मतहरू सार्वजनिक गरे। मार्टिनको उक्त मतमा त्यसअघि अभ्यासमा रहेको क्रिश्चियन भाष्यविपरीत ‘भगवान’ सँगको मिलापका लागि एजेन्टका रूपमा कुनै पादरी वा पोपको जरूरी नपर्ने र व्यक्तिलाई स्वतन्त्र तवरले सिधै ‘भगवान’ सँगको सानिध्य प्राप्त हुने उल्लेख थियो। यसले व्यक्तिगत स्वतन्त्रता र चर्च र पादरी अधीनस्थ भाष्यमा बँधुवा भएर जीवन सञ्चालित हुने अवधारणाबीच सिंगो युरोपमा उन्मादपूर्ण तनाव सिर्जना भयो। परम्परागत क्याथोलिक चर्च, त्यसका अवधारणा, त्यसमा संलग्न पादरीहरूको भ्रष्टाचार, अनुदारवादी बन्धनविरूद्ध सुधारवादीहरूले भयानक प्रदर्शनहरू आयोजना गरे। यसरी परम्परागत शास्त्रीय क्याथोलिक मत र चर्चविरूद्ध प्रदर्शन गर्नेहरू प्रदर्शनकारी (प्रोटेस्टेन्ट) का रूपमा परिचित हुन गए। उनीहरूको मतलाई प्रदर्शनकारी मत भनियो।
यही धार्मिक–वैचारिक असहमति, निषेध र प्रदर्शन चर्किंदै गएर युरोपले सन् १६१८ देखि १६४८ सम्म तीन दशक लामो धार्मिक युद्धको बाटो समात्यो। उक्त युद्धमा ८० लाखभन्दा बढी मानिस मारिए। जर्मनीको त कुल जनसंख्याको एकतिहाइ नै मारिए। सुधारवादी र सुधार विरोधीहरूबीच चरम ध्रुवीकरणले युरोपमा पटकपटक गरेर सय वर्षभन्दा लामो समय धार्मिक युद्धको धुवाँ पुत्पुताइरह्यो।
तर अन्त्यमा निजी सम्पत्ति, व्यक्तिगत स्वतन्त्रता, धनको सञ्चय आदिबारे धर्मान्ध समाजमा रहेको परम्परागत नकारात्मक धारणालाई निषेध गर्दै समाजलाई व्यावसायिक चेतना, चरित्र र अभ्यासको बाटोमा अघि बढायो। समाजलाई कमाएको बचत गर्न र कडा मेहनत गर्न प्रोत्साहित गर्यो, जुन आर्थिक उन्नतिको आधार बन्यो युरोपको। यसरी प्रदर्शनकारी मतले पहिलोपटक सांस्कृतिक अभ्यास र आर्थिक वृद्धिका बीचमा अन्तरसम्बन्ध विकास गर्ने आधुनिक विचारको बिजारोपण गर्यो।
यसलाई सैद्धान्तिकीकरण गर्दै सन् १९०५ मा म्याक्स वेबरले ‘दी प्रोटेस्टेन्ट इथिक्स एन्ड दी स्पिरिट अफ क्यापिटालिज्म’ शीर्षकको प्रभावशाली विचार प्रकाशित गरे, जसमा उनले प्रदर्शनकारी मतलाई पश्चिम युरोपको पुँजीवादको आत्मा (स्पिरिट अफ क्यापिटालिज्म) का रूपमा व्याख्या गरेका छन्।
विचारको बाटो: असहिष्णुताको रवाफ
समाजको उन्नतिमा नवविचार, नवचेतना, फरक मत, असहमति, विमर्श र प्रश्नलाई कति मलिलो जमिन उपलब्ध छ भन्नेले धेरै फरक पर्छ। आजको नेपाली समाजमा सामाजिक, वैचारिक विमर्शप्रति आग्रहपूर्ण उपेक्षा या अवरोध पञ्चायतको जति कठोर नभए पनि अझै यो खुला र सर्वस्वीकार्य हुन सकेको छैन।
समाज मनुस्मृतिको नीतिगत संहिताको चंगुलबाट मुक्त हुन सकेको छैन। धार्मिक विभाजनको घेराबाट मानिसको परिचय संगठित गर्ने मनोदशाबाट उम्किन सकेको छैन।
युरोपको इतिहास हेर्दा स्थापित मत, विचार, धारणा, अभ्यास, चिन्तनउपरको असहमतिले जब समाजमा स्थान प्राप्त गर्न थाल्यो, त्यसपछि युरोप नयाँ विचार, सिद्धान्त, चेतना, अवधारणा, आविष्कारको बाटोमा अग्रसर भएको देख्न सकिन्छ। यसलाई आत्मसात् गर्दै बिस्तारै नयाँ विचार र प्रविधिलाई स्थान दिँदै गएपछि युरोपेली समाजले त्यसैबाट समग्र सामाजिक समृद्धिको बाटोको डोब चहकिलो बनाउँदै लग्यो।
हामीकहाँ भने आजका दिनमा पनि भिन्न मत, विचार, अवधारणा, आविष्कारलाई हाम्रो समस्या, अभाव र कमजोरीमाथिको विमर्श हो भनेर बुझिँदैन। हाम्रो संस्कार, सभ्यता, धर्म, अभ्यास, परम्परामाथिको आक्रमणका रूपमा निन्दित गरिन्छ। आरोपित गरिन्छ। यहीँनेर हाम्रो उन्नतिको मार्गले अवरोधको सामना गरेको छ। हामी संकीर्णताको बन्धक बनिदिँदा नयाँ विचार, अवधारणा र आविष्कारहरूले स्थान पाउन सकेका छैनन्।
यहाँ प्रश्न उठ्छ — हाम्रो समाजको मूल सामर्थ्य के–कति हो? हाम्रा आवश्यकताहरू के–के हुन्? यसबाट अघि बढ्न हामीले गर्न सक्ने र गर्नुपर्ने काम के हो? योग्यता के छ र अभाव केमा छ? परित्याग गर्नुपर्ने कुरा के हो? निरन्तरता दिन सकिने तत्वहरू के–के हुन्? नयाँ सिर्जना गर्नुपर्ने कुरा के हो?
यस्ता प्रश्नबारे हाम्रोमा कहिल्यै गम्भीर अनुसन्धनात्मक कार्य भएकै छैन। न समाज, न जनसंख्या, न इतिहास, न भूगोल, न भूत, न भविष्य — कुनै विषयमा पनि आवश्यक गहन विमर्श र अनुसन्धानको बाटो हिँड्न हामीले रूचि जगाएकै छैनौं। हाम्रा लागि विकास भनेको अरूले दिएको खाकामा आफूलाई ढाल्नेमा विघटित भएको छ। आफ्नो खुट्टाको आकार हेरेर जुत्ता बनाउने होइन, अरूले दिएको जुत्ताको आकारमा फिट गराउन आफ्नो खुट्टा ताछतुछ पार्ने। हामी यहाँनेर पनि चुकिरहेका छौं।
हामीले जनसांख्यिक, सांस्कृतिक, भाषिक, राजनीतिक तथा आर्थिक अन्तर्घुलनले समाजको चेतना धारिलो बनाउँछ भन्ने पनि ख्याल गर्नुपर्छ। नयाँ विचार, नयाँ योजना र नवप्रवर्तनले समाजको समृद्धिलाई गतिवान बनाउने ऊर्जा र आधार प्रदान गर्छ। जतिसुकै कमजोरीका रूपमा र राज्यको सामर्थ्यहीनताका रूपमा व्याख्या गर्ने गरिए पनि वैदेशिक रोजगारीले भौगोलिक रूपमा ‘आइसोलेटेड’ नेपाली अशिक्षित तथा अर्धशिक्षित जनशक्तिलाई नयाँ ज्ञान, नयाँ चेतना, आत्मविश्वास र सीपले सुसज्जित गराइदिएको छ। बाहिरी विश्वसँग यो स्तरको अन्तर्क्रिया, सम्बन्ध र सिकाइ नभएको भए आजका दिनमा नेपाली समाजले हासिल गरेको शिक्षा, स्वास्थ्य, सूचना र आर्थिक हैसियत निसन्देह प्राप्त हुने थिएन।
तीस वर्षअघिसम्मको नेपाली समाजको तस्बिर हेरौं। न सामान्य अस्पताल, न यातायात। न पर्याप्त शिक्षालय, न खानेपानीको पर्याप्त उपलब्धता। न शौचालय, न आङ ढाक्ने पर्याप्त कपडा। सिंगो पञ्चायतकालसम्म नेपाली समाजले विकास गर्न सकेको सामर्थ्यको चित्र जम्माजम्मी यही होइन र?
मैले माथि आरम्भमा उल्लेख गरेको आफ्नै बाल्यकालको स्मृति–चित्रसँग आजका मेरै गाउँले बच्चाहरूको आरम्भिक स्कुले दिनहरू दाँजेर हेर्छु। अकल्पनीय परिवर्तनको आरामदायी ‘जुत्ता’ माथि तिनका ‘खुट्टा’ ले टेको लगाएको देखेर मखलेल हुन्छु र समाजको बदलिँदो आर्थिक सामर्थ्यको अनुभूति गर्छु।
हिजोको त्यो तस्बिर आज कसरी बदलियो भनेर हेर्यो भने त्यसमा वैदेशिक रोजगारीको योगदानको हिस्सा सबभन्दा ठूलो हुन्छ। बाहिरी समाजसँग अन्तर्क्रिया नभएको भए नेपाली समाज आज जुन अवस्थामा आइपुगेको छ, निश्चय नै यो विन्दुमा आइपुग्ने थिएन।
आन्तरिक रूपमा नै हेरौं। बाहिरी समाजसँग अन्तर्क्रिया र सम्बन्ध नभएको भए कर्णाली, सुदूरपश्चिम वा विकट भेगका मानिसहरू आज जुन अवस्थामा आइपुगेका छन्, यत्तिको पनि हुन्थे कि हुन्थेनन् होला? वा, चेपाङ र राउटेहरू बाहिरी समाजको थप सम्पर्कबाट छुटेका भए आजका जत्तिको पनि हुन्थे कि हुन्थेनन् होला? सांस्कृतिक अतिक्रमण र त्यसका विकृत बाछिटाहरूले हिलो पोतिदिएको पाटो त छँदैछ, तर सामाजिक विकासको गतिमा उनीहरू अझै कति तल हुन्थे होलान्?
नेपाल र नेपाली समाज नै इतिहासकालभरि बाहिरी संसारसँग सम्बन्ध र सम्पर्क नभएको भए आज जत्तिको छ, यत्तिको हुन्थ्यो कि हुँदैनथ्यो होला? अफ्रिकाबाट बाहिरिएको फिरन्ते मानव समूह यहाँ आएर पाइतालाको डोब नलगाएको भए या यहाँको समाजमा त्यसरी आएका फिरन्ते सिकारी युगका मानिस मात्र रहिरहेका भए र पछिबाट गाईपालक वा भैंसीपालक किसानहरू चरन खोज्दै नआएका भए नेपाली समाजको आजको स्वरूपको जग बस्थ्यो कि बस्थेन होला? फिरन्ते पशुपालकको भूमिमा धनुर्धारी सिकारी समूह जो कालान्तरमा किराँतका रूपमा परिचित हुन गए, ती नआएका भए र उनीहरू आएर पशुपालकहरूबाट प्रभावित हुँदै सुरूमा पशुपालन र पछिबाट खेतीपातीमा अनुरूक्त भएर यहाँ स्थिर बसोबासको डोब नलगाएका भए आज नेपाल र नेपाली समाज जस्तो छ, यस्तै हुन्थ्यो कि हुन्थेन होला?
स्थविरू (थारू) हरूले अनेकन जंगली जनावर, मलेरिया र रोगव्याधिसँग जुध्दै मैदानी भेगमा सभ्यताको डोब नबसाएका भए? वा, किराँतहरूले आबाद गुल्जार गराएको भूगोलमा अनगिन्तीपटक अनगिन्ती आप्रवासनको प्रवाह नचलेको भए? त्यसरी आवतजावत भएर अनेकनपटक अनगिन्ती मानव समूह आपसमा घुलमिल नभएको भए के आजको स्वरूपको नेपाली समाजको जनसांख्यिक, सांस्कृतिक र सामाजिक स्वरूप निर्माण हुन्थ्यो?
