त्यति बेला पृथ्वी उत्पत्ति भइसकेको थियो। आकाश पनि।
घाम र जून बनिसकेको थियो। दिउँसो घाम उदाउँथ्यो, राति जून।
पृथ्वीमा वनस्पति, झारपात, फूल, जडिबुटी, जंगल सबै बनिसकेका थिए। गाई, गोरू, कुकुर, भैंसी, चरा लगायत विभिन्न पशुपन्छी उत्पन्न भइसकेका थिए।
त्यसपछि मान्छेको जन्म भयो।
मान्छे जन्मिएपछि ढुंगे युग, शिकारी युग हुँदै कृषि युगतिर प्रवेश गरे। यो कथा त्यही युगको प्रारम्भतिरको हो।
'त्वुम कअ–प्ये' भन्ने शास्त्रअनुसार कृषि युग सुरू गर्ने दुई जना व्यक्ति थिए — क्येबोपोदाङ र सामँमोदाङ। उनीहरू सम्बन्धले श्रीमान–श्रीमती थिए। एकदिन उनीहरूले जंगल फाँडे र खेतीयोग्य जमिन बनाए। त्यसपछि कोवो (चिन्डो) को बिउ खोज्न क्येबोपोदाङ मधेस हिँडे।
दिन बित्यो, साता बित्यो, महिना बित्यो।
न क्येबोपोदाङ फर्किए, न उनको कुनै खबर आयो। उनको बाटो हेर्दा हेर्दै सामँमोदाङका एक जोडी आँखा थाकिसकेका थिए।
क्येबोपोदाङको खबर नपाएर न्यास्रिएकी सामँमोदाङले उनलाई खोज्न आफैं जाने निर्णय गरिन्।
क्येबोपोदाङ हिँडेकै बाटो पहिल्याउँदै सात दिन लगातार हिँडेपछि उनले एउटा ठूलो पिपलको रूख भएको चौतारीमा विश्राम गरिरहेका क्येबोपोदाङ फेला पारिन्।
भेट्नेबित्तिकै उनीहरूले एकअर्कालाई अंकमाल गरे। सन्चो–बिसन्चो सोधे।
भावुक हुँदै सामँमोदाङले सोधिन्, 'तपाईं यत्तिका दिन कता हराउनुभएको? घरको अनि मेरो माया लागेन?'
क्येबोपोदाङ चिन्डोको बिउ कसैगरी फेला पार्न नसकेर हत्तु भएका रहेछन्। जसैगरी बिउ फेला पार्छु भन्ने ढिपीले घर नफर्की मधेसमै बसेका रहेछन्।
सामँमोदाङले श्रीमानलाई यस्तो ढिपी गर्नु हुन्न भनेर सम्झाइन् र घर फर्किन आग्रह गरिन्।
घर फर्किनै लाग्दा पिपलको रूखमा बसिरहेको ढुकुरले उनीहरूको लुगामा बिस्ट्याइदियो। त्यही बिस्टा सँगालेर उनीहरू घर फर्किए।
क्येबोपोदाङले त्यतिका समय मधेसमा खोज्दा पनि फेला पार्न नसकेको चिन्डोको बिउ त्यही बिस्टाबाट निस्कियो।
उनीहरू दंग परे। खुसियाली मनाए।
चिन्डोको बिउलाई आगोमाथि राखिएका दाउराको सारनमा ढुंग्रोभित्र हालेर सुकाउन छाडिदिए।
केही समयपछि क्येबोपोदाङ फेरि गहुँको बिउ खोज्न भोटतिर हिँडे।
सामँमोदाङले भोट हिँड्न लागेका क्येबोपोदाङलाई घुर्की लगाउँदै भने, 'अब फेरि हराउनुभयो भने म तपाईंलाई खोज्दै आउँदिन नि!'
चाँडै घर फर्किने बाचासहित क्येबोपोदाङ सामँमोदाङसँग छुट्टिए।
यात्राका क्रममा उनले सुरूमा फापरको बिउ फेला पारे। त्यो बिउ मरेका मान्छेले टिप्छन् भन्ने त्यस बेला मान्यता थियो। त्यही भएर त्यसलाई नटिपी उनी गुम्बातिर लम्किए। त्यहाँ उनले गहुँको बिउ फेला पारे र बिउ लिएर घर फर्किए।
क्येबोपोदाङ र सामँमोदाङले मिलेर गहुँ र चिन्डोको बिउ रोपे।
गहुँ पाकेपछि उनीहरूले घरभित्र ल्याए।
पाकेको गहुँलाई सामँमोदाङले पाह्रान (पिँढीमा बिछ्याइएको समतल ढुंगा) मा कुटिन्। त्यसलाई जाँतोमा पिसेर पिठो बनाइन् र ढिँडो पकाइन्।
उनीहरूले पहिलोचोटि ढिँडो खाए।
खाने बेला 'छ्योतोछ्योत' भनेर थोरै ढिँडो बितेका पुर्खाहरू र सिल्दो नाल्दो/सिमे भूमे (प्रकृतिका देवता) लाई चढाउनुपर्थ्यो। तर उनीहरूले त्यसो नगर्दा भोक मेटिएन।
चिन्डो र गहुँको बिउ फेला पारिसकेका क्येबोपोदाङलाई अब अर्को भोक जाग्यो। उनलाई एकै चिजमा तीनथरी स्वाद (तितो, टर्रो र अमिलो) भेटिने खानेकुरा खोज्नु थियो। उनी त्यसको खोजीमा जंगलतिर लागे।
जंगलभित्र उनले मस्त मातेर एकअर्कालाई अंकमाल गर्दै लठ्ठिइरहेका वनझाँक्री (च्हान–तुत) देखे। तिनीहरू यसरी लठ्ठिँदै हिँड्नुको कारण के हो भनेर उनले सोधिखोजी गरे।
