अस्ट्रेलियामा नेपाली
अस्ट्रेलियामा आएर कलेज सञ्चालन गर्नुको कारण सोध्नसाथ तीन वटा कलेजका सञ्चालक राजेश आचार्यको अनुहारमा सन्नाटा छायो। एकाएक उनी भावुक बन्न पुगे।
अनि आफ्नो दिवंगत भाइलाई सम्झिए। कलेज खोल्नुको मुख्य कारण उनको भावनासँग जोडिन्छ। अस्ट्रेलियाको मेलवर्नमा सञ्चालित तीन वटा कलेजमा उनले आफ्नो भाइलाई पाउँछन्। त्यसको कारण हो राजेशका भाइ पुष्करले २२ वर्षकै उमेरमा काठमाडौंमा बोर्डिङ सञ्चालन गरेका थिए।
सिन्धुपाल्चोकको प्राथमिक विद्यालयका शिक्षक बुवा विष्णुप्रसाद आचार्यको कमाइले मात्र राजेशलाई चार्टर्ड एकाउन्टेन्ट पढ्न गाह्रो हुन्थ्यो। त्यसका लागि राजेशलाई भाइको पनि साथ थियो। तर उनै भाइको सन् २००६ मा २८ वर्षको उमेरमा दुःखद निधन भयो। त्यो बेला राजेश अस्ट्रेलिया आएको ७ दिन मात्रै भएको थियो। त्यसपछि अस्ट्रेलियामा पढ्ने योजनालाई थाती राखेर उनी नेपाल फर्किए।
६ महिना नेपाल बसेपछि श्रीमती मुनासँगै उनी फेरि अस्ट्रेलिया आए। दोस्रो पटक अस्ट्रेलिया आउँदा उनी दक्ष जनशक्तिलाई अस्ट्रेलियाले दिने भिसामार्फत् गएका थिए।
'२००७ को जनवरीमा अस्ट्रेलिया आएपछि आम माइग्रेन्टहरूले जुन खालको दुःख भोग्छन् हामीले पनि त्यही भोग्यौं। चार्टर्ड एकाउन्टेन्टको लागि थप अध्ययन गर्नुपर्ने भएकाले त्यो अध्ययन पूरा गरेँ,' राजेशले भने,'नेपाल एसबिआई बैंकमा इन्टरनल अडिटरको रूपमा काम गरिसकेको थिएँ। त्यो तहबाट यहाँ आएर फेरि सुरूआतदेखि काम गर्दा सहज थिएन।'
अस्ट्रेलियामा सुरूआती यात्रा जटिल हुन्छ भन्ने बुझाइ पहिला नै भएकाले उनले यसलाई सहज रूपमा लिएका थिए। अर्कोतिर त्यो बेला नेपाली समुदाय पनि सानो थियो। त्यसैले नितान्त भिन्न खालको समुदाय अनि भाषा संस्कृतिले थप जटिल बनाउने नै भयो। त्यो समयमा एकाउन्टिङमा काम गर्ने नेपाली भिक्टोरियामा सायदै थिए।
'२००७ मा एकाउन्टिङको काम गर्दा मैले थाहा पाए अनुसार भिक्टोरियामा एक जना गोपाल पोखरेल भन्ने साथी हुनुहुन्थ्यो। उहाँबाहेक अरू यो फिल्डमा काम गर्ने मैले चिनेको थिइनँ,' उनले भने,'स्किल माइग्रेसनअन्तर्गत आएकाले सहज हुन्छ होला जस्तो लागेको थियो तर त्यो अवस्था थिएन। नयाँ समाज, नयाँ भाषा र संस्कृति भएकाले गाह्रो हुने रहेछ।'
रोजगार दाताले यहाँको योग्यता नहुँदासम्म चासो नदिने भएकाले गाह्रो हुने उनले बताए। जब उनी एकाउन्टिङ पेसामा स्थापित हुँदै गए त्यसपछि उनलाई शिक्षा क्षेत्रमा काम गर्ने सोच आयो। किनकि उनलाई एकदिन आफ्नै भाइको अपुरो कामलाई पूर्ण गराउने चाहना थियो। शैक्षिक पेसाले नै आफूलाई हुर्काउने, बढाउने अनि पढाउने काम गरेकाले उनलाई यही क्षेत्रमा काम गर्ने हुटहुटी पलाएको हो।
'२८ वर्षको उमेरमा अचानक भाइ बितेपछि हामीले उनको स्कुललाई निरन्तरता दिन सकेनौं। म अस्ट्रेलिया आएपछि केही समय यतिकै बित्यो,' उनले भने, 'सन् २०११/२०१२ तिर मलाई त्यो कुराले पोल्न थाल्यो। भाइको सपनालाई कसरी निरन्तरता दिने होला भन्ने भावनात्मक कुराले गर्दा कलेज किन सुरू नगर्ने भन्ने सोच आएको हो।'