हुन्थेन।
त्यसैले नयाँ मानिस, नयाँ भूगोल, नयाँ विचार, नयाँ दर्शन, नयाँ आविष्कारसँग समाजको अन्तर्क्रियाको गति जति धेरै तीव्र हुन्छ, उति धेरै समाजको सामर्थ्यमा वृद्धि हुन्छ।
देशमा मौजुद दिमाग र तिनको समुच्च सामर्थ्यहरूले देशको दिशा र दशा निर्धारित गर्छ। हामी जति योग्य बन्छौं, देश उति नै योग्य बन्छ। किनभने, देश बनाउने हामीले नै हो। अरू कोही जादुगर आएर या कुनै तिलस्मी नायक आएर यो देश बनाइदिने छैनन्। यो तीतो सत्य जति छिटो बुझिन्छ, उति नै हाम्रो सामाजिक सामर्थ्य वृद्धिको यात्रा छिटो हुन्छ। जति नवआविष्कार, विचार, दर्शन र विमर्शका लागि हामी जमिन तयार गर्दै जान्छौं, उति नै उत्कृष्ट दिमाग र सामाजिक सामर्थ्य बढ्दै जान्छ।
सामाजिक सामर्थ्य या दिमाग भनेको सर्टिफिकेट जम्मा गरेका पढेलेखेका मानिसहरूको सन्दर्भ मात्र होइन। हाम्रो परम्परागत ऐतिहासिक ज्ञान र कौशलहरूका लागि हाम्रो सामाजिक अभ्यास र व्यवस्थाले कति प्रोत्साहन दिएको छ या दिन्छ भन्ने कुरा पनि यसमा जोडिएर आएको हुन्छ।
हाम्रो समाजले ऐतिहासिक रूपमै विभिन्न डिजाइनका भाँडा, औजार बनाउने कामीको सीपलाई या लुगा डिजाइन गरेर सिउने दमाईको सीपलाई या छालाको जुत्ता सिलाउने सार्कीको सीपलाई कदर गर्यो कि हियायो? आफ्नो समयको समाजको सबभन्दा उत्कृष्ट प्राविधिज्ञलाई समाजले कुन स्थान दियो? समाजको सबभन्दा उत्कृष्ट सीप भएको मानिस समाजको सबभन्दा चर्को दलनमा पर्यो कि परेन? समाजको सबभन्दा उच्च आसन र प्रतिष्ठा गफ बेचेर, हैकम लादेर, शोषणको सोपान खडा गर्नेले पायो कि नवीन ज्ञान, कला, सीप र पौरख देखाएर बाँच्नेले? ऐतिहासिक तवरले हाम्रो समाजको स्वरूप किन यस्तो छ भन्ने तय यसैले गरेको छ।
समाजको उन्नतिको गति कति हुने भन्ने कुरा मानिसमा भएको योग्यता, ज्ञान, सीप, विचार र दर्शनलाई समाजले कति सम्वर्द्धन र प्रोत्साहन गर्छ भन्नेले नै निर्धारण गर्छ भन्ने सन्दर्भ धेरैपटक उल्लेख गरिसकिएको छ। नयाँ विचार, आविष्कार भनेकै विचार, प्रविधिमा टेकेर प्रष्फुटन हुने हो। शारीरिक भीडन्त गरेर सिकार गर्ने मानिसले त्यही ज्ञानलाई बढाएर ढुंगाको हतियार बनाउन जानेको हो। र, ढुंगे हतियारको ज्ञानमै टेकेर त्यसपछिका अन्य हातहतियार विकास भएको हो र मानिसहरू आणविक युगसम्मको यात्रामा आइपुगेका हुन्।
ढुंगा फुटाउने क्रियामा सामाजिक अवरोध भएको भए मानिसले आगो प्रयोग गर्न जान्ने थिएनन्। आगो बाल्ने क्रियामा सामाजिक अवरोध भएको भए ओभनमा पकाएर खाना खान पाउने अवस्थासम्म मानिस आइपुग्ने थिएनन्। त्यसैले हामीले सबभन्दा बढी काम गर्नुपर्ने क्षेत्र नै यही हो, जहाँ ऐतिहासिक ज्ञान र सीपको प्रोत्साहन होस्। नवीन विचार, दर्शन र प्रविधिप्रति विषालु डसाई नहोस्।
अस्तित्वको साझा विश्वास, मान्यता, मापदण्ड, प्राथमिकता र परम्परामार्फत् पुस्तौंदेखि प्रसारित हुँदै आइरहेको सामाजिक अभ्यासलाई समाजको सांस्कृतिक विशेषता या लक्षणका रूपमा लिने गरिन्छ। यसले समाजको विकास प्रक्रियामा महत्वपूर्ण प्रभाव पारिरहेको हुन्छ। समाजको सांस्कृतिक अभ्यासद्वारा आलोकित तत्वहरू; विशेषगरी बलियो पारिवारिक सम्बन्ध कायम राख्ने प्रयत्न, पारस्परिक विश्वास, व्यक्तिवाद, भविष्य केन्द्रित योजना, मानव पुँजीमा लगानीजस्ता दीर्घकालीन प्रयत्नहरूले सिंगो समाजको आर्थिक सामर्थ्य निर्माण भएको हुन्छ। यो एकाएक या रातारात या एउटा छोटो कालखण्डमा बनेको हुँदैन।
राज्यको सामर्थ्य भनौं या राज्यको सम्पत्ति, त्यो त्यहाँका नागरिकहरूको सिर्जनशीलता र उत्पादनशीलतामा निर्भर रहन्छ। तिनका उत्पादनशीलताको आपसी अन्तर्क्रियाले पनि यसमा थप भूमिका निर्वाह गरेको हुन्छ। हाम्रोमा भने सिर्जनात्मक/रचनात्मक उत्पादन ठप्प छ। हाम्रो आन्तरिक उत्पादनशीलता फगत सस्तो श्रेणीको श्रमशक्तिको आपूर्तिकर्तामा सीमित छ। त्यसमा रचनात्मकता छैन, उत्पादन छैन र उत्पादनको सामाजिक अन्तर्क्रिया पनि छैन। सस्तो र गुणस्तरहीन उपभोक्ताका रूपमा हाम्रो सामाजिक विघटन जारी छ। पूर्णरूपेण विघटन सम्पन्न हुनुअघि नै हामीले यसको बाटो सच्याउनुपर्नेछ। सच्याउने गुञ्जायस नै नरहने गरी विघटन पनि भइसकेको छैन।
ज्ञान निर्माण: सामर्थ्य निर्माणको भर्याङ
जारी शताब्दीका सर्वाधिक पुस्तकहरू सभ्यताको उत्थान र पतनमाथि केन्द्रित छन्। हामीकहाँ भने प्रथमतः गएको शताब्दीभरिमै उल्लेखनीय सामग्री नै लेखिएको छैन। लेखिएका अधिकतर पुस्तक पनि धार्मिक रूढीको प्रचार र राजनीतिको उत्थान र पतनमा केन्द्रित छन्। बौद्धिक साहित्यको कसीमा राखेर हेर्दा नेपाली समाज गतिहीनताको अन्धकार सुरूङमा फसिबसेको छ।
उसो त सभ्यता र विकासजस्ता शब्दको मूल्य पनि सापेक्षित छ। कसका लागि र कुन परिवेशमा भन्ने सवालले शब्दको महत्व ग्रहण गर्ने या शाब्दिक भावको अवमूल्यन गर्ने भन्ने तय गर्ने रहेछ। किनभने, यो सभ्य भन्ने शब्द नै तुलनाको जगमा उभिएर अरूलाई हिनतर र खराब देखाउने प्रयोजनार्थ उत्पत्ति भएको देखिन्छ। असभ्य भन्ने शब्द प्राचीन ग्रीसमा ग्रीक भाषा नबोल्नेहरूलाई जनाउन संरचित गरिएको थियो। ग्रीक बोल्नेहरूलाई ‘सभ्य’ र त्यस्ता ‘सभ्य’ मानिसहरूको पदचापलाई ‘सभ्यता’ भनिन्थ्यो। आजका दिनमा त्यसको शाब्दिक अर्थ र परिभाषा फेरिएको छ। शान्ति, उन्नति र प्रगतिको बाटोमा अभिसारित पदचापहरू अब सभ्यताको परिचयका साथ उभिएको पाइन्छ।
हामीले यो सन्दर्भमा हामी कहाँनेर उभिएका छौं भनेर पूरा जाँगरका साथ आफूतिर फर्केर हेरिरहेका छैनौं। आफ्नै इतिहासको जरो र त्यसको सामर्थ्यमा हाम्रो गहिरो रूचि केन्द्रित हुन सकेको छैन। बौद्धिक क्रियामार्फत् हुने ज्ञान निर्माणको कामलाई फजुल र उत्पादनहीन कामका रूपमा हामीले लिइरहेका छौं। यसको परिणामस्वरूप आजको हाम्रो समाजले विगतको आलोकमा आगतको अज्ञात बाटोतिर बाल्ने उज्यालोको अभाव खेप्नुपरेको छ।
आजको नेपाली जनसंख्याका पुर्खाहरूले सिन्धु क्षेत्र र याङत्जे, हुवाङ हो (यल्लो रिभर) क्षेत्रबाट उठेर आएदेखि गरिआएको एउटै ध्याउन्न र धुन भनेको आफ्नो राज्यको विस्तार थियो। राज्यका लागि जमिन जोड्नु, राज्यको भूगोल बढाउनु, त्यसमा आफ्नो बहादुरी देखाउनु र त्यसैमा आफ्नो जीवनको आधार देख्नु अन्यत्रका समाजको जस्तै आजको नेपाली समाजका पूर्वजहरूको पनि नियमित क्रिया थियो।
भीमसेन थापाकालीन नेपाल–अंग्रेज युद्धमा विस्तारित गोर्खाली पक्षको ‘बहादुरीपूर्ण हार’ पछि नेपाली समाजको निरन्तरताको राष्ट्रिय धुनमा क्रमभंग भयो र नेपाली समाज नयाँ निरन्तरताको बाटोमा अग्रसर भयो। राज्यका लागि सकेजति जमिन जोड्ने अभियानबाट स्खलित भएर राज्यको सरहदभित्र आफ्ना लागि सकेजति जमिन जोड्ने (धन जोड्ने) अभियान आरम्भ भयो।
त्यसपछि परम्परागत सामाजिक धुन विरहमा बदलियो र नेपाली समाज त्यही विरहको धुनमा निमग्न हुन थाल्यो। उप्रान्त झन् पछि झन् यो धुन बेलगाम, निर्लज्ज, अनैतिक र सीमाहीन कर्कश आवाज घन्काउँदै अघि बढिरहेको छ। सम्पत्ति जोड्नु वा थप्नु कुनै गलत कुरा होइन। तर जसरी पनि धन जोड्ने कि कसरी धन जोड्ने भन्ने सवालमा समाज सजग हुनैपर्छ।
आजको विश्व समाजमा पृथक–पृथक व्यक्तिका रूपमा आत्मकेन्द्रित व्यक्तिवाद फस्टाउँदै गइरहेको छ। हाम्रोमा पनि त्यही स्थिति छ। मानिसको तमाम सक्रियताका बाबजुद समाजले लाभ प्राप्त गर्न सकेको छैन। कम्पनी वा व्यक्तिले निजी तवरले त्यसको लाभ उठाइरहेको छ। निश्चित व्यक्ति, कम्पनी, समाज या राष्ट्रले गरेको गलत या बेठीक कामको परिणाम सिंगो विश्वले भोग्नुपरिरहेको छ भने त्यसको लाभ निश्चित व्यक्ति, कम्पनी, समाज या राष्ट्रमा केन्द्रित भइरहेको छ। कार्बन उत्सर्जनजस्ता क्रियाको मूल्य सिंगो पृथ्वीले भुक्तानी गर्नुपरिरहेको छ।
यो वर्ष प्रकृतिको चरम दोहन भयो। वातावरण विनाश र औद्योगिक/आणविक भट्टीबाट अत्यधिक तापमानयुक्त हानिकारक विकिरणको उत्सर्जन पनि एकदमै बढ्यो। विश्व तापमान बितेको एक लाख वर्षमै सबभन्दा बढी वृद्धि भयो। यसबाट धनी, गरिब वा यो क्रियामा संलग्न, कम संलग्न वा असंलग्न गरी सबै मानव तप्का प्रताडित बनिरहेको छ। अण्डमान, निकोवार टापुका सिन्टेन्सिस, अन्ज, अण्डमानियनहरू हुन् वा नेपालका राउटेहरू वा अफ्रिकाका हद्जा/हद्जाबे जस्ता फिरन्ते सिकारी चरणका मानव समाज नै हुन्; प्रकृति संरक्षक मानव समाजले समेत यो नयाँ प्रताडनाको उही पैमानामा सिकार बन्नुपरेको छ। तर यसरी विश्व तापमान नै बदल्ने गरी गरिएको प्रकृतिको चरम दोहन, शोषण, औद्योगिक/आणविक कारखाना सञ्चालन या तापमान वृद्धिका कारक क्रियाको लाभ निश्चित व्यक्ति, कम्पनी, भूगोलका मानिसहरूले मात्र लिइरहेका छन्।
मानव जातिले आफ्नो स्वार्थ अनुकूल प्रकृतिको दोहन गर्नुअघि शतप्रतिशत रहेको जंगली स्तनपायी जनावरको संख्या ती जनावरलाई घरपालुवा बनाउन थालेपछि घट्दै गएर आज ६० प्रतिशत घरपालुवा, ३६ प्रतिशत मानिस र ४ प्रतिशत मात्र जंगली स्तनपायीमा खुम्चिएको छ। चराचुरूंगीहरूको संख्या संकुचित भएर ७० प्रतिशत घरपालुवा कुखुरा र पोल्ट्री फार्ममा पालिने चराहरूले ओगटेको छ भने जंगली चराचुरूंगीको संख्या ३० प्रतिशतमा झरेको छ। जबकि, पृथ्वीमा जीवन भएकाहरूमध्ये वनस्पतिको प्रतिशत ८२, ब्याक्टेरियाको १३ र मानवसहित अरू जीव ५ प्रतिशत मात्र छन्। त्यो ५ प्रतिशत प्राणीमा पनि मानिसको संख्या ०.०१ प्रतिशत मात्र छ। यसरी ०.०१ प्रतिशतको संख्यामा रहेको मानिसले ९९.९९ प्रतिशत वनस्पति, जीवाणु र प्राणीहरूमाथि महामारी लादेर विनाशलीला मच्चाएको छ।
मानव जातिको लामो इतिहासमा सिकार, कृषि, आवास र विकासका नाममा भएका गतिविधिले पृथ्वीका जीव, वनस्पति र जीवाणुहरूको ६ भाग विनाश भएको छ। डेमियन करिङटनले बेलायती अखबार ‘गार्डियन’ मा लेखेको विवरणअनुसार मानिसले ८३ प्रतिशत स्तनपायी वन्यजन्तु सखाप पारेको छ भने ८० प्रतिशत समुद्री स्तनपायी जीव मारिएका छन्। उनका अनुसार बितेका ५० वर्षमा पृथ्वीको आधाभन्दा बढी जनावर विलुप्त भएका छन्। मानिसको गतिविधिले वनस्पतिको आधारभूत उपस्थिति नै परिवर्तन गराएको छ। सन् १९७० देखि दोब्बर हुन गएको जनसंख्याका कारण ७० प्रतिशत जंगल मासिएको छ। एक हजार किलोमिटरभन्दा लामा नदीहरू ७७ प्रतिशत मानवीय उपभोगका कारण स्वतन्त्र तवरले बग्नबाट वञ्चित भएका छन्। समुद्रको ६६ प्रतिशत सतह प्लास्टिक, उद्योग र कृषिजन्य फोहोरले प्रदूषित भएको छ।
पर्यावरण विनाश गर्ने यो प्रक्रिया पृथ्वीको भूगर्भ रसायन, वायुमण्डलदेखि समुद्रसम्म विस्तारित छ। मानव जातिको यही बलमिच्याइँ र प्राकृतिक स्रोत–साधनमाथिको दोहन र शोषणले सन् २१०० सम्ममा पृथ्वीको तापक्रम ३.७ डिग्री सेन्टिग्रेडदेखि ४.८ डिग्री सेन्टिग्रेडसम्मले बढ्ने प्रक्षेपण गरिएको छ। यो बितेको एक करोड चालीस लाख वर्षमा पृथ्वीको जति तापक्रम बढेको छ, त्योभन्दा बढी हुनेछ।
आजका दिनमा जुन देशहरूले जति धन, सम्पत्ति र समृद्धिको आडम्बरको राडी ओढेर बसेका छन्, ती देशले त्यही मात्रामा प्राकृतिक स्रोत–साधनको शोषण, दोहन र उपभोग गरेका छन्। यसलाई नजरअन्दाज गरेर त्यही शैलीको विकासप्रतिको मोह र मानव समाजलाई त्यस्तो अवस्थामा पुर्याउने आर्थिक/औद्योगिक नीतिहरूको ‘अन्धानुकरण’ प्रतिको मोह भावी पुस्ताका लागि मृत्युको भट्टी निर्माण गरिदिने काम हुनेछ। हामीले समय छँदै यसतर्फ पर्याप्त सचेत हुनु जरूरी छ। किनभने, यो मामिलामा हामी सुधार नै हुन नसक्ने विन्दुमा पुग्ने गरी बिग्रिइसकेका छैनौं।
मानव समाज, प्रकृति र सिंगो पृथ्वीको भविष्यमाथि नै अपराध हुने गम्भीर त्रुटी गर्नबाट हामीले आफूलाई जोगाउनै पर्छ।
उपनिवेश: बाघमा सवार भएर संसार घुम्ने रहर
पछिल्लो समय एउटा तप्काका मानिसले भनिरहेका छन् — बरू बेलायतले लिइदिएको भए नेपालको विकास हुन्थ्यो होला! स्वतन्त्र र स्वाधीनताको आडम्बरले नेपाल पछि पर्यो!
के साँच्चै उपनिवेशवादीहरूले आफूले उपनिवेश बनाएका सबै देशको विकास गरिदिएका छन्? के औपनिवेशिक राष्ट्र र त्यहाँका जनताले साँचो अर्थमा उपनिवेशकृत विकास र त्यसको फल प्राप्त गरेका छन्?
