हिमाल भन्नेबित्तिकै धेरैले सम्झिने पहिलो समुदाय हो, शेर्पा।
हिमाली भेगमा बसोबास गर्ने तिनै शेर्पा समुदायमा रक्सीको संस्कृति कस्तो छ भनेर आज हामी तपाईंहरूलाई भन्छौं है!
शेर्पाहरू रक्सीलाई 'आरक' भन्छन्। जाँडलाई सामान्यतया 'छ्याङ' भन्छन् भने कतिपयले 'झ्याङ' वा 'ज्याङ' भनेर पनि उच्चारण गर्छन्। छ्याङको नाम पर्वअनुसार फरक पर्छ। रक्सी बनाउँदा चाहिने प्रमुख जडिबुटी अर्थात् मर्चालाई शेर्पाहरू 'फाप' भन्छन्।
अनुसन्धाता आङ जाङबु शेर्पाका अनुसार फाप भनेको जंगली बिरूवामा पाइने ढुसी हो। यसलाई खेम्बक (तितेपाती) पनि भनिन्छ।
नेपालको सात हजारदेखि १४ हजार फिटसम्मको उचाइमा पाइने खेम्बकको बिरूवामा एक प्रकारको सेतो धुलोको कण टाँसिएर बसेको हुन्छ, जुन ढुसी हो। अन्न पकाएर निश्चित तापक्रममा राखेपछि त्यसलाई कुहाउने काम यही ढुसीले गर्छ।
आङ जाङबुले 'शेर्पाहरूको जीवनसँग छ्याङको अन्योन्याश्रित सम्बन्ध' शीर्षक लेखमा भनेका छन्, 'यो ढुसी फापमा सार्नुअघि सबभन्दा पहिला जौको सातुलाई ढिँडो बनाइन्छ। ढिँडो चिसो बनाएपछि डल्लो पारिन्छ। त्यसलाई सुकाउन खेम्बकलाई नै काटेर फचिल (निगालोले बुनेको एक प्रकारको बास्केट) मा बिछ्याएर राखिन्छ। ढिँडोको डल्लो त्यसमा राखेपछि घरभित्र हावा लाग्ने गरी झुन्ड्याएर केही दिन राखिन्छ। यसरी राख्दा ढिँडोको डल्लोमा ढुसी सर्छ र फापमा परिवर्तन हुन्छ। त्यसलाई निकालेर ओदानमाथि सिलिङमा सुकाइन्छ र छ्याङ बनाउँदा धुलो पारेर प्रयोग गरिन्छ।'
शेर्पाका पुर्खाहरू गाईबस्तु चराएर फिरन्ते जीवन बिताउँथे। हजारौं वर्षअघि उनीहरूले नै फाप पत्ता लगाएर छ्याङ बनाएको आङ जाङबु बताउँछन्। लडाइँ-झगडामा छ्याङ सेवन गरेर शत्रुहरूमाथि बहादुरी पनि देखाउने गरेको उनको भनाइ छ।
अब हामी छ्याङको कुरा गरौं।
छ्याङलाई सम्बोधन गर्ने अनेक नाम छन्, जसमध्ये एउटा हो, सिल्मा।
मकैको छ्याङको छोक्रा ननिचोरी त्यसलाई पानीमा डुब्ने गरी कम्तिमा चौबीस घन्टा राखेपछि झोल मात्र निकालेर बनाइने छ्याङलाई सिल्मा भनिन्छ।
'साधारणतया छ्याङ छिपाउने भाँडाको पिँधमा सानो प्वाल बनाएर त्यसमा छोक्रा निस्कने गरी फिल्टर राखेको हुन्छ। फिल्टर गरेर निकालिएको छ्याङ नै सिल्मा हो,' आङ जाङबुले लेखेका छन्, 'सिल्मा एक पानी, दुई पानी र तीन पानीको हुन्छ। त्यसलाई एकपाने, दुईपाने र तीनपाने सिल्मा भन्ने चलन छ। यो छ्याङमा सबभन्दा उत्तम मानिन्छ। यसमा छोक्रा नहुने भएकाले पिउने मान्छेलाई टाउको पनि दुख्दैन।'
