नेपाल कति बन्यो, कति बिग्रियो- १२
थाकेको घाम नागार्जुनपल्तिर अलप भइसकेको छ। क्षितिजमा डढेलो लागेको छ। बादलका टुक्राहरू मानौं सुनसँग रङ सापट मागेका हुन्, पहेँलै भएका छन्।
कौसीमा छु म। कहिले दक्षिणतिर हेर्छु, सहर उस्तै देखिन्छ, जस्तो पहिले थियो। कहिले उत्तर हेर्छु, शिवपुरीको यो पाखो भने धेरै बदलिएको छ।
कस्तो थियो, कस्तो भयो — मनमा स्मृतिको लहर दौडिन्छ। लहरमा लहरिँदै म पुग्छु दुई दशकअघि।
ओहो! म त हेटौंडाको सानो बजारबाट काठमाडौंको ठूलो सहरमा आइपुगेकी थिएँ, मनभरि सपना बोकेर।
लागेको थियो — यो सहरमा अझ फराकिलो बाँच्नेछु। काठमाडौं नामक समुद्रबाट आफ्ना लागि एक अञ्जुली अवसर उबाउनेछु। जीवनलाई सुगम मार्गमा हिँडाउनेछु। कुनै एउटा गन्तव्य भेट्टाउनेछु जहाँ म हेटौंडामा भन्दा पनि सुखी हुनेछु।
त्यो मिश्रित बजारमा रहरलाई बाध्यताले खुम्च्याएर हिँड्ने किशोरीले यो ठूलो सहरको आयतनमा फैलिने अवसर पाउनेछे भन्ठानेकी थिएँ मैले। आखिर टेलिभिजनमा देखिने काठमाडौं, रहरको काठमाडौं थियो। फिल्ममा श्रीकृष्ण श्रेष्ठ र झरना थापा नाच्ने 'नौतले धरहरा' भएको काठमाडौं सुकिलो देखिन्थ्यो। लाग्थ्यो — यहाँ कोही कसैले पनि रहरलाई बाध्यताको साङ्लोले बाँध्नुपर्दैन।
तर जब आइपुगेँ, थाहा पाएँ — म त बजारबाट झन् सानो गाउँमा आइपुगेकी रहेछु। काठमाडौंनेरको गाउँमा। म यस्तो स्थानमा आइपुगेकी थिएँ जसलाई चार भञ्ज्याङपल्तिरकाले काठमाडौं नै ठान्थे। काठमाडौंले भने यो ठाउँ छ भन्ने पनि सम्झिँदैन थियो।
यो त्यो ठाउँ थियो जहाँबाट 'काठमाडौंको नौतले धरहरा' सानो र बुच्चे देखिन्थ्यो। जहाँ सदियौंदेखि लम्पसार परेका नारायणलाई ब्युँझाउन दिनहुँ भक्तजनहरू घन्टी बजाउँथे। डेनी डेन्जोङ्पाले 'कान्छीलाई राख्ने मोटर' तलै नारायणथानमा रोकिन्थ्यो। त्यहाँबाट टिनले छाएका ससाना बुकुरा पसललाई दायाँ, बायाँ पार्दै गोरेटो बाटो हुँदै खेतैखेत उकालो लागेपछि यो गाउँ आउँथ्यो। मैले टेलिभिजनमा देखेको काठमाडौं यो थिएन।
यो नदेखेको काठमाडौंमा म २०५२ सालको अन्तिम याममा आइपुगेकी थिएँ, एउटा नयाँ परिचय बोकेर। त्यो परिचय जहाँ मेरो नामअगाडि कसैको नाम आउँथ्यो।
ऐँसेलु र चुत्रोका काँडेदार झ्याङ हुँदै बगेका नागबेली गोरेटोहरू। त्यही गोरेटो हुँदै उक्लिँदै जाँदा फाट्टफुट्ट भेटिने सादा जस्तापाताका धुरी। ती धुरीबाट निस्किने पिरो धुवाँ। हरेकजसो आँगनमा बिसाइएका दाउरा र पत्करका भारी। हरेकको गोठमा बाँधिएका गाईभैंसी र बाख्रा। त्यसैको एक कुनाको ओदानमा बसालिएका फोसी र पेटासी। मैले अबको बाँकी उमेर भोग्ने गाउँ यही थियो।
आइपुगेको हप्तादस दिनजतिमा म हेटौंडामा जस्तै टिसर्ट–पाइन्ट लगाएर कुवामा पानी उबाउन गएँ। उताजस्तो धारा यहाँ नहुँदो रहेछ।
'छोरी-बुहारीले पनि पाइन्ट लगाउँछन् त!'
'छ्या कस्ती लाज नभकी!'