एकपटक इतिहासका तथ्यमार्फत् यसमा दृष्टि लगाऔं।
उपनिवेशीकरणले उत्तरी अमेरिकाको ठूलो भूभाग, अस्ट्रेलिया, न्यूजिल्यान्ड, हङकङजस्ता देशको विकासमा योगदान गरेकै पाइन्छ। अत्यन्तै कम जनसंख्या भएको र प्रविधिहरूको न्यून उन्नति भएको यी देशहरूले उपनिवेशपछि नै आर्थिक विकासको उच्चतम लाभ प्राप्त गरेका थिए। यद्यपि यस्तो विकासको लाभ रैथाने आदिवासी समूहले नभई उपनिवेश लाद्ने क्रममा विस्तारित भएका युरोपेली आप्रवासीहरूले लिएका थिए।
एज्टेक, माया र इन्काजस्ता सभ्यतालाई जन्म दिएको भूमि मेसोमेरिका र दक्षिण अमेरिका, जहाँ युरोपेली उपनिवेश थियो, त्यो भूगोल उत्तरी अमेरिकाको तुलनामा एकदमै धीमा विकासको गतिबाट गुज्रियो। त्यसैगरी आजको भारत, पाकिस्तान, बंगलादेश, म्यानमार, दुवै कोरिया, तमाम अफ्रिकी मुलुकहरूले समेत बेलायती, युरोपेली र जापानी उपनिवेशका बाबजुद चरम अविकास र गरिबीबाट गुज्रनुपर्यो।
यसरी हेर्दा उपनिवेशले सबैतिर विकास गर्छ र त्यसको लाभ रैथानेमा वितरित हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन। बरू उपनिवेशले विकास गरिदिन्थ्यो भन्ने सोचाइ आफ्नो सामर्थ्यको सर्वथा अभावमा अरू कसैले आफ्नो तरक्की गरिदिने बिल्कुलै भाग्यवादी र परनिर्भर चेतनाको प्रकटीकरण हो। सिंगो समाजको सामूहिक योग्यता, प्रयत्न र अठोटको बलमा आफ्नो समाजको विकासमाथि भरोसा नभएको आत्मबलविहीन समाज वा यसका सदस्यले मात्र यस्तो परनिर्भर मनचिन्ते परिकल्पनामार्फत् आफ्नो उन्नयनको कथा हाल्ने गर्छ।
यस्तो समाजले या त विगतलाई दोष दिन्छ या विगतको सौन्दर्यीकरण गर्छ। जे–जे गरे पनि भविष्य अत्यन्तै कुरूप र निराशाजनक देख्छ। आफैंले केही गर्नुपर्ने दायित्वबोध गर्दैन या आफैंले केही गर्न नसकिरहेको कमजोरी स्वीकार गर्दैन। बरू अरू कसैले आफ्नो उन्नति नगरिदिएको कुण्ठाले ग्रस्त हुन्छ। अझै पनि आफैंले, समाजको सामूहिक यत्नले मात्र आफ्नो समाजको उन्नति र अग्रगति सम्भव छ भन्ने नमानी कोही जादुयी नायक आएर आफ्नो र समाजको संकट समाधान गरिदिने र समाजको उन्नति गरिदिने कल्पनामा डुबेर नायकको खोजीमा भौंतारिइरहेको हुन्छ। नेपाली समाजले वर्तमानमा यहाँनेर पनि कमजोरी गरिरहेको छ।
आफ्नो सामर्थ्य आकलन गरेर सामूहिक प्रयत्नमार्फत् समाजलाई अगाडि बढाउन अग्रसर नहुनाले नेपाली समाजको विकास र समृद्धिको गति निकै नै धीमा भइरहेको छ।
बेलायत: लोकतन्त्रले खनेको विकासको बाटो
पछिल्लो समय अर्को भाष्यको कारोबार पनि फस्टाउन थालेको देखिन्छ। बेलायत, जापानजस्ता देश ‘सामन्ती राजतन्त्र’ भए पनि विकसित भएकै छन्। नेपालबाट मात्र राजा किन हटाउनु परेको?
यसबारे पनि अलिकति सन्दर्भसहित छलफल गरौं।
महारानी एलिजावेथ प्रथमका भाइ चार्ल्स प्रथम र बेलायती संसदबीच चलेको द्वन्द्वले बेलायतलाई सत्रौं शताब्दीको मध्यतिर आन्तरिक युद्धमा फसाएको थियो। संसदवाद र राजतन्त्रबीच सन् १६४२ देखि १६४६ सम्मको युद्धका कारण बेलायतको राजतन्त्रलाई संसदले अपदस्थ गरिदिएको थियो। सन् १६४९ मा उनलाई मृत्युदण्ड दिइयो। बेलायतमा गणतन्त्रको उदय भयो।
तर मृत्युदण्डपछि संसदवादका पक्षधरसमेत भड्किए र राजतन्त्रको पक्षमा प्रदर्शनहरू बढ्न थाल्यो। संसदीय खेमाका नेतृत्वकर्ता ओलिवर क्रमवेलको मृत्युपछि संसदीय खेमा कमजोर बन्न गयो र राजसंस्थावादीहरूले स्थिर नेतृत्व माग गर्दै राजसंस्था पुनर्स्थापनाको माग चर्काए।
प्रदर्शनमाथिको दमन र पुनर्उत्थानको प्रयासबीच सन् १६६० बाट आरम्भ भई औपचारिक तवरले १६६१ मा चार्ल्स द्वितीय राजसत्ताको पुनरागमन गराउन सफल भए। सन् १६८५ मा उनको मृत्यु भएपछि कोही उत्तराधिकारी नभएकाले उनका भाइ जेम्स द्वितीय बेलायतको राजसत्तामा आसीन भए।
जेम्स द्वितीयको सत्तागमनसँगै सत्रौं शताब्दीको उत्तरार्द्धमा बेलायतको शासन संस्थामा व्यापक बदलाव आयो। जेम्स द्वितीयले रोमन क्याथोलिक धर्मान्तर गरेपछि त्यसैको बलमा निरंकुश राजतन्त्र स्थापित गर्ने प्रयास गरे, जसले कडा विरोध निम्त्यायो।
सन् १६८८ मा जेम्सका पुत्र जेम्स फ्रान्सिस एडवार्डको जन्मले स्थायी क्याथोलिक राजवंशको निरन्तरताको भयले समाजलाई डाम्यो। यसले यसअघि राजसत्ताको उत्तराधिकारी निर्क्यौल भइसकेका उनका एङलिकन छोरी मेरी र उनका प्रोटेस्टेन्ट पति ‘विलियम थर्ड अफ ओरेन्ज’ लाई राजगद्दीको उत्तराधिकारीबाट हटाउने संकेत देखायो। त्यसले इङ्ल्यान्ड र स्कटल्यान्डमा क्याथोलिक विरोधी प्रदर्शन चर्किएर दंगाको स्वरूप धारण गर्न थाल्यो। उक्त दंगा चर्किंदै जाँदा जेम्सको बहिर्गमनले मात्र शान्तिको बाटो खोल्न सक्छ भन्ने धारणामा बढोत्तरी हुन थाल्यो।
सम्भ्रान्त प्रोटेस्टेन्टहरूले ओरेन्जका राजकुमार विलियमलाई प्रोटेस्टेन्ट धर्म बचाउन इङ्ल्यान्ड आउने निम्तो दिए। अन्ततः उक्त निम्तो स्वीकार गर्दै विलियम सेनासहित इङ्ल्यान्ड आएपछि बेलायतको विशालतम जनसंख्या क्याथोलिक विरोधी जनलहर पछ्याउँदै विलियमको पक्षमा उभियो। संघर्षमा पराजित भएका जेम्स सन् १६८८ मा भागे। संसदले सर्वाधिकार प्रयोग गरेर राजसत्तामा उनकी छोरी मेरी र ज्वाइँ विलियम तृतीयलाई राखे। यसले संसदवादको प्राधिकार स्थापित गर्यो। यसलाई बेलायती इतिहासमा यशस्वी (गौरवशाली) क्रान्तिका रूपमा परिभाषित गरिन्छ।
यसरी धर्मको आवरणमा परम्परागत स्वदेशी राजतन्त्रको वंश परम्परा खारेज गर्दै विदेशी व्यक्ति बेलायत (इङ्ल्यान्ड, स्कटल्यान्ड र आयरल्यान्ड) का राजा बने। विदेशी नागरिक तथा नवब्रिटिस राजा विलियमको इङ्ल्यान्डमा कुनै आधार थिएन। न समर्थकहरू नै थिए। त्यसैले उनले संसदलाई आफ्नो शासन भरोसाको आधार बनाए।
सन् १६८९ मा राजा विलियमले अधिकारसम्बन्धी कानुनलाई शाही सहमति प्रदान गरे, जसमा ससंदले पारित गरेको कानुन निलम्बन गर्ने, करमा बढोत्तरी गर्ने र संसदको सहमतिबेगर सेना परिचालन गर्ने शाही अधिकार कटौती गर्ने बुँदाहरू समावेश थियो। योसँगै बेलायती राजतन्त्र सक्रिय राजतन्त्रबाट संवैधानिक राजतन्त्रमा परिणत भएको थियो।
उक्त यशस्वी क्रान्तिपछि बेलायती संसदले रोयल कम्पनी या सत्ता संस्थापन/राज्य अभिप्रेरित कम्पनीहरूलाई दिइएको एकाधिकार खारेज गरिदियो। रोयल अफ्रिकन कम्पनी, इष्ट इन्डिया कम्पनीजस्ता उपनिवेशका अनौपचारिक पूर्जाहरू समेतलाई बेलायती अस्तित्वको सम्भावित खतरा ठानेर तिनको स्थानमा राज्यको औपचारिक उपस्थितिलाई अघि सारियो। गतिका साथ विकसित भइरहेको औद्योगिक/व्यापारिक क्षेत्रबाट एकाधिकार अन्त्य गरेर प्रतिस्पर्धात्मक औद्योगिक नीति लिने कानुनी प्रावधानहरूलाई संसदले अनुमोदन गरेपछि एकाधिकारद्वारा संरक्षित कुलिन वर्गको आर्थिक हितका आधारहरू भत्किए। विशाल मात्रामा कुलिनहरूको स्वामित्वमा रहेको भूमिमाथिको कर बढाउँदै उद्यमहरूमाथिको कर घटाइयो।
सन् १६९० को दशकमा त्यस्तो नीतिगत र कानुनी बाटोमा बेलायती समाज अग्रसर भइसकेको थियो, जसको संवैधानिक नै भए पनि सर्वोच्च नेतृत्व राजसंस्था थियो। नेपालमा भने सन् १९६० को दशकमा निरंकुशताको मनोमानी घोडा चढेर त्यसको टापले समाजको मनोकांक्षा कुल्चिन अघि बढेको सक्रिय राजतन्त्र नेतृत्वको पञ्चायतकालभरि उद्योग, व्यापारमा दरबारिया मनोमानी उत्कर्षमा पुग्यो। कुनै नयाँ उद्योग खोल्न, विदेशी बैंकका शाखा नेपालमा खोल्न, होटल खोल्न, विदेशमा उत्पादित गाडीको स्थानीय बिक्रेता बन्ने व्यवसायमा समेत दरबारलाई सेयर दिनैपर्ने वातावरण निर्माण भयो। त्यही ज्ञानशालाबाट वितरित ज्ञानको निरन्तरतामा आज नयाँ उद्योग, व्यवसाय गर्नुपरे सत्तामा आसीनहरूलाई ठूलो रकम घुस वा नजरानामा दिनुपर्ने अवस्था छ।
बेलायती समाजले अवलम्बन गरेको नयाँ वैधानिक नीतिहरूले बेलायतमा उद्यमीहरूको संख्या बढायो। समाजको आर्थिक क्षमता निर्माण भएपछि उसले शिक्षामा थप लगानी गर्यो। आर्थिक रूपले सम्पन्न शिक्षितहरूको संख्या विस्तारित हुँदै गएपछि त्यसले समाजमा स्थापित मान्यता, दर्शन र विचारहरूमाथि प्रश्न र विमर्शको आयाम फराकिलो बनाउँदै लग्यो। परिणाममा त्यसले प्रविधिको आविष्कार हुँदै समाजलाई औद्योगिक क्रान्तितिर अग्रसर गरायो।
त्यस बखत नै केन्द्रीय बैंक, धितोपत्र बजार, सरकारी ऋणपत्रजस्ता आर्थिक संस्थाहरू तर्जुमा गरिए। त्यसले उद्यमशीलतामा लाग्न चाहनेहरूलाई ऋण दिएर अघि बढ्न उत्प्रेरित गर्यो। हामीकहाँ भने यस्ता आर्थिक संस्थाहरूको उदय त्यसको साढे दुई सय वर्षजति पछि मात्रै भयो।
यसरी हेर्दा के देखिन्छ भने, अनिर्वाचित संस्थाहरूको मनोमानी र अधिकार नियन्त्रण गरेपछि समाज र नागरिकमाथिको निरंकुश स्तरको नियन्त्रण हटेर जान्छ। निर्वाचित संस्थाहरू उसै पनि नागरिकप्रति जवाफदेही र उत्तरदायी नबने अर्को निर्वाचनमा पराजित हुने त्रासले नागरिकलाई बन्धक बनाउने स्तरमा नियन्त्रणको बाटोमा हिँड्न सक्दैनन्। जब समाज उदार बन्दै जान्छ र नागरिकले स्वतन्त्रताको श्वास फेर्ने वातावरण बढ्दै जाछ, त्यसले मानिसलाई नयाँ सोच, विचार र अन्वेषणतिर लाग्ने जमिन प्रदान गर्छ।
राज्यसत्ता जस्तोसुकै वैचारिक, नीतिगत या कानुनी प्रावधानद्वारा सञ्चालित भए पनि समाज जति उन्नत, शिक्षित र आर्थिक रूपमा सम्पन्न बन्दै जान्छ, उति नै लोकतान्त्रिक हुँदै जान्छ। शिक्षित र आर्थिक तवरले बलिया नागरिकको अभावमा २०१७ सालमा राजा महेन्द्रले सजिलैसँग निर्वाचित सरकार अपदस्थ गर्दै राजा र प्रधानमन्त्री एकसाथ बनेर समाजलाई आफ्नो मनोमानीको दास बनाउन सके। तर उनका पुत्र ज्ञानेन्द्रलाई २०६० सालको आरम्भिक वर्षमा निर्वाचित सरकार बर्खास्त गरेर आफैं राजा र प्रधानमन्त्री बनेर समाजलाई आफ्नो मनोमानीको दास बनाउन उति नै सजिलो भएन।
तुलनात्मक तवरले कम शिक्षित र आर्थिक तवरले बलिया नागरिकको कम संख्याले महेन्द्रीय तानाशाहीले तीस वर्ष नेपाली समाजको घाँटी अठ्याउने सामर्थ्य राख्यो। तुलनात्मक तवरले बढी चेतनशील, शिक्षित र अलिक सम्पन्न समाजमा उस्तै तानाशाही तीन वर्ष पनि गतिलोसँग टिक्न सकेन। यति मात्र होइन, समाजको बढ्दो चेतनालाई हियाएर अधीनायकवादी शासन थोपर्न खोज्दा निरंकुशतन्त्रको स्रोत नै समाजले आफ्नो शिरबाट सधैंका लागि मिल्काइदियो।
नेपाली राजतन्त्रले बितेका दुई शताब्दीमा आर्थिक तवरले सम्पन्न बन्दै गएको समाज कसरी लोकतन्त्रको भोकले तड्पिएको हुन्छ भन्ने गहन अध्ययन गरेको भए एक्काइसौं शताब्दीको ढोकाबाट निस्किएको समाजमा निरंकुशता लाद्ने हिम्मत गर्ने थिएन। त्यसो नगरेको भए ऊ यति चाँडै इतिहासको फुटनोटमा थन्किने पनि थिएन।
बेलायतकै कुरा गर्ने हो भने उतारचढावपूर्ण इतिहासपछि साढे तीन सय वर्षजति अघिदेखि त्यहाँको राजतन्त्र हमेसा संसदीय र संवैधानिक अधिकारको सीमा ख्याल गरेर अघि बढिरह्यो। त्यहाँको सामाजिक, राजनीतिक, आर्थिक नीति र संस्थाहरूको तर्जुमा त्यसयता निरन्तर निर्वाचित जनप्रतिनिधिसभा र त्यसले गठन गरेको सरकारमार्फत् भइरहेको छ। यो तथ्य चटक्कै बिर्सेर विक्रम सम्बत् २०६० को दशकसम्म हुकुमी शासन चलाउने सामन्ती बहुलट्ठी शासक र तिनका सन्तानलाई शिरमा पहिरिँदैमा नेपालको विकासको गति रोकिँदैन, बेलायतमा त सामन्ती भनिएको राजतन्त्र हुँदैमा विकास रोकिएन भन्ने बालरोदनहरू बेलाबखत सघन बन्ने गर्छन्।
