नेपालकै तेस्रो ठूलो र जनजातिमा पहिलो ठूलो समुदाय हो, मगर।
पूर्वदेखि पश्चिमसम्म फैलिएका मगरहरू भोट-बर्मेली भाषाअन्तर्गतका तीन फरक भाषा बोल्छन्। रूकुम, रोल्पा र पश्चिम बागलुङका मगरले बोल्ने भाषालाई 'खाम' (अठार मगरात) भनिन्छ। बागलुङदेखि पूर्व र भुटान, सिक्किम, दार्जिलिङतिर बोल्नेलाई 'ढुट' (बाह्र मगरात) भनिन्छ भने डोल्पातिर बोल्नेलाई 'काइके' भनिन्छ। अधिकांशले बोल्ने भाषा चाहिँ ढुट हो।
मगर भाषा भोट-बर्मेली शाखाअन्तर्गत पर्ने भएकाले कतिपयले मगर जातिका पुर्खा चीन, तिब्बत र बर्माबाट पूर्वोत्तर भारतको आसाम हुँदै नेपाल प्रवेश गरेको अनुमान लगाएका छन्। चित्तौर र मगधबाट आएको तर्क पनि गरिन्छ।
संस्कृति अध्येता बमकुमारी बुढा भने मगरहरूको उत्पत्ति रूकुम जिल्लामा भएको बताउँछन्। उनका अनुसार रूकुम जिल्लाको हुकुम मैकोटस्थित योमाखार पु (अरिंगाल बस्ने ओडार) र पेल्माखार पु (जौ छर्ने ओडार) बाट रिन्दु र पुरन नामका दुई जना झाँक्री (रमा) को उत्पत्ति भएको थियो। यी दुई जनाकै पुस्ता भौगोलिक रूपले फरक फरक ठाउँमा फैलिएर मगर जाति विस्तार भएको भनाइ छ।
ती पुर्खामध्ये पाल (गोरा) का सन्तानले रिडीदेखि पूर्व गोरखासम्म फैलिएर बाह्रवटा राज्य स्थापना गरे भने मोल (काला) का सन्तानले रिडीदेखि पश्चिम महाकालीसम्म अठारवटा राज्य स्थापना गरे। त्यसैले बाह्र मगरातलाई गोरा क्षेत्र र अठार मगरातलाई काला क्षेत्र पनि भनिन्छ।
मगर समुदाय बहुभाषिक भएकाले उनीहरूले जाँड–रक्सीलाई सम्बोधन गर्ने नाम पनि भाषाअनुसार फरक छ।
मगरहरूको खाम भाषामा रक्सीलाई 'मड' भनिन्छ। ढुट भाषामा 'मड्डा' भनिन्छ। त्यस्तै, काइके भाषामा 'रसी' भनिन्छ।
हामीले गुल्मी घर भई हाल काठमाडौं बस्ने संस्कृतिविद् मिन श्रीस मगर र रोल्पा घर भई हाल काठमाडौं बस्ने बमकुमारी बुढासँग मगर संस्कृतिमा रक्सीको प्रचलनबारे कुराकानी गरेका छौं।
रक्सीको कुरा निकाल्नेबित्तिकै बमकुमारी बुढाले भनिन्, 'जस्तो सहरमा चिया, त्यस्तै हाम्रो गाउँघरमा रक्सी।'
उनले अगाडि भनिन्, 'कुनै मान्छे आयो भने पहिलो स्वागत नै जाँड–रक्सी खुवाएर हुन्छ। कसैलाई पानी खाएर जानुस् न भन्यो भने उसलाई सत्कार गरेर जाँड खुवाइन्छ। दही, मोही पनि दिने चलन छ। तर हामी मगरहरू दही, मोहीभन्दा जाँड दिन राम्रो र सजिलो मान्छौं। पाहुनालाई जाँडले स्वागत गर्न पायो भने शिष्ट व्यवहार गरेको मानिन्छ। महिलाहरू घर व्यवहार गर्न जान्ने छन् भन्ने पनि बुझिन्छ।'
