नेपाल कति बन्यो, कति बिग्रियो- १४
कुनै पनि देश कति बन्यो, कति बिग्रियो भन्ने प्रश्न महत्त्वपूर्ण र बहुआयामिक छ। त्यसैले पनि यसको मापन कसरी गर्ने भन्ने विषय त्यति सजिलो छैन।
इतिहासको जुन सदीमा हामी बाँचिरहेका छौं, त्यहाँ पक्कै पनि यो प्रश्नको उत्तर खोज्दा धेरैको मनमा सबभन्दा पहिले आर्थिक विषय नै आउँछ होला। नेपाल तीस वा पचास वर्ष पहिले आर्थिक रूपमा कस्तो थियो, अरू देश कहाँ थिए, अहिले ती कहाँ छन् र हामी कहाँ छौं भन्ने प्रश्नहरूको यस विषयसँग नाता अरूको भन्दा घनिष्ट पनि होला।
तर देश कति बन्यो र कति बिग्रियो भन्ने बहुआयामिक प्रश्नको उत्तर आर्थिक सूचकहरू हेरेर वा त्यो देश कति 'विकास' भयो भन्ने खोजेर मात्र भेटिँदैन।
त्यसै पनि विकास भन्ने अवधारणा धेरै पुरानो होइन। कुनै मुलुक विकसित नभए पनि अन्तर्राष्ट्रिय मञ्चमा त्यसको साख ठूलो हुन सक्छ। कुनै मुलुक औधी विकसित भए पनि अन्तर्राष्ट्रिय साख र प्रभाव त्यति धेरै नहुन सक्छ।
उदाहरणका लागि — चीन र भारतलाई ठूला अर्थतन्त्रका साथ उदीयमान शक्ति राष्ट्र भन्न थालेकै दशकौं भइसक्यो। तैपनि संसारका विकसित देश भनेर यी दुई अझै गनिँदैनन्। अनि चीन र भारतका हजारौं नागरिक सुखी जीवनको खोजमा हरेक वर्ष विभिन्न बहानामा विकसित देशमा जाने लहर अहिले पनि रोकिएको छैन, बरू बढेको छ। त्यस्तै लक्जेमबर्ग युरोपका अति धनी मुलुकमध्ये पर्छ। तर यसको अन्तर्राष्ट्रिय साख र प्रभाव चीन र भारतको तुलनामा नगन्य छ।
त्यसैले जब सेतोपाटीले मलाई 'नेपाल कति बन्यो, कति बिग्रियो' भन्ने विषयमा लेख्न अनुरोध गर्यो, मैले अलि फरक कोणबाट यसलाई हेर्ने निर्णय गरेँ — साँच्चै नेपाल बौद्धिक रूपमा कहाँ छ? बौद्धिक इतिहासको कसीमा हेर्दा नेपाल कति बनेको वा बिग्रेको देखिन्छ?
सभ्यतागत हिसाबमा नेपाल इतिहासमा कस्तो थियो र अहिले कहाँ उभिएको छ भनेर विवेचना नगरी देश र समाज बनेको हो कि बिग्रिएको भनेर बुझ्ने काम पूर्ण हुँदैन भन्ने मलाई लाग्छ। यस विषयमा मेरो रूचि पनि अलि अघिदेखिकै हो। विश्वविद्यालयमा पढ्ने-पढाउने समयदेखि नै पाश्चात्य बौद्धिक परम्पराका इतिहासप्रति मेरो रूचि बढ्दै गएको हो। पाश्चात्य बौद्धिक इतिहासका विभिन्न पाटाहरू अध्ययन गर्दै गर्दा मेरो मनमा एउटा प्रश्न आउन थाल्यो — नेपालको इतिहासलाई बाँकी विश्वसँग तुलना गरेर हेर्दा अहिले हामी जहाँ छौं, त्यो कस्तो देखिन्छ?
सुरू गरौं यो बौद्धिक इतिहास भनेको नै के हो भन्नेबाट।
बौद्धिक इतिहास मूलतः 'हिस्ट्री अफ आइडियाज' अर्थात् विचारहरूको इतिहासबाट विकसित भएको हो। अंग्रेजीको 'आइडिया' भन्ने शब्दलाई नेपालीमा 'विचार' भनेर अनुवाद गर्दा केही नमिले जस्तो सुनिन्छ।
खास कुरा के हो भने, इतिहास निर्माण हुने भनेको तत् तत् बेलाका प्रभावशाली विचारहरूको प्रभावले हो।
बौद्धिक इतिहासले प्रत्येक समय चक्रका मुख्य विचार–चिन्तन, सांस्कृतिक र धार्मिक प्रभाव, त्यति बेलाको कला–साहित्यको स्थिति, आर्थिक अवस्थिति र तत्कालीन समयमा विद्यमान राजनीतिक प्रणालीलाई एकै ठाउँमा राखेर हेर्छ।
उदाहरणका लागि — कुन कुन सभ्यताले कस्ता कस्ता भगवानहरूका अवधारणा कसरी निर्माण गरेका थिए, राजा र राज्यहरू बन्ने अवधारणा कस्ता थिए, मानिसले पृथ्वीमा आफ्नो हैसियतबारे के सोच्थे भन्ने कुरा बौद्धिक इतिहासले हेर्छ।
यसलाई बुझ्न हाम्रै इतिहासको केही समयअघिको एउटा सन्दर्भ हेरौं।
नेपालमा २००७ सालमा प्रजातन्त्र आएको समयलाई बौद्धिक इतिहासले 'एउटा राजनीतिक घटना' भनेर मात्र हेर्दैन। यसले त्यति बेला नेपालीको बौद्धिक चेतना कस्तो थियो, साहित्यमा कस्ता विषयहरू लेखिएका थिए, धार्मिक-सांस्कृतिक रूपमा समाज कहाँ थियो, के त्यो नेपाली 'आधुनिकता' को प्रारम्भबिन्दु थियो वा त्यो नेपाली बौद्धिक पुनर्जागरणको युग थियो जसको राजनीतिक अभिव्यक्ति प्रजातन्त्र स्थापना थियो, त्यस समयमा बाँकी विश्वको राजनीतिक चिन्तनहरूको नेपालमा कस्तो प्रभाव थियो भन्ने जस्ता धेरै विषयलाई एकैचोटि एउटा बृहत् कोणबाट हेर्छ।
किनकी इतिहास भनेको एउटा घटना होइन, त्यो समयका बहुआयामिक घटनाहरूको अन्तरसम्बन्धबाट बन्ने प्रक्रिया हो। बौद्धिक इतिहासले इतिहासका कालखण्डलाई हेर्दा ती अन्तरसम्बन्धलाई एकै ठाउँमा राखेर हेर्छ।
कुनै देश कति बनेको छ वा बिग्रिएको छ भन्ने हेर्न जसरी प्रतिव्यक्ति आयलाई मुख्य सूचक मानिन्छ, त्यसैगरी 'प्रतिव्यक्ति बुद्धि' भन्ने हुँदैन। त्यसमाथि विगत चार-पाँच सय वर्षमा त्यस्तो ज्ञानलाई मात्र धेरै महत्त्व दिन थालिएको छ, जसले सोझै पुँजी निर्माण गर्छ र समाजलाई धनी बनाउँछ। त्यसैले देश कति बन्यो कति बिग्रियो भन्ने प्रश्न आउनासाथ देशका आर्थिक सूचकांकका कुरा आउने गरेका हुन्। तर मुलुकको तस्बिर आर्थिक सूचकांकको ऐनामा मात्र हेरिनु हुँदैन। किनकी आर्थिक सूचकांकको ऐनाले मात्र देश देखाउन सक्दैन।
यो लेखमा म नेपाल ज्ञानको बाटोमा कता हिँडिरहेको छ भनेर चर्चा गर्ने छु।
सुरूमा, ज्ञान उत्पादन वा बौद्धिक परम्पराहरूलाई केही ऐतिहासिक सन्दर्भमा हेर्ने छु। त्यसले नेपाल विगतमा कहाँ थियो भनेर देखाउने छ। त्यसपछि बिक्रम सम्वत् १९९० बाट सुरू भएको नेपाली आधुनिकताको परियोजना २००७ सालको राजनीतिक-सांस्कृतिक रूपान्तरणसँगै कसरी अगाडि बढ्यो र कहाँनेर गिजोलियो भनेर चर्चा गर्ने छु। यी दुई प्रसंग पृष्ठभूमिमा पस्किएपछि अहिलेको नेपाली समाज कहाँ छ त भनेर हेर्न र बुझ्न सजिलो हुनेछ।
अहिले नेपाल भनेर मानिने जुन राजनीतिक भूगोल छ, त्यसभित्र बस्ने सबै नेपालीको एउटै सांस्कृतिक इतिहास छैन। यो स्वाभाविक पनि हो। संसारका कतिपय मुलुकहरूले आफ्नो सार्वभौमिकताको इतिहास जति पुरानो छ भनेर दाबी गरे पनि सबैजसो देशहरू बनेको यही विगतको तीन-चार सय वर्षभित्र नै हो।
तर अभिलिखित ज्ञान र परम्परा संसारका विभिन्न ठाउँमा तीन-चार हजार वर्षदेखि छन्। यी कुनै देश विशेषबाट सिर्जित परम्परा होइनन्। सम्बन्धित धर्म, संस्कृति, सभ्यता र समाजबाट उत्पादन भएका हुन्।
उदाहरणका लागि — १४ औं शताब्दीलाई युरोपको पुनर्जागरणको युग भनेर बुझिन्छ। त्यसको सुरूआत कुनै खास भूगोलमा जन्मिएका चिन्तकबाट भएको थियो होला। त्यो भूगोल अहिलेको राजनीतिक नक्सामा कुनै एउटा देशभित्र पर्छ होला। तर तत्कालीन समयमा त्यसको फैलावट र प्रभाव वरिपरिका समाजहरूमा थियो, जसको सार्वभौमिकता अहिलेको हिसाबमा भन्दा, फरक फरक देशमा बाँडिएको छ।
सबै सत्य भगवानबाट उद्घाटित हुन्छन् भन्ने युगबाट मानिस आफैं पनि सचेत रूपमा सोच्न सक्छ भन्ने जुन युगमा युरोप प्रवेश गर्यो, त्यसलाई 'युरोपियन इन्लाइटनमेन्ट' भनिन्छ। युरोपको कुनै एक देश विशेषको नामसँग मात्र जोडेर यसलाई हेरिँदैन।
यसो भनेर मैले संसारका सबै देशहरू सांस्कृतिक रूपमा युरोपियन देशहरू जस्तै छन् र सबैतिरको ज्ञान परम्पराको इतिहासलाई त्यही कसीमा हेरिनुपर्छ भन्न खोजेको होइन। मैले भन्न खोजेको के मात्र हो भने, विगत चार-पाँच सय वर्षमा देशहरू जसरी बने, तिनीहरूको इतिहास हेर्दा, धेरैजसो देशहरूलाई धार्मिक, सांस्कृतिक र सभ्यतागत हिसाबले खास समूहमा राखेर बुझ्न सकिन्छ। युरोपबाहेक चीन, जापान, कोरिया जस्ता देशको सभ्यतागत सम्बन्ध र धार्मिक, सांस्कृतिक सामीप्यता, मुस्लिम देशहरूबीचका सांस्कृतिक समानता आदि झट्ट सम्झिने उदाहरणहरू हुन्।
त्यस दृष्टिकोणबाट नेपालको इतिहासलाई हेर्दा सम्झिनुपर्ने दुइटा मुख्य विषय छन् —
पहिलो, 'असली हिन्दुस्तान' बनाउने आकांक्षाका साथ पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण भएको नेपालको हिन्दु दक्षिण एसियासँगको साझा सभ्यतागत इतिहास।
दोस्रो, गोरखाका पृथ्वीनारायण शाहको सट्टा यदि नेपालको एकीकरण काठमाडौंका जयस्थिति मल्ल वा मिथिला परम्पराका जनकपुरका एक राजाले गरेका भए वा कुनै बौद्ध संस्कृतिका महाराजाले गरेका भए, हामीले अहिले नेपालको सभ्यतागत इतिहासका नाममा जे बुझ्छौं, त्यो कति फरक हुने थियो होला?