यति लामो विवरण प्रस्तुत गरिसकेपछि सायद अब पाठकहरूलाई प्रस्ट हुनेछ — बेलायतको विकासको गतिमा सक्रिय राजतन्त्रात्मक सामन्तीकालमा अवरोध पैदा भएको थियो। राजतन्त्र लोकतन्त्रको अधीनस्थ बनेपछि बेलायती समाजको सामर्थ्य निर्माणमा वृद्धि भएर विकासको गति तेज भएको थियो।
संवैधानिक दायरामा बसेको राजतन्त्रात्मक बेलायत फरक मतप्रति कति उदार रह्यो भने, बेलायती समाजले नेतृत्व गरिरहेको पुँजीवादी औद्योगिक उन्नयन र त्यसका आन्तरिक उत्पादन प्रणालीभित्र पैदा भएको अन्तरविरोध चर्काउँदै समाजवादी क्रान्तिको भाष्य तयार गरेका कार्ल मार्क्सजस्ता विरोधी विचारकलाई समेत बेलायतले सम्मानपूर्वक आश्रय प्रदान गर्यो। नेपालमा भने राजतन्त्रसँग मेरो घाँटी जोडिएको छ भन्ने एक जना उदार प्रजातन्त्रवादी विश्वेश्वरप्रसाद कोइरालाको जननिर्वाचत सरकार बर्खास्त गर्दै उनलाई बिनाअभियोग जेलमा कोचेर पञ्चायती हुकुमतको उदय भयो। पिता महेन्द्रको त्यस कदमलाई पछ्याउँदै यसै शताब्दीको साठीको दशकसम्म नेपाली समाजको चेतना स्तरमाथि सस्तो धावा बोल्दै पुत्र ज्ञानेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरे।
उता राजसंस्थाले आफूलाई जोगाउन निर्वाचित संसदको आडभरोसा खोज्नुपर्ने र त्यसलाई निरन्तर पछ्याइरहनुपर्ने अवस्था रह्यो भने यता संसद र सरकारले आफूलाई जोगाउन राजसंस्थाको। तलबितल यहीँनेर परेको हो। उता निर्वाचित थलोलाई राजसंस्थाले आफ्नो स्थिरताको आधार बनायो भने यता राजसंस्थाले निर्वाचित संस्थालाई सधैंभरि अस्थिर बनाइरह्यो। आजका दिनमा तमाम तवरले खारेज भइसक्दा पनि नेपाली समाजलाई अस्थिर बनाउन आफ्ना अनुचरमार्फत् पुनर्स्थापनाको गानाबजाना गरिरहेकै छ।
राजसंस्थाले स्थिरता दिन्छ र त्यसले विकासलाई गति दिन्छ भन्ने अवधारणा मिति गुज्रिएको अवधारणा हो। सामन्ती चिन्तनको लामो अभ्यासमा लपेटिएकाहरूमा बाँकी रहेको रजगजको अन्तिम भोकको प्रकटीकरण हो।
मानिसहरूले त्यस्तो ‘गौरवपूर्ण विगत’ प्रति सम्मोहन पालेर बसेका छन्, जुन कालमा तमाम महिला, दलित, जनजाति, भुइँमानिसको विशालतम हिस्साले चरम शोषण, दोहन, प्रताडना, विभेद र उत्पीडनको सिकार हुनुपरेको छ। आजका दिनभन्दा पञ्चायतकाल स्वर्णिम थियो भनेर गरिने किर्तन यही अभ्यास–दंशले आघात पारेको परिणाम हो।
यदि राजतन्त्रले विकास गर्थ्यो, स्थिरताले विकास गर्थ्यो भने पञ्चायतकालमा नेपाल बाँकी संसारको तुलनामा सबभन्दा बढी विकास हुनुपर्ने थियो। तर नेपाल बाँकी विश्वसँग भयानक गतिमा पछि परेको त्यही पञ्चायतको तीसवर्षे समयमा हो। त्यो तीस वर्षमा छलाङ हानेका बाँकी विश्वसँग नेपालको तुलना गरे यो तथ्य थाहा भइहाल्छ।
नेपाली समाजको चेतनालाई हमेसा नेपाली राजतन्त्र र उसको घेरामण्डलीले हियाउन र होच्याउन मात्रै खोजिरह्यो। जनतासँग सहकार्य होइन, जनताको शिरको ताज बनेर राजनीतिक रूपमा टाउको न्याक्ने प्रयत्न मात्रै गरिरह्यो। त्यसैले यो संस्था नेपाली समाजको आकांक्षाको सहयोगी होइन, अवरोधक हो र यो अवरोधले समाजलाई अघि बढ्न दिँदैन भन्ने निर्क्यौल भएपछि त्यो फालियो।
अबको सवाल त्यसलाई फेरि शिरमा बोक्ने दुःख बिसाउनेमा होइन, त्यसलाई शिरबाट फालेपछि हलुको भएको शरीर बोकेर तीव्र गतिमा विकासको दौडमा अघि बढ्ने भन्नेमा हो।
भ्रष्टाचार भर्सेस सदाचार
पञ्चायत गजब थियो, भ्रष्टाचार थिएन, सदाचारै सदाचार थियो भन्ने जाली भाष्यको वितरण पनि यताको समयमा तीव्र बनाउन थालिएको छ। खासमा नेपालमा दुई नम्बरी धन्दा, तस्करी, भ्रष्टाचारको सबभन्दा बलियो जगारम्भ भएको र फस्टाएको नै पञ्चायती कालमा हो।
आज संसारभरबाट फिर्ता ल्याउन थालिएका नेपाली ऐतिहासिक मूर्तिहरू, टुँडालहरू, कलाकृतिहरू कहिले चोरिएको या तस्करी गरिएको थियो भनेर हेर्यो भने नब्बे प्रतिशतभन्दा बढी पञ्चायतकालमा भएको थियो भन्ने देखिन्छ। नेपाली समाजको आस्थाको केन्द्रका रूपमा रहेका मन्दिरबाट मूर्ति उखेलिए र तस्करी गरेर बेचिए। गुम्बा, विहारबाट स्वर्णिम ऐतिहासिक ज्ञानस्रोतरूपी प्रज्ञापारमिता, अनेकन ऐतिहासिक लेखोट, ठ्यासफु, बौद्ध मूर्तिहरू गायब बनाइए। ऐतिहासिक ठ्यासफुहरू, पुराना दस्तावेजहरू समेत चोरेर, तस्करी गर्न सम्भव रहेको समयकाल सदाचारीहरूको समयकाल थियो भन्ने कुरा कति हास्यास्पद छ यसै पनि बुझिन्छ। त्यसमा पनि त्यस्ता ऐतिहासिक मूर्ति, टुँडाल, दस्तावेज, कागजात, दुर्लभ वन्यजन्तुको छाला, सर्पका छाला तस्करी गर्नेमा दरबारभित्रकै को–को थिए भन्ने पनि समय–समयमा उजागर भइआएकै छ।
पुस्तौंदेखि जमिन सँध्याएर खेती गरिआएका अशिक्षित थारूहरूलाई जमिन दर्ता गर्ने शीर्षकमा वैधानिक रूपमै सम्पूर्ण तवरले भूमिहीन बनाइएको त्यही पञ्चायतकालमै थियो। गाउँ–गाउँमा जग्गा दर्ता गर्ने नाममा डोर खटाएर अशिक्षित दलित, जनजातिहरूको स्वामित्वबाट जमिन खोसेर भूमिहीन बनाउँदै कानुनी तवरमै निश्चित जात, वर्गका मानिसको अधीनमा लगिएको त्यही पञ्चायतकालमै थियो। रैथानेहरूको जमिन मुठ्ठीभर चाकरदारहरूलाई बपौतीमा राणाकालपछि अकल्पनीय मात्रामा बाँड्ने पनि त्यही पञ्चायत थियो। पञ्चायत जिताउन सूर्यबहादुर थापाको निर्देशनमा भारतीयलाई पैसा लिएर दिइएको नागरिकता, राष्ट्रिय धनका रूपमा प्रचारित हरियो वनको अकल्पनीय फँडानी, गलैंचा काण्ड, अवैध चोरी तस्करीका पञ्चायती काण्डहरू आजका दिनमा नागरिकलाई तस्करी गरेर भुटानी शरणार्थी बनाउँदै बेच्ने सत्तामा अडेस लगाएर बसेका नैतिकहीन भ्रष्टहरूको कर्तुतभन्दा कम थिएन।
हिजोको समाज बन्द समाज थियो। शिक्षितहरूको संख्या कम थियो। मनिसहरू आफूमाथि भएको अपमान, अत्याचार, सामाजिक विकृति, भ्रष्टाचार, दुराचारबारे बोल्न सक्दैनथे। आजको समाज सूचना प्रविधिको क्रान्तिकारी छलाङले अपरिमित मात्रामा पारदर्शी बन्दै गएको छ। जनसंख्याको बृहत्तर हिस्सा आधारभूत शिक्षाको पहुँचमा आएपछि साक्षरताको दायरा फराकिलो भएको छ। वैदेशिक रोजगार र त्यसले दिएको आर्थिक आधारले अब मानिस शासकसँग आँखा जुधाएर सवाल गर्न सक्ने अवस्थामा पुगेको छ। आशावादी जीवनका लागि समाजका सम्भ्रान्त, शक्ति कज्याएर बसेकाहरूमा मात्रै निर्भर पर्नुपर्ने बाध्यता खुकुलो हुँदै गएको छ। भ्रष्टाचार, दुराचार, सामाजिक बेथितिविरूद्ध सचेत मानिसहरूको संख्यामा बढोत्तरी भएकै छ।
यस कारण आजका दिनमा कतैबाट सूचना सार्वजनिक हुनासाथ हिजो जसरी कसैलाई नभन्नु है भन्दै कानेखुसी गर्ने र गुम्सिएर बस्ने अवस्था छैन। खडेरीले खाएको जंगलमा फैलिएको आगोजसरी इन्टरनेट सञ्चालित सार्वजनिक माध्यमबाट आजका कर्तुतहरू निमेषभरमा आगो जसरी फैलिन्छन्।
यसर्थ भ्रष्टाचार, कालोबजारी, ढिलासुस्ती, अनैतिकता, अकर्मण्यतालाई शासनकालमा विभाजन गरेर योभन्दा त्यो शासनकाल गतिलो भन्न सक्ने अवस्थामा नेपाली समाजको कमसेकम पछिल्ला साठी वर्षको इतिहासको पदचाप प्रतिध्वनित हुन सक्छ भन्ने मलाई लाग्दैन।
समाज जति दरिद्र हुन्छ, उति नै भ्रष्टाचारी हुन्छ — मौका पाउनासाथ। पञ्चायतकालमा सीमित मानिसले मौका पाए, भ्रष्टाचार सीमित मानिसको क्रिया बन्यो। यताको समय राजनीति, प्रशासन, अनेकन निकायहरूमा पुग्ने नेपालीको संख्यामा बढोत्तरी भएको छ। निश्चय नै त्यसको परिणाममा पञ्चायतकालमा रोपिएको प्रवृत्तिको बढोत्तरी अवश्य नै भएको छ।
कोरियालाई चामल अनुदान: बोरामा खाँदेर भ्रमको वितरण
नेपाली कांग्रेसका नेता रमेश लेखकले सन् २०२१ मा कान्तिपुरले आयोजना गरेको कार्यक्रममा भनेका थिए — पहिले हामी कोरियामा चामल पठाउँथ्यौं, अहिले कामदार पठाउँछौं र भारतबाट चामल किनेर खान्छौं।
हालैको दिनमा राप्रपाका युवा सांसद ज्ञानबहादुर शाहीले पनि भनेका थिए — हिजो पञ्चायतकालमा कोरियालाई चामल दान दिने नेपाल आज भारतबाट चामल किनेर खाने कसरी बन्यो?
खासमा नेपालले कोरियालाई खाद्यान्न दिएको कोरियाको योङसान नदीमा आएको भीषण बाढीले गरेको अकल्पनीय जनधन र खेतीपाती विनाशले निम्त्याएको भोकमरीका कारण हो। त्यति बेला संयुक्त राष्ट्रसंघले गरेको सहयोग आह्वानमा नेपाले ऐक्यबद्धतास्वरूप खाद्यान्न दान दिएको थियो। यो सन् १९७४ अर्थात् विक्रम सम्बत् २०३३ सालको कुरा हो।
त्यही वर्ष नेपाल–कोरियाबीच औपचारिक दौत्य सम्बन्धसमेत स्थापित भएको थियो। कोरिया युद्धले निम्त्याएको चरम भोकमरी र संकटका दिनमा समेत यस्तो अन्तर्राष्ट्रिय सहयोग कोरिया पुगेको थियो। यस्तो आपतकालीन सहयोग अर्को राष्ट्रभन्दा आफू सम्पन्न भएकाले मात्रै दिइन्न। मित्रता, अन्तर्राष्ट्रिय सम्बन्ध र मानवीय आपतकालमा उक्त राष्ट्र र जनताप्रति ऐक्यबद्धतास्वरूप पनि दिने गरिन्छ। यताका दिनमा विपत्ति, प्रकोप, मानवीय संवेदनाको घडीमा नेपालले जापान, अमेरिकालाई समेत ऐक्यबद्धतास्वरूप सानो परिमाणमा भए पनि सहयोग गरिरहेको हुन्छ। के नेपाल जापान, अमेरिकाभन्दा धनी भएर यसो गरिएको हो त? होइन। हिजो पनि होइन, आज पनि होइन।
त्यसो भएकाले भ्रमको लैबरी फलाकेर न त हाम्रो विगतको सामर्थ्य भव्य थियो भन्ने प्रस्टिन्छ, न आजको कमजोरी। यथार्थ के हो भने बाँकी विश्वसँगको तुलनामा हाम्रो समाजको सामर्थ्य हिजो पनि कमजोर थियो, आज पनि कमजोर छ। नेपाली समाजको सामर्थ्य हिजोभन्दा आज कमजोर भएको छैन। बढेको छ, हिजोको तुलनामा। तर बाँकी विश्वबाट निकै टाढा छडिने गतिमा मात्रै बढिरहेको छ।
हिजो जनसंख्याको आकार सानो थियो। गुजारामुखी कृषिमा आधारित आर्थिक प्रणाली थियो। मुठ्ठीभर मानिसहरू अरूलाई कृषक बनाएर आफू रवाफिलो जीवन बाँचिबसेका थिए। किसानी गर्नेहरूलाई सिँगै जिन्दगी कृषिमा समर्पित हुँदा पनि एक आङ सुकिलो लुगा र दुई छाक पोषिलो खानेकुरा खान पुगेन, पुग्दैन। त्यसबाट आजित भएर नागरिकले वैकल्पिक बाटो समात्नासाथ हिजो कज्याएर खानेहरूको रोदन प्रकट भएको छ, कृषिमा परनिर्भर भयो भन्ने। तर आत्मनिर्भर बन्न तिनीहरू आफू र आफ्ना सन्तानलाई कृषिमा लगाउन तयार छैनन्। अरू नै कसैले, अरू कसैका सन्तानले जीविका पनि नचल्ने कृषिमा लागेर आत्मनिर्भर बनाइदिनुपरेको छ तिनका लागि। अन्यथा, नागरिकहरूको वैकल्पिक पेसामा संलग्नताले नेपाली समाजको आर्थिक सामर्थ्यका तमाम सूचकहरूमा उल्लेखनीय बदलाव आएकै छ।
‘नेपाल कति बन्यो, कति बनेन’ शीर्षकको यो बहस शृंखला आरम्भ गर्दै सेतोपाटीका प्रधानसम्पादक अमित ढकालले लेखेको सुरूआती लेखमा पञ्चायती शासनकाल र त्यसयताको समयकालमा बदलाव आएको नेपाली समाजको सामर्थ्य वृद्धिका तमाम सूचकहरूको तथ्यांक उल्लेख भएकाले त्यसलाई म दोहोर्याउन चाहन्न। बरू त्यसैलाई सिरानी हालेर थप्न चाहन्छु र निर्धक्कसँग उल्लेख गर्छु — आफ्नै इतिहासको पदचापलाई फर्किएर हेर्दा नेपालले केही पनि प्रगति गरिरहेको छैन भन्ने होइन। प्रगति भइरहेकै छ। पञ्चायकालीन नेपाली समाजको सामर्थ्यभन्दा लोकतन्त्रकालीन नेपाली समाजको सामर्थ्य गुणात्मक तवरले वृद्धि भइरहेको छ।