जाँड–रक्सी बनाउन सबभन्दा महत्वपूर्ण हुन्छ, अन्न। बमकुमारीका अनुसार जबसम्म अन्नको जाँड बनाएर देवता र कुल पितृहरूलाई चढाइन्न, तबसम्म त्यो अन्न परिवारले खानयोग्य मानिन्न। अठार मगरात वा खाम भाषामा त्यस्तो जाँडलाई 'छाँकीलि' भनिन्छ। 'छाँकी' भनेको नयाँ बालीको अन्न हो भने 'लि' भनेको जाँड हो।
अठार मगरात भाषामा रक्सीलाई 'मड' भनिए पनि जाँडलाई प्रयोजन हेरेर विभिन्न नामले सम्बोधन गरिन्छ। त्यसैमध्ये एक हो, देङ्लि। देङ्लि भनेको थुनुवा जाँड हो। थुनुवा जाँड विभिन्न अवसरमा बनाइन्छ।
सुत्केरीहरूलाई खुवाउन बनाइने जाँड थुनुवा नै हो। यो बच्चा नजन्मिँदासम्म थुनेरै राखिन्छ।
'कोही गर्भवती भएको पक्का भयो भने यो जाँड उनको नाममा राखिन्छ। बच्चा जन्मिएपछि खोलेर यसको झोल सुत्केरीलाई खुवाइन्छ,' बमकुमारीले भनिन्, 'गाउँमा आफ्ना नातागोता पर्नेहरूलाई पनि बोलाएर खुवाइन्छ।'
थुनुवा जाँड वा देङ्लि कोही विदेश वा गाउँभन्दा टाढा जाँदैछ भने पनि बनाउने चलन छ।
'परिवारको कोही व्यक्ति विदेश वा लाहुर गएको छ र उसले घर फर्किने खबर पठाएको छ भने उसको नाममा पनि थुनुवा जाँड बनाइन्छ। त्यो जाँड ऊ फर्किएपछि बल्ल खोलिन्छ,' बमकुमारीले भनिन्, 'पहिले पहिले घरका पुरूषहरू १०–१२ दिन हिँडेर सामान किन्न बजार जान्थे। त्यस्तो बेला उनीहरू घरबाट निस्किएदेखि घर नफर्कुञ्जेल थुनुवा जाँड बनाउने चलन थियो।'
जाँडलाई सम्बोधन गर्ने अर्को नाम हो, स्योलि। 'स्यो' को अर्थ उठाउने हो। विशेषगरी यो जाँड विवाह, ब्रतबन्धजस्ता अवसरमा भोज खुवाउँदा प्रयोग गरिन्छ।
'आफ्ना दाजुभाइ वा दिदीबहिनीका छोराछोरीको विवाह हुँदा यति धार्नीको रक्सी र यति धार्नीको जाँड उठाउने भनिएको हुन्छ। भोज कत्रो छ, त्यसमा पनि जाँडको परिमाण भर पर्छ,' बमकुमारीले भनिन्, 'त्यति बेला माइती वा दाजुभाइ पक्षले भाइबन्धुसँग सरसामग्री र पैसा उठाएर भोज गरी परिवारको इज्जत धानिदिन्छन्। त्यसरी पैसा उठाउने बेला कोही टाढा गएको छ भने उसले नजिकैको घरलाई आफ्नो तर्फबाट पैसा राखिदिन अनुरोध गर्ने चलन छ। त्यसलाई पछि पैंचोजसरी तिरिन्छ।'
मगर समुदायमा सामान्यतया पवित्र कार्यमा चढाउने जाँड चामलबाट बनाइन्छ। जाँड–रक्सी बनाउन प्रयोग गरिने औषधि अर्थात् मर्चाका लागि विभिन्न जडिबुटी प्रयोग गरिन्छ। त्यसमध्ये महजरीको जरालाई विशेष मानिने बमकुमारी बताउँछिन्।