सुरूमा त वनझाँक्रीहरूले कारण बताउन चाहेनन्। क्येबोपोदाङ जिज्ञासु स्वभावका थिए। बारम्बार सोधेपछि उनीहरूलाई भन्न कर लाग्यो।
उनीहरूले भने, 'हामीले मर्चाको बिरूवा डाःप खाएका हौं।'
यति भनेर उनीहरूले डाःप उपयोग गर्ने विधि पनि बताइदिए, 'डाःपलाई जरैदेखि उखेल्नुपर्छ। अनि काटेर पकाउनुपर्छ। पाकेपछि त्यसको रेसा छुट्ट्याउनुपर्छ। त्यसलाई छानेर नचाहिने पदार्थ फाल्दा चोखो ठाउँमा मात्र फाल्नुपर्छ। छानेर बाँकी रहेको लेदो कोदोको पिठोमा मुछेर डल्लो पार्नुपर्छ।'
सारा वर्णन सुनेपछि क्येबोपोदाङ वनझाँक्रीहरूबाट डाःप लिएर घर फर्किए।
उनले आफ्नी श्रीमती सामँमोदाङसँग मिलेर ब्रोमो (मर्चा) तयार पारे।
ब्रोमोँले भन्यो, 'मलाई जाडो भयो, न्यानो बनाइदेऊ।'
त्यसपछि उनीहरूले ब्रोमोँलाई पातको लुगा लगाएर डालोमा ओथरा राखिदिए। केही दिनमा सेतो लेउ उम्रियो र ब्रोमो पाक्यो।
ब्रोमोँलाई ओथराबाट झिकेर सामँमोदाङले घाममा सुकाइदिइन्। केही समयपछि न्यायो भयो कि भएन भनेर आफ्नो गालामा टाँसेर परीक्षण गरिन्।
ब्रोमोँ पक्का तयार भयो भन्ने भएपछि उनीहरूले जाँडको भात (मँःम्) पकाए, त्यसमा ब्रोमोँ मोले र अँगारले मन्साए।
त्यो बेला चमत्कार के भयो भने, चौबीस घन्टामै एक वर्ष बित्यो र जाँड पाक्यो। त्यसलाई उनीहरूले चिन्डोमा हाले र खानुअघि क्येबोपोदाङले तीनपटक 'छ्योत्' गरेर पुर्खाहरूलाई चढाए।
यति गरेपछि त्यो जाँड खानयोग्य भयो। उनीहरूको भोक पनि मेटियो।
जाँडमा क्येबोपोदाङले खोजेझैं तीनवटा स्वाद थियो – तितो, टर्रो र अमिलो।
यो त भयो गुरूङ समुदायमा प्रचलित जाँडको उत्पत्ति कथा। तर कथामा भनिएझैं चिन्डोलाई भाँडाका रूपमा प्रयोग गर्ने चलन गुरूङहरूमा खासै छैन। किराँती समुदायमा भने यो चलन व्यापक छ।
'प्रज्ञा नेपाली मिथक कोष' का लागि यो कथा संकलन गरेका गोरखाका छम गुरूङले भने, 'कथामा चिन्डो कसरी आयो भनेर मलाई पनि अचम्म लागेको थियो। सायद पहिलेका हाम्रा पुर्खाले यसको प्रयोग गर्थे कि!'
जाँडपछि कुरा गरौं रक्सीको।
अन्य समुदायजस्तै गुरूङहरूले पनि पहिले जाँड बनाउन सिके र त्यसैलाई वाष्पीकरण गरेर रक्सी बनाउन थाले। गुरूङ (तमु) हरू रक्सीलाई 'पा' वा 'प्हा' भन्छन्। रक्सीको सन्दर्भलाई लिएर उनीहरूका विभिन्न शास्त्र (प्ये) मा यसको व्याख्या पाइन्छ।
गुरूङ शास्त्रअनुसार सृष्टिको सुरूआततिर रक्सी बनाउने अन्न (अहिलेको कोदो) छोरा मान्छेले टिपेर ल्याउने र छोरी मान्छेले निफन्ने गर्थे। भुस र कोदो छुट्याएपछि त्यसलाई पकाएर मर्चा हालेर मान्द्रोमा फैलाइन्थ्यो। एक रातमा अलिअलि रस आउन थाल्थ्यो। दोस्रो रातमा अलि बढी रस आउँथ्यो र तेस्रो रातमा जाँड (क्हुइ पा) तयार हुन्थ्यो।
बोन संस्कार अवलम्बन गर्ने गुरूङहरूले पितृ कार्य र पूजाहरूमा रक्सी चढाउँछन्। रक्सी चढाउनुको कारणबारे उनीहरूको शास्त्रमा अनेकौं रोचक कथा–किम्बदन्ती पाइन्छन्। तीमध्ये दुईवटा प्रख्यात छन्।
पहिलो कथा
खौं तिखे र रौं तिखे भन्ने दुई जना दाजुभाइ थिए। एकदिन उनीहरू शिकार खेल्न गए। शिकार गरेर ल्याएको आहाराको मासु उनीहरूले जंगलमै पोल्ने निधो गरे। त्यसरी पोल्ने क्रममा जंगलमा आगलागी भयो। उनीहरूले कसैगरी आगो नियन्त्रण गर्न सकेनन्।
आगो निभाउन कुनै उपाय नलागेपछि उनीहरूले विभिन्न शक्तिलाई पुकारे। त्यति गर्दा पनि आगो नियन्त्रण भएन।
आगोको लप्काले जंगलका जनावरहरू यताउता छट्पटाउन थाले। त्यसैबीच एउटा दुम्सी (च्ह्यदौसी) आगो नियन्त्रण गर्ने उपाय लिएर आयो।
दुम्सीले भन्यो, 'यहाँको सिल्दो नाल्दोलाई रक्सी चढाएर पुज्यो भने आगो नियन्त्रण हुन्छ।'
ती दाजुभाइले दुम्सीले भनेझैं रक्सी बनाएर भगवानलाई चढाएपछि आगो नियन्त्रण भयो।