त्यस्तो भएको भए, नेपाल भनिने अहिलेको भूगोलभित्रका बौद्धिक परम्पराहरू आजको भन्दा बढी समृद्ध देखिने थिए होलान्?
यो लेखमा ती परिकल्पनातिर जाने समय छैन। तैपनि यो किन उल्लेख गरिएको भने, नेपालको बौद्धिक परम्पराको इतिहास भन्नेबित्तिकै 'मूलधार' का रूपमा (हिन्दु) सनातन परम्परा र दार्शनिक ग्रन्थहरूलाई बुझिन्छ, जसको स्वामित्वमा आजको भारतको पनि ठूलो दाबी छ। सनातन मात्र नभई, ज्ञान परम्पराका रूपमा बौद्ध दर्शन विकासक्रमको इतिहास भारत र एसियाका थुप्रै देशहरूको तुलनामा नेपालसँग कति जोडिन्छ भन्ने पनि त्यत्तिकै महत्त्वपूर्ण प्रश्न छ।
यस विषयलाई यति मात्र भनेर बिट मारौं — नेपालका लागि ऐतिहासिक वियोग के पनि भइदियो भने, हिन्दुस्तानले स्वतन्त्रतासँगै आफ्नो नाम भारत राखिदियो। सन् १९४९ मा आफ्नो संविधान जारी गर्दा उसले सुरूमै लेखेको छ — इन्डिया, ड्याट इज भारत (India, that is Bharat)।
त्यसले गर्दा, हजारौं वर्षदेखिका भारतवर्षका सिन्धु-हिन्दु बौद्धिक परम्पराहरूको असली उत्तराधिकारी अहिलेको भारत मात्रै हो कि भन्ने भ्रम उत्पन्न भयो।
पछाडि फर्किएर हेर्दा के देखिन्छ भने, जब संसारमा कुनै राष्ट्र बलियो हुँदै गयो र राष्ट्रियताको भावना बलियो हुँदै गयो, मानिसहरूको परिचय उनीहरूका देशका आधारमा हुन थाल्यो। अनि सबै ज्ञान शृंखलाहरू उत्पादनको प्रतिनिधित्व खास मुलुकले गर्छ जस्तो देखियो। हाम्रो सन्दर्भमा भारत त्यसको प्रतिनिधि देश जस्तो बन्न गयो।
जबकि अभिलिखित बौद्धिक परम्पराको इतिहासका दुई-तीन हजार वर्षमा यस भूगोलमा सयौं नयाँ देशहरू बने, सयौं पुराना देशहरू सधैंका लागि अलप भए। भारतवर्षकै ठूलो भूभागमा अर्कै संस्कृति भएका, फरक भूभागका मुस्लिम शासकहरू राज्य चलाउन आए। बेलायत र सानै भूभाग भए पनि पोर्चुगल र फ्रान्सले समेत आफ्ना उपनिवेश कायम गरे। ती कालखण्डमा त्यो सबै भूभागको नाम एउटै थिएन। उपनिवेशबाट मुक्त भएर स्वतन्त्र राष्ट्रका रूपमा उभिँदा भने एउटा ठूलो भूभाग भारतका रूपमा उभियो।
यो ऐतिहासिकतालाई नेपालबाट हेर्दा बेलाबेलामा सम्झिराख्न र यसलाई बुझ्न पनि जरूरी छ।
तीन-चार हजार वर्षअगाडिको वैदिक कालखण्ड र पाचौं-छैटौं शताब्दीमै बुलन्द भएको नालन्द महाविहार (विश्वविद्यालय) देखिको लामो कालखण्डलाई छाडेर एकैचोटि निकट इतिहासको दुई-तीन सय वर्षलाई हेरौं।
अर्थात्, पश्चिमा औपनिवेशिक कालखण्ड र राज्यको रूपमा नेपालको एकीकरण भएको समय हेरौं।
औपनिवेशिक 'राज' कै बीचमा बंगाल पुनर्जागरणको 'विशाल आयाम' अभियान चल्यो। १९ औं शताब्दीमा राजा राममोहन रोयहरूबाट सुरू भएर रवीन्द्रनाथ टैगोरको समयसम्मको बौद्धिक-सांस्कृतिक अभियान र त्यही समयमा स्थापित भारतका कयौं विश्वविद्यालयले ज्ञान उत्पादन र सामाजिक रूपान्तरणका स्तम्भहरू खडा गरे। भारतको सांस्कृतिक-सामाजिक रूपान्तरणका लागि त्यो महत्त्वपूर्ण समय थियो।
त्यो बेला अहिलेको नेपाली भूभागमा खासै कुनै बौद्धिक चहलपहल नै थिएन। मैले यहाँ नेपाली भनेको संस्कृत-नेपाली भाषा र संस्कृति फैलिएको भूभाग मात्र नभएर मैथिली, नेवारी, किरात सभ्यता र संस्कृति पनि फैलिएको भूभागलाई भनेको हुँ।
नेपाली समाज धेरै वर्षपछि मात्रै भारतवर्षका ती पछिल्ला पुनर्जागरणसँग जोडिन पायो। त्यसका लागि सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा र बिपी कोइरालाको समयसम्म पर्खिनुपर्यो।
सभ्यतागत रूपमा उत्तरी छिमेकी चीनसँग भने नेपालको बौद्धिक-सांस्कृतिक आदानप्रदान धेरै बलियो छैन। लगभग गौतम बुद्धकै कालखण्डका कन्फुसिएस र त्यसको केही सय वर्षपछिका ताओइज्म बाहेक, भारतवर्षको तुलनामा चीनमा धेरै प्रभावशाली दार्शनिक चिन्तनहरू विकास भएको पनि देखिँदैन। भएकै भए पनि भाषिक, सांस्कृतिक भिन्नताका कारण तिनीहरूबाट नेपालले लाभ उठाउन सक्ने थिएन।
विगत सय वर्षमा सभ्यतागत सामीप्य र भौगोलिक सहजताका कारण नेपालले जसरी भारतबाट लाभ लिन पायो, त्यसैको जगमा नेपालमा पुनर्जागरण र आधुनिकताको आरम्भ भएको देखिन्छ।
बिक्रम सम्वत् १९९० बाट नेपालमा सुरू भएको सामाजिक चेतना, प्रजातान्त्रिक आकांक्षा र कला-साहित्यको विस्तारमा १९-२० औं शताब्दीमा भारतमा भएका सांस्कृतिक-बौद्धिक पुनर्जागरण र जागरणहरूले प्रत्यक्ष प्रभाव पारेका छन्।
भारतसँगको अन्तरक्रिया, आवतजावत र त्यहाँ भएका जागरणका प्रभावका कारण सम्वत् १९९०-२००० तिर आइपुग्दा नेपालमा पनि एउटा नयाँ र आशा लाग्दो युगको सुरूआत हुन थालेको थियो। २००७ सालको राजनीतिक आन्दोलन नेपाली पुनर्जागरणको सुरूआत थियो। आधुनिकतातर्फ प्रवेश गर्ने उकुसमुकुस तत्कालीन समाजको बौद्धिक र सांस्कृतिक चेतनाको प्रस्फुटन थियो। यो अध्याय अझै पनि जारी छ। यसलाई जागरण नभनेर पुनर्जागरण नै भन्न सकिन्छ।
बिपी कोइरालाको नेतृत्वमा भएको २००७ सालको परिवर्तनको चिन्तनले नेपाली समाजलाई तत्कालीन इतिहास र परम्पराबाट अघि बढाएर आधुनिक अध्यायमा प्रवेश गराएको थियो। त्यो आधुनिकता भनेको आफ्नै सांस्कृतिक चेतना र भूमण्डलीय बौद्धिक परम्पराका धारसँग नेपाललाई जोड्ने एउटा अभियान थियो। सो अभियानको प्रमुख राजनीतिक यन्त्र थियो — प्रजातन्त्र।
यो अभियानले दैवीकरणमा अल्झिएको ज्ञानको 'मानवीकरण' गरेको थियो। आफ्ना काम र तिनको असर वा प्रतिफलप्रति मानिस आफैं जिम्मेवार हुनुपर्छ, ईश्वरले जिम्मा लिइदिने छैनन् भन्ने चिन्तन र आफूलाई शासन गर्न मानिस आफैं सक्षम छ भन्ने दर्शन यो आधुनिकताका खम्बा थिए।