अठार मगरात क्षेत्रमा जाँडलाई 'लि' भनिएझैं बाह्र मगराततिर जाँडलाई 'हान' पनि भन्ने संस्कृतिविद् मीन श्रीस मगर बताउँछन्। उनका अनुसार केही दिन मात्र भएको कलिलो जाँडलाई 'साँवाँ' र देवपितृ कार्यमा प्रयोग गरिनेलाई जाह्मान, सेजो, हाचक लगायत नामले सम्बोधन गरिन्छ।
'तीन दिनको कलिलो र गुलियो जाह्मानको प्रयोग विवाह संस्कारमा सगुनका रूपमा पनि गरिन्छ। जन्ती प्रस्थान गर्नुअघि एक–एक चम्चाजति जह्मान खान दिइन्छ भने सगुनका रूपमा ठेकीमा लैजाने चलन छ,' उनले भने, 'गुल्मीतिर कतिपयले जाह्मान भनेर पूजाका लागि जाँड बनाउँछन्। यसका लागि दाजुभाइ मिलेर एक-एक मुठी चामल ल्याएर भात पकाउँछन् र चोखो बसेको मान्छेले मर्चा राखेर फर्सिको पातमा पोको पार्छन्। त्यसपछि अगेनामाथि झुन्ड्याइन्छ र तीन दिन वा भोलिपल्टै पूजामा चढाइन्छ।'
कतिपयले घरको धुरिखाँबोमा पनि जाँड झुन्ड्याएर राख्छन्। कतिले घैंटोमा राख्छन्।
जाँड–रक्सीको नाम फरक भएजस्तै मगरहरूले रक्सी बनाउने भाँडाको नाम पनि फरक छ। बाह्र मगरात अर्थात् ढुट भाषीहरूले रक्सी बनाउँदा जाँड हालेर राख्ने सबभन्दा तलको भाँडालाई 'खोप्या', बीचको भाँडालाई 'हान्डा' र त्यसभित्र वाष्पीकरण भएर रक्सी भरिने सानो भाँडालाई 'खपटा' भनिन्छ। माथि पानी हालेर फेर्ने भाँडालाई 'तमौरा' भनिन्छ। त्यस्तै, रक्सी वाष्पीकरण भएर बाहिर नजाओस् भनेर भाँडाको बीचमा भिजाएर बेर्ने कपडालाई 'मटकुरा' भनिन्छ।
अर्कातिर, अठार मगरात अर्थात् खाम भाषीहरूले रक्सी बनाउँदा जाँड हालेर राख्ने सबभन्दा तलको भाँडालाई 'खोइ', बीचको भाँडालाई 'हाँडी' र त्यसभित्र वाष्पीकरण भएर रक्सी आउने सानो भाँडालाई 'मदिया' भन्छन्। माथि पानी हालेर फेर्ने भाँडालाई 'पैनी' भन्छन्। रक्सी वाष्पीकरण भएर बाहिर नजाओस् भनेर भिजाएर बेर्ने कपडालाई 'मण्डला' भन्छन्।
अन्य आदिवासी जनजाति समुदायमाझैं मगर समुदायमा पनि जन्मदेखि मृत्यु संस्कारसम्मै जाँड–रक्सीको प्रचलन छ।
बमकुमारीका अनुसार मगरहरूले बच्चा जन्मिएको प्रायः पाँच दिनमा न्वारन गर्छन्। कतिपयले तीन वा सात दिनमा पनि गर्छन्। त्यति बेला बच्चाको रक्षक देवता मानिने 'बज्युपरङ्गी' का नाममा नौ भाग भात, नौ भाग मासु, नौ झोली (जोडा) रोटी राख्दै नौपटक जाँड–रक्सी छिट्याउने चलन छ। त्यसपछि आमा र बच्चाले तितेपाती र तोरीको तेल मोलेर बनाएको धूपको धुवाँ नौपटक नाघ्नुपर्छ।