दोस्रो कथा
एक गुरूङ दम्पतीको सन्तान थिएन। उनीहरू दुःखी थिए। उनीहरूले एउटा बिरालोलाई आफ्नो सन्तानजस्तै गरी पालेका थिए। त्यसलाई आफ्नो सन्तान जत्तिकै माया गर्थे।
एकदिन त्यो बिरालो हरायो। जताततै खोज्दा पनि फेला परेन।
बिरालो कतै नभेटिएपछि उनीहरू आफ्नो सन्तान हराएजसरी शोकाकुल भए। धर्धर्ती रून-कराउन थाले।
उनीहरू रोएको तल्लो गाउँका बासिन्दाले समेत थाहा पाए। ती बूढाबूढी किन रोइकराई गरिरहेका छन् भनेर उनीहरू घरमा हेर्न आए।
गुरूङ दम्पतीले आफ्नो कुनै सन्तान नभएको र सन्तानझैं पालेको बिरालो पनि हराएको कुरा गाउँलेहरूलाई सुनाए।
गाउँका एक बुद्धिजीवीले उनीहरूलाई त्यो दुःखबाट छुट्कारा पाउने उपाय बताइदिए।
ती बुद्धिजीवीले सुरूमा उनीहरूलाई रक्सी पार्ने विधि सिकाए, अनि भने, 'यो रक्सीले यहाँको सिल्दो नाल्दो/सिमे भूमेलाई पुज्नू। त्यसपछि तिमीहरूको मनोकामना पूरा हुन्छ।'
गुरूङ दम्पतीले उनले भनेझैं गरे।
केही समयपछि उनीहरूको सन्तान जन्मियो। उनीहरूको सारा दुःख दूर भयो।
गुरूङहरूको जाँड–रक्सी संस्कृतिबारे जान्न हामीले तीन फरक ठाउँका गुरूङहरूसँग कुराकानी गरेका थियौं — गोरखाको अठार सय खोला भई हाल काठमाडौं बस्ने छम गुरूङ, कास्की घर भई हाल ललितपुर बस्ने गौमती गुरूङ र सिक्लेस घर भई हाल पोखरा बस्ने पोलबहादुर गुरूङ।
तीन फरक ठाउँका गुरूङलाई हामीले उनीहरूको रीतिथितिमा जाँड–रक्सी कसरी जोडिएर आउँछ भन्ने प्रश्न राख्दा उनीहरूले फरक फरक चलन बताए। त्यसपछि हामीले मानवशास्त्रीसमेत रहेका पोलबहादुर गुरूङलाई सोध्यौं, 'किन यति धेरै फरक?'
जवाफमा उनले भने, 'हामी गुरूङहरूको संस्कृतिमा एकदमै धेरै भिन्नता छ। सबैको आ–आफ्नै रीतिथिति छ। हाम्रो विचारधारामै पनि धेरै फरक छ।'
सबभन्दा ठूलो फरक त आफूहरू गुरूङ वा तमुमध्ये के हो भन्नेमै भएको उनले बताए।
गुरूङ समुदायको उत्पत्तिबारे पनि विभिन्न प्रसंग भेटिन्छन्। कतिले ठट्यौली पारामा आकाश गड्याङगुडुङ कराएर गुरूङ भयो भन्छन्। कति अध्येताले तिब्बती शब्द 'ग्रोङ' बाट गुरूङ भयो भन्छन्। तिब्बती भाषामा ग्रोङको अर्थ खेतीकिसानी गर्ने व्यक्ति वा कृषक हो।
मानवशास्त्री पोलबहादुर भने गुरूङ शब्द तिब्बत वा बाहिरका अन्य ठाउँबाट आएको मान्दैनन्। भाषाशास्त्र पनि पढेका उनी शासक वर्गले जबर्जस्ती यो शब्द राखेको मान्छन्।
'हाम्रो पहिला क्होला भन्ने राज्य थियो। त्यो राज्य विघटन भएपछि गुरूङहरू क्षत्री–बाहुनको सम्पर्कमा आए। नेपाली भाषा र दक्षिणको प्रभाव उनीहरूमा पर्यो। त्यही प्रभावले हामी गुरूङ भयौं। अहिले हामीले जसरी गुरूङको विभिन्न व्याख्या गरेका छौं, त्यो भाषा विज्ञानले जनाउँदैन,' उनले भने।
गुरूङहरू आफूलाई तमु पनि भन्छन्। यसले आकाशको बज्र वा घोडा भएका मानिस भन्ने अर्थ जनाउने कतिपयको तर्क छ। उनीहरूको भाषामा 'तम' भन्ने शब्दले 'हुन्छ' भन्ने अर्थ दिन्छ। जसले जे भने पनि हुन्छ भन्ने गुरूङहरूको स्वभावले तमु नाम रहेको भनाइ पनि छ।
पोलबहादुरका अनुसार 'त' र 'तु' शब्दको अर्थ माथिको भूगोल हो भने 'मु' को अर्थ तलको भूगोल हो।
'गुरूङहरू माथिको भूगोल अर्थात् तिब्बत, चीन, मुस्ताङ, मनाङ, कास्की हुँदै पोखरा लगायत विभिन्न ठाउँमा छरिएका छन्। यसरी माथिल्लो वा अग्लो ठाउँबाट होचो ठाउँ आएकाले तमु भनिएको देखिन्छ,' उनले भने, 'हामीले शब्दहरू किन र कसरी प्रयोग भएको छ भनेर बुझ्न भाषासँगै शास्त्रले के भन्छ भन्ने खोज्नुपर्छ।'
गुरूङहरूले आफ्नो शास्त्र लेखेर अभिलेखीकरण गर्न थालेको धेरै भएको छैन। गुरूङहरूका पुजारी (प्हच्यु) पनि रहेका पोलबहादुर आफैंले पनि मौखिक ज्ञानकै आधारमा धेरै शास्त्र पढेका छन्।