यिनै चिन्तनधारका खम्बाहरू नै लोकतान्त्रिक चिन्तनका जगहरू थिए जसलाई बिपी कोइरालाले नेपालको राजनीतिक आन्दोलनमार्फत समाजमा भित्र्याए। पछि उनले यिनै मान्यताहरूलाई आफ्ना राजनीतिक दस्तावेजमा राखे, साहित्यमा कोरे र नेपालको राष्ट्रियता सम्बन्धी विभिन्न अभिभाषणमा बोले।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि यो जागरणमा ठूलो भूमिका खेलेका थिए। 'यात्री' कवितामा सोधिने 'कुन मन्दिरमा जान्छौ यात्री' भन्ने प्रश्नभित्रको अर्थ पनि 'ईश्वरीयता' लाई 'मानवीयता' मा ल्याउने त्यही समयको सशक्त काव्यिक अभिव्यक्ति थियो।
त्यसैले बिपी कोइराला र लक्ष्मीप्रसाद देवकोटालाई त्यस पुनर्जागरणका प्रतिनिधि पात्र मान्न सक्छौं। उनीहरू दुई जनाबाहेक राजनीतिक, सांस्कृतिक, बौद्धिक, साहित्यिक वृत्तहरूमा अरू महत्त्वपूर्ण पात्रहरू पनि थिए। तर यी दुई जना प्रमुख पात्र थिए भन्न सकिन्छ।
ज्ञानलाई ईश्वरको नियन्त्रणबाट मानिसमा सार्ने प्रसंगले यो अर्थ नलागोस् कि धार्मिकता र लोकतन्त्र सँगै जान सक्दैनन्। वा, यी एकअर्काका विपरीत हुन्। कैयन धार्मिक र आध्यात्मिक मानिसहरू लोकतान्त्रिक आन्दोलनका धरोहर नै छन्।
जस्तै, भारतमा महात्मा गान्धी र नेपालमा कृष्णप्रसाद भट्टराई।
यसभित्रको चुरो कुरा के हो भने, कैयन मानिस धार्मिक र आध्यात्मिक प्रकृतिका हुँदाहुँदै पनि मानवीय स्वतन्त्रता महत्त्वपूर्ण हो, मान्छेले आफ्नो शासक आफैंले छान्ने हो, ज्ञान–विवेक मान्छेकै गुण हुन् र ती ईश्वर-नियन्त्रित छैनन् भन्नेमा सहमत छन्।
यस अर्थमा धर्मनिरपेक्षता पनि लोकतन्त्र वा आधुनिकताको एउटा आयाम हो।
भारत एउटा स्थिर लोकतन्त्रिक गणतन्त्रका रूपमा अडिइराख्न सक्नुमा माथि विवेचना गरिएको सांस्कृतिक पुनर्जागरणदेखिका बौद्धिक खम्बाहरूको ठूलो भूमिका छ। ती खम्बालाई महात्मा गान्धी र जवाहरलाल नेहरू जस्ता नायकहरूले भारत स्वतन्त्र हुनुभन्दा दशकौं अघिदेखि सुदृढ गराइराखेका थिए।
सन् १९५०-६० को दशकमा पनि नेपाली बौद्धिक समाज भने बृहत् रूपमा फराकिलो थिएन। त्यसैले राजा महेन्द्र शाहलाई प्रजातन्त्र मास्न धेरै अप्ठ्यारो भएन। तर पनि नेपालको आफ्नै पहिलो विश्वविद्यालय त्यही कालखण्डमा स्थापना भएको थियो। गाउँगाउँमा स्कुलहरू खुल्ने शैक्षिक अभियान त्यति बेला घनिभूत हुन थालेको थियो। खासगरी मध्यम वर्गका शिक्षित युवाहरू राजनीतिक परिवर्तनमा सामेल हुने अभियान सुरू भएको थियो।
त्यो बखत नेपाल बाँकी विश्वका धेरै देशहरूसँग प्रतिस्पर्धा गर्दै अघि बढ्ने जग बसाउने क्रममा थियो। त्यति बेलाका संसारका धेरै देशहरूसँग तुलना गर्दा, नेपालको त्यो प्रस्थानबिन्दु आशालाग्दो देखिन्छ। अर्को शब्दमा भन्नुपर्दा, २००७ सालयता नेपालले 'बन्ने' प्रक्रिया र बाटो पक्रिएको थियो। बन्ने दौडमा नेपाल धेरै पछि परेको थिएन। २०१७ सालमा लोकतान्त्रिक प्रक्रियामाथि राजा महेन्द्रले धावा बोलेर शासनसत्ता आफ्नो हातमा लिएपछि भने यो प्रक्रिया सुस्ताउन थाल्यो।
आर्थिक विकास, सामाजिक परिवर्तन, सांस्कृतिक अभ्युदय वा अन्य मुख्य आयाममध्ये जुन दृष्टिकोणबाट हेर्दा पनि नेपाल कति बनेको छ वा कति बिग्रियो भनेर मूल्यांकन गर्न सन् १९५० को दशक नै ऐतिहासिक रूपमा सबभन्दा महत्त्वपूर्ण कोशेढुंगा हो।
त्यो समय संसारभर उपनिवेशहरू ढल्दै थिए र नयाँ राज्यहरू बनिरहेका थिए। धेरैको राजकीय हालत तुलना गर्न सकिने थियो। अर्कोतिर, दोस्रो विश्वयुद्धको संहारपछि मुलुकहरू अन्तर्राष्ट्रिय रूपमा नयाँ सञ्जालमा ऐक्यबद्ध हुने प्रक्रियामा थिए। राज्यहरू वैचारिक ध्रुवका समूहहरूसँग नजिकिने र टाढिने कुरा पनि त्यही समयबाट फराकिलो हुँदै गएको थियो।
नेपाल पनि अरू धेरै विकासशील देशहरू जस्तै प्रजातान्त्रिक युगमा प्रवेश गरेर आधुनिक राज्य बन्ने आकांक्षामा अघि बढेको थियो। राज्यका महत्त्वपूर्ण संस्थानहरू खडा गर्ने काम सुरू भएको थियो। अदालत, कर्मचारी प्रशासन, राष्ट्र बैंक, राष्ट्रिय आर्थिक नीति र योजनाहरू, विश्वविद्यालय, खुला सार्वजनिक विमर्श, राष्ट्र र राष्ट्रियतालाई कसरी बुझ्ने भन्ने नयाँ सांस्कृतिक कथनहरूको निर्माण सुरू भएको थियो। यसरी 'हार्ड' र 'सफ्ट' संस्थानहरू स्थापित हुने, हुर्किने प्रक्रियामा थिए।
त्यो बेला जग बसेको नेपाली समाजको सांस्कृतिक चेतना र पुनर्जागरणको स्तर नराम्रो थिएन। कोसँग तुलना गर्ने र कहिलेको समयसँग तुलना गर्ने भन्ने प्रश्न पक्कै आउँछ। नेपाललाई तत्कालीन युरोपसँग तुलना गर्न मिल्दैन, किनकी १६औं शताब्दीपछिको उपनिवेशकालीन स्रोतको दोहन, औद्योगिक क्रान्ति, बौद्धिक पुनर्जागरण, वैज्ञानिक अनुसन्धान र प्रविधिमा भएको विकासले उसलाई अर्कै तहमा पुर्याएको थियो। संसारका अरू देशभन्दा युरोप निकै अघि पुगेको थियो।
यिनै चार सय वर्षमा दर्शनशास्त्र, बृहत् बौद्धिक परम्परा, कला, साहित्य र विज्ञानजस्ता सवालमा पश्चिमले पूर्वलाई 'ओभरटेक' गरेको हो। यसै आधारमा उसले आफ्नो आर्थिक वर्चश्व बढाउँदै, सैन्य-रणनीतिक सञ्जाल फैलाउँदै सांस्कृतिक आधिपत्य कायम गर्न सफल भएको हो। यहाँ पूर्व भन्नाले भारतवर्ष मात्र नभई चीन, कोरिया, जापान लगायतको बृहत् पूर्व सम्झिनुपर्छ।