विद्यालय शिक्षा, स्वास्थ्य, महिला स्वास्थ्य, बाल मृत्युदर, खानेपानीमाथि नेपाली नागरिकको पहुँच, यातायात, विद्युतीय उज्यालोमाथिको नागरिक पहुँच, सूचना प्रविधिमाथिको पहुँच, महिला अधिकार, दलित अधिकार, सामाजिक जनचेतना लगायत हरेक क्षेत्रमा आजको नेपाली समाज तीस वर्षअघिको नेपाली समाजभन्दा गुणात्मक फड्कोसहित नयाँ सामर्थ्यका साथ उभिन सफल भएको छ।
तर जति भएको छ, यो आफ्नै गतिहीन विगतको तुलनामा बढेको देखिएको मात्रै हो। तीव्रतर गतिले दौडिरहेको विश्वका बाँकी देशहरूको तुलनामा भने नेपाल निकै गतिहीनताको गोलचक्करमा फसिरहेको विश्व बैंकका तथ्यांकहरू केलाउँदा पनि सहजै देखिन्छ।
तथ्यांकहरू केलाउँदा के देखिन्छ भने, नेपाल बाँकी विश्वसँग तीव्रतर गतिमा सबभन्दा पछि परेको कालखण्ड सन् १९६० देखि १९९० बीचको समयकालमा हो। त्यही कालमा हाम्रो गति दिने इन्जिन र गुड्ने पांग्रामा समस्या सिर्जना भएको थियो। उप्रान्तका दिनमा त्यो ढिलाढाला भएको इन्जिन र खिइएका पांग्रा नेपाली समाजको गतिलाई अत्यधिक ढिला बनाउने गरी मात्रै गुड्यो। हामीले क्रमभंग गर्नुपर्ने त्यो गतिहीनताको कारक बनेको इन्जिन र पांग्रामा थियो। तर हामीले अदलबदल गर्यौं, त्यो इन्जिन र पांग्रा जोडिएको ट्रक चालकलाई। चालक फेरबदलले जराजीर्ण भएको इन्जिन र पांग्रा जोडिएको ट्रक गुडाइको चालढालमा अलिअलि फरकपना त आयो, तर गतिका साथ गुड्न सकेन। किनभने, समस्या चालकमा मात्र थिएन, इन्जिन र पांग्रामा पनि थियो। आज पनि नेपाली समाजको आधारभूत परिसंरचना र गतिशीलता बढाउने एकीकृत सामर्थ्यमा क्रमभंग गर्न सकिएको छैन।
यसरी हेर्दा नेपालको सामाजिक सामर्थ्य निर्माणको गति निकै धीमा छ। अर्कातिर जति बढेको छ, त्यो लोकतन्त्र आएकाले मात्रै वृद्धि भएको थियो भन्ने पनि होइन। संसारभर नै निरन्तरताको निरन्तरतामा समृद्धिका तमाम सूचकहरूमा वृद्धि भइरहेको छ। विश्वभर नै मानव विकासका तमाम सूचकहरूमा निकै महत्वपूर्ण वृद्धि निरन्तर जारी छ। उम्रिएको सुन्तलाको बिरूवा आफ्नै तवरले निरन्तर बढिरहेजस्तै।
अरू देशले त्यसरी उम्रिएको सुन्तलाको बिरूवालाई पर्याप्त मल, पानी, स्याहार गरेर उसको हुर्काइमा तीव्र गति पैदा गरिदिएका छन्। हामी भने फल लागेको बेला पोहोरभन्दा यति दाना बढी फल्यो भन्दै गनेर आफ्नो पौरखको गाथाका रूपमा प्रचारित गरिरहेका छौं। निरन्तर वृद्धि स्वाभाविक प्रक्रिया हो। नेपालको गतिमा भने अस्वाभाविक तवरले ढिलासुस्ती भइरहेको छ। यो यथार्थ हो।
उसो त नेपाली समाजको गतिलाई अल्छी खरायो र निरन्तर क्रियाशील कछुवाको दौडसँग पनि दाँजेर हेर्न सकिन्छ। सुतिबसेको खरायो उठेर दुई–चार पाइला हिँड्दा सुताइको तुलनामा गति बढेको त देखिन्छ नै। तर निरन्तर हिँडिरहेको कछुवाको तुलनामै पनि ऊ निकै पछाडि परिरहेको हुन्छ। बाँकी विश्व चितुवाको गतिमा पूरापूर सामर्थ्यका साथ दौडिरहेको छ। अल्छी खरायोको गतिले आक्रामक सामर्थ्यका साथ दौडिरहेको चितुवाको गतिलाई भेट्नै नसक्ने गरी पछाडि पर्नु अन्यथा पनि छैन।
आजको सूचना प्रविधिमा नेपाली नयाँ पुस्ताको पहिलो विश्व भनिने सबै देशमा चलिरहेको बढ्दो ओहोरदोहोर र आप्रवासनका कारण नेपाली समाज बाँकी विश्वभन्दा कति पछि परिरहेको छ भन्ने राम्रैसँग देख्न, महसुस गर्न सकिने कुरा भइहाल्यो। आफ्नो समाजको गतिहीनता र बाँकी समाजको रफ्तारबीचको खाडलले नेपाली नागरिकलाई अत्यासको, चिडचिडाहटको खाडलमा धकेलिदिएको छ।
आजका दिनमा अन्तर्राष्ट्रिय यात्रामा नेपाली परिचयको राहदानी हुनु नै अपमानित हुनु, हेयका दृष्टिले हेरिने पात्र बन्नु परेपछि नागरिकलाई आफ्नै परिचयप्रति नमिठो दंशले घात गरिरहेको महसुस हुने अवस्था छ।
समाजको बदलिँदो तस्बिर
विभिन्न परियोजनाको अधीनस्थ भएर पञ्चायत आरम्भतिरका समयबाट नेपाल छिरेका अनेकन विदेशीहरूले संकलन गरेका समग्र नेपाली समाजका तस्बिर, भिडिओ, त्यस बखतका समाज र परिस्थितिबारे लेखिएका सामग्री हेर्दा र पढ्दा नेपाली समाजको तत्कालीन तस्बिर देखिन्छ।
मानिसहरूसँग एकसरो गतिलो लुगा थिएन। बाटाघाटाहरू थिएनन्। खाने–बस्ने गतिलो व्यवस्था थिएन। शिक्षासँगको फराकिलो दुरी थियो। विदेशी मानिस देखेपछि भाग्नेहरूको संख्या जताततै थियो। आधुनिक भनिने सामाजिक जीवनसँग मानिसहरूको साक्षात्कार थिएन। न अस्पताल न उपचार। न विद्यालय न शिक्षा। न बाटोघाटो न रोजगारी। जीवन जुन कुनाबाट उम्रिन्थ्यो, त्यही पाखोमै सीमित रहेर निख्रन्थ्यो। औसत आयु निकै कम थियो। राजनीतिक साक्षरता थिएन। राज्य सुविधा मुठ्ठीभर टाठाबाठाको पोल्टामा सीमित थियो।
नेपालमा आधारभूत ज्ञान र चेतनाको विस्तारक विद्यालयहरू अत्यधिक मात्रामा विक्रम सम्बत् २००७ देखि २०२० का बीचमा र त्यसमा पनि २०१५ देखि २०१८ का बीचमा खुलेका देखिन्छन्। त्यसताका खुलेर प्राथमिक, निम्न माध्यमिक तहमै खुम्चिइबसेका अधिकतर विद्यालयहरू २०५० देखि २०६० का बीचमा माध्यमिक तहमा र २०६३ पछि उच्च माध्यमिक तहमा उक्लिएको देखिन्छ।
उसै पनि निरंकुशताले शिक्षालयको स्थापनालाई आफ्नो घुँडामा आफैंले हानेको बञ्चरोका रूपमा लिने र लोकतन्त्रले आफ्नो आधारका रूपमा लिने प्रचलन व्यवहारिक रूपमा नेपाली समाजमै पनि ऐतिहासिक साक्ष्यहरूका साथ उपस्थित छँदैछ। यसले नेपाली समाजको औपचारिक शिक्षातर्फको मात्रा सघन मात्रै बनाएको छैन, त्यसको उत्कर्षमा अन्य क्षेत्रमा समेत सकारात्मक परिणाम पैदा गराएको छ।
महिलाहरूको शिक्षा, रोजगारी, सार्वजनिक जीवनतिरको सहज पहुँच आज पनि उति सजिलो छैन। तर जति भएको छ, त्यो लोकतन्त्रकालीन खुला र उदार समाजकै परिणाम हो, जो पुरातनपन्थीहरूलाई आज पनि पचिरहेको छैन। बलात्कार र महिला अधिकारबारे मुखर भएर बोलिरहेका महिलाहरूलाई ‘डिफेम’ गर्न अग्रसर झुण्ड तिनै पुरातनपन्थी पुरूषसत्ताका पहरेदार हुन्। महिलाको शिक्षामा पहुँचसँगै यसले बालबच्चाको पढाइ, स्वास्थ्य, बाल मृत्यु दर, यौन शिक्षा, जन्मान्तर, परिवार नियोजन, शुद्ध खानेपानी, बचत, पौष्टिक खाना, खुला दिसापिसाब आदि जस्ता कैयन आयामहरूमा अकल्पनीय परिवर्तन भएको छ।
नेपाली समाजले बितेका केही दशकमा अभूतपूर्व रूपमा आफ्ना सामर्थ्यहरूको प्रदर्शन पनि गरिआएकै छ। जनआन्दोलन, छिटोछिटो सरकार गठन–विघटन, आन्तरिक सशस्त्र द्वन्द्व, विष्णु अवतार मानिएका राजा र उनको परिवारको रहस्यमय र अकल्पनीय हत्या, कागताली परेर राजा भएका ज्ञानेन्द्रको पिता मार्गमा प्रत्यागत, दोस्रो जनआन्दोलन, संविधानसभा, गणतन्त्र, विध्वंसकारी भुइँचालो, नयाँ संविधान, भारतीय नाकाबन्दी, नागरिकहरूको एकीकृत प्रतिरोध, संसदको पटक–पटक विघटन, नयाँ राजनीतिक शक्तिको उदय आदिले बितेका तीन दशक राजनीतिक तवरले निकै चलायमान या अस्थिर देखिन्छ।
रूपमा हेर्दा दसवर्षे आन्तरिक सशस्त्र द्वन्द्वले नेपाली समाजको भौतिक विकासको गतिमा अवरोध सिर्जना गरेको देखिन्छ। हजारौं नेपालीले जीवन निखारेको मोलमा मुठ्ठीभर लालबोसहरूको रजगज चलेको छ। तर यो सिक्काको एउटा पाटो मात्रै हो, जसको अर्को पाटो पनि छ।
सशस्त्र संघर्षले नेपाली समाजको चेतनामा अभूतपूर्व विकास गरेको छ। सामाजिक न्यायको सवालमा, छुवाछुत, महिला शोषण, सीमान्त मानिसहरूको अधिकारको सवाल, समाजलाई समावेशी बनाउने सवाल होस् या धर्म निरपेक्षताजस्ता विषयहरू त्यही सशस्त्र संघर्षकालमा नेपाली अनमोल नागरिकहरूले बगाएको रगतको बाटो हुँदै आजको अभ्याससम्म आइपुगेको हो।
कतिपयले यताका दिनमा धर्म निरपेक्षता विदेशी योजनामा नेपालमा लादिएको भनेर आलोचना पनि गर्ने गरेको पाइन्छ। यसको विरोध गर्नुअघि सैद्धान्तिक तवरले धर्म निरपेक्षताको अवधारणामा न्यूनतम विमर्श अनिवार्य छ।
राज्य तमाम नागरिकहरूको समुच्च प्रतिनिधित्वको विम्ब हो। एउटा देशभित्र तमाम जात, धर्म, आस्था र विश्वासका मानिस बस्छन् भने उक्त राज्य कुनै निश्चित जात, धर्म, आस्था, विश्वासको मात्रै प्रतिनिधित्व गर्ने विम्बात्मक परिचयका साथ उभिन सक्दैन भनेर धर्म निरपेक्षता आजको आधुनिक चेतनाको जगमा आविर्भाव भएको पाइन्छ। राज्यले कुनै निश्चित धर्मको पक्षपोषण गर्न मिल्दैन। राज्यमा बस्ने मानिसहरूको आ–आफ्नै, बेग्ला–बेग्लै धर्म हुन्छ। ती सबै धर्ममा आस्थावान मानिसहरूको साझा थलो भनेको देश हो। सबैको साझा भएकाले देशले कुनै पनि धर्मप्रति अतिरिक्त रूचि या वितृष्णा कायम गर्न मिल्दैन र यो सबैप्रति समभावमा रहनुपर्छ भनेर देशलाई धर्मप्रति निरपेक्ष रहने मान्यताको निर्माण भएको हो।
निश्चित धर्मप्रति राज्यको तृष्णा या वितृष्णा नहुने र सबै धर्मको साझा संरक्षक रहने मात्र होइन, सनातन अभ्यासको संरक्षक पनि रहने यो मान्यताको प्राण हो। यो उदार जमिनको फाइदा उठाएर धर्मान्तरलाई व्यवसाय बनाएका क्रिश्चियन मिसनरीहरूले धर्म निरपेक्षताको धज्जी उडाइदिएपछि यसमाथि चौतर्फी प्रश्न उठेको छ। सनातन दर्शन र अभ्याससमेत धराशायी बनाउने गरी भएको धर्मान्तरमा एकातिर राज्यको मौनता उदेकलाग्दो छ भने अर्कातर्फ विदेशी राजदूतहरूले नै कूटनीतिज्ञको बर्को फालेर धर्म प्रचारकको एजेन्टका रूपमा देखाएको सक्रियताले परम्परागत समाजमा अस्तित्वमाथि खतरा आउन थालेको मनोभाव निर्माण गराएको छ। यसले धर्म निरपेक्षताको मान्यता नै धर्मराएको अवस्था छ। यसमा हामीले गम्भीरतापूर्वक काम गर्न जरूरी छ।
यसरी एउटा छोटो कालखण्डमा यति विस्मयकारी घटनाहरूबाट गुज्रिएको समाज हुनाले नेपाली समाजमा बितेका तीन दशकमा भारी मात्रामा चेतना वृद्धि, न्यायका आधारहरूको निर्माण, सामाजिक रीतिमाथिको विमर्श र बदलाव सिर्जना भएको छ। युद्धकालका घटनाहरूमा पीडितले आम रूपमा न्याय पाउन नसकेको र त्यसलाई युद्धमा सामेल पक्षहरूले राजनीतिकरण गरिरहेको गम्भीर आपत्तिजनक अवस्था विद्यमान छँदैछ। तर समाजमा यो प्रवृत्तिविरूद्ध समेत चेतना निर्माण भइरहेको छ भने त्यो आफैंमा सकारात्मक सूचक हो। यसैले समाजलाई अगाडि बढाउने इन्धनको भूमिका निर्वाह गर्ने हो। सवाल चाहिने जति भइरहेको छ कि छैन भन्ने हो। यो कोणबाट हेर्दा अवस्था सन्तोषजनक छैन।
जब समाज सही गतिमा अघि बढिरहेको हुँदैन, भविष्य उज्यालो क्षितिजबाट उदाउँदै गरेको देखिन्न, त्यसपछि त्यो समाज इतिहासका फलकहरू उघारेर वर्तमानको दुःख धुने ध्यान्नमा लाग्छ। यथार्थमा इतिहास वर्तमानभन्दा जराजीर्ण हुन्छ। तर स्मृति–दंशका कारण उसलाई त्यसप्रति चरम मोह हुन्छ। कमजोर विगतको तलाउमा डुबेपछि वर्तमानको तैबिसेक हिँडाइप्रति सन्तोषको आत्मघाती अवसर प्राप्त हुन्छ।
सधैंभरि यस्तो मात्रै पनि हुँदैन। इतिहासको पदचापको ध्वनि सुनेर मानिस ब्युँझन्छ र भविष्यको मार्ग निर्माण गर्न अग्रसर हुन्छ। मलाई लाग्छ, नेपाल यहीँनेर उभिएको छ। कष्टपूर्ण इतिहास र दारूण वर्तमानको पथमा डोरिएर आफ्नै इतिहासको कर्कश ध्वनिले ब्युँझिएर नेपाली समाज भविष्यतिर अग्रसर हुँदै नै छ। अनेकन कमजोरीहरू छन्। हामी निकै नै ढिलाढाला चालामालाको सिकार भएकै छौं। तर सच्याउनै नसक्ने गरी बिग्रिसकेको छैन। टाल्नै नसक्ने गरी उध्रिसकेको छैन नेपाली समाज।
ढिला यति भइसकेको छ, अब धेरै ढिला हुनेतिर अवस्था उन्मुख छ। त्यति धेरै ढिला पनि नेपाली समाजले नगरोस्, जसले यति बिगारोस् कि उप्रान्त हामी केही गर्न नसकौं।