उनीहरूको शास्त्रमा गुरूङहरूको पहिलो ठाउँका रूपमा 'सफुती क्ह्यल्सा' को नाम आउँछ। यो ठाउँ ताजकिस्तान, काजकिस्तान, मंगोलिया, साइबेरी लगायत कुनै पनि ठाउँ हुनसक्ने अध्येताहरूले अनुमान गरेका छन्। तर यकिनसाथ यही हो भनेर भन्न नसकिने पोलबहादुर बताउँछन्।
'सफुती क्ह्यल्साबाटै गुरूङहरूको इतिहास र संस्कृति सुरू भएको हो। तर यही ठाउँ हो भनेर शास्त्रले भन्दैन,' उनले भने, 'त्यहाँबाट उनीहरू चीन, मुस्ताङ, लम्जुङ लगायत विभिन्न ठाउँमा राज्य बसाल्दै क्होला सोंथर भन्ने ठाउँ आए। गुरूङहरूको अन्तिम राज्य त्यहीँ थियो।'
क्होला सोंथर भन्ने ठाउँ अहिले कास्कीको मादी गाउँपालिका वडा नम्बर २ मा पर्छ। पहिले यो ठाउँ लम्जुङमा पर्थ्यो। यहाँ अझै पनि पुराना चिहान, भग्नावशेष घर र तिनका पर्खाल भेट्न सकिन्छ। यहाँका मान्छे कुनै ठूलो महामारी आएर बस्ती नै खाली गरी यत्रतत्र बसाइँ सरेको विश्वास गरिन्छ।
यहाँबाट बसाइँ सरेका गुरूङहरू गण्डकी आसपास धेरै फेला पर्छन्। त्यसको कारण बताउँदै पोलबहादुरले भने, 'क्होला भन्ने ठाउँ गण्डकीमै पर्छ। त्यही भएर पनि गुरूङहरू यतै बसोबास गरेका हुन्। त्योसँगै हामी गुरूङ भनेका खेतीकिसानी गर्ने र भेडाबाख्रा, गाई–गोरू पाल्ने समुदाय रहेछौं। अनि हाम्रो लागि अन्नपूर्णको सेरोफेरो एकदमै उचित रहेछ। त्यसैले हामीले यही ठाउँमा आफ्नो बस्ती विस्तार गरेका रहेछौं।'
आफूहरूले सफुती क्ह्यल्सा हुँदै तिब्बतबाट आउँदा नै जाँड–रक्सी बनाउन सिकिसकेको उनी बताउँछन्।
प्रायः गुरूङहरू रक्सीलाई 'पा' वा 'प्हा' भन्छन्। गोर्खा, अठार सय खाेलाका छम गुरूङ भने आफ्नो ठाउँमा यसलाई 'च्यि' भनिने बताउँछन्।
त्यस्तै, जाँडलाई गुरूङहरू 'क्हुइ पा' भन्छन्। गोरखामा भने यसलाई 'नादुम' भनिने उनी बताउँछन्।
मर्चालाई 'प्ह्रम' भनिन्छ। यसलाई गुरूङहरूको शास्त्र 'प्ये ताँ ल्हु ताँ' मा 'प्ह्र ताँ' भनी उल्लेख गरिएको छ। गोरखातिर भने 'ब्रोमो' भनिने छमको भनाइ छ।
अब हामी गुरूङ संस्कृतिसँग जाँड–रक्सी कसरी जोडिएको छ भन्ने चर्चा गरौं।
कास्कीको सातमाने देउरालीमा घर भई हाल ललितपुरस्थित बागडोल बस्ने गौमती गुरूङले तीन वर्षदेखि रक्सी व्यवसाय गर्दै आएकी छन्। यो व्यवसायमा रहरले भन्दा 'फसेर लागेको' उनी बताउँछिन्।
उनले आफ्नो माइती तनहुँमा आमाको देखासिकी रक्सी पार्न जानेकी थिइन्। त्यहाँ चाडपर्वमा मात्र रक्सी बनाउनुपर्थ्यो। विवाह गरेर कास्की पुगेपछि उनी मेलापात, घाँस–दाउरा लगायत घर बाहिरका सबै काम गर्थिन्। घरभित्रका काम भने उनकी सासूले गर्थिन्। रक्सी पनि सासूले नै बनाउँथिन्।
तेत्तीस वर्षदेखि बागडोलमा बस्दै आएकी ५८ वर्षीया गौमतीलाई छिमेकमा पसल चलाइरहेकी एक महिलाले भनिन्, 'तिम्रोमा त रक्सी पार्ने ठाउँ पनि रहेछ। तिमी रक्सी पार्।'
'रक्सी पारेर कता बेच्न जाने हो त? ठाउँ मात्र भएर हुन्छ?' उनको जिज्ञासा थियो।
छिमेकीले उत्तर दिइन्, 'रक्सी बनायो भने त मेरै पसलमा जति भए पनि बिक्छ। यतै लिएर आऊ।'
यो तीन वर्षअघिको कुरा हो। छिमेकीको सल्लाहअनुसार गौमतीले रक्सी त बनाउने भइन्, तर रक्सी बनाउने भाँडा कहाँ पाइन्छ, कोदो कहाँ पाइन्छ भन्ने उनलाई ज्ञान थिएन। छिमेकी महिलाले नै उनलाई भाँडा किन्ने ठाउँमा लगिदिइन्।
उनीहरूले कोदो, मर्चा लगायत सामग्री किने। गौमतीले मर्चा मोलेर जाँड पकाइन् र त्यो जाँडबाट रक्सी पारिन्।
उनलाई अब त्यो रक्सी बेच्नु थियो। त्यसैले उनले छिमेकी महिलालाई खबर गरिन्। तर ती महिलाले आलटाल गर्न थालेपछि उनी रक्सी बोकेरै उनको घर गइन्।