पूर्वीय मुलुकहरू भने एकातिर उपनिवेशको दोहन र उत्पीडनमा परे, अर्कातिर बौद्धिक परम्पराहरूको विकास सुस्त भयो। वैज्ञानिक अनुसन्धान, खोज र आविष्कारमा पनि यी मुलुक पछि परे। अनि यी समाज यथास्थितिमै रमाए।
यसको लामो चर्चा यहाँ आवश्यक र सम्भव नहोला। छोटकरीमा भन्दा, सनातन संस्कृतिसँग जोडिएको पूर्वले दर्शनशास्त्रबाट भगवानलाई छुट्टयाएर हेर्नै सकेन। अहिलेसम्म सकेको छैन। बौद्ध परम्पराले केही कोसिस गरे पनि ठूलो फड्को मार्न सकेन।
यसो भनेर मैले भगवानमा विश्वास गर्ने चिन्तकहरूको दर्शनशास्त्रलाई कमसल वा अमान्य भनेको होइन। पूर्व-पश्चिम, सबैतिरका कैयन दर्शनले भगवानलाई केन्द्रमा राखेका छन्। फरक के छ भने, पश्चिमा मूलधारको दर्शनले भगवानलाई एउटा अवधारणा मानेर त्यसबाट अगाडि बढ्यो। भारतवर्षका ज्ञान र परम्परा भने त्यसरी अघि बढ्न सकेनन्। यथास्थितिमै रहे वा रमाए।
बरू धेरै वर्ष पहिलेका वेद परम्पराहरूमा त्यस्तो गतिशीलता थियो। उदार दृष्टिकोण थियो। वेदान्त परम्परामध्ये 'अद्वेत स्कुल' ले त्यस्तो गतिशील आधार बनाउँदै लग्न खोजेको पनि हो। तर आमरूपमा भगवान मान्ने र नमान्नेबीच बौद्धिक आदानप्रदान हुने वातावरण भएन।
जब सबै सृष्टि भगवानको सिर्जना हो भन्ने मानिन्छ, त्यसपछि दर्शनशास्त्र धार्मिक मात्र हुन पुग्छ।
यसको एउटा उदाहरण हेरौं — कतिपय हिन्दु व्याख्याताहरूले सिद्धार्थ गौतम अर्थात् बुद्धलाई पनि विष्णु भगवानको एक अवतार भनिदिए। किन त भन्दा, उनीहरूले बुद्धलाई खारेज गर्न सकेनन्, बरू आफैंले मानिरहेका भगवानको एउटा अवतार हो भनिदिँदा सजिलो पर्ने देखे। अनि बुद्धले प्रतिपादन गरेको दर्शन र सनातन हिन्दु दर्शनबीचको अन्तरक्रियाबाट समाजले जुन लाभ पाउन सक्थ्यो, त्यो प्राप्त भएन। त्यस्तो अवसर नै गुम्यो।
यसरी भारतवर्षमा ज्ञान उत्थानमा जसरी यथास्थिति कायम रह्यो, त्यसको असर विज्ञान-प्रविधिको विकासमा पनि पर्यो। यही यथास्थितिबीच पश्चिमी समाजले बाजी मार्यो। पूर्वीय समाजमा देखिएको बौद्धिक परम्पराहरूको यो यथास्थितिवाद र वैज्ञानिक चिन्तन, खोज तथा आविष्कारको रिक्तताले नेपाललाई झनै गाँजेको थियो भन्न सकिन्छ।
पूर्वीय मुलुकहरूको बौद्धिक परम्पराबारे यति चर्चा गरिसकेपछि २०४६ सालको अन्त्यमा प्रजातन्त्र पुनर्स्थापना भएको बखत नेपाल मूलतः बौद्धिक इतिहासको कसीमा कहाँ थियो भनेर बुझ्न सजिलो हुन्छ। र, त्यस आधारमा विगत तीस वर्षमा नेपाल कति बन्यो वा कति बिग्रियो भनेर हेर्नु सान्दर्भिक देखिन्छ।
जसरी भौगोलिक रूपमा नेपाल भूपरिवेष्ठित मात्र होइन, विम्बात्मक रूपमा भारतवेष्ठित छ भनिन्छ, त्यसरी नै २०४० को दशकसम्म नेपालको प्रमुख बौद्धिक संसर्ग भारतीय विश्वविद्यालय र बौद्धिकहरूसँग सीमित थियो। अर्थात्, बौद्धिक रूपमा पनि नेपाल भारतवेष्ठित थियो।
उच्च शिक्षाका लागि भारत जानुपर्ने अवस्था त छँदै थियो। २०२० र ३० को दशकमा राजनीतिक कारणले निर्वासित हुनुपरेका प्रजातान्त्रिक र वामपन्थी तप्काका व्यक्तित्वहरूको औपचारिक शिक्षा पनि भारतमै भयो। त्यसैगरी उनीहरूको राजनीतिक र सांस्कृतिक चेत निर्माण हुनुमा भारतका प्रभावशाली बौद्धिक अभियान र रूझानहरूको प्रभाव प्रस्ट थियो। यस्तो प्रभाव नेपालका राष्ट्रिय तहका नेतामा मात्र नभई जिल्ला-जिल्ला तहका नेताहरूसम्म पनि थियो।
राजनीतिज्ञहरूमा महात्मा गान्धी, जवाहरलाल नेहरू र एस राधाकृष्णनहरू जस्ताको प्रभाव त रह्यो नै, नेपालमा लेखिने साहित्य र कलेज-विश्वविद्यालयका पाठ्यक्रममा समेत भारतको ठूलो प्रभाव थियो। कैयन कुरामा त हामी निर्भर नै थियौं।
विगत तीस वर्षमा नेपालको भारतसँगको त्यो बौद्धिक निर्भरता धेरै मात्रामा फेरिएको छ। स्कुल तहबाहेक आर्थिक रूपमा सबल बहुसंख्यक नेपालीका छोराछोरीको प्रथम रोजाइको शैक्षिक गन्तव्य अहिले भारत होइन। तीस वर्ष पहिले पढे-लेखेका नेपालीले सांस्कृतिक रूपमा भारतलाई हेर्ने दृष्टिकोण र अहिलेका पुस्ताले हेर्ने दृष्टिकोणमा आकाश-जमिन फरक छ।
नेपाल चलाउने सबै भारतले हो भनेर मनोवैज्ञानिक र सांस्कृतिक तहमै लघुताभास पाल्ने राजनीतिक र बौद्धिक पुस्ता बिस्तारै पातलिँदै जानु पनि नेपाल 'बन्दै गएको' मान्नुपर्ने एउटा महत्त्वपूर्ण संकेत हो जस्तो लाग्छ मलाई।
किनकी, पुस्तौं पुस्तादेखि भारतलाई मानेर आएका वर्गको आफ्नै मनोवैज्ञानिक लघुताभासका कारण पनि भारतलाई आफ्नो स्वार्थका लागि हामीसँग हेपाहा व्यवहार गर्न सजिलो बनाइदिएको छ। नेपालको राजनीति बुझ्न दिल्लीमा केही समय नबसी हुँदैन भन्ने भाष्य अहिले फेरिएको छ। पहिले त राजनीतिक निर्वासनमा मात्र होइन, आफ्नै देश नेपाल बुझ्ने विद्वान हुन पनि भारत जानुको विकल्प धेरै थिएन!
मैले यसो भनिरहँदा पाठकले यसलाई अर्कै प्रसंगमा लगेर बुझ्ने जोखिम पनि छ। संसारका राम्रामध्येका कैयन प्राज्ञिक संस्था आज भारतमा छन्। त्यसैले भारतमा गएर दीक्षित हुनु नराम्रो होइन। मैले यहाँ उठाउन खोजेको विषय हामीसँग कसरी पहिले अरू विकल्पै थिएन र सायद त्यसले कसरी नेपालीको राजनीतिक र सांस्कृतिक लघुताभास निर्माणमा काम गर्यो भन्ने मात्र हो। र, भारतको सत्ताले त्यसलाई कसरी दुरूपयोग गर्यो भन्ने मात्र हो। भारतको बौद्धिक परम्पराबारे हामी किन कृतज्ञ हुनुपर्छ भनेर त मैले माथि नै चर्चा गरेको छु!