अर्को छ्याङ हो, सेन झ्याङ।
यसका लागि सुरूमा अन्न भुटेर पिठो बनाइन्छ। त्यसपछि ढिँडो बनाएर मर्चा हालेपछि सेन झ्याङ बन्छ।
'अन्नको छोक्रामा पानी मिसाएर सेन झ्याङ बनाइन्छ। यो विशेषगरी घरबाहिर काम गर्ने कामदारहरूका लागि पकाउने गरिन्छ,' आङ जाङबुले लेखेका छन्।
शेर्पाको सामाजिक र सांस्कृतिक रीतिथितिमा प्रयोग हुने छ्याङका उपनाम अनेक छन्। विभिन्न अवसरमा प्रयोग हुने छ्याङको नाम त्यही अवसरअनुसार राखिएको हुन्छ। यसरी विभिन्न उपनाम हुनुले शेर्पाहरूको जीवनमा छ्याङको महत्व कति छ भन्ने पुष्टि हुने आङ जाङबु बताउँछन्।
'घरको शुभ साइत गर्दा प्रयोग हुने छ्याङलाई सेरकिम छ्याङ, कप छ्याङ, थोक छ्याङ र क्या छ्याङ भनिन्छ भने घरभन्दा टाढा भ्रमणमा जाँदाको शुभ साइतमा प्रयोग हुने छ्याङलाई थ्ये छ्याङ र दोङ झ्याङ भनिन्छ,' उनले लेखेका छन्।
त्यस्तै, व्यापार गर्दा प्रयोग हुने छ्याङलाई छोङ झ्याङ, सहयोगका लागि धन्यवाद दिँदाको छ्याङलाई याङजी वा याङजी छ्याङ, खाजासँग खान वा बाटोमा पिउन पठाउने छ्याङलाई जर छ्याङ भनिन्छ। चौंरी गोठ सार्दाको छ्याङलाई यार छ्याङ र गुण छ्याङ, लामालाई निमन्त्रणा गर्न पठाउनेलाई देन झ्याङ र लामाले मन्त्र पढिसकेपछि खुवाउने छ्याङलाई ठोल झ्याङ भनिने उनले आफ्नो लेखमा लेखेका छन्।
अर्का अनुसन्धाता सेर्कु शेर्पाका अनुसार मकैबाट बनाएको छ्याङलाई लिची छ्याङ, जौबाट बनाएकोलाई जौ छ्याङ, गहुँबाट बनाएकोलाई टे छ्याङ र कोदोबाट बनाएकोलाई ग्यार छ्याङ भनिन्छ। त्यस्तै, उवाबाट बनाएकोलाई ने छ्याङ, आलुबाट बनाएकोलाई फाक् छ्याङ र चामलबाट बनाएकोलाई डे छ्याङ भनिन्छ।
छ्याङलाई नै वाष्पीकरण गरेपछि रक्सी बन्छ, जसलाई शेर्पाहरू आरक भन्छन्। यसलाई सिल्माभन्दा उत्तम मानिन्छ।
आङ जाङबुका अनुसार शेर्पाहरूका महत्वपूर्ण शुभकार्यमा छ्याङभन्दा आरक चलाउने गरिन्छ। त्यसमा पनि तीनपानेलाई सबभन्दा राम्रो मानिन्छ।
रक्सी बनाउन तीन तहको भाँडा आगोमा बसालिन्छ। तलको भाँडालाई 'फोङ्से', बीचकोलाई 'फुङ्गा', त्यसको बीचमा रक्सी थाप्ने भाँडालाई 'पैनी' र माथिको पानी फेर्ने भाँडालाई 'भट्टा' भनिन्छ। रक्सी बाहिर उडेर नजाओस् भनेर वरिपरि भिजेको कपडाले बेरिन्छ, जसलाई 'पुङ्गरी' भनिन्छ। फुङ्गा र फोङ्सेको बीचमा भने कपडाले नबेरी गोबरले टाल्ने चलन छ।