'तिमीले नै होइन मलाई फसाएको! अब यो बेच कि जेसुकै गर भनेर सबै रक्सी उनको पसलमा लगेर राखिदिएँ,' गौमतीले रक्सी व्यवसायमा लाग्दाको अनुभव सुनाउँदै भनिन्।
हिजोआज गौमतीले पारेको रक्सी तनहुँ घर भई भैंसेपाटी बस्ने चिनिमाया गुरूङले बेचिदिन्छिन्। तमु प्ये ल्हु संघकी सदस्यसमेत रहेकी चिनिमायाकहाँ पोखरा, कास्की लगायत नेपालमा विभिन्न ठाउँबाट रक्सीको माग आउँछ। कतिपयले गौमतीको घरैमा आएर पनि रक्सी किनेर लैजान्छन्।
हामी पुग्दा पनि गौमती कोदोको रक्सी बनाइरहेकी थिइन्। उनले रक्सी पार्न आगोमा बसालेको भाँडा तलदेखि माथिसम्म सिलाबरको थियो। बीचमा रक्सी थाप्न माटोको भाँडा राखेकी थिइन्। सबभन्दा तलको भाँडालाई उनीहरूको भाषामा 'घया' भनिन्छ। बीचको भाँडालाई 'हन्डा' र त्यसभित्र रक्सी थाप्ने भाँडालाई 'पु' भनिन्छ। माथिको छोप्ने र पानी फेर्ने भाँडालाई बट्टा/तमरा भनिन्छ।
पहिले गाउँमा छँदा उनी तामाको घया र तामाकै बट्टा/तमरा प्रयोग गर्थिन्। बीचको हन्डा भने माटोको हुन्थ्यो। उनको गाउँ नजिकै खाल्टे खोला ब्यासीमा बस्ने कुमालेहरूले त्यति बेला माटोको हन्डा, रक्सी थाप्ने पु र कहिले मकै भुट्ने हाँडी ल्याउँथे।
'माटोको भाँडासँगै कहिलेकाहीँ उनीहरूले माछा पनि लिएर आउँथे। हामी उनीहरूसँग चामल, धान र कोदो दिएर ती सामग्री किन्थ्यौं,' गौमतीले भनिन्, 'कुमालेहरूलाई सबभन्दा प्यारो कोदोको दाना हुन्थ्यो। त्यो लगेर उनीहरू ढिँडो खान्थे कि जाँड बनाउथे खोइ? तर उनीहरूको ठाउँमा धान र गहुँ फल्ने भएकाले उनीहरूलाई कोदो प्यारो थियो।'
गौमतीका अनुसार गाउँमा सबैले माटोको काम गर्न आफ्नै कुमाल राखेका हुन्थे भने फलामको काम गर्न आफ्नै कामी र लुगाको काम गर्न आफ्नै दमाई राखेका हुन्थे।
'जसले राम्रो काम गर्छ उसलाई आफ्नो बनाउने हो। उसले अरूको पनि काम गर्न पायो, तर मन परेकोलाई आफ्नो भन्ने चलन थियो,' उनले भनिन्, 'कुनै गाउँमा कामी, दमाई, कुमालहरू छैनन् भने अरू गाउँबाट खोजेर ल्याई आश्रय दिएर राख्ने चलन थियो।'
उनीहरूले वर्षभर परिवारको काम त गर्थे नै, काम लाउने परिवारले वर्षदिनमा एक–एक डोको मकै, धान लगायत सामग्री उनीहरूको भाग भनेर छुट्टयाएर दिने चलन पनि थियो।
'कतिपयले त तिमीहरू आफैं डोको ल्याएर एक डोको मकै भाँचेर लग वा एक भारी धान लग भनेर भन्थे। अनि उनीहरू ठूलो डोका ल्याई टन्न अन्न हालेर लैजान्थे,' उनले हाँस्दै भनिन्।
आफ्नो घरमा विवाह वा शुभकार्य भयो भने पनि उनीहरूलाई निम्ता गरिन्थ्यो।
'हाम्रोमा छोरीको विवाह छ भने आफ्नो इष्टमित्र सबैलाई निम्तो गर्दा उनीहरूलाई पनि गरिन्थ्यो। कुमालहरूले दाइजोका रूपमा माटोका भाँडा ल्याउँथे। कामीले ठड्यौला बोकेर आउँथे। दमाईले सिरानी बोकेर आउँथे,' गौमतीले भनिन्, 'उनीहरूलाई अनिवार्य निम्ता गर्नुपर्ने चलन थियो। अहिले त लुगा सिलाउने काम दमाईमा मात्र सीमित रहेन। माटो र भाँडाका काम गर्ने अरू पनि छन्। त्यही भएर आ–आफ्नो कामी, दमाई र कुमाल राख्ने चलन पनि बिस्तारै हराउँदैछ।'
रक्सी खाने अन्य समुदायझैं गुरूङहरूलाई जन्मदेखि मृत्युसम्मै जाँड–रक्सी चाहिन्छ।
गौमतीका अनुसार गुरूङहरू बच्चा जन्मिएको तीन र पाँच दिनमा न्वारन गर्छन्। कसैको दिन/बार जुरेन भने सात दिनमा पनि हुन्छ। प्रायःले भने तीन दिनमै न्वारन गर्छन्। बच्चाको न्वारन गर्दा जाँडको छोक्रा अनिवार्य चाहिन्छ। न्वारन बेला क्ल्हेप्री (पुजारी) ले अशुद्धता फाल्ने (थासों फाल्ने) विधि गर्छन्। थासों फाल्न पुरानो डोको च्यातिन्छ। त्यसमा पकाएको कोदोको ढिँडोको कैदु (स–साना) भगवान बनाइन्छ। त्यसमा जाँडको छोक्रा पनि प्रयोग गर्नुपर्छ।