अन्तत: उनले सन् २०१७ मा ब्लु लोटस कलेज दर्ताको प्रक्रिया सुरू गरे। उनले कलेज सञ्चालन गर्नेदेखि यसको नाम जुराउँदा समेत भाइको झल्को मेट्ने प्रयास गरेका छन्। भाइको स्वभावलाई उनले कोमलको फूलसँग तुलना गरे। अनि भाइले युवा अवस्थामै जुन साहस र सहनशीलता देखाएर बोर्डिङ स्कुल सुरू गरेका थिए, त्यसकै निरन्तरताको लागि ब्लु लोटस कलेज नाम राखेको उनले बताए।
अहिले मेलवर्नमा दुई वटा ब्लु लोटस कलेज छन् भने मेलवर्नमै एएबिटी कलेज सञ्चालन गरेका छन्। कलेजमा विद्यार्थी घटीबढी भइरहने भन्दै उनले अहिले भने ७ सय विद्यार्थी रहेको बताए।अस्ट्रेलियाको मुख्य आयस्रोतमध्ये शिक्षा पनि एक हो। अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिक्टोरिया अझै अगाडि छ। संसारभरका विद्यार्थीका लागि उत्कृष्ट सहरहरूमध्ये मेलवर्न पनि एक हो। अस्ट्रेलियाभरमै मेलवर्न उच्च शिक्षाको लागि हब हो भन्दा फरक पर्दैन। त्यसैले अस्ट्रेलियामा शैक्षिक क्षेत्रमा हुने लगानीमा धेरै प्रतिस्पर्धा हुनु स्वाभाविक हो।
'कलेज सञ्चालनका लागि थुप्रै कानुनी प्रावधान छन्। शिक्षामा गर्ने लगानीलाई सरकारले हल्का रूपमा लिँदैन,' उनले भने,' अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पढाउने शैक्षिक संस्थाहरूका लागि अझै कडा नियम कानुन छन्। अनि तीव्र प्रतिस्पर्धा हुने नै भयो।'
कलेजमा फिलिपिन्स, इण्डोनेसिया, मेक्सिको, नेपाल, भारत, पाकिस्तान, भियतनाम, कोलम्बिया लगायतका २१ देशका विद्यार्थी पढ्छन्।
भोकेसनल एजुकेसन अन्तर्गत कमर्सियल कुकरी, डिसबेलिटी, एज्ड केयर, कम्युनिटी सर्भिस, आइटी, एकाउन्टिङ लगायतका १३ विषयमा पढाइ हुन्छ। नेपाल र अस्ट्रेलियामा पढाइ हुने कोर्षमा धेरै भिन्नता नभए पनि पढाउने तरिकामा भने धेरै फरक रहेको उनले बताए।
'युनिभर्सिटी डिग्री उस्तै हो तर पढाउने तरिका फरक छ। यहाँ धेरै प्रोजेक्टमा आधारित पढाइ हुन्छ। नेपालमा जस्तो घोक्ने अनि सम्झेर लेख्ने भन्ने हुँदैन,' उनले भने,'समाजलाई दैनिक चाहिने खालका जनशक्ति उत्पादन गर्ने यहाँको शिक्षाको उद्देश्य हुन्छ। यहाँको पढाइ जागिरको लागि तयार पार्ने खालको हुन्छ।'
उनी शैक्षिक व्यवसायमा मात्र होइन, समुदायमा उनी उत्तिकै सक्रिय छन्। नेपाली समुदायका लागि बन्दै गरेको अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी) को उनले नेतृत्व समेत गरिसकेका छन्। सन् २०१४ देखि यो संस्थामा जोडिएका उनी २०२० देखि २०२२ सम्म अध्यक्ष बनेका थिए।
'एएनएमसीका संस्थापक अध्यक्ष रञ्जन वैद्य, डा. चन्द्र दिपक पोखरेल, म हुँदै अहिले गान्धी भट्टराईजीले नेतृत्व गर्दासम्म हामीले धेरै काम गरेका छौं,' उनले भने, '१ सय २० रोपनीको क्षेत्रफलमा नेपाली परम्परा र संस्कृति झल्किने गरी धेरै काम गर्न बाँकी छ। जे होस् हरेक वर्ष कामको प्रगति बढ्दै गएको छ।'
त्यो ठाउँमा पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथ, बहुसांस्कृतिक केन्द्र, स्टेडियम, मेलवर्न कुण्ड, राम जानकी मन्दिर लगायत बनाउने योजना छ भने कतिपय संरचना तयार समेत भइसकेका छन्।
'सामाजिक काममा लाग्ने भन्ने कुरा सजिलो छैन। तर आफूमा इच्छा शक्ति भयो भने असम्भव पनि होइन,' उनले भने, 'सबै कुरा टिमले हुने हो। अर्को कुरा घर, परिवार अनि मेरी श्रीमतीको बलियो साथले मैले समय निकाल्न सकेको छु भन्ने लाग्छ।'