शेर्पा समुदायमा छ्याङ र आरकको संस्कृति विस्तृतमा जान्न हामीले सोलुखुम्बु घर भई हाल बौद्ध बस्ने अनुसन्धाता सेर्कु शेर्पासँग कुराकानी गरेका थियौं। उनले हामीलाई जन्मदेखि मृत्युसम्म छ्याङ र आरकको के–कस्तो महत्व छ भनेर बताएका छन्।
हिमाली भेगमा पहिले त्यति अस्पताल थिएन। हिजोआज पनि खासै छैन भन्दा हुन्छ। अस्पताल नहुँदा परिवारजनले नै गर्भवती महिलाले कहिले बच्चा जन्माउँछिन् भनेर हिसाब राख्थे। यो मितिमा बच्चा जन्मिन्छ भन्ने भएपछि त्योभन्दा तीन महिनाअघि चोखो गरेर घ्याम्पोमा जाँड हालिन्थ्यो, जसलाई 'केछ्याङ' भनिन्छ।
'बच्चा जन्मने दिन आमालाई एकदम पीडा भयो भने पीडा कम गर्न घ्याम्पोको बिर्को खोल्ने चलन थियो। बच्चा जन्माउन गाह्रो भयो भने छिटोछिटो घ्याम्पो खोलिन्थ्यो। यसो गर्दा कतिपय समयमा बच्चा जन्मिन्थ्यो,' सेर्कुले भने, 'बच्चा जन्मिएपछि पहिलो चरणको चोखो छ्याङ घ्युसँग झानेर आमालाई खुवाउने चलन छ। यो छ्याङ बच्चा पाउनुभन्दा अगाडि नै खोलियो भने गर्भवती महिलालाई दुगर्ति हुन्छ भन्ने मान्यता छ।'
बच्चा जन्मिएपछि शेर्पा समुदायमा विशेषगरी छोराको तीन दिन र छोरीको पाँच दिनमा न्वारन (अङी मीङ दोउ) गरिन्छ। आमाको स्वास्थ्य राम्रो भएन भने पछि पनि गर्न सकिन्छ।
न्वारन गर्दा टुप्पो नभाँचिएको रूख वा निगालोको बिरूवा ल्याएर त्यसमा सेतो खातक (खादा) भित्र सिक्का, जौ, चामल आदि बेरेर टाँगिन्छ। उक्त रूख वा निगालोलाई छोरा भए घरको मूलढोकाको दायाँतिर र छोरी भए बायाँतिर टाँसेर गाड्ने चलन छ। यसलाई गोतर भनिन्छ। गोतर देख्नेबित्तिकै घर आएका पाहुनाले छोरा जन्मिएको हो कि छोरी भन्ने थाहा पाउँछन्। न्वारनको समयमा पनि केछ्याङ नै चलाइन्छ।
'गर्भवती महिलाका नाममा घ्याम्पोभरि बनाएको छ्याङ एक्लैले खाएर सकिन्न। त्यही छ्याङ न्वारनमा प्रयोग हुन्छ,' सेर्कुले भने।
शेर्पाहरूमा जुनसुकै धार्मिक विधि वा पूजाआजा गर्दा छ्याङ चढाउने चलन छ। पूजा गर्दा चढाउने छ्याङलाई 'छो (छ) छ्याङ' भनिन्छ। जसको घरमा पूजा छ, त्यही घरका मानिसले पकाउनुपर्छ।
'आफ्नो घरमा छ्याङ बनाएको छैन भने किनेर वा मागेर प्रयोग गर्न मिल्दैन। पूजाआजामा चोखो चाहिने भएकाले घरमै बनाएको चाहिन्छ,' सेर्कुले भने, 'पूजा सकिएपछि यही छ्याङलाई अमृतका रूपमा सबैलाई बाँड्ने चलन छ।'
कुलदेवतालाई चढाउने छ्याङलाई 'छ्याङबी छ्याङ' भनिन्छ। यसलाई झनै चोखो गरी पकाउनुपर्ने सेर्कु बताउँछन्।