पश्चाताप मानव समाजको इतिहासको फुटनोट हो, मूलमार्ग होइन। हामी पश्चातापलाई सिरानी हाल्ने ताक कुरेर नबसौं।
विभेदको बदलिँदो तस्बिर
सामाजिक विभेद र लैंगिक विभेदका ऐतिहासिक फलकहरूमा पसिबस्यौं भने देख्छौं, नेपाली समाज यति उदार र प्रगतिशील लिखित इतिहासकालमा कहिल्यै थिएन। महिलाका सवालमा नेपाली समाज बाँकी विश्वसँग आँखा जुधाएर कुरा गर्नसक्ने योग्यताका साथ उभिएको छ, अनेकन समस्याले गाँजिनुका बाबजुद।
जातिभेद हाम्रो कुरूप सामाजिक यथार्थ हुँदाहुँदै भारतीय उपमहाद्वीपमा उत्पादित जाति व्यवस्थाको सिकार बनेको यहाँको समाजको तुलनात्मक अध्ययन गर्दा भारतभन्दा नेपाल अधिकतम प्रगतिशील रफ्तारमा छ। फेरि पनि यो पर्याप्त छँदै छैन। यसले सामाजिक परम्परागत अभ्यासको शीर्षकमा शिरमा बोकिबसेको जात व्यवस्थाको कुरूप यथार्थलाई पूर्णरूपेण मिल्काउने र अघि बढ्ने साहस सर्वथा गर्न सकेको छैन।
समलैंगिक मानवअधिकारको कोणबाट हेर्दा नेपाल दक्षिण एसियाकै अग्रणी प्रगतिशील बाटोमा अग्रसर छ। लैंगिक पहिचानका आधारमा नागरिकताको हक प्रत्याभूत गर्नेमा मात्रै होइन, संसदमा प्रतिनिधित्वको हिसाबमा समेत नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको छ। भ्रूण हत्या, दाइजो प्रथा, छुवाछुतजस्ता समस्या आजको यथार्थ हुँदाहुँदै पनि यी तमाम विषयमा समाज चेतनशील, जागरूक र प्रगतिशील बाटोमा अघि बढिरहेको तथ्यलाई कम आँक्न मिल्दै मिल्दैन।
यसलाई लोकतन्त्रकालको बिल्कुल भिन्न योग्यताको परिणाम हो भनेर मात्रै व्याख्या गर्न मिल्दैन। लोकतन्त्रकालले यो चेतनाको दियोमा भारी मात्रामा तेल थपिदिएको छ। तर यो दियोको व्यवस्था र दियोमा बलिरहेको कपासको बत्ती लोकतन्त्रकालमा कातिएको होइन। त्यो सबैको तर्जुमा हिजो भएको हो। आजको समाजले गरेको काम भनेको तेलको अभावमा धिपधिप गरेर बलिरहेको दियोमा थप तेल हालिदिएको हो।
यसर्थ महिला शिक्षा, सामाजिक जागरण, शिक्षाको सर्वव्यापी पहुँच अविच्छिन्न सामाजिक उत्तराधिकारको परिणाम हो। नेपालमा पहिलो स्कुल राणाकालमा खुलेको थियो। त्यसैले औपचारिक शिक्षामा स्कुल खोल्नुपूर्व र त्यसपछि कति मान्छे शिक्षित भए भनेर तुलना गर्न मिल्दैन। बिजुली, बाटोघाटो, शिक्षादिक्षा त्यही कालमा आरम्भ भयो। त्यसको निरन्तरताको परिणाम आज बृहत्तर मानिसको पहुँचमा पुग्न सफल भएको हो।
त्यसकालमा ती तमाम कामहरू आरम्भ हुनु पुरानो निरन्तरताको अन्त्य र नयाँ निरन्तरताको आरम्भ थियो। आजका दिनमा ती सुविधा बृहत्तर मानिसको पहुँचमा पुग्नु लोकतन्त्रकै कारण भएको क्रमभंगको परिणाम मात्रै होइन। न त नयाँ निरन्तरताको परिणाम मात्रै हो। यो अविच्छिन्न उत्तराधिकारमा गतिशील निरन्तरताको निरन्तरता हो।
निश्चय नै, लोकतन्त्रकालमा निरन्तरताको सुचालक शक्ति गतिवान भएकोमा कुनै सन्देह छ भन्ने मलाई लाग्दैन। तर चाहिएको छ निरन्तरतामा क्रमभंग र नयाँ निरन्तरताको सुरूआत। छलाङ भने पनि हुन्छ, त्यो चाहिएको छ, जसलाई अंग्रेजी साहित्यले ‘र्याडिकल पाराडाइम सिफ्ट’ भनेको छ।
जातप्रथा: ऐतिहासिक सामाजिक रोग
तमाम परिवर्तनका सूचकहरूको उल्लेखका बाबजुद आजको नेपाली समाजमा जातिगत विभेद उल्लेखनीय सामाजिक अयोग्यताका रूपमा उपस्थित छ। जात त्यस्तो रोग हो, जसको हामी कसैले प्रतिरोध गर्न सक्दैनौं। यस्तो गम्भीर सामाजिक रोग पालेर हामी भने केही नभएको जसरी बसिरहेका छौं।
विश्वासको जगमा, विश्वास अधीनस्थ अभ्यासको जगमा आधारित छ जात व्यवस्था। हामी त्यही बन्छौं, जेमा हामी विश्वास गर्छौं। विश्वासका आधारमा हेर्दा हामी चरम जातिवादी रोगबाट आक्रान्त बनिरहेका छौं। यसको उपचारमा ढिलाइ हुँदा सिंगो समाजलाई आक्रान्त पार्ने समाजमारा क्यान्सर बनिरहेको छ जातव्यवस्था।
प्रेममा, विवाहमा, पाठशालामा, कोठा बहालमा, खानपानमा, मन्दिरमा जातलाई सवाल बनाएर हामी अर्को मानिसको ज्यान लिने स्तरमा हिंसात्मक प्रवृत्तिको पटाक्षेप गरेर समाजमा सौहार्दताको र्याली निकालिरहेका छौं। यो पाखण्डीपना हाम्रो आजको कमजोरी र समस्याका रूपमा उपस्थित छ भन्ने हामीले स्वीकार गरेर अघि बढ्नैपर्छ।
औपचारिक शिक्षा: तुइन हटेर साँघुतिर
शिक्षित जनसंख्याको पैमाना बढ्दै जाँदा त्यसले स्वाभाविक तवरले अन्य सामाजिक विकासका आधारहरू सिर्जना गर्ने र विकासलाई गति दिने काम गर्छ। जस्तो — जति शिक्षित जनसंख्या बढ्दै जान्छ, उति नै सरसफाइ, स्वास्थ्य, परिवार नियोजन, सुरक्षित प्रसूति, बालबच्चाको शिक्षादिक्षा, गुणस्तरीय रोजगारी, आयआर्जनमा वृद्धि, व्यावसायिक वातावरण, सिर्जनात्मक रोजगारीका क्षेत्रको विस्तार जस्ता परिणाम सँगसँगै आउँछन्।
नेपालमा शिक्षाको गतिलाई तीव्रता पञ्चायतकालले नै दिएको थियो भन्न लजाउनुपर्ने कुनै कारण छैन। त्यो स्वाभाविक प्रक्रिया पनि थियो। राणाकालमै विद्यालय, क्याम्पस खुलेको थियो। शासक र तिनका चाकरीदारका सन्तानले पढ्न पाए पनि दुनियाँदारका सन्तान शिक्षाबाट विमुख थिए। नागरिकमा शिक्षाको चर्को भोक जागेको थियो। त्यो भोकलाई दमन गर्न सक्ने अवस्थामा पञ्चायत थिएन। पञ्चायतको ठाउँमा अरू कुनै व्यवस्था भएको भए पनि नेपाली समाजमा बढेको औपचारिक शिक्षाको भोकलाई अब रोक्न सक्ने परिस्थिति बाँकी थिएन, राणाकालमा जस्तो।
स्वभावतः पहिलो जननिर्वाचित सरकारका पालादेखि नेपालमा विद्यालय खोल्ने एक किसिमको अभूतपूर्व राष्ट्रिय लहर नै चल्यो। पञ्चायतको आखिरी कालसम्म आइपुग्दा सन्तानलाई दिनसक्ने सबभन्दा ठूलो धन नै शिक्षा हो भन्ने चेतना सामाजिक स्तरमा विस्तारित भइसकेको थियो।
चेतना हुनु एउटा कुरा हो, तर चेतनालाई व्यवहारिक स्वरूप दिनसक्ने सामर्थ्य हुनु बेग्लै कुरा हो। आर्थिक, सामाजिक परिपाटीको घट्टमा पिसिएर चेतना हुँदाहुँदै सन्तानलाई शिक्षा दिन नसक्ने हालतबाट मुक्ति दिने स्तरमा भने नेपाली समाजलाई वैदेशिक रोजगारीले नै उठाएको हो भन्न कुनै आनाकानी गरिरहनु पर्दैन। पञ्चायती व्यवस्था ढलेपछिका दिनमा खुलेको खासगरी खाडी राष्ट्रको रोजगारीको अवसरले सीमान्त मानिसहरूलाई समेत सन्तानलाई औसत जीवनशैलीमा राखेर भए पनि कम्तिमा विद्यालय शिक्षा दिनसक्ने बनायो नै।
भुइँमानिसहरूका सन्दर्भमा कुरा गर्दा यो एक किसिमले निरन्तरताको क्रमभंग नै हो। तर त्यसले सिर्जना गरेको उपभोक्ता संस्कृति र उत्पादनको क्षेत्रमा निम्त्याएको विकृतिमूलक ह्रासको अर्कै चाङ पनि सँगसँगै छँदैछ। उसो त मानिसले रोजेको जीवन बाँच्ने अधिकारमाथि कसैले बेदखल गर्न मिल्दैन, जबसम्म उसले न्यूनतम सार्वजनिक सामाजिक नीति र पद्धतिहरूमाथि दखल पुर्याउँदैन।
संस्कृति: समाजको ब्लुप्रिन्ट
सांस्कृतिक र व्यक्तिगत विशेषताहरू बीचको भिन्नता भने निकै जटिल र अस्पष्ट हुन्छ। जस्तो — कुनै व्यक्तिले बच्चाको शिक्षामा सामाजिक/सांस्कृतिक विश्वास, मूल्य या परम्पराका कारण पनि लगानी गरिरहेको हुनसक्छ। अर्कातिर, व्यक्तिको आफ्नै जीवन अनुभव, पारिवारिक पृष्ठभूमि, सामर्थ्य आदिका कारण पनि उसले बच्चाको शिक्षामा मन फुकाएर लगानी गरिरहेको हुनसक्छ। यसमा हेर्दा व्यक्तिको विश्वास, अभ्यास, मान्यता सामाजिक, सांस्कृतिक सन्दर्भबाट बिल्कुलै अलग हुन चाहिँ सक्दैन।
यस्तो किन पनि हुन्छ भने — सिंगो मानव इतिहासमा जसले आफ्नो पुर्खाबाट विरासतमा प्राप्त मान्यता, विश्वास, अभ्यासमाथि प्रश्न गरेका छन्, तिनलाई सधैंभरि हतोत्साही बनाइएको छ। सांस्कृतिक भाष्य, ज्ञान र परम्पराले समाजलाई यति बलियोसँग जकडेको हुन्छ, जो कोही उक्त मान्यताको विकल्प सोच्न सक्ने स्तरमा उठेकै हुँदैन। जसले समाजलाई थप उन्नत, गतिशील र सुन्दर बनाउन सकिन्छ भन्ने विश्वासका साथ वैकल्पिक मार्गसहित परम्परागत सरहदबारे सवाल उठाएको हुन्छ, उसको आत्मबल नै धरमराउने स्तरमा उसलाई हतोत्साहित गरिन्छ।
यस्तो प्रवृत्तिको पटाक्षेप नेपाल या दक्षिण एसियाली भूगोलभित्र मात्रै भएको छैन। सिंगो विश्व नै यो प्रवृत्तिको सिकार भएको छ। विश्व मानव समाजको सिंगो हिस्साले कुनै न कुनै चरणमा बदलिँदो सांस्कृतिक अवधारणा, नयाँ वैज्ञानिक खोज, प्रविधिको विकास, नयाँ दार्शनिक अवधारणा, नवप्रवर्तनलाई अस्वीकार गरेको छ। आरोपित गरेको छ। सके प्रतिबन्ध नै पनि लगाएर निषेधित गरेको छ। फरक यत्ति हो, कुनै समाजले दुई–तीन सय वर्षअघि गरेको कृत्य आजका दिनमा हामी गरिरहेका हौंला। तर यसैले सबै कुरा फरक पारेको छ। अरू निषेधबाट निस्केको शताब्दीऔंपछि हामी भने उनीहरूले शताब्दीऔंअघि प्रयास गरेर पनि परित्याग गरिसकेको प्रवृत्तिको दास बनिरहेका छौं।
यसो हुनुको पछाडि पनि कारण छ।
परम्परागत सामाजिक संस्कृतिले मानिसमा यसरी छाप छोडेको हुन्छ, उसमा आफ्ना चिर विगतका पूर्वजहरूको विवेकशीलता, तिनले निर्माण गरेर हस्तान्तरित हुँदै आइरहेको ज्ञान र आदर्श अनुलंघनीय, अकाट्य र चिरकाल उपयोगी हुन्छ भन्ने विश्वास निर्माण भएको हुन्छ। यसो हुनुमा मानिसमा विकसित विगतप्रतिको गहिरो आसक्ति, पुर्खाप्रतिको भावुक सम्मोहन, स्मृति–दंशको गहिरो निलडाम, वर्तमानमा निर्मित/सिर्जित ज्ञान, विज्ञानसँगको उसको सामीप्यहीनता, त्यसको आफूमा पर्न नसकेको प्रभाव, परिणामको अज्ञात भय आदिले काम गरेको हुन्छ।
आफ्ना पूर्वजले संकथन गरेको ज्ञान, अभ्यास, परम्परा सिधै ‘देवता’ मार्फत् प्राप्त भएको या दैवी मार्गदर्शनमा आधारित रहेको भन्ने विश्वास सहितको चेतनाले पुस्तौं पुस्तादेखि संक्रमित गर्दै आइरहेको हुन्छ। मेरो यो विश्वास नै आधिकारिक हो भन्ने चेतनाले मानिसमा गहिरो गरी जरा गाडेको हुन्छ। यस उपरका बहस, विमर्श र आलोचनालाई आपराधिक, सुनियोजित, प्रायोजित भन्दै आरोपित गर्ने र समाज, सभ्यता, परम्परा, इतिहासविरूद्धको क्रियाका रूपमा ‘डिफेम’ गर्दै समाजभँडुवा गतिविधि भन्दै विमर्शलाई निषेधको भट्टीमा हालेर खरानी बनाइदिन जोडबल गर्नुको कारण यही मनोदशाबाट सञ्चालित भएकाले हो।
यस्तो प्रवृत्तिले समाजलाई अघि बढ्न दिँदैन। अविकास यसैको सरहदमा संरक्षित छ। हाम्रो समाज यहाँनेर चुकेको छ।
निजीकरण: बेलगाम छाडा साँढे
शिक्षा, स्वास्थ्य र यातायातमा भएको चरम निजीकरणले नराम्रो मात्रै गरेको छैन। यसले नाफाखोर उद्देश्यको अधीनस्थ भएरै सही; शिक्षा, स्वास्थ्य र यातायातको व्यापक विस्तार गरेको छ।
आठ कक्षाको परीक्षा दिएर साथी रमेश भुजेलसँग भागेर भारतमा रोजगारीका लागि बत्तिन सदरमुकाम पुगेका बेला मैले पहिलोपटक गाडी देखेको थिएँ। त्यस बखत हाम्रा सपनाहरू साना थिए। रमेश केही वर्षदेखि भारतमै बस्दै आएको थियो। के गर्छस् भन्दा कोठीको काम हो भन्थ्यो। दसैं–तिहारमा आउँदा चमेलीको तेल घसेर आउँथ्यो। राम्रो टिसर्ट र पाइन्ट, टाउकोमा रूमाल बाँधेर हिँड्थ्यो। ‘चैने लेकिन टपलेट (चकलेट) खान्छस्’ भनेर मिठाइ खिलाउँथ्यो, रोटे पिङ खेल्न जाँदा। त्यही त थियो हाम्रो सपना।
कमसेकम मेरो सपना त्योभन्दा अग्लो थिएन। म त्यही सपनामा लठ्ठिँदै पढाइ हापेर इन्डिया भागेको थिएँ। कोठी भनेको घरको भाँडा माझ्ने काम हो भन्ने थाहा पाएको भए म उसँग भाग्ने नै थिइनँ। भागेर दिल्लीको मायापुरीनेरको नारायणा भन्ने ठाउँको फिल्म हलछेउ केही दिन भाँडा मस्काउँदैमा हातका औंलाका कापहरू कुहिन नथालेका भए म त्यहाँबाट फर्किएर नेपाल आउँदिन थिएँ होला। यही त थियो हाम्रो परिस्थिति।