त्यसैले स्वाभिमानी नेपालीहरूको संख्या बढी हुनु स्वयंमा सकारात्मक विकास हो भन्ने सन्दर्भमा यसलाई बुझ्नुपर्छ।
स्वाभिमानी हुन्छु भन्नेबित्तिकै कोही स्वाभिमानी बन्दैन भन्ने कुरा अहिले वृद्ध भइसकेको राजनीतिक पुस्ताले पटकपटक प्रदर्शन गरेको छ। यसका लागि चाहिने सांस्कृतिक पुस्तान्तरण अहिले सुरू भएको छ।
पहिलेको जस्तो अहिलेको पुस्ता भारत भन्नेबित्तिकै त्यसै नतमस्तक हुँदैन। हुनुपर्ने नै छैन। नेपाली संस्थाहरू र व्यक्तिहरूको पश्चिमा संसारसँग बौद्धिक आदानप्रदान झाँगिएको छ। यसले हाम्रो दायरा फराकिलो र बहुल बनाउन सहयोग गरेको छ।
तर पनि हाम्रो बौद्धिक जग अझै धेरै राम्रो भइसकेको छैन भन्ने मान्न जरूरी छ। बिक्रम सम्वत् १९८०-९० बाट सुरू भएर २०४० को दशकसम्म विस्तारित नेपाल र नेपालीको बौद्धिक जगलाई हामीले जुन गति र आयाममा विस्तार गर्न सक्नुपर्थ्यो, त्यसो गर्न सकेनौं। कला-साहित्य-सांस्कृतिक सिर्जनामा जुन गति समात्नुपर्थ्यो, त्यो धीमा भएर गएको छ।
अब बौद्धिक इतिहासको कसीमा हेर्दा समकालीन नेपालमा के के राम्रो भयो र नेपाल कहाँ कहाँ चुक्यो भन्नेबारे केही चर्चा गरौं।
पहिले कुरा गरौं राजनीतिक नेतृत्वकै।
पछिल्लो ८०-९० वर्षको आधुनिक नेपाली इतिहासमा पहिलोपटक राजनीतिक नेतृत्व बौद्धिक रूपमा हाम्रो समाजभन्दा पछाडि परेको छ। समाजको चेतना जति प्रगतिमुखी भइसक्यो, त्यसको तुलनामा विगत बीस-तीस वर्षमा सत्ता वरिपरि र पार्टीको केन्द्रीय तहमा कब्जा जमाएर बसेकाहरू आमरूपमा बौद्धिक हिसाबले पिछडिएका छन्।
राजनीतिले समाजलाई डोर्याउँछ भनी मान्ने हो भने, समाजका बौद्धिक रूपमा अब्बल मानिएका व्यक्तिहरू त्यहाँ हुनुपर्छ। नेपालकै इतिहासमा पनि धेरै वर्षसम्म त्यही नै स्थिति थियो। चाहे राणाकाल होस्, चाहे लामो र कष्टकर प्रजातान्त्रिक आन्दोलन। त्यसमा सहभागी भएका हजारौं सदस्यहरूको चेतना र बौद्धिक स्तर समाजको औसतभन्दा माथि थियो। उनीहरू परिवर्तनको आदर्शमा पूर्ण रूपमा विश्वास गरेर नै त्यसका लागि जीवन अर्पण गर्न तयार भएका थिए।
हुन त असल र खराब भन्ने पनि केवल सामाजिक संरचना हो। अघिल्लो शताब्दीमा असल ठानिएका कतिपय सामाजिक मूल्य-मान्यता अहिले सामन्ती प्रवृत्तिका लाग्छन्। अहिले नै पनि एउटा वर्ग र समुदायलाई असल लागेको दृष्टिकोण अर्कोलाई खराब लाग्न सक्छ, लागिरहेको छ।
तैपनि समग्रमा भन्दा, मानिस असल किन हुनुपर्छ भन्ने विषय बौद्धिक सवाल पनि हो। मानिस यसै असल हुँदैन। असल हुन उसले निर्णय गर्नुपर्छ र त्यो निर्णयका बौद्धिक आधारहरू हुन्छन्।
राजनीति कस्तो हुन्छ भन्नेको पनि बौद्धिक आधार हुन्छ। त्यसैले नेपालको राजनीति अहिले खस्किँदै जानुमा दलहरूको नेतृत्वमा देखिएको बौद्धिकताको अभाव पनि प्रमुख कारण हो।
सांगठनिक रूपमा दलको नेतृत्व गर्ने नेता बौद्धिक नहुन पनि सक्छ। तर मूल रूपमा उक्त संगठनको आधारभूत आदर्शलाई सिञ्चित गरिरहने बौद्धिकता राजनीतिक दलमा हुनैपर्छ।
जस्तै — मानिस किन लोकतान्त्रिक हुनुपर्छ? किन समाजवादी हुनु राम्रो हो? आजको नेपालमा वामपन्थी हुनु भनेको के हो? राष्ट्रलाई परिवर्तित गर्दै जाने समयलाई कसरी बुझ्ने हो? नेपाली राज्यको चरित्रमा परिवर्तन हुनुपर्ने प्रमुख विषयहरू के के हुन्? संसारभर अहिले देखिएको दक्षिणपन्थी लहरको कारण के हो? किन कतिपय मुलुकमा लोकतन्त्र सबल र संस्थागत हुँदैछ र कतिमा कमजोर बनेको छ? पुँजीवादका बदलिँदा चरित्रहरू के हुन्? वामपन्थी विचारधारा किन राजनीतिक, आर्थिक रूपमा कमजोर पर्दै गएको छ?
यस्ता विश्व-दृष्टिका विषयमा स्वतन्त्र रूपमा चिन्तन गर्न र बोल्न सक्ने विषय नेपालको बौद्धिकतासँग जोडिएको हुन्छ। यी महत्त्वपूर्ण सवालहरूको विवेचना गर्ने र तिनलाई पर्गेल्ने सवालमा नेपालको राजनीतिक नेतृत्व धेरै नै कमसल र कमजोर देखिएको छ।
राष्ट्रिय मुद्दाहरूमा राजनीतिक दलका दृष्टिकोण बन्न निश्चित बौद्धिक परम्पराहरूको प्रभाव हुन्छ।
नेपाली कांग्रेसका लागि बिपी कोइरालाले स्थापित गरेको परम्पराले केही समय अगाडिसम्म काम गर्थ्यो, गर्यो। त्यो दललाई डोर्यायो।
गिरिजाप्रसाद कोइराला सांगठनिक र व्यवहारवादी राजनीतिज्ञ थिए, बौद्धिक थिएनन्। तर भारतमा महात्मा गान्धी र जवाहरलाल नेहरूकै बेलादेखि आफ्ना दाजु बिपीले फैलाएको बौद्धिक परम्पराले उनलाई राज्यको धर्म हुनु हुँदैन भनेर धर्मनिरपेक्षतासम्म पुग्न दुईपटक सोच्नुपरेन। जबकि, त्यही परिवारका भए पनि शशांक कोइराला र शेखर कोइरालामा त्यो चेत छैन। किनकी उनीहरू त्यो परम्परामा भिजेका थिएनन्, न त्यसलाई पर्गेल्न उनीहरूमा आफ्नो छुट्टै बौद्धिक चेत देखिन्छ।
यो संसारमा सबै मानिस बराबर हुन्छन् र हुनुपर्छ भन्ने एउटा दार्शनिक विषय हो। यो संसारमा जति विविधता बोकेका मानिसहरू भए पनि ती सबै प्राकृतिक हुन् भनेर बुझ्नु बौद्धिक विषय हो।
लिंगका आधारमा असमान व्यवहार गर्नु, यौनिक तथा अल्पसंख्यक समुदायकालाई अप्राकृतिक देख्नु, जन्मका आधारमा कसैलाई राजारानी हुने अधिकार हुन्छ भन्नु, राज्य भनेको निजी सम्पत्ति जोड्ने र कमाउनेहरूको बढी हो भन्नु बौद्धिक (अ)चेतनासँग जोडिएका सवाल हुन्।
विभिन्न ऐतिहासिक कारणले समाजका सबै नागरिकमा चेतनाको स्तर उस्तै हुँदैन। त्यसैले समाजलाई डोर्याउँछु भन्नेहरू चेतना र बौद्धिकताका हिसाबले अगाडि नै हुनुपर्छ।
नेपाली वामपन्थी बौद्धिकतामा सुरूदेखि नै भारतीय मार्क्सवादीहरूको ठूलो प्रभाव थियो। अनि नेपाली वामपन्थी बौद्धिकता सुरूको चरणमा केही फराकिलो रहेको पनि देखिन्छ। तर यसलाई सम्वत् तीसको दशकबाट मूलधार बनेको मार्क्सवादी-लेनिनवादी समूह र पचासको दशकपछि नेपालको राजनीतिक 'कोर्स' नै यताउता पारेको माओवादी समूहले थप फराकिलो होइन, साँघुरो बनाउँदै लगे। पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीहरूमा जुन गहनता र फराकिलोपन थियो; माधवकुमार नेपाल, केपी ओली, पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठमा त्यो भेटिँदैन। उनीहरू धेरै नै यान्त्रिक देखिन्छन्।
राजनीतिक अभियानहरूमा जनताले बुझ्ने र पत्याउने व्याख्या भरिदिन सक्ने अनि समाजको अन्तरद्वन्द्व हेर्न समकालीन दृष्टिकोण दिन सक्ने बौद्धिकताको जग फितलो भएको यो समयमा ठूला दलहरूको नेतृत्वमा केपी ओली र शेरबहादुर देउवाहरू पुग्नु केही अनौठो होइन। उनीहरूले आफ्ना वरिपरि पनि त्यस्तै मानिसहरू भेला गरेका छन् जसले उल्टो उनीहरूलाई नै महान देख्छन्। उनीहरूलाई विद्वान ठान्छन्।
बौद्धिक दृष्टिकोणरहित राजनीतिक नेतृत्व सधैं सट्टापट्टा र लेनदेनमा तल्लीन हुन्छ। एउटालाई मिलाएर एकपटक सत्तामा आउने, अर्कोलाई मिलाएर अर्कोपटक। आफ्नै चेतना र अनुभवले खारेर बनाएको राजनीतिक, सामाजिक र आर्थिक दृष्टिकोण र विचारको अभावमा यसले तत्काल बहेको हावा सुँघ्दै नीतिहरू बनाउने गर्छ। ती नीतिहरूको न कुनै जरो हुन्छ, न सुविचारित ध्येय!
