अस्ट्रेलियामा नेपाली
नाम-टोनु,थर-दाइ
कक्षा ९ पढ्दै गर्दा टोनु घोतानेलाई कानुन व्यवसायी बन्न मन लागेको थियो। त्यो बेलामा अब्राहम लिंकन, महात्मा गान्धीबाट प्रेरित भएर आफूलाई कानुन व्यवसायी बन्न मन लागेको टोनुले बताए। तर सन् १९९६ मा बिजनेस पढ्नका लागि उनी अस्ट्रेलिया आए। आफैले सोचे जस्तो कानुन व्यवसायी बन्न भने अस्ट्रेलिया आएपछि उनलाई झण्डै २० वर्ष लाग्यो। २००७ मै माइग्रेसन एजेन्ट बनेका टोनु २०१६ यता भने अस्ट्रेलियाको भिक्टोरियामा कानुन व्यवसायी भएर काम गरिरहेका छन्।
‘म १९९६ को जुनमा मेलवर्न आएँ। मलाई कानुन पढ्न रहर थियो तर कोर्षको समय र महंगीले गर्दा मैले ब्याचलर अफ बिजनेस गरेको हो,’ टोनुले सेतोपाटीसँग भने, ‘मैले रेष्टुरेन्टमा काम गर्दै पढेको हो। आइटीको डिग्री लिएपछि सफ्टवेयर प्रोगामर भएर पनि काम गरेँ। तर रेष्टुरेन्टमै रमाएकाले मैले अन्त काम गरिनँ।’
सन् २००६ मा माइग्रेसन एजेन्टको अध्ययन गरेका टोनुले २००७ देखि माइग्रेसन एजेन्ट भएर काम गरे। २०१६ देखि अस्ट्रेलियाको कानुन व्यवसायी बनेका टोनुले २०१८ देखि घोताने लयर्स सञ्चालन गर्दै आएका छन्।
‘हाम्रो यो फर्मबाट इमिग्रेसन र भिसा,परिवार कानुन, सम्पत्ति डिभोर्स लगायतका विषयमा परामर्श दिइन्छ। त्यस्तै व्यापारसँग सम्बन्धित विषय पनि हाम्रो क्षेत्रभित्र पर्छ,’ टोनुले भने, ‘भिसा रद्द हुने कुरा,अनि कहिले भिसाको समय सकिएको बिर्सिएर गैरकानुनी भएका विषय आउँछन्। कहिले रोजगारदाताले दुःख दिएका समस्या अनि सम्बन्ध बिच्छेद र परिवारिक हिंसाको समस्या आउँछन्।’
उनका अनुसार कहिलेकाहीँ त एउटा घर भनेर किनेको तर अर्कै घर परेर दुःख पाएकाहरू समेत आउँछन्। अनि कतिले व्यापारमा घाटा खाएर लोनमा फसेका समस्या समेत ल्याउँछन्।
सन् १९९६ मा अस्ट्रेलियाको मेलवर्न आउँदा मुस्किलले १ सयदेखि १ सय ५० मात्र नेपाली थिए। एउटा नेपाली भेट्दा समेत बोलाएर कफी खाने गरेको उनले बताए। त्यो बेला नेपाली भेट्दा हिरा भेटेजस्तै महत्व हुन्थ्यो। समयसँगै नेपालीको संख्या ठूलो भइसकेको छ। नेपाली बढेसँगै समस्या पनि बढ्न थालेका छन्। हरेक वर्ष पारिवारिक हिंसा र सम्बन्ध बिच्छेदका घटना ५ देखि १० प्रतिशतसम्म बढ्न थालेको उनले सुनाए।
‘कानुनी रूपमा नेपाली समाजलाई चुनौती थपिँदै गएको छ। मैले आफूले डिभोर्स गरे पनि मेरो पहिलो प्राथमिकता मिल्नुपर्छ भन्नेमा रहन्छ,’ उनले भने, ‘मेरो व्यापार कम भए पनि म मिलापत्रमा ध्यान दिन्छु। डिभोर्सका लागि आएका केही जोडीलाई मिलाइदिएको पनि छु।’