'कुलदेवताको पूजामा चढाउने छ्याङ ध्यान दिएर बनाउनुपर्छ। जुठो पर्यो भने नराम्रो हुन्छ वा झैझगडा पर्छ भन्ने मान्यता छ,' उनले भने, 'हाम्रोतिर नयाँ वर्ष अर्थात् ल्होसार सकिएको तीन महिनापछि कुलदेवताको पूजा हुन्छ। यो बेला सुरूमा छ्याङ छानेर कुलदेवतालाई चढाइन्छ अनि सबैलाई खुवाइन्छ। त्यस बेला योबाहेक अरू छ्याङ खान हुन्न।'
शेर्पाहरूले आफ्नो रीतिथिति मनाउँदा चन्द्र पात्रो अनुसरण गर्छन् जसलाई 'दथो' भनिन्छ। 'द' भनेको चन्द्रमा र 'थो' भनेको गणना हो। चन्द्रमाले गोलाकार लिँदै गर्दा गणना गरिने भएकाले दथो भएको हो। नत्र महिनालाई उनीहरू 'दावा' भन्छन्। जसरी चन्द्रमाले खुर्पेबाट ठूलो हुँदै पूर्ण आकार लिन्छ र औंसीसम्म आइपुग्दा आफ्नो आकार गुमाउँछ, त्यसलाई शेर्पा समुदायले पृथ्वीमा रहेको प्राणीसँग दाज्ने सेर्कु बताउँछन्।
'हाम्रोमा ३१ वर्षसम्मको उमेरलाई सुधार्न सकिने उमेर मानिन्छ। ३५ सम्मलाई ज्ञान सिक्ने उमेर मानिन्छ। बुद्धले पनि यही उमेरमा ज्ञान पाएका थिए,' उनले भने, '३५ देखि ५० वर्षको उमेर सिकेको ज्ञान आफ्नो जीवनमा लागू गर्ने समय हो। त्यसपछि ६० सम्म अरूलाई सिकाउने र ६० पछि धर्म गर्ने उमेर भनिन्छ।'
शेर्पाहरूले चन्द्र पात्रो 'दथो' अनुसार नै नयाँ वर्ष अर्थात् ल्होसार मनाउँछन्। ल्होसारको समयमा कतिपयले छ्याङमा अन्डा, मेथी, खाप्से लगायत हालेर पनि पिउने गर्छन्। यसलाई 'छयाङ्गुर' भनिन्छ।
त्यही क्यालेन्डरअनुसार शेर्पाहरू हरेक महिना विजया दशमी पनि मनाउँछन्। हाम्रोमा विजया दशमी भनेर वर्षमा एकपटक मात्र मनाउने चलन छ। यसलाई हामी दसैं पनि भन्छौं। शेर्पाहरू भने हरेक महिना आउने दशमीलाई विजया दशमी भनेर मनाउँछन्।
'यस दिन हामी गुरू पद्मसम्भवको पूजा गर्छौं। त्यस दिन हामी मासु खाँदैनौं। शेर्पा समुदायका धेरैले अरू बेला पनि मासु खाँदैनन्।
'मासु खाने मासिन्छ, सागसब्जी खाने सप्रिन्छ भन्ने हाम्रोमा भनाइ नै छ। त्यसैले पनि मासुको परिकारलाई त्यति धेरै महत्व दिइन्न,' सेर्कुले भने, 'मासु खानेहरूले पनि दशमी, पूर्णिमा र औंसीको दिन बार्छन्। छ्याङ र रक्सी भने चल्छ।'
छ्याङ र आरक सबभन्दा बढी चाहिने विवाहमा हो।
सुरूमा केटीको कुरा गर्न केटा पक्षले भेटघाट गर्छ। भेटघाटमा चिया जसरी दुई पक्ष मिलेर छ्याङ पिउँछन्, जसलाई टेछ्याङ भनिन्छ। कुरा अगाडि बढ्यो भने केटी माग्न जाने छ्याङ लिएर जानुपर्छ, जसलाई लोङ्छ्याङ् (लोङ्ज्याङ्) भनिन्छ।
