नेपाल कति बन्यो, कति बिग्रियो- ९
म यो लेख लगभग नलेख्ने निर्णयमा पुगिसकेकी थिएँ।
'नेपाल कति बन्यो, कति बनेन?'
यही प्रश्नमा घोत्लिँदै मैले बीसौंचोटि क्याम्पस जाने उही बाटो ओहोरदोहोर गरिसकेकी थिएँ। हरेक दिन केही न केही सकारात्मक कुराबाट सोच्न सुरू गरौं भन्थेँ तर कसोकसो अन्त्यमा आइपुग्दा हातमा लाग्यो शून्य हुन्थ्यो!
अमेरिकी सहर केमब्रिजका ती सफा अनि फराकिला पैदलमार्ग, व्यवस्थित सडक र ट्राफिक, भरपर्दो सार्वजनिक यातायात, टोलैपिच्छे हरिया पार्क र आँखाले भ्याउन्जेल विश्वविद्यालयको खुला ठाउँ इत्यादि देख्दा आफ्नो मनले 'नेपाल ल क्याम्पस' को एक चोक्टो हरियो चौर सम्झेर दुःखमनाउ गर्थ्यो।
जन्मिन नपाउँदै साइकल वा स्केटबोर्डमा बत्तिँदै हिँडेका केटाकेटी र तिनका निश्चिन्त आमाबाबु देख्दा सहरका भित्री सडकमा हतारिएका सवारीका पाँपाँ-पूँपूँलाई बाटो छोड्दै ब्याडमिन्टन खेल्ने केटाकेटीको माया लागेर आउँथ्यो। पार्टीमा नयाँनयाँ जान थालेको मान्छेले प्लेटमा खानेकुराको चुली लगाएजस्तै गरी म त्यहाँको धुवाँधूलोरहित हावा, आँखाले भ्याउन्जेल हरियोपरियो र खुला ठाउँको भरपुर स्वाद लिन खोज्थेँ।
यता सामाजिक सञ्जाल हेर्यो, देश काण्डमय देखिन्थ्यो। दिनानुदिन नयाँ घटना सार्वजनिक भइरहेका हुन्थे। नजिकै क्षितिजमा आर्थिक संकट मडारिएको देखिन्थ्यो। मानिसहरू आन्द्राभुँडी बाहिर निस्केको बस कच्ची सडकमा जसोतसो घस्रिरहेको भिडिओलाई नेपाल देशको प्रतिबिम्ब मानेर सामाजिक सञ्जालमा सेयर गरिरहेका हुन्थे।
मलाई सबभन्दा दिग्दारी चाहिँ यही भिडिओ आजभन्दा दस वर्षअघि पनि उत्तिकै सान्दर्भिक लाग्थ्यो र दस वर्षपछि पनि उत्तिकै सान्दर्भिक लाग्न सक्छ भन्ने कल्पेर हुन्थ्यो।
विदेशमा हुँदा देश हेर्ने एउटै झ्याल सामाजिक सञ्जाल हुँदो रहेछ। त्यहाँ हेर्दा लाग्थ्यो, समाजमा नैराश्यबाहेक केही पनि छैन। बुढापाकाहरू आजित छन्। युवाहरू क्रोधित छन्। केटाकेटीहरू हुर्किँदै 'यो देशमा बसेर काम छैन' भनेर प्रशिक्षित भएका छन्। यस्तो लाग्थ्यो, कक्षा १२ सक्नुको तिनको मुख्य उद्देश्य नै बाहिर जान सजिलो होस् भन्ने हो।
भर्खरै किशोरावस्था पार गरेको मेरो भाइ देशको कुरा निस्कनेबित्तिकै पड्किन्थ्यो — 'यस्तो पनि देश? गु जस्तो देश!'
नेपालमै हुँदा म भाइलाई सम्झाउन खोज्थेँ, 'अर्काको देशमा अरूले ठिक्क पारिदिएको कुरा हेरेर तुलना गरेर पनि हुन्छ? हामीले कहाँबाट सुरू गरेका हौं भन्ने पनि हेर्नुपर्यो नि!'
ऊ मेरा कुरा बुझ्ने त के सुन्नसम्म पनि चाहँदैन थियो। देशदेखि उसलाई त्यति रिस उठेको थियो।
नउठोस् पनि कसरी? अलिबेर बेस्कन पानी बर्सिए राजधानी सहरका खोलानाला बाहिर सडकमा निस्किन्छन्। कार्यालय जाँदा एकजोर जुत्ता झोलामा पोको पारेर लानुपर्छ। सडकका चोकचोकमा कुकुरले छिरालेका फोहोरबीच सास रोकेर बटुवाहरू गन्तव्यमा दुगुर्छन्। राति आठ बजेपछि चक्रपथमा हिँड्ने बसले विद्यार्थीलाई भाडा छुट दिन मान्दैनन्। भन्छन्, 'तेरो बाउको गाडी हो र?' साँघुरा माइक्रोबसमा असिनपसिन ज्यानहरूबीच अचेटिएर दिनहुँ कलेज ओहोरदोहोर गर्ने विद्यार्थीलाई देशसित धम्कीको भाषा बोल्न कसैले सिकाइरहनै पर्दैन।
स्कुलका शौचालयमा पानी भए ढोका हुँदैन, ढोका भए पानी। आममान्छेले सिजनमा समेत धक फुकाएर साग वा फर्सीको मुन्टा किनेर खान सक्दैन। शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा पाउन पनि गच्छे हेरिन्छ, हेर्नुपर्छ। ठूलै रोगले समातिहाल्यो भने चन्दा नउठाई सामान्य मान्छेले बाँच्ने कल्पना गर्न सक्दैन। सानोतिनो रोग लाग्दा सामान्य मान्छे जँचाउनै जाँदैन। शैक्षिक सर्टिफिकेट (मात्र) ले जागिर खाइँदैन भन्ने सबैलाई थाहा छ। उँभो लाग्न कि त आफ्ना मान्छे 'ठाउँ' मा हुनुपर्छ, नत्र बदमास वा छट्टु हुनुपर्छ भन्ने बुझाइ व्याप्त छ। राज्यका कुनै पनि अंग, संयन्त्र वा क्षेत्रमाथि निश्चिन्त भएर विश्वास गर्न वा भर पर्न सक्ने अवस्था छैन।
राज्य गैरजिम्मेवार छ वा राज्यलाई हाम्रो वास्ता छैन भन्ने आममान्छेको मनमा गहिरो गरी गढेको छ। त्यसलाई चिर्न राज्यले सक्रिय रूपमा कुनै पहल गरेको पनि छैन। पहुँच नहुनेहरूको एक्लो ढाडस बनेको सडक समेत आज उनीहरूको छैन। केटाकेटीलाई दुई छाक खुवाउन वा कापीकलम किनिदिन नाङ्लोमा पसल थापेर बसेकाहरू आज सहरका सबभन्दा ठूला शत्रु बनेका छन्।
वर्षभरि पढेर दसैंमा घर आउन बस चढेपछि फोन गरेको छोराको सनाखत गर्न घटनास्थल बोलाइएका बाउआमासित देशले कहिले माफी मागेको छ र? न त रोएको छ नागरिकताको चिर्कटो नपाएर पंखामा झुन्डिएकाहरूको नियतिमा। जनताहरू लाइन बसेका बस्यै छन् — कहिले पुलिस रिपोर्टको, कहिले ग्यासको, कहिले लाइसेन्सको त कहिले राहतको। आममानिसलाई राहत कति भएको छ, देशले सोधे-खोजेको छैन। सोध्न जरूरी पनि ठानेको छैन।
यी सब कुराले वर्षौंदेखि कब्जा जमाएको दिमागलाई देश कति बन्यो भनेर हिसाबकिताब गराउन मलाई निकै हम्मेहम्मे पर्यो। परीक्षामा आफूले पढेको एउटा तर प्रश्नपत्रमा सोधिएको प्रश्न अर्कै भएजस्तो। बरू मसित 'देश किन बनेन' का उत्तर प्रशस्तै थिए, अधिकांश नेपालीजस्तै। आफैं ढुक्क हुन नसकेको कुरा अरूलाई मनाउने गरी कसरी लेख्नु? कुरा यहाँ लेख्ने सामग्री वा दृष्टिकोणको मात्र थिएन, लेखकीय नैतिकताको समेत थियो। यो लेख मलाई मेरो वशको कुरा लागेको थिएन।
तर के देश कत्ति पनि नबनेकै हो त?