'बुहारी अबदेखि पाइन्ट नलगाऊ।'
पँधेरादेखि घरसम्म भेटिनेहरूले कटाक्ष गरे। उपदेश दिए। नभनून् पनि कसरी? यहाँका महिलाहरूको पहिरन नै धोती-सारी, लुंगी र ब्लाउजबाहेक अरू थिएन। जिन्स पाइन्ट त के, उनीहरूको कल्पनामा कुर्ता-सलवार पनि थिएन। म्याक्सी पनि थिएन। उनीहरू टिसर्ट-लुंगी लगाएरै बडेबडे रूख चढ्थे। घाँसदाउरा, मेलापात मात्र होइन, पर क्षितिजसरी टाढा देखिने काठमाडौं पुग्दा पनि त्यही पहिरनमा हुन्थे।
अधिकांश लोग्नेमानिस दौरा-सुरूवाल लगाउँथे। केही जागिरेहरू सर्ट र कपडाको पाइन्टमा भेटिन्थे। सुरूमा मैले पाइन्ट त्याग्न सकिनँ। अझ भनौं, कहिल्यै नलगाएको लुंगी मेरो जिउमा अडेन। अटेरी भएँ म। तर घर, छिमेक, सारा गाउँकै एकैखाले पहिरन थियो। मेरो अटेरीपन एउटा बिन्दुमा पुगेर पराजित भयो। मेरा प्रिय जिन्स पाइन्ट र अम्ब्रेला फ्रकहरू त्यही ट्यांकामा थन्क्याइदिएँ जहाँ रहरहरू पहिल्यै थन्किइसकेका थिए। र, म पनि यहाँका अरू 'आइमाई' जस्तै टिसर्ट–लुंगीमा जंगल धाउन थालेँ। यहाँ जंगल नजानुको विकल्प थिएन।
यहाँका मानिसहरूको घाम गोठबाट उदाउँथ्यो र गोठमै अस्ताउँथ्यो। र, दिन धान रोप्न, खेत गोड्न, कोदोबारीको झार केलाउन व्यस्त रहन्थ्यो। खेतबारीका लागि मल चाहिन्थ्यो। त्यसको लागि गाईबस्तु। गाईबस्तुका लागि घाँस, पत्कर। घाँस, पत्करका लागि जंगल। साइकलको पांग्राजस्तो गोलगोल घुमेको यहाँको दैनिकीको एउटा तार फुत्किएर सहरतिर तेर्सिएको थियो। त्यो थियो — रक्सीका जर्किन बोकेर उँधो झर्नेको लश्कर।
मलाई उदेक लाग्थ्यो — यो कस्तो दैनिकी हो जुन गोलगोल घुमिरहेको छ। जहाँ कुनै सम्भावनाको ढोका देखिँदैन। पर पुग्ने बाटो भेटिँदैन।
अहँ, मैले चाहेको जीवन यस्तो कदापी थिएन। तर चाहनु र नचाहनुको बीचमा अभावको ठूलो समुद्र थियो। त्यो समुद्र पार गर्न आम्दानीको नौका खियाउनुपर्थ्यो। त्यसका लागि मैले काम गर्न पाउनुपर्थ्यो।
काम मसँग नभएको त कहाँ हो र? बिहानदेखि बेलुकासम्म म काममै अल्झिरहेकी हुन्थेँ। फुर्सद कतै कुनै शब्दकोशमा विश्राम गरिरहेको थियो। मलका भारी खेतमा पुर्याउनु, गाईबाख्राका गोठाला गर्नु, भातभान्सा तयार पार्नु, दाउराको चाङ लाउनु, पत्करका भारी कस्नु। काम र फेरि पनि काम।
तर यो यस्तो काम थियो जहाँ कहिल्यै महिना मर्दैन थियो। महिना नमर्ने काममा कहाँ तलब, ज्याला हुन्छ र? यो मेरो मात्र होइन, यहाँका सबैजसो महिलाको कथा थियो। बस्तीका आधाउधी घरपरिवारले आधा वर्ष धान्ने धान फलाउँथे। तर त्यही धान मिलमा कुटाउने पैसा तिनीहरूसँग हुँदैन थियो। बरू धान कुटिदिएबापत चार-पाँच माना चामल अथवा ढुटो नै मिल साहुलाई दिइराख्थे। जसोतसो कसौंडीमा भात त छड्किन्थ्यो। पेटको भोक त मर्थ्यो। तर अरू आवश्यकता जीवितै रहन्थे।
कहिलेकाहीँ जिन्दगीदेखि उच्चाट लागेका बेला म विगततिर फर्किन्थेँ — अहो! मैले भोगिरहेको 'काठमाडौं सहर' भन्दा त हेटौंडा नै सहरिया थियो। जहाँ म लामो अम्ब्रेला फ्रक, हिलवाला जुत्ता र सुनौलो रङको लामो सिक्री भएको साइड-ब्याग बोकेर बजार डुल्थेँ। ससाना रहर पूरा गर्न आमालाई गुहार्थेँ। यहाँ त न गुहार्नका लागि आमा थिइन्, न थियो रहरको ताला उघार्ने साँचो राखेको कुनै पेटारी।
बाध्यताले मलाई विकल्पको झ्याल उघार्न लगायो। देखेँ — यहाँका महिलाहरू एकजोर चप्पल, एउटा नयाँ लुंगी र नारायणथानमा बर्सेनि लाग्ने एकादशी मेला भर्न रक्सी पार्थे। हेर्दाहेर्दै म पनि रक्सी पार्ने 'भोटेनी' बनेँ।
पाठकवृन्द नझुक्किनुहोस्, तपाईं सरदार भीमबहादुर पाँडे वा महेशचन्द्र रेग्मीकृत इतिहासको किताब पढिरहनुभएको छैन। यो अस्ति भर्खरै, २०५० को दशकको कुरा हो। संसदमा महिलाहरू पुगिसकेका थिए। यहीँ गाउँ पर्ने निर्वाचन क्षेत्रबाट सहाना प्रधान अनि अहिलेकी निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारी संसद सदस्य थिए।
टेलिभिजनमा देखिन्थ्यो — काठमाडौंतिर महिलाहरू अत्याधुनिक पोसाकमा कार्यालय गइरहेका। मिनिस्कर्ट लगाएर सारंगा श्रेष्ठ नाचिरहन्थिन् — लाइदेऊ, लाइदेऊ माया लाइदेऊ, ए संगीता!