कानुन व्यवसायीसँगै उनी नेपाली समुदायमा समेत परिचित छन्। उनी एनआरएनए अस्ट्रेलियाको अध्यक्ष भइसकेका छन्। यही क्रममा उनी अस्ट्रेलियाका आठै प्रदेशमा घुमेका छन्। उनी बेला मौकामा अस्ट्रेलियाका गाउँगाउँमा गएर नेपाली समुदायलाई कानुनको जानकारी समेत गराउन सक्रिय हुन्छन्।
२८ वर्षअघि अस्ट्रेलिया आएका ४८ वर्षीय टोनुलाई चिन्ने अधिकांशले 'दाइ' भन्छन्। आफूभन्दा ५/१० वर्ष जेठाले समेत 'दाइ' भनेर सम्बोधन गर्ने गरेको उनले बताए।
‘मलाई धेरैले टोनु दाइ भन्छन्। सुरूमै दाइ भनेर महिनौं वर्षौंसम्म फोनमा कुरा गरेका हुन्छन्। भेट हुँदा मभन्दा जेठा रहेछन् भने पनि दाइ भन्छन्,’ उनले भने, ‘अहिले त मलाई अंकल भन्ने पुस्ताका थुप्रै आइसकेका छन्। तर तिनले पनि मलाई 'दाइ' नै भन्छन्। कहिलेकाहीँ यस्तो लाग्छ, मेरो नाम टोनु हो अनि थर दाइ।’
२८ वर्षअघि अस्ट्रेलिया आएका टोनुसँग नेपाली समुदायले धेरै सिक्न सक्छ। सबैभन्दा महत्वपूर्ण कुरा उनीसँग यहाँको कानुनबारे धेरै सिक्न सक्छ।
‘हामी यो देशमा किन आइरहेका छौं भनेर बुझ्न जरूरी छ। यहाँ कानुनको राज्य छ। यहाँ न्याय हुन्छ भनेर आएका छौं। कानुनको पालना गर्नु आफैमा गाह्रो काम हो,’ उनले भने, ‘नेपालको जस्तै पाराले यहाँ चल्दैन। किनकि नेपालमा कानुनको पालना गाह्रो भइरहेको छ भने न्याय पाउन पनि सजिलो छैन।’
आफूलाई चाहिएको बेलामा यहाँको कानुन समाउन खोज्ने तर भनेजस्तो भएन भने नेपाली पारा देखाउने प्रवृत्ति बढ्दै गरेको उनले बताए। रक्सी खाएर गाडी चलाउने अनि लुकेर जान सक्छु, चोर बाटोबाट जान सक्छु भन्ने सोचाइ राख्न नहुने भन्दै उनले एउटाले कानुन उल्लंघन गर्दा अरू निर्दोषलाई समस्या पर्न सक्ने तर्फ ध्यान दिनुपर्ने बताए।
‘इन्स्योरेन्समै लापरबाही गरिन्छ। कतिपय नेपालीहरू नामको लागि मात्र इन्स्योरेन्स गर्छन् जब आफूलाई विपद पर्छ त्यो बेला पैसा आउँदैन,’ उनले भने, ‘त्यसैले ग्राहक बन्दा महँगो परे पनि भरपर्दो कम्पनीमा इन्स्योरेन्स गर्नुपर्छ। त्यस्तै ट्याक्समा समेत गम्भीरता देखिँदैन।’
कानुनी राज्य भएको देशमा कानुनको उल्लंघन गर्नेभन्दा पनि यो देशलाई अझै राम्रो बनाउनतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ।
उनका अनुसार अस्ट्रेलियामा ३०/४० वर्ष अगाडि दुधको लागि बाहिर पैसा राख्ने र दुधवालाले पैसा टिपेर दुध छोडेर जाने खालको इमानदार र सभ्य समाज थियो। यस्तो सभ्य समाज भएको ठाउँमा आफू पनि यस्तै बन्छ भन्ने सोच सबैले राख्नुपर्नेमा उनको जोड छ।