यो प्रश्न भने मेरो मनमा खुब खेलिरहेको थियो। यसको सोझो उत्तर होइन भन्ने मलाई थाहा थियो। गुगलमा तथ्यांक हेरेर म सजिलै देश कति बन्यो वा बनेन भनेर खुट्ट्याउन सक्थेँ। देश अति कम विकसित राष्ट्रबाट विकासशील मुलुकको भर्याङ उक्लिँदैछ भन्ने मलाई थाहा थियो। मातृ तथा शिशु मृत्युदर, लैंगिक समानता आदिमा देशले तरक्की गरेको म जान्दथेँ। पोलियो उन्मूलन भएको समाचार आउँदा म गाउँमै दस कक्षामा पढ्थेँ। नेपालको सामुदायिक वनले विश्वव्यापी प्रशंसा बटुलेको मलाई थाहा थियो। लोडसेडिङलाई जीवनको यथार्थको रूपमा स्वीकार गरिसकेका हामी एकाएक चौबीसै घन्टा इन्डिकेटरको रातो बत्ती बलिरहनुलाई नयाँ यथार्थ मान्न लागेका थियौं। नेपालको लोकतान्त्रिक संक्रमणकालले पाएको स्याबासीसित म राम्ररी परिचित थिएँ। राज्यसँगको आफ्नो सम्बन्ध आफैंले परिभाषित गर्ने नेपालीहरूको सत्तरी वर्ष पुरानो सपना साकार भएको थियो। संघीय व्यवस्था लागू भएसँगै देश नयाँ चरणमा प्रवेश गरेको थियो। संविधानतः म र पारस शाहका छोरीहरू उभिने धरातल एउटै भएको थियो। कुनै शुक्रबार साँझ म उनीहरूलाई आफू गएको रेस्टुरेन्टमै हुक्का तानिरहेको भेट्टाउन सक्थेँ।
यति हुँदाहुँदै पनि आफैंभित्रको निराशाको तुवाँलो हटाउन नसकेको देखेर म हैरान थिएँ। नेपाल खत्तम भइसक्यो वा नेपाल कहिल्यै बन्दैन भन्ने मूलधारे भाष्यको पकड मेरो आफ्नै मगजमा यति बलियो देखेर मलाई आश्चर्य र डर दुवै लाग्यो। यदि यसले म जत्तिको सूचनाको पहुँच भएको व्यक्तिको मगज यसरी ढाकेको थियो भने मजस्तै अरूको दिमागमा पनि उस्तै गरी जरा गाडेको अनुमान गर्न गाह्रो थिएन।
यस्तो किन भइरहेको थियो? लेख लेख्दिनँ नै भने पनि यो प्रश्न मेरो दिमागबाट चाहिँ हटेन। मैले मेरो 'मेन्टल एक्सरसाइज' जारी राखेँ।
यहाँनिर म अर्को के कुरामा पनि प्रस्ट भएँ भने मामला यहाँ थाहा पाउनु र नपाउनुको थिएन। भन्नलाई त सूचना र जानकारीको यो युगमा जति धेरै आधिकारिक सूचना भयो, विश्वास र वैधानिकता उति नै बढ्छ भनिन्छ। तर राम्रै सूचना भएर पनि त्यसमाथि भित्रैदेखि विश्वास गर्न नसक्नुले मलाई मेरो उत्तर तथ्यांकमा मात्र चाहिँ भेटिँदैन है भन्ने कुरामा ढुक्क बनायो।
ठीक यहीँनिरबाट मेरा लागि यो लेखको अर्थ फेरियो।
मैले यसलाई लेखको रूपमा हेर्न छोडिदिएँ र आफ्नै आत्मनिरीक्षण र चिन्तनका लागि प्रयोग गर्ने निधो गरेँ। जानकारी र विश्वासको बेमेलको समीकरणबाट बाहिर निस्किन मलाई भित्रैदेखि परिवर्तनको 'आभास' गर्नु थियो। यसका लागि सिंगो देश मेरा लागि निकै ठूलो एकाइ हुने ठानेर म आफ्नै सानो गाउँ फर्किएँ।
जब विगतमा फर्किएँ, तब मलाई लाग्यो — दैनन्दिनका समाचारको बाढीमा हराएको मेरो दृष्टिकोण थोरबहुत भए पनि मैले भेट्टाएँ। चिसा तथ्यांकका सूत्रभित्र लट्पटिएका कथा भेट्टाएँ।
त्यसपछि बल्ल मलाई यो लेख लेख्ने जाँगर लाग्यो, उत्साह जाग्यो।
मलाई थाहा छ, मेरो एउटा गाउँको कथाले सबैका गाउँको कथा भन्दैन। सिंगो देशको कथा त झनै भन्दैन होला। यो लेखको आशय त्यो हुँदा पनि होइन। यो हामी कहाँबाट कहाँसम्म आइपुगेछौं भनेर आफूले हिँडेको बाटो नाप्ने प्रयास मात्र हो। र, यसै प्रक्रियामा बेथितिको हुन्डरीमा पुरिएको 'थाहा' ले दिन नसकेको दृष्टिकोण भेट्टाइहालिन्छ कि भन्ने आशा पनि हो।
त्यसैले मेरो यो लेख देश कति बनेन भन्दा पनि देश कति बनेछ भनेर हेर्नमा केन्द्रित छ। मैले प्रयोजनवश नै यो बहसको पहिलो प्रश्नमा ज्यादा ध्यान दिने निधो गरेँ किनकी कमसेकम मेरो पुस्ताका लागि यतिखेर टक्क अडिएर हामी कहाँबाट कहाँसम्म आइपुगेछौं भनेर हेर्न कति जरूरी भएको रहेछ भन्ने महसुस गरेँ। त्यसको वास्तविक उदाहरण म आफैं हुँ; मैले यो लेख लेख्दाका बखत बेहोरेको सिर्जनात्मक र नैतिक सकस हो। मलाई आशा छ, 'देश कति बनेन' को उत्तर पनि थोरबहुत 'देश कति बन्यो' मै भेटिनेछ।
म २८ वर्षकी भएँ। म जन्मिँदा देशमा बहुदलीय शासन पुनर्स्थापित भइसकेको थियो। पञ्चायती व्यवस्था फाल्न आफूले गरेको योगदानका किस्सा मेरा आमाबाबु र उनीहरूका दौंतरीले पोसाकमा फूली लगाएझैं शानका साथ बोकेर हिँडिरहेका थिए।
म जन्मिएकै वर्ष आमाबुबा पुरानो धन्सारबाट बार्दली निकालेको नयाँ घरमा सरे। अर्को वर्ष आमाले स्कुलमा जागिर खाइन् र गाउँकै पहिली र एक्ली 'मास्टर्नी' बनिन्। पैसा कमाउन काकाहरू लाखापाखा लाग्ने क्रम सुरू भयो। अधिकांश भारत छिरे। कतार, साउदी र मलेसियाका नाम बिस्तारै बिस्तारै गाउँमा सुनिन थालेका थिए।
एकदिन परिवारमा एउटा नमिठो घटना भयो, ठूलीआमा बितिन्।
अनगिन्ती रात झाँक्रीले कुचोले हिर्काउँदा पनि ठूलीआमाको रोग निको हुनु त के पत्तासम्म पनि लागेन।
'मेरा तामाका मुनाजस्ता बालखाको बिचल्ली बनाएर गई पापिनी' भन्दै पिँढीको थाममा टाउको ठोकेर ठूलाबा बेस्कन रोए। ठूलीआमा हिँडेको केही वर्षमै भर्खरै सत्तरीको दशकमा प्रवेश गरेका हजुरबा हुक्कासँगै खाटमा दमले ढले र सधैंका लागि अस्ताए। उनका दुई श्रीमतीले आँशु र सिन्दुर सँगसँगै बगाए। हजुरबाको भारतीय सेनाको पेन्सन दुइटी श्रीमतीमा आधाआधा बाँडियो। जुन आर्थिक टेवा र स्वतन्त्रता मेरी हजुरआमाले हजुरबा जिउँदो रहँदासम्म कहिल्यै पाएकी थिइनन्, त्यो उनी मरेपछि पाइन्।