कतिपय दल र नेताहरू आफैंलाई म को हुँ र के गरिरहेको छु भन्नेसम्म राम्ररी भेउ हुँदैन। अनि कसैले तँ त पुँजीवादी भइछस् भनिदियो भने होइन होइन भनेर प्रतिरक्षा गर्छन्। कसैले तँ त समाजवादी भइछस् भनेर आलोचना गर्यो भने त्यसलाई पनि होइन होइन नै भन्छन्। किनकी उनीहरूको आफ्नो केही दृष्टिकोण हुँदैन। उनीहरू आफैं केही होइनन्, कोही होइनन्।
त्यसै कारण विगत १५ वर्षमा कहिले कसको सरकार थियो भन्ने कुराले कुनै तात्विक फरक परेको देखिँदैन। कुन वर्ष कसको नेतृत्वको सरकार थियो भनेर सम्झिनै नपर्ने भएको छ। बौद्धिक क्षमताको अभावले कसैले पनि नीतिगत तहमा 'डिपार्चर' लिने नैतिक साहस देखाएन। 'बोल्ड डिपार्चर' लिने कल्पनाशीलता र त्यसो गरेपछि त्यसको प्रतिरक्षा गर्न जुन आँट र बौद्धिक सामर्थ्य चाहिन्छ, त्यो नै कसैसँग थिएन, छैन। त्यसैले सरकारमा दल र नेताहरू 'म्युजिकल चेयर' मा जस्तो फेरिइरहे। उनीहरू आफैंले भने केही फेर्न सकेनन्। कुनै सुधार गर्न सकेनन्।
यसलाई अलिकति फर्केर हेर्दा, २००७ को दशकमा नेपाली बौद्धिक परम्पराहरू झाँगिदै जाने जुन सम्भावना देखिएको थियो, त्यो तीस-चालीसको दशकसम्म ठीकै ठीकै गएको जस्तो लाग्छ। एकातिर लोकतान्त्रिक आन्दोलनमा भएका बौद्धिकहरूको समय सकिँदै जानु र नयाँ पुस्ताले त्यो ठाउँ लिन नसक्नु, अर्कोतिर त्यही समयमा पहिलेको भन्दा 'मोनोलिथिक' वा एकलकाँटे सोचाइ भएका वामपन्थीहरूको राजनीतिक दायरा बढ्नु नेपालका पछिल्ला तीन दशकका लागि दुर्भाग्यपूर्ण यथार्थ हुन्। पढेलेखेको र राजनीतिक चेत बोकेको एउटा ठूलो तप्का एकांगी लेनिनवादी-माओवादी रूझानमा लपक्कै हुने र लोकतान्त्रिक तप्कामा पनि बौद्धिकहरूको हस्तक्षेप भुत्ते भएपछि त्यसले राष्ट्रिय रूपमै बौद्धिक स्वच्छन्दतालाई नै खुम्च्याइदियो।
यो समय राजनीतिमा मात्र बौद्धिक स्वच्छन्दता खुम्चिएन, साहित्य र लेखनको क्षेत्रमा पनि त्यस्तै भएको देखिन्छ। विगत दुई दशकमा नेपाली साहित्य लेखनको स्तर हेरे यो तस्बिर प्रस्टै हुन्छ। दिव्य काव्यचेतका लागि सिर्जना गर्ने व्यक्ति विद्वान नै हुनुपर्छ भन्ने छैन। तर कवि/लेखकमा समयचेत भने हुनुपर्छ। त्यो चेतका लागि ऊ कुन बौद्धिक परम्पराबाट सिञ्चित छ भन्ने पक्कै महत्त्वपूर्ण हुन्छ। भन्दा यो अलि कठोर सुनिन सक्छ, तर समकालीन नेपालको यथार्थ के हो भने, जसरी राजनीतिमा प्रवेश गर्नेहरू कस्ता कस्ता छन् भनेर हेर्दा धेरै आश गर्ने ठाउँ देखिँदैन, त्यसरी नै कला-संस्कृति र साहित्यिक सिर्जनाको क्षेत्रमा को को सक्रिय रहन सक्ने स्थिति छ भन्ने हेर्दा पनि सन्तोष गर्न मिल्ने ठाउँ कम छ।
त्यसमाथि साहित्य भनेको यस्तो हुनुपर्छ, सामाजिक यथार्थको ऐना प्रतिविम्बित गर्न सक्यो भने मात्र कुनै सिर्जना गतिलो हुन्छ र समाजका लागि उपयोगी भएन भने त्यो साहित्य साहित्य नै होइन भन्ने मार्क्सवादी विचारधाराको सर्जकहरूमाथि परेको मनोवैज्ञानिक प्रभावका कारण विगत दुई दशकमा स्वच्छन्द साहित्यिक सिर्जनाको वातावरण झन् खुम्चिएको देखिन्छ। यो मनोवैज्ञानिक प्रभावमा मार्क्सवादी धारका सर्जकहरू मात्र नभएर गैरमार्क्सवादीहरू पनि परेको देखिन्छ। कला-साहित्यमा जब स्वच्छन्द चेत र सिर्जनशील अराजकता निस्फिक्री प्रस्फुटन हुन पाउँदैनन्, यो क्षेत्र धेरै फैलिन सक्दैन।
विगत दुई दशकमा 'साहित्य समाज उपयोगी हुनुपर्छ' भन्ने धार कति सशक्त भएको छ भन्ने हेर्न एक-दुइटा रोचक उदाहरण छन्।
लोकतान्त्रिक धारको विद्वानका रूपमा स्थापित स्वर्गीय प्रदीप गिरि त्यसैको प्रभावमा परेर 'बिपी कोइरालाले साहित्यमा म अराजक छु भन्नु गलत थियो' भनेर विमर्श गर्न थालेका थिए।
अलि पछाडि गएर वामपन्थभित्रकै सिर्जनात्मक संकुचनको अर्को उदाहरण हेर्ने हो भने, केही वाम बौद्धिकहरूले पारिजातको 'शिरिषको फूल' जस्तो सुन्दर उपन्यासलाई 'अराजक' करार गरेका थिए। किनकी, यो कृति समाजका लागि अनुपयोगी थियो। वामपन्थी आन्दोलनभित्र नारायण गोपालका गीतहरू सुन्नु पनि अप्रगतिशील कार्यको मानक थियो भन्ने त्यतिबेलै सुनिन्थ्यो।
विगत सात-आठ दशकका नेपाली साहित्यिक कृतिहरूमध्ये कतिपय वास्तवमै विश्वस्तरीय छन्। संसारका अरू देशका 'मास्टरपिस' सँग तुलना गर्दा पनि ती अब्बल नै देखिन्छन्। तर पछिल्लो समय हाम्रो सांस्कृतिक-साहित्यिक सिर्जनाको स्तर धेरै आशलाग्दो देखिँदैन। १९९० को दशकबाट सुरू भएर तीस-चालीसको दशकसम्म जति जग बनेको थियो, त्यसको तुलनामा विगतका दुई दशकमा यो क्षेत्र संघर्ष गर्दै गरेको देखिन्छ।
लोकतान्त्रिक कालमा हामीले हाम्रा प्राज्ञिक संस्थाहरूलाई कस्ता बनायौं भन्ने प्रश्नसँग पनि यो विषय जोडिन्छ। त्रिभुवन विश्वविद्यालय एउटा जीवन्त प्राज्ञिक थलो हुनबाट किन चुक्यो? प्राज्ञिक संस्थाहरूमा क-कसले राजनीतिकरण गरे? यी संस्थाहरूमा भएका विकृति सबैलाई थाहा छ। तर पनि तत्काल सुधार हुने धेरै सम्भावना छैन।
बीस-पच्चीस वर्षअघिसम्म पनि त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा पढाउने प्राध्यापक हुनु भनेको सबभन्दा प्रतिष्ठित पेसामध्ये नै मानिन्थ्यो। त्यहाँका विभाग र अनुसन्धान केन्द्रका प्राध्यापकहरूमध्ये धेरै राष्ट्रिय रूपमा प्रख्यात व्यक्तिहरू थिए। उनीहरू आफ्नो निजी स्वाभिमान कायम राख्थे, राजनीतिकर्मीलाई जथाभाबी भाउ दिँदैन थिए।
अहिलेका प्राज्ञहरू प्राज्ञिक रूपमा कमजोर होलान् भनेर त म भन्दिनँ। तर प्राज्ञिक संस्थामा आबद्ध हुनेहरूको विगतमा जुन स्वाभिमान थियो, त्यो पक्कै पनि अहिले खस्केको छ। त्यस कारण पनि उनीहरूको जुन सामाजिक र प्राज्ञिक वैधता थियो, अहिले छैन। त्यतिखेर उपकुलपति भन्ने शब्दले जुन मर्यादा बोक्थ्यो, अहिले बोक्दैन।
विश्वविद्यालय मात्र नभएर नेपाल प्रज्ञा प्रतिष्ठानको नेतृत्व हेर्ने हो भने पनि कहाँका ईश्वर बराल र ईश्वर बल्लभहरू, अनि कहाँका अहिलेका र यसभन्दा ठीक अघिका उपकुलपतिहरू!