सारंगा नाच्ने काठमाडौं टाढा थिएन। बिहानै देखिन्थ्यो। बेलुकै देखिन्थ्यो। जति नहेरूँ भन्यो, त्यसको चमकधमक औंसीको रातमा जुनकिरीको सभाजस्तो टिलपिल टिलपिल गरिरहन्थ्यो। यता भने २५ वाटका बल्बको उज्यालोमा यो शिवपुरीको काख मधुरै हुन्थ्यो।
काठमाडौं आँखाले नजिक थियो, पहुँचले टाढा। काठमाडौंको कार्यालयमा काम गर्न यहाँका महिलासँग न सर्टिफिकेट थियो, न सीप, न सम्पर्क सूत्र। गोठ र जंगलको दैनिकीबाट समय उबारेर यहाँका महिला रक्सी पार्थे र जर्किन बोकेर महाराजगञ्जसम्म पुग्थे, नारायणथानबाट मिनिबस चढेर। त्यो लश्करमा म पनि थपिएँ।
सात पाथी गहुँ उधारो लिएँ। त्यसको जाँड बनाएँ। दुई हप्तापछि छिप्पिएको जाँडको रक्सी पारेँ। जर्किन बोकेर घरबाट निस्किएँ। रक्सीको जर्किन बोकेर हिँड्न पनि कहाँ सजिलो थियो र! हिँड्ने बाटो त चुत्रोको काँडेदार झ्याङले ढाकिएको थियो। उबडखाबड गोरेटोमा पैदल यात्रा गर्नुपर्दा गोडा थाक्थे।
जसोतसो नारायणथान बसस्टपसम्म पुगेपछि मिनिबस चढिन्थ्यो। कोचाकोच मिनिबसमा दुई गोडाले रक्सीको जर्किन च्यापेर, एक हातले माथिको डन्डी समाएर उभिएपछि गुड्ने यात्रा सुरू हुन्थ्यो। तर बाटो कहाँ गतिलो थियो र! सिंहदरबारदेखि तन्किएको कालोपत्रे सडक बाँसबारी आइपुग्दा ग्राभेल सडकमा सीमित हुन्थ्यो। त्यही ग्राभेल सडक पनि नारायणथान आइपुग्दा लंगौटी बन्थ्यो। त्यही लंगौटी बाटो पनि बस्तीतिर उकालो लाग्दा खेतको आलीमा फेरिन्थ्यो।
रक्सीका जर्किन बोक्ने त्यो बाटोले मेरो जीवनका नमिठा क्षणहरू साँचिराखेको छ। त्यही बाटो त थियो जहाँ त्यो बिहान आएको थियो।
२०५४ सालको बिहान।
पहिलोपटक म आमा बन्दै थिएँ। व्यथा सुरू भइसकेको थियो। व्यथा लम्बिँदै गएपछि अस्पताल जाने निधो गरियो। नारायणथानदेखि मेरो घरसम्मको नक्सामा देखिने तर स्पष्ट नभेटिने बाटोमा रिजर्भ गरिएकै ट्याक्सी पनि आउने सम्भावना थिएन। करिब पन्ध्र मिनेटको पैदल दुरी हिँड्दा ठाउँठाउँमा म थुचुक थुचुक भएँ। नारायणथान पुगेर ट्याक्सी चढेको पाँच मिनेट मात्र भएको थियो, बच्चा जन्माइहालेँ। ट्याक्सी अस्पतालतिर नलगी घरतिर फर्काइयो।
'जाऔं न गुरूजी, बाटो अलि अलि असजिलो छ। आँट गर्नुभयो भने लान सकिन्छ। सुत्केरीलाई यो आधा बाटोमा झारेर कसरी घर पुर्याउनू,' परिवारका सदस्यहरूले अनुनय गरे।
'काँ त्यसो भनेर हुन्छ? एक त मेरो ट्याक्सी फोहोर पारिदिनुभयो तपाईंहरूले। अर्को यस्तो बाटै नभएको बाटोमा ट्याक्सी गुडाऊ भन्नुहुन्छ। मेरो ट्याक्सी बिग्रियो भने तपाईंहरूले बनाइदिनुहुन्छ? ल ल ओर्लिनुस्। अनि ट्याक्सी पनि सफा गरिदिनुस्।'
मलाई नवजात शिशुसहित बाटैमा ओरालियो। साल पनि नखसेको एउटी सुत्केरी हिँडेर घर फर्किनुपरेको त्यो जीवन 'कान्छीलाई घुमाउने काठमाडौं सहर' को पक्कै थिएन। त्यसो भए कुन समय-भूगोलमा थियो यो गाउँ? अहिले पनि बेलाबखत म आफैंसँग सोध्छु, जबजब समाचारमा कुनै महिला सडकमै सुत्केरी भएको समाचार पढ्छु। कुनै दिन म पनि त्यस्तै नछापिएको एक समाचार थिएँ।
फित्ता-टेपले नाप्दा टिचिङ अस्पताल धेरै टाढा थिएन, त्यही आठै किलोमिटर पर। तर नारायणथान बसस्टपदेखि टिचिङ अस्पतालभन्दा लामो दुरी थियो क्षमताको। यहाँका मान्छेलाई पनि अस्पताल चाहिन्छ, कसैले सोचेन। संसदको ध्यानाकर्षणमा कर्णाली दुर्गम भएको चर्चा हुन्थ्यो। यो भेगमा पनि दुर्गम गाउँ छ कसले सोच्थ्यो?