आज पनि अनेकन भेगका मानिसहरूको अवस्था यही छ। तर बृहत्तर हिस्साको जीवन बदलिएको छ — कमसेकम माध्यमिक शिक्षा जसरी पनि सक्ने, सके पहिलो विश्व जाने, नसके अरब भए पनि जाने; तैबिसेक भए पनि जीवनको दुःख धुने।
त्यसरी जीवनको दुःख धुने सपनाको पछि लागेर सदरमुकाम पुगेको बखत पहिलोपटक देखेको थिएँ मैले, मानिस बोकेर गुड्ने बस। त्यसमा पहिलोपटक चढ्दा छेउका रूख, घर, जंगलहरू बेतोडले दौडिएको देखेपछि बेस्सरी दुखेको थियो मेरो टाउको।
आज कमसेकम देशका असी प्रतिशतभन्दा बढी विद्यार्थीको यो अवस्था छैन। आज म काठमाडौंबाट सिधा बस चढेर मध्यपहाडी गोरखाको गाउँ पुग्न सक्छु। सरकारको मात्रै भर परेको भए अधिकांश ग्रामीण इलाका आज पनि सार्वजनिक यातायातको पहुँचमा पुग्ने थिएन। उसै पनि बाटो बनाउनु मात्रै यातायातको सुविधा पुग्नु होइन। त्यसको आधार तयार हुनु मात्रै हो। शिक्षा र स्वास्थ्यमा पनि त्यही नै हो अवस्था।
यो सकारात्मक पाटोका बाबजुद शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातमा चरम व्यापारीकरण, दलालीकरण र बिचौलियापनको राज्यले मूकदर्शक भएर साक्षी बसेको छ। यसले यी आधारभूत तत्वहरू आधारभूत तहका मानिसहरूको पहुँचभन्दा बाहिर पुगेको छ। सार्वजनिक शिक्षा, स्वास्थ्य र यातायात धराशायी हुँदा निजी क्षेत्रले शिक्षा, स्वास्थ्य र यातायातमा मनोमानी गर्ने अवसर पाएको छ।
शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायातमा राज्यले नागरिकको सहज पहुँच र गुणस्तर कायम गर्न सकेको छैन। त्यसको फाइदा नाफाखोर निजी क्षेत्रले बेलगाम ढंगले उठाइरहेको छ। नेपाली नागरिक विश्वमै स्वास्थ्य, शिक्षा र सार्वजनिक यातायातमा सबभन्दा बढी रकम आफ्नो गोजीबाट खर्च गर्न विवश मानिसहरूको सूचीमा समाविष्ट छन्।
निजीकरणलाई अन्धानुकरण गर्ने हाम्रा नीति निर्माता र शासकहरूको परिचालित मनोभावको प्रकटीकरणले समाजलाई बिचौलियाको हातमा जिम्मा लगाएको छ। एउटा भ्रामक र विसंगत दृष्टिकोणको प्रस्ट उदाहरण वासिङ्टन सहमति हो, जसले विकासोन्मुख देशहरूका लागि समुच्च नीतिहरूको संग्रह सिफारिस गर्यो। उदारीकरण, सरकारी स्वामित्वमा रहेका उद्यमहरूको निजीकरण, सम्पत्तिमाथिको अधिकारको अनुलंघीय सुरक्षा, विनियमन, करका आधारहरूको विस्तार, करको दर घटाउनेजस्ता प्रावधान त्यसरी सिफारिस गरिएका नीतिहरूमा समाविष्ट थिए।
विश्व वैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले वासिङ्टन सहमति कार्यान्वयन गराउन दबाब सिर्जना गर्न थाल्यो। विश्वभरका विकासोन्मुख देशहरूका सरकारी उद्यमहरूको निजीकरण, उदारीकरण, बौद्धिक सम्पत्ति र निजी सम्पत्तिको सुरक्षा, मूल्य अभिवृद्धि करजस्ता अवधारणा कार्यान्वयनमा लगिए। नेपालमा पनि त्यही सिलसिलामा यी नीतिहरू लागू गरिए। विश्व वैंक र मुद्रा कोषको तीव्र प्रयासका बाबजुद तमाम विकासोन्मुख देशको (नेपालमा पनि) सामर्थ्य निर्माण र विकासमा यसले यथोचित परिणाम दिन सकेन।
यस्तो किन भयो भने, वासिङ्टन नीति (उद्योगको निजीकरण, व्यापारिक उदारीकरण तथा सम्पत्तिमाथिको बाधारहित अधिकार) त्यस्तो समाजमा उभिएका मानिसहरूले तय गरेका थिए या त्यस्तो समाजमा आधारित नीति थियो, जहाँ पहिल्यै आर्थिक विकास अनुकूलका सामाजिक तथा सांस्कृतिक आधारहरू निर्माण भएका थिए। तर जुन समाज वा राष्ट्रमा यी आवश्यक आधारहरू या संस्थाहरू अनुपस्थित छन्, सामाजिक शिक्षा/चेतना/संस्थागत व्यावसायिकता कमजोर छ, राज्य संरचनाको सेवा प्रवाहमा कमजोर सामर्थ्य छ; त्यहाँ निजीकरण, उदारीकरण र बजारीकरणको अन्धानुकरणले चरम भ्रष्टाचार, प्रशासनिक अनुशासनहिनता, सामाजिक विचलन र उत्पादनबाट विमुख विकृत उपभोक्तावादी चिन्तन, चरित्र र अभ्यासको भासमा समाजलाई जाकिदिन्छ। विश्वव्यापी सुधारको वासिङ्टन नीति निसन्देह निष्फल भइदिन्छ। नेपालमा पनि भइरहेको यही हो।
आर्थिक उदारीकरण, विश्वव्यापीकरणले असमानता, दोहन र शोषणको पनि विश्वव्यापीकरण गरिरहेको छ। आजका दिनमा अर्थतन्त्र र लोकतन्त्र एक प्रतिशत मानिसको, एक प्रतिशत मानिसका लागि, एक प्रतिशत मानिसद्वारा सञ्चालित व्यवस्थामा विघटित भइबसेको छ। पश्चिमा विकासको अनुकरण गर्दा हामी पनि यही भासमा फस्दै गइरहेका छौं।
चरम वित्तीयकरण, अव्यवस्थित विश्वव्यापीकरण, बजार शक्तिको आधिपत्यबाट संस्थागत संरचनाको अभाव, नीतिगत व्यवस्थापनको दिशाहिनता र धनप्रतिको चरम आसक्तिले गाँजेको नेपालजस्तो विकासोन्मुख देशलाई सस्तो उपभोक्ता बजारमा परिणत गरिदिएको छ। परिणाममा भ्रष्टाचार, बेथिति र बजारको बेलगाम मनोमानीले घायल बनाएको छ। शक्तिमा हुनेहरूका लागि भिन्न कानुनी सहुलियत र सर्वसाधारणका लागि भिन्न कानुनी कडिकडाउले (समाजमा दोहोरो कानुनी मनोमानीले) समाजलाई घायल बनाइदिएको छ।
वैदेशिक रोजगारी
हिजो भारत थियो, आज गन्तव्य फेरिएको छ वैदेशिक रोजगारीको। सुदूरपश्चिम र कर्णालीको बृहत्तर हिस्सा आज पनि भारतीय श्रम बजारमा निर्भर रहे पनि त्यसको गन्तव्य बिस्तारै खाडी राष्ट्र बन्न थालेको छ।
हिजोको वैदेशिक रोजगारी चाडबाडमा जिरामसला, फरिया र मिठो मसिनोको सपनाभित्र लपेटिएको हुन्थ्यो। आज बालबच्चाको शिक्षादिक्षा र अलिक तैबिसेक सजिलो जिन्दगीको सपनाले लपेटिएको छ। समाजको योग्यता बढिरहेको छ कि छैन भन्ने हेर्न समाजको सपनाको पैमाना बदलिइरहेको छ कि छैन भनेर हेर्नुपर्छ। यसरी हेर्दा नेपाली समाजको योग्यता बढिरहेको छ भन्ने देखिन्छ। यत्ति मात्र पनि होइन। यसले मात्र पनि थेग्न नसकेपछि अनेकन भंगालोमा हेलिएर नेपाली समाजको उल्लेखनीय हिस्सा पहिलो विश्वमा राम्रो उपस्थिति जनाउने अवस्थामा पुगेको छ। पखेटा फिँजाएर गुँडबाट निस्किएर संसारभर फैलिएपछि त्यहाँको सामाजिक गतिसँग आफू उठेर आएको समाजको गति दाँजेर हेर्दा असन्तुष्टिको छाल उमारेर बसेको छ। त्यसलाई ऐनमौकामा प्रकट गरिबसेको छ। आर्थिक सबलतातिर बढेको र नेपालमा रहेको परिवारको आर्थिक भरथेगको आधारका रूपमा क्रियाशील यो शक्ति बिस्तारै समाज सञ्चालनको निर्णायक शक्तिमा बदलिँदै गइरहेको छ।
यसरी आइरहेको सामाजिक, आर्थिक उत्पादन प्रणालीभित्रको निर्णायक परिवर्तनलाई हामीले परम्परागत चश्माबाट हेरेर पार लाग्दैन। अबको दशकमा नेपाली सत्ता राजनीति र सामाजिक सत्ता सञ्चालनको निर्णायकका रूपमा यो शक्ति कसैले रोक्न नसक्ने गरी अघि आउनेछ। यसैको बलमा आउने डेढ दशकभित्र नेपाली समाज उदाउँदो नयाँ चेतना प्रणालीको उत्पादनको हातमा पुग्नेछ। सके सामाजिक सत्ताको शान्तिपूर्वक र नसके बलपूर्वक उदाउँदो शक्तिले पुरानो चेतना प्रणालीको उत्पादनको हातबाट सामाजिक सत्ताको शक्ति आफ्नो हातमा लिनेछ।
अर्कातिर, आज जसरी विशालतम श्रमशक्तिको देशबाट एकपछि अर्को पैमानामा पलायन भइरहेको छ, त्यो फर्किएर आएन भने र श्रम बजारमा आउने नयाँ जनशक्ति पनि यहाँ अडिन नसक्ने आजकै अवस्था कायम रह्यो भने नेपाली समाज चरम संकटमा फस्नेछ। हिजो भारतमा श्रम बेच्न जाने श्रमशक्ति त्यहाँबाट फड्किएर आज जसरी अरब, कोरियातिर पुगिरहेको छ, भोलि त्यहाँबाट फड्किएर पहिलो विश्व भनिएका देशहरूमा पुग्ने नै छ। त्यसको यात्रारम्भ भइसकेको छ।
त्यसरी पहिलो विश्वमा पुगेर उतै अडिने अवस्था आयो भने उसले त्यताबाट नेपालमा रेमिटेन्स पठाउन बन्द त गर्ने नै छ, त्योसँगै सकेको परिमाणमा यता रहेको धनसमेत उतै लैजानेछ। यसले एकसाथ पुँजी र श्रमको पलायन तीव्र बनाउनेछ।
आजको विश्व उत्पादन गर्ने र त्यसको बजार निर्माण गर्ने होडमा छ। हामी भने आफैं उत्पादन गर्ने होइन, अरूको उत्पादनशालामा श्रम बेच्ने र अरूको उत्पादन खपत गर्ने होडमा छौं। अरू उत्पादन गरिरहेका छन्, हामी उपभोक्ता बनिरहेका छौं। विश्व आर्थिक बजारको, सांस्कृतिक बजारको र राजनीतिक बजारको उपभोक्ताका रूपमा हामी खुम्चिँदै गइरहेका छौं, जोसँग आफ्नै उत्पादनको कुनै अन्तर्राष्ट्रिय ट्रेडमार्क छैन। फगत श्रम बेच्नु नै हाम्रो सामर्थ्य भएको छ। सामान केही बेच्न सकिरहेका छैनौं। न उत्पादन गरेर बेच्ने बाटामै छौं। यसले जनसंख्याको तीव्रतर वृद्धि वा युद्ध, खडेरी वा प्राकृतिक प्रकोपले निम्त्याउने विनाशसँगै बढ्ने खाद्यान्न संकट चुलिएको दिनमा हाम्रो हालत के हुन्छ भन्नेतिर हामीले ध्यानै दिएका छैनौं।
श्रम बजार, सांस्कृतिक बजार र खाद्य बजार सबैतिर उत्पादक नभई उपभोक्तामा विघटित भएको समाजमा एक न एक दिन श्रम र धन दुवैको पलायन अनिवार्य नै छ। आजै अत्यासलाग्दो रहेको श्रम र पुँजीको पलायन भोलि तीव्रतर हुनासाथ नेपाली अर्थतन्त्र चरम संकटमा फस्नेछ। सामाजिक व्यवस्था विघटन हुने गरी अकर्मण्यतामा फस्नेछ। यस्तो विकराल सम्भावनाप्रति हामी आजसम्म सचेत भएका छौं जस्तो मलाई लाग्दैन। यहाँनेर हामीले आजका दिनमा कमजोरी गरिरहेका छौं। बेलैमा सचेत भएर आवश्यक व्यवस्थापनमा गतिका साथ अग्रसर हुन जरूरी छ।
अर्कातिर, कृत्रिम बौद्धिकतामा आधारित रोबर्टिक प्रविधिको विकासले रोजगारीको अवसर ‘म्यानुअल’ बाट ‘अटोमेसन’ मा जाँदैछ। यसले वैदेशिक रोजगारीमा मुख्यतः ‘म्यानुअल जब’ मा जाने हाम्रो श्रमशक्ति श्रम बेच्ने अवसरबाट, रोजगारीबाट बेदखल हुने अवस्था आयो भने त्यसलाई थेग्ने गरी हाम्रो कुनै तयारी छैन। यसमा पनि हामीले गम्भीरतापूर्वक तयारी थालिहाल्नु जरूरी छ।
उपभोक्ताका रूपमा विघटित सिंगो समाज
वाष्प इन्जिनको आविष्कारपछि युरोपमा जुन गतिमा औद्योगिकीकरण भएको थियो, नेपालले आजका दिनमा समेत त्यो गतिको लय समात्न सकेको छैन।
मानवशक्ति अर्थात् श्रमशक्तिको पर्याप्तता पनि राष्ट्र विकासको एउटा आधारभूत आधार हो। योग्य, दक्ष र ऊर्जावान श्रमशक्तिको उपलब्धतालाई आजका दिनमा विकासलाई गति दिने सुचालकका रूपमा लिने गरिन्छ। हाम्रो समग्र राष्ट्रिय नीति भने त्यसरी उपलब्ध श्रमशक्तिलाई राष्ट्रको सामर्थ्य विकासमा परिचालन गर्नेभन्दा त्यसलाई निर्यात गरेर प्राप्त रेमिटेन्समार्फत् राज्य धान्नेमा केन्द्रित छ। धानिनु या उभिनु एउटा कुरा हो, अघि बढ्नु बेग्लै कुरा हो भन्ने हाम्रो राष्ट्रिय नीतिले बुझ्न सकेजस्तो देखिँदैन।
हाम्रो समग्र राष्ट्रिय नीति नै विश्व बजारको उपभोक्ता बन्नमा रमाएको देखिन्छ। उत्पादक शक्ति बन्नेमा ध्यान नै छैन। श्रम बजारको पनि उपभोक्ता बन्ने, उत्पादक बन्ने होइन। त्यसरी श्रम बेचेर आएको धन जुन बाटो आएको छ, त्यही बाटो उपभोगका सामान खरिद गरेर रित्याउने! कहिलेकाहीँ त त्यसरी खरिद गर्न पर्याप्त वैदेशिक मुद्राको जोहोसमेत गर्न नसकेर आयातमा प्रतिबन्ध लगाउनुपर्ने र नागरिकलाई चर्को मूल्यवृद्धिको रसेटोमा सेकिदिने। न आधुनिक प्रविधिमा आधारित कृषि उत्पादनमा जोड न औद्योगिक उत्पादनमा। न बौद्धिक उत्पादनमा जोड न सांस्कृतिक उत्पादनमा। न त अनुसन्धनात्मक सिर्जनामा। श्रम बजारमा श्रम बेच्ने र अरूका उत्पादनको ग्राहक बन्ने। अरूले अब मेरो उत्पादन बेच्दिनँ भनेको दिन हाहाकार मच्चिने। जस्तो — भारतले अब चामल निर्यात बन्द गर्छौं के भनेको छ, चामलको हाहाकार सुरू भइसक्यो।