गाउँको सिरानमा स्वास्थ्यचौकी थियो, वरपरका छिमेकी गाउँहरूलाई समेत पायक पर्ने गरी 'सेन्टर' पारेर बनाइएको। तर साउने संक्रान्तिको दिन पातीका सीठा भाँच्न गएका हामी दिदीबहिनीहरू घर फर्किँदा बिहान गुन्द्रीमा सँगै बसेर मोहीभात खाएकी बहिनीलाई सेतो कात्रो ओढाएर घाटमा लान ठिक्क पारिएको थियो। भरे दिदीहरू आऊलान् र लुतो फ्याँकौंला भनेर बाटो हेरिरहेकी बहिनीको झाडावान्ताले गलेको शरीरलाई धामीले कुन्नि कुन भूत झार्न भनेर एकोहोरो कुचोले हिर्काइ बसेछन्। पानीको नाउँमा मर्नेबेला दुई थोपा सुनपानी चाटेर हाम्रो खलकका दिदीबहिनीहरूमध्ये सबभन्दा प्यारी बहिनीले पिर्लिक्क आँखा पल्टाइछे।
बिस्तारै गाउँले दिदीहरू पञ्चेबाजाको झ्याइँझ्याइँलाई जित्ने गरी रोएर 'कर्मघर' जान तामदानी चढे। उनीहरूको रातो लाली, पहेँला गहना र नयाँ लुगाले भरिएको 'अटेजी' लाई रहरलाग्दा आँखाले हेरेर हामी गोप्य रूपमा आ-आफ्नो पालो कल्पिन्थ्यौं। भोलिपल्ट धुवाँ लागेका प्लास्टिकमा बिहेको रोटी-कसार पोको पारेर आमाहरूले 'बोर्डिङ' धपाएपछि हामी धरातलमा फर्किन्थ्यौं, अर्को बिहे नआउन्जेलका लागि।
वर्ष बिते, गाउँबाट 'बोर्डिङ' स्कुल जाने केटाकेटीको हुल पनि पातलियो। सबभन्दा पहिला बहिनीहरू छुटे। स्कुलको बस छुटाउँदा छुटाउँदै कतिखेर उनीहरूले बोर्डिङको रातो मिडी थन्क्याएर सरकारी स्कुलको निलो मिडी सिलाए, पत्तै भएन। अवसर पाएर पनि पढेन भनेर ठूलाबाले एकदिन दाइलाई दलिनमा उँधोमुन्टो लाएर झुन्ड्याइदिए। त्यसरी पनि उसको 'मति नफर्केपछि' उसले पनि निलो पाइन्ट सिलायो।
कक्षा दोहोर्याउने दिदीहरूको घरबाट आमाहरूलाई टपरी गाँस्न आउने निम्ता बढे। फेल हुँदाहुँदा भाइबहिनीले भेट्टाएर लाजले कक्षा हाप्ने दाइहरू स्कुलमा कम खेत र वनपाखामा ज्यादा देखिन थाले। विदेश जाने क्रम बाबुहरूबाट बिस्तारै दाजुहरूमा सर्यो। उनीहरूले खाडीमा बगाएको पसिनाले हामीले बिहान चियासित बासीभातको सट्टा 'मेरिगोल्ड' बिस्कुट घोलेर खायौं। लुतुलुतु झर्ने मोजालाई चुंगी खेल्ने रबरले पिँडौलामा अड्याएर स्कुल जानुपर्ने हाम्रा दिन गए। हाम्रा केशमा रातापहेँला रिबनका ताजा र हँसिला फूल फुल्न थाले।
एकसाँझ पूरा गाउँले क्याट्ट बिजुलीबत्तीको स्विच थिच्यो र फू गरेर टुकी निभायो। नयाँ उज्यालोले हाम्रा दिन तनक्क तन्किए। पढ्दापढ्दै उँघ्ली र टुकीमा कपाल झोसेर आगो लगाउली भनेर जति थाके पनि कपासको पोको वा सालको पात लिएर हामीले गृहकार्य गर्दा छेवैमा साथी बस्ने आमाहरू 'बत्ती मारेर सुत है त' भनेर आफू सुत्न गए।
बजारमा लालटिनको सिसा पाइन छोडे। साँझको बेला एक डिब्बा मट्टीतेल पैंचो माग्न घरघर चहार्नुपरेन। चाइनिज इमरजेन्सी लाइटले आक्कलझुक्कल हुने लोडसेडिङको न्यास्रो पनि मेटाइदिन्थे। तिनै लाइटमा 'घुम्तीनिर लेट भयो सानु मायालाई बाटैमा भेट भयो…' वा 'मिर्मिरेको घाम लर्के जोबन तिम्रै हो रामाराम ढाँटे मरी जाम्' का क्यासेट घन्काउँदै बेलुका घर फर्किने खेतालाहरूले दिनभरिको थकाइ आधा त बाटोमै मेटिसकेका हुन्थे। हिउँदमास 'श्रीस्वस्थानी माताकीः जय!' भन्न भेला हुने छिमेकीहरू राजेश हमालका दुःख हेरेर सँगै रून थाले। गाउँमा टिभी आयो।
छुट्टीमा आएका लाहुरे र छोरो पाएका 'भाग्यमानी' का घरमा रातारात भैली खेलेर गाउँलेहरूले लाखौं पैसा जम्मा पारे। पछि त्यही पैसाले गाउँमा गाईभैंसी आहाल खेल्ने पोखरी र भरिया सुस्ताउने चौर मासेर मन्दिर ठडियो। अलि दिनमा मन्दिरको आँगनी खारेर डोजरले कच्ची सडक खन्यो। गाउँमा 'विकास' आयो।
एकदिन ट्रकभरि पहेँलो टोपी लगाएका कामदार बोकेर मध्यमर्स्याङ्दी जलविद्युत परियोजना गाउँ आयो। सुरूङ खन्न पड्काएका बारूदले थाप्लोमा रहेको हाम्रो गाउँ मात्र थर्काएन, गाउँवासीको सामाजिक र आर्थिक जीवनमा पनि कम्पन ल्यायो। गाउँमा पैसा छिर्यो। गाउँलेहरूले 'बार्गेन' गर्न सिके। धान नफल्ने टुक्रे खेतमा मुसाले काटेका धानका फुस्रे बाला बटुलेर भाग्यलाई सराप्ने केहीलाई परियोजनाले जेठाजुसँग 'मुख लाग्न' पुग्ने मुआब्जा दियो। तिनका शिर ठडिए, भान्सा बसाए। तिनका छोराछोरीका पेट हाँसे।
मध्यमर्स्याङ्दीले गर्दा हाम्रो बेसी बिस्तारै बजार बन्यो। चिया पसलेहरूले गिलास, बेन्ची र ठर्रा थपे। होटलवालाहरूले तला थपे। भाग्यको खोजीमा लाहुर पसेर घर फर्किने बाटो बिर्सिएका परदेशीका जोईहरू एकदिन आँट गरेर बेसी झरे र टिनका टहरामा काँटी ठोके। आरूबोटे चौतारामा चिलिम तानेर बुढापाकाहरू 'पोरजेटले बिगारेका' छोरीचेलीको पिर गरिरहँदा साहुनीहरूले टहराको कुनामा पछ्यौरीको पर्दा टाँगेर छोराछोरीलाई 'हुमोक' गराउँदै जाँड बेचे।