'हाम्रो न्वारन गर्न पुजारी राखिन्न। पूजाका सबै काम परिवारकी जेठी महिलाले गर्छिन्। पूजाका काम सबैले जानेका हुन्छन्। जसको पालो पर्छ, तिनै महिला अघि सर्नुपर्छ,' बमकुमारीले भनिन्, 'मगर समुदायमा महिलाको ठूलो भूमिका छ। हाम्रो देवता र महिला शक्ति मानिने बज्युपरङ्गी नै महिला हुन्।'
मीन श्रीस मगरका अनुसार डोल्पाली मगरहरूमा बच्चा जन्मिएकै दिन बार र समय हेरेर बौद्ध विधिअनुसार न्वारन (साङ) गर्ने चलन छ। त्यस दिन लामाले शंख र ढ्याङ्ग्रो बजाउँदै कागजमा आमा, बुवा र बच्चाको नाम लेखिदिन्छन्। माइतीले सुत्केरीलाई चामल, गहुँ, एक घैंटो जाँड र कुखुरा दिने चलन छ।
न्वारनपछि भात खुवाई र छेप्राई (ब्रतबन्ध) मा पनि जाँड–रक्सी अनिवार्य चाहिन्छ। कुनै मगर गाउँमा छेप्राई गर्दा बालकलाई दाम्लोले बाँधेर मामाले कपाल काटिदिने र कुखुरा काटेर मामालाई दिने चलन छ। डोल्पातिर ब्रतबन्धलाई भरौ भनिन्छ। बौद्ध धर्म परम्पराअनुसारको पात्रोका आधारमा वैशाख १ देखि १५ गतेका बीचमा ब्रतबन्ध गरिन्छ।
सबभन्दा बढी रक्सी चाहिने र नभई नहुने विवाहमा हो। मगर समुदायमा मागीभन्दा भागी विवाहको चलन धेरै छ।
सुरूमा मागी विवाहको कुरा गरौं।
मागी विवाह गर्दा आफ्नो समाजको पढे–लेखेको व्यक्ति 'जैसी' बोलाएर लगन हेरिन्छ। विवाहका लागि पाँचवटा महिना र तीनवटा बारलाई शुभ मानिन्छ। महिनामा फागुन, वैशाख, असार, असोज र मंसिर तथा बारमा सोमबार, बुधबार र शुक्रबारलाई शुभ मानिन्छ। त्यससँगै तिथी र नक्षत्रलाई पनि ध्यान दिइन्छ।
केटाले केटी मन पराएको छ भने कुरा छिन्न जाँदा नै रक्सी लिएर जानुपर्छ। त्यति बेला केटा पक्षले काठको रक्सी हाल्ने भाँडा 'कोरिया' मा रक्सी लिएर जान्छ।
'केटाले केटीलाई मन्जुर गराएको छ भने कतिपयले केही पैसा पनि केटीलाई दिएको हुन्छ। केटा र केटीलाई छलफलमा राख्दा केटीले जाँदिनँ भनिन् भने केटाले कति रकम दिएको छ त्यसको दोब्बर दिनुपर्छ,' बमकुमारीले भनिन्, 'केटाले केटी ल्याउन इच्छा गरेन र कुरा पनि चलाएन भने केटीलाई दिएको रकम उतै हराएर जान्छ। केटाले दाबी पनि गर्दैन। त्यस्तो रकमलाई साही भनिन्छ।'
मगर समुदायमा फुपूको छोराले मामाकी छोरी विवाह गर्ने चलन पनि छ।