त्यसो त यहाँ पनि थियो हेल्थपोस्ट। दुई किलोमिटर उँधो झर्दा भेटिने हेल्थपोस्टमा सिटामोल, जीवनजल र घाउ, खटिरामा लगाउने झोल औषधिभन्दा अरू पाइँदैन थियो। महिला स्वास्थ्य स्वंयसेविकाहरू पोलियो थोपा खुवाउन कहिलेकाहीँ बस्तीतिर उक्लिन्थे। बच्चालाई दिइने अन्य खोपका लागि हेल्थपोस्ट नै धाउनुपर्थ्यो। अन्य खाले सामान्य किसिमको बिमारीको उपचार समेत नभएको हेल्थपोस्ट भनिने उपस्वास्थ्य चौकीमा मैले प्रसूति सेवा पाउने त गुञ्जायस नै थिएन।
जति टाढा थियो अस्पताल, त्योभन्दा पर थियो त्यहाँसम्म जानुपर्छ भन्ने चेतना। सुत्केरी भएको हप्तादिनदेखि मेरा दुवै स्तन गानिन थाले। एक-दुई दिनपछि गानिएका स्तनमा पिप भरिन थाल्यो। एकातिर आलो सुत्केरी, अर्कोतिर पिप भरिएको स्तन। म ज्वरो र असह्य पीडाले थला परेँ।
मलाई सञ्चो गराउन एक जना वृद्धलाई घरमा ल्याइयो। उनी गाउँका जानेमानेका धामी रहेछन्। उनले मलाई भित्तामा अडेस लागेर बस्न र चौबन्दी खोल्न भने। त्यसपछि पिप भरिएको मेरा स्तनमा दुम्सीका लामा काँडाले घोपेर प्वाल पारे। लामा नंग्रा भएका हातले स्तन निचोरेर प्वालबाट पिप निकाले। दुखाइ नाप्ने मिटरको नाम के हो? मलाई थाहा छैन। यत्ति याद छ, त्यो क्षण म चिच्याएँ। छट्पटाएँ। रोएँ।
त्यस दिन उनले मेरो स्तनमा गहिरो प्वाल बनाएर सुत्लो कोचिदिए। अर्को दिन आएर त्यो सुत्लो निकालेर उसैगरी हातले निचोरेर पिप निकाले। पीडाको यो सिलसिला तीन-चार दिन चलिरह्यो। व्यथा भने कम हुनुको साटो झन् बढ्दै गयो। एकातिर नवजात शिशु भोकले रून्थ्यो, अर्कोतिर पीडाले म।
'सप्पैको व्यथा यही धामीले निको पारेको छ, यसैको मात्र किन निको नभएको?,' अस्पताल नलगेको गुनासो मैले गर्नुपर्ने थियो तर उल्टै मैमाथि गुनासो भइरहेको थियो। आठै किलोमिटर परको अस्पतालसम्म पुर्याउने चेतना यहाँका मानिसमा पलाइसकेको थिएन।
पाठकवृन्द, यो बाबुराम आचार्य वा महेशराज पन्तले लेखेको इतिहास होइन। नेपाल टेलिभिजन हेरिने, रेडियो नेपाल सुनिने, कान्तिपुर दैनिक पढिने त्यो समयमा नछापिएको समाचार हो यो। युगको उमेर क्यालेन्डरमा मात्र होइन, भोगाइहरूमा पनि नापिने रहेछ। चार भञ्ज्याङभित्रको यो खाल्डो एकैपटक दुई युग बाँचिरहेको थियो।
'नौतले धरहरा' भएको काठमाडौं उदारीकरण, विकास, प्रजातन्त्र, समाजवाद यस्तै यस्तै बहसमा अल्झिरहेको थियो। र, धरहरालाई बुच्चो देख्ने काठमाडौं सुत्केरी महिलालाई अस्पताल लैजाने चेतना पनि नभई बाँचिरहेको थियो।
चेतना होस् पनि कसरी? गाउँमा साक्षर मानिस खोज्दा हातका औंलामै खत्तम हुन्थे। एसएलसी गरेकाहरू भेट्टाउनु सिला खोजेजत्तिकै थियो। हालको बुढानिलकण्ठ नगरपालिका अन्तर्गतका वडा नम्बर १, २, ३, ५ र ६ लाई त्यति बेला चपली–भद्रकाली गाउँविकास समिति भनिन्थ्यो। २०५६ सालमा यस गाउँ विकास समितिभरिबाट एसएलसी उत्तीर्ण गर्ने सात जनालाई गाविसका अध्यक्षले भव्य कार्यक्रम गरी सम्मान नै गरेका थिए।
होस्, कति कहनु त्यो दुःखको इतिहास! अणुबमले ध्वस्त सहर त फेरि सुन्दर भएको छ भने यो तामाङवासी तौलुङलाई लुडविग स्टिलरको 'साइलेन्ट क्राई' का दुःखी नेपाली हुन के अभिशाप परेको थियो र? 'जो पनि चढ्ने' साझा बस चढेर आइपुग्यो विकास हाम्रो गाउँमा पनि।
कुनै गैरसरकारी संस्थाको चित्तमा घाम लागेछ, २०५९ सालतिर। यो गाउँका महिलाहरूलाई अक्षर चिन्ने बनाउन प्रौढ कक्षा सञ्चालन गर्ने भयो। हेटौंडाबाट आउँदा नै एसएलसी पास गरिसकेकी थिएँ मैले। त्यो सर्टिफिकेट बल्ल काम लाग्यो। म तीनमहिने प्रौढ कक्षाकी 'मास्टर्नी' भएँ।
साँझपख गाउँकै सामुदायिक विद्यालयको एउटा कोठामा ट्युबलाइटको उज्यालोमा प्रौढ कक्षा चल्न थाल्यो। सुरूसुरूमा त गाउँका सबैजसो महिला आए। लाग्थ्यो, सबैलाई अहिलेसम्म नचिनेको अक्षर चिन्नु छ। दुई-चार शब्द आफैंले लेख्नु छ। केही नभए पनि घडी हेर्नसम्म जान्नु छ। पसलको हिसाबमा नठगिने बन्नु छ। तर दिनभरिको कामको थकान र रोजीरोटीको बाटो छिचोल्दा छिचोल्दै धेरैले साँझपखको प्रौढ कक्षा आउने बाटो बिर्सिन बाध्य भए।
तेस्रो महिनाको अन्त्यतिर आइपुग्दा प्रौढ कक्षाका विद्यार्थी जम्मा तीन जना थिए। तिनैमध्ये एक थिई पाल्मो (परिवर्तित नाम) तामाङ। उमेर २५ वर्ष।
मैले पाल्मोलाई सोधेकी थिएँ, 'कहिल्यै स्कुल पढ्न गएनौ? घरनजिक स्कुल थिएन र!'