परियोजनाकै पैसामा हाम्रो ठाउँको सबभन्दा ठूलो सरकारी स्कुलको भवन स्तरोन्नति भएर चमचमाउँदो महलजस्तो बन्यो। धेरै अभिभावकले छोराछोरी निजीबाट झिकेर सरकारीमा हाल्ने सूर पनि नकसेका होइनन् तर भवनको सुन्दरतालाई पढाइको गुणस्तरले पछ्याउन सकेन। पछि त भवनका रङ पनि खुइलिँदै गए। सरकारी स्कुल उही निजीले 'तह लगाउन नसकेका' र 'यल्ले पढेर खाँदैन' भनेर घोषणा गरिदिएका विद्यार्थीहरूको संकलन केन्द्रभन्दा खासै माथि जान सकेन। 'पढेर खाँदैन' को ठप्पा लगाइएका केही 'ठीक छ त खाएर पढ्छु' भन्दै कुलतको बाटो लागे। केही लाउरेमा भर्ती हुन गए। खुर्सानी फूलको माला लगाएर त्रिभुवन विमानस्थल जाने गाडी चढेका केहीको इराकमा आतंकवादीहरूले घाँटी छिनेको खबर आयो। गाउँ थर्रर काँप्यो।
मानिसहरूले मलखादमा गोबर फ्याँक्न छोडे। एकाबिहानै सिलौटको बाटामा भैंसीको आलो गोबरको थाप्रो थपक्क उठाएर सिमेन्टको भकारीमा हालेर घोल्नु गाउँवासीको नयाँ दैनिकी बन्यो। पिरो धुवाँमा भात पकाएर आठै बजे छोराछोरीलाई स्कुल धपाउनुपर्ने वा मेलामा जानुपर्ने आमाहरूलाई गोबर-ग्यास माइतीबाट आएकी बहिनीजस्तो भयो। उनीहरूले नधकाइ चर्पीलाई पनि ग्यास-प्लान्टमा जोड्ने अनुमति दिए।
'गुले पकाएको त ज्यान गए खान्नँ' भनेर ख्याँचे थाप्ने बुढाबुढीलाई बिस्तारै एक मुठी चियाको तलतल मार्न अगेनोमा आगो सल्काउने काम झन्झटिलो लाग्न थाल्यो। 'ग्यासमा ठ्यास्स बसाल्दे न!' अगेनो खाली छैन भन्ने बुहारीहरूलाई उनीहरूले लाज पचाएर भन्न थाले।
हाम्रै पालामा टोड्के चर्पीको ठाउँ चमचमाउँदो सेतो सेरामिकले लियो। खर र तितेपातीका फलेक वा चामलका फिलफिले बोराले बारेर बनाइएका चर्पीका टहराहरूलाई हुलासका निला-सेता टिनले विस्थापित गरे। 'हुलास भए अरू किन खोज्ने!' रेडियोबाट बज्ने विज्ञापनलाई जस्ताको तस्तै नक्कल गरेर आमाहरूलाई दिक्क लगाउन हामीलाई खुब मज्जा लाग्थ्यो। कहिलेकाहीँ त 'हामीलाई पनि मायाले हेर प्यान्थर' भन्दै बाटोघाटोमा गीत गाउँदै हिँड्थ्यौं।
शौचबाट फर्केपछि माटोमा हात दल्ने पुस्ता मुसालाई सराप्दै 'त्यतै कतै' राखेको साबुनको टुक्रो खोज्नेसम्मको भयो। दिउँसो धारामा नुहाउँदा मान्छेले 'हेरेको हेर्यै' गरेर राति मात्र नुहाउने छोरीको कपाल दुख्ने रोग बस्ला भनेर आमाहरूले एकरात बाउलाई 'यस्सो एउटा बाथरूमजस्तो केई बनाउन पाए पनि हुनी' इच्छा व्यक्त गरे। सक्ने बाउहरूले सिमेन्टको बाथरूम बनाइदिए, नसक्ने बाउका छोरीहरूले ट्वाइलेटको प्वालमा काठको ढक्कन लगाएर चार भित्ताभित्रै नुहाउने जुगाड गरे।
एकदिन बिहान भात खानेबेला पल्लो गाउँमा गोली चल्यो। माओवादीको सुराकी दिएवापत् घरधनी दाजुले आफ्नो पोसाकमा फूली जोडे रे भन्ने सुनियो। तर फूलीजडित बर्दी अघाउँजी लाउन नपाउँदै एकरात उनको घरको छानो उड्यो। तिनैताक हामी पढ्ने बोर्डिङ स्कुलको छानामा पनि भ्वाङ पर्यो। निधारमा रातो पट्टी बाँधेका केही मान्छेले आमालाई कक्षाबाहिर निकाले र विद्यार्थीका संस्कृत किताबमा आगो सल्काएर गए।
मेरो गाउँले खेतीसँग पनि मनग्गे प्रयोग गर्यो। तरहतरहका अन्नबाली र तरकारीबालीका बिउ आए। पराल चाहिनेहरूले लामो धान लगाए। ढापमा खेत भएकाहरूले छोटो धान लगाए। बारीको कान्लामा झाँगिएको विकासे घाँसले आमाहरूको घाँसको भारी चाँडै पुग्यो। चिनी चोरेर चुकअमिलो खान पल्किएका केटाकेटी भेला पारेर बाउआमाले विकासे मलका गेडातर्फ देखाउँदै त्यो चिनी नभएको र खाएमा सिल्टिमुर हुने चेतावनी दिए। कुनै गैरसरकारी संस्थाले सित्तैमा बाँडेको कफीका बिरूवा ल्याएर सुन्तलाका बुटाबीच घुसाएका गाउँलेलाई दुई किलो कफी पेल्न पालो कुर्ने काम झन्झटिलो लाग्न थाल्यो। उनीहरूले कफीका हाँगा बाख्रालाई हाल्ने डालेघाँस बनाइदिए।
गहुँबालीमा पुरस्कार पाएर जनकवि केशरी धर्मराज थापासँग पुरस्कार थापेको फोटो फ्रेम शानसँग बाहिर भित्तामा झुन्ड्याएका मेरा बाबुले लाखौं ऋण काढेर अदुवा खेती गरे। भनेजस्तो भाउ कुर्दाकुर्दै उनका सयौं बोरा अदुवा माटोमुनि कुहिएर गए। योसँगै व्यावसायिक किसान बन्ने उनको सपना पनि तुहियो। साइँलाबाले विदेश जाँदा लागेको ऋण तिर्न घडेरी बेचे। काइँलाबाले विदेश गएर कमाएको पैसाले सहरमा घडेरी किने। साइँलाबाको छोरा पढाइ बीचैमा छोडेर कमाउन खाडी मुलुक गयो। काइँलाबाका छोराहरू उच्च शिक्षाका लागि युरोपेली मुलुक गए।
एकदिन गाउँमा सिडिएमए फोन आयो। पिँढीको थाममा दिनभर बजिरहने रेडियोका 'प्यासिभ' स्रोतामा सीमित मेरा गाउँका युवाहरू हौसिए। रेडियोमा फोन गरेर कविता सुनाउने वा पत्रमित्र साथीलाई गीत 'डेलिकेट' गर्ने तिनका प्यासिभ सपना एकाएक जागे। नवराज लम्सालको 'साइँली रिमै चौंरीगाई झर्यो रिमै मधुवनै' मा फोन नलागे पनि सिडिएमएले स्थानीय एफएमका 'रेगुलर कलर' थुप्रै उत्पादन गर्यो।
'तपाईंको नजिकै रेडियो छ हो? वा रेडियोबाट अलि टाढा गइदिनुस् न वा त्यसलाई एकैछिन बन्दै गरिदिए कसो होला' — रेडियोमा आफ्नो आवाज सुन्न लालायित स्रोताहरूलाई फोन-इन कार्यक्रमको प्रोटोकल सिकाउन कार्यक्रम प्रस्तोताहरूलाई हम्मेहम्मे पर्यो। विदेशिएका लोग्नेलाई फोन गर्न महिनाको एकपल्ट पिसिओ धाउने काकीहरूको एक्लोपनको अत्यास मेट्ने साधन पनि बन्यो फोन। घरधन्दा सकेर कोरीबाटी गरी फोन भएको घरमा बुढालाई मिसकल दिन जानु उनीहरूको नयाँ दैनिकी बन्यो।