'त्यो दिन झाँक्रीको पात (रूरूभ्या) पनि अनिवार्य चाहिन्छ। त्यो पातबाट सबैलाई गहुँत दिएर चोखो बनाइन्छ,' गौमतीले भनिन्, 'त्यसपछि डोकोमा राखिएको कैदु, जाँडको छोक्रा सबै गल्लीमा लगेर फालिन्छ।'
उनले अगाडि भनिन्, 'त्यस दिन एक माना चामल पकाउनुपर्छ र एउटा सिंगै कुखुरा काटेर प्रसाद बनाउनुपर्छ। भात र मासु प्रसादका रूपमा बाँडिन्छ।'
गोरखाका छम गुरूङका अनुसार उनीहरूकहाँ पनि बच्चा जन्मिएको तीन दिनमै न्वारन गर्दा राम्रो मानिन्छ। तीन दिनमा भएन भने बिजोर दिनमा समय मिलाएर गरिन्छ। त्यस बेला आफ्नो समुदायमा 'थासों फाल्ने' परम्परा नभए पनि नौथरी ताजा विरूवालाई धुपजसरी बालेर चोख्याइने उनले बताए। त्यसमा रक्सी नभई हुँदैन।
मानवशास्त्री पोलबहादुर गुरूङका अनुसार 'थासों फाल्ने' चलन सिक्लेसतिर पनि छैन। मान्छेले तीन, पाँच, सात, नौ, एघार जस्ता बिजोर दिनमा न्वारन गरे पनि विधि पुर्याएर गर्ने हो भने छोराको नौ दिन र छोरीको सात दिनमा गर्नुपर्ने उनी बताउँछन्।
'हामीकहाँ जिउँदो मान्छे र मरेको मान्छेको सातो हुन्छ भनिन्छ। छोराको नौ र छोरीको सातवटा सातो हुन्छ,' उनले भने, 'छोरीको सात सातो हुने भएकाले सात अंक, महिना, रात, दिनसँग जोडिएर कामहरू गर्नुपर्छ। त्यसैगरी छोराले नौ अंकसँग जोडिएर काम गर्नुपर्छ।'
अन्य समुदायमा जस्तै गुरूङहरूमा पास्नीको चलन पनि छ। छोरी भयो भने पाँच महिना र छोरा भए छ महिनामा पास्नी गरिन्छ।
न्वारन र पास्नीको पूजाआजामा जाँड–रक्सी प्रयोग भए पनि बच्चाले खुवाउने गरिँदैन। विशेषगरी छोराले पहिलोपटक रक्सी खाने भनेको छेवर (ब्रतबन्ध) मा हो। छोरा पाँच, सात, नौ वा एघार वर्ष पुगेपछि उनीहरूको कपाल काटिन्छ। त्यस दिन उनका लागि रोटी र रक्सी राखिएको हुन्छ। कपाल काटिसकेपछि उसले त्यो रक्सी खानुपर्छ।
'छोराले रक्सी खाने क्रम त्यसै दिनबाट सुरू हुन्छ,' पोलबहादुरले भने।
छोराको छेवरझैं छोरीको गुन्यो–चोलो गर्ने चलन गुरूङ समुदायमा छ। छोरीलाई सात, नौ वा एघार वर्षमा गुन्यो–चोलो दिइन्छ। त्यस बेला नाङ्लोमा एक पाथी धान राखेर छोरीलाई त्यसमा उभ्याइन्छ र गुन्यो–चोली र उपहारहरू दिइन्छ।
'त्यसरी धानमाथि उभ्याउनुको कारण उनी त्यस दिनबाट ढिकी जाँतो गर्न सक्ने भइन् भन्न खोजेको हो,' पोलबहादुरले भने।
गुरूङ समुदायमा जसरी केटालाई छेवरपछि रक्सी खाने सुविधा छ, केटीलाई भने छैन। त्यसैले रक्सी बनाउने काम गरे पनि आफूले रक्सी त्यति नखाएको गौमती बताउँछिन्।
'हाम्रोतिर केटी मान्छेले जाँड–रक्सी खाएको त सुहाउँदैन भनिन्थ्यो। त्यसरी खायो भने त इज्जत नभएको भनेर अपहेलना गरिन्थ्यो,' उनले भनिन्, 'मलाई रक्सी बनाउँदा पनि खाउँजस्तो लाग्दैन। कहिलेकाहीँ रक्सी कस्तो बनेछ भनेर चाख्ने काम चाहिँ गर्छु।'
छेवर र गुन्यो–चोलीपछि जाँड–रक्सी धेरै चाहिने विवाहमा हो।
विवाहका लागि केटी माग्न जाँदा केटाले रक्सी र रोटी लिएर जानुपर्छ। त्यो रक्सी परिवारले खायो भने मात्र विवाहको प्रक्रिया अघि बढ्छ। नभए उनीहरूले विवाह अस्वीकृत भनेर बुझ्नुपर्छ।
'कहिलेकाहीँ त छोरीले नमान्दा नमान्दै दाजुभाइले जबर्जस्ती रक्सी–रोटी खाइदिन्छन्। त्यसपछि परिवारले जबर्जस्ती नै विवाह गराइदिन्छन्,' उनले भने।
परिवारले रक्सी र रोटी स्वीकार गरेपछि कुरा मिल्ने बुझिन्छ। अर्कोपटक फेरि त्यसको दुई गुणा ल्याऊ भनेर केटी पक्षले भन्ने गौमती बताउँछिन्।