हुँदाहुँदा हामी त कस्तो भयौं भने, पुरानो पनि केही मौलिक पहिचान बाँकी नरहने र नयाँ पनि आफ्नै मौलिक सिर्जना, रचना, आविष्कार केही नगर्ने। अलि–अलि यता–उताबाट सोहोरसाहार पारेर बनाइएको क्वाँटीजस्तो बनेको छ हाम्रो सामाजिक अभ्यास र संस्कृति। संस्कृतिको पनि उत्पादक होइन, उपभोक्तामा मात्रै सीमित हुने अवस्थाबाट हामी आजका दिनमा गुज्रिइरहेका छौं।
जनसांख्यिक लाभ: कागलाई बेल
विश्वभरको जनसंख्या बढेको बढ्यै छ। नेपालमा पनि जनसंख्याको सर्वाधिक वृद्धि गएको सात दशकमै भएको हो। त्यसमा पनि चर्को वृद्धिदर पञ्चायती समयकालमा भएको थियो। यताको समयमा शिक्षा, सानो परिवारको अवधारणा, परिवार नियोजनका सामग्रीसम्बन्धी चेतना, रोजगारीका लागि प्रजनन उमेर समूहका सदस्यहरूको विछोड आदिले जनसंख्या वृद्धिदर निरन्तर घटिरहेको छ।
जनसंख्याको ठूलो हिस्सा श्रम बजारका लागि सकारात्मक योगदानकर्ताका रूपमा तयार हुन्छ। यसले चीन र भारतलाई आर्थिक विकासमा फड्को मार्न भयानक तवरले मद्दत गरेको छ। विशाल जनसंख्या नै उनीहरूको समृद्धिको आधार बनेको छ। त्यसले उनीहरूलाई विकासको गति बढाउने लाभ प्रदान गरेको छ। उनीहरूको जनसंख्या विश्व बजारमा पनि अन्य देशको तुलनामा सबभन्दा बढी पैमानामा विस्तारित भएका छन्। सँगसँगै, आन्तरिक श्रम बजारको पनि विशाल पैमानामा विस्तार भएको छ यी देशहरूमा।
चीन र भारतले श्रम बजारको उत्पादक र उपभोक्ता एकसाथ बनेर उच्चतम जनसांख्यिक लाभ लिन सफल भएको छ। उपभोक्ताभन्दा बढी आन्तरिक उत्पादक बनेर। हामीले भने जनसांख्यिक लाभ लिन सकिरहेका छैनौं। यो संख्यालाई केवल देश धान्ने रेमिटेन्सको आधार बनाएर मखलेल भइबसेका छौं। देशलाई अघि बढाउने आन्तरिक श्रम बजारको उत्पादक शक्तिका रूपमा क्रियाशील गराउन सकेका छैनौं। हामी यहीँनेर चुकिरहेका छौं।
नायकको खोजी: समाजको सामूहिक आत्मदाह
आफू र आफ्नो समाजको शिरमाथि थोपरिएका जति पनि दुःखका पहाड छन्, यो फुटाउन अति कडा परिश्रम र सिंगो समाजको सामूहिक र एकताबद्ध मेहनत र विवेकको समर्पण जरूरी छ भन्नेमा विश्वास नगरी आ–आफ्ना मठका ‘पण्डित’ ले जादु गरिदिन्छ र शिरबाट भाग्य र कर्मको कालो छाया हटाइदिन्छ भनेर लागेको लाग्यै छ हाम्रो समाज।
समाज र जीवनमा उपस्थित संकट समाधान गर्ने योग्यताको निर्माण आफैंभित्र गर्न नसकेपछि समाज त्यसबाट त्राण पाउन चमत्कारको खोजीमा भौंतारिन्छ। चमत्कार गर्नसक्ने तागतको स्रोत आफैं हुँ भन्ने भुलेर अरू कसैले चमत्कार गरिदिने आशामा अनेकन नायकहरूको खोजी, परीक्षण र भरोसामा आफ्ना दुःखहरूको निदानको बाटो समर्पण गर्छ। त्यसरी थापित गरिएका नायकहरू आफैं अनेकतिर भौंतारिँदै आफ्नै जीवनको दुःख धुन राजनीतिको मठमा या मस्जिदमा या चर्चमा आइपुगेको हुन्छ। रमिता हेर्ने लालसा बोकेकाहरूको मनोभावना दोहन गरेर जसरी जादुगरले उनीहरूको गोजी रित्याउँछ, त्यसैगरी चमत्कारको भोकले ग्रस्त समाजको मनोभावना दोहन गरेर एकपछि अर्को चमत्कारीहरू अघि आउँछन् राजनीतिको आवरणमा। समाजलाई दोहन गर्छन् र किनारा लाग्छन्। फेरि अर्को चमत्कारी आउँछ, नयाँ भेषमा पहिलेको भन्दा चर्को चमत्कारको खात लिएर। उसले पनि त्यसै गर्छ।
यसरी एकपछि अर्को चमत्कारको आसमा बाँचिरहेको ‘चमत्कार भरोसे’ समाज झन् झन् संसारकै हिनतर र दरिद्र समाजका रूपमा स्खलित भइरहन्छ।
त्यसपछि त्यसरी बारम्बार आफ्ना अपेक्षाहरूमा धुलोको खात लागेर कुरूप हुँदै जान थालेको समाजसँग उत्तेजना र आक्रोशको भकारी बाँकी रहन्छ। अझै पनि त्यस्तो समाज आफैंभित्र समाधानको योग्यता निर्माण गर्ने र सामाजिक अन्तरविरोधहरूले पैदा गरेको संकट सामना गर्न सामूहिक तागतका साथ प्रतिरोध गर्ने बाटोमा नलागी अरूमाथि दोष थोपरेर बस्छ। अरू कसैले आएर चमत्कार गरेर यो सारा बेथिति, विसंगति, पछौटेपन, दरिद्रता हटाइदिने आधारहीन विश्वासको पखेटा हालेर उड्ने कल्पनामा डुबिबस्न छाड्दैन। आफ्नो यो कोरा कल्पनाको बाधकका रूपमा उसले समाजका सारा अवयवहरूमाथि आक्रोशको केन्द्रीकरण गर्छ।
बिसौनी
नेपाल कति बन्यो वा कति बिग्रियो भन्ने सवाललाई अर्को कोणबाट पनि हेर्न सकिन्छ।
देश भनेको अब भूगोल मात्रै रहेन। आजको दिनमा देश भनेको भूगोल पनि र त्योभन्दा बढी मानिसहरूको सांस्कृतिक परिचय बन्न गएको छ। आज संसारभर जहाँ जहाँ नेपाली पुगेका छन्, त्यहाँ त्यहाँ फिँजारिएको छ स–साना, टुक्रा–टुक्रा नेपाल।
आप्रवासन अब मानिसले पुरानो परिचय र संस्कृतिबाट नयाँ परिचय र संस्कृतिमा संक्रमित हुने क्रिया मात्रैमा सीमित रहेन। आफ्नो परिचय र संस्कृतिको विश्व विस्तार गर्ने यात्रा पनि बनिरहेको छ। प्राविधिक रूपमा आजका दिनमा कोही नेपाली कागजातका आधारमा अरू देशको नागरिक बनिरहेको होला, तर उसको ‘कोर’ मा रहेको सांस्कृतिक चेत र स्मृति–दंशका कारण ऊ कहिल्यै आफूलाई अनेपालीका रूपमा सोच्न सक्ने स्तरमा स्खलित भएको हुँदैन। एकाध व्यक्तिगत सन्दर्भ त्यस्तो पनि होला। तर आम रूपमा जहाँ जहाँ पुगे पनि, जुन हैसियतमा रहे पनि तिनले सांस्कृतिक नेपालको परिचय विस्तार गरिरहेकै छन्।
नागरिकता छाडे पनि नेपालको समृद्धिको यात्रामा देखिएको गतिहिनताप्रति तिनमा चिन्ता छँदैछ। हुटहुटी छँदैछ। आफूले गर्दा केही भइहाल्छ भने धन, मन, ज्ञान अलिअलि भए पनि नेपाली समाजमा जोड्न पाए हुन्थ्यो भनेर लागिरहेकै हुन्छन्। जीवनको दुःख धुन अरब गएको मानिसले त्यहाँ श्रम मात्रै बेचिरहेको हुँदैन, नेपालको सांस्कृतिक परिचय, एउटा अलग्गै नेपालको परिचय पनि विस्तार गरिरहेको हुन्छ। त्यहाँ विकास र चमकधमक हेरेर लठ्ठिएको मात्र हुँदैन, कसरी त्यहाँको सीप, प्रविधि र योजना आफ्नो समाजमा भित्र्याउने भनेर पनि लागिपरिरहेकै हुन्छ।
यसरी आजका दिनमा आप्रवासन र वैदेशिक रोजगारी कहरको तलाउको डुबुल्कीमा मात्रै सीमित छैन। यो नयाँ समाजसँगको अन्तर्क्रिया, तिनको सामर्थ्यसँगको साक्षात्कार, तिनको ज्ञान, सीप, योजनाको गहन सिकाइ र सांस्कृतिक परिचयको विस्तार पनि सँगसँगै भइरहेको छ। यो बेग्लै कुरा हो, आजका दिनमा नेपाली नागरिकले रोजाइको होइन, बाध्यताको जहाज चढेर वैदेशिक रोजगारीमा जानु परिरहेको छ।
अन्यथा, राजीखुसी जाने–नजाने निर्णय गर्ने सुविधा नागरिकलाई रहेको दिनमा यसलाई कहरका रूपमा, जीवनका दुःख धुने आखिरी उपायका रूपमा प्रचारित गनुपर्ने कुनै कारणै छैन। यसरी हेर्दा नेपाल विस्तार भइरहेको छ। बनिरहेको छ। तर सँगसँगै बिग्रिइरहेको पनि छ। हामी आम रूपमा उत्पादकबाट उपभोक्तामा विघटित भएका छौं।
कुनै पनि देश बन्दै नबन्ने भन्ने हुँदैन। बनिरहेकै हुन्छ। सवाल कति बनिरहेको छ भन्ने हो। आफ्नै अकर्मण्य विगतको तुलनामा अलिअलि बढ्नु बेग्लै कुरा हो। बाँकी विश्वको तुलनामा आफ्ना नागरिकलाई देशभित्रै उसको सपनामा थाँक्रो दिनसक्ने गरी समृद्ध बन्नु अर्कै कुरा हो। देशका नागरिकहरू देशभित्रै भविष्य देखिरहेका छैनन् र विदेश ताकेर बाहिरिने मानिसको लर्कोको पदचापले विमानस्थलहरूमा, सीमानाकाहरूमा अत्यासलाग्दो आँधी उमारिरहेको छ भने जतिसुकै बनेको भनेर फलाके पनि त्यो देश साँचो अर्थमा बनिरहेको छैन भनेर जो कसैले भन्न सक्छ।
देश कति बनिरहेको छ भन्ने आधार उक्त देश र त्यहाँको समाज उज्यालो भविष्यले आलोकित भइरहेको छ कि सम्भावित अँध्यारो छायाले तर्सिएर इतिहासतिर फर्किएर गानाबजाना गरिरहेको छ भन्ने पनि हो।
देश कति बनिरहेको छ या बिग्रिएको छ भन्ने आधार उक्त समाजले आफ्नो विमर्श बाँकी विश्वसँग आफूलाई तुलना गरेर गरिरहेको छ कि आफ्नो अकर्मण्य विगतसँग दाँजेर गरिरहेको छ भन्ने पनि हो।
योभन्दा महत्वपूर्ण सवाल आज हामी के गरिरहेका छौं भन्ने पनि हो। भविष्यतिर फर्किएर हामीले तत्काल के गरिहाल्नुपर्छ भन्ने हो। त्यसबारे अलिकति मात्र भए पनि पाइला चाल्न आउनुहोस्, सार्वजनिक विमर्शमा सामेल होऔं।
सन्दर्भ सामग्रीहरू
1. Barbara Helm Welker – The History of Our Tribe : Hominini, 2017
2. Jelinek, Arthur J. – The Tuban Cave and Paleolithic man in the Levant, Science: 216, no. 4553 (1982), pg. 1369-75
3. Roebroeks, Wil and Paola Villa – On the earliest evidence for habitual use of fire in Europe, PNAS 108, no. 13 (2011),pg. 5209-14
4. Boehm, Christopher – Hierarchy in the forest : The evolution of Egalitarian Behavior (1999), pg. 68
5. Barro, Robert J. – Determinants of the Democracy, Journal of Economic Growth 1, no 1 (1996), pg. 1-27
6. Hoschild, Adam – Bury the Chains : Prophets and Rebels in the Fight to free an Empire’s Slaves (20150, pg. 2
7. Max Roser and Esteban Ortiz-Ospina – Global Extreme Poverty, ourworldindata.org
8. The social Contract, 1762
9. North, Douglass – Institutions, Institutional change, and Economic Performance (1990), misc. pages
10. Acemoglu, Daron And James A. Robinson–Why Nations Fail : The Origin Of Power, Prosperity, and Poverty (2012), Misc. Pages)
11. Galor, ibid, pg. 146, 147
12. Hill, Christopher – The Century of Revolution, 1603-1714 (1966), pg 32
13. Aquinas, Thomas – Summa Theologica, Authentic Media Inc. 2012
14. Andersen et al. – Pre-reformation roots of the Protestant Ethic, The Economic Journal 127, no. 604 (2017), pg 1756-93
15. Guiso et al.– Does Culture Affects Economic Outcomes ? Journal of Economic perspective 20, no 2 (2006), pg 23-48
16. Stiglitz, Joseph E. – People, Power and Profits : Progressive Capitalism for an age of discontent (2019), pg xiv
17. Bregman, ibid, pg. 112
18. Acemoglu et al. – The Colonial Origins of Comparative development: An empirical investigation, American Economic Review 91, no.5 (2001), pg. 1369-1401
19. Galor, ibid, pg. 148
20. Stiglitz, Joseph E. – People, Power and Profits : Progressive Capitalism for an age of discontent (2019), pg xx
21. Wilkerson, Isabel – Caste : The lies that divide Us (2020), pg 380
22. Bregman, Rutger – Humankind : A hopeful History (2020), pg 9
23. Bregman, Ibid, pg. 99
24. Dayble et al. – Sex equality can Explain the unique social structure of Hunter-Gatherer Bands, Science, Vol 348, issue 6236, May 15, 2015
25. Bazzi et al. - Frontier Culture : The roots and persistence of ‘rugged individualism’ in the united states, Econometrica 88, no 6 (2020), pg 2329-68
26. Hausmann et al.- ‘Growth Diagnostics’, The Washington consensus Reconsidered: Towards a New Global Governance, Edited by Joseph E. Stiglitz and Narcis Serra (2008), pg. 324 - 355
27. Stiglitz, Joseph E. – Of the 1%, by the 1%, for the 1%, (Vanity Fair), 2011
***