अर्को दिन गाउँमा नोकियाको मोबाइल सेट आयो। गृहकार्य सकेपछि बाउआमाको मोबाइलमा बुढीऔंलाले क्याचक्याच बटन थिचेर केटाकेटीले सर्प खेल खेले। वर्षौं नभेटेका आफन्तले आवाजैआवाज दर्शनभेट गरेर सम्बन्धहरू नवीकरण गरे। लोग्ने घर आउने, नआउने खबर समयमै पाएर आमाहरूले बेलैमा भात खान पाए; बेलैमा सुत्न पाए।
अर्को दिन गाउँमा दुई फक्लेटा भएको बीचमा पट्याउन मिल्ने फोन आयो। विदेशबाट आएका अंकलहरूको फोनमा गेम खेल्न पल्किएका केटाकेटीले 'न्यू फोल्डर' खोतल्ने मेसोमा पहिलोचोटि 'ब्लू' फिल्म हेरे। रिलको चिन्ता गर्नु नपर्नासाथ क्यामरासँग मान्छेको सम्बन्ध एकाएक बदलियो।
मेरी आमाले मलाई घरैमा जन्माइन्। मैले थाहा पाएसम्म मेरा दौंतरी र भाइबहिनी सबै घरमै जन्मे। नाम्लोको बलमा दलिनमा झुन्डिएर आमाले भाइलाई संसारमा धकेलिन्। हामीमाथि वा हामीपछि खेर गएकाहरूको कथा हामीले आमाहरूको मुखबाट सुन्यौं मात्र, देखेनौं (वा देखेकै भए पनि सम्झेनौं)। ओछ्यानमा लोग्नेलाई नाइँ भन्न नसक्ने अनि गर्भ तुहाउन माइती धाउने दिदीबहिनीले जथाभावी गर्भ तुहाउन खोज्दा झन्डै मरेका वा बल्लतल्ल बाँचेका किस्सा पनि सुन्यौं मात्र, देखेनौं। आमाहरूकै पालामा गर्भपतन वैध भयो। त्यसपछि 'फलानो डाक्डरकोमा गएँ वा जाऊ' भन्न उनीहरूले साउती मारिरहनुपरेन।
सँगै घरधन्दा सकाएर बुहारीले पढाएको प्रौढ शिक्षामा नाम लेख्न सिकेका सासूहरूले ठट्टामै सही 'पढ्न पाको भए त म नि मास्टर्नी बन्ने रैचु, जैरी' भन्ने जिकिर गरे। भातबहादुर र सागबहादुरको चित्रकथा पढेर घर फर्किएका आमाहरूले चिनीभात खाने बानी लागेका केटाकेटीलाई भातबहादुरको भुँडी देखाएर साग खाने बानी पारे।
अलिकति कमाएर विदेशबाट गाउँ फर्किनेहरू बिस्तारै बेसी झर्न सुरू गरे। छोराछोरी बोर्डिङ पढाउनुपछि बेसी झर्नु गाउँमा बदलिँदो आर्थिक हैसियतको नयाँ मानक बन्यो। जसै तल्लो गाउँका मान्छे बेसी झरे, माथिल्लो गाउँका मान्छे तल्लो गाउँमा बसाइँ सरे। पहिला अर्मपर्मका लागि मात्र सम्झिइने 'तल्लो जात' अब 'उपल्लो जात' को हँसियानाम्लो, घिरौंला र दुःखसुख साटासाट गर्ने छिमेकी भए।
जंगल र गोरेटो मासेर आएको कच्ची सडकमा नियमित बस त आएन तर चाहिएका बेला एम्बुलेन्स झुल्कियो। मध्यरातमा गाउँलेलाई दुत्कार्दै घर आउने जँड्याहाहरू बाघको डर देखाएर पन्ध्र सय रूपैयाँमा जिप रिजर्भ गरेर सुत्नका लागि घर आउन थाले। उकालो-ओरालो गर्न नसक्ने बुढाबुढीहरू आक्कलझुक्कल तिनै जिप बोलाएर वृद्धभत्ता थाप्न वडा कार्यालय झर्ने भए।
टोलको साझा पँधेरोमा पानीका लागि झगडा गर्दागर्दै कपाल तिलचामले भएका छिमेकीहरूको घरमा प्रदेश सरकार 'एक घर एक धारा' लिएर आयो। त्यही मौका पारेर बाँकी घरहरूले सिमेन्टले प्लास्टर गरेर बाथरूम बनाए। वडाको 'अनुदान' मा गाउँमा वाइफाइ आयो। एन्ड्रोइड फोनमा क्यामराको मेसो नपाएका हजुरआमाहरूले बडेमानको नाक वा कानको प्वाल देखाएर देशबाहिर गएका नातिनातिनाले फोनमा देखाइदिएको 'अम्रिका, अष्टिलिया' हेरे। हातखुट्टा बसिनसकेका बाउआमालाई चारपाटे टोपी ओढ्ने अवसर पारेर छोराछोरीले समुद्र देखाउन लगे। सारी र फरियाबाट कुर्तासुरूवालमा उक्लिन जुगौं लगाएका आमाहरू जामा लगाएर समुद्रमा डुबुल्की मारेर घर फर्के। हिजो लोक सेवामा नाम निकाल्नु छोराछोरीको सफलताको मानक हुन्थ्यो। आजको नयाँ मानक बाउआमालाई विदेश घुमाउन लैजानु बन्यो।
अहिले गाउँमा घरैपिच्छे एलपिजी ग्यास छ। गाईवस्तु पाल्ने अपवाद घरमा कुँडो पकाउन मात्र दाउराको आगो बल्छ। दसैंको मासु तह लगाउन भारमा खसीका साँप्रा झुन्ड्याउने घर अब कमै मात्र छन्। गाउँमा 'फिरिज' छ।
मान्छे नबस्ने घरका खाली गोठ तारजालीले बारेर बेरोजगार युवाहरूले ब्रोइलरका चल्ला हालेका छन्। गाउँ छोडिहाल्ने सुर नभएकाहरूले गल्लीको माटोमाथि कंक्रिटको मसलामा वडाको बजेट बिछ्याएर 'पक्की' बाटो बनाएका छन्।
बिडम्बना त यो छ कि वर्षाको बेला लेउ लागेर त्यो बाटो हिँडिसक्नु हुँदैन। युवाहरूले कुखुरा बेचेर जति कमाउँछन्, त्यसको आधाउधी पैसा दानाको सापटी तिर्दैमा जान्छ। बचेखुचेको पैसाले अलिकति जाँड खायो, सकियो।
हिजो बाउले जाँड खाएर आमा कुट्दा आमाको फरियामा लुटपुटिएर चिहिर्रिने छोराहरू नै आज गाउँका नवजँड्याहा र बुढीकुटाहा भएका छन्। उनीहरूलाई बुढीले भात नकुरेको मन पर्दैन। तर भाउजूहरू हिजोका आमाहरूजस्तो 'हातमा दही जमाएर' बस्दैनन्। 'तँजस्ता त लाइन लागेर आउँछन्' भन्दै झोलामा सामान पोको पारेर हिँडेका सबै भाउजूहरू माइतीमा गएर दाइले माफी माग्दैमा फर्किन्छन् नै भन्ने छैन।
यो विगतका लगभग तीस वर्षमा मेरो गाउँले देखेभोगेको 'विकास' को संक्षिप्त चित्र हो।
यो चित्र असमान छ, अपूरो छ र मैले यहाँ लेखेजस्तो सरल र सहज पनि छैन। अवश्य नै, आफू 'बन्ने' थोरबहुत अवसर पाएकाले नै देश 'बनेको' आभास गर्न सक्ने हो। जसको जीवनलाई 'विकास' ले छोएकै छैन, त्यसले देश बनेको महसुस गर्न सक्ने कुरा पनि भएन। विकासको असमानता यहाँसम्म छ, जुन जिन्दगी मेरो गाउँले हिजै बाँचिसक्यो, देशका कतिपय गाउँहरू बल्ल आज बाँच्दै होलान्। तर सत्य के पनि हो भने, विगतलाई फर्केर हेर्ने हो भने हामी हरेकका गाउँ, सहर, बेसी, बजार सबैका कथाहरू लगभग यस्तै भेटिन्छन्।