'केटा पक्षबाट शुभ साइत हेरी सगुन र खातक (खादा) लिएर लमीका साथमा केटाका आमाबुबासँगै एक–दुईजना गाउँले लिएर केटी माग्न जाने चलन छ। केटी पक्षले पनि आफ्ना आफन्त जम्मा गरेका हुन्छन्,' सेर्कुले भने, 'यो प्रक्रियामा केटा पक्षले केटी पक्षको सबैलाई खातक दिने चलन छ। अन्तिममा केटीका आमाबुबाले पेय पदार्थ ल्याउने मिति र खातक तोक्ने चलन छ। त्यो मिति तोकेपछि केटा पक्ष घर फर्किन्छ।'
त्यसपछि केटी पक्षले तोकेको मितिमा केटा पक्ष गाउँलेहरूका साथमा देम्छ्याङ (देम्ज्याङ) लिएर केटीको घर जान्छ। यो छ्याङ खाइसकेपछि विवाह नै नगरे पनि केटीमाथि केटाको पूर्ण अधिकार लाग्छ। केटीले विवाह गर्न अस्वीकार गरे जारीस्वरूप ल्याएको सबै जाँड–रक्सी र सरसामग्री फिर्ता गर्नुपर्छ।
'यो बेला सबै गाउँले आएका हुन्छन्। विवाह हुने केटा र केटीलाई 'आजबाट एकअर्काका भयौ' भनेर खादा पनि लगाइदिएका हुन्छन्। यो भनेको समाजले उनीहरूलाई स्वीकार गर्नु हो,' सेर्कुले भने, 'त्यसपछि केटा र केटीको विवाह कहिले गर्ने भनेर मिति तोकिन्छ। त्यस बेला केटा पक्षले फेरि सगुनका साथमा पेछ्याङ (पेज्याङ) ल्याउनुपर्छ। विवाहको मितिसँगै विवाहमा कति खादा, जन्ती र सरसामग्री ल्याउने भनेर पनि सल्लाह हुन्छ।'
विवाहका लागि घरबाट बेहुला भर्खर निस्कँदा उनको स्वागतका लागि तीन जना केटीमध्ये एकले हातमा दूध, अर्कीले पानी र अर्कीले छ्याङ बोकेकी हुन्छिन्। त्यसलाई सुरछ्याङ (सुर्ज्याङ) भनिन्छ। बेहुलीको घरमा पनि त्यसरी नै स्वागत गरिन्छ।
विवाहमा केटा पक्षले फेरि छ्याङ लिएर जान्छ, जसलाई 'छ्याङजा' भनिन्छ। कतिपयले 'जेन्दी' भन्छन्। जेन्दीको अर्थ जन्ती हो। दुलहीको घरमा जन्ती जाँदा दुलहाको साथीलाई छाता ओडाउने, दुलहा र दुलही बस्ने गलैंचा बोकाउने चलन छ। त्यसका साथै झ्याम्टा बजाउने, ग्यालिङ बजाउने, जाँड–रक्सी र तरबार बोक्ने, याकको पुच्छर बोक्ने, खातक बोक्ने लगायत कामको पनि जिम्मा लगाइन्छ।
विवाहमा प्रयोग हुने छ्याङजामा 'जा' को अर्थ प्रकाश हो। दुईवटा प्रकाशको किरणबाट पुरूष र महिलाको समायोजन हुन्छ भन्ने मान्यताले यस्तो नाम राखिएको हो।
माथिका यी प्रसंगबाट शेर्पा समुदायको विवाहका विभिन्न समारोहको नाम नै छ्याङबाट राखिएको बुझ्न सकिन्छ।
'शेर्पा समुदायको विवाहमा यति प्रक्रिया पूरा गरिएन भने तपाईंले प्रेम विवाह नै गरे पनि त्यसलाई स्वीकृति दिइन्न,' सेर्कुले भने।