उसले भनेकी थिई, 'स्कुल दुई किलोमिटरको दुरीमा थियो। बाउले स्कुल भर्ना पनि गरिदिएकै हुन्। म स्कुल पनि गएकी हुँ। तर स्कुलमा पर्वते बोल्ने, आफूलाई त्यति नआउने। सरमिसले पढाएको केही बुझिनँ। मलाई पढ्नभन्दा बाख्रा चराउन सजिलो लाग्यो। त्यसपछि गोठाला जान थालेँ। त्यसरी गोठाला जाँदा पहिलो दिन त बाउले सिस्नुपानी लगाएकै हुन्। दोस्रो दिनमा भने एउटा पाठी पेवा भनेर दिए र गोठालोमा खानलाई खाजा पोको पारिदिए। त्यसपछि मैले कहिल्यै स्कुलमा पाइला टेकिनँ।'
पर्वते भाषाको अग्लो बार पाल्मोले मात्र नाघ्न नसकेकी होइन। पछि गाउँकै सामुदायिक विद्यालयमा पढाउन थालेपछि थाहा पाएँ — पर्वते भाषा कति ठूलो तगारो रहेछ।
अधिकांश विद्यार्थी तामाङभाषी थिए। नियमित जिन्दगीमा तामाङ नै बोल्ने भएकाले पर्वते भाषा कतिले त ठ्याम्मै बुझ्थेनन् भने कतिले अलि अलि बुझे पनि शुद्धसँग उच्चारण गर्न र लेख्न सक्दैन थिए। उनीहरूको जिब्रोमा तामाङ भाषा थियो। किताबमा भने पर्वते। जिब्रो र किताबको भाषाबीचको द्वन्द्वमा परेर अधिकांशले पाँच कक्षा नपुग्दै पढाइ छोड्थे। त्यसैले, सिंगो गाउँ उज्यालोमुनिको अन्धकारमा बाँच्न अभिशप्त थियो। यो अँध्यारो यति खतरनाक थियो, जसले आँखै अगाडिको सुन्दर भविष्य समेत देख्न दिइरहेको थिएन।
पाल्मो पनि त्यही अन्धकारको बाटो हुँदै छिपछिपे उज्यालो खोज्न आइपुगेकी थिई प्रौढ कक्षामा। तीनमहिने कक्षाले साँवा अक्षर छिचोल्न सक्ने भई। दुई अंकसम्मको सामान्य जोडघटाउ गर्न सक्ने भई। फेरि पनि उसको जिन्दगीको हिसाब मिल्नै सकेन। अभाव गुणन भएर हेमानको हुँदै गयो।
अभावको भाव बुझेर पाल्मोको लोग्ने खाडी मुलुक छिरे। बिस्तारै गाउँका अरू अरू पनि छिरे। खाडी नछिर्नेहरू स्नुकर हाउस छिरे। डान्सबार छिरे। स्नुकर हाउस र डान्सबार छिर्ने रकमको जोहो भने यसै भएको थिएन। रकमको जोहो भएको थियो, पुर्ख्यौली जमिनबाट हात धोएर।
पचासको दशकको आखिरीतिर पुग्दा देश द्वन्द्वको चपेटामा नराम्ररी परेको थियो। बिहानको समाचार मृत्युको आँकडाबाट सुरू हुन्थ्यो। र, साँझ अर्को नमिठो समाचारको अत्याससँगै सकिन्थ्यो। चार भञ्ज्याङपल्तिर मच्चिएको द्वन्द्वले मानिसहरूलाई लखेटेर भूपि शेरचनको यो 'चिसो एस्ट्रे' मा ल्याइदियो।
आफ्नो घरगाउँ छोडेर आउनेहरूसँग काठमाडौं रिङरोडभित्र जमिन किन्न सक्ने क्षमता थिएन। तिनका आँखा शिवपुरी डाँडाको यही उपेक्षित पाखोमा पर्यो। त्यसको फाइदा भू-माफियाहरूले उठाए। आन्दोलनको रापसँगै दसवर्षे द्वन्द्व टुंगिने बेलासम्म आइपुग्दा यहाँका अधिकांश मानिसका खेतीयोग्य जमिन हातबाट फुत्किन सुरू भइसकेको थियो। यहाँका रैथानेलाई नोट चाहिएको थियो। बाहिरबाट आउनेलाई जमिन। अनि भू-माफियालाई कमिसन।
तातो खिर छेउछेउबाट खान सुरू गरेजस्तै उनीहरूले बेसीतिरका जमिन किन्न थाले। कहिलेकाहीँ घरको कौसीबाट त्यो बेसी हेर्छु, अहिले जहाँ पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घर छ, त्यहाँ त ठूलो फाँट थियो। खेतैखेत। कुलैकुलो। ढुंगैढुंगा। ती हेमानका घरजत्रा ढुंगा कहाँ गए होलान्? एक दशकभित्र यो भूगोलको नापनक्सा यसरी परिवर्तन भयो, परिवर्तन भन्ने शब्द पनि छक्कै पर्यो।