यी तीस वर्षमा धेरै त्यस्ता कुराहरू भएका छन् जसले हामी सबैको जिन्दगीलाई कुनै न कुनै रूपले छोएको छ। हामी धेरै अघि बढेका छौं र धेरै पछि पनि छौं। प्रश्न कसको तुलनामा भन्ने रहेछ। हिजोको हाम्रो गाउँसित आजको हाम्रो गाउँको तुलना गर्ने हो भने हामीले हिँडेको परिवर्तनको रेखा स्पष्टै देखिन्छ। भलै त्यो सरलरेखामा नभई बक्ररेखामा हिँडेको यात्रा होस्। प्रश्न कसको जिन्दगी कति छोयो र किन ती जिन्दगी छोयो र अरूलाई छोएन (वा अरूलाई छुस्स मात्र छोयो) भन्ने हो। मलाई लाग्छ यो बहसको अर्को अंश 'देश कति बनेन' को उत्तर पनि यसैमा लुकेको छ।
उदाहरणका लागि, आजभन्दा पाँच वर्षअघि मात्र बाजुराबाट हुम्ला पुग्न तीन दिनको पैदल हिँडाइ हिँड्नुपर्थ्यो। भिरबाट झरेका ढुंगाले किचिएर मरेका भरियाहरूको कथा मलाई त्यहाँ जाँदा बटुवाहरूले सुनाएका थिए। आज, मर्नुअघि हुम्लाकै माटोमा गाडी चढ्ने सपना देखेकी अदानकलाको गाउँसम्मै बाटो पुगेको छ। तर हरेकपटक छोराछोरीले 'गाडी चढेँ' भनेदेखि 'सग्लै ओर्लेँ है आमा' भनेर फोन नगरून्जेल अदानकलाको भोक, तिर्खा, निद्रा, चैन सबै हराउँदो हो!
हाम्रा बाउहरूको कथा 'चाकमा भ्वाङ परेको कट्टु लगाएर…' सुरू भयो। आमाहरूको कथामा 'दाजुभाइ स्कुल गएको टसिला आँखाले हेरको' भाग मध्यान्तरमा मात्र आयो। हजुरआमाको कथा बिहान तीन बजेबाट सुरू हुन्थ्यो र बेलुका सबै सुतेपछि सक्किन्थ्यो।
हाम्रो पुस्ताको कथामा मध्यान्तर पनि भएको छैन तर हामीले 'विकास' को अनुभवका हिसाबले अघिल्ला सबै पुस्तालाई जितिसकेका छौं। भलै यसमा कति राज्यले गरेर र कति परिवर्तनशील रहनु समयको अन्तर्निहित धर्म भएर भन्ने पनि एउटा रोचक विषय हुन सक्ला।
तर बिर्सिन नहुने कुरा के पनि हो भने, सात दशक अघिसम्म मात्र पनि बाहिरी दुनियाँसँग हाम्रो उठबस नै थिएन। हाम्रा आमाबाउ पुस्ताभन्दा अलिकति मात्र त जेठो हो हाम्रो लोकतन्त्र! त्यही पनि पटकपटकको आक्रमणले हाम्रो लोकतान्त्रिक थिति बस्नै पाएन। लोकतन्त्र ल्याउन, जोगाउन, फर्काउन र टिकाइराख्नमा नै यति श्रम र ऊर्जा लाग्यो कि, इतिहासका बाउसे र रोपारहरूलाई अझै पनि आफूले बगाएको पसिनाको न्यायोचित ज्याला नपाएझैं लाग्छ। राजनीतिक प्रक्रिया ठप्प हुँदा लोकतन्त्र त कमजोर भयो नै, देश बनाउने पालो कुरेर बसेका कार्यकर्ताहरूको पालो पनि पछिपछि धकेलिँदै गयो। यसै त ढिलो झुल्किएको लोकतन्त्र संस्थागत गर्नमा लगाउनुपर्ने बल पार्टीहरूले पटकपटकको आफूमाथिको प्रतिबन्ध फुकाउनमै लगाउनुपर्यो। राजनीतिक दलहरूको संस्थागत विकास नै राम्ररी हुन पाएन, राजनीतिक संस्कार नै बस्न पाएन। पार्टीहरू पार्टीजस्ता बनेनन्। पालो कुरिरहेका निराश र कुण्ठित कार्यकर्ताको झुण्डजस्ता बने। हामी त्यसैको कब्जियतबाट निरन्तर पीडित छौं।
हिजो गाउँले जानेको इलम 'मास्टरी' मात्र थियो। गाउँले इच्छाएको इलम 'डाक्टरी' मात्र थियो। मान्छेहरू मास्टर, नभए लाहुरे बन्थे। हामी अधिकांश मास्टर बन्न नपाएका लाहुरे र लाहुरे बन्न नसकेका (वा नपरेका) मास्टरहरूको सपनाको चिहानमा हुर्कियौं। हामी प्रौढ शिक्षाको झिल्कोले डामेका आमाहरूका हातमा हुर्कियौं। मैला कलर भएको सर्ट लगाएरै सही, हामीले अभाव देख्यौं, असमानता देख्यौं, दमन देख्यौं, हिंसा देख्यौं। हामीले त्याग, बलिदान, धोका अनि सपनाको जन्म र अवसान पनि देख्यौं। त्यसैले हाम्रो पुस्ता ठूलो भएर डाक्टर होइन, प्रधानमन्त्री बन्छु भनेर हुर्किएको पुस्ता हो। हामी संघीयता पुस्ता हौं। हामी वाइफाइ पुस्ता हौं। हाम्रो पुस्ता रेमिटेन्स पुस्ता पनि हो।
जब स्थिति आफ्नो कब्जामा हुँदैन तब नै मानिस भाग्यको भर पर्ने हो। हिजो जसको पहुँच थिएन, ऊसित भाग्यलाई कुरेर बस्नेबाहेक उपाय थिएन। गाउँका अपवाद छोरीचेलीले 'भाग्य' ले पढ्न पाउथेँ। माया गर्ने, जाँड नखाने वा खाए पनि बुढी नकुट्ने 'राम्रो' बुढो पाउन 'भाग्य' चाहिन्थ्यो। कसैको भाग्य 'जिन्दगीको अर्थ खोज्न' गाउँ चहार्दै आइपुगेको कुनै 'कुइरे' ले लिएर आउँथ्यो। कसैको भाग्य हुनेखानेको दयाबाट वा मालिकको निगाहबाट पलाउँथ्यो। कसैको भाग्य ब्रिटिस लाहुरेको भर्तीमा खुल्थ्यो, कसैको लोक सेवामा। भाग्यमा आममानिसको नियन्त्रण थिएन, त्यसैले आममानिस कमजोर थियो। आवाज निकालेर दुर्भाग्यलाई दुत्कार्न समेत ऊ सक्दैन थियो।
आज मानिसहरू 'फलानो प्रोजेटमा आफ्ना मान्छे मात्र हेरियो' भनेर मेयर वा वडा अध्यक्षसहित गाउँका अरू ४७ जनालाई 'ट्याग' गरेर फेसबुकमा बकाइदा लेखिदिन सक्छन्। त्यसैलाई टपक्क टिपेर कुनै अनलाइनले 'फलानो पालिकाका जनताले जनप्रतिनिधिको कार्यशैलीसित पोखे असन्तुष्टि' शीर्षकमा उत्तिखेरै समाचार छापिदिन सक्छ। आज आममानिससँग केही दशकअघिसम्म चिताउन मात्र पनि नसकिने आवाज छ। आवाजको यो तागत प्रविधिले दिएको भनेर केही मान्छेहरू बेलाबेला झुक्किन्छन्। यो तागत हामीलाई प्रविधिले होइन, लोकतन्त्रले दिएको हो। इतिहासलाई सामान्य ज्ञानको 'मल्टिपल च्वाइस क्वेस्चन्स' को रूपमा घोकेर हुर्किएको हाम्रो पुस्ताले यो नदेख्नु हाम्रो मात्र गल्ती पनि होइन।