जबकि समयको नियमअनुसार, अहिलेका प्राज्ञहरू हिजोका भन्दा ठूला विद्वान हुनुपर्ने हो।
मैले यहाँ हाम्रा बौद्धिक अभ्यासहरू कुन समय चक्रमा पुग्दा सुस्त हुन थाले भनेर देखाउन मात्र खोजेको हो। समावेशिताका आधारमा कोही यस्ता संस्थाको नेतृत्वमा आएको छ भने ठीकै छ। इतिहासमा राज्यको चरित्र नै असमावेशी भएका कारण कुनै समुदायको व्यक्ति विद्वान हुन नपाएको हो, त्यसैले भएकामध्ये एउटालाई ल्याएको हो भने, त्यो पनि ठीकै छ।
कसलाई विद्वान भनेर कसले प्रमाणित गर्ने भनेर पनि प्रश्न उठ्न सक्छ। अनि त्यो पनि ठीकै छ!
यो फेरि विशुद्ध रूपमा प्राज्ञिक क्षेत्रमा खराब राजनीति पस्यो वा पसेन भन्ने विषय पनि होइन। विगतमा त प्राध्यापकहरू राजनीतिक अभियानमा झनै सक्रिय थिए। तर त्यो सक्रियता देशमा हुनुपर्ने राजनीतिक परिवर्तनका लागि थियो। अहिलेका अधिकतम प्राज्ञिकहरूको सक्रियता कुनै न कुनै लाभको पदमा पाउने नियुक्तिका लागि हुन्छ। निकम्मा नेताकहाँ ठीकै नाम भएका प्राध्यापकहरूले समेत भक्तिभावले निहुरिँदै पद मागेको बढो टिठलाग्दो दृश्य हामीमध्ये कतिले प्रत्यक्ष देखेका होऔंला!
कसैले बिन्ती गरेर वा मागेर केही पाओस् वा खाओस्, त्यो पनि त्यति ठूलो विषय होइन। मुख्य कुरा, बौद्धिक परम्पराहरूको नेतृत्व गर्ने वर्गले गुमाउँदै गएको स्वाभिमान हो। र, अरूतिर अवसर नपाउनेले विश्वविद्यालयमा काम गर्छन् भन्ने लघुताभासको जुन वातावरण बनेको छ, त्यसले आफैंमा प्राज्ञिक क्षेत्रको बेहाल बोल्छ।
यसको अर्को पाटो पनि छ — तीन-चार दशकअघिको तुलनामा आज हाम्रा विश्वविद्यालयमा पढ्न जाने मानिस को हो भन्ने।
काठमाडौंका सबभन्दा महँगा र 'राम्रा' स्कुलबाट प्लस-टु, ए-लेभल, आइबी तह उत्तीर्ण हुनेहरूको अर्को गन्तव्य नेपालका कलेज हुँदैनन्। अनि बाहिर पढ्न जानेहरू अधिकतम नेपाल फर्केर आउँदैनन्। पछिल्ला वर्षहरूमा समाजको धेरै लगानी परेको र मुलुकलाई ठूलो योगदान गर्न सक्ने धेरै प्रतिभाशाली विद्यार्थीहरू विदेश गएर फर्किएका छैनन्। त्यसले नेपाललाई बौद्धिक रूपमा ठूलो घाटा भएको छ। नेपाली समाजको बौद्धिक उन्नति र आर्थिक प्रगतिमा धक्का पुगेको छ। अर्कातिर धनीमानी र सम्पन्न मुलुकहरूलाई धेरै फाइदा भएको छ।
अब राजनीतिक दलहरूको बौद्धिक स्थितिबारे थप कुरा गरौं।
नेपाली कांग्रेसलाई पञ्चायतका कठिन दशकहरूमा समाजसँग जोडेर राख्ने भनेको उसले बोक्ने आदर्श पछ्याइरहेका, समर्थन गरिरहेका बौद्धिकहरूले थियो। अझ मिहिन रूपमा भन्दा, कांग्रेसले प्रतिनिधित्व गर्ने बौद्धिक परम्परामा भिजेका वा कम्तीमा त्यसका छिटा परेका शिक्षित समुदायले थियो। संगठन गरेर पार्टी अघि बढाउने ठाउँ नहुँदा पनि कांग्रेसले समाजलाई आफ्नो चिन्तनमा डोर्याउने प्रभाव रहिरहनुमा यो एउटा सशक्त कारण थियो।
२०८० सालसम्म आइपुग्दा पार्टीको रूपमा ठूलो भए पनि आममानिसका तहमा कांग्रेसको अपिल घट्दै गएको छ। यसको एउटा प्रमुख कारण समाजको बौद्धिक तप्कासँग उसको सम्बन्ध कमजोर हुनु वा टुट्नु हो। सायद आजका दिनमा कुनै स्वाभिमानी लोकतान्त्रिक बुद्धिजीवीले आफूलाई कांग्रेससँग नजिक भएको देखाउन चाहँदैन। त्यसो गर्दा उसको इज्जत बढ्दैन, घट्छ।
संगठनका रूपमा कांग्रेस भोलि गएर अहिलेभन्दा अझ ठूलो बन्न सक्ला, त्यो अर्कै सवाल हो। उसका प्रतिस्पर्धी ऊभन्दा पनि गएगुज्रेका हुनाले त्यो सम्भव पनि होला। तर आमरूपमा बौद्धिक समाजसँग डटेर आफ्ना नीतिहरूबारे बहस गर्ने र उनीहरूलाई प्रभावित पार्न सक्ने अवस्थामा कुनै दल छैन भने उसले फेरि पनि सरकारको नेतृत्व गर्ला वा नगर्ला, त्यसको धेरै अर्थ छैन। कांग्रेस, एमाले र माओवादी केन्द्रले सरकारको नेतृत्व पालैपालो गरेकै छन्। तर त्यसले केही फरक अर्थ राखेको हुन्छ? त्यसले मुलुकमा के फरक पार्छ? के परिवर्तन ल्याउँछ?
कुनै पनि दलले आज समाज र मुलुकको वैचारिक रूपमा नेतृत्व गरेको छ कि छैन, त्यो महत्त्वपूर्ण कुरा हो। त्यसरी नेतृत्व गर्न सक्छ कि सक्दैन, त्यो महत्त्वपूर्ण हो।
वामपन्थी आन्दोलनको बौद्धिकताबारे झनै रोचक परिदृश्य देखिन्छन्।
संगठनका हिसाबले नेपालका वामपन्थी दलहरू अहिले बौद्धिक रूपमा खोक्रा छन्। उनीहरूको बौद्धिक जग भन्नु नै पहिल्यै तम्तयार, आयात गरिएको पाठ्यक्रमरूपी, कुनै एक वा अर्को स्कुलको 'वाद' नै थियो। 'अन्तर्राष्ट्रिय मार्क्सवादी पाठ्यक्रम विकास केन्द्र' वा त्यस्तै कुनै केन्द्रबाट स्वीकृत भएको बाहेक अरू 'स्कलरसीप' लाई त्यहाँ 'स्कलरसीप' नै मान्न पाइँदैन थियो। न त साहित्यलाई साहित्य!