'फुपुको छोरा र मामाकी छोरीबीच मगनी भएर कुरा छिनियो र दुवैपट्टिका अभिभावक मन्जुर भए भने तुरून्तै विवाह गरिन्छ,' बमकुमारीले भनिन्, 'प्रायः केटापट्टिबाट केटी माग्न गइन्छ, तर जुनसुकै अवस्थामा विवाहको प्रस्ताव लैजाँदा केटी पक्षले रक्सी खाए विवाह पक्का मानेर लगनको तयारी थालिन्छ।'
संस्कृतिविद् मीन श्रीस मगरका अनुसार डोल्पाली मगर समाजमा फुपूचेली र मामाचेली दुवैसँग विवाह गर्ने चलन छ।
'विवाह संस्कारमा केटा पक्षबाट बिजोर संख्याका केटाहरू सगुनका रूपमा पैसा र मह मिसाएको सातुको परिकार लिएर केटीको घर जान्छन्। त्यो परिकार खाइसकेपछि केटीलाई केटाको घर ल्याइन्छ,' उनले भने, 'विवाह भोज तीन दिनसम्म चल्छ। यस क्रममा जाँड–रक्सी अनि मासुको प्रयोग प्रशस्त हुन्छ र नाचगान पनि चल्छ।'
बाह्र मगरातका मगरहरूमा पहिले बन्दुक पड्काएर विवाहका लागि जन्ती निस्किएको खबर दिने चलन पनि थियो।
'केटा पक्षले बन्दुक पड्काएपछि केटी पक्षले तयारी सुरू गर्छन्। जन्तीको बाजा नजिक पुगेको छ भने उनीहरूले बोलाउँछन्। नभए केही समय प्रतीक्षा गर्न भन्छन्। केटी पक्षले बन्दुक पड्काएपछि बल्ल जन्ती केटीको घर पुग्छ,' मीन श्रीसले भने।
यसरी बन्दुक पड्काउने चलन माओवादी द्वन्द्व सुरू भएपछि हरायो। द्वन्द्वको समय सिडिओ कार्यालयले प्रत्यक घरमा भएको बन्दुक खोसेको मीन श्रीम बताउँछन्।
'मेरो घरमै तीनवटा बन्दुक थियो। मेरो बुवा ब्रिटिस आर्मी भएकाले एउटा, उहाँ गाउँको मुखिया पनि भएकाले दोस्रो र तेस्रो बन्दुक मैले आफैं किनेको थिएँ। ती बन्दुकहरू पछि प्रशासनले लग्यो,' उनले भने, 'अहिले कसैको घरमा बन्दुक छैन। कहिलेकाहीँ विवाहमा पड्काउनुपर्यो भने प्रशासनलाई सोध्नुपर्छ। प्रशासनले स्वीकृति दियो भने मात्र पड्काइन्छ।'
आफ्नो चलनअनुसार जन्ती घरमा पुगेपछि केटालाई दायाँ र केटीलाई बायाँ राखिन्छ। टीका लगाइदिँदा पनि पहिला आफ्नी छोरीलाई अनि बल्ल ज्वाइँलाई लगाइन्छ। दुलहाको घरमा नवविवाहित जोडी पुगेपछि ठ्याक्कै त्यसको उल्टो हुन्छ।
त्यसो हुनुको कारणबारे मीन श्रीस मगरले भने, 'माइतीमा हुँदा केटी सिनियर हुन्छ, घरमा पुगेपछि केटा।'
विवाहका लागि केटा पक्ष आउँदा उनीहरूले एउटा हातमा दही र अर्को हातमा रक्सी बोकेर आउनुपर्छ। एउटा भाँडा दुलहाले बोकेको हुन्छ भने अरू आफन्तजनले। भागी विवाह हो भने एउटा भाँडा केटाले र अर्को भाँडा केटीले बोकेकी हुन्छिन्।
अब भागी विवाहको कुरा गरौं।