विवाह गरेर केटी लाने बेला केटी पक्षले केटा पक्षलाई उपहारका रूपमा 'क्यका' भनेर फेरि छ्याङ नै पठाउँछन्। दुलही लगेपछि स्याब्रो नृत्य हुन्छ। त्यसमा पनि छ्याङ चाहिन्छ, जसलाई लुछ्याङ (लुज्याङ) भनिन्छ। स्याब्रो लगायत विभिन्न नृत्यका गीत र अन्य शेर्पा गीतमा छ्याङका अनेक प्रसंग आउँछन्।
विवाहका सबै अवसरमा छ्याङ शब्द रहे पनि प्रयोग भने रक्सीकै बढी हुने सेर्कु बताउँछन्। यसको कारण अनुमान गर्दै उनी भन्छन्, 'छ्याङबाटै रक्सी बन्ने भएकाले त्यस्तो नाम रहेको हुनुपर्छ।'
हामीले अगाडि गर्भवती महिलाको नाममा बनाइने छ्याङको कुरा गरेका थियौं। कोही व्यक्ति लामो यात्रामा गएको छ भने उसको नाममा पनि छ्याङ बनाइन्छ, जसलाई दोङ्छ्याङ (दोङ्ज्याङ) भनिन्छ।
शेर्पाहरूलाई हिमाल चढ्ने समुदाय पनि भनिन्छ। जस्तो, कुनै शेर्पा महिला वा पुरूष हिमाल चढ्न गएको छ भने उसको नाममा छ्याङ बनाइन्छ। त्यो छ्याङ उक्त व्यक्ति हिमाल चढेर आउनेबित्तिकै खुवाइन्छ।
'दोङ भनेको हाम्रो भाषामा अगाडि राखेर दिने छ्याङ हो। मेरो नाममा छ्याङ बनाएको छ भने म आइसकेपछि सुरूमा मलाई नै खुवाउनुपर्छ, अरूलाई खुवाउन मिल्दैन। यात्रामा भएको दुःख–सुख सुनाउँदै उक्त छ्याङ खाने चलन छ,' सेर्कुले भने।
व्यापार सफल भयो भने पनि छ्याङ खाइन्छ, जसलाई छोङ्छ्याङ (छोङ्ज्याङ) भनिन्छ। शेपाहरूको भाषामा छोङ् भनेको व्यापार हो।
शेर्पाहरूले छ्याङ खाने सानो कचौराजस्तो काठको भाँडा हुन्छ। त्यसलाई कसैले चेन्दे त कसैले चेन्दी भन्छन्। यसको प्रचलित नाम फुरू हो। कतिपयले फुरूको माथि चाँदीले बेरेर बुट्टा कुँद्छन्। जो व्यक्ति जाँड–रक्सी पिउँछन्, उनीहरूले आफ्नो गोजीमा यो भाँडा बोकेर हिँड्छन्।
बच्चाको न्वारन होस् वा विवाह, यस्ता विशेष पर्वहरूमा उनीहरूले घरबाटै यो भाँडा बोकेर ल्याउनुपर्छ। यो भाँडा धेरै मात्रामा सबैको घरमा नहुने भएकाले आफैं बोकेर ल्याउने चलन बसेको हो।
'भाँडा बोक्नुका दुई फाइदा छन्। पहिलो, तपाईंको सामान अरूले नछुने भयो। दोस्रो, तपाईंलाई अरूले खाएको भाँडाबाट रोग नसर्ने भयो,' सेर्कुले भने, 'यो भाँडा उक्त व्यक्ति दिवंगत भएपछि त्यसैमा छ्याङ चढाएर लामालाई पठाउने गरिन्छ। यसो गर्नुको कारण भाँडा देखेर उक्त व्यक्तिको सम्झना नआओस् भनेर हो। अरूको रोग सर्छ भनेर पहिलेका मानिसले बुद्धि लगाएका पनि होलान्!'