'केटीकी आमाले थानको गुन्यो पनि माग्छिन्। अहिले त लुंगीको चलन आयो। त्यो कपडा दिदीबहिनी, जेठानी, देवरानी, बज्यै सबैका लागि ल्याउनुपर्छ। त्यसमा रोटी र रक्सी पनि चाहिन्छ। त्यस बेला ११ भारी रक्सी र रोटी ल्याउनुपर्छ भनिन्थ्यो। मावलीलाई, आमाबाबुलाई र भाइ सन्तानलाई भनेर तीनवटा खसी पनि लग्नुपर्थ्यो। केटा पक्षले ऋण गरेरै भए पनि ती सामग्री ल्याउँथे,' उनले भनिन्, 'विवाह गरेर गएपछि त्यो ऋणको भार आफ्नी छोरीलाई पनि पर्छ। त्यही भएर अहिले धेरैले आफ्नै छोरीलाई किन ऋणमा डुबाउने भनेर धेरै माग्न छाडेका छन्।'
गौमतीका अनुसार एउटा परिवारले एक घैंटो रक्सी र एक भारी रोटी माग राख्यो भने भारीमा सयवटा रोटी हुन्थ्यो। त्यो रोटी अहिलेजस्तो सेलरोटी नभई गोलो रोटीजस्तो हुने उनले बताइन्।
'एक माना चामलको पिठोको एउटा रोटी बनाउनुपर्छ भनिन्थ्यो। एक माना पिठोको रोटी त कत्रो हुन्थ्यो होला! सायद, उनीहरूको संकेत ठूलो रोटी ल्याऊ भन्ने हुन्थ्यो होला,' उनले भनिन्।
विवाहको दिन केटाको घरमा बास बसेर भोलिपल्ट छोरी दिएर फर्कन्छन्। त्यसको भोलिपल्ट आमाबुवालाई मुख देखाउन आउने भनेर फेरि रोटी र रक्सी सोलीभरी बोकेर नवविवाहित जोडी दुलहीको माइती जानुपर्छ। माइतीले छोरीलाई घर फिर्ता पठाउँदा पनि बोकेर ल्याएजत्तिकै रोटी र रक्सी फिर्ता गरिदिन्छ।
कहिलेकाहीँ केटाकेटीले भागेर विवाह गर्छन्। यस्तोमा माइतीले उनीहरूलाई भेटेपछि टीकाटालोका लागि निम्ता गर्छन्। त्यस्तो बेला पनि केटा पक्षले रक्सी र रोटी बोकेर जानुपर्छ।
रक्सी लग्ने भाँडालाई 'पोङ' भनिने गौमती बताउँछिन्। यो कटहरको रूख वा दार भन्ने रूखबाट बनाउँदा बलियो हुन्छ भन्ने मान्यता छ। छमका अनुसार गोरखाको अठार सय खाेलातिर यसलाई पोङ नभई 'च्यि-पम' भनिन्छ। मानवशास्त्री पोलबहादुरका अनुसार सिक्लेसतिर यसलाई 'तुइर' भनिन्छ।
'हामीकहाँ प्लास्टिक वा सिसाको बोतल भएर मान्दैन, काठकै भाँडा चाहिन्छ,' पोलबहादुरले भने।
गुरूङ समुदायमा मामाकी छोरीलाई फुपूको छोरासँग विवाह गराइदिने चलन छ। तर मामाका छोराले फुपूकी छोरी ल्याउन हुन्न भनिन्छ। यसको कारण बताउँदै गौमतीले भनिन्, 'भदैनीले लिपेको दैलोमा फुपू–फुपाजु त जान मिल्यो। आफ्नै भान्जीले पोतेको दैलोमा भने मामामाइजूले टेक्न हुन्न भनिन्छ।'
विवाहपछि जाँड–रक्सी धेरै चाहिने चाडपर्वमा हो। गुरूङहरूले दसैं–तिहार लगायत चाडपर्व मनाए पनि उनीहरूको मुख्य पर्व ल्होसार हो। ल्होसार पुस १५ गते मनाइन्छ।
छम गुरूङका अनुसार उनीहरूकोमा पुस १५ को भन्दा माघ महिनाको महत्व ज्यादा छ। त्यही महिनामा उनीहरूको जात्रा र कुल पूजा हुन्छ। माघमै नयाँ वर्षको सुरूआत पनि हुन्छ।
'पहिला ल्होसार भन्ने नै थिएन। मानिसहरू माघ मनाउँथे। तमु ल्होसार हाम्रो हो भनेर हामी सबैलाई पुस १५ मा एकीकृत गरिदिए,' उनले भने, 'नभए हाम्रोतिर त माघ १५ को महत्व पुस १५ भन्दा ज्यादा छ। हाम्रो उपल्लो गोरखामा माघ १५ पछि तोलम भनेर किराँतीहरूको उभौलीमा जस्तै वस्तुभाउ माथितिर जान्छन्। मौलम भनेर किराँतीहरूको उधौलीमा जस्तै वस्तुभाउ तलतिर जान्छन्।'
गौमती पनि पहिला ल्होसार आफ्नो पर्व हो भनेर गुरूङहरूलाई थाहा नभएको बताउँछिन्। आफ्ना पुर्खाले मान्दै आएको पर्व भनेर अहिले चलनचल्तीमा आएको यो पर्व गाउँमा मनाएका अन्य पर्वभन्दा यादगार लाग्ने उनको भनाइ छ।
'ल्होसार भन्नेबित्तिकै पहिला हामी लट्टेको साग र अनदीको चामल पकाएर खान्थ्यौं। ल्होसारमा खाने भनेर गाउँभर बेस्सरी अनदी रोपिन्थ्यो,' उनले भनिन्, 'पुस १५ मा त जसरी पनि त्यो चाहिन्थ्यो। आफ्नो खेतबारी छैन भने अरूसँग मागेर भए पनि अनदी र लट्टे पकाएर खाइन्थ्यो।'
उनले अगाडि भनिन्, 'बिहान लट्टे र अनदीको भात पकाएर खाएका गाउँले साँझ एकैठाउँ भेला हुन्थे र टहराजस्तो बनाएर भोज लगाउँथे। राति नाच्दै जाँड–रक्सी खाँदै रमाइलो पनि गर्थे।'