केटाकेटी भागेर विवाह गरे भने कति माइती छोरी खोज्दै आउँछन्। कति केटाकेटी भने आफैं माइतीलाई खबर गर्न जान्छन्। माइतीले आफ्नी छोरी खोजेर भेट्दा 'राजी–विराजी' भन्ने हुन्छ, जसमा छोरीलाई आफूखुसी आएको हो वा बलजफ्ती आएको हो भनेर सोधिन्छ। छोरीले आफ्नो इच्छाले आएको र घर नआउने बताइन् भने उनलाई घर लगिन्न।
'बलजफ्ती ल्याएको हो भने कचहरी (छलफल) चल्छ र छलफलअनुसार क्षतिपूर्ति लिएर वा दिएर छोरीलाई माइती फर्काइन्छ। यसलाई 'शिर भर्ने' भनिन्छ। त्यो भनेको केटीको इज्जत भरेर माइती लैजानु हो,' बमकुमारीले भनिन्।
भागी विवाहपछि अर्को 'सोधनी जाने' भन्ने हुन्छ। त्यसमा छोरीलाई भगाएर ल्याएको खबर दिन केटा पक्षका आफन्तजन जान्छन् र ढोगभेट कहिले गर्ने भनेर सोध्छन्। सोधनीपछि माइती पक्ष मन्जुर भयो भने विवाह हुन्छ। यसरी विवाहका लागि केटीको घर जाँदा रक्सी र दही लग्नुपर्छ। एउटा भाँडा केटीले र अर्को केटाले बोक्छ। माइतीको मागअनुसार अन्य सरसामग्री पनि लग्नुपर्छ।
'सामान्यतया विवाह समझदारीमा हुन्छ। कहिलेकाहीँ आफूलाई मन नपरेको केटा वा परिवारले लगेको छ भने रिसले धेरै थोक मागिन्छ। केटा पक्षलाई थुप्रै ऋण नै बोकाइदिन्छन्,' मीन श्रीस मगरले भने।
कहिलेकाहीँ त रिसाएका परिवारले छोरी–ज्वाइँलाई ढोगभेट नै दिँदैनन्। वर्षौंसम्म उनीहरूको सम्बन्ध चिसिन सक्छ। कतिपय माइतीले छोरी–ज्वाइँलाई उनीहरूको बालबच्चा जन्मिसकेपछि पनि ढोगभेट दिन सक्छन्। त्यही भएर मगर समुदायमा बालबच्चा भएपछि विवाह गर्नुलाई नौलो मानिन्न।
मगर समुदायमा एउटा भनाइ प्रचलनमा छ – शिरको राजा, कुमको माइती।
कुमको माइती भएकाले छोरी–ज्वाइँले माइतीलाई आफ्नो मान्नुपर्छ। माइतीले आपतकालीन समयमा बाहेक चाडपर्वमा छोरी-ज्वाइँ बोलाउने चलन छैन।
'उसले आफैं यो चाड हो भन्ने जानेर आउनुपर्छ,' बमकुमारीले भनिन्, 'नभए ठूलो ठहरिएको वा आफ्नो मान्छे नचिनेको दोष लाग्छ।'
विशेष चाडपर्वमा आउँदा उनीहरूले कोसेलीका रूपमा जाँड–रक्सी ल्याउने चलन छ।
'रूकुम–रोल्पातिर पाहुर अर्थात् कोसेलीलाई लिसक भन्छन्। छोरी माइती आउँदा उसले लिसक भनेर रोटी, माछामासु, रक्सी लगायत सामग्री ल्याउँछिन्। त्यसमा प्रमुख रक्सी नै हुन्छ। कतिपयले लिसक भनेर रक्सी मात्र ल्याउँछन्,' मीन श्रीस मगरले भने।
उनका अनुसार छोरी–ज्वाइँ भनेको मगरहरूको परिप्रेक्ष्यमा 'भान्जा' हो। उनीहरूमा भान्जा भन्नाले छोरी–ज्वाइँलाई बुझिन्छ। उनीहरूको मृत्यु संस्कारमा विशेष भूमिका हुन्छ।
कुनै ठाउँमा मृतकलाई घाट लैजानुअघि शरीरमा विभिन्न लुगा लगाइदिइन्छ। टीका लगाइदिने, पैसा चढाउने लगायतका विभिन्न विधि गरिन्छ। आफन्तहरूमध्ये मृतकको शिरतिर को बस्ने, दायाँ को बस्ने, बायाँ को बस्ने भन्ने नियम हुन्छ। विधि गर्न ङैतामी (पुरेत) भन्ने महिला हुन्छिन्। मृतकलाई स्वर्ग वा पितृलोकमा कसरी पुर्याउने भन्ने विधि उनैले गर्छिन्।
'अधिकांश समुदायमा महिलाहरू मलामी जाने चलन छैन। रूकुम, रोल्पाका मगरहरूमा भने अनिवार्य जानैपर्छ,' मीन श्रीस मगरले भने, 'कसैको दाहसंस्कारमा जाने बेला ढाल–तरबारसमेत बोकेर जान्छन्। त्यहाँ गएर बन्दुक पड्काउँछन् र एकोहोरो तालमा बाजा पनि बजाउँछन्।'
मगर समुदायमा जलाउने र गाड्ने दुवै चलन छ। विशेषगरी झाँक्री र तान्त्रिक विद्या जानेकाहरूलाई गाड्ने गरिन्छ। गाड्दा पलेँटी मारेर ध्यान गरेजस्तै अवस्थामा राखिन्छ। उनीहरूको घन्टी, त्रिशुल लगायत सामग्री पनि सँगसँगै गाडिन्छ।
मृत्यु संस्कार सकेर आएपछि कतिपय मगरहरूले आफ्नो घर लिपपोत गर्छन्। त्यो काम विवाह भइसकेकी छोरीले गर्नुपर्छ। उनी छैनन् भने घर नजिकैको बुहारीलाई पनि गराइन्छ।
'लिपपोत गरेको ठाउँमाथि गुन्द्री ओछ्याएर मृतकको परिवारजन सुत्छन्। तीन दिनमा शुद्धशान्ति गरेपछि पितृहरूलाई जाँड–रक्सी, सुकुटी लगायत खानेकुरा चढाइन्छ।'
रोल्पाकी बमकुमारी बुढाका अनुसार उनीहरूकहाँ गाडे पनि जलाए पनि डाँडामा लाने चलन छ। त्यस बेला उल्टो बाजा बजाइन्छ र त्यसको धुन पनि महिला र पुरूषको फरक हुन्छ। धुनबाटै को मरेको हो थाहा पाउन सकिन्छ। मृतकको घरको छानामा सेतो लुगा पनि राखिन्छ।
'मृतकलाई विदावारी गर्दा आफ्ना छोरीचेली र भाइबहिनीले ल्याएका विभिन्न खानेकुरा चढाउने चलन छ। त्यसमा जाँड–रक्सी पनि हुन्छ,' उनले भनिन्।
डोल्पातिर भने आफ्नै खेतबारीमा लास जलाउने चलन भएको मीन श्रीस मगर बताउँछन्।
'लास जलाउनुअघि घरपरिवारका सदस्यले दागबत्ती दिएपछि मलामीहरूले दागबत्ती दिन्छन्। मलामीहरू फर्किएपछि धूपीको धूप बालेर शरीर चोख्याइन्छ। दाहसंस्कार गरेको तेस्रो दिन गाउँलेहरूलाई छ–छवटा मीठे फापरको रोटी खुवाएर शुद्धशान्ति सम्पन्न हुन्छ,' उनले भने, 'उन्चालीसौं दिनमा मृतकको परिवारले गाउँलेलाई एक–एक माना चामल पुर्याएपछि मृत्य संस्कार सम्पन्न हुन्छ।'
मगरहरूले औषधि उपचार क्रममा पनि रक्सी प्रयोग गर्ने गरेको मीन श्रीस बताउँछन्।
'अरिंगाल, माहुरी लगायत विषालु किराले टोक्दा त्यसको विष मार्न जाँड–रक्सी प्रयोग गरिन्छ। घाउ खटिरा रक्सीले सफा गर्दा चाँडै निको हुन्छ भन्ने विश्वास छ। रूघाखोकी लाग्दा पनि चामल फुराएर कोदोको रक्सी झानेर खाने चलन छ,' उनले भने।
मगरहरूको चाडपर्वमा पनि जाँड–रक्सी अनिवार्य छ। मगरहरू माघे संक्रान्तिलाई आफ्नो विशेष चाड मान्छन्। त्यस दिन आफ्नी छोरी, बहिनीलाई पुज्नु नै यो चाडको विशेषता भएको बमकुमारी बताउँछिन्।
'विशेषगरी विवाह गरेर गइसकेका दिदीबहिनीलाई दाजुभाइले निम्ता दिन्छन्। त्यस दिन उनीहरूलाई सेतो टीका र जौको जमरा लगाइदिएर दक्षिणासहित तरूल, गिठाभ्याकुर, रोटी लगायत खानेकुरा खान दिइन्छ,' उनले भनिन्, 'श्रीपञ्चमीमा पनि माघे संक्रान्तिमा झैं खानेकुरा खुवाएर छोरीचेलीको सत्कार गरिन्छ।'
यही समयतिर अन्नबाली पाक्छ। यो प्रकृतिलाई धन्यवाद दिने चाड पनि भएको बमकुमारी बताउँछिन्। उनका अनुसार मगर समुदायले पहिलो अन्न जौ उमारेको रूकुम जिल्लामा हो भन्ने भनाइ छ। फागु पूर्णिमामा जौकै ढिँडो र बाला कुल देवतालाई चढाइन्छ।
आफूहरूले माघ १ गते आफ्नो विशेष चाड माघे संक्रान्ति मान्नुलाई बमकुमारी राज्यको दमन मान्छिन्।
'विक्रम सम्बतको क्यालेन्डर पालन गर्ने जातिहरू हेर्नुभयो भने मगर, थारू र गुरूङहरू देख्नुहुन्छ। अरूले तिथी मान्छन्, उनीहरूले मिति। त्यो भनेको राज्यले आफ्नो साथमा हिँडाउनु हो,' उनले भनिन्।
राज्यले आफूसँगै हिँडाउन आदिवासी जनजातिलाई जाँड–रक्सी बनाउन प्रतिबन्ध लगाएको पनि उनको धारणा छ।
'२०४७ पछि रक्सीका भाँडाहरू घरघरमै गएर फ्याँकिन थालियो। कालो ब्यानरमा मदिरा निषेध भनेर सुख्खा क्षेत्र घोषणा गरियो। यता ब्यानर बोकेर विरोध गर्ने र उता एउटा घरभित्र पसेर सुटुक्क जाँड खाएर प्यास मेटेको मैले आफ्नै आँखाले देखेँ। ब्यानर बोकेर त्यसरी हिँड्न उनीहरू बाध्य थिए, तर हाम्रोमा खाजाका रूपमा जाँडबाहेक अरू थिएन,' उनले भनिन्।
उनले अगाडि भनिन्, 'वास्तवमा भन्ने हो भने नेपालको ठूलो जनसंख्याले मदिरा उपयोग गर्छन्। वस्तु विनिमय पनि यसबाट चलिरहेको छ। सामाजिक, सांस्कृतिक र आर्थिक पाटो पनि चलिरहेको छ। आदिवासीको सीपलाई प्रहार गर्नुभन्दा व्यवस्थापन गर्नेतर्फ राज्यको ध्यान पुग्नुपर्छ।'
***