बेसी र सडक छेउका खेत नम्बरी जग्गा बनेर बिक्न थालेपछि भित्री जमिनलाई हलुंगेको भाउमा बेच्न मानिसहरू बाध्य भए। पुस्तौंपुस्ताले पसिना पोखेको जमिन बेचेर तिनले आउने पुस्ताका लागि भविष्य किन्ने अठोट गरे। त्यसरी आएको नगदले केहीले आरसिसी ढलान घर बनाए। केहीले आरएक्स बाइक किने। केहीले बैंकमा राखे। केही ठमेलतिर डिस्को नाच्न गए।
हेर्दाहेर्दै पोल्टाको भुटेको मकैजसरी रूपैयाँ सकिन थाल्यो। सत्तरीको दशकको सुरूआतसम्म आइपुग्दा यहाँका अधिकांश मानिससँग न जमिन थियो, न रूपैयाँ। पैसा जोगाउन हिसाब जान्नुपर्ने रहेछ। हिसाब जान्न गणित। गणित जान्न पढाइ। तर राजधानीको कोखैका मानिसहरू लामो समय शिक्षाको घामबाट बञ्चित हुनुपर्दा ओइलाएका बिरूवाजस्ता थिए। न सीप थियो, न ज्ञान।
२०५४ सालको स्थानीय सरकारले भौतिक विकासमा बल दिए पनि सीप विकास र बौद्धिक कर्मयोग्य जनशक्ति निर्माणका लागि शिक्षामा कुनै लगानी गर्न सकेन। 'आफ्नो गाउँ आफैं बनाऔं' अभियानले कतैकतै बाटो खोल्ने र खानेपानीको पाइपलाइन विस्तार थालेको थियो। तर त्यो पनि द्वन्द्वको आगोमा डढ्न पुग्यो। सिंगो देश अनिश्चयको भूमरीमा मडारिरहेको बखतमा यहाँका मानिस मात्र मुक्त हुने सम्भावना नै थिएन। गरिखाने खेत बेचेर ट्वाइलेट भएको घर बनाए पनि चुलो बाल्ने आगो खोज्न यहाँका युवाहरू देश छोड्न तयार भए। मेरो परिवार पनि यसबाट अछुतो रहेन।
रेमिटेन्सका उपयोगिताबारे सरकारी शास्त्रमा के के लेखिएको छ, म जान्दिनँ। यहाँका युवा भने जेका लागि परदेशिएका थिए, त्यही गरे। तिनले पठाएको पैसाले घरको चुलो बल्यो। हिजो टाढा भएको अस्पताल नजिक भयो। गाउँमा निजी विद्यालय खुल्न थाले। तामाङका सन्तान पनि टाइ, पेटी, कालो जुत्ता लगाएर 'बोर्डिङ स्कुल' जान थाले।
तर महँगी पनि त सगरमाथा चढिरहेको थियो। रहरका प्वाँख पलाएपछि आवश्यकता पनि बढ्न थाल्यो। खेत बेचेपछि चामल किन्नैपर्यो। केटाकेटी पढाउन 'फी' तिर्नैपर्यो। सरकारी अस्पताल धाएर सकिँदैन थियो, नजिकैको मेडिकल जानैपर्यो। परदेशबाट परदेशिएकाहरूले पठाएको पैसाले नपुग्ने भयो। गाउँमा महिला थिए जसले घर सम्हालिरहेका थिए। तर तिनको मांस र शारीरिक बल उपयोग गर्ने सीप थिएन। लामो समय स्थानीय सरकार नहुँदा तिनको आवाज सुन्ने ठाउँ पनि थिएन।
रेमिटेन्सले मात्र घर नचल्ने भएपछि दैनिक हुने ससाना खर्चका लागि फेरि पनि एउटै विकल्प थियो — उनीहरूले फोसी र पेटासी बसालिरहे। जर्किन बोकेर सहरतिर झरिरहे।
फरक यत्ति थियो, मिनिबसमा दुई गोडाले जर्किन च्यापेर कोचाकोचमा उभिनुपर्ने बाध्यता कम भएको थियो। ठूला बस नारायणथानसम्मै आउन थालेका थिए। बाटो फराकिलो भएको थियो।
यसबीचमा देशमा लोकतन्त्र आयो। संविधान सभा बन्यो। ढल्यो। फेरि बन्यो। सरकार बने, फेरिए। गणतन्त्र आयो। राजा गए। यो गाउँ भने करिब डेढ दशकसम्म उस्तै परिवेशमा रूमलिइरह्यो। फरक यत्ति भयो, खेत मासिने क्रम बढ्दै गयो। गैर-तामाङभाषीको संख्या पनि थपिँदै गयो।
२०७४ को निर्वाचनबाट निर्वाचित स्थानीय सरकारले लामो समयदेखि अवरूद्ध भौतिक विकासलाई निरन्तरता दिन थाल्यो। डाँडाकाँडामा बाटो छिचोलियो। खानेपानीका रिजर्भ ट्यांक बने। पाइपलाइन विस्तार गरेर घरघरमा व्यवस्थित रूपमा धारा पुगे। सामुदायिक भवन, गुम्बा, मठ–मन्दिर निर्माण कार्यले गति पायो। सडकहरू पक्की भए। पक्की सडक छेउछेउमा सोलार बत्तीका लागि पोल गाडिए। त्यही सडक बत्तीमुनिको पिचरोड हुँदै अहिले बजार घरघरमा आइपुगेको छ।
सामुदायिक विद्यालयको भौतिक स्वरूप फेरिएको छ। गाउँमै उपस्वास्थ्य चौकी स्थापना भएको छ जसले घुम्ती सेवा प्रदान गरेको छ। डेढ किलोमिटरको दुरीमा अवस्थित स्वास्थ्य चौकीमा प्रसूति सेवा उपलब्ध छ। एक किलोमिटरको दुरीमा निजी क्लिनिकहरू सञ्चालनमा आएका छन्। अधिकांशको ससानै भए पनि पक्की घर छ। स्थानीयहरूको हातबाट फुत्किएको जमिनमा भने अहिले अग्ला अग्ला भवनहरू ठडिएका छन् जसको गेट सधैं बन्द रहन्छ। डाँडा डाँडामा रिसोर्टहरू खुलेका छन्। तीनतारे होटलहरू सञ्चालनका क्रममा छन्।
बस्तीको घनत्व मात्र बढेको छैन, मिश्रित पनि भएको छ। अब जिब्रोको भाषा बोलेर मात्र काम चल्दैन। पहिले नारायणथानबाट उकालो लागेपछि डाँडैसम्म एउटै टोल थियो। अहिले उही बस्तीमा अनेकौं टोल बनेका छन्। र, तिनले नाम पाएका छन्।
मिश्रित समुदायका मिश्रित केटाकेटी विद्यालय जाने भएकाले त्यहाँ भाषा, संस्कृति अन्तरघुलन भएको छ। अहिले हरेक घरका केटाकेटीहरू आ–आफ्ना अभिभावकका हैसियत अनुसारको विद्यालयमा जाने गरेको पाइन्छ। वयस्कहरूमा पनि ई–साक्षरता बढेको छ। अधिकांश घरमा इन्टरनेट जडान छ। सामाजिक सञ्जालमा मानिसहरूको पहुँच बढेको छ। हरेकजसोको फेसबुक एकाउन्ट र टिकटक आइडी छ।
टिसर्ट-लुंगी स्मृतिको दराजमा कैद भइसकेको छ। यहाँका महिला अचेल टिसर्ट-पाइन्ट लगाएर स्कुटर कुदाउँछन्। महिला समूह गठन भएको छ। समूहबाट ऋण झिक्न पाएका छन्।
साँच्चै फेरियो त यो गाउँ?
हो त, फेरियो!
अनि गाउँका मान्छे?
अस्ति भर्खरै, म स्कुलबाट घर फर्किँदै थिएँ। मेरो पछिपछि पाल्मो पनि आइरहेकी थिई। यसो पछाडि फर्किँदा देखेकी थिएँ मैले। तर मलाई भेट्नै नपरोस् जसरी धिमा गतिले हिँडिरहेकी थिई। म टक्क अडिएँ र फरक्क पछाडि फर्किएँ।
झन्डै झन्डै ठोक्किएलाझैं गरी ऊ पनि अडिई। र भनी, 'झन् मिसले देख्नुहुन्छ भनेर बिस्तारै पछाडि पछाडि हिँडिरहेको।'
'किन र, मैले देख्न नहुने?,' मलाई ताज्जुब लाग्यो। उसले बडेमाको झोला बोकेकी थिई जसमा जर्किन छ भन्ने बाहिरबाटै चिनिन्थ्यो।
'त्यस्तो होइन मिस, मलाई लाज लागेर नि!' घाँटीमा बेरिराखेको सलले मुख छोप्दै उसले भनी।
'लाज चैं किन नि?,' म झन् आश्चर्यचकित भएँ।
'बीस वर्ष बितिसक्यो। प्रौढ कक्षा पढाउने मिस सरकारी स्कुलको मिस भइसक्नुभयो। म भने अझै रक्सीको जर्किन बोकेर हिँडिरा'छु। त्यै भएर लाज मानेको।'
हुन पनि पाल्मोहरू अझै पनि रक्सीकै जर्किन बोकेर हिँड्न बाध्य छन्। समय जहाँ पुगोस्, सडक पक्की बनोस्, घर पक्की बनोस्, फेसबुकमा घुमघाम गरेको फोटो अपलोड गरोस् तर पेट भर्ने बाटो भनेको अहिले पनि रक्सी उद्योग नै हो। उनीहरूसँग अरू सीप पनि त छैन। स्थानीय सरकारले रक्सी उद्योगलाई निरूत्साहित गर्न, आम्दानीको अर्को विकल्प रोज्न भनेर यदाकदा मखमलको चप्पल बनाउने, धुप, अगरबत्ती बनाउने, पोतेका माला बनाउने तालिम दिने गर्छ। तर उत्पादनका लागि पुँजी र उत्पादित सामग्री बेच्ने बजारको अभावमा ती तालिम प्रमाणपत्रमै सीमित हुन्छन्।