कहिलेकाहीँ कति (काम) बाँकी छ भनेर हेर्नका लागि पनि कति गरियो भनेर हेर्नुपर्ने रहेछ। भलै देश बनाउनु भनेको भवन बनाएजस्तो वा गृहकार्य सकाएजस्तो 'फिनिसिङ' गरेपछि सकिने कुरा होइन। यो निरन्तरको जटिल र बहुआयामिक प्रक्रिया भएकैले बेलामौकामा हामीले कुन बिन्दुबाट सुरू गरेका हौं भनेर सम्झिरहनु वा सम्झाइरहनु पर्ने रहेछ। तर यसका लागि कहाँ पुग्ने र कुन बाटो लाग्ने पनि समयमै तय हुनु उत्तिकै जरूरी छ।
आजसम्म हामी कति समयावधिमा देश कति बन्नुपर्ने हो भनेर सामाजिक रूपमा तय नै नगरी यहाँसम्म आइपुगेका रहेछौं (सरकारी पञ्चवर्षीय वा त्रिवर्षीय आवधिक योजनाको कुरा मैले गरेको होइन)। हामी बाँचिरहेको समाज कस्तो छ, हामीले बाँच्न चाहेको समाज कस्तो हो र त्यसका लागि कस्तो प्रकृतिको विकास चाहिन्छ भनेर सिद्धान्ततः संकल्प गरेको पनि हामीले अस्ति भर्खर मात्र हो। तर संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माणको बाटो हामीमाझ अझै स्पष्ट छैन। हाम्रा लागि बन्नु के हो र नबन्नु के हो भन्नेमा प्रशस्त अलमल छ। हाम्रो विकास हिजोकै जस्तो जथाभावी, छरपस्ट र कामकाजी छ। एउटा लामकाने बाख्रा वा दुइटा कफीका बुटा बाँडेर गरिबी उन्मूलन हुँदैन भन्ने हामीलाई थाहा छ। वा तीनदिने ब्युटी पार्लर तालिम दिएर मात्र महिला सशक्तीकरण हुँदैन भन्ने पनि हामीले देखेका छौं। तर अहिले पनि हामी त्यस्तै शीर्षकमा टुक्रे बजेट छुट्ट्याइरहेका छौं।
अर्को कुरा, यतिखेर हामी धमाधम कंक्रिटमा विकास खोजिरहेका छौं। लालीगुराँस वा बाघको मूर्तिमा सुन्दरताको माने भरेर पर्यटनमार्फत आर्थिक कायापलट ल्याऔंला भनिबसेका छौं। तर असली विकासले त हाम्रो जिन्दगीलाई छुनुपर्छ। विकासको प्रभाव अन्ततोगत्वा हाम्रो जीवनस्तरमा देखिनुपर्छ।
हुन त यतिखेर हामी विकासको त्यो चरणमा छौं जहाँ भौतिक संरचनाबिना विकासको थालनी गर्न कतिपय ठाउँमा असम्भवप्रायः पनि छ। स्कुलमा बेन्च छैन। अस्पतालको गर्जो स्वास्थ्य चौकीले टारिरहेको छ। कच्ची बाटो छ तर हिलो काटेर एम्बुलेन्स घरसम्म पुग्न सक्दैन। वा बाटै छैन, बिजुलीबत्ती नै छैन।
तर विकासको अन्तिम रूप बाटो वा सुविधासम्पन्न स्कुल भवन मात्र होइन भन्ने त माथि मेरो गाउँको कथाले पनि भन्छ। भौतिक पूर्वाधार विकासका पूर्व आधारहरू न हुन्! यिनलाई हामीले कसरी नागरिकको जीवनस्तरमा सकारात्मक र स्थायी परिवर्तन आउने गरी उपयोग गर्न सक्छौं, हाम्रो बहस अब त्यतातिर मोडिन जरूरी छ।
'विकास' को अवधारणालाई चिरफार गरेर जीवनस्तरमा देखिने खालको विकास कस्तो हो र त्यस्तो विकासको प्रक्रिया कस्तो हुनुपर्छ भन्नेमा स्पष्टता नआउन्जेल हामी फेरि पनि नयाँ भाँडोमा पुरानै रक्सी हालेर आफैंलाई झुक्याइरहने छौं।
यसको मतलब केही भएकै छैन भन्ने पटक्कै होइन। धेरै कुरा एकसाथ भइरहेका पनि छन्। संघीय सडकमा देशले भर्खरै पाइला चालेको छ। हिजो काठमाडौंमा थुप्रिएको अधिकार बिस्तारै काठमाडौंबाहिर सर्दैछ। राज्य र नागरिकको सम्बन्धलाई आममानिसको नजिकै पुगेका (स्थानीय) सरकारहरूले पुनः परिभाषित गर्दैछन्। छरपस्टै सही, नागरिकले राज्यको उपस्थिति केही मात्रामा भए पनि महसुस गरेका छन्। पेटमा आगो भएका स्थानीय सरकारका जनप्रतिनिधिहरू धेरैसँग कामको सिलसिलामा म आफैंले भेटघाट गरेकी छु र उत्साहित भएर घर फर्किएकी छु। ठूलो भएर प्रधानमन्त्री बन्छु भनेर हुर्केको हाम्रो पुस्ताका केही अनुहार मलाई त्यहाँ देख्न पाउँदा आनन्द लाग्छ।
यद्यपि, जब समाचार सुन्छु, पढ्छु, तब लाग्छ — यो देश जहिल्यै यस्तै हो! यहाँ केही हुनेवाला छैन!
केही समयअघि मैले महसुस गरेँ — मलाई दिग्दार लगाउने यी समाचार प्रायः राष्ट्रिय स्तरका नेता-कार्यकर्ताको हर्कत र अकर्मण्यतासँग सम्बन्धित हुने रहेछन् (अहिले त केही स्थानीय सरकार पनि नियमित समाचार शीर्षक बनाउने मामलामा निकै अगाडि छन् तर ती अपवाद होलान्)। तर देशको हालखबर बुझ्न संघीय सरकारका कामकारबाहीबारे मात्र जानकार भएर पुग्दैन। यसले हामीलाई देशको सिंगो चित्र देख्नबाट रोक्छ। तर हामीले जानी-नजानी ठ्याक्कै त्यही गर्ने रहेछौं। देश संघीयतामा गएता पनि हामी जनता केन्द्रिकृत मानसिकताबाट बाहिर निक्लिन सकेका छैनौं। संघीय सरकारबाहेक पनि देशमा ७ सय ६० सरकारहरू छन् भन्ने हामी घरीघरी बिर्सिँदा रहेछौं।
यो साँचो हो कि देशको (विशेषतः युवा पुस्ताको) मुड खराब छ। एक हिसाबले यो राम्रो पनि हो किनभने कुनै कुराले बिथोलिनु भनेको त्यस विषयमा चासो र चिन्ता राख्नु पनि हो। यसमा पनि उत्तिकै समय र ऊर्जा खर्च हुन्छ। तर यस्तो बेला दृष्टिकोण गुमाउने खतरा पनि बलियो हुँदो रहेछ। विश्वव्यापीकरणको रापले हिजो पोस्टकार्डमा मात्र देखेको युरोप, अमेरिका आज भान्सा, भट्टी, धारा, चौतारा जहीँतहीँ पुगेको छ।
र, जबजब देश बनेन भन्ने कुरा निस्किन्छ, हामी हुलको पछि लागेर अस्ति भर्खर मात्र राजतन्त्रलाई ढुंगा हान्न गएको बिर्सिन्छौं र भनिदिन्छौं — गु जस्तो देश!