शेर्पा समुदायको मृत्यु संस्कार महायान बौद्ध धर्मको निङ्मा परम्पराको बज्रयान विधिअनुसार सम्पन्न गरिन्छ। मृतकको शवलाई लामाले तोकिएको दिशातर्फ लगेर महायान बौद्ध धर्म बज्रयान विधिअनुसार पूजापाठ गरी जलाइन्छ। त्यसपछि सबै उपस्थित व्यक्तिलाई पैसा दिइने चलन छ, जसलाई 'लाक्पा रोप्च्या' भनिन्छ।
'मृत्युपछि ४९ दिनसम्म मृतकको चित्त आफ्नो घर वरिपरि नै घुमिरहने विश्वासमा दाहसंस्कारपछि मृतकको तेन (पुत्ला) बनाई सो पुत्लालाई बिहान, बेलुका र दिउँसो खाना दिने चलन छ,' सेर्कुले भने, '४९ दिनसम्म प्रत्येक साता लामा आमन्त्रण गरी मृतकका नाममा पूजा गरिन्छ। ४९औं दिन मृतकको अन्तिम पूजा गरेपछि सम्झनास्वरूप तिथिअनुसार केही वर्ष वार्षिक रूपमा पूजा गर्ने चलन छ। मृत्यु संस्कारमा जाँड-रक्सी छोछ्याङको रुपमा प्रयोग गर्ने चलन छ।।'
शेर्पाहरू आफ्नो रक्षक (छ्योक्योङ सुङ्मा) लाई पनि रक्सी चढाउँछन्। उनीहरू महांकाल, संकटा, कालभैरव, नारायणथान, पाँच ठाउँका बज्रयोगिनी (साँखु, पशुपति, फर्पिङ, गोदावरी र बिजेश्वरी) लगायत विभिन्न ठाउँमा आफ्नो रक्षक रहेको विश्वास राखेर छ्याङ चढाउन जान्छन् जसलाई 'छ्यङ्बी छ्याङ' भनिन्छ।
'आफ्नो रक्षकसँग आशीर्वाद माग्न बिहान केही नखाई जान्छौं र पूजाआजा गर्छौं। रक्सी पनि चढाउँछौं,' सेर्कुले भने।
जाँड-रक्सीबिना शेर्पा संस्कार अपुरो छ। तर हिजोआज आधुनिकीकरण र व्यस्तताले सबै संस्कारमा मानिसले रक्सी प्रयोग गर्दैनन्। जस्तो, गर्भवती महिलाका नाममा पहिले थुनुवा छ्याङ बनाइन्थ्यो। त्यो चलन विशेषगरी काठमाडौंमा हुँदैन। यहाँ गर्भवतीलाई व्यथा लाग्यो भने छ्याङ खोल्नुको साटो जतिसक्दो चाँडो अस्पताल लगिन्छ।
त्यस्तै, जाँड–रक्सीको उपयोगमा पनि फरक आएको सेर्कु बताउँछन्।
'पहिले हाम्रोमा यति टिन रक्सी भन्ने चलन थियो। हिजोआज यति कार्टन बियर भन्ने चलन आइसक्यो। संस्कार र संस्कृति जहिले पनि परिवर्तनशील हुन्छ। त्यो परिवर्तन शेर्पा समुदायमा पनि देखिन थालिसक्यो। तर पनि कतिपय संस्कारमा छ्याङ र रक्सी नभई हुन्न,' उनले भने।
जति जाँड–रक्सीको उपयोग शेर्पा समुदायमा छ, धूमपान गर्नु भने बन्देज नै छ।
'धूमपान शेर्पा जातिको संस्कार र संस्कृतिविपरीत हो। जसले धूमपान गर्छ, ऊ समाजबाट अपहेलित हुन्छ। उसले आफूलाई मात्र नभई समाज, संस्कार र साथीहरूलाई पनि समाप्त गर्छ। त्यही भएर धूमपान हाम्रो संस्कृतिको ठ्याक्कै उल्टो हो,' सेर्कुले भने।
उनले अगाडि भने, 'छ्याङ र रक्सीलाई पनि खराब भनिन्छ, तर यो मानिसले धेरै उपभोग गर्न थालेर खराब भएको हो। हाम्रोमा त यसलाई सर्सर्ती पिउने चलन नै छैन। बिस्तारै सबै जनाले सुरूप–सुरूप पिउँछन् र सँगसँगै उठ्छन्। त्यसैले धेरै पिउने हाम्रो संस्कृति नै होइन। हामीले नियन्त्रणमा पिउने हो भने यसको महत्व हाम्रो संस्कृति र समाजमा जे छ, त्यसले निरन्तरता पाइरहनेछ।'
***