दक्ष जनशक्ति उत्पादनमा न स्थानीय सरकारले काम गर्न सकेको छ, न पाठ्यक्रम विकासले त्यस्तो पाठ्यक्रम तयार पार्न सकेको छ।
गाउँमा तीनतारे होटल त खुलेको छ। रोजगारीको अवसर छ। स्थानीय क्षेत्रमा निर्माण भएको होटलका लागि स्थानीय समुदायकै म्यानेजर राख्न लबिङ पनि भएको थियो। तर होटल म्यानेजमेन्टको भार थेग्न सक्ने जनशक्ति समुदायमा उपलब्ध छैन। पढेलेखेका भनिएका हाम्रा युवाहरूसँग लामो समय लगाएर विद्यालय शिक्षा पूरा गरेको खोक्रो सर्टिफिकेट मात्र छ।
बीस वर्षअघि विविध कारणवश पढ्न छाडेकाहरू झन् अप्ठ्यारो अवस्थामा छन्। उनीहरूले न आफूलाई समयानुकूल बदल्न (सीप सिकाइ, दक्षता हासिल) सके, न आफ्नो सुरक्षित क्षेत्र (गाउँ, समुदाय) छोडेर जोखिम मोलेर अन्य क्षेत्र रोजे। उनीहरू न कुनै व्यापार व्यवसाय गरिरहेका छन्, न यस विषयमा स्थानीय सरकार गम्भीर छ।
वास्तवमै बीस वर्षदेखि पाल्मोहरूको आर्थिक जीवनमा कुनै परिवर्तन आएको छैन। महिलाहरूको वृत्तिविकास, सीप अभिवृद्धि, क्षमता निर्माणमा स्थानीय सरकारले दीर्घकालीन योजनासहित काम गर्न नसक्दा महिला समूहबाट झिकेको थोरै ऋण अहिले पनि रक्सी पार्ने गहुँ किन्नै खर्च भएको छ।
मानिसहरू तीन दशकसम्म पनि उही पेसामा संलग्न हुन बाध्य छन्। फरक केही छैन। फरक केही छ भने मानिसहरू दाउरा लिन जंगल जान छाडेका छन्। त्यसको सट्टा ग्यास प्रयोग गर्छन्। खेतबारी नभएपछि गाईबस्तु पनि पाल्न छाडेका छन्। अलि अलि भएको करेसाबारीमा बजारबाट ल्याएको मलखाद प्रयोग गर्छन्।
कहिलेकाहीँ कौसीमा बसी उत्तरतिर हेर्छु — साँच्चै गाउँ त गाउँ रहेन। तर के सहर भयो त?
हरेक सप्ताहन्तमा माथि मुहानपोखरी र शिवपुरी निकुञ्ज घुम्न जाने युवायुवतीको हुल देख्छु। तिनले यहाँको बाटो र बस्तीको तस्वीर खिच्छन्। तर धेरैलाई थाहा छैन — यो रमाइलो, शान्त र सुन्दर भूगोलमा बाँचिरहेका मानिसहरू वर्षौंदेखि अनिश्चयको कोलाहलमा हराइरहेका छन्। तिनको मनको गुम्फन पोखिने ठाउँ छैन।
कोही कसैले त्यो पाल्मोलाई सोधे हुने नि, 'तिम्रो जिन्दगीमा के परिवर्तन आयो?'
अगाडिको पक्की सडक, छेउको अग्लो होटलतिर एउटा उदास मुस्कान फालेर फेरि पनि ऊ जर्किन नै बोकेर ओरालो लाग्ने छे। उतै नारायणथानतिर!
(लेखक बिना थिङका दुई कथासंग्रह 'याम्बुनेर' र 'छुकी' र एउटा कवितासंग्रह 'रातो घर' प्रकाशित छ।)
***
अंक १- नेपाल कति बन्यो, कति बिग्रियो (लेखक- अमित ढकाल)
अंक २- के देश कसैले बिगार्न वा बनाउन सक्छ? (लेखक- चैतन्य मिश्र)
अंक ३- हाम्रो गिलास आधा भरी, आधा किन रह्यो खाली? (लेखक- युवराज खतिवडा)
अंक ४- औद्योगिकीकरण गर्न नसक्दा पिछडिएको नेपाल (लेखक- समीर खतिवडा)
अंक ५- धेरै प्रगति गरेको वित्तीय क्षेत्रमा अहिले किन देखिँदैछ संकट? (लेखक- विश्वास गौचन)
अंक ६- चार दशकका जनगणनाले देखाएको नेपालको चित्र (लेखक- मुराहरि पराजुली)
अंक ७- सेतोपाटी बहसमा छुटेका केही प्रश्न (लेखक- सञ्जीव पोखरेल)
अंक ८- नेपाल– आशा र निराशाको ढिकीच्याउँ (लेखक- दोभान राई)
अंक ९- यस्तो पनि देश! (लेखक- दुर्गा कार्की)
अंक १०- स्कुले विद्यार्थीदेखि अर्थसचिव हुँदासम्म मैले देखेको परिवर्तन (लेखक- शंकरप्रसाद अधिकारी)
अंक ११- नेपाल कति सप्रियो, कति बिग्रियो– हेर्ने प्रमुख ४ आधार (लेखक- सीके लाल)