आमाबाउले काकामामाको छोराछोरीसँग तुलना गरे भने 'मलाई त्यसको जस्तो स्कुलमा पढायौ? म्युजिक क्लास हालिदियौ?' वा 'मलाई कम्पेयर गरेको मन पर्दैन' भनेर खुट्टा बजार्ने हाम्रो पुस्ता कति सजिलै देशलाई युरोप, अमेरिकासँग तुलना गरिदिने रहेछौं।
मैले पनि त त्यही गरेँ!
हाम्रो निराशा र दिग्दारीको एउटा मुख्य स्रोत अमिल्दो तुलना पनि रहेछ। कमसेकम यतिखेरका लागि व्यावहारिक तुलना गर्ने हो भने सायद हामीले पहिले आफ्नै विगतसँग गर्नुपर्ने रहेछ।
यसो भनेर दोषजति सबै तुलना गर्नेहरू वा थितिको आशा राख्नेहरूकै टाउकोमा थुपार्न खोज्नु मेरो मनसाय होइन। आफ्नो ठीक अगाडि जे छ, त्यो यति टड्कारो भइदिँदो रहेछ, हामी त्यसैलाई अन्तिम सत्य मानिबस्दा रहेछौं। यो मानवको अन्तर्निहित प्रकृति नै हो। तात्कालिकताको जालो पन्छाएर वस्तुगत आँखाले केही परको दृश्य हेर्न कि त अभ्यास, नभए कुनै बाहिरी तत्वले घच्घच्याउनु पर्दोरहेछ। मलाई यो लेखले ठ्याक्कै त्यही गर्यो।
तर अझै पनि कुनै नयाँ काण्ड सार्वजनिक भएसँगै देशको भित्र्याँस छताछुल्ल भएको देख्दा कतै म भ्रममा त छैन भन्ने लाग्छ। र, मैले दृष्टिकोण भन्ठानेको कुरा कति नाजुक (फ्र्याजल) रहेछ भनेर म चकित पर्छु।
जुन धमिलो राजनीतिक परिदृश्य र नैतिक विचलनको भूमरीमा हामीलाई पारिएको छ, मलाई लाग्छ — उमेर र अनुभवले खारिएका एकसेएक बुज्रुकका दृष्टिकोणलाई पनि यसले कहिलेकाहीँ तिरिमिरी पारिदिन्छ। यो पेण्डुलम मनोदशाले नयाँ भाष्यलाई बन्न दिँदैन, बनेका भाष्यलाई पनि बलियो हुन दिँदैन। यसै पनि 'यो देशै खत्तम छ' वा 'यो देशमा केही पनि हुँदैन' नै 'डिफल्ट' भाष्य भएको समाजमा केही गडबड हुनासाथ 'गु जस्तो देश' को भाष्यमा फर्किन निकै सजिलो छ।
समाजको यो मानसिकता र मनोदशाबारे राजनीतिक दल र राजनीतिक नेतृत्व बेखबर रहनु अहिलेको सबभन्दा चिन्ताजनक विषय हो भन्ने मलाई लाग्छ। राजनीतिक नेतृत्व र नागरिकबीच बढ्दै गएको दुरी र अविश्वासको द्योतक हो यो। नयाँ पुस्तासँग त यो राजनीतिक टुकडी झनै टाढा छ। अधिकांश राजनीतिज्ञका लागि हामी बाह्र पढेर बाहिर जाने र नफर्किने समूह हौं। चुनावी मतमा परिणत नहुने हाम्रो मत उनीहरूको प्राथमिकता क्रमको सूचीमा अटाउँदैन। त्यसैले उनीहरूले हामीसँग सिधा संवाद गर्न जरूरी नै ठानेका छैनन्। युवाहरू विदेशिए भनेर सतही रूपमा भाषणमा घुसाउनेबाहेक उनीहरूको तर्फबाट कुनै खास पहल देखिँदैन। नयाँ पुस्ताको भाषा बोल्छौं र उनीहरूको मनोदशाको चित्रण गर्छौं भनेर आएका युवा नेताहरू पनि अपवादबाहेक अत्यन्त सतही, अपरिपक्व र लोकरिझ्याइँका दूतजस्ता लाग्छन्।
यो लेख लेखिसक्दा मलाई लाग्यो — देश गुहु जस्तो छ कि छैन भन्ने त आजको मूल प्रश्न वा हैरानी नै होइन रहेछ। चिन्ताजनक कुरा त मेरो भाइलाई देश 'गु जस्तो' लाग्नु र लागिरहनु रहेछ।
किनकी, तथ्यको बाटो हिँड्ने र उपयुक्त विधि अपनाउने हो भने पहिलो प्रश्नको उत्तर भेट्टाउन अप्ठ्यारो छैन। त्यसको निष्कर्ष के आउँछ भन्ने पनि यहाँनेर गौण हो। तर नयाँ पुस्ता यतिखेर तथ्य र तथ्यांक खोजिरहेको छैन सायद। मजस्तै परिवर्तनको आभास गर्न सक्ने वातावरण र आधार खोजिरहेको छ। कथाहरू खोजिरहेको छ। चित्रहरू खोजिरहेको छ। त्यो प्रक्रियामा सघाउने सहजकर्ता खोजिरहेको छ जसले नलुकाई कथा भनोस्। विश्वासपात्र खोजिरहेको छ जसले नढाँटी गल्ती स्वीकार गरोस्, माफी मागोस्।
नयाँ पुस्ता 'अटेन्सन' खोजिरहेको छ सायद! कतै मेरो भाइको 'गु जस्तो देश' देशप्रति लक्षित नै पो थिएन कि?
*शीर्षक सम्पादन गरिएको।
(दुर्गा कार्कीले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट कानुन विषयमा स्नातकोत्तर गरेकी छिन्। उनको 'कुमारी प्रश्नहरू' कथासंग्रह प्रकाशित छ।)
***
अंक १- नेपाल कति बन्यो, कति बिग्रियो (लेखक- अमित ढकाल)
अंक २- के देश कसैले बिगार्न वा बनाउन सक्छ? (लेखक- चैतन्य मिश्र)
अंक ३- हाम्रो गिलास आधा भरी, आधा किन रह्यो खाली? (लेखक- युवराज खतिवडा)
अंक ४- औद्योगिकीकरण गर्न नसक्दा पिछडिएको नेपाल (लेखक- समीर खतिवडा)
अंक ५- धेरै प्रगति गरेको वित्तीय क्षेत्रमा अहिले किन देखिँदैछ संकट? (लेखक- विश्वास गौचन)
अंक ६- चार दशकका जनगणनाले देखाएको नेपालको चित्र (लेखक- मुराहरि पराजुली)
अंक ७- सेतोपाटी बहसमा छुटेका केही प्रश्न (लेखक- सञ्जीव पोखरेल)
अंक ८- नेपाल– आशा र निराशाको ढिकीच्याउँ (लेखक- दोभान राई)