२०८० सालसम्म आइपुग्दा, ती दलहरूको न त आफैंले पहिल्यैदेखि मानिआएको मार्क्सवाद, लेनिनवाद र माओवादमा विश्वास छ, न विश्वास गर्न उनीहरूले अर्को कुनै नयाँ 'धारा' पहिल्याएका छन्।
त्यही वैचारिक रिक्तता र खोक्रोपन ढाक्न उनीहरूले 'एक्काइसौं शताब्दीको समाजवाद' वा 'आजको सन्दर्भमा मार्क्सवाद' जस्ता जार्गन प्रयोग गरेर लेख्छन् र बोल्छन्। तर त्यो भनेको के हो भन्ने उनीहरू स्वयंलाई थाहा भएजस्तो लाग्दैन।
परिणाम स्वरूप, वैचारिक विचलन कतिसम्म भयो भने, माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भारतका विवादास्पद व्यापारी 'सदगुरू' लाई अहिलेको सबभन्दा ठूलो मार्क्सवादी ठान्छन्। प्रचण्डका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि 'संसारका दुःखबाट मुक्ति पाउन' तिनै सदगुरूलाई सुन्दा रहेछन्, भेट्दा रहेछन्। यस्तो किन भएको भने, उनीहरू बौद्धिक रूपमा खोक्रा छन्। अनि कहिले एउटासँग, कहिले अर्कोसँग प्रभावित हुन्छन्।
बरू सांगठनिक वामपन्थभन्दा बाहिरका केही वाम तप्काहरूले विगतका केही वर्षहरूमा आफूलाई बौद्धिक रूपमा फराकिलो बनाउँदै लगेको आभाष हुन्छ। नेपालकै इतिहास हेर्ने-बुझ्ने उनीहरूको दृष्टिकोणमा 'वामपन्थी संकीर्णता' को ऐतिहासिक चश्मा बिस्तारै फेर्दैछन् भन्ने देखिन्छ। उनीहरूसँगको अन्तर्क्रियामा पहिलेका जस्ता जड पूर्वाग्रहहरू कम देखिन्छन्।
उदाहरणका लागि — हालैका वर्षहरूमा बिपी कोइरालाको साहित्य र राजनीतिक इतिहासलाई उनीहरूले पार्टी लाइनभन्दा बाहिर गएर स्वविवेकले बुझ्न खोजेका थुप्रै उदाहरण देखिन्छन्। अझै कतिले यो कुरा खुलेर बाहिर भन्लान् वा नभन्लान्, तर उनीहरूमा आइरहेको यो परिवर्तनको आयाम रमाइलो छ।
मैले यहाँ बारम्बार बिपी कोइरालाको प्रसंग बिना संकोच ल्याइरहेको छु। भारतको स्वतन्त्रताको संघर्ष र अहिलेसम्म टिकिराखेको भारतको चरित्रको कुरा गर्दा गान्धी र नेहरूको चर्चा नगरी सुखै छैन। भारतको इतिहास नै आफ्नै भाषामा, नयाँ रूपमा लेख्ने प्रयत्न गरिरहेको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले समेत त्यसबाट छुटकारा पाएको छैन। त्यसरी नै, आधुनिक नेपालको चरित्र र हाम्रो लोकतान्त्रिक आन्दोलनको प्रसंग आउँदा प्रशंसा वा आलोचना जे गरे पनि बिपीको नाम आइहाल्छ। वामपन्थीहरूले बिपीलाई बुझ्ने दायरा फराकिलो बनाउनु भनेको उनीहरूले नेपालको आधुनिक इतिहास आफूले पहिले बुझिराखेको भन्दा फरक र फराकिलो बनाएर बुझ्न तयार भएको संकेत पनि हो।
विगतका दशकमा राजनीतिक नेतृत्वभित्र मात्र नभई बृहत् नेपाली समाजमै पनि बौद्धिक परम्पराहरू हुर्किने र फैलिने वातावरण खस्किएको छ। तर पनि हाम्रो समाजमा सांस्कृतिक रूपमा केही सकारात्मक परिवर्तनहरू देखा परेका छन्।
सांस्कृतिक भनेर मैले दैनन्दिनका बृहत् आयामहरूलाई भनेको हुँ।
जस्तो — नियमित रूपमा लेखिइरहेका नयाँ किताब र तीमाथि हुने छलफलहरू, सहरमा चल्ने नाटकहरू र वार्षिक रूपमा आयोजना गरिने साहित्यिक महोत्सवहरूमा हुने छलफलका विषयको विविधता र गहिराइ, पत्रिकाहरूमा खुला रूपमा आफूलाई मनपरेको विषयमा लेख्ने स्वतन्त्रता र त्यसमा देखिने विविधताहरू।
समकालीन नेपाली समाजमा कैयन सांस्कृतिक आयामहरू छन् जसमाथि हामीले मजाले गर्व गर्न सक्छौं।
जस्तै — छिमेकी भारत लगायत अरू देशमा लैंगिक तथा यौनिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोण र नेपालको तुलना गर्दा हामी धेरै अग्रगामी छौं।
धर्म-संस्कृति र आफ्नो इतिहासबारे लेखन तथा पुनर्लेखन गर्न पाइने स्वतन्त्रतालाई पनि बौद्धिक परम्पराका रूपमै लिइने विषय हो। नेपालको शान्ति प्रक्रियासँगै जारी रहेको नेपाली राज्यको इतिहास पुनर्लेखन गर्ने काम पनि निकै गहन र दूरगामी महत्त्वको छ। यसले हामीले बुझ्दै आएको नेपालको इतिहासको एकांगी र सतही व्याख्यालाई फेर्दैछ। साहित्यका मानकहरू भत्काएको छ, नयाँ स्थापित गर्दैछ। नेपालभित्रका विभिन्न सांस्कृतिक पक्षलाई नयाँ समयको चेतले पुनर्व्याख्या गर्ने अवसर देखाएको छ। प्रश्न गर्न सिकाएको छ।
यो प्रक्रियाले दीर्घकालीन रूपमा राज्यप्रति सबै सांस्कृतिक समूहको अपनत्व घटाउने होइन, बढाउनेछ।
कसको ज्ञानलाई ज्ञान मान्ने र कसकोलाई नमान्ने भन्ने 'ज्ञानको राजनीति' मा पनि नेपाली समाजमा चर्चा भइरहेको छ। कसले लेखेको इतिहासलाई इतिहास मान्ने, कसकोलाई नमान्ने भनेर खुलेआम विमर्श भइराखेको छ। मेरो विचारमा यी सबै बौद्धिक परम्परालाई विस्तारित गर्ने अभ्यासहरू हुन्।
पछिल्लोपटक हाम्रो राजनीतिलाई धर्मनिरपेक्षताको जुन बौद्धिक परम्पराले डोर्याएको छ, त्यो अर्को महत्त्वपूर्ण पक्ष हो।
अर्थतन्त्र र विकासका दृष्टिले हामी कतिपय मुलुकको तुलनामा पछाडि छौं होला, तर धर्मका आधारमा राजनीतिक शक्ति आर्जन गर्ने दलहरूको दबदबा रहेका देशभन्दा बौद्धिक परम्पराका दृष्टिले धर्मनिरपेक्ष नेपाल धेरै अगाडि छ भन्ने लाग्छ।
राजनीतिक विचार पनि बौद्धिक इतिहासको एउटा महत्त्वपूर्ण पाटो हो।
नेपाली समाज बौद्धिक रूपमा कहाँ छ भनेर अरू लोकतान्त्रिक मुलुकहरूसँग तुलना गर्दा — धर्मनिरपेक्षता, समावेशिता, सहभागितामूलक लोकतन्त्रमाथिको हाम्रो विश्वास र पछिल्ला वर्षहरूमा त्यसको प्रयोगका कारण हाम्रो स्थान धेरै नराम्रो देखिँदैन। कतिपय देशका राजधानीहरूमा हुने बौद्धिक-सांस्कृतिक गतिविधि र सार्वजनिक 'डिस्कोर्स' हरूको आयाम र स्तरलाई काठमाडौंका गतिविधिसँग तुलना गर्दा पनि हामी अहिलेसम्म त्यति पछाडि छैनौं।
तर यतिले मात्र नेपालको आजका चुनौती थेग्न हामी सक्छौं?
संसारमा जसरी मानिसहरू एउटा मुलुकबाट अर्को मुलुकमा चलायमान भएका छन्, जसरी संसारभरकै मानिसहरू व्यक्तिगत सुख र प्रगतिका लागि निसंकोच एउटा मुलुक छाडेर अर्कोमा बसिरहेका छन्, त्यसले नेपालमाथि पर्ने दबाब के हो?
यी पेचिला प्रश्नको उत्तर खोज्ने र यसले ल्याउँदै गरेको जटिलता चिरेर नेपालीलाई नेपालको भविष्यप्रति आश्वस्त तुल्याउन सक्ने बौद्धिक क्षमता भएको नेतृत्व हामीसँग छ त?
पक्कै छैन।
त्यसैले समाजलाई अगाडि लैजान, राजनीतिक दलहरूमा अहिले रहेका कल्पनाशून्य नेतृत्व बदल्न जरूरी छ।
कम्तीमा पनि बौद्धिक चेतनाका हिसाबले समाजभन्दा पछाडि होइन, अगाडि रहेका व्यक्तिहरू दलको नेतृत्वमा आउन जरूरी छ, ताकि उनीहरूले समाजसँग राष्ट्रका पेचिला मुद्दामा दृष्टिकोणसहित संवाद गर्न सकून्। समाजलाई नेतृत्व दिन सकून्।
होइन भने परिवर्तनका नाममा एउटा राजनीतिक पुस्ताको ठाउँमा अर्को त आउला, एउटा पुरानो दलको ठाउँमा कुनै नयाँ आउला, तर त्यसरी आउने नयाँले समाजलाई डोर्याउने सामर्थ्य राख्दैनन्।
बौद्धिक इतिहासको कसीमा नेपाललाई हेर्दा आजका दिनमा सबभन्दा खट्किने विषय राजनीतिक नेतृत्वमा देखिएको कल्पनाशीलता र वैचारिक प्रखरताको चरम अभाव नै हो।
(विष्णु सापकोटा हाल क्याम्बोडियास्थित एक अन्तर्राष्ट्रिय संस्थाको नेतृत्व गर्छन्। उनले केही समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन पनि गरेका थिए।)
***
अंक १- नेपाल कति बन्यो, कति बिग्रियो (लेखक- अमित ढकाल)
अंक २- के देश कसैले बिगार्न वा बनाउन सक्छ? (लेखक- चैतन्य मिश्र)
अंक ३- हाम्रो गिलास आधा भरी, आधा किन रह्यो खाली? (लेखक- युवराज खतिवडा)
अंक ४- औद्योगिकीकरण गर्न नसक्दा पिछडिएको नेपाल (लेखक- समीर खतिवडा)
अंक ५- धेरै प्रगति गरेको वित्तीय क्षेत्रमा अहिले किन देखिँदैछ संकट? (लेखक- विश्वास गौचन)
अंक ६- चार दशकका जनगणनाले देखाएको नेपालको चित्र (लेखक- मुराहरि पराजुली)
अंक ७- सेतोपाटी बहसमा छुटेका केही प्रश्न (लेखक- सञ्जीव पोखरेल)
अंक ८- नेपाल– आशा र निराशाको ढिकीच्याउँ (लेखक- दोभान राई)
अंक ९- यस्तो पनि देश! (लेखक- दुर्गा कार्की)
अंक १०- स्कुले विद्यार्थीदेखि अर्थसचिव हुँदासम्म मैले देखेको परिवर्तन (लेखक- शंकरप्रसाद अधिकारी)
अंक ११- नेपाल कति सप्रियो, कति बिग्रियो– हेर्ने प्रमुख ४ आधार (लेखक- सीके लाल)
अंक १२- काठमाडौं किनाराको देश (लेखक- बिना थिङ)
अंक १३- हुम्लामा देखिने नेपाल (लेखक- कुन्साङ)