चाडपर्वबाहेक पाहुनालाई स्वागत गर्दा पनि जाँड–रक्सी खुवाउने चलन गुरूङ समुदायमा छ।
'कोही मान्छे आयो भने उसलाई कोदोको जाँड छानेर दिइन्थ्यो। रक्सी खानेलाई रक्सी। छनुवा (कोदोको छोक्रा) खानेलाई छनुवा दिइन्थ्यो,' उनले भनिन्, 'हामी पाहुनाका रूपमा अरूकहाँ जाँदा पनि रक्सी लिएर जानुपर्छ। हाम्रो कोसेली भनेकै रक्सी हो। हाम्रो सबभन्दा ठूलो इज्जत भनेकै रक्सीमा हुन्छ। अहिले भने अन्य पेयले त्यसलाई विस्थापित गर्दै लगेको छ।'
मानिस मर्दापर्दा पनि जाँड–रक्सी नभई हुन्न। गौमतीका अनुसार मर्दा माइती अनिवार्य चाहिन्छ। त्यस बेला उनीहरूले एक माना चामल र कपास लिएर आउँछन्। त्यस बेला दिनभर पुजारी (क्ल्हेप्री) ले पूजाआजा गर्छन्। गुरूङ संस्कारमा कसैको गाढ्ने र जलाउने परम्परा छ। आफ्नो भने गाढेर सदगत गर्ने चलन रहेको गौमतीले बताइन्। त्यस बेला मलामी जानेहरूलाई रक्सी खान दिइन्छ।
'मृत्युको कार्य गर्दा हामीलाई जाँडको छोक्रा चाहिन्छ। जन्मिँदाजस्तै थासों फाल्ने भनेर कोदोको छोक्रा र कोदोको ढिँडोको स–साना भगवान बनाएर त्यसलाई फालेर शुद्ध गरिन्छ,' उनले भनिन्।
छम गुरूङका अनुसार गोरखाको अठार सय खोलातिर मरेको मान्छेको मृत्यु संस्कार गर्दा उनको प्रतीक बनाइएको हुन्छ, जसलाई कुउर भनिन्छ। त्यस बेला मृतकलाई सम्झिएर आलापविलाप गर्ने र मृतकको प्रतीकलाई तेल लगाउने र रक्सी चढाउने काम पनि हुन्छ।
'सबै कार्य सकिएपछि मृतकको प्रतीक भत्काइन्छ। अनि दुईवटा ढुंगा राखेर चोयाको पुल बनाइन्छ। त्यसमा माथिबाट रक्सी बगाइन्छ। त्यसपछि ज्वाइँ अनि आफन्तजन पुलबाट हिँड्छन् जसलाई मृतकसँग छुट्टिएकाे संकेतका रूपमा लिइन्छ,' उनले भने।
मानवशास्त्री पोलबहादुर गुरूङका अनुसार मृत्यु संस्कारमा पनि सातो बोलाउने काम हुन्छ। उनका अनुसार पुजारीहरूले त्यस बेला तीन दिनसम्म पूजा गर्छन्, जसलाई अर्घु भनिन्छ।
'मान्छेको मृत्युपछि उसको शरीर तीन लोकमा घुमिरहने मान्यता छ – नर्क लोक, स्वर्ग लोक र मान्छेको लोक। तीनै लोकमा घुमिरहेको आत्माले शान्ति पाएको हुन्न र ज्युँदो मान्छेलाई पनि दुःख दिइरहेको हुन्छ। त्यही भएर मरेको मान्छेको पनि सातो बोलाएर पूजा हुन्छ,' उनले भने, 'पूजा सकिएपछि केटाको मृत्यु भए नौ र केटीको मृत्यु भए सात फन्को बेरेर काँचो धागो पूजामा सहभागी भएकाहरूले लगाउँछन्।'
वर्षको एकपटक कुल पूजा हुँदा पनि रक्सी चाहिन्छ। त्यस बेला पुजारी आएर रातभर पूजा गर्ने गौमती बताउँछिन्।
'पूजा गर्दा नौ माना नौ मुठीको चामलको भात पकाएर ठूलो देउता बनाउनुपर्छ। कुखुरा र बोका पनि काट्नुपर्छ। घरमा भएको कुलको मन्दिरमा जाँडको छोक्रा पनि राख्नुपर्छ,' उनले भनिन्।
पोलबहादुरका अनुसार उनीहरूकहाँ वर्षको दुईपटक अर्थात् हिउँद र बर्खामा पितृ पूजा गर्ने चलन छ। त्यसमा पनि जाँड–रक्सी अनिवार्य चाहिन्छ।
'असोज–कात्तिक महिनामा दिन र बार हेरेर चोखो कोदो भनेर तीन–चारवटा कोदोको बाला ल्याई चोखो ठाउँमा राख्ने चलन छ। वर्षभरी जति पितृकार्य र पूजा हुन्छन्, त्यसै कोदोको बालाबाट दाना निकालेर गरिन्छ,' उनले भने, 'शुभ होस् वा अशुभ, जुनै पनि काम गर्दा हामीलाई जाँड–रक्सी नभई हुँदैन।'
उनले अगाडि भने, 'गुरूङहरू रक्सीलाई अमृत वा शुद्ध पेय पदार्थका रूपमा लिन्छन्। जतिसुकै महँगो र ब्रान्डको रक्सी बजारमा भए पनि त्यसलाई स्थानीय कोदोको रक्सीजस्तो शुद्ध मानिन्न। हामीलाई जन्मिँदादेखि मर्दासम्म चाहिने भनेको हाम्रो स्थानीय रक्सी नै हो।'
***
तस्बिरमा गरूङ चलनअनुसार रक्सी बनाउँदै। सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी