स्थानीय रक्सीको संस्कृति- १
सय वर्ष उमेर पार गर्नु चानचुने कुरा होइन!
त्यो पनि भव्य र शानदार सय वर्ष!
ऊर्जावान सय वर्ष!
सबैका निम्ति प्रेरणादायी सय वर्ष!
संस्कृतिविद सत्यमोहन जोशीले जुन दिन सय वर्ष उमेर टेके, उनको मुहार धपक्कै बलेको थियो। मानौं, सय वर्षमा पल–पल आउने खुसी एकैचोटि उनको अनुहारमा पोखिएको होस्!
पाटनको बखुम्बहालस्थित उनको घरमा बिहानैदेखि शुभेच्छुकहरूको घुइँचो थियो। ललितपुर महानगरपालिकाले त्यसै दिन उनका नाममा 'जन्मशताब्दी महोत्सव' गरेको थियो। उनलाई मंगलबजारबाट रथारोहण गराई बाजागाजासहित नगर परिक्रमा गराइयो। रथको पछि पछि सयौं मान्छेको लश्कर लाग्यो।
उक्त सांस्कृतिक जुलुस पुल्चोकस्थित महानगर कार्यालय पुगेपछि निधारमा रातो टीका लगाएका जोशीलाई शिरमा सेतो फेटा, गलामा माला र रंगीबिरंगी दोसल्ला ओढाएर सम्मान गरियो।
सम्मानपछि उनी मञ्चमा बोल्न आए।
कार्यक्रम सञ्चालकले आग्रहपूर्ण भावमा भनिन्, 'सय वर्ष कसरी बाँच्ने? त्यसको रहस्य पनि साटिदिनुस् न है!'
यो जिज्ञासाको जवाफ जोशीले आफ्नो मन्तव्यको आखिरीमा दिए।
उनले भने, 'बेलुकी सुत्ने बेला जहिल्यै एक पेग अय्ला (नेवार समुदायको रक्सी) पिउँछु। अय्ला नै मेरो औषधि हो। आफूलाई ठिक्क हुने गरी पिए त्यो सोमरस हो। कन्ट्रोल (नियन्त्रण) मा भने पिउनुपर्छ।'
उनको यस्तो भनाइले दर्शकदीर्घामा हाँसोको लहर दौडियो। कोही आफ्नो मनकै कुरा सुनेझैं दिल खोलेर हाँसे, कोही मुसुमुसु मुस्काए।
त्यस दिन जोशीको भनाइ सुनेर खुसी हुनेहरूले के उनले भनेझैं नियन्त्रित रूपमा पिउने गर्छन् त!
वा, अहिले यहाँ जोशीको भनाइ पढेर खुसी हुनुभएको भए के तपाईं नियन्त्रित रूपमा पिउनुहुन्छ त!
एउटा भनाइ नै छ — पिउन जान्यो भने रक्सी अमृत हो, नजाने विष!
शताब्दी पुरूष सत्यमोहन जोशी एक सय तीन वर्ष बाँचे र उनले भनेअनुसार जीवनभर अय्ला अर्थात् स्थानीय रक्सी पिउन छाडेनन्।
हाम्रो यो शृंखला त्यही स्थानीय रक्सीमाथि हो।
यो शृंखलामा हामी नेवारहरूको अय्लाका बारेमा मात्र कुरा गर्ने छैनौं, तामाङहरूको 'अइराक' का बारेमा पनि भन्ने छौं।
राईको 'अरक', गुरूङहरूको 'पा' र लिम्बूहरूको 'सिजंवा' को कथा पनि सुनाउने छौं।
थारू र मगरहरूको 'मद' को चर्चा पनि गर्ने छौं।
समग्रमा, यो नेपालका विभिन्न जाति तथा जनजातिहरूले परम्परागत रूपले खाँदै आएको रक्सी र जाँडको कथा शृंखला हो, जसमा हामी यो पेयको ऐतिहासिक, सामाजिक र सांस्कृतिक पक्ष उधिन्ने प्रयास गर्ने छौं।
शृंखलाको सुरूआत रक्सीको इतिहासबाट गरौं।
एकादेशमा एक जना राजा थिए — नाम थियो जम्सिद।
पर्सिया भन्ने देशका यी राजा अंगुरका सोखिन थिए। घाम उदाए–अस्ताए उनलाई अंगुर नभई हुँदैन थियो। उनी बाह्रै महिना, बाह्रै काल अंगुर खाइरहन्थे — हामीले दालभात खाएजस्तै!
जसरी हामीलाई दालभातको धीत कहिल्यै मर्दैन, राजा जम्सिदलाई पनि अंगुरको धीत कहिल्यै मर्दैन थियो।
उनको यो सोखमा एउटा समस्या थियो — उनी बेमौसममा अंगुर खान पाउँदैन थिए। एकचोटि सिजन सकिएपछि अंगुरको स्वाद चाख्न अर्को सिजन पर्खिनुपर्थ्यो। त्यस्तो बेला उनको हालत त्यो बालकको जस्तो हुन्थ्यो, जसले भोकाएका बेला आमाको दूध खान पाउँदैन।
आफ्नो बाह्रमासे अंगुरको तिर्सना मेट्न राजा जम्सिदले एउटा उपाय सोचे।
उनले आफ्नो राज्यका कालिगढहरूलाई काठका ठुल्ठूला बाकस बनाउन आदेश दिए र त्यही बाकसमा बेमौसमी खान्कीका लागि अंगुर जम्मा गर्न लगाए।
राजभवनको एउटा ठूलो कक्ष अंगुर–गोदाममा परिणत भयो।
जसै अंगुर फल्ने याम सकियो, राजा जम्सिदले त्यही गोदाममा भण्डार गरेर राखिएको अंगुर झिक्दै खान थाले।
यसरी भण्डार गरिएको पुरानो अंगुर खाने क्रममा राजा जम्सिदलाई अजीब अनुभव भयो। अंगुर जति पुरानो हुँदै गयो, त्यसको स्वाद उति फेरिँदै गएको र बास्ना तिख्खर भएको उनले महसुस गरे।
यस्तो स्वाद र गन्ध फेरिएको अंगुर खान हुँदैन कि भन्ने राजालाई शंका लाग्यो। त्यसैले गोदामको पुरानो अंगुर कसैले नखाऊन् भनेर उनले काठको बाकस बाहिर 'विष' भनेर लेख्न लगाए र गोदाममा ताल्चा मारेर अरूलाई त्यहाँ छिर्न निषेध गरे।
केही वर्षपछिको कुरा हो। दरबारकी एक राजकुमारी अत्यन्तै पीडाबाट गुज्रिएकी थिइन्। उनले संसार देखी विरक्त मानेर आत्महत्या गर्ने निधो गरिन्।
राजकुमारीलाई दरबारको एउटा गोदाममा विष लेखिएका केही बाकस छन् भन्ने थाहा थियो। राजाले उक्त गोदाम कक्षमा कसैलाई छिर्न दिँदैनन् भन्ने पनि उनलाई जानकारी थियो। उनले त्यही विष खाएर आत्महत्या गर्ने योजना बुनिन् र आफ्ना दासीहरूको मद्दतबाट कसैगरी गोदामको साँचो हात पारिन्।
त्यसपछि राजकुमारी आधा रातमा सबैका आँखा छल्दै गुपचुप गोदामभित्र छिरिन्।
गोदाममा काठका थुप्रै बाकस थिए। सबैमा विष भनेर लेखिएको थियो।
राजकुमारीले कुनै एउटा काठको बाकस खोलिन् र पुरानो अंगुरको रस सेवन गरिन्।
उनले अंगुर बिग्रिएर बनेको त्यो पदार्थ तबसम्म लगातार पिइरहिन्, जबसम्म बेहोस भएर गोदाममै ढलिनन्।
अंगुरको रस पिउने क्रममा उनलाई बिस्तारै मात चढ्दै गएको थियो। उनले आफू सारा दुःखपीडाबाट मुक्त भएको अनुभूति गरिन्। उनलाई यस्तो लाग्यो, मानौं उनी विषको असरले मर्दै छिन्!
भोलिपल्ट बिहान राजकुमारीको आँखा खुल्यो।
उनले आफ्नो ज्यान छामछाम छुमछुम गरिन्। उनको शरीरमा विषको कुनै असर थिएन। बरू रातभरि मात्तिएर लठ्ठ निदाएकीले उनलाई हलुँगो अनुभव हुँदै थियो।
यस्तो आनन्दको अनुभव राजकुमारीले त्यसअघि कहिल्यै गरेकी थिइनन्।
उनले अघिल्लो रात आफूले सेवन गरेको पदार्थ के हो र कसरी बन्यो भनेर सोधिखोजी गरिन्।
काठका ती बाकसभित्र राजा जम्सिदले अंगुर भण्डार गरेर राखेको र पुरानो हुँदै गएपछि त्यसको बास्ना र स्वाद बिग्रेकाले राजाले नै विष लेखेको उनले थाहा पाइन्।
राजकुमारीले उक्त पदार्थ सेवनबाट आफूलाई भएको अनुभव राजा जम्सिदसँग बाँडिन्।
सुरूमा त राजकुमारीले दरबारको मर्यादा र अनुशासन भंग गरेर गोदाममा गुपचुप छिरेको र उक्त पदार्थ सेवन गरेको थाहा पाउँदा राजा क्रोधित भए। तर जसै उनले राजकुमारीको अनुभव थाहा पाए, उनी स्वयं पनि उक्त पदार्थ सेवन गर्न उत्सुक भए।
राजा जम्सिद सरासर गोदाममा गए र जुन बाकसबाट राजकुमारीले अंगुरको रसपान गरेकी थिइन्, त्यही बाकसबाट उनले पनि अंगुरको रस पिए।
अंगुरको रस जति जति राजाको जीउमा प्रवेश गर्यो, उनलाई आफ्नो सारा थकान दूर हुँदै गएको अनुभव भयो।
उनलाई यस्तो लाग्यो, मानौं उनको ज्यान हल्का हुँदैछ। दिमागमा खेलिरहेका तनावका बादल छ्यांग हुँदैछन्। मन चञ्चल हुँदैछ। हातगोडा लूला हुँदैछन्।
राजालाई राजभवनमा बसी बसी तीन भुवन घुमेझैं अनुभूति भयो।
यो घटनापछि राजा जम्सिदले विष ठानेर गोदाममा राखेको अंगुरको रस नियमित सेवन गर्न थाले र त्यसबाट प्राप्त हुने आनन्दको लुत्फ उठाए।
समयक्रममा अंगुरको त्यही रसलाई 'रक्सी' भनियो।
रक्सीको इतिहाससँग जोडिएका यस्ता थुप्रै कथा–किम्बदन्ती संसारभर प्रचलित छन्। तीमध्ये पर्सियाका पौराणिक राजा जम्सिदको यो किम्बदन्ती सबभन्दा चर्चित छ।
किम्बदन्ती भनेको कथ्य र तथ्यको मिश्रण हो। इतिहासमा भएका कुनै घटना एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आउँदा त्यसले अलौकिक रूप धारण गरेको हुन्छ। त्यस्ता घटनाबाट ऐतिहासिक अभिलेख त मेटिन्छन्, तर घटनाको अन्तर्य जिउँदै रहन्छ। यसरी ऐतिहासिक अभिलेख मेटिएको, तर घटनाको अन्तर्य जिउँदै रहेको विवरणलाई नै किम्बदन्ती भनिन्छ।
राजा जम्सिदको यो किम्बदन्ती कति सत्य हो र कति बढाइचढाइ गरिएको हो भनेर हामी यसै भन्न सक्दैनौं। तर यो कथामा जुन किसिमले अंगुरको रस रक्सीमा परिणत भएको वर्णन गरिएको छ, त्यो प्रक्रियामा पूरा सच्चाइ छ। रक्सी बनाउने परम्परागत तरिका यही हो। कुनै फल वा अन्न गलाएर रक्सी बनाउने यस्तो विधिलाई वैज्ञानिक भाषामा 'फर्मेन्टेसन' भनिन्छ।
फर्मेन्टेसनमा मर्चा (ढुसी) को ठूलो भूमिका हुन्छ। पाकेको फल वा अन्नमा भएको चिनीजन्य पदार्थलाई यस सूक्ष्म जीवाणुले आकर्षित गर्दै फर्मेन्टेसनमा सहयोग गर्छ। यहाँ मर्चाले फल वा अन्न गलाउन मद्दत गर्नुका साथै त्यसबाट 'इथानोल' भन्ने रसायन उत्पादन गर्न भूमिका खेल्छ। यही इथानोल भन्ने रसायनमा रक्सीयुक्त तत्व (अल्कोहल) मिसिएको हुन्छ।
हिजोआज फर्मेन्टेसनका लागि चाहिने मर्चा बजारमा सजिलै किन्न पाइन्छ। मान्छेलाई फर्मेन्टेसन विधिबाट रक्सी कसरी बनाउने भन्ने ज्ञान पनि छ। तर सुरूआती चरणमा पक्कै यस्तो ज्ञान थिएन। उनीहरूले पक्कै पनि जानीजानी अन्न वा फलको फर्मेन्टेसन गरेका थिएनन्। त्यो संयोगवश नै भएको हुनुपर्छ, जसरी पर्सियन राजा जम्सिदले बेमौसमी खान्कीका लागि अंगुर भण्डार गर्दा फर्मेन्टेसन भएर रक्सी बन्यो!
एउटा अर्को अनुमान पनि छ —
इतिहासको कुनै कालखण्डमा जंगलमा पाइने प्राकृतिक ढुसी कुनै गलेको फलमा मिसिएर त्यसलाई रक्सीमा परिणत गर्यो होला! त्यसरी बनेको रक्सी खाँदा पहिले त मान्छेलाई तितो लाग्यो होला! कुनै नमिठो पदार्थ खाएजस्तो अनुभव पनि भयो होला! बिस्तारै त्यसको मातले लठ्ठिएपछि रक्सीको लत लागेको हो कि! रक्सीको तितो स्वादसँग जिब्रो अभ्यस्त हुँदै गएको हो कि!
अहिले पनि कतिपय जंगली जनावर त्यसरी प्राकृतिक रूपमा फर्मेन्ट भएका फल वा अन्न खाएर मात्तिएका घटना सुनिन्छन्। केही समयअघि बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीहरू आसपासका बस्तीमा पुगेर जाँडरक्सी खोजी खोजी खाने गरेको त्यहाँका स्थानीयले बताएका थिए।
यति मात्र होइन, जर्जिया डिपार्टमेन्ट अफ नेचुरल रिसोर्सेसको एक अध्ययनअनुसार 'अमेरिकन रोबिन' नामक चराले धेरै पाकेर फर्मेन्ट भएका बेरी खान्छन् र नशामा झुम्छन् भन्ने देखाएको छ। त्यही बेरीको नशाले ती चराहरू असन्तुलित भएर रूखबाट खस्ने गरेको पनि अध्ययनमा पाइएको छ।
पशुपन्छीमा पाइने यस्तो व्यवहारले फर्मेन्टेसनको सुरूआत र रक्सीको पहिलो उत्पादन मान्छेको जानकारीबेगरै प्राकृतिक रूपमै भएको थियो कि भनेर हामी अनुमान लगाउन सक्छौं।
इतिहास जति पुरानो हुँदै गयो, त्यसको छाया उति धमिलो हुँदै जान्छ। रक्सीको इतिहास पनि गर्भसम्म पुग्न गाह्रो हुने गरी धमिलो भइसकेको छ। मान्छेले रक्सी कहिलेबाट पिउन थाले भनेर हामी यकिनसाथ भन्न सक्दैनौं। यसको प्राचीनता पुष्टि गर्ने केही प्रमाण भने फेला परेका छन्।
चीनको नवपाषाणकालीन 'जियाहु' भन्ने गाउँमा माटोका केही प्राचीन भाँडा फेला परेका थिए। ती भाँडामा रहेका अवशेषको रासायनिक परीक्षण गर्दा रक्सीसँग मिल्दोजुल्दो पाइएको थियो।
आजभन्दा करिब नौ हजार वर्षअघि अर्थात् सात हजार इसापूर्वको उक्त अवशेषलाई अहिलेसम्म फेला परेको रक्सीको सबभन्दा पुरानो अवशेष मानिन्छ।
वैज्ञानिकहरूले यही अनुसन्धानका आधारमा संसारको पहिलो रक्सी चामल, मह र फलफूल (बेरी) बाट बनेको पुष्टि गरेका छन्।
यति मात्र होइन, चीनकै 'यलो रिभर' नजिक काँसको भाँडामा कसिलो ढक्कन लगाएर राखिएको रक्सी फेला परेको थियो, जुन करिब तीन हजार वर्ष पुरानो भएको पुरातत्वविदहरूले बताएका छन्। उक्त रक्सी चामल र कोदोबाट बनेको थियो र त्यसमा जडिबुटी, फूल, रूखका बोक्रा लगायत पदार्थको स्वाद पनि मिसिएको थियो।
रक्सीको इतिहास उधिन्न मद्दत गर्ने यस्ता पुराना अवशेष इरान, इराक, टर्की, अर्मेनिया, जर्जिया लगायत ठाउँमा पनि फेला परेका छन्। इजिप्टमा त आजभन्दा करिब छ हजार वर्ष पुरानो अर्थात् चार हजार इसापूर्वका केही भित्तेचित्र पनि फेला परेका छन्, जसमा अंगुरबाट रक्सी बनाइएको दृश्य कुँदिएको छ। यसलाई रक्सी उत्पादन र सेवन ऐतिहासिक कालदेखि हुँदै आएको प्रमाणित गर्ने महत्वपूर्ण अभिलेख मानिन्छ।
यस्तै खोज र अन्वेषणका आधारमा पुरातत्वविदहरूले रक्सी बनाउने ज्ञान पश्चिम एसियाबाट पूर्वी मेडिटेरेनियन र इजिप्ट पुगेको र त्यहाँबाट करिब दुई हजार वर्षअघि ग्रिस, दक्षिण इटाली र युरोपका अन्य भू–भागसम्म फैलिएको अनुमान गरेका छन्।
रक्सी बनाउन चाहिने मर्चा वा ढुसी कुनै पनि अन्न वा फलमा पाइने चिनीजन्य पदार्थमा सजिलै आकर्षित हुन्छ। त्यही भएर मान्छेले आफूले उत्पादन गर्ने सबै किसिमका अन्न र फलफूललाई रक्सी बनाउन परीक्षण गरेको हुनसक्ने वैज्ञानिकहरूको भनाइ छ।
उदाहरणका लागि —
दक्षिण अमेरिकीहरू सबै किसिमका अन्नबाट रक्सी बनाउँछन्, जसलाई 'चिचा' भनिन्छ।
मेक्सिकोमा एगाभको रसबाट 'पल्के' भन्ने रक्सी बनाइन्छ।
पूर्वी अफ्रिकीहरू केरा र आलुबखडाको जाँड बनाउँछन्।
जापानीहरूले चामलबाट बनाउने 'साके' संसारभरि लोकप्रिय छ।
अनि नेपाल?
नेपालमा पनि विभिन्न जाति तथा जनजातिहरूमा परम्परागत रूपले रक्सी वा जाँड खाने चलन छ। ती सबै जाति तथा जनजातिहरूको रक्सी वा जाँड बनाउने आ–आफ्नै परम्परागत विधि पनि छ।
नेपालमा रक्सी खाने परम्परा कसरी सुरू भयो भन्नेमा दुईथरी सम्भावना देखिन्छ —
पहिलो, नेपालको रक्सी खाने परम्परा हाम्रो परम्परागत व्यापारसँग जोडिन्छ।
प्राचीन कालदेखि नेपालको व्यापारिक सम्बन्ध उत्तरमा तिब्बत र दक्षिणमा भारतसँग थियो। जति बेला नेपालीहरू व्यापारका लागि तिब्बत वा भारत जान्थे, त्यति बेला नै ती दुवै ठाउँमा रक्सी खाने चलन व्यापक भइसकेको थियो। व्यापारका लागि तिब्बत वा भारत पुगेका व्यापारीहरूले आफूसँगै रक्सी उत्पादन गर्ने र खाने ज्ञान आयात गरेको हुनसक्ने विज्ञहरूको भनाइ छ।
रमेशराज कुँवरले 'नेप्लिज सोसाइटीः लिक्वर एन्ड कल्चर' भन्ने लेखमा यसको संकेत गरेका छन्। उक्त लेख पुरातत्व विभागले प्रकाशन गर्ने 'एन्सिएन्ट नेपाल' नामक पत्रिकामा छापिएको छ। उनले यो लेखमा नेपालका प्रायः सबै समुदायले सेवन गर्ने रक्सीबारे अनुसन्धान गर्दै त्यससम्बन्धी जानकारी समेट्ने प्रयास पनि गरेका छन्।
दोस्रो सम्भावना बौद्ध धर्मका गुरू पद्मसम्भवसँग जोडिन्छ।
तिब्बतीहरू रक्सी खाने चलन गुरू पद्मसम्भवले सुरू गरेको विश्वास गर्छन्। यसबारे एउटा किम्बदन्ती पनि छ —
आजभन्दा धेरै धेरै वर्षअघि तिब्बतीहरू सम्यक विहार बनाउँदै थिए, तर उनीहरूले काम पूरा गर्न सकेनन्। विहार बनाउने पुण्यकर्म अधुरो रहेको चाल पाएपछि पद्मसम्भवले आफूसँग ल्याएको छ्याङ (जाँड) का केही थोपा निर्माण क्षेत्रमा छर्किए।
उनले छ्याङ छर्किनु मात्र के थियो, विहारको काम तीव्र गतिमा अघि बढ्यो र सजिलै सम्पन्न भयो।
यही घटनापछि तिब्बत र हिमाली भेगका मान्छेले रक्सी वा जाँडलाई गुरू पद्मसम्भवको प्रसादका रूपमा पिउन थालेको विश्वास गरिन्छ।
गुरू पद्मसम्भवले भारतबाट तिब्बत जाने क्रममा नेपालको फर्पिङ क्षेत्रमा लामो समय तपस्या गरेका थिए। त्यही क्रममा उनले रक्सी खाने र उत्पादन गर्ने विधि नेपालीहरूलाई सिकाएका हुन् कि! के बेर!
नेपालमा रक्सी सेवनको प्रचलनबारे पुरानो सन्दर्भ इटालीका पादरी इपोलिटो डेसिडरीको किताब 'मिसन टू टिबेट' मा उल्लेख छ। अठारौं शताब्दीमा नेपाल (काठमाडौं उपत्यका) को बाटो हुँदै तिब्बत गएका पादरी डेसिडरी लेख्छन्, 'यहाँका मानिसहरू कोदोबाट बनेको विशेष पेय पदार्थ पिउँछन्। चामल र गहुँबाट बनेको जाँड पनि पिउँछन्। उमालेर बनाइएको अरक नामको रक्सी पनि यहाँ पिउने चलन छ।'
पादरी डेसिडरीले आफ्नो किताबमा उल्लेख गरेको चामल र गहुँको जाँडलाई धेरै अध्येताले नेवार समुदायले खाने थ्वं (जाँड) भनेका छन्। यही थ्वंलाई पछि वाष्पीकरण प्रक्रियामार्फत अय्ला (रक्सी) बनाइन्छ।
डेसडरीको यो किताबले मध्यकालमा काठमाडौं उपत्यकामा रक्सीको चलन व्यापक भइसकेको संकेत गर्छ।
रक्सी सेवनको प्राचीनतालाई आयुर्वेद, ऋग्वेद लगायत अन्य पौराणिक ग्रन्थहरूमा उल्लिखित सन्दर्भले पनि पुष्टि गर्छ।
आयुर्वेदमा औषधिका रूपमा प्रयोग गरिने मृतसञ्जीवनी सुरा, द्राक्षसव, अशोकारिष्ट लगायत पेयमा मदिरा (रक्सी) को अंश हुन्छ।
ऋग्वेदमा देवराज इन्द्रलाई धेरै सोमरस सेवन गर्ने देउता भनिएको छ। जौबाट बनेको र पन्ध्र दिन पुरानो सुनौलो पेयलाई ऋग्वेदले सोमरसका रूपमा वर्णन गरेको छ। यसले सोमरस पनि फर्मेन्टेसन विधिबाट तयार पारिएको रक्सीजन्य पेय हुनसक्ने तर्क छ।
वाल्मिकीको रामायणमा पटकपटक रक्सीको वर्णन गरिएको छ। स्वर्गका अप्सरा, नागकन्या र किन्नरीहरूले मदिराको मातमा भगवान रामचन्द्रलाई नृत्य देखाएका थुप्रै प्रसंग रामायणमा छन्।
महाभारतमा पनि श्रीकृष्ण लगायत पाण्डव र कौरवहरू मदिरामा लिप्त भएका अनेक घटना उल्लेख छन्।
कौटिल्य अर्थशास्त्रले विभिन्न किसिमका मादक पदार्थ — मेदक (चामलको जाँड), मैरेय (चिनी, मरिच र जडिबुटीले बनेको रक्सी), आसव (स्याउँको रक्सी) लगायतको बयान गरेको छ। मौर्य कालका मानिसले मादक पदार्थ धेरै सेवन गर्थे भन्ने कौटिल्यको भनाइ छ।
हिन्दु धर्ममा वेदपछि सर्वाधिक मान्यता पाएको मनुस्मृतिले 'सुद्र जातिलाई मादक पदार्थ खाने' अनुमति दिनुले पनि रक्सीको प्राचीनता झल्काउँछ।
यही प्राचीनताका कारण रक्सी हाम्रो स्थानीय परम्परा र संस्कृतिसँग जोडिएको छ।
नेपालका विभिन्न जाति तथा जनजातिहरूमा रक्सीको सम्बन्ध मादक पेयका रूपमा सीमित छैन। रक्सीबिना उनीहरूको पूजाआजा र जात्रापर्व मात्र होइन, जीवनदेखि मरणसम्मका संस्कारहरू अधुरै रहन्छन्।
कति समुदायमा अतिथि सत्कारका लागि रक्सी नभई हुँदैन। अतिथि आउँदा रक्सी खुवाइएन भने अपमान गरेको ठानिन्छ।
कति समुदायमा बिहेको कुरा छिन्न कोसेलीका रूपमा रक्सी लैजानु अनिवार्य मानिन्छ।
खेतीकिसानी गर्ने समुदाय रोपाइँ बेला थकान मेट्न रक्सी खान्छन्। यहाँ रक्सीलाई ऊर्जाका रूपमा लिइन्छ।
कति समुदायमा सुत्केरीलाई जाँड खुवाउने चलन छ। जिउमा चोटपटक लाग्दा मालिस गर्न र कतिपय रोग उपचारमा पनि रक्सी प्रयोग गरिन्छ।
कति समुदायमा त खेर जानसक्ने खानेकुरा र फलफूल लामो समय जोगाएर राख्ने उपायका रूपमा पनि रक्सी उत्पादन गरिन्छ।
स्थानीय परम्परा र संस्कृतिसँग जोडिएको नेपाली रक्सीले अन्तर्राष्ट्रिय स्तरमा पनि ख्याति कमाएको छ। अमेरिकी सञ्चार संस्था 'सिएनएन' ले सन् २०११ मा संसारका ५० उत्कृष्ट पेयपदार्थको सूची सार्वजनिक गरेको थियो, जसमा नेपालको एउटा पेय ४१ औं स्थानमा परेको थियो।
त्यो हो, स्थानीय रक्सी।
नेपाली रक्सीको वर्णन गर्दै सिएनएनले लेखेको थियो, 'कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ। यो पिउँदा घाँटीमा एकैछिन पोले पनि पछि अचम्मको आनन्द हुन्छ। नेपालीहरूले चाडपर्व मनाउन यो घरेलु मदिरा पिउँछन्। हामीलाई त यो मूल्यवान पेय आफैंमा उत्सव मनाउने कारण हो जस्तो लाग्यो।'
संसारले थाहा पाइसकेको र महत्व बुझिसकेको नेपालको स्थानीय रक्सी वा जाँडको महत्व बुझ्न हामीले चाहिँ ढिला गर्यौं कि?
त्यसो भए यो शृंखलामार्फत नेपालका विभिन्न जाति तथा जनजातिहरूले सांस्कृतिक पेयका रूपमा पिउने स्थानीय रक्सी र त्यससँग जोडिएको इतिहास, परम्परा र संस्कृतिबारे चर्चा गरौं है त!
आगामी शुक्रबार हामी लिम्बू समुदायको रक्सीको कथा लिएर आउने छौं।
...
सबै तस्बिरः